Saturday, June 27, 2020

मनास्लु पदयात्राको उँधौली

ल्हो गाउँमा बिहान उठेर पहिलो काम होटलको भान्सातिर चिहाउने भयो । मलाई तातो पानी चाहिएको थियो । भान्सामा ताला झुन्डिएको पाइयो । साहुजीले अघिल्लो राती भनेका थिए– उनको मूल घर केही पर छ ।

बादलले आकाश ढाकेकै थियो । राती मनग्गे पानी परेको थियो । हिउँले ढाकेका पाहाड यति नजिकै थिए कि ती प्रष्ट देखिन्थे । पूर्व, पश्चिम, उत्तर, दक्षिण जता पनि हिमालै हिमाल । सबैका आआफ्नै विशेषता । त्यसमा पनि पूर्वतिरका हिमालले जापानका स्की रिसोर्टको स्मरण गराए । मनास्लु पश्चिम–दक्षिणतिर थियो तर रङ्गमञ्चमा थिएन । सबैभन्दा आश्चर्यको विषय भने हिउँले छोपिएका रूखहरूको फैलावटको विशेष ढाँचा थियो । रूखहरू लाइन मिलाएर रोपिएका जस्ता देखिन्थे । प्रकृतिको इन्जिनियरिङ बुझिनसक्नु थियो ।

मैले पढेको राधिका माध्यमिक विद्यालयमा विद्यार्थीलाई उत्तर फर्काएर पिटि गराइन्थ्यो । चार दिशा कता पर्छन् भन्नेमा धेरै विद्यार्थी अलमलमा पर्थे । यो दुविधा हटाउन भूगोलका गुरु देवनारायण शर्मा सरले एक सुत्र बताइदिएका थिए–

‘जुन दिशामा हिमाल देखिन्छ, त्यही उत्तर हो ।’

हाम्रो विद्यालय पूर्वी तराईमा थियो । यसैले गुरुको सूत्रले गजबले काम गरेको थियो । यता ल्होका चारै दिशामा देखिने हिमालले मेरो मष्तिष्कमा किलो गाडिएको दिशा निक्र्यौल गर्ने सिद्धान्त एकाएक भत्कियो ।
हामी तिब्बती चिया पिएर हिँड्ने तरखरमा लाग्यौँ । मैले अघिल्लै दिन ल्होभन्दा अगाडि नजाने निर्णय लिइसकेको थिएँ । रातिको वर्षात र बिहानको जुम्रे पानीले मेरो निर्णयको पक्षमा वकालत गरिरहेका थिए ।
यो यात्रामा तोडिएको अर्को भ्रम मौसम पुर्वानुमानसँग सम्बन्धित छ ।

‘नेपालमा हिँउदको मौसम सहज अनुमान गर्न सकिन्छ ।’

यसपटक हिँउदमा नेपालका अधिकांश ठाउँमा भएको अनपेक्षित वर्षाले यो कथन पनि असत्य सावित गरिदिएको थियो ।

ल्होबाट लगभग एक घण्टाको यात्रा तय भएपछि हामी स्यो गाउँ आइपुग्यौँ । वर्षाको मात्रा बढ्यो । एउटा होटलमा छि¥यौँ । चिया पिउने र बर्षावाट ओतिने उद्देश्य थियो । एक अधबैँसे युवतीले स्वागत गरिन् ।

‘कस्तो चिया लिनु हुन्छ ?’

‘चौरीको दूध हालेको कडा रङ भएको ।’

उनी मजैले हाँसिन् । चौँरीको दूधले बनेको चिया पिउने भाग्य हाम्रो निधारमा थिएन । त्यसको चलन थिएन या दुरदराजमा पालिने चौँरीको दूध एकाबिहानै होटलमा आउन सम्भव थिएन । ल्होका साहुजीको भनाइअनुसार यस वर्ष अचाक्ली हिँउ परेको थियो । एक हप्ताअघि परेको हिँउ पग्लिन नपाउँदै फेरि उस्तै हिँउ प¥यो । यसले गर्दा जनजीवन कष्टकरमात्र भएन धेरै चौरीहरू हिँउमा पुरिएर मरे । 

चुमनुब्रीको भ्रमणले मलाई ठाउँ जनाउने शब्दहरूका बारेमा एउटा नयाँ खुराक पस्किदिएको छ । अधिकांश ठाउँका नाम एक या दुई शब्दले बनेका रहेछन् । चुम र नुब्री दुबै पूर्वी र पश्चिमी भूगोल जनाउने शब्द हुन् । यसै गरी ल्हो, स्यो, गाप, बिहीँ, प्रोक, क्र्याक, ड्याङ, सामा आदि नाम थिए । गापको अंग्रेजी जी ए पी हुनेरहेछ । जी ए पी को अंग्रेजी उच्चारण ‘ग्याप’ हुन्छ । यसरी भूगोल र नाममा मौलिक स्वाद थियो ।

नामरुङ आइपुग्नु अघि बिजुलीको करेन्ट जडित घेराबार भएका गहुँबारीले हाम्रो स्वागत गरे । खासगरी खच्चड र चौँरीजस्ता जनावरबाट सुरक्षा गर्न यो व्यवस्था मिलाइएको थियो । त्यसो त हामीले ल्हो गाउँमा पनि हरिया गहुँबारी देखेका थियौँ ।

नामरुङमा एक स्थानीय उद्यमी लाक्पा डेन्डुप लामासँग भेट भयो । हामीले हिजो पनि उनकै प्रसिद्ध होटल ‘फोर सिजन बाई नुब्री’ मा खाना खाएका थियौँ । एक इटालीका युवक र उनकी प्रेमिका हङ्गेरीकी युवती पनि भेट भएका थिए । लाक्पाले उदाहरणीय काम गरेका रहेछन् । उनको होटल त्यो क्षेत्रको सम्भवत सबैभन्दा स्तरीय रहेछ । आफ्नो बिजुली, आफ्ने कृषि फर्म र पाउरोटी कारखाना । एक जीवन्त सङ्ग्रहालयको समेत पूर्वाधार निर्माण गरिसकेका रहेछन् । उनका अनुसार तिब्बतसँगको लडाइँमा पृथ्वीनारायण शाह र जङ्गबहादुरले उनको होटल परिसरमा भग्नावशेषको रूपमा विद्यमान किल्लाको प्रयोग गरेका थिए रे । त्यहाँ ढुङ्गाको पर्खालले घेरिएका अदालत, कारागार, राजसभा गर्ने ठाउँहरू समेत भएको जिकिर उनले गरे । होटलको आँगनमा संरक्षण गरेर राखिएको दाँते ओखरको रूख ७०० वर्ष पुरानो भएको बताए ।

‘मान्छेहरू डलर टिप्न अमेरिका जान्छन् तर मलाई भने डलर दिन पर्यटक यही आउँछन् ।’

लाक्पाका अनुसार फिलिमबजार पुग्नुअघिको सानो बजार जगतसम्म तिब्बतको राज्य थियो रे । तिब्बतको लडाइँ जङ्गबहादुरसँग पनि जोडिएको र उनका छोराको नाम जगतजँग भएकोले जगत भन्ने नामसँग केही ताल्लुक छ भन्ने कुरामा म पनि विश्वस्त भएँ ।

हाम्रो बास हिजो बसेकै ठाउँ अर्थात गापमा भयो । त्यहाँ एक युवा उद्यमी भाइको होटलमा बस्यौँ । मलाई रुघाखोकीले सताएको थियो । उनले मलाई शेर्पाको लोकप्रिय खाना ‘सेक्पा’ को गुरुङ संस्करण बनाइदिए । सेक्पामा सुप, तरकारी र रोटी तीनै परिकारको स्वाद मिसिएको हुन्छ । बडो आनन्द आयो ।

बिहान उठेर हेर्दा अचम्म भयो । हिजो र अस्ति दुई दिन एक टुक्रा पनि आकाश देख्न मुश्किल थियो, पूरै बादलै बादल । यसै पनि आकाशको क्षेत्रफल साँघुरिएको थियो । आज भने आकाशमा एक टुक्रा पनि बादल थिएन । मौसम सफा भएकोमा हामी दङ्गदास थियौँ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानका सँस्थापक सदस्य डा. तारानीधि भट्टराईले भौगर्भिक पार्क निर्माणको अवधारणा अघि सार्नुभएको छ । गापको उत्तरमा देखिएक सुईराजस्ता चुचुरा र वरिपरिको क्षेत्र यो कामका लागि उपयुक्त होला कि भन्ने मलाई लाग्यो । सम्भाव्य पार्क हिँउले ढाकेका र नढाकेका दुवै किसिमका चुचुरा समेटेर बनाउन सकिने कुराको आकलन गरेँ । 

बिहान उठेर हामी बाटो लाग्यौँ । बिहीँफेदी काटेर अगाडि बढेपछि विपरित दिशाबाट एक हुल चाँरी र पछिपछि केही महिला आइरहेका देखिए । मैले उनीहरू समूहमा भएकोले रोचक उत्तर आउने आशाले प्रश्न सोधेँ ।

‘चौँरीको बच्चा राम्रो कि मान्छेको ?’

मलाई प्रश्न अनौठो नै भयो भन्ने लागेको थियोतर यस्तो भएन । समूहकी एक महिलाले बडो रोचक उत्तर दिइन् ।

‘चौँरीको नि ।’

‘किन पो होला ?’

‘चौँरीको बच्चा ६ महिनामै हुर्किन्छ, मान्छेको ३ वर्षमा पनि हुर्किन मुश्किल ।’

बच्चा हुर्काउने कर्म गर्ने आमाले अनुभूति गर्ने विशेष कुरो यही होला भन्ने मलाई लाग्यो ।

रानागाउँमा एक स्थानीयले पनि रमाइलो तरिकाले सोधे ।

‘कहाँ पुगेर आउनु भो ?’

‘ल्हो सम्म पुगियो ।’

त्यो पदमार्गमा दिनकै सयौँ मानिस हिँड्दा हुन् । यिनले हामीलाई कसरी चिने ? मलाई अचम्म लाग्यो ।

‘कसरी चिने त ती व्यक्तिले हामीलाई ?’

मैले मेरा सहयात्री मोहनलाई सोधेँ ।

‘ती दाइसँग हिजो भटमास किनेर खाएको हैन त सर ? अनि सरले गफ पनि गर्नुभएको थियो ।’

मैले बिर्सिएको रहेछु । मोहनले भनेपछि सम्झना भयो ।

जगत आइपुग्दा साँझको ७ बज्यो । पछिल्लो एक घण्टा अति नै गाह्रो भयो । जगत पुग्नु अघिको स्याउलमै बास बस्ने निधो गरेर मोहनलाई भनेँ ।

‘बाबु मेरो खुट्टा अति नै दुख्यो । आखिर आधा घण्टाको दुरी हो ।’

उसले मान्यो । वास्तवमा म अति नै थाकेको थिएँ । बयस्क भएपछि गरिएका पैदल यात्रामा थकानको हिसाबले यसले रेकर्ड नै कायम गरेको हुनुपर्छ । सरकारी सेवामा जाजरकोट जिल्लामा काम गर्दा पनि धेरै पैदल हिँडेको थिएँ । लामो बसयात्राबाट घर आउँदा पनि यस्तै थकावट हुन्थ्यो । आज ती यादहरू पुनः ताजा भएर आए । स्याउलेमा भनेजस्तो बास पाइएन । हामीले जगत नै पुग्नुप-यो ।

मलाई नराम्ररी रुघा लागेकोले होटलमा आइपुगेर सबैभन्दा पहिले एक गिलास तातो पानी र एक गिलास कालो चिया पिएँ । साहुजीलाई आरी खोज्न लगाएँ । बाथरूमको प्यान राखिएको खण्ड अग्लो भएकोले त्यहाँ बसेर आरीमा खुट्टा चोबल्ने विचार गरेँ । बस्ने पिरा भएन । चप्पललाई पिरा बनाएँ । तातो पानीमा खुट्टा चोबलेँ । तातै पानीले नुहाएँ । गिजरको तापक्रम ३७ डिग्री सेन्टिग्रेड भन्दा माथी गएन । जापान र कोरियामा नुहाएको सम्झे । जहाँ एकै छिनमा गिजरको तापक्रम ५०, ५५ डिग्री पुग्थ्यो । बेलुकीको खानामा सुप अर्डर गरेर पिएँ ।

अहिले नियात्राको यो अंश लेख्दैछु । स्थान, काल र पात्रको कुरो आएकै छ । अहिले भने स्थान : जगतको यो पुछारको होटल । काल: रात्रिको ८ः३० बजे । पात्र म एक्लै छु । आज दिनभर भेटेका पात्रहरू धुमिल भएर
मष्तिष्कमा घुमिरहेका छन् ।

ब्राजिल, रसिया, आयरल्याण्ड आदि मुलुकका पर्यटक भेटिएका थिए । रसियाकी एक पर्यटकले भनेकी थिइन्, ‘हाम्रो मुलुकको सबैभन्दा अग्लो चुचुरोको उचाइ ५६४२ मिटर छ । त्यसको वरपर हिउँ नै हिँउ हुने भएकोले यसरी पदयात्रा गर्न सकिन्न ।’

फिलिमबजारदेखि जगतसम्म बाटोमा खच्चरै खच्चर भेटिए । खच्चरलाई बाटो छोड्दा जहिले पनि आफू भित्तातिर लाग्नु भन्ने उक्तिको पालना गरेँ । केही यात्रु खच्चरले धकेलेर नदीमा खसेका रहेछन् । कहिले खच्चर पनि खस्दा रहेछन् ।

खच्चरको समूहमा सबैभन्दा अघि हिँड्नेलाई ‘लम्बु’ भनिँदो रहेछ । लम्बु वास्तवमा समूहको नाइके हुँदोरहेछ । नाइकेले गर्ने केही विशेष भूमिका हुँदा रहेछन् । यसै गरी खच्चर धपाउने चालकका पछि एक खच्चर हिँड्दो रहेछ । त्यसलाई ‘घले’ भनिँदो रहेछ । यो दृष्टान्तले मलाई ‘नेतृत्व कौशल’ विषयको स्मरण गराए । पशु होस् या मानवजाति, नेतृत्व कौशलका सिद्धान्त उही हुन् । यसैले नाइके, अगुवा र नेतामा धेरै समानता भेटिन्छन् । 

अहिले बिहानको ६ बजेको छ । लेख्न बसेको छु । राती १ः३० बजे निद्राले छोड्यो । उठेर नियात्रा लेखौँ कि भनेर सोचेँ । अर्को मनले मानेन । मनमा विभिन्न कुरा खेले । पदयात्राको अन्त्य हुन लागेकोले एक किसिमको आनन्द लागेको थियो । फेरि एकछिन निदाएछु ।

पदयात्राको अन्तिम दिन धार्चे गाउँपालिका वार्ड नं १ का वार्डअध्यक्ष र इन्जिनियर युवराज मरासिनी यारु बगरमा भेटिए । उनीहरू गणेश हिमाल जान खोलिएको नयाँ पदमार्गमा केही निर्माण कार्य गर्ने लक्ष्य लिएर त्यता जान लागेका रहेछन् । यो सकारात्मक विषय थियो । नेपाली सेनाले माछीखोलादेखि सल्लेरीसम्म बनाउँदै गरेको सडकको विषयमा भने मेरा केही प्रश्नहरू थिए । यो सडकमा विष्फोटक पदार्थको प्रयोग गरी बनाउने पुरानै तरिका अपनाइएको थियो । नदी र बगरमा सिधै सडक खन्दा निस्किएका ढुङ्गा र माटो विसर्जन गरिएको पाइयो । वातावरण प्रभाव मूल्याङ्कन (इआइए) अध्ययन र यस मुताविक निराकरणका उपायहरू अवलम्बन गरिएको कुनै सङ्केत पाइएन ।

फिलिमबजारमा मनास्लु संरक्षण क्षेत्रका एक कर्मचारीले संरक्षित क्षेत्रभित्र इआइए नगरी सडक खन्न नपाइने जानकारी सेनालाई दिएको बताए । मेरो मनमा गढेका मुख्य दुई विषय थिए । पहिलो, सडकले आरुघाटदेखि लार्के भन्ज्याङसम्मको एतिहासिक पदमार्ग विस्थापित गरिरहेको थियो । दोस्रो, सडकमा गरिएको लगानीले दिने प्रतिफल इन्जिनियरिङ वा अर्थशास्त्रको सर्वमान्य सिद्धान्तको दायराभित्र पर्छ कि पर्दैन भन्ने ।

माछीखोलामा हामी अपराहृन तीन बजे आइपुग्यौँ । हामीलाई लिन आएको सवारीसाधन भने राति ८ बजेमात्र आइपुग्यो । आरुघाट पुग्दा राति दश बज्यो । 

अहिले गोरखा दरबार परिसरमा आइपुगेको छु । गोरखकालीको दर्शनपछि गुरु गोरखनाथको गुफामा पुगेँ । गुफाभित्र सफाइ गर्दै गरेका एक पुजारीलाई सोधेँ ।

‘सानो कुरा सोधौँ न, गुरु गोरखनाथ सम्बन्धित पुस्तक पाइन्छ ?’

‘मलाई थाहा भएन । माथि गुरुलाई सोध्नु न ।’

म गुफाबाट मास्तिर चढेँ । भक्तजनहरू लाममा थिए । म पनि लागेँ । नेपाली प्रवृत्ति न हो पालो मिच्ने । मैले दुई जना वृद्धालाई अघि जान दिएँ । यसै वेला रामनामी ओढेका एक व्यक्ति पनि पालो मिच्दै अघि बढे । उनी विशेष देखिएकाले कसैले केही भनेन । उनले गुरुको दर्शन गरे ।

‘गुरू ! धाम बनाउने कार्यमा लागेका छौँ । केही सहयोग गरिदिनु होला ।’

उनले कुनै ठाउँको नाम लिए । गुरुले ती याचकतिर हेर्दै नहेरी भने, ‘सब चर्च बनाउन लागेका छन्, के बनाउने धाम ?’

‘हैन, हामी लागेका छौँ । बनाउछौँ गुरु ।’

‘यो अनुहारले, यो ध्यानले बन्छ धाम ! घोषणा गर्दैमा धाम बन्दैन । कार्यान्वयन र घोषणा नितान्त फरक कुरा हुन् ।’

ती व्यक्ति निन्याउरो मुख लगाएर फर्के । म चकित भएँ । हिजो आरुघाटको भीमोदय बहुमुखी क्याम्पसमा विद्यार्थीहरूलाई मैले यस्तै आशयको कुरो भनेको थिएँ । मेरा अनन्य मित्र डा. वीरेन्द्र पुडासैनीले त्यो विशेष कक्षा आयोजना गरिदिनु भएको थियो ।

‘विचारलाई कार्य या उत्पादनमा परिणत गर्न सक्नु नै नेतृत्व क्षमता हो ।’

एक युवा आफ्नी आमासँग आएका रहेछन् । आमाले भनिन्, ‘डिग्री पढ्दै छ । गुरु आशीर्वाद दिनू ।’

गुरुले युवाले पढ्दै गरेको विषय सोधे । कसैले बेतोडले घण्ट बजाइदियो । गुरुले के भने बुझिएन ।

‘घोषणा र कार्यान्वयन फरक हुन भनेको साह्रै घत लाग्यो गुरु ¤’

मैले गुरुको ध्यानाकर्षण गरेँ । गुरुले मतिर हेरे । मेरो पालो मिच्ने कोशिस गरिन् एक अधबैँसे महिलाले । मैले मुख फोरेँ– तपाईंलाई मेरो पालोमा दर्शन गर्न दिएँ भने पुण्य मैले कमाउँछु ।

तिनले आश्चर्यचकित मुद्रामा मलाई हेरिन् र अलि पछि हटिन् । म घुँडा टेकेर गुरुका सामु बसेँ ।

‘वातावरण इन्जिनियरिङमा विद्यावारिधि गरेको छु गुरु । अहिले गोर्खाका तीन वटा गाउँपालिकामा परामर्श दिने काम गर्दैछु ।’

मैले अरूले जस्तो आशीर्वाद दिनू भनिनँ । किनभने मैले गुरुले दिने अमूर्त आशिर्वाद भन्दा गहन वस्तु पाइसकेको थिएँ । उनले नेपालको वातावरण सम्बन्धी केही कुरा उप्काउन खोजे ।

‘हामी प्रयासरत छौँ ।’

मैले छोटो उत्तर दिएर बिदा हुने उपाय रोजेँ । गुरुले अरूलाई लक्षित गरेको तर सबैलाई उपयोगी वचन पुनः एक पटक दोहो¥याए ।

घोषणाले मात्रले धाम बन्दैन ।’

यो नै मनास्लु पदमार्गको सबैभन्दा घतलाग्दो सिकाइ भयो ।

१ वैशाख २०७६

कोटेश्वर, काठमाडौं

लिङ्क :  http://ehimalayatimes.com/bichar-sahitya/37971

Thursday, June 25, 2020

प्रधानमन्त्रीको हास्य मिथक र राउटेको श्राप


केही दिनअघि समाजवादी पार्टीबाट नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका नेता तथा कार्यकर्तालाई स्वागत गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको एउटा अभिव्यक्तिको भिडिओ क्लिप भाइरल भयो । उक्त भिडियोको मूल सन्देश थियो– नेपालमा पिएचडी गरेका थुप्रै छन्, कतिपयलाई त्यसैले धोका दिएको छ, डिग्रीले क्रान्ति गर्ने होइन, निष्ठाले क्रान्ति गर्ने हो, दृष्टिकोणले क्रान्ति गर्ने हो ।

डिग्रीधारीप्रतिको यो कटाक्ष सुनेर श्रोतागण मन्त्रमुग्ध भए । कतिपयले ताली पिटे । वास्तवमा प्रधानमन्त्रीको अभिव्यक्तिको सार सार्वजनिक बहसका लागि उपयोगी छ । नेपालमा मुख्यतया दुई किसिमका पिएचडी अर्थात् विद्यावारिधि डिग्रीधारीहरू भेटिन्छन् । एक खाले विदेशी शैक्षिक संस्थाहरूमा भर्ना भएर त्यहाँको नियमअनुसार शोधकार्यमा संलग्न भई उपाधिको भारी बोकेर फर्केका छन् । अर्का खालेले नेपालकै विश्वविद्यालयबाट आवश्यक सर्तहरू पूरा गरी यो उपल्लो प्राज्ञिक उपाधिको पगरी गुथेका छन् । यी दुईभन्दा बाहेक पैसाको भरमा डिग्री किन्नेहरू पनि छन् । 

यस्तै, गैरप्राज्ञिक क्षेत्रमा उल्लेखनीय काम गरेका व्यक्तिको कदरका मानार्थ विद्यावारिधि पाउनेहरूको संख्या पनि नेपालमा ठूलो छ । डिग्रीधारीप्रति कटाक्ष गर्ने प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले पनि यस्तो उपाधि प्राप्त गरेका छन् । कोरियाको काङ्नाम विश्वविद्यालयले उनलाई प्रदान गरेको मानार्थ विद्यावारिधिको उपाधिको चर्चा अझै सेलाएको छैन । कोरियाका उत्कृष्ट विश्वविद्यालयहरूबाट विद्यावारिधि उपाधि हासिल गरेर फर्कने नेपाली अध्येताहरू धेरै छन् तर काङ्नामबाट विद्यावारिधिको उपाधि पाउने नेपाली बिरलै छन् । यो विश्वविद्यालय संसारका उत्कृष्टको सूचीमा पर्दैन । 

विश्वमा प्रचलित नियमअनुसार १८ वर्षको शैक्षिक यात्रा गरेको अर्थात् चार वर्षको स्नातक र दुई वर्षको स्नातकोत्तर तह छिचोलेको विद्यार्थी मात्र विद्यावारिधि शोधका लागि उम्मेदवार हुन पाउँछ । नाम चलेको उत्कृष्ट विश्वविद्यालयबाट यो उपाधि प्राप्त गर्नेले सामान्यतया घटीमा २२ वर्ष अध्ययन,  अनुसन्धानमा खर्चेको हुनुपर्छ । प्राज्ञिक क्षेत्रमा खर्चिने समयको यो लामो अवधिको राजनीतिक तुलना पनि गर्न सकिन्छ । 

पञ्चायती व्यवस्थाविरुद्ध लागेर धेरै नेताले जेल भोगे । प्रधानमन्त्री ओली २० वर्षको युवा उमेरदेखि १४ वर्ष बन्दी भए । जीवनको उर्वर कालखण्ड कुनै एउटा विषयमा केन्द्रित बनाएर आपूmलाई त्यसैमा समाहित गर्नु चुनौतीपूर्ण छ । जतिसुकै धेरै दिन जेल बसे पनि रिहा हुन लागेको कैदीले अन्त्यमा परीक्षा दिनु पर्दैन तर विद्यावारिधि गर्ने व्यक्तिले आफ्नै जस्तो कठिन प्रक्रिया पार गरेर आएका परीक्षकहरूका अगाडि उभिएर परीक्षा दिनुपर्छ । यति मात्र होइन उसले त अन्तर्राष्ट्रियरूपमा मान्यता प्राप्त जर्नलहरूमा आप्mनो शोधकार्यको निचोडको वैज्ञानिक प्रकाशनसमेत गर्नुपर्छ । यस्तो प्रकाशन हुनुपूर्व सो विषयमा अनुसन्धान गरेका डिग्रीधारी अध्येताहरूले त्यस्ता सामग्रीको खरो समीक्षा गर्ने परिपाटी छ । यतिपछि विश्वविद्यालयले विद्यावारिधि उपाधि प्रदान गर्छ र दीक्षान्त समारोहमा ‘म यो उपाधिको दुरुपयोग गर्दिनँ र मेरो ज्ञान र विवेकलाई समाज उत्थान गर्ने कार्यमा लगाउनेछु’ भनेर शपथ लिनु अनिवार्य हुन्छ । 

हाम्रा प्रधानमन्त्रीले भनेजस्तै नेपालमा यस्तो कठिन प्रक्रियाबाट प्राप्त गरेको उपाधिको समुचित उपयोग भएको छैन । राज्यले नेपालमा रहेका डिग्रीधारीलाई राष्ट्र निर्माणको महायज्ञमा लगाउन सकेको छैन । यसका पछि धेरै कारणहरू छन् । तीमध्ये एउटा प्रमुख कारण के हो भने राज्य र राजनेताले ‘सक्कली’ डिग्रीधारीलाई पाखा लगाएर ‘नक्कली’ लाई प्रश्रय दिएका छन् । 

डिग्रीधारीप्रति प्रधानमन्त्रीको हास्य अभिव्यक्ति त्यस बेला पदार्पण भएको छ जुन बेला संघीय नेपाल इतिहासकै काला दिनहरूको सामना गरिरहेको छ । ओली सरकारले संसद्मा पेस गरेको ‘गुठी विधेयक’ छलफलमा समेत नआइकन फिर्ता भयो । विधेयक फिर्ता गरिएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सम्बन्धित मन्त्रालयका मन्त्रीले प्रधानमन्त्रीको जस्तो कुनै हास्य मिथक प्रयोग गरिनन् । उनी एक निरीह पात्रका रूपमा प्रस्तुत भइन् । एकातिर उनको हातमा सरकार अनुत्तीर्ण भएको लब्धाङ्कपत्र थियो भने अर्कातिर माइतीघर मण्डलको जुलुसको पहिरोले दुईतिहाइ जनमतको राजनीतिक पुँजी स्खलन गरेको यथार्थ थियो । सरकारका रणनीतिक सल्लाहकारहरूले विधेयक फिर्ता हुनुको कारणमा अनुसन्धान गरी पक्कै पनि प्रधानमन्त्रीलाई सूचित गरे होलान् । ‘विपक्षले उचालेर साम्प्रदायिक भावनाले ओतप्रोत भएका केही मुठ्ठीभर जनताका कारणले मात्र यो विरोध भएको हो’ भन्नेजस्ता सतही कारण अघि सारेर आप्mनो जागिर जोगाउने काम पक्कै भयो होला । यसले कुनै पनि स्वाभिमानी नेपालीलाई आश्चर्यचकित बनाएन । किनभने, सरकारको कुनै पहलकदमी सफल बनाउन कस्तो पृष्ठभूमिको अनुसन्धान र अध्ययन आवश्यक पर्छ भन्ने बुझेर त्यसै अनुसारको परिपाटी निर्माण गर्नेमा नेपाली राजनीतिको ध्यान केन्द्रित भएको छैन । 

हाम्रो मुलुकमा मात्र होइन, विश्वका सबै मलुकमा सर्वसाधारण जनतालाई प्रत्यक्ष प्रभाव पार्ने विधेयक सरकारले संसद्मा पेस गर्छ । यस्तो कार्यमा अन्तरनिहित चुनौती भनेको विधेयक सकेसम्म कसरी ‘सर्वमान्य’ बनाउने र कसरी संसद्बाट सहजै पारित गराउने भन्ने हुन्छ । यो चुनौती चिर्न यथेष्ट गृहकार्य, अध्ययन र अनुसन्धान गर्नुपर्ने बाध्यात्मक प्रक्रियाहरू प्रचलनमा छन् । यी संयन्त्रहरूको प्रयोगले विधेयक प्रस्तुत गर्दा र ऐन लागू गर्दा व्यहोर्नुपर्ने जोखिमको पूर्वानुमान गरी तिनलाई किनारा लगाउन सकिन्छ । 

हालसालै संसद्मा प्रस्तुत गुठी, सञ्चार, वातावरण र शिक्षा विधेयकहरूमा विरोधपछि यस्ता आवश्यक संयन्त्रहरूको प्रयोग गर्नु त कता हो कता ‘दुईतिहाइ भएपछि जस्तोसुकै जोखिम पनि किनारा लाग्छ’ भन्ने दम्भ हाबी भएको हो कि भन्ने शंका उत्पन्न हुन्छ । सरकारले विधेयक पारित गराउने काममा मात्र होइन, अन्य केही महŒवपूर्ण परीक्षामा पनि अनुत्तीर्ण भएको लब्धाङ्कपत्र प्राप्त गरेको छ । भारतबाट आउने तरकारीमा विषादी परीक्षण गर्ने निर्णय होस् या ‘आइफा’ चलचित्र अवार्ड कार्यक्रम नेपालमा आयोजना गर्न दिएको स्वीकृति, यी विषयहरूमा सरकार चुकेको छ । फलस्वरूप सत्तारुढ राजनीतिक दल र सम्बन्धित राजनेताहरूको राजनीतिक पुँजी भण्डारमा भारी चुहावट भएको छ । 

अन्य मुलुकमा सार्वजनिक नीतिजस्ता गहन विषयसँग जोडिएका विधेयकहरू पारित गर्ने काम विश्वविद्यालयको कक्षा कोठाबाट सुरु हुन्छ । डिग्रीधारी प्राध्यापकहरूले विषय उठान गर्छन् र विद्यार्थीलाई ती विषयको अनुसन्धानमा संलग्न गराउँछन् । स्नातकोत्तर वा विद्यावारिधि तहका विद्यार्थीको शोध यिनै विषयमा केन्द्रित हुन्छ । त्यहाँ हामीकहाँ जस्तो प्राध्यापक या विद्यार्थीहरू राजनीतिकरूपमा विभाजित हुँदैनन् । यसैले उनीहरूको अनुसन्धान राजनीतिकरूपले तटस्थ र वस्तुगत विश्लेषणमा आधारित हुन्छ । सरकारले कस्तो निर्णय लिँदा कस्तो दूरगामी प्रभाव पर्छ भन्ने विषयमा उनीहरूले गहन अनुसन्धान गर्छन् र राजनेताले बुभ्mने भाषामा निचोड निकाल्छन् । यी निचोडहरूमा थिंक ट्यांक वा सोच केन्द्रहरूले थप अध्ययन र मन्थन गरी अनुसन्धान परिष्कृत गर्छन् ।

यस्ता सोच केन्द्रकै बाटोबाट विवादित हुनसक्ने सार्वजनिक सरोकारका विषयमा सार्वजनिक सुनुवाइ वा परामर्शका कार्यक्रमबाट सर्वमान्य अवधारणा बनाउने कामसमेत हुने गरेको छ । स्मरण रहोस्, यस्ता सोच केन्द्रहरूमा पनि राजनीतिकरूपले तटस्थ र पेशागत उपलब्धिको हिसाबमा अब्बल सक्कली डिग्रीधारीहरू हुन्छन् । सरकारले उनीहरूलाई प्रोत्साहन गर्छ र यस्तो कार्यमा ठूलो लगानीसमेत गर्छ । दुर्भाग्य, मठमन्दिर र गुठीको व्यवस्थापन र सुधार कसरी गर्ने भन्ने विषयमा अध्यापन हुने हाम्रा विश्वविद्यालयका संस्कृति र इतिहास विभागहरू विद्यार्थी नपाएर रित्ता बेन्चहरूलाई पढाउँदै छन् । केही विद्यार्थी भर्ना गर्न सक्षम विभागहरूमा शोधग्रन्थको किनबेच र शोधार्थीका लागि सुपरीवेक्षकले नै सबै काम गरिदिने प्रवृत्ति भएकाले कालान्तरमा नक्कली डिग्रीधारीहरू उत्पादन भइरहेछन् । यसरी विपरीतधर्मी संस्कार जगेर्ना भइरहेछ । 

प्रधानमन्त्रीले ‘डिग्रीले क्रान्ति गर्ने होइन’ भन्ने धारणा राखेका थिए । राजनीतिक क्रान्तिका लागि डिग्री वा डिग्री प्राप्त गर्ने प्रक्रिया जरुरी नपर्ला तर औद्योगिक क्रान्ति वा आर्थिक क्रान्ति गर्ने विषयहरू नितान्त फरक छन् । अहिले प्रधानमन्त्रीले नै प्रयोग गर्ने मोबाइल फोन  होस् या ल्यापटप, ती उपकरण चल्ने सिद्धान्तको आविष्कार विद्यार्थी वा डिग्रीधारीले नै गरेका हुन् । अहिले संसार इण्डष्ट्री ४.० युगमा छ । क्षण–क्षणमा व्यपार व्यवसाय र प्रविधिका नयाँ आविष्कार भइरहेका छन् । लाखौं डिग्रीधारीहरू आप्mनो मुलुकलाई प्रतिस्पर्धामा अघि ल्याउन लागिपरेका छन् ।

नेपाल सरकारका प्रमुख कार्यकारीले उल्लिखित सभालाई सम्बोधन गर्ने क्रममा ‘एउटा भ्यागुत्ताले पेट ठूलो पारेर देखाउँदा उसको पेट नै फुटेको’ भनेर धेरै डिग्री बटुलेका व्यक्तिहरूको पनि त्यस्तै हालत हुनसक्छ भनी सटीक मिथक प्रयोग गरेका थिए । नेपालको विगत ५० वर्षको उच्च शिक्षाको इतिहास हेर्ने हो भने धेरै अध्येताहरूले नेपालका नाममा आएको विद्वत्तवृत्तिमा विदेशका विश्वविद्यालयबाट उच्च शिक्षा पढ्ने मौका पाएका छन् । तीमध्ये यो पंक्तिकार पर्छ । नेपालको धरतीपुत्रका रूपमा जन्म लिएका यस्ता डिग्रीधारीहरू भाग्यमानी नेपालीको समूहमा पर्ने नागरिक हुन् । 

नेपालका सबै धरतीपुत्रहरूको भाग्य यस्तो चम्केको छैन । राउटे समुदायका नेपाली अझै पनि जंगलमा घुमन्ते जीवनमा छन् । न त विकास अर्थशास्त्रको सूचकांक न त कुल गार्हस्थ उत्पादन वा प्रतिव्यक्ति आयले उनीहरूलाई छोएको छ । न त उनीहरूले अहिलेसम्म नेपाली नागरिकता नै पाएका छन् । संसारले इण्डष्ट्री ४.० युगमा वायुवेगले उडान भर्दै गर्दा राज्यले प्रदान गर्ने आधारभूत सेवा र सुविधाबाट वञ्चित राउटे, चेपाङ वा दूर दराजका गरिब नेपाली र खाडी मुलुकमा आगो ओकल्ने गर्मीमा काम गर्ने नेपाली सबैले अभिभावकको रूपमा नेपालका प्रधानमन्त्रीलाई पाएका छन् । यस अर्थमा उनी पनि यो कालखण्डको एक भाग्यमानी नेपाली नागरिक हुन् । 

विगतको अदूरदर्शी र अक्षम नेतृत्वका कारण नेपालको आर्थिक विकास र समृद्धिले अन्य छिमेकी मुलुकले जस्तो गति लिन सकेन । अहिले गरिब र निमुखा जनताले बसोबास गर्ने दूर दराजका भूगोलमा सिंहदरबारले होइन, दाता वा गैरसरकारी संस्थाले शासन गरेका छन् । विकास र गरिबी निवारणको नाममा कागतको खेती उन्मादी तवरमा गरिएको छ । दाताले हामीलाई मूलधारका विकास निर्माणभन्दा किनाराका लैंगिक समनता, क्षमता अभिवृद्धि, वातावरण संरक्षणजस्ता विषयहरूमा अलमल्याएका छन् । यसको कारण अहिले बाँदर र बनेलजस्ता जंगली जनावरको आतंकले किसानहरू बसाइँ सर्न बाध्य भएका छन् । उदेक लाग्ने कुरो त पदमार्गमा पहिरो जाने स्थानको परिचय दिने सूचना पाटीसमेत दाताले आप्mनो परियोजनामार्फत राखेका छन् । हामी तथाकथित सक्कली डिग्रीधारीहरू दर्शकदीर्घामा बसेर यो विपरीतधर्मी संस्कारको शृंखला रमिता मानेर हेरिरहेका छौँ । यसकारण समग्र सक्कली डिग्रीधारीको प्रतिनिधित्व गर्दै यो पंक्तिकार सम्माननीय प्रधानमन्त्रीलाई एक अपिल गर्न चाहन्छ । 

‘हाम्रै जीवनकालमा कोसी र कर्णालीमा धेरै पानी बगिसकेको छ । आउनुहोस्, हामीभित्रको हनुमान शक्तिलाई जगाऔँ । सक्कली डिग्रीधारीसँग द्रुत आर्थिक विकासको द्रोणाचल पर्वत उचाल्ने सामथ्र्य छ । यी बौद्धिक हनुमानवाट राज्यले फाइदा लिँदा अर्को कालो दिन आउँदैन, विधेयक फिर्ता गर्नुपर्ने नौबत आउँदैन । आउनुहोस्, होस्टेमा हैँसे गरौँ । ती राउटे लगायतका निमुखा जनतालाई हाम्रै जीवनकालमा सही अर्थको विकासको बिस्कुन हालिदिऔँ । उनीहरू कम्युनिष्ट–कांग्रेस भइनसकेका नेपाली हुन् । अन्यथा तपाईं र मलगायत सबै भाग्यमानी नेपालीलाई अभागी राउटेका सन्तानको श्राप लाग्नेछ । भाग्य र श्रापमा विश्वास गर्ने नेपाली मतादाताहरूको संख्या अझै पनि विशाल छ ।

(वातावरण इन्जिनियरिङमा विद्यावारिधि खतिवडा नेपाल विकास अनुसन्धान प्रतिष्ठानमा आबद्ध छन् ।)

लिङ्क :  http://ehimalayatimes.com/bichar-sahitya/35246

Wednesday, June 3, 2020

बक्रोक्ति : डाक्टर महात्म्य

भारतको उत्तराखण्ड राज्यअन्तर्गतको एक विश्वविद्यालयबाट नेपालका एक अध्येताले विद्यावारिधि गरेछन् । उनको अनुसन्धानको शीर्षक रहेछ– सुदूरपश्चिम नेपालको कम्युनिस्ट आन्दोलनको इतिहास । नेपालमा यो चलन राम्रै चलेको छ । कसैले इतिहासमा शोध गर्छ नेपाली भाषा विभागले विद्यावारिधिको उपाधि दिन्छ । कसैले शिक्षा विषयमा शोध गर्छ उपाधि पाउँछ इन्जिनियरिङ विधाको ‘डाक्टर’ । कसैले वातावरण इन्जिनियरिङको शोधले गणितमा या भौतिक विज्ञान विषयको उपाधि पाउँछ ।

कामरेडहरूको योगदानको शोध गर्ने उम्मेदवारको बारेको एउटा रोचक प्रसंग रहेछ । कम्युनिस्ट आन्दोलनमा भीमदत्त पन्त, भीम रावल, त्रिलोचन ढकाल आदि हस्तीहरूको योगदानको लामै चर्चा शोध ग्रन्थमा गरिएको रहेछ । यस्तै, जिल्लास्तरीय नेताहरूको योगदानको चर्चाले पनि ग्रन्थमा ठूलै हिस्सा ओगटेको रहेछ । तर, त्यहाँ प्रकाश शाह नाम गरेका व्यक्तिको बारेमा समेत दुई पृष्ठको व्याख्या देखेर सुपरीवेक्षकले शोधार्थीलाई हिन्दीमा सोधेछन्,

‘प्रकाश शाहका देनका भि चर्चा किया है ।’

‘ओ ¤ ऐसा है क्या ? मेरेको तो आपके कहने से हि मालुम हुवा ।’

‘हाँ, पुरे दो पेजका डाल दिया है । वेसे कौन था वो ?’

‘प्रकाश शाह तो थेसिस टाइप करनेवाला टाइपिस्ट था ।’

यसरी टाइप गर्ने व्यक्तिले नै ‘आफ्नै हात जगन्नाथ’ पारेर पनि कम्युनिस्ट आन्दोलनको इतिहासमा आप्mनो योगदानको कुरा समाविष्ट गरेको प्रकरणले गुरु र शिष्यबीच मनोमालिन्य सिर्जना भएछ । शिष्य गम्भीर भएर बिचौलियाकहाँ पुगेछन् । बिचौलियाले शोधार्थीलाई अर्को दिन बन्दोबस्तीका सामानसहित गुरुकहाँ पु¥याएछ ।

‘यार्सागुम्बा, शिलाजित और पहाडका सुकुटी लेकर आया है । बेचारेको संकटमे मत डालिए ।’

‘कहाँ है वो सब सामान ?’

‘साथ ही मे लाया है ।’

‘साथ हि मे ला दिया ? मतलव अफिस मे ही लेकर आया है ।’

यसरी ‘करेलालाई निमको थाँक्रो’ को उखान चरितार्थ हुने काम भएछ । कर्णाली प्रदेशका एक माननीयले केही समयअघि मलाई यो हास्यप्रधान तर अतिशय दारुण कथा सुनाएका थिए । उनले नेपालमा विद्यावारिधि गरेर डाक्टर उपाधिको भारी बोकेर हिँडेका केही विज्ञहरूको तार्किक र विश्लेषणात्मक क्षमताका बारेमा राम्रो गहिरो ज्ञान राखेका रहेछन् ।

उसो त समाजमा डाक्टर उपाधि हासिल गरेका दुई किसिमका व्यक्तित्वहरू भेटिन्छन् । विद्यावारिधिको डिग्रीधारी र चिकित्सा विज्ञानमा स्नातक गरेका । यी दुई प्रकृतिका डाक्टरसाहेबहरूलाई सुर्खेत निवासी छमान थापा मगरले बडो रोचक ढंगले परिभाषित गरे । उनीसँग थाइल्यान्डको नेपाली राजदूतावासमा भेट भएको थियो । उनले भनेका थिए, ‘सुई डाक्टर र फुइँ डाक्टर ।’

लगभग शतप्रतिशत सुडा अर्थात् सुई डाक्टरहरू आफूलाई परिचय गराउँदै भन्छन्, ‘म डाक्टर फलानो ।’
केही फुडा अर्थात् फुइँ डाक्टरहरू पनि सुई डाक्टर झैँ आफैँले आफूलाई ‘डाक्टर’ भनेर आफू पनि ‘फुइँ’ को बुई चढेको आभास दिन्छन् । तर, केही भने अरूलाई आप्mनो नामको अगाडि ‘डाक्टर’ को उपाधि जबर्जस्ती राख्न लगाउँछन् भन्ने ‘फुइँ इतर’ हरूको आरोप छ ।

सुडा र फुडाबीचको एउटा समानता भने उल्लेखनीय छ । एउटै सिद्धान्तको घेराभित्र रहेर दुवैको अघि ‘महा’ उपाधि लगाउन सकिन्छ । विद्वान्का अघि यो उपाधि लागेर महाविद्वान् हुन्छ । यसैगरी, मूर्खसँग जोडिएर महामूर्ख पनि हुन्छ । ठ्याक्कै त्यही तर्कको फेर समातेर ‘महासुडा’ र ‘महाफुडा’ को उपाधि सिर्जना हुन्छ । सुई डाक्टरले गर्ने उपचारको कामभन्दा अर्को कामले नाम र दाम कमाउनेहरू महासुडाको वर्गमा पर्छन् ।

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्री डा. तुलसी गिरी, वरिष्ठ चिकित्सक डा. भोला रिजाल आदि सबै महासुडा हुन् । डा. यादव र डा. गिरीले नाडी छाम्नेभन्दा राज्यको नीति अर्थात् राजनीति छामे । डा. रिजालले प्रसुति रोग विशेषज्ञ भएकाले नाडी र नारी दुवै छामे । तर, उनले महासुडाको उपाधि पाउने कारण भने उनले गीत र गजलको दुनियाँमा कमाएको लोकप्रियताले हो । अध्यात्म जगत्मा नाम कमाएका डा. जेपी अग्रवाल पनि महासुडा हुन् ।

महासुडा जस्तै कुनै विषयमा विद्यावारिधि गरेर त्यो विषयइतर काम गरेर ख्याति कमाउनेहरू महाफुडा हुन् । अहिले रंगमञ्चमा भएका हस्तीहरूमा जर्मनीकी चान्सलर डा. एन्जेला मर्केलाको नाम महाफुडाको सूचीमा अग्रपंक्तिमा आउँछ । उनले भौतिक विज्ञानमा विद्यावारिधि गरेकी छन् । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंह पनि महाफुडा हुन् । नेपालका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि महाफुडा हुन् । उनले सहरी योजना विषयमा विद्यावारिधि गरेका छन् ।

यस्तै, डा. प्रकाशचन्द्र लोहनी, डा. रामशरण महत, डा. युवराज खतिवडा र डा. सिके राउत आदि सबै महाफुडाको समूहमा पर्छन् । महाफुडाको उपाधि पाउने केही विद्वान्हरू आध्यात्मिक जगत्मा पनि छन् । सिद्धबाबाका नामले चिनिने कृष्णदासजी महाराज हुन् या पतन्जली योग सिकाउने डा. चन्द्रमणि खनाल हुन्, महाफुडाकै वर्गमा पर्छन् ।

अहिले सामाजिक सञ्जालमा ख्याति कमाएका एक महासुडा छन् । उनी मुटुका डाक्टर हुन् तर ख्याति कमाएका छन्– साहित्य सर्जक र पूर्वाधार विज्ञका हिसाबले । उनको नाम हो, डा. रमेश कोइराला । उनले चाल्र्स सोभराजको समेत मुटुको शल्यक्रिया गरेका छन् । रमाइलो त के छ भने उनको सामाजिक सञ्जालमा एक अर्का महाफुडासँग परेको चर्काचर्कीको चर्चा व्यापक भएको छ । ती महाफुडा हुन्, डा. सूर्यराज आचार्य । यी दुई महारथीलाई एकै ठाउँमा ल्याएर ‘रेल सपना’ विषयमा एपिवान टेलिभिजनका टीकाराम यात्रीले संवाद चलाए ।
डा. आचार्यले टोकियो विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन् । उनी अहिले साझा विवेकशील दलका प्रवक्ता छन् । गत चुनावमा उनी पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग चुनावी मैदानमा उत्रिएका थिए ।
रमाइलो कुरो त के भयो भने महासुडा कोइरालाले रेल पूर्वाधारसम्बन्धी कतिपय प्राविधिक मुद्दामा महाफुडा आचार्यलाई ललकारे । अब कुनै दिन आचार्य वा अर्को कुनै महाफुडाले कोइरालाको विरासत ‘मुटु शल्यक्रिया’ को विषयमा यसैगरी बहस गर्ने नौवत पनि आउला कि ¤ म यो महासुडा र महाफुडाको लिला देखेर चकित परेको छु ।

वास्तवमा विद्यावारिधि गरेको व्यक्तिको बौद्धिक र तार्किक क्षमता सामान्य जनको भन्दा बढी हुनुपर्ने हो । उसले आफ्नो विषयलगायत अन्य सार्वजनिक सरोकारका या व्यक्तिगत महŒवका विषयमा अन्यको ध्यानाकर्षण गराउने मात्र होइन मन्त्रमुग्ध नै बनाउन सक्नुपर्ने हो । तर, यस्तो हुँदैन । अधिकांश फुडाहरू आप्mनो हतियारको रूपमा मलामी गाम्भीर्य चलाउँछन् । उनीहरू यो अस्त्रले नै अधिकांश समयमा काम लिन्छन् ।
मैले ‘फुडा’ को उपाधि आर्जन गरेको शैक्षिक संस्था एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी) का पूर्वप्रेसिडेन्ट जोन लुइस आर्मान्डसँगको एउटा भेट अविष्मरणीय छ । एआइटी एलुम्नी एसोसिएसन नेपाल च्याप्टरको निमन्त्रणामा उनी नेपाल आएका थिए । याक एन्ड यती होटलमा रात्रिभोजको आयोजना गरिएको थियो । म सुट र टाइको औपचारिक पहिरनमा पुगेको थिएँ ।

आर्मान्ड महोदयलाई सहभागीको एउटा समूहले घेरेको थियो   । यस्तो बेलामा व्यक्तिगत कुरा गर्नेदेखि लिएर कसैलाई जागिर लगाइदिने वा आप्mनालाई एआइटीमा भर्ना गर्नेसम्मका निजी विषयका कुरा गर्नेको बाहुल्य हुन्छ । म पनि सहभागीले बनाएको घेरामा एउटा विन्दुको रूपमा उभिएको थिएँ ।

‘जेन्टलम्यान, यु हृयभ अ रेड पेन ?’

एकाएक उनले मेरो कोटको खल्तीमा टाउको देखाएर उनिएको रातो कलमतिर ध्यान दिँदै भने ।

‘दिस इज हृवाट यु गेभ मी ।’

मैले प्रत्युत्पन्न शैलीमा उत्तर दिएँ । यो उत्तरले उनको ध्यान पूरै मेरो कुरामा केन्द्रित भयो । उनी मेरो नजिक आए । अब कुराकानी उनी र मेरोबीचमा केन्द्रित भयो । अरू श्रोता भए ।

‘भेरी इन्ट्रेस्टिङ् । बट जेन्टलम्यान, आई डु नट फाइन्ड रेड पेन इन देयर पकेट्स ।’

उनले हामीलाई घेरा हालेका अन्य सहभागीतिर देखाउँदै भने, ‘नभन्दै अरूको खल्तीमा रातो कलम थिएन ।’

‘दियर इज अ स्टोरी बिहाइन्ड इट ।’

अब उनी मेरो कथा सुन्न लालायित भएका थिए । मैले प्रत्युत्पन्न शैलीमा कथा सिर्जना गरेँ ।

‘तपाईं अर्थात् एआइटीले हामी सबैलाई रातो कलम दिन्छ । तर, उहाँहरूको कलम भने विमानस्थलमा हराउँछ ।’

‘त्यो कसरी हुन्छ ?’

उनले फ्रेन्च भाषा बोल्ने रैथानेको झझल्को दिँदै अंग्रेजीमा मलाई सोधे ।

‘उहाँहरू रातो कलम सुटकेसमा राख्नुहुन्छ । विमानस्थलमा रातो कलम भएको सुटकेस थाहा पाएपछि त्यहाँका कर्मचारीले त्यो कलम चोरी गर्छन् ।’

‘तिम्रो रातो कलम कसरी सुरक्षित हुन्छ त ?’

‘म कलम सुटकेसमा राख्दिनँ । कोटको खल्तीमा राख्छु ।’

प्रेसिडेन्ट आर्मान्डले बैंकक पुगेर पनि रातो कलमको चर्चा गरेछन् । यसैले, ‘रातो कलम’ को प्रकरणपश्चात् मैले पनि आफूलाई महाफुडामा पदोन्नति हुने लाममा नराख्ने कुनै कारण देखिनँ ।

मेरो निवास नजिकै कोटेश्वर सेतीओपी मार्गमा किरण देउजाको स्टेसनरी पसल छ । म उनको पसलमा पत्रिका किन्छु । मेरो मोबाइलमा सञ्चित रकम राखिदिने काम पनि उनकै जिम्मामा छ । उनले एकपटक उनको पसलमा आएका एक अनौठा ग्राहकको कथा सुनाए ।

एक ग्राहक सिमकार्ड किन्न आएका थिए रे । किरणले उनको विवरण सिमकार्ड प्राप्त गर्न भर्नुपर्ने फारममा विवरण भर्न थालेछन् ।

ती अरूजस्ता सामान्य ग्राहक थिएनन् रे । ग्राहकले किरणलाई भनेछन्, ‘म डाक्टर हुँ । मेरो नामको अगाडि डा. लेख्नुहोस् ।’

‘माफ गर्नुहोला महासय, सिमकार्ड किन्नका लागि हजुरको ‘डाक्टर’ उपाधि चाहिँदैन ।’
यो सुनेर ग्राहक आक्रोशित भएछन् । उनले कडै शब्द प्रयोग गर्न थालेछन् । किरण पनि के कम ¤ विद्यार्थी जीवनमा राजनीति गरेका व्यक्ति परे । चर्काचर्की नै परेछ ।

‘ल ¤ तपाईंको नागरिकता हेरौँ । सिमकार्ड लिन चाहिने कागजात नागरिकताको प्रतिलिपि हो । त्यसमा
तपार्इंको नामको अघि ‘डा.’ लेखेको भए म पनि लेखिदिन्छु ।’

नागरिकता वा जन्मदर्ता जस्ता प्रमाणपत्रमा ‘श्री’, ‘सुश्री’, ‘श्रीमती’, ‘डा.’, ‘ई.’ जस्ता उपाधि लेखिएको हुँदैन । सिमकार्डको दाम सयमात्र पर्ने भएकाले त्योमात्र बेचेर खासै नाफा हुँदैन ।

प्रायःजसो मोबाइलका पसलेहरूले सिमकार्डसँगै मोबाइल पनि बिक्री हुने आशाले राखेका हुन्छन् । किरणले भने उनको पसलमा मोबाइलमा रकम हालिदिने सेवा पनि दिएका छन् । यसकारण पनि होला किरण ती फुइँ डाक्टरसँग खरो उत्रिए । आखिर यसै विषयमा कुरा नमिलेर ती फुइँ डाक्टर सिमकार्ड नै नकिनी हिँडेछन् ।
किरणसँग मेरो प्रायः हरेक दिन बिहान भेट हुन्छ । केही दिनअघिको कुरा हो । म पत्रिका लिन उनको पसलमा पुगेको थिएँ । एकजना अर्का ग्राहकले उनलाई सोधे, ‘हिजो राति प्रहरी आएको थियो रे होइन ?’

‘हो । आएको थियो ।’

‘किन आएको रहेछ ?’

‘गहना पसलका साहुजीले मापसे गरेर वितण्डा मच्चाएछन् । यसैले उनका परिवारले केही नलागेर यो उपाय अपनाएको रहेछ ।’

ती ग्राहक यति सुनेर हिँडे ।

मैले यही विषयमा किरणको ध्यानाकर्षण गरेँ ।

‘मापसे गरेर वितण्डा नमच्चाएको भए एउटा कुरा भने प्रमाणित हुन्थ्यो ।’

‘त्यो के होला सर ?’

‘उनले खाने गरेको माल नक्कली रहेछ भन्ने ।’

किरणको हाँसो प्रस्फुटन भयो ।

‘मानेँ सर । हजुर त्यतिकै फुडा भएको होइन ।’

उनले मेरो ‘डाक्टर’ उपाधिको तारिफ गरे । मलाई लाग्यो मेरो महाफुडा हुने यात्राको दूरी छोटिएको छ । अब म गन्तव्यमा पुग्न गति पनि बढाउने उपायको खोजीमा छु ।

श्रीदरबार टोल, पुल्चोक, ललितपुर ।

 साभार : http://ehimalayatimes.com/bichar-sahitya/32523

Wednesday, April 15, 2020

उजाडिएको सौराहा र जोखिमको भरतपुर


आन्तरिक उडान कक्षमा भिडभाड सामान्य मात्र थियो । सम्भवत: स्वदेश भित्रैको कुनै गन्तव्यमा जानका लागि पहिलो पटक म यति बिहानै विमानस्थल पुगेको थिएँ । बुद्ध एयरको भरतपुर जाने साढे छ बजेको उडानमा हाम्रो यात्रा तय भएको थियो । गणेशजी र म पाँच बजेर २० मिनट हुँदा टिकट जाँच कक्षमा पुगेका थियौँ । यतिबेला डा. जयकुमार गुरुङ भने चाबहिलमात्र आइपुग्नु भएको रहेछ ।   

"यति बिहानै कहाँसम्म हो र हजुरहरु ?" बोलाइ र लवाइले सभ्रान्त देखिने मधेसी मूलका एक अपरिचित व्यक्तिले हामी नजिक आएर सोधे ।

"भरतपुर । हजुर चैँ कहाँसम्म हो नि ?" मैले उत्तर दिँदै प्रश्नको पैँचो तिरेँ ।   

"माउन्टेन फ्लाइटको लागि ।"

"सुनेर खुसी लाग्यो । प्राय: विदेशी पर्यटकहरु मात्रै जाने गरेको पाएको थिएँ ।"

"दिल्लीबाट आएका पाहुनाहरु हुनुहुन्छ, वहाँहरुको लागि हो ।"

मैले गमेँ -आखिर भारतीय पनि त विदेशी नै हुन । खुसी लाग्यो-भारतीय पर्यटकहरुको पनि यो रुचि बढेकोमा । वास्तवमा हिमाल नेपालको एउटा अलौकिक सम्पदा हो । राजधानी या अन्य कुनै प्रमुख सहरको सहज पहुँचमा यति धेरै आकर्षण संसारमा बिरलै छ। 

एकाएक आकाश थर्किने आवाज आयो । एकछिन सम्म सबै पङ्खा एकैसाथ चलाएर हो कि भन्ने भ्रम पर्‍यो । होईन रहेछ । आवाजको कारण घनघोर वर्षा पो रहेछ । सिसाबाट बाहिर हेर्दा मुसलधारे पानी परेको देखियो । भर्खरै बनाएको टर्मिनल भवन । वास्तवमा मेरो सामान्य पूर्वानुमानले कोलाहलको यो तह सार्वजनिक स्थलको स्वीकार्य ध्वनिको तह भन्दा माथि भएको वतायो । के हाम्रा प्राविधिकहरु चुकेकै हुन् त ? प्रश्नको लिङ्गो आकासियो ।

काउन्टर खुल्यो । यात्रुहरु दुई पङ्तिमा विभाजित भएर अघि बढे ।

"पालो नआएका महानुभावहरु कृपया अलि परै उभिइदिनुस् न ।" 

औपचारिक ज्याकेट लगाएका एक काउन्टर कर्मचारीले हाम्रो ध्यानाकर्षण गरे । उनको अनुरोध काउन्टरमा गुजुल्टिएका तिन यात्रुहरुको हेलचेक्र्याइँ तर्फ केन्द्रित थियो ।

"के बिग्रन्छ र सँगसँगै उभिँदा ?" मैले जानाजानी कुरोको धागो बनाएँ ।   

"अघिको मान्छे फनक्कै घुमेर पछाडि फर्कियो भने ठोकिन्छ क्या !"

मेरो र ती पद्धति बसाल्न खोज्ने कर्मचारीको वार्तालाप सुरु भयो । सुन्नेको कमी थिएन । पङ्तिमा उभिएका बँधुवा श्रोता छँदै थिए ।

"त्यही भएर विदेशमा यहाँ उभिनु भनेर सङ्केत चिन्ह राखेको हुन्छ ।"

मैले म उभिएको ठाउँ देखाउँदै भने ।

"हामीले पनि त्यस्तो चलन सुरुगरेको हो तर काम लागेन । अलि दिन पछि फेरि पुरानै बेथिती पग्रियो ।"

"कसरी लाग्दैन ? एक दिन त अवश्य लाग्छ । राम्रो काम हो भन्ने यकिन भएपछि काम पुरा नहुन्जेल प्रयास गरिरहनु पर्छ । बिचैमा थला पर्न कहाँ पाइन्छ र ?"

मैले राम्रै दर्शनको पुच्छर समातेँ । टोपी लगाएका एक बृद्धले मेरो तर्कको समर्थन गरे ।

टिकट जाँच गर्ने मेरो पालो आयो।एक यात्रु मेरो पालो मिच्दै काउन्टरमा जान खोजे।

"अबको पालोमेरो हो । लाइन यता छ ।"

मेरो त बानी नै लाग्यो-पालो मिचेको सहन नसक्ने । 

"सानो नानी साथमा छ । काम थाती भएकोले हो ।"

मेरो पालो मिच्नेले स्पष्टीकरण दिए ।

वास्तवमा मैले प्रवेशद्वारमा सामान एक्सरे यन्त्रमा राख्दा ती यात्रुलाई देखेको थिएँ । काखमा सानो नानी बोकेका थिए । साथमा एउटी महिला थिइन ।

"तर हजुरले बोल्नु पर्‍यो नि त । आफ्नो कुरा नराखी हामीलाई हजुरको समस्या कसरी थाहा हुन्छ र ?"

घुसघुसे प्रवृत्ति बुई चढेको संस्कार र अरू प्रति संवेदनशिल नहुने बानीले हाम्रो समाज खाएको छ । यी धमिरा उधिन्न बाँकी राख्नु हुँदैन । ती पुरुष पात्रलाई पनि राम्रै सबक सिकाएको अनुभूति मलाई भयो । उनको र मेरो कुराकानी अरूले पनि सुने । गर्व लाग्यो ।  

उडान निर्धारित समयमा नै थियो । हामी तिन भाइ बस चढ्ने मध्ये पुछारको समूहमा थियौँ । बसमा सिट खाली थिएन । उभिनेमा परियो । मैले उभिएरै भए पनि एउटा काम गरेँ । बसमा सवार स्वदेशी नारी र पुरुषको सङ्ख्या गन्न थालेँ । केही समय अघिदेखि मेरो मानसपटलमा पलाएको एक अवधारणा अझ विकसित भयो । मातृशक्ति अर्थात्आधा आकाशको प्रतिनिधित्व गर्ने यात्रुको सङ्ख्या पचास प्रतिशत भन्दा बढी थियो । अहिले अर्थतन्त्रमा महिला सहभागिताको अंश ह्वात्तै बढेको छ । यो यथार्थले नेपालको समृद्धिमा कालो बादलमा चाँदीको घेराको काम गरेको छ । कसरी र किन भयो, कतिपयलाई त यसको हेक्का समेत नहोला । जापानले यही काम गर्न राज्य स्तरबाट ठुलो पहल गरेको थियो । एकातिर बुढ्यौलीले छोएको जनसङ्ख्याको बाहुल्य भएकोले बजारमा जनबलको अभाव भएको थियो ।  अर्कोतिर पाखुरा चलाउने उमेरका अधिकांश महिलाको कर्मशील जमात भने बालबच्चाको पालन पोषणमा र गृहिणीको भूमिकामा सीमित थियो । यो समस्या चिर्न जापानले चालेको कदम प्रशंसनीय छ । हामीकहाँयस विषयमा अनुसन्धान गरी यो हरियो सङ्केतलाई अझ सशक्त बनाउने दिशामा नीति नियम बनाउनु जरुरी छ ।

मैले देब्रे झ्यालको सिट मागेको थिएँ । काउन्टरको हरिलठ्ठकले दाहिनेतिरको दिएछ । मलाई देब्रे पट्टिको दृश्य हेर्ने सुर चढेको थियो । काम भएन तर दाहिने भए पनि झ्यालतिरै दिएछ । चित्त बुझाएँ । भारतका विख्यात अध्येता एवं पूर्व राष्ट्रपति अब्दुल जे कलामले भनेको सम्झिएँ-दुध फट्ने से वो लोग निराश होते हैँ जिनको रसबरी बनाना नही आता ।

नभन्दै त्यस्तै भयो ।  म झ्यालतिर बसेँ । मेरो सहयात्री हुन आइपुगिन् सलवार कुर्तामा सजिएकी एक युवती । उनी तिस आसपासकी हुँदी हुन् । कद सामान्य । रूप सामान्य । सबै षोडशी सुन्दरी कहाँ हुन्छन् र ! मैले घरमा फोन गरेर उड्न लागेको जानकारी दिएँ । त्यसपछि उडान पत्रिकामा आँखा डुलाउन थालेँ । युवतीले सिट पेटीको दाप उल्टो समातिन् । खुकुरी र दाप जस्तो लाग्छ मलाई सिट पेटीका दुई टुप्पा । खुकुरी सुल्टो पारेर दापको मुखमा छिराए जस्तै गरी सिट पेटी पनि बाँधिन्छ ।

"हुँदैन त यो !" उनले मतिर हेर्दै भनिन् ।

यसको मतलब उनी हवाई यात्राकी नौली पात्र थिइन। अन्यथा सिट पेटी बाँध्नु एक सामान्य काम हो । अहिले यो साना सवारी साधनमा पनि अनिवार्य छ । यस्ता काम हरेकले सिक्नु जरुरी छ । आफैले गरेर सिक्यो भने त्यो सबै भन्दा दिगो हुन्छ । मैले उनलाई सहयोग नगर्नुको कुनै अर्थ थिएन । मेरा अघि दुई विकल्प थिए । पहिलो, उनको पेटीका दुई पाटा समातेर आफैले बाँधिदिने । यसो गर्दा मेरा हातले उनको शरीर स्पर्श गर्न सक्थे ।  अथवा बेल्ट बाँधिदिने बहानामा म उनलाई छुने उद्धेश्यको निर्माण गर्न सक्थेँ । यस्तो उद्धेश्यलाई केन्द्रमा राख्ने कतिपय लम्पट भेटेको छु । अरूको संवेदनशीलताको सिकार गर्ने । छुने उद्धेश्य नराखेर पनि म उनको पेटी बाँधि दिन सक्थेँ । मैले त्यसो पनि गरिनँ । किनभने मेरो मान्यता छ-नजान्नेले आफूसँग एउटा सिक्ने अवसर बोकेर हिँडेको हुन्छ । सिकाउनेले त्यो बुझेर भैपरि आएको मौकालाई साइतमा परिणत गरिदिन सक्छ । बुझाइ र सिकाइमा पनि यही फरक छ । कतिपय सही कुरा बुझेकाले पनि सही तरिकाले सिकाउन जान्दैनन् । मैले उनलाई सिकाउने उद्धेश्यकेन्द्रभागमा राखेँ ।      

"ल यता हेर्नू ।"

उनले हेरीन् । मैले मेरो पेटी फुकालेँ । अनि उनलाई उनको पेटीको दाप सुल्टो पार्न लगाएँ । मैले मेरो पेटी बाँधेँ । उनलाई अनुकरण गर्न लगाएँ । उनले सिकिन् । अर्थात् उनको पेटी उनी आफैँले बाँधिन् । मेरो एक अर्को पुरानो सिद्धान्त एक पटक पुन प्रतिपादित भयो-उनलाई मैले मेरो आफ्नो केही दिइनँ। उनको मसँग विधाताले दिएको जे नासो थियो त्यही दिएँ ।

मेरो सोचाइको घेरा एक एक विराट रूपको हुन्छ । नेपालका तिन करोड नरनारीको मसँग केही न केही नासो छ । कहिलेकहीँ त लाग्छ- यो नासो सबै जनलाई एकै पटक भ्वाक्क फिर्ता गर्न पाए कति हलुको हुने थियो होला ।

युवती र मबिचको अपरिचयको बरफ पग्लिसकेको थियो । मैले फाटेको दुधको रसबरी बनाएँ । किनभने काठमाडौँ उपत्यका छिचोलेपछि बाहिर आकाशमा कुहिरो लागेको थियो । देब्रे झ्यालमा बसेको भए पनि त्यही कुहिरो हेर्थेँ । कुहिरोसँग कुरा हुँदैनथ्यो । कुहिरोसँग रङ पनि हुने थिएन  तर छिमेकीसँग मज्जाले कुरा गरेँ । माइत चितवन रहेछ । घर बैतडी । पहिचानको मुद्दा ल्याएर देशमा भाँडभैलो मच्चाउने नेताहरुलाई फेरि एक पटक धिक्कार्न मन लाग्यो । विगत केही दशकमा हाम्रो भूगोल तोरीमा कोदो मिसिए जस्तै मिसिएको छ । हाम्रो समुदाय मिसिएको छ । केको पहिचान ? केको पर्खाल  ? तिमीले लगाएर लाग्छ पर्खाल ? तीजकी चेली भएर माइत जान लागेकी रहिछन् । पुण्य कार्यमा जान लागेकी उनलाई सहयोग गरेर मलाई पनि सानोतिनो पुण्य कमाएको अनुभूति भयो।
 
विमानस्थलमा प्रा.डा. पुण्य प्रसाद रेग्मी हामीलाई लिन आउनु भएको रहेछ । हामी सिधै सौराहा गन्तव्य बनाएर बाटो लाग्यौँ । हात्ती चोकको एक चमेना गृहमा चियानास्ताको कार्यक्रम भयो । श्रावण २८ गते आएको बाढीले सौराहामा ठुलो प्रलय ल्याएको सुन्दा अचम्म र पीडा भाव दुवै एकै साथ हामीलाई छोपे । प्रत्यक्षदर्शी स्थानीयले त्यो त्रासदीको बयान गरे-ऊ त्यो हात्तीको सालिकको जग पनि तिन फिट जति पानीमा डुबेको थियो । एकाएक पिच बाटोमा खोलो बग्न थाल्यो । अरू वेला गाडी हिँड्ने सडकमा बगेको बाढीले भयभीत बनायो । सपना हो कि विपना, यकिन गर्न पनि गार्‍हो भयो । खोलो उत्तर दिशामा द्रुत गतिमा बगेको थियो । केही घण्टा पछि फेरित्यही खोलो दक्षिण दिशामा बग्न थाल्यो ।

बङ्गलादेश वा समुद्रकिनाराका मुलुकहरुमा नदी दुवै दिशामा बग्छ भन्ने मलाई जानकारी थियो । नेपाल जस्तो अग्लो होचो भू-धरातल भएको स्थानमा पनि एउटै बिन्दुलाई आधार बनाउँदै दुवै दिशामा पानी बग्न सक्छ भन्ने मैले कल्पेको पनि थिइनँ तर यो सँभव रहेछ ।राप्ती नारायणीमा मिसिँदा वा भरतपुर नगरको बिच भागबाट बग्ने पुँगी जस्ता खोला नारायणीमा मिसिएको स्थानमा यो सम्भव हुने रहेछ । यस पटकको यात्रामा मलाई राप्ती नदी पूर्वबाट पश्चिम दिशामा बग्दो रहेछ र यसको दायाँ र बायाँ दुवैतिर पर्वत शृङ्खला रहेछन् भन्ने ज्ञान भयो ।  

चियानास्ता पछि नेपाल विकास अनुसन्धान प्रतिष्ठान (नेविअप्र) र अन्य दुई गैर-सरकारी संस्थाहरुको सहयोगमा राहत सामग्री वितरण गर्ने कार्यक्रममा सहभागी भयौँ ।

बाढीले क्षति पुर्‍याएका घरहरुको अवलोकन पनि गर्‍यौँ । सुकुम्बासीहरुको बसोबास भएको क्षेत्र रहेछ । केही पीडितहरुको बाढीले क्षति पुर्‍याएका घरहरुको निरीक्षण पनि गर्‍यौँ । एक जना बहिनीले भुइँमै बनाएको आफ्नो टाँडे घर भित्र पुर्‍याईन् ।

"छोरालाई माइतमा पुर्‍याएकी छु । बुढाबुढी टाँडमा सुत्छौँ । न त पकाउन सकिएको छ । न त भुइँमा लिपपोत गर्न । सबै भिजेको छ । यो सङ्कट कहिले सम्मबेहोर्नु पर्ने हो !"
उनले आफ्नो दु:खेसो पोखिन् । सम्भवत: यो उनको जीवन कालमा आएको सबैभन्दा उच्च नापोको विपद थियो । हामीसँग उनको घाउमा मल्हम लगाउने दुई पोका राहत सामग्री मात्र थियो । 

ती बहिनी लगायत रत्ननगर नगरपालिको वार्ड नं. ५ को मगरटोलका ५० घरपरिवार राहत सामग्री पाउने सूचीमा थिए । विपद व्यवस्थापनमा राज्यका निकायहरु र नेपाल विकास अनुसन्धान प्रतिष्ठान जस्ता संस्थाले गर्नु पर्ने काम टड्कारो रूपमा सतहमा आए । कुनै स्थानमा कत्रो बाढी आउन सक्छ, कति डुबान वा कटान हुन सक्छ, त्यसको पूर्वानुमान गरी त्यहाँ निर्माण गरिने संरचनाहरु कसरी बाढी निरोधक बनाउन सकिन्छ भन्ने विषय अब सामान्य पाठ्यपुस्तकको अंश भएको छ । यहाँ खाँचो छ-त्यसलाई व्यवहारमा उतार्ने परिपाटीको ।

वार्ड नं. ६ को बचौली बस पार्क हाम्रो दोस्रो राहत वितरण स्थल थियो । त्यस वार्डको विपन्न बस्तीमा बाढीले ठूलो क्षति पुर्‍याएको रहेछ । यस दोस्रो स्थानमा ४२ घर परिवारलाई राहत सामग्री वितरणको काम भयो ।

"यो सामग्री घरसम्म पनि नपुग्न सक्छ । बिच बाटैमा खोया बिर्केसँग साटिन सक्छ ।"
एक स्थानीय सज्जनले तितो पोखे । राहत सङ्कलन गर्न आएका केही पुरुषको हुलियाले त्यही बताइ रहेको थियो । हाम्रो समाजलाई अधोगतितिर धेकेलिरहेको यो एउटा अर्को धमिरा हो । नैतिकता, मर्यादा र अनुशासनको संस्कार र  प्रभावकारी नियमनले यो धमिरालाई किनारा लगाउन सकिन्छ भन्ने मान्यता अझै पनि धेरै नेपालीमा  पाईन्छ ।   
राहत वितरणको काम सम्पन्न गर्न सहजीकरणको भूमिका निर्वाह गरिरहेको स्थानीय एक सहकारीको कार्यालयमा पनि एकै छिन पस्यौँ । सहकारीका पदाधिकारी र स्थानीय अगुवाहरु सँग राहत वितरण कार्यको लेखाजोखा भयो ।

मैले एउटा कथा जोडेँ-

एउटा गाउँमा आगो लागेछ । सबै जना लागेर आगो निभाउन थालेछन् । एउटी चरीपनि आफ्नो चुचोमा पानी बोकेर आगो लागेको ठाउँमा पुर्‍याउँदी रहिछ । चरीको चर्तिकला एउटा कागले नियालेको रहेछ । कागले कौतुहल मेटाउन चरीलाई सोधेछ-

"के को तमाशा हो यो ?"

"देख्दैनौ, आगलागी भएको छ । सबैजना आगो निभाउने काममा जुटेका छन् । म पनि सकेको योगदान गरि रहेकी छु ।"

'तिमीले चुचोमा बोकेको पानीले केही लछार्न सक्दैन । यहाँ दमकलको पनि बार्‍ह बजेको छ ।"

"प्रश्न त्यो होइन । प्रश्न त को कुन कित्तामा उभिएको छ भन्ने हो । म जस्ता पात्रको पनि होस्टे मा हैँसे भए पछि आगो त अवश्य नै निभ्छ । आगो निभेपछि एउटा कित्ताकाट हुने छ । म आगो निभाउनेको कित्तामा पर्ने छु, तिमी भने ननिभाउनेको ।"
चरीको आत्मगौरवले भरिपूर्ण उद्गार सुनेर काग विस्मयमा परेछ ।

मैले कथा सुनिरहेका सहभागीहरुलाई भनेँ-

"आजको यो पुण्य कार्यले हामी सबै चरीको कित्तामा भएको प्रमाणित गरेको छ । समाजमा उपस्थित सबै कागलाई यो सन्देश पुगेको दिन हाम्रो समाजमा विद्यमान अपरोपकारी ट्युमरको शल्यक्रिया हुने छ ।"

आयोजकहरुले सौराहाको प्रख्यात चौधरी भोजनालयमा दिवा खानाको व्यवस्था गरेका रहेछन् । थारु परिकारको  रैथाने स्वादले हामी तृप्त भयौँ । सौराहामा हाम्रो अन्तिम गतिविधि राप्ती नदी किनारको पर्यटकीय स्थलको निरीक्षण थियो ।  केही वर्ष अघि म परिवारसँगघुम्न आएको थिएँ । त्यस वेला त्यहाँ पर्यटकहरुलाई घण्टौँ  रमाउने पूर्वाधार देखेको सम्झना भयो । श्रावण २८ को प्रलयले त्यहाँका होटेल र रेस्टुरेन्टका भौतिक पूर्वाधारको नामनिशाना मेटेको थियो । आँखाले भ्याउने सीमासम्म नदीको उजाड लाग्दो बगर मात्र देखिन्थ्यो । जुन स्थानमा बसेर पर्यटकहरु गोही र अन्य जलचर अवलोकन गर्थे त्यो इतिहासको गर्भमा लुकेको थियो । खण्डहर  बनेका थिए सम्पूर्ण भौतिक संरचना।

"यो ठाउँलाई बाढी पूर्वकै स्थितिमा ल्याउन के पहल भएको छ त ?"

न त त्यहाँ कुनै सरकारी कार्य योजनाको गन्ध थियो न त कुनै गैर-सरकारी संस्थाको पहल । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको शिष्ट मण्डलले केही दिन अघि स्थलगत निरीक्षण गरेको स्थानीयले बताए । विडम्बना, पुनर्स्थापना र पुन: निर्माणका औपचारिक पहलको बारेमा स्थानीय अनभिज्ञ देखिए । सम्भवत: पर्यटन विभाग वा अन्य निकायलाई या दृष्टिदोष भएको थियो या त तिनका घुम्ने मेचमा बसेका मान्छेहरुले गैरजिम्मेवारीको छाता ओढेका थिए । कुनै किसिमको विमाको पनि व्यवस्था नहुनु विडम्बनाको अर्को पराकाष्टा थियो । 

सौराहाबाट हामी रामपुर हुँदै भरतपुर फिर्ता आयौँ । डा. रेग्मीले हामी बसेको फक्स सेन्च्युरी होटलको सम्पर्कबाट एउटा स्कर्पियो गाडी व्यवस्था गर्नु भएको रहेछ । हामीलार्इ भरतपुर विमानस्थलमा लिन आएको गाडी पनि त्यही थियो तर गाडी चालकको व्यवहार चित्त बुझ्दो लागेन । यस्तो लाग्थ्यो- सेवा उसले हामीलाई होइन हामीले उसलाई दिई रहेका छौँ । हामी बीचमा कसैले प्रश्न सोध्यो भने ऊ जान्ने भएर जवाफ दिन्थ्यो । उसको व्यक्तिगत काम गर्न निर्धारित मार्ग परिवर्तन गरी हाम्रो कार्यक्रमसँग असम्बन्धित स्थानमा आफू खुसी गाडी रोकेर हामी सबैलाई अल्मल्याउँथ्यो । उसको कुनै सामान लिने बहानाले आफ्नो घरको घुमाउरो बाटो लिएर पनि गयो । द्रुत गतिमा चलिरहेको गाडीमा मोबाइल फोनमा कुरा गर्थ्यो । हाम्रो माग र चाहनालाई ऊ तोडमरोड गरेर उसको अनुकूलको समाधान पस्किन्थ्यो । मलाई सह्य भएन । मैले डा. रेग्मीसँग त्यो दिन बेलुका नै उसलाई बिदा दिने र अर्को सवारी साधन खोज्न सल्लाह गरेँ । त्यतिले पनि 'मेरो नायकत्व' चुपलागेर बस्न सकेन । मैले चालकलाई नम्र भाषामा चेतावनी दिएँ।

"तपाइँले गाडी चलाउँदा मोबाइल फोनमा कुरा गर्नु भयो भने हाम्रो त बोली नै बन्द हुन्छ । डरले मुटुको ढुकढुकी बढ्छ । केही वर्ष विदेशमा बिताइयो जहाँ सवारी चालकले यस्तोकहिल्यै गर्दैनन् । कृपया हामीलाई सेवा दिने अवधि भरी मोबाइलमा कुरा नगरिदिनु होला ।"

नारायणी नदीको जल सतह र भरतपुरको जमिनको सतहको बिचमा केही मिटरको फरक मात्र रहेछ । मैले बेलुका होटलमा फर्केपछि जल तथा मौसम विभागको वेबसाइटमा हेरेँ । नारायणीको त्यो दिन अर्थात् भदौ चार गतेको बहाव- प्रति सेकेन्ड चार हजार घन मिटर भन्दा पनि बढी । महानगरपालिकाको पगरी गुथेको सहर । नगर प्रमुखको कार्यालय र त्यो विशाल जलप्रवाहको बिचमा केही सय मिटरको मात्र अन्तराल छ । नदी किनारामा सहरको सुरक्षालाई लक्ष्य गरेर कुनै तटबन्धको संरचना बनेको छैन । विडम्बना नै हो । श्रावण २८ गते राप्तीमा आएको बाढीले पनि लगभग नारायणीकै हाराहारीको जलप्रवाह बोकेको रहेछ । अरू वेलाको  मुसो जत्रो राप्ती एकाएक हात्ती भएछ । मेरा मनमा यस्तो लहर सिर्जना भयो ।  

भोलिपल्ट भरतपुर महानगरपालिका  र रत्ननगर नगरपालिकामा अन्तक्रिया कार्यक्रमको आयोजना भयो । छलफलको केन्द्रबिन्दुमा एउटा महत्वपूर्ण प्रश्न पहाड बनेर उभियो-

"शहरको बीचबाट वा छेउबाट बगेको नदी वरदान हो कि अभिशाप ?"

दक्षिण कोरियाको राजधानी सोलमा सडक र फ्लाइ ओभर भत्काएर बनाईएको कृत्रिम नदी र त्यसले दैनिक हजारौँ पर्यटकलाई आकर्षण गरेको प्रसङ्ग पनि आयो ।

"शहरको छेउमा नदी हुनु भनेको प्राकृतिक वरदान नै हो तर त्यसलाई अभिशाप बन्न नदिन मानवीय पहल हुनु पर्छ । वेलैमा विपद रोकथाम र पूर्व सावधानीको उपाय अवलम्बन गरेर हामी नदीलाई अभिशाप बन्नबाट रोक्न सक्छौ ।"

हाम्रो छलफलले निकालेको यस्तो निचोड नै दुई दिने चितवन भ्रमणको महत्वपूर्ण उपलब्धिको रूपमा रह्यो । 

भरतपुर-काठमाडौँको हवाई यात्रा लामो दुरीको उडानमा पर्दैन । छोटो दुरीका कतिपय उडानमा यात्रुलाई दिइने सुविधाहरु कटौती हुन्छन् । हामी उड्ने जहाज एक घण्टा ढिलो भएको थियो । मलाई रुघाखोकीले सताएको हुनाले पर्खाइको त्यो समय उपयोग गर्ने योजनाले मूर्त रूप लिन सकेन । अधिकांश समय डा. गुरुङसँग कुराकानी गरेर बिताएँ । यो उडानमा भने परिचारिकाले चकलेट र पानी दुवै बाँड्न भ्याइन् । मैले पनि जहाजबाट ओर्लिँदै गर्दा उनको प्रशंसा गर्न भ्याएँ-छोटो दुरीको उडान भए पनि पानी बाँड्नु भयो, धन्यवाद छ हजुरलाई।

कहाँ नारायणीको विराट जलप्रवाह कहाँ यो एक लिटरको मिनेरल वाटर । तत्त्व त उही जल हो । अनौठो कल्पनाले मस्तिष्क भरियो । यो यात्राको मियो आखिर त्यही महत्वपूर्ण एक पन्चतत्त्व अर्थात् 'जल' नै भयो । 

दुवै हात जोडेर बिदाइ मुस्कान पस्किरहेकी हवाई देवीको अनुहारमा चमक देखियो । उनको मुस्कानको धर्को तन्कियो।त्यो तन्काइ पूर्णतया स्वभाविक र प्राकृतिक थियो। 

भाद्र २१, २०७४
कोटेश्वर, काठमाडौँ