Saturday, October 10, 2026

त्यो पर्दैन !

 “आज रमेशजीको छोराको बिहे पार्टीमा जानु छ, घर आउन ढिलो नगर्नु नि!”

महादेवीको उर्दी थियो।

“कति बजे जाने हो र?”

“पाँच बजे।”

खासमा मेरो त्यो दिन घरमा नै बसेर गर्ने काम अर्थात् “घरबाटै काम” थियो। कामको प्रकृति जटिल थियो। एक किसिमले टारी खेतको रोपाइँको बिट मार्नुसरह थियो। महादेवीको उर्दी जारी हुँदा एक तिहाइ जति खेत बाउसेसमेत गरेर तयार थियो तर रोपाहारले धान रोप्न बाँकी।

एक दाता संस्थालाई परियोजना प्रस्ताव बुझाउनु पर्ने थियो। समयसीमा रात्रिको ११:४५ बजेको थियो। कामको चापले पार्टीमा नजान पाए पनि हुन्थ्यो भन्ने नलागेको होइन तर महादेवीको साथमा जाने अनि प्राथमिकता नम्बर एकमा परेको काम पन्छाउने पनि कुरो थिएन। बैंककमा स्नातकोत्तर गर्दाका चिरपरिचित मित्रका छोराको बिहे भोजको कार्यक्रम थियो।

यही विषय मध्यनजर गर्दै म बिहानै औपचारिक पोशाकमा तयार भएको थिएँ। घरमै बसेर काम गर्दा पनि कार्यालय गएजस्तै पहिरन लगाउनुको मजा बेग्लै छ। म युद्धस्तरमा जुटेको थिएँ। ल्यापटपको स्क्रिनमा दुईचार गरा खेत रोप्दै मेलो सार्दै थिएँ। बेलुकी पाँच बजेतिर महादेवीको ध्यानाकर्षण गराएँ।

“म तयार भएकै छैन। समय लाग्छ त।”

महादेवीको जबाफले मलाई प्रफुल्ल बनायो। मनमनमा भनेँ- धन्य प्रभु! मलाई समयको यो आकस्मिक लाभ दिलाइदियौ।

म फेरी युद्धस्तरमा जमेँ।

बेलुकीको छ बज्यो। मैले पुन: महादेवीको ध्यानाकर्षण गराएँ।

“तपाईँ काम गर्नू। मलाई अझै समय लाग्छ।”

मलाई फेरि चिठ्ठा परेजस्तो भयो। अरू बिचरा श्रीमानहरूको स्मरण भयो, जो सँग न त पर्खिने धैर्य हुन्छ न त समय कटाउने कुनै कला! कतिपयले भन्दा हुन् दैव! किन शौच गर्ने, स्नान गर्ने, निद्रा पर्ने, सहवास गर्ने आदि कामको समयसीमा निर्धारण गर्न कुनै कन्जुस्याइँ गरेनौ। कम्तीमा यी काम गर्दा कुन वेला शुरु गर्ने र कुन वेला अन्त्य गर्ने भन्ने हेक्का रहन्छ। यो ऐना अघि उभिएर सौन्दर्य-साधनाको गर्ने कामको समय सीमा तोक्ने काम किन गरेनौ!

दुलाहाका तर्फबाट निमन्त्रणा आएको र उनका पिता हामी दुवैसँग परिचित भएकाले खादा ओढाएर बधाई दिए राम्रै होला भन्ने विचार आयो। महादेवीको ध्यानाकर्षण गराएँ।

“दुलाहाका बुबाआमालई खादा लगादिने कि?“

“त्यो पर्दैन।”

“त्यो पर्दैन” भन्ने वाक्यले केही समय अघि मुलुकमै हलचल ल्याएको थियो। त्यो भीमकाय स्वरूपको तरङ्ग राजमाता अर्थात् तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीकै आदेश विपरीत भएको थियो। यता मेरो संसारकी महादेवी पनि “पर्दैन” कै कित्तामा उभिएपछि थप प्रतिवाद गर्ने कुरो भएन।

महादेवीले निस्कने साइतको फेरो समात्दा घडीले पौने सात बजायो। उनले अन्तत: आदेश दिइन्- ट्याक्सी बोलाउनू।

हाम्रो घरबाट ट्याक्सी चढ्ने सडक पुग्न सय मिटरजतिको दूरी तय गर्नुपर्छ । म ट्याक्सी अडिएको ठाउँमा पुगेँ र गुरुजी (चालक) लाई दुई यात्रु भएको जानकारी दिएँ। केही विलम्ब त्यहाँ पनि भयो।

“खै त! हजुरको साथी?”

गुरुजीले यति भन्न भ्याए । मैले महादेवी आउने बाटो हेर्दै धैर्यको आयतन बढाएँ।

म देब्रेतिरको सीटमा बसेको थिएँ। महादेवीबाट मेरो बसाइको ‘व्याकरण” नमिलेको जिकिर भइहाल्यो।

“तपाईँ उता सर्नू म यता बस्छु।”

 

“फूलको गुच्छा किन्नु पर्ने भएकाले म यता बसेको हुँ।”

यहाँ भने मेरो तर्कले काम गर्‍यो। देब्रेतिरै बस्न पाएँ।

कोटेश्वर बसपार्कको सिरानमा रहेको पसलमा फूलको गुच्छा किनेर ट्याक्सीमा के पसेको थिएँ, म आलोचनाको शिकार भइहालेँ।

“कस्तो पुरानो सर्ट लगाको यो बुढाले?”

मैले मलाई निकै मन पर्ने कालो रङको बुट्टे सर्ट लगाएको थिएँ। संयोगवश त्यो दिन महादेवीले लगाएको साडीको रङसँग मेरो सर्टको रङ् “मित” लगाएकै अनुपातमा मिलेको थियो तर कहाँ महादेवीको दुई घण्टा चानचुनको रोजा र सिँगारपटार अनि कहाँ मेरो कुन रङको वा नयाँ पुरानो केही याद नगरेको छनौट!

मैले मनमनमा भनेँ- बिचरा मेरो कालो बुट्टे सर्ट, महादेवीले तेरो कुरा काट्नु भो! पिर नगर! यसमा तेरो कुनै गल्ती छैन।

यात्राको केही अंशको संवादको विषयवस्तु बन्यो मेरो पुरानो सर्ट।

“समय भएको भए म गाडी रोकेर अर्को किन्दिन्थेँ। यसो आफैँ पनि विचार गरे हुन्छ नि!”

ट्याक्सीमा हिँडेका वेला वा दुईतीन जना सँगै भएका वेला मोबाइल फोनको प्रयोग निषेध जस्तै हुन्छ। महादेवीको सिद्धान्त छ- दम्पतीका दुई जना वा परिवारका सदस्य सबै भेला भएको वेला कुराकानी गर्ने हो। जतिखेर पनि मोबाइलमा झुण्डिने हो भने के अर्थ भयो बुढाबुढी सँगै हिँडेको!

हामी जानुपर्ने थियो नक्शाल र विशालनगरको बीचतिर रहेको आम्रपाली ब्यान्क्वेटमा। ट्याक्सीले वानेश्वर-अनामनगर-कालिकास्थानको मार्ग रोजेको थियो। नक्शाल भगवतीनजिक पुग्न लाग्दा मैले मौनता तोडेँ। संवादको विषयवस्तु केही नउम्रेकाले मैले मेरी सहयात्रीको ध्यानाकर्षण गर्दै भने- अस्ति जेन्जी आन्दोलनमा जलाइएको हिल्टन होटल यही हो।

“होइन, हिल्टन होटल कहाँ छ यहाँ ? हिल्टन त चक्रपथ तिर पो छ।”

मेरो अभिव्यक्ति शुन्य नम्बर ल्याएर फेल भयो। होटलको यो प्रसंगले हाम्रो कुराकानीको रंगमन्चमा उद्धारकर्मी अर्थात् सवारी चालकको प्रवेश भयो।

 

“होइन हजुर, हिल्टन होटल त यही हो।”

उनले मेरो अभिव्यक्तिलाई पूर्णांक दिए।

यस विषयमा थप प्रतिक्रिया आएन।

हामी दुलाहा दुलहीलाई भेट्ने लाइनमा थियौँ। महादेवीले भनिन्- अरूले पनि ल्याएका रहेछन्, खादा ल्याएको भए हुने रहेछ।

मैले “त्यो पर्दैन” को अर्को संसार सम्झेँ। मेरो संसारमा “त्यो त पर्ने रहेछ” भनेर १८० डिग्रीले परिवर्तन भएको मनोविज्ञान अन्यत्र पनि शायद यसरी नै लागु भयो कि!

मेरी धर्मपत्नीसँग मेरो २०४८ सालमा मागी विवाह भएको हो। विवाह हुँदा म सरकारी इन्जिनियरको भूमिकामा स्थायी जागिरे भइसकेको थिएँ, उनी स्नातक तहको पढाइमा थिइन्। मैले सरकारी सेवाबाट २०५२ सालमा राजीनामा गरेँ। लोकले टिप्पणी गर्‍यो- मान्छेले लोकसेवा उत्तीर्ण गरेर पाएको इन्जिनियरको स्थायी जागिर तिलान्जिलि दियो।

नातेदारदेखि छरछिमेक सबैले पँधेरादेखि चोक र गल्लीसम्म भेला हुँदा त्यो मूर्खतापूर्ण निर्णय गर्ने यो मनुवाको कुरा काट्नुसम्म काटे।

यो विषयलाई चुरो बनाएर साथीभाइलाई सुनाउने महादेवी र मेरा आआफ्नै कथन छन्।

“मेरा बाले सरकारी इन्जिनियर भनेर छोरी दिएका हुन् कति सुखले पाल्ला भनेर। त्यो हुँदाखाँदाको जागिरबाट राजीनामा दिए।

विवाह भनेको एक सम्झौता हो। यसमा केही पूर्वानुमान या समझदारीका दायरा हुन्छन्। यस हिसाबमा मेरा बुढाले त्यो सम्झौताको ठाडो उल्लंघन गरे। अहिले विश्वविद्यालयमा पढाउँछन्। यस्ता चकडस्टरे मनुवा त हाम्लाई माग्न कति आएका थिए कति भनेर साध्ये छैन्।“

नभन्दै महेन्द्र मोरङ क्याम्पस विराटनगरमा पढाउने एक शिक्षक उनका पछि लागेका रहेछन्। कहिलेकाहीँ नहरको बाटो आउँदाजाँदा जम्काभेट हुँदा तानेरै लगुँलाझैँ गर्दा रहेछन्।

यता म भने अलि फरक शैलीमा सुनाउँछु।

 

“पढेर फुइँ डाक्टरको उपाधि लिने सुरले सरकारी जागिर हापेको त ससुरालीले झण्डै छोरी फिर्ता लगेका !”

मैले जिन्दगीमा दुई पटक राजीनामा दिएँ। दोस्रो पटक २०७५ सालमा। पछिल्लो छोडपत्र भने काठमाण्डौँ विश्वविद्यालयसँग भयो। मैले भन्ने गरेको छु- मूर्ति त सरस्वतीको राखिएको छ तर विश्वविद्यालयका पुजारीहरूले भने दुर्गादेवीको आराधना गर्छन्। प्राज्ञिक हवनको सट्टा राजनीतिक यज्ञ गर्छन्, अग्ली बनाउनुपर्ने सरस्वतीलाई होची पारेर दुर्गादेवीलाई उनको ठाउँमा राख्छन्।“

मलाई त्यो जँचेन। मैले विश्वविद्यालयको सहप्राध्यापक पदबाट राजीनामा दिएँ।

यो प्रकरणपछि महादेवीको “विवाहको मूल सम्झौता” उल्लंघन भएको अभिव्यक्तिको गियर एकाएक बढ्यो।

मेरा अरू लेखमा पनि उल्लेख गरेको छु- मेरो आजभोलिको सत्सङ गर्ने क्लबको नाम हो-कोटेश्वर प्रात: सायमकालीन समूह। कोटेश्वर महादेवस्थानस्थित कमला दिदीको चिया पसलमा बिहानको सात बजे सम्भवत: गिनिज बुक अफ वर्ल्ड रेकर्ड राख्ने हैसियतकै सत्सङ हुन्छ। सत्सङका सहभागीहरूमा को छैन! भूतपूर्व प्रशाशक, भूतपूर्व वित्तीय व्यवस्थापक, भूतपूर्व कडकन्दार (कन्सल्ट्यान्ट) आदि । एकमुष्ट भन्नु पर्दा यो भूतपूर्व नौजवानहरूको बाह्र सत्ताइस गफ गर्ने अखडा हो।

मेरी महादेवी पनि आक्कलझुक्कल यो अखडामा पुगेकी छन्। रमाइलो त त्यस दिन हुन्छ जुन दिन म अखडामा अनुपस्थित हुन्छु अनि महादेवी त्यहाँ पुग्छिन्।

“खै मेरा बाहुन? मैले हजुरहरूको समूहलाई भलादमीको संज्ञा दिएर उनलाई यहाँ पठाउने गरेकी छु। आज त देख्दिन त?”

अभिनयकारी भूमिकामा उनले यसरी अस्वाभाविक प्रश्न गरेपछि त्यहाँका सहभागी निरुत्तर हुन्छन्।

महादेवको मन्दिरनजिकै रहेको पिपलको रूखका हजारौँ पात एकै चोटी बज्ने गरी हाँसो सिर्जना हुन्छ। अघिल्लो दिनको यो कला मेरा दौँतरीहरु अर्को दिन मलाई पस्किन्छन्।

 

एक दिन यही समूहका मेरा अनन्य मित्र देवीप्रसाद शर्मासँग फोनमा वार्ता हुँदै थियो। महादेवी मेरा साथमै थिइन्। उनले मैले “देवीगुरु” सँग कुरा गरेको मेसो पाइन्।

“ल! लाउडस्पिकरमा राख्नू।”

मैले राखेँ। उनले देवी गुरुलाई भनिन्, “देवी गुरु ! लौ! मैले मेरा बाहुनलाई सेलमा राखिदिएको छु। जागिरबाट राजिनामा दिने। कडकन्दारको काम पनि नगर्ने। खाली हास्यव्यङ्ग्य भनेको छ। साहित्य भनेको छ। कुदेको छ। कुदेको छ। फुटी कौडी नकमाउने। यिनको अब काम छैन। हजुरले यो खबर हजुरका साथीभाइ सबैलाई सुनाइदिनू।”

म त ट्वाँ… परेर हेरेको हेर्‍यै भएँ।

मेरी महादेवी त प्रत्युत्पन्न बुद्धिकै साक्षात् प्रतिमूर्ति हुन् जस्तो लाग्छ मलाई। समय र सन्दर्भ छोपेर उपयुक्त अभिव्यक्ति दिने, कसैलाई के भन्ने वा कसरी जबफ फर्काउने भन्ने विवेक उनीमा मभन्दा कैयौँ गुणा बढी परिपक्व छ।

मैले गाडी चलाउन सिकिनँ, उनी चलाउँछिन्। एकपटक हामी आफ्नै सवारी साधनमा घर फर्कदैँ थियौँ। हाम्रो निवास फर्कँदा कोटेश्वरको चोकबाट प्रहरी परिसरलाई देब्रे पारेर महादेवस्थानतिर लाग्नुपर्छ। ठ्याक्क परिसरकै आडमा एक ट्राफिक प्रहरी सडकमा बसेर कोही एक व्यक्तिसँग कुरा गर्दै थिए।

महादेवीले हर्न बजाइन्। ट्राफिक प्रहरीले सिट्ठी फुक्यो। उनले गाडी रोकिन्।

उसले ठाडै हामीलाई संकेत गरी भन्यो, “खै काजगपत्र निकाल्नुहोस्।”

“त्यो पर्दैन ।“

महादेवी न परिन । सबै महादेवीहरु शिवदुतीकै अवतार न हुन । पार्वतीले आफ्नै पति शिवको कैयन पटक बार्‍ह बजाएकी छिन । यता हाम्रो यात्रा बिथोल्ने त्यो निरिह ट्राफिक प्रहरी !

“किन पर्दैन?”   

उसले आफूलाई खरो उतार्ने प्रयास गर्‍यो ।

“तपाईँ बीच सडकमा मान्छे बटुलेर गफ चुट्ने अनि मैले लाइसेन्स निकाल्ने?”

ट्राफिक प्रहरी हेरेको हेर्‍यै भयो।

महादेवीको प्रत्युत्पन्न बुद्धिको सराहना गर्दै मैले साथीभाइलाई यो प्रसंग सुनाएँ।

“हाम्री महादेवीले झण्डै ट्राफिक प्रहरीको लाइसेन्स पो खोसिदिइन्।”

यस्ता प्रसंगहरू सुनाउँदा साथीहरू हाँस्छन्, म पनि हाँस्छु। हाँसोको पछाडि लुकेको सत्य यही हो-जीवनको यात्रा हलुका स्नायुमा हिँडाउने काम कहिले प्रत्युत्पन्न बुद्धिले गर्छ त कहिले त्यही बुद्धिलाई मुस्कानसाथ सामाना गर्ने धैर्यले।

 साउनको मसान्त, २०८३ साल

जनकल्याण गल्ली, कोटेश्वर

(यो परिमार्जित संस्करण हो । यसको अघिल्लो संस्करण सरल पत्रिकामा छापिएको छ, जसको लिङ्क तल दिईएको छ ।)

अघिल्लो संस्करणको लिङ्क : https://www.saralpatrika.com/2026/08/22/25036/

No comments:

Post a Comment