Tuesday, March 31, 2020

मनास्लु फेदी




यो यात्रामा केही रमाइला प्रसङ्गहरु सिर्जना भए । कान्तिपुर दैनिककी पत्रकार फातिमा बानु, भूकम्प प्रभावित क्षेत्रको पुन: निर्माण परियोजनामा काम गर्ने सुस्मिता कार्की र पूर्णिमा परियोजनाकी गोर्खा कार्यालयकी प्रमुख गीता लिम्बूले पनि म सँगै जाने कुरो गरेका थिए ।
मैले यसैलाई आधार मानी मित्र सूर्यमान शाक्यलाई फोन गरेको थिएँ ।

“आफू त सालीहरुको साथमा मनास्लु फेदीतिर जाने भइयो ।”

सुस्मिताको घर विराटनगर भएकाले म साली भनेर जिस्क्याउँथे । मैले त्यही डालोमा अरू दुई जना पनि थपिदिएको थिएँ । तर तीनै जनाको पदयात्रामा जान नमिल्ने भो भन्ने खबर आयो ।

अजिरकोट गाउँपालिकाको काम सकेर म गोर्खाबजार हुँदै सोती पुगेँ । तर सैनिकले सडकमा पहिरो सफा हुँदै गरेको कारण देखाएर गाडी अघि लान दिएनन् । सोतीमा सैनिकको ढाट नजिकैको पसलमा रुकस्याक बोक्ने सहयोगी खोज्न थालेँ । एक जना भाइले जाने इच्छा देखाए । बाटामा जाँदै गर्दा मैले उनको नाम सोधेँ । उनको उत्तरले मलाई एक सुखद आश्चर्य दियो ।

 “मेरो नाम मोहन अधिकारी हो ।”

मेरो ससुराली अधिकारी र ससुरा बाको नाम ठ्याक्कै त्यही । नाता नै लगाउने हो भने मोहन मेरो सालो पर्दथ्यो । यसरी सालीसँग घुम्न जाने कुरो सालोमा आएर टुङ्गिएको थियो । यो घटनाक्रमले साथीभाइलाई सुनाउनका लागि एक मौलिक खजाना हाता परेको अनुभूति मलाई भयो ।

चैत्र १८ गते बिहान हाम्रो पैदलयात्रा सुरु भएको थियो । हामी माछी खोलाबाट बूढीगण्डकीको किनाराको सडक हुँदै उत्तरतर्फ लागेका थियौँ । माछी खोलामा यो आगमन मेरो दोस्रो थियो । पहिलो पटक आइपुगेको भोलिपल्टै नारी दिवस परेको थियो । विश्वभरि नै मनाइने यो नारीपर्व को उपलक्ष्यमा आयोजित कार्यक्रममा मलाई पनि भाषण गर्ने अवसर जुर्‍यो । धार्चे गाउँपालिकाकी उपाध्यक्ष फूलमाया गुरुङको नेतृत्वमा त्यो कार्यक्रम सम्पन्न भएको थियो । कति जनाले माछीखोलालाई माछाखोला पनि भनेको सुने । नक्शामा पनि माछाखोलागाउँ लेखेको रहेछ । मैले यसैमा एक ठट्यौली सिर्जना गरेँ ।

“नारी दिवसको कार्यक्रमपछि यो माछीखोला भयो ।”

दोभानमा पुगेर हामीले खाना खायौँ । खानुअघि फ्रिजको चीसो बियरले मेरो ध्यानाकर्षण गर्‍यो । मैलै चीसो बियरको मजा लिएँ । तर त्यो अभिशाप सिद्ध भयो । खानापछिको लगभग ३ घण्टासम्म मलाई हिँड्न धेरै असजिलो भएको महसूस भयो । मैले आफ्नै हातको गतिलो झापड खाएँ । बेलुका बास बस्न हामी जगत पुग्यौँ । हामी बसेकै होटलमा पोल्यान्डका दुई महिला र एक पुरुष र जर्मनीका एक युवक भेटिए । रात्रि खाना सँगै भयो । हामीले जमेर कुरा गर्‍यौँ । खासगरी जर्मन युवासँग ।   

भोलिपल्ट मैले उनीहरुसँगै मिसिने विचार गरेँ । हामी कुरा गर्दै अघि बढ्यौँ । जगतमा एउटा ३५ किलोवाट क्षमताको एउटा जलविद्युत् योजना रहेछ । कञ्चन पानी भएका दुईवटा जलप्रवाह पार गरेर अघि बढ्यौँ । बिजुलीको उपलब्धिले जगतको मुहार नै फेरेको पाइयो । गिजरको तातो पानी, डिस होम टेलिभिजन, कोठामा चार्ज गर्ने सुविधा आदि सबै सहज उपलब्ध । 

हामी सल्लेरी, घट्टेखोला हुँदै अघि बढ्यौँ । बूढीगण्डकीपारि फिलिम बजार देखियो । त्यसको दक्षिणतर्फ अलि भिरालो परेको ठाउँमा हरिया बारीहरु देखिए । हरिया बारी भए तापनि त्यति उचाइमा गरेको खेतीले हामीलाई समृद्ध बनाउला त ? यही प्रश्नको सेरोफेरोमा मेरो मस्तिष्क घुमेको थियो ।

पदयात्रा सकेर फर्कनेहरु भेटिए । मैले केहीसँग अभिवादन साटासाट गरेँ । केहीसँग छोटो कुराकानी पनि भयो ।

यीमध्ये दुई जनासँगको भेट भने रोचक रह्यो । उनीहरुसँग अंग्रेजीमा भएको संवाद नै अहिलेसम्म पनि कण्ठस्थ छ ।

“नमस्ते, यहाँहरुलाई बधाई छ ।’’

मेरो बधाईको आशय थियो- पदयात्रा सम्पन्न गर्नु भनेको ठूलो साहसिक कार्य हो । उनीहरुले स्वाभाभिक रुपमा अभिवादन फर्काए ।

“तपाईंहरु कुन मुलुकबाट ?”

“अमेरिका ।”

“कुन व्यवसायमा संलग्न हुनुहुन्छ ?”

दुईमध्येका फरासिलातिर आँखा जुधाउँदै मैले सोधेँ ।

“म एक किसान हुँ ।”

“धेरै राम्रो । के म तपाईंलाई एक प्रश्न सोध्न सक्छु ?”

“अवश्य ।”

“त्यो पारिको खेती तपाईंलाई कस्तो लाग्छ ?”

मैले पारिका हरिया बारी देखाउँदै सोधेँ । उसले मुस्कुराउँदै जवाफ दियो ।

“यहाँका स्थानीयले दशकौँदेखि त्यो खेती गरेका छन् । राम्रै होला ।”

“यो तरीकाले हामी तिमीहरुसँग प्रतिस्पर्धा गर्न सक्छौँ त ?”

उनले उत्तर दिएनन् । मजाले हाँसे मात्र । मलाई भने लाग्यो- यो आजको नेपालकै यक्षप्रश्न हो । यसैले यो प्रश्न पुन: एक पटक दोहोर्‍याउँछु । 

“के परम्परागत कृषि व्यवसायको माध्यमवाट हामी संसारसँग प्रतिस्पर्धा गर्न सक्छौँ त ?”
फिलिम पुगेकै दिन गाउँपालिका सभाकक्षमा एक लामा गुरुले प्रवचन दिने कार्यक्रम रहेछ । सुन्नासाथ मैले सहभागिता जनाउने निधो गरेँ । कुशल कर्म के हो ? अकुशल कर्म के हो ? आदि विषयमा गुरुले प्रवचन दिए । सहभागीमा अधिकांश शारीरिक रूपले ज्येष्ठ नागरिक जस्ता देखिने अधवैंसे महिला थिए । एकआपसमा उनीहरु स्थानीय गुरुङ भाषामा कुरा गर्थे । यसैले नेपाली धेरै कम बुझ्दथे भन्ने मैले अनुमान गरेँ । पूर्वसचिव खेमराज नेपालले नेपाल विकास अनुसन्धान प्रतिष्ठानमा शासकीय सुधारको विषयमा प्रवचन दिँदा भन्नुभएको थियो-नाबालक अवस्थामै बिहे गरेर वैंस नदेखी एकै पटक बूढी हुने प्रथा व्यापक छ ।

यो अभिव्यक्तिलाई मैले फूलको उपमा दिएर धेरै ठाउँमा भने-

“फूल नफुली कोपिला नै ओइलाउने संस्कार ।”     

गुरुले आफ्नो भनाइ राखेर प्रश्नोत्तरलाई समय दिए । कसैले प्रश्न सोधेनन् । मैले हात उठाएँ ।

“तपाईंहरुले यसरी जनचेतना जगाउनुभएको छ । अधिकांश बाबुनानीहरु विद्यालय पनि जान्छन् । सरकार र गैरसरकारी संस्थाहरुले चुमनुब्री लगायतका दुर्गम क्षेत्रमा अहोरात्र काम गरेका गरेका छन् । तर किन नाबालकले नै बिहे गर्ने,  बीचमै पढाइ छोड्ने र कुनै इलम समात्न नसक्ने आदि जस्ता समस्या यो समाजमा व्यापक छन् ।”

सबै सहभागीले मतिर हेरे । गुरुले मेरो प्रश्नको लामै उत्तर दिए । सारमा उनले भने-

“मनले छुने गरी कारण बताउनु नसक्नु नै समस्याको जड हो ।”

फिलिममा तीन रातको बसाइ भयो । चुमनुब्री गाउँपालिकाको खानेपानी तथा सरसफाइ गुरुयोजनाको कार्यशाला गोष्ठी आयोजना गर्नु मेरो मुख्य काम थियो । मेरो पदयात्रा पनि गुरुयोजना प्रतिवेदनका लागि आवश्यक स्थलगत जानकारी संकलन गर्ने काम सँग जोडिएको थियो । यसैले बाटामा भेटिएका विदेशीलाई मैले भनेको थिएँ-

“बाई वान गेट वान फ्री ।”

मतलब थियो- मेरा लागि यो यात्रा ‘एक पन्थ दो काज’ हो । झट्ट कुरा बुझ्नेहरुले धेरै ने रमाइलो मानेका थिए ।       

चुमनुब्री गाउँपालिकाको भवन परिसरमा एउटा चमेनागृह रहेछ । त्यसकी सञ्चालिका रहिछन्-राईनी दिदी ।

कार्याशालाका सहभागीलाई खाना र खाजाको बन्दोबस्ती गर्ने जिम्मा उनले पाएकी थिइन । बडो फरासिली र साहसी नारीको रुपमा मैले उनलाई पाएँ । तर गुरुङ र लामाको वर्चश्व रहेको ठाउँमा राई कसरी ? सुन्नासाथ प्रश्न तेर्सिएको थियो ।

“तपाईंको माइती कहाँ हो ?”

“धरान ।”

“धरानमा माइती कहाँबाट आए ?”

“ताप्लेजुङबाट ।”

“ताप्लेजुङमा पनि राई छन् र ?”

नयाँ मान्छे भेट्यो कि भूगोल र जातको विश्लेषण गर्न मलाई आनन्द लाग्छ । सुन्नेले पनि आनन्द नै मान्ने गरेको बुझेको छु । कसैले आजसम्म “तँलाई किन चाहियो यो नालीवेली ?” भनेको सम्झना छैन । शायद नेपाली हुनुको एक गौरव यो हो । यस्तो भौगोलिक विविधता र विभिन्न फूल फुल्ने जातिय फूलबारीको पहिचान शायदै अरू कुनै मुलुकमा छ ।  

“हुन त म लिम्बुनी हो तर सबले रईनी भन्छन् ।”

“थेनवातुवे हो लुङ्गा ?”

मैले उनीतिर हेरेर लिम्बू भाषा बोलेँ । उनले मलाई ट्वाँ परेर हेरिन् । दश वर्ष भएछ उनी फिलिम बसेको । फेसबुकबाट फिलिमको गुरुङ केटासँग माया पिरती जोडिएछ । बिहाबारी पनि भएछ । अहिले उनका पति दुबईतिर रहेछन् ।

राईनी दिदीको चमेनागृहमा पूर्णिमा परियोजनामा काम गर्ने साथीहरु र गाउँपालिकाको कृषि शाखामा काम गर्ने जुम्ला घर भएका एक कर्मचारी समेतको जमघट भयो । “श्रीमानले अर्को सम्बन्ध राखे भने नि ?” भन्ने विषयको चर्चा उठ्यो ।

उनले निर्धक्क भनिन्-

“टाउको झोलामा, ज्यान खोलामा ।“

मैले लिम्बुवानको चर्चित उखान “ख्याल ख्यालमा चार इन्ची” भन्ने सुनेको थिएँ । यी दुबै अभिव्यक्ति खुकुरीसँग जोडिएका थिए ।
चुमनुब्रीको सदरमुकाम फिलिमबाट विहान ६ बजे हिँड्ने योजना थियो । हाम्रो टोलीमा सँगै जाने तय भएका दुई स्थानीय युवाले मलाई सोधेका थिए-

“भोलि बिहान कति बजे हिँड्ने हो त सर ?”

“उज्यालो हुँदा अर्थात् ५ बजे ।”

उनीहरुले जिब्रो टोकेका थिए । दुईमध्ये अलि चञ्चले स्वभाव भएको सोनाम लामाले 
भनेको थियो-

“तपाईँ ५ बजे हिँड्नु । हामी त ७ बजे मात्रै हिँड्छौ । तपाईँलाई बाटोमा सजिलै भेटिहाल्छौँ ।”

हिँड्नुअघि एउटा कामको टुङ्गो लगाएर मात्र हिँड्नुपर्ने भयो । खानेपानी र सरसफाइ सम्बन्धित स्वीडेन र नेपालमा हुने एउटा कार्यक्रमको दरखास्त बुझाउने अन्तिम दिन त्यही थियो । मैले दरखास्त अघिल्लै दिन तयार पारेको थिएँ । दरखास्तसाथ सँलग्न हुने एउटा लिखत भने बिहान ४ बजे उठेर ब्रह्ममुहुर्तको साइत पारेर तयार गरेको थिएँ । अफसोस इन्टरनेट सुविधाले काम गरेन । बिहान ५ बजेदेखि कोशिश गरेँ । काम भएन । गाउँपालिकाकी उपाध्यक्ष कुमारी गुरुङको होटलमा गएर ‘सुविसु’ कम्पनीको सुविधाको पनि जाँच गरेँ । त्यसले पनि काम गरेन । फिलिम बजारको पुछारमा भएको रिसोर्टसम्म पुगेँ । केही उपाय लागेन । मन आत्तियो । हिजै काम सम्पन्न नगरेकोमा थकथक लाग्यो ।

एकाएक कालो बादलमा एउटा चाँदीको घेरा देखियो । दरखास्तको अन्तिम प्रति रीताको इमेलमा पनि थियो । मैले छोरीलाई मैले लेखेको लिखतको पूर्ण पाठ फोनबाट पढेर सुनाएँ । उसले मेरो आवाज रेकर्ड गरी । उसलाई रेकर्डलाई सुनेर लिखतलाई हुबहु उतार गर्न भने । पुत्ररत्न सिरिनलाई यी दुई कागजातलाई मेरो इमेलबाट पठाइदिने अनुरोध गरेँ । काम हुने पक्का भयो । म टोलीको नेतृत्व गर्दै बाटो लागेँ । हामी हिँड्दा ७:३० भएको थियो ।

एकाएक स्थान, काल र पात्रको प्रत्यक्ष वर्णनन् गर्न मन लागेको छ । किनभने यी अहिले सामान्य दैनिकीको कित्ताभन्दा वाहिर छन् । स्थान हो, न्याक फेदी । समय भएको छ,  पूर्वाह्नको १०: ४५ । रंगमञ्चका पात्रहरूमा एक दर्जन जति मान्छे र केही झिँगा छन् । म लेख्न बसेको होटलबाट बूढीगण्डकी र स्यार खोलाको दोभान नजिकै छ । यसैले एकनासको स्या….. को आवाज नेपथ्यमा आइरहेको छ । न्याक फेदी मनास्लु आधार शिविरतिर जाने बाटोमा पर्ने एउटा सानो ठाउँ हो । मुश्किलले २, ३ वटा घर छन् । प्रशासनिक इकाइका हिसाबले हामी उत्तरी गोर्खाको चुमनुब्री गाउँपालिकामा छौँ । मनास्लु संरक्षण क्षेत्रको प्रसिद्ध पदमार्गमा पर्ने लार्के भन्ज्याङ् जाने बाटो पनि न्याक भएर नै जाने हो । अहिले हामी बिहानको खाना खाने उद्देश्यले रोकिएका छौँ । सम्भवत: यति ठूलो भूगोल अर्थात् आँखाले देखिने ठाउँसम्मको क्षेत्रफलमा यति थोरै पात्र मात्र उपस्थित हुनु भीडभाडमै जीवन बिताउनेहरुका लागि अनौठो हो । घना बस्ती भएका त्यस्ता ठाउँमा बिहान उठेदेखि रातीसम्म छेउछाउमा मान्छे नै मान्छे भेटिन्छन् । 

न्याकफेदीसम्म हामी लगभग उत्तर दिशामा हिँडेका थियौँ ।  न्याकबाट बाटो बूढीगण्डकीको किनारै किनार उत्तर-पश्चिम लाग्दो रहेछ । घरी दायाँ किनारमा घरी बायाँ किनार गर्दै हामी अघि बढ्यौं । नदीको उर्लंदो जलप्रवाह, भीमकाय चट्टान शृङ्खला, विभिन्न किसिमका वनस्पति हाम्रा साथमा थिए । ड्याङ, विही फेदी हुँदै हामी अघि बढ्यौँ । बाटोमा मकै भटमास पोको पारेर बेच्न राखेको रहेछ । भटमास किनेर खायौँ ।      

अहिले पूर्वाह्नको ५ बजेर ५० मिनट गएको छ । हामी गापमा बास बसेका छौँ । वार्ड सदस्यको होटल रहेछ-लामा होटल । आँगन फराकिलो रहेछ । हिजो रातभरि पानी पर्‍यो । अहिले त्यही आँगनमा बसेर ल्यापटपमा यी अक्षर लेखिरहेको छु । पानीका एक दुई थोपाहरु ल्यापटपमा परे । अब होटलको चमेनाकक्षमा जान्छु- तातो पानी पिउँदै लेखनलाई अघि बढाउने सुर चलेको छ । भित्र आएर हेर्छु त ल्यापटपको स्क्रिनमा चारवटा मोतीका दाना जस्ता भाग्यमानी थोपा पो छन्! स्क्रिनमा टाँसिएका पानीका कणिकाले मलाई ‘चट्टान र नदी’को कथा स्मरण गराईदिए ।

“चट्टानले आफ्नो स्वरूप जोगाउन नदीसँग सँघर्ष गर्छ । नदीले आफ्नो प्रवाहलाई कायाम राख्न चट्टानसँग संघर्ष गर्छ । अर्थात् नदीले चट्टानको आकार निर्धारण गर्छ र चट्टानले नदीको स्वरुप ।”

चट्टान र नदीको परिपूरक सङ्घर्षको यथार्थ जस्तै मान्छे को जीवन पनि त आखिर संघर्षको यात्रा न हो । बाटोमा हिँड्दा यस्ता कल्पना बाक्लै आए । किनभने त्यहाँ हिँड्नुको विकल्प हिँड्नु नै थियो । अरू केही थिएन ।

गापमा हामीभन्दा पहिला पुगेर बास बसेको एउटा टोलीसँग भेट भयो । इजरायलका एक युवक र युवती, चिलीका एक युवक, बेलायतका एक युवक र अर्को एकजना गरी चार जनाको समूह रहेछ । मैले उनीहरुसँग मिसिएर सँगै अघि बढ्ने निर्णय गरेँ ।

बूढीगण्डकी उत्तर-पश्चिमबाट दक्षिण-पूर्वको दिशामा बगेकी छन् । नदीका दुवैतिर अजङ्गका पहाड छन् । पहाड अर्थात् चट्टानको थुप्रो । मेरो देब्रेतिरको पहाडको सतहमा नै ढल्केर सुतेको चट्टान देखिन्छ । चट्टानको सतहलाई मैदान बनाएर झरना बगेको छ । हामी प्रोक अर्थात् वार्ड नँ ३ लाई दाहिने पारेर अघि बढ्यौँ । 

बाटोमा पानीले घुमाउने घट्ट जस्तो संयन्त्रले मेरो ध्यानाकर्षण गर्‍यो । पानीले फनन घुमाएको त्यो संरचनामा न त कुनै अन्न पिध्ने सुविधा थियो न त बिजुली नै निकालिएको थियो । बाटामा हिँड्नेलाई सोधेँ । त्यो त पानी माने पो रहेछ । निरन्तर घडीको सुई घुम्ने दिशामा घुमिरहने ।  

चिलीका युवा इन्जिनियर रहेछन् । उनले पनि मलाई मेरो पेशागत संलग्नताको बारेमा सोधे अनि नेपालको सन्दर्भ उठाए-

“इन्जिनियरिङ विधाको हिसाबमा नेपालको अहिलेको आवश्यकता के हो ?”

“पूर्वाधार विकास गरी यात्रा दूरी घटाउनु ।”

उनले सहमति जनाएर चिलीको प्रसँग समेत कोट्याए ।

“अहिले म चिलीमा ३०० किलोमीटरको दूरीको यात्रा गर्नुछ भन्ने सोच्दा २ घण्टाको समय सम्झन्छु । तर नेपालमा १२, १४ घण्टा लाग्दो रहेछ ।”

उनको विश्लेषण सटीक थियो । अर्को महत्वपूर्ण विषयको पनि उठान गरे-

“मेरो विचारमा खेर गएका सामानको पुन: प्रयोग नगर्नु यहाँको अर्को मुख्य समस्या हो । प्लास्टिक लगायतका फोहोरमैला जथाभावी फालेको देखिन्छ ।”

मैले सहमति जनाएँ । उनीहरुको समूहकी इजरायली युवतीलाई छोडेर अरूको हिँडाइ मेरा लागि तुफानकै रूप रहेछ । युवतीले पनि उनका देशको नियम अनुसार अनिवार्य सैनिक तालिम लिएकी रे । उनले पनि मलाई पछारिन् । उनीहरु अघि लागे । नामरुङ पुग्नु अघिको बाटो उकालो रहेछ । अन्यथा यो पदमार्गको बाटो तेर्सो नै रहेछ । हामीले नामरुङ्कको प्रसिद्ध ‘फोर सिजन’ होटलमा खाना खायौँ ।
  
नामरुङ काटेपछि दृश्यको आयतन बढ्यो । हामीले दायाँ बायाँ दुवैतिर परसम्मका दृश्य देख्यौँ । दूरदराजका पातला बस्ती देख्यौँ । कुनै चट्टानमाथि बसेका छन् । कुनै जङ्गलका फेदमा छन् । हामीलाई हेर्दैमा अनकन्टार लाग्छ । तर त्यहाँका बासिन्दा जुगौँदेखि त्यहाँ छन् । 

फिलिम बजारको उचाइ लगभग १६०० मीटर हो । यस्तै गापको २१६५ मीटर, नामरुङ्को २६६० मीटर र ल्होको ३१८० मीटर । यस हिसाबले फिलिमबाट हिँडेको दिन हामी लगभग आधा किलोमीटर उक्लेका थियौँ भने दोस्रो दिन लगभग एक किलोमीटर । समथर जमीनमा १ किलोमीटर हिँड्नु भनेको चुत्थो लाग्छ ।  यहाँ मेरा चारवटा भित्री गन्जी, दुईवटा टि-सर्ट र दुईवटा सर्ट निथ्रुक्क भिजेका थिए । गन्जी र सर्ट छिचोलेर पसिना बाहिरी ज्याकेटसम्म आइपुगेको थियो ।   

स्यो गाउँको गहुँबाली लगाइएको खेत बडो मनमोहक देखियो ।  अनौठो कुरो बालीलाई जनावरवाट जोगाउने उद्देश्यले बिजुलीका तारजडित बार लगाइएको रहेछ । जनावर भन्नाले चौँरी र खच्चड होला भन्ने मैले अनुमान गरेँ । हिमाली भेकमा चौंरी भनेको भारी बोक्ने, खेत जोत्ने र दूध दिने जस्ता बहुल सेवा दिने महत्वपूर्ण  पशुधन हुँदो रहेछ । मेरो मस्तिष्कमा भने यत्रो उचाइमा यसरी मिहिनेत गरेर परम्परागत ढङ्गले गरिएको कृषि उत्पादनले विश्वबजारमा कसरी प्रतिस्पर्धा गर्न सक्छ भन्ने प्रश्न भूत बनेर मडारिइरह्यो ।    

बेलुकीको बास ल्हो मा भयो । शरीर थकाईले चुर भए तापनि नजिकै देखिएका हिमालले त्यसलाई बिर्साउने प्रयास गरेको भान भएको थियो । म भोलि बिहान बादल नलागोस् र हिमाल स्पष्ट देखियोस् भन्ने कल्पना गर्दै निद्रादेवीको शरणमा गएँ । 

चैत्र ३०, २०७५
बन्दीपुर, तनहुँ

Thursday, June 6, 2019

बधाई-समवेदना : एक अवसर

सात वर्षअघिको प्रसंग हो । पंक्तिकारले विश्वविद्यालयमा सहप्राध्यापकको पदमा भर्खरै नियुक्ति पाएको थियो । मेरोे कार्यसूचीको एक मुख्य काम सेमेष्टर अन्त्यको परीक्षामा निरीक्षकको अभिभारा निर्वाह गर्नु थियो । पेशागत चुनौतीको हिसाबले सामान्य काम भए पनि वृत्ति विकासको हिसाबमा त्यो अर्थपूर्ण थियो । एक दिनको कुरा हो । कक्षाकोठामा ३२ जना परीक्षार्थी थिए । वस्तुगत प्रश्नोत्तरको ३० मिनटको परीक्षा चल्दै थियो । दोस्रो बेन्चमा बसेका एक विद्यार्थीले टाउको फनक्क १८० डिग्री घुमाएर पछाडि हेरे । 

‘डु यु निड समथिङ ?’ परीक्षार्थीका असामान्य गतिविधिमा निगरानी राख्नु नै निरीक्षकको प्रमुख दायित्व भएकाले मैले ती परीक्षार्थीलाई यसरी सोधेको थिएँ । तर, नसोचेको नाटकीय परिस्थिति पो सिर्जना भयो । ती विद्यार्थी जुरुक्क उठे । अनुहारमा बिजुलीको तोडमा आक्रोस निकाले र ठूलो स्वरमा कराए । 

‘आई जस्ट वान्ट टु किल द्याट गाई ।’ त्यति भनेर उनी फेरि थचक्क बसे । खुरुखुरु लेख्न थाले । उनको अभिव्यक्तिको नेपालीमा ठाडो अनुवाद ‘म त्यो हरामीलाई मार्न चाहन्छु’ हुन्थ्यो । मैले नियालेर तिनलाई हेरेँ । लामो कपाल, छालाको ज्याकेट, कालो ओठलगायतका हुलिया र उनको अनौठो व्यवहारले उनी दुव्र्यसनमा लागेका हुन् कि भन्ने शंका उब्जियो । 

मैले स्थितिको मूल्यांकन गरेँ । ब्लक इन्चार्जलाई खबर गरेँ । ती विद्यार्थीबारे प्रतिक्रियात्मक हुनु परीक्षा हलमा जाँच दिइरहेका अन्य ३१ जनाको त्यसदिनको परीक्षा दाउमा पार्नु हुनसक्थ्यो । यसैले ‘पर्ख र हेर’ को रणनीति अपनाएँ । तीन घण्टा समयावधिमा उनले थप वितण्डा मच्चाएनन् । 

यो घटना थियो हिउँदे सत्रको । यसको लगत्तै बर्खेसत्रमा तिनै विद्यार्थीले उनकै कक्षाको एक साथीलाई कक्षा 
कोठाबाट घिसार्दै ल्याएर बिजुलीको पोलमा टाउको फुट्ने गरी बजारिदिए । यो हिंसात्मक क्रियाकलापले भने उनी निलम्बनमा परे । छानबिन समिति गठन भयो । संयोगवश यो पंक्तिकार नै छानबिन समितिको संयोजक तोकियो । अभियुक्तको बयान र उनका सहपाठीहरूसँगको सोधपुछले के पक्का भयो भने उनी दुव्र्यसनको भुँवरीमा नराम्ररी फसेका थिए । अमेरिकामा नटिकेर नेपाल फर्केका थिए र अभिभावकले सुध्रिने आसले स्नातक तहमा भर्ना गरिदिएका थिए । विश्वविद्यालयले कुनै पूर्वाग्रहबेगर उनलाई स्वीकारेको थियो । 

छानबिन समितिको निचोड र उनलाई गर्नुपर्ने कारबाहीको फेहरिस्तमा एउटा फरक धारको सिफारिश पनि गरेको थियो । जुन यसप्रकार थियो ः

‘दोषी विद्यार्थी समकालीन नेपाली समाज र विश्वविद्यालयको प्रणालीमा कस्तो भात पाकिरहेको छ भन्ने जानकारी गराउने चामलका एक सिता हुन् । यसैले उनलाई प्रणालीभित्रै राखेर सुधार गरी एक सबल इन्जिनियर बनाएर देखाउने अवसर विश्वविद्यालयसँग छ । उनलाई निष्कासन गर्दा त्यो अवसर गुम्नेछ ।’

प्रसंग सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले इन्डोनेसियामा आएको सुनामीका कारण भएको धनजनको क्षतिप्रति पठाएको समवेदना सन्देशले नेपालका छापा र सामाजिक सञ्जालमा ल्याएको सुनामीको हो । परराष्ट्र मन्त्रालयको प्रेस विज्ञप्तिमा नेपालका राष्ट्रपतिले इन्डोनेसियाका राष्ट्रपतिलाई एक सन्देश पठाएको व्यहोरा उल्लेख छ । अंग्रेजीमा लेखिएको उक्त सन्देशको मूलरूपमा ‘कन्ग्राचुलेशन’ अर्थात् ‘बधाई’ भन्ने शब्द परेको थियो । सन्देशमा परेको यो शब्द नै परराष्ट्र मन्त्रालयको त्यो विज्ञप्ति सामाजिक सञ्जालमा भाइरल हुनपुग्यो । यो घटना भएको केहीबरेमा सच्याइएको प्रेस वक्तव्यको प्रति फेरि सामाजिक सञ्जालमा आयो जसमा ‘कन्ग्राचुलेशन’ शब्द ‘कन्डोलेन्स’ अर्थात् ‘समवेदना’ ले प्रतिस्थापित थियो । यो गम्भीर त्रुटिप्रति मन्त्रालयले क्षमा माग्दै दोषीलाई कारबाही गर्ने वाचा गरेको अर्को विज्ञप्ति ट्वीटरमार्फत् सार्वजनिक भएको छ । 

यो प्रकरणले सम्भवतः केही गहन प्रश्न उजागर गरेको छ । 

पहिलो, राष्ट्रपतिले कुनै अर्को मुलुकमा पठाएको समवेदना सन्देशलाई समाचार बनाउन प्रेस विज्ञप्ति निकालेर त्यसलाई जस्ताको तस्तै ट्वीटरमा पोष्ट गर्नु के जरुरी छ ? सम्माननीय राष्ट्रपतिले ट्वीट गर्नुभयो भनेर पनि प्रेस विज्ञप्ति निकालेर त्यसलाई पनि ट्वीटरमा सम्प्रेषण गरेको पाइएको छ । यसो गर्नु जरुरी छ ? छ भने यसको पृष्ठभूमिको अनुसन्धान के हो ? कुन थिंकट्यांकले वा अध्येताले राष्ट्रपति कार्यालयलाई लोककल्याणकारी राज्यमा ‘यस्तो गर्नु जरुरी हुन्छ’ भनेर सुझाएको छ ? ट्वीटर, फेसबुक या मोबाइल एपहरूको प्रचलन सुरु भएको हालै हो । यी सञ्चारमाध्यमको औपचारिक प्रयोग राज्यले वा उच्च ओहोदाका व्यक्तिले कसरी गर्नुपर्छ भनेर अनुसन्धान भएका छन् । तर, लोकसेवाको परीक्षा दिँदा यस्ता संयन्त्रबारेमा केही नपढेको वा आफ्नो निर्णयमा ‘शून्य सिर्जनात्मक विश्लेषण’ को अस्त्र प्रयोग गर्ने निरीह कर्मचारीलाई यस्तो काम लगाएपछि अपजस आउनु अस्वाभाविक होइन । सबै नागरिकको ट्वीटरमा पहुँच छैन । उदेकलाग्दो कुरो त एकातिर लेटरहेडमा सहीछाप गरेर सूचना टाँस गर्ने, लाहाछाप लगाई सिलबन्दी गर्ने कार्यालयको ढोकामा ‘भित्र’ वा ‘बाहिर’ लेखेको पाटी राख्ने चलन अद्यापि प्रधानमन्त्री वा राष्ट्रपति कार्यालयमा समेत छ भने अर्कोतिर लहडपूर्वक औपचारिकरूपमा ट्वीटर र फेसबुक आदिको प्रयोगसमेत भएको छ । यसमा राज्यको नीति के हो, कसैलाई थाहा पनि छैन । चासो पनि छैन । 

दोस्रो हो, प्रेस विज्ञप्तिको भाषा । राष्ट्रपतिले पठाएको सन्देश सर्वसाधारणलाई जानकारी दिने अभिप्राय विज्ञप्तिमा देखिन्छ । यसो हो भने त्यो औपचारिक कागजातमा अंग्रेजी भाषा प्रयोग गर्नुको औचित्य के हो ? मातृभाषा भएको भए ‘समवेदना’ र ‘बधाई’ को फरक सामान्य कर्मचारीले पनि थाहा पाउने थियो । जब अर्थ थाहा हुँदैन तब जो कोही पनि यान्त्रिक हिसाबले काम गर्छ । अंग्रेजी भाषामा आमनेपालीको दखल निम्छरो नै छ । रेडियो, टेलिभिजन, स्कुल कलेजको वर्षौंको अंग्रेजी अभ्यासले पनि व्यावहारिक र लोकोपयोगी भाषिक क्षमता विकास नहुनु हाम्रो दुर्भाग्य हो । जापान र चीनजस्ता मातृभाषा अंग्रेजी नभएका हामीजस्तै मुलुकमा अंग्रेजी नपढी वयस्क भएको व्यक्तिलाई केही हप्तामै व्यावहारिक प्रयोगका लागि भाषिक क्षमता अभिवृद्धि गर्ने परिपाटीको विकास भएको छ । हामी भने बेखबर छौँ । 

तेस्रो पक्ष भनेको यस्ता महŒवपूर्ण कामका लागि पनि ‘टीके कर्मचारी’ वा ‘आफन्तजन’ को भर पर्नु । खासगरी स्वकीय सचिवालयलाई भर्तीकेन्द्र बनाउने चलन छ । विषयको गाम्भीर्य बुझेको व्यक्तिले स्वकीय सचिवालयमा मेधावी वा विषय विज्ञ वा बहुकार्य क्षमता भएका कर्मचारी राखिएको हुनुपर्छ । फोनमा स्पष्ट बोल्न नसक्ने, आगन्तुकहरूलाई प्राथमिकता क्रममा राख्न नसक्ने वा नेपाली वा अंग्रेजी भाषामा सामान्य टाइप पनि गर्न नसक्ने ‘भाइ भतिजा’ वा ‘सालासाली’ लाई आफ्नो सहयोगी बनाउनु ‘आफ्नै खुट्टामा बन्चरो हान्नु’ हो । कुनै अपजस नआउने गरी भाषा मिलाएर र कुरो पु¥याएर लेख्नसक्नु चानचुने कुरो होइन । छातीमा हात राखेर भन्न लगायो भने अधिकांशले भन्नेछन्, ‘यो मेरो चियाको कप होइन ।’

यति हुँदाहुँदै पनि अंग्रेजी उखान ‘पोखिएको दूधमा रुन्चे स्वर नबनाऊ’ जस्तो यो प्रकरणले एउटा पाठ भने जरुर सिकाएर गएको छ । दुव्र्यसनको मात लागेको विद्यार्थीको दृष्टान्तमा उल्लेख गरिएझैँ नेतृत्वका लागि वा राज्यका लागि यो ‘बधाई’ र ‘समवेदना’ को गन्जागोलभित्र एउटा अवसर अवश्य छ । यहाँनिर ‘संकट र अवसर’ का बारेको एउटा भनाइ उल्लेख गर्नु सान्दर्भिक ठहर्छ । 

‘कुनै पनि संकट वा विपदभित्र एउटा न एउटा चाँदीको घेरा लुकेको हुन्छ । त्यसले संकटमा परेको व्यक्ति, संस्था वा राज्यलाई नै केही विशेष अवसर सिर्जना गर्छ । सामान्य अवस्थामा ती अवसर जडताको शिकार हुन्छन् ।’ यसरी विश्वविद्यालयका लागि दुव्र्यसनको शिकार भएका ती विद्यार्थीले आफ्नो साथीको टाउको फुटाएर संकट सिर्जना त गरे तर त्यसमा एउटा अवसर पनि लुकेको थियो । उनलाई प्रणालीको एक सूचक मानी उनीजस्तै विषादग्रस्त अन्य विद्यार्थीलाई पहिचान गरी समग्र विश्वविद्यालयको विपरीतधर्मी परिपाटीमा सुधार ल्याउने । तर विश्वविद्यालयले यसो गरेन । उनलाई विद्यमान प्रणालीबाट बाहिर फ्याँक्ने नीति लियो । यस विषयमा निर्णय लिने उच्चपदस्थ अधिकारीको जिकिर थियो ः विश्वविद्यालयसँग यस्तो विद्यार्थीलाई प्रणालीभित्रै राखेर सुधार गर्ने र उसलाई पनि अरूजस्तै सफल प्राविधिक बनाउने साधन र स्रोत छैन ।

जसरी ती दोषी विद्यार्थी समकालीन समाज र विश्वविद्यालयभित्रको परिवेशका एक सूचक थिए, त्यसरी नै गम्भीर भाषिक त्रुटि भएको त्यो प्रेस विज्ञप्ति राष्ट्रपति कार्यालय, परराष्ट्र मन्त्रालय, लोकसेवा आयोग र समग्र राज्यको शिक्षा प्रणालीको हैसियत र क्षमता दर्शाउने एक सूचक हो । तर, दुर्भाग्य, यो विषयलाई गम्भीरताका साथ लिने जडताको शिकार नभएका सरोकारवाला नै को छ होला र ? 

प्रश्न यही हो, निजी सचिवमार्फत् सम्प्रेषण गरिएको परराष्ट्र मन्त्रालयको पछिल्लो विज्ञप्तिले ‘दोषीलाई कारबाही गर्ने’ बताएको छ । तर, यसबाट उसले केही पाठ सिकेर भविष्यमा यस्ता त्रुटि हुन नदिन क्षमतावान् कर्मचारी राख्ने वा भएका कर्मचारीको भाषिक क्षमता अभिवृद्धि गर्ने वा यो प्रकरणले राष्ट्र प्रमुखका सूचना सार्वजनिक गर्ने विषय थप अनुसन्धान गर्ने दिशामा केही पहल गर्ला कि नगर्ला ? उदीयमान युवा नेताका लागि भने यस्ता घटनाक्रमले धेरै ठूलो शिक्षा प्रदान गर्नेछन् भन्ने विषयमा दुई मत नहोला । 

एउटा घटना स्मरण गराउनै पर्छ– वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिसम्बन्धी विज्ञप्तिको मितिमा भएको गल्तीबाट पनि चेतेको देखिएन ।

(लेखक नेपाल विकास अनुसन्धान प्रतिष्ठानसँग आबद्ध छन् ।)

हिमालय टाईम्स 

पुष २७, २०७५