Saturday, February 27, 2021

मूर्ख बनाउन खोज्ने नेता

 प्रतिनिधिसभामा चिकित्सा शिक्षा विधेयक पारित गराइँदा सभामुख कृष्णबहादुर महराले ‘हुन्छ’ को साटो ‘हुन्न’ भन्ने शब्द उच्चारण गरे । अन्यथा हुनगयो भनी सम्बन्धित कर्मचारीले भन्दासमेत सभामुखले गल्ती सच्याउन तत्परता देखाएनन् ।

त्यसको भिडियो टेप भाइरल भयो । विधेयकलाई पारित गराउने जस्तो विशुद्ध प्राविधिक काममा समेत असक्षमता प्रदर्शन हुनु सामान्य घटना होइन ।

नेता र उनका अनुयायीमा हुने एउटा तात्त्विक भिन्नता ‘प्रत्युपन्न बुद्धि’को अंश धेर र थोर हुनु हो । भैपरी आएको परिस्थितिमा दूरगामी प्रभाव छाड्न सक्ने निर्णय बिजुलीको चमकमा गर्ने नेताले नेतृत्वको ठाडो भर्‍याङ चढ्न सक्छ । सभामुखको कमजोरीले अर्थको अनर्थ हुनगयो । यो अनर्थ घटनाबाट नेपाली राजनीतिका मियो हुनचाहनेले के सिक्न सक्छन् ? यस्तो संकट वा आकस्मिकता सामना गर्न अपनाइने नेतृत्व विज्ञानसँग जोडिएका केही रणनीतिबारे जानकारी राख्न जरुरी हुन्छ ।

न्युयोर्क सहरका पूर्वमेयर र हाल अमेरिकाका राष्ट्रपतिका लागि महान्यायाधिवक्ता रुडी जुलियानीले ‘संकटमा नेतृत्वको भूमिका’ शीर्षकको आलेख लेखेका छन् । उनका अनुसार हरेक नेतामा जोखिम मोल्ने र काममा गल्ती भए जिम्मेवारी लिने इच्छाशक्ति हुन जरुरी छ । संकटको घडीमा नेताले दिएको प्रत्युत्तरले कस्तो नतिजा निकाल्छ भन्ने विषयले विधि र प्रक्रियामा गरिएको अभ्याससँग सिधा सम्बन्ध राख्छ । नेपालमा नेतृत्व पङ्क्तिमा यस्तो संस्कार बसेको छैन ।

‘जोखिम पूर्वानुमान’, ‘गल्ती स्वीकारोक्ति’, ‘क्षति न्युनीकरण रणनीति’, ‘अपेक्षित नतिजाका लागि विधि–प्रक्रियामा अभ्यास’ जस्ता रणनीतिक महत्त्वका सवालमा न नेता, न तिनका सल्लाहकार नत कर्मचारी जानकार छन् । उनीहरू यस्ता विषयमा विज्ञसँग सल्लाह लिन पनि अघि सर्दैनन् ।

नेपालका प्रधानमन्त्रीले एक लाख डलर बराबरको ‘लिडरसिप एन्ड गुड गभर्नेन्स’ पुरस्कार पाए । पुरस्कार विवादास्पद एसिया प्यासिफिक शिखर सम्मेलनमा वितरण भएको थियो । म्यानमार र कम्बोडियाका सरकार प्रमुखहरूको समेत सहभागिता भएको उक्त सम्मेलनमा नेपालका पूर्वप्रधानमन्त्री लगायत ठूलो संख्यामा उच्च तहका नेतागण उपस्थित थिए ।

सार्क वा बिमस्टेकजस्ता क्षेत्रीय महत्त्वका सम्मेलनहरू आयोजना हुँदा महिनौंदेखिको पूर्वतयारी र प्रचार–प्रसार देखेसुनेका जनताले विश्व शान्ति स्थापनाको हौवा पिटेर आयोजना गरिएको सम्मेलनको औचित्य र आधिकारिकतामा औंलो ठड्याउनु स्वाभाविक थियो । विश्व शान्ति, जलवायु परिवर्तन र शासकीय सुधारजस्ता विषयमा छलफल चलाएको भनिएको उक्त सम्मेलनको औपचारिक गठनादेशमा प्रश्नचिन्ह लाग्यो ।

जलवायु परिवर्तनजस्ता विश्वव्यापी रूपमा वैज्ञानिक र राजनीतिक कित्ता ओगटेका विषयहरूमा सम्मेलन गर्ने र सर्वमान्य अवधारणा सिर्जना गर्ने काममा वर्षौंदेखि संयुक्त राष्ट्र संघजस्ता वैधानिक निकायहरू संलग्न छन् । नेपालका कतिपय सरकारी निकायमा यस्ता कार्यका लागि औपचारिक एकाइहरूसमेत गठन गरिएका छन् ।

‘प्रधानमन्त्रीलाई १ करोडको पुरस्कार दिलाउन राज्यकोषबाट १५ करोड खर्च गरियो ।’ ‘होली वाइन पिएर नेताहरूले क्रिस्चियन धर्म अँगाल्ने दिशामा पहिलो चरण पार गरे ।’ यस्ता हल्ला र आशंका निवारण गर्न औपचारिक पहल भएन । सम्मेलनमा सहभागी भएका उच्चपदस्थ नेतागण र प्रधानमन्त्रीका सल्लाहकारले सम्मेलन आयोजनाले ‘विश्वमा सकारात्मक सन्देश गएको’ भनी ठाडो बचाउ गरे ।

यहाँनिर विख्यात नेता अब्राहम लिंकनको भनाइ सान्दर्भिक ठहर्छ, ‘सबै जनतालाई केही समय मूर्ख बनाउन सकिन्छ, केहीलाई सधैंका लागि । सबै जनतालाई सधंैका लागि मूर्ख बनाउन सकिन्न ।’

जनतालाई मूर्ख बनाउन खोज्ने नेताको ढिलो–चाँडो राजनीतिक अवसान हुन्छ । यसकारण सफलताको शिखर चुम्ने नेताले ‘कौशलताको अस्त्र’ प्रयोग गरी सदैव राजनीतिक पुँजी वृद्धि गर्ने दिशामा अहोरात्र ध्यान केन्द्रित गर्छन् ।

विगत केही दशकमा ‘नेतृत्व कौशलता’ विषयमा बृहत अनुसन्धान भएको छ । व्यवस्थापन लगायत धेरै विधामा उच्चशिक्षाको तहमा यी विषयको अध्यापनसमेत हुन्छ । लाखौं जनतालाई प्रेरित गरेर चामत्कारिक काम कसरी गर्न सकिन्छ, कस्तो व्यक्तिले अर्बौंको कारोबार हुने व्यापार व्यवसाय र हजारौंको संख्यामा कर्मचारी भएको प्रतिष्ठान हाँक्न सक्छ, उसले ‘गर्न हुने’ र ‘गर्न नहुने’ कामकारबाही के–के हुन् जस्ता विषयको अन्तरवस्तु विश्लेषण गरी विभिन्न सर्वमान्य सिद्धान्त निर्माण गरिन्छ ।

अध्ययनले भन्छ, सर्वोच्च नेता वा प्रमुख कार्यकारीले गर्नुपर्ने दुई प्रमुख कार्य हुन्– परिणाम निकाल्ने र अनुयायी वा कर्मचारीलाई प्रेरित गर्ने । यी दुवै काममा विशिष्टता हासिल गर्न लरतरोले सक्दैन । यसकारण विभिन्न किसिमका नेतृत्वको वर्णक्रममा निरंकुुशदेखि उदारवादी नेतासम्म पर्छन् । परिणाममुखी नेताको कित्तामा सैनिक प्रमुख वा इमानदार तानाशाह पर्छन् भने उदारवादीको कित्तामा जननेता वा सार्वजनिक संघ–संस्थाका प्रमुख पर्छन् ।

चीनका नामुद व्यपारी ज्याक माको सम्पत्ति ३६ अर्ब अमेरिकी डलर छ, जुन नेपालको अहिलेको कुल गार्हस्थ्य उत्पादनभन्दा डेढ गुणा बढी हो । मा स्नातक तहको पढाइ सकेपश्चात अंग्रेजी पढाउने शिक्षकका रूपमा काम गर्थे । कसरी गरे उनले यो चमत्कार ? सामान्य शिक्षकबाट चीनको सबभन्दा धनी व्यक्ति बनेका मा लगायतका सफल नेताहरूको नेतृत्व यात्रालाई पाठ्य–पुस्तकमा ‘लिडरसिप लेबिरिन्थ’को उपमा दिएर व्याख्या गरिन्छ । लेबिरिन्थ भनेको भुलभुलैयाजस्तो प्रतित हुने कठिन मार्ग हो, जसको अन्तिम बिन्दुमा उच्चकोटीको सफलता हुन्छ ।

 

‘नेतृत्व यात्रा’ सामान्यजनको ‘चियाको कप’जस्तो विषयवस्तु होइन । आइफोन र आइप्याडजस्ता आधुनिक विद्युतीय उपकरण भित्र्याउने व्यापारिक क्षेत्रका वादशाह स्टिभ जब्स वा आधुनिक सिंगापुर बनाउने ली क्वान युलाई पनि चामत्कारिक नेताका रूपमा विश्वले चिन्छ ।

अर्को दृष्टान्त विवेकशील साझा पार्टीको फुट हो । ‘विवेकशील साझा’का उच्चपदस्थ नेतागणले मतभेद हुनमा फुटेर गएको समूहको दोष भएको जनाएका छन् । फुटेर ‘विवेकशील नेपाली’को नाम दर्ता गरेको नयाँ दलका अगुवाले माउ समूहको दोष देखाएका छन् । कुनै पनि समूहले ‘यो हाम्रो नेतृत्व असफलता हो’ भनी स्वीकारेका छैनन् । विश्लेषकहरूले समेत पार्टी फुट्नुको कारणमा राजनीतिक विचार नमिल्नु र सत्ताको बाँडफाँडमा चित्त नबुझ्नु आदिमात्र उल्लेख गरेका छन् । विवेकशील साझा फुट्नुको चुरो कुरो नेतृत्व कौशलसँग जोडिएको छ । वैकल्पिक शक्तिका रूपमा उदाएका दुई दलको समायोजनपछि दुई संयोजकले नेतृत्व सम्हालेका थिए ।

नेतृत्व विज्ञानमा एकैपटक एकभन्दा बढी व्यक्तिले वा पालैपालो संगठन वा संस्थाको प्रमुख हुने पद्धतिलाई ‘साझेदारी नेतृत्व’को सिद्धान्तले व्याख्या गरिन्छ । एकल नेतृत्वमा व्यक्तिगत स्वार्थ प्रधान भए पनि सफलता हात पर्न सक्छ । बहुल नेतृत्वमा साझा गन्तव्य वा उद्देश्य प्रधान भएन भने अन्तिम नतिजासम्म पुग्ने कार्य असम्भवप्राय: हुन्छ । ‘साझा उद्देश्य’लाई केन्द्रभागमा राखेपछि व्यक्तिको व्यक्तित्व गौण हुनजान्छ र त्यो उद्देश्य प्राप्तिका लागि जो तुलनात्मक रूपमा बढी सक्षम छ, उसले अगुवाइ गर्नुपर्ने हुनसक्छ । विवेकशील साझाका दुई संयोजकका आआफ्नै किसिमका सबल पक्ष थिए ।

एकले आफ्नो हतियारका रूपमा कलम अघि सारेका थिए भने अर्कोले ‘तन्नेरी हाँक्ने कौशलता’ । तर उनीहरूमा साझा दुर्बलताका रूपमा ‘आफ्नोजस्तो कौशल अर्कोमा नहुँदा अगुवाइ गर्न सकिन्न’ भन्ने भ्रम सिर्जना भयो । यो समस्याको जड भएर निस्कियो । ‘साझेदारी नेतृत्व’को महत्त्वपूर्ण पाटो भनेको अर्काको दोषलाई होचो बनाएर उसको गुणवत्ताको कवच सिर्जना गरी संगठन हाँक्ने शक्ति निकाल्नु हो ।

उल्लिखित तीन घटनाक्रममा एक साझा वस्तु छ– सामान्य परिस्थितिमा दुर्घटनामा परेको नेतृत्व ।

हरेक दिन नयाँ प्राविधिक चमत्कार हुने अहिलेको जुगमा नेतृत्वको सगरमाथा आरोहण गर्न चाहने व्यक्ति वा दलका केही महत्त्वपूर्ण विषय छन् । अगुवाइ गर्न चाहनेमा ‘सम्बन्धित विषयमा मभन्दा जानिफकार धेरै छन्’ भन्ने स्वीकारोक्ति हुन जरुरी छ । परम्परागत सोच र आफ्नैमात्र अहंकारले अहिलेको जमानामा जननेताको कुरै छोडौं, निरङ्कुश तानाशाहसमेत हुन असम्भव छ ।

लेखक नेपाल विकास अनुसन्धान प्रतिष्ठानसँग आबद्ध छन् ।

फाल्गुन ८, २०७५ ०८:०८

कान्तिपुर दैनिक

Wednesday, January 6, 2021

कस्ताले हाँक्न सक्छन् विश्वविद्यालय ?

काठमाण्डौ विश्वविद्यालयको नयाँ उपकुलपति छनौटको प्रकृया आम चासो र वहसको विषय भएको छ । छापाहरुमा उल्लेख भए अनुरुप काठमाण्डौ विश्वविद्यालयको कल्पनालाई मूर्त रुप दिने तथा शून्यको स्थितिवाट अहिलेको वर्तमान स्वरुप सम्म डोर्‍याउने नायक प्रा. सुरेशराज शर्मालाई अप्रत्याशित रुपमा बाध्यात्मक वहिर्गमनको परिस्थिति सिर्जना गरियो । केही विश्लेषकहरु अन्य शैक्षिक सँस्थाहरुमा देखिएका उपकुलपतिको राजिनामा सम्बन्धित ताण्डव नृत्यहरुको तुलनामा यो त सभ्य नै हो भनि तर्क गर्लान् । तर सभ्य खेलको नियम सिर्जना गर्न सिकाउने थलोमा भएका यस्ता गतिविधिमा भएको अशोभनियताको लेखाजोखा ईतिहासले नै गर्ला । यस अर्थमा पनि नँया उपकुलपतिको चयनलाई काठमाण्डौ विश्वविद्यालयको ईतिहासमा एउटा कुईनेटोको रुपमा स्थापित गर्नु पर्ने आवश्यकता सम्पूर्ण सरोकारवालालाई खट्केको हुनु पर्छ । यस्तै विभिन्न दृष्टिकोणवाट हेर्दा समग्रमा अब्बल देखिएको काठमाण्डौ विश्वविद्यालयको नँया उपकुलपतिको चयन प्रकृया नेपालको प्राज्ञिक क्षेत्रमा एउटा दृष्टान्त भएर रहने हुँदा यो विषयमा गम्भिरतापूर्वक विचार विमर्श गर्नु जरुरी देखिन्छ ।    

कस्तो उपकुलपति ? यो प्रश्नको उत्तर खोज्नु पूर्व उपकुलपतिको कार्यसूचि के हुनु पर्छ भन्ने सवालको जवाफ आवश्यक पर्दछ । विश्वविद्यालयको उपकुलपतिको भनेको पूर्णकालिन प्रमुख कार्यकारी अधिकृत हो । विश्वविद्यालय एक सार्वभौम सम्पन्न निकाय भएकोले अधिकार र उत्तरदायित्व दुवैको हिसावमा उपकुलपति अझ विशिष्ट हुन्छ । यसर्थ कुलपतिको कार्यसूचिको सबैभन्दा महत्वपूर्ण पाटो भनेको विश्वविद्यालयका लाभान्वित वर्गलाई सवल र सक्षम नेतृत्व प्रदान गर्नु हो ।

विश्वविद्यालयको दैनिक प्रशासन र नियमित गतिविधि सन्चालन सम्बन्धित सर्वोपरी अधिकार प्रयोग र  निर्दिष्ट उत्तरदायित्व वहन गर्नु कार्य सूचिको दोस्रो महत्वपूर्ण पक्ष हो । यस अनुरुप पठनपाठन, परीक्षा सन्चालन जस्ता प्रत्येक दिन समयतालिकाबमोजिम सन्चालन हुनु पर्ने कृयाकलाप तोकिएको मापदण्ड वा नियम मुताविक भईरहेको छ/छैन भनी निश्चित गर्ने जिम्मा पनि उनको कार्यक्षेत्रमा पर्छ ।  

तेस्रो, विश्वविद्यालयमा विद्यमान थिती र प्रणालीको  सूक्ष्म अध्ययन गरी त्यसमा भएका विसँगति र अप्ठ्याराहरुको पहिचान गर्ने हो । जडसुत्रवादी प्रवृति र विद्यमान सँरचनामा अन्तरनिहित जड तत्वहरुलाई चिरेर त्यसलाई अग्रगामी दिशामा डोर्‍याउने कार्य पक्कै पनि कठिन हुन्छ भन्ने सवाललाई आत्मसात गरी यस दिशामा सशक्त दृष्टिकोण, रणनीति र कार्यनीति निर्माण गरी त्यसै अनुरुप अघि वढ्नु अत्यावश्यक हुन्छ ।

चौथो, आफ्नो मातहतका वेतनभोगी सेवकहरु सँग सम्बन्धित छ ।  अब्बल दर्जाका सक्षम शिक्षक र कर्मचारीको पहिचान गर्ने, खुला प्रतिस्पर्धा मार्फत नियुक्ति गर्ने, तिनीहरुको क्षमता अभिवृद्धि गर्ने र अक्षमलाई पदवाट हटाउने दायित्व पनि उपकुलपतिकै हो । राजनैतिक सँरक्षण, स्थानिय समुदायको वा युनियनको दवावमा विश्वविद्यालयको दुरदृष्टि विपरीत स्वार्थ केन्द्रहरुको निहित  फाईदाका लागि काम गर्ने वा निकम्मा र अनुत्पादक कर्मचारी भर्ना नगर्ने र तिनलाई पोषण नगर्ने, जागिरे मनोवृतिले समय कटाउन विश्वविद्यालय धाउनेहरुलाई प्रश्रय नदिने नीति वनाई त्यसको अक्षरस पालना गर्ने उपकुलपतिको कार्यसूचीभित्रै पर्छ ।  

कार्य सूचिको पाँचौ विषय विश्वविद्यालयको दिगो विकासका लागि सवल आर्थिक सँयन्त्रको खोजी गर्ने हो । खासगरी विद्यार्थीको शुल्क र दाताको अनुदानमा सिमित भएको विश्वविद्यालयको आयश्रोतलाई कर्पोरेट क्षेत्र र पूर्व विद्यार्थीको सन्जाललाई प्रयोग गरी थप आयश्रोतहरुको खोजी गर्नु अपरिहार्य हुन आउँछ ।     

छैँटौ,  उत्तराधिकारीहरुको चयन प्रकृयालाई वस्तुनिष्ट वनाउने । उपकुलपति लगायत अन्य विशिष्ट पदाधिकारीहरुको चयन र नियुक्तिमा हाल देखिएको अनिश्चितता र पूर्वानुमान गर्न नसकिने परिस्थितिलाई अन्त्य गर्नका लागि उत्तराधिकारीहरुको छनौट गर्ने, उनीहरुको क्षमता अभिवृद्धि गर्ने र पदभार हस्तान्तरण पूर्व निश्चित समयावधि सम्म समानान्तर कार्य गर्ने प्रणालीको विकास गर्ने कार्य पनि उपकुलपतिकै दायित्वभित्र पर्दछ । 

अव प्रश्न के उब्जिन्छ भने कार्यसूचीका यी माथी उल्लिखित विषयहरुलाई सहजताकासाथ सम्बोधन गर्न सक्ने उम्मेदवारमा कस्ता कस्ता विशेषताहरु हुन जरुरी छ ?  

सामान्यतया विश्वविद्यालयमा प्राप्त हुने सबैभन्दा विशिष्ट उपाधि विद्यावारिधिको डिग्री हासिल गरेको र आफ्नो विधामा उत्कृष्टता हासिल गरेको व्यक्ति मात्र उपकुलपतिको उम्मेदवारको रुपमा चयन गर्नु जरुरी छ । तर यहाँ स्मरणिय प्रसँग के छ भने जागिर खाने मनोवृति भएको वर्षौ देखि एउटै पाठ्यक्रममा केन्द्रित भई आफूलाई “कर्मकाण्डिय दर्शन” मा सिमित राखेको व्यक्ति पनि उपयोगी हुदैन् ।

पौराणिक कथाहरुमा उल्लेख भए झै तत्कालिन परिस्थितिमा उत्पन्न प्रलयलाई नाश गर्न या एउटा विशिष्ट प्रकृतिको एतिहासिक अनुष्ठान सम्पन्न गर्न अवतारको प्रार्दुभाव भए जस्तो उपकुलपति पनि निर्धारित समयमा विश्वविद्यालयलाई एउटा निश्चित कोशेँढुगामा पुर्याउन सक्ने एक आदर्श व्यक्तित्व हुनु जरुरी छ । उपकुलपति भनेको विश्वविद्यालयको राजनेता  हो, अगुवा हो, नाईके हो जसको मार्गदर्शनलाई अनुयायीहरुले अनुसरण गर्छन् ।  

अनुयायीहरुका लागि आदर्श व्यक्ति भनेको आफू सँलग्न भएका गतिविधिमा अग्रपङ्कतिमा देखिएका अगुवाहरु हुने हुनाले सकेसम्म विश्वविद्यालयका गतिविधिमा उपकुलपतिले आफूलाई ‌औपचारिक रुपमा प्रदर्शन गर्न सक्नु पर्छ । सार्वजनिक समारोहमा उपस्थिति भई वा ईमेल,  नियमित प्रकाशन, वा सार्वजनिक वक्तव्य मार्फत विश्बविद्यालयका दृष्टिकोण वा उपलब्धिहरुलाई प्रसारण गर्नु पर्छ । उपकुलपति जति नतिजामूखी वा उत्पादनमुलक हुन्छ त्यसले अनुयायीहरुलाई प्रेरणा मिल्छ । यसकारण यसो गर्नकालागि उपकुलपतिको व्यक्तिगत समय व्यवस्थापन चुस्त र दुरुस्त हुन जरुरी छ ।

अवको उपकुलपति हुने व्यक्तिको लागि काठमाण्डौ विश्वविद्यालयको चार वर्षको पदावधि भनेकै उस्को जीवनकालको सवैभन्दा गरिमामय कालखण्ड हुन सक्छ । त्यसकारण उसमा विशिष्ट ईच्छा शक्ति, उच्च आत्मविश्वास वा नतिजामुखी सँकल्प गर्न सक्ने सामर्थ्य हुन जरुरी छ । म कुनै पनि परिवेशमा पलायनवाद तिर लाग्दिन् । पेशागत आदर्शलाई मुल मन्त्र मानेर काम गर्छु । व्यक्तिगत स्वार्थ, नीजि फाईदा र थिति विगार्ने पहलका विपक्षमा उभिन्छु भन्ने सँकल्प गर्न सक्ने व्यक्तित्व हुनु पर्छ । कुनै पनि समस्या वा चुनौतिको सामना गर्नका लागि मौलिक समाधानको कल्पना गर्न नसक्ने र शक्ति केन्द्रहरुको आडमा विवेकहिन उन्मादको प्रदर्शन गर्ने व्यक्ति उल्लेखित पदको लागि घातकसिद्ध हुनेछ ।  

उपकुलपतिमा चामत्कारिक हिसाबको सर्वमान्य अवधारणमा आधारित निर्णय लिन सक्ने क्षमता हुन जरुरी छ । जस्तोसुकै प्रतिकुल अवस्थामा होस या सामान्य अवस्थामा होस उसमा यस सन्दर्भमा विलक्षण प्रतिभाको नै रुप हुन जरुरी छ । आवश्यक परेमा आफ्ना परामर्शदाताहरु वा पेशाविदहरु सँग तुरुन्नै सम्पर्क गरी निचोडमा पुग्ने कला पनि उसमा हुनु जरुरी छ । समस्या पर्दा वा चुनौतिको सामना गर्दा प्रतिकृयात्मक टिप्पणी व्यक्त नगर्ने, नैराश्यले छोएको या हतोत्साही भएको झलक कहिले पनि नदिने, आगन्तुकका कुरा सुन्ने वा मर्का बुझ्ने, औपचारिक वा अनौपचारिक भेटघाटलाई उत्पादनमुलक र वस्तुनिष्ठ वनाउने खुबी भएको उपकुलपतिका लागि सुहाउँछ ।   आफूले विश्वविद्यालयमा अर्पेको समयको कुनै पनि अवसर मुल्य वारे सचेत हुने पनि हुनु पर्छ ।        

उपकुलपतिमा व्यक्तित्व चिन्ने गुण हुनु पर्छ । साझा लक्ष्य प्राप्तिका लागि के काम गर्नु आवश्यक छ र त्यो कसले के गर्न सक्छ भन्ने प्रश्नको उत्तर निमेषभरमानै दिने र कसैलाई कार्यादेश दिई सकेपछी उसबाट उच्च गुणस्तरको नतिजा प्राप्त गरेरै छोड्ने कौशलत समेत उनमा हुनुपर्छ । विश्वविद्यालयको प्रणाली भित्र प्रवेश गरीसकेका कामचोर र नीजि स्वार्थको पछि हिड्ने व्यक्तिहरुको पहिचान गरी तिनीहरुको प्रवृतिमा समेत व्यापक सकारात्मक परिवर्तन ल्याउन सक्ने विशेषता उपकुलपतिमा हुनु जरुरी छ ।  

भावनात्मक स्थायित्व अर्को महत्वपूर्ण विशेषता हो । एउटा राजनेता जसरी भावनात्मक रुपमा अविचलित हुन्छ र आफ्नो विचार प्रवाहमा चिन्ता, पिडा,  नैराश्यता, वैरभाव वा ईर्ष्या का अँशहरुलाई प्रदर्शन गर्दैन त्यस्तै विशेषता पनि उपकुलपतिमा हुनु जरुरी छ । शास्त्रले यस्तो व्यक्तिलाई स्थितप्रज्ञ सन्तको रुपमा कल्पेको छ ।

दु:खेष्वनुद्विग्नमना: सुखेषु विगत स्पृह: ।

वीतरागभयक्रोध: स्थितधीर्मुनिरुच्यते ।।

( गीता २/५६)

यसको विपरित कुनै प्रसँग या परिस्थितिमा सन्दर्भ मिलाएर रमाईलो पन थप्न सक्ने कौशलता उपकुलपतिमा हुनु जरुरी छ ।

उल्लेखित कार्य सूचिमा सँलग्न गरिएका वुँदाहरु र तीनका आधारमा प्रस्तुत गरिएका विशेषताहरु पक्कै पनि एउटै व्यक्तिमा पूर्ण रुपमा उपलब्ध नहुन सक्छन् । तर यसका आधारमा हाल चर्चामा रहेको वहसको विषय “काठमाण्डौ विश्वविद्यालयको उपकुलपति चयन” मा पाठक वर्गले एक अवधारणा वनाउन सक्ने छन् भन्ने विषयमा दुई मत नहोला । यस्तै अन्य विशेष दायराको वा छनौट प्रकृयाका सन्दर्भ ग्रन्थ या सर्वमान्य दस्तावेजहरुको उपलब्धता नहुँदा छनौट समितिले समेत यस लेख वाट केही सहयोग लिन सक्ने छ भन्ने अपेक्षा गरीएको छ ।

(डा. खतिवडा काठमाण्डौ विश्वविद्यालयका सह प्राध्यापक हुन भने डा. आचार्य टोकियो स्थित नेसनल ग्रयाजुयट इन्स्तीत्युत अफ पोलिसी स्टडिज (ग्रीप्स)का अतिथी प्राध्यापक हुन् । )

लेखक: डा. नवराज खतिवडा / डा. सूर्यराज आचार्य

प्रकाशक : कान्तिपुर दैनिक

प्रकाशित मिति: बिहिवार, १४ मँसिर २०६९