Thursday, April 2, 2020

सुर मिलेको सुर्खेत


म पुन: एक पटक जोडिएका तिम्ल्याहामध्येको एक कुर्सीमा बस्न पुगेको थिएँ । उनी मेरो दाहिनेतिरको कुर्सीमा बसेकी थिइन । वास्तवमा उनको छेउको कुर्सी नै मैले रोजेको थिएँ । कुनै कथा उम्रिने आशा थियो । यसैले मेरो रोजाइलाई स्वाभाविक बनाउन देव्रेतिरको सीटमा जानाजानी मेरो ल्यापटप झोला राखेको थिएँ । मेरो हातमा भर्खरै किनेको अमेरिकानो कफी थियो । म त्यसको चुस्कीमा हराउँदै थिएँ । हाम्रो अघि रहेको प्रवेशद्वारबाट एक हुल यात्रीहरु भित्र छिरे । उनी जुरुक्क उठिन् । हूलमा मिसिएर आएकी पहेलो कुर्ता सुरुवालमा सजिएकी अधवैंसे महिला र उनका चार आँखा भए । उनी तिनै महिलाको पर्खाइमा रहिछन। दुवैले मुस्कान र आँखाको भावले अभिवादन साटे ।

“यात्रा कस्तो रह्यो त ?”

“आरामदायी रह्यो । एकै छिन है !”

अधवैंसेले लामो उत्तर दिइनन् । उनी वरिपरिको भीडभाडमा आँखा डुलाउन थालिन् । मेरो छेउमा बसेकी युवती भने फर्केर फेरि त्यही कुर्सीमा बस्न पुगिन । प्रत्युत्पन्न बुद्धिको भण्डारबाट मैले एउटा प्रश्न निकालेँ । तिनलाई लक्षित गरेँ । बेजोडको साइत पर्‍यो ।

“कहाँबाट आएको रहेछ यो जहाज ?”

“धनगढीबाट ।”

हामी एकै छिन अघि सुर्खेतबाट आएको बुद्ध एयरको वायुयानवाट आएका थियौँ । हामी पछि लगत्तै धनगढीबाट आएको वायुयानले अवतरण गरेछ । सुर्खेतमा टिकट जाँच गर्ने कक्षमा मैले यात्रुहरुलाई दिइएको सूचनामा यो शब्द पढेको थिएँ । अंग्रेजी ‘एयरक्राफ्ट’ को नेपाली अनुवाद ‘वायुयान’ मलाई राम्रै जँचेको थियो । पूर्व सचिव खेमराज नेपालले एकदम मिलेको अनुवाद भनेर  दिएको “बडा लेखापाल” को उदाहरण सम्झिएँ । यसको अंग्रेजीमा ‘सिनियर एकाउन्टेण्ट’ हुन्छ । यहाँनिर सर्वाधिक रोचक पक्ष भनेको ‘टेन्ट’ को नेपालीमा अनुवाद ‘पाल’ हुनु हो । यो एक किसिमले ‘फोटो कपी’ को सिद्धान्त मिल्ने हिसाबकै अनुवाद भएकाले म प्रफुल्ल भएको थिएँ ।

एक्कैछिन पछि पहेंलो कुर्तावाली महिला फेरा रंगमन्चमा आइन । उनको हातमा एउटा ‘ए फोर’ साइजको खाम थियो । उनले त्यो युवतीतिर बढाइन् । युवतीलाई अँगालो हालिन । 

“हजुरलाई दु:ख भयो होला ।”

“जाबो यति सानो कुराले पनि दु:ख हुन्छ ! बरु अन्तर्वार्तामा राम्रो गर्नू । टेन्सन नलिनू ।”

अर्ती दिएर महिला आफ्नो सामान लिन हिँडिन् । युवतीले पनि हिँड्ने तरखर गरिन् ।  उनले सीटबाट आफ्नो ब्याग टिप्दै गर्दा मैले सोधेँ-

“केको अन्तर्वार्ता हो त बहिनीको ?“

“ज्योति विकास बैंकको ।”

“अन्तर्वार्तामा कहिलेकाहीँ नपढेको तजबीजले उत्तर दिनुपर्ने प्रश्न सोधिन्छ ।”
मेरो अभिव्यक्तिको ध्येय कुरा तन्काउने थियो ।

“हजुर टिचर हो ?”

“हो । म काठमाण्डौ विश्वविद्यालयमा पढाउँछु ।”

“ए । मेरो त धेरै अनुभव छैन । कस्तो कस्तो लागिरहेको छ ।”

उनले सँकोच निवारण भएको सँकेत दिईन ।

“नआत्तिईकन उत्तर दिनुपर्छ । एउटा अन्तर्वार्ता कै जस्तो प्रश्न सोधौँ त ?”

“हुन्छ ।”

“यो भीडमा कति मान्छे होलान् ?”

“बुझेँ । उत्तर चैँ दिनुपर्‍यो हैन त । ठ्याक्कै कति होलान् भनेर त सोध्नेलाई पनि कहाँ थाहा होला र ?”

“सही हो । तर उत्तर तार्किक हुनुपर्‍यो । हचुवा भयो भने सोध्नेले त्यसैलाई आधार बनाउँछ ।”

“जे होस चूप लागेर चैँ बस्नुभएन । होइन त ?”

“हो । ल ! बहिनीलाई शुभकामना ।’

मलाई लेख्ने खुराक प्राप्त भै सकेको थियो । ल्यापटप निकालेर लेख्न सुरु गरेँ । मसँग केही ‘पर्खने समय’ थियो । पुत्ररत्न सिरिनको धर्मपत्नी रीतालाई कमलादीमा छोडेर मलाई लिन विमानस्थल आउने योजना थियो । म अमेरिकानो कफीको चुस्कीमा भर्खरै आलो भएको प्रसङ्ग लिपिबद्ध गर्न थालेँ ।  

कफी किनेको पसलमा पनि रमाइलो भएको थियो । तीन जना अल्लारे जस्ता देखिने युवाहरुले पसलको सत्ता सम्भालेका थिए । आदेश पाउना साथ पहिलोले काम शुरू गर्‍यो । दोस्रो गीत गुनगुनाउन थाल्यो । त्यो परिवेशमा मेरो ‘कथा खोज्ने’ अभियानको कोपिला स्पष्ट देखा पर्‍यो । म त्यसलाई ढकमक्क फुलेको फूल बनाउने कसरतमा लागेँ । 

“गाना मिसिएपछि त कफीको रूपै फेरिने भो त !“

“त्यही त भन्या सर । यसलाई नेपाल आइडलमा गाउन जा भनेको सुन्दैन ।”
तेस्रोले भाका मिलायो ।   

“हो नि, काउली बूढीजस्ता सुन्दरीसँग भेट पनि हुने ।“

कफी तयार भएको घोषणा गर्दै पहिलोले भन्यो । मैले पनि नेपाल आइडलको प्रदर्शनी हेरेको थिएँ । सुर्खेतवाट आएकी  सन्ध्या बूढाले  ‘काउली बूढी’ नामकी वृद्धाको भेषमा एक आश्चर्यले भरिएको प्रस्तुति गरेकी थिइन । ‘सुर्खेत घर’ भन्ने सुन्नासाथ कार्यक्रमका निर्णायक मण्डलका सदस्य न्हु बज्राचार्यले भनेका थिए- सुर्खेतको मान्छेको त सुर लाग्छ नि । सुर्खेतका गायक गायिकालाई गीतको सुर लागे जस्तो मलाई सुर्खेतको भुगोलको सुर लागेको थियो ।

‘सुर्खेत’ सम्झिँदा पटक पटक मस्तिष्कमा उदाउने व्यक्ति ‘छमान थापा मगर’ हुन् । छमानसँग मेरो बैंककमा भेट भएको थियो । उनी सुर्खेतवासी रहेछन् । साथै परराष्ट्रका कर्मचारी पनि । दुई वर्ष जति अघि म कम्बोडियावाट फर्कने क्रममा नेपाली राजदूतावासको पाहुना हुन पुगेको थिएँ । बहिनी-ज्वाइं राजन रेग्मी त्यहाँ काम गर्नुहुन्थ्यो । मेरी बहिनी मञ्जु, राजन ज्वाइं, छमानका बूढाबूढी र म सहित पाँच जनाको जत्था किनमेलका लागि निस्केको थियो ।

“डाक्टर साहेब ! मनमा एउटा कौतूहल जागेको छ । भनूँ कि नभनूँ भयो ।” 

“दिल खोलेर भन्नुहोस्, किन नभन्ने ?”

 

 “डाक्टर दुई किसिमका हुन्छन् भन्ने सुनेको छु । सुई डाक्टर र फुईं डाक्टर । हजुर कुनमा पर्नु भो ?”

उत्तर दिनुअघि नै हाँस्न थालेँ । समूहका अरू पनि हाँसे ।

“म दोस्रोमा परेँ ।”

डाक्टरका दुई विशेषण ‘सुई’ र ‘फुईं’ वारेको यो छमानमाहात्म्य धेरै ठाउँमा सुनाएँ । सबैले रमाइलो माने ।

मेरो कवितासंग्रहमा ‘मेहेलकुना’ शीर्षकको एक कविता छ । मेहेलकुना छिन्छु जाजरकोट करिडोरमा पर्ने एक सानो बजार हो । उहिलेको क्षेत्रिय सदरमुकाम तर अहिलेको कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा म सरकारी कर्मचारीको हैसियतमा २०४९ सालमा बसेको थिएँ । त्यो बसाई मेरो पेशागत जीवनको एउटा यस्तो बेजोडको घुम्ती भयो कि म सरकारी जागीर छोडेर उच्च शिक्षा हासिल गर्ने बाटोमा लागेँ । म अघि बढ्दै गएँ र उत्तर-विद्यावारिधि सम्मको अध्ययन गर्ने मौका पाएँ । वीरेन्द्रनगरको बसाइमा एक पटक म मेहेलकुना पुगेको थिएँ । त्यहीँ यो एक कविता रचेको थिएँ । 

त्यसको एक अंश यस्तो थियो-

“मेहेलकुना डुंगामा बसेर भेरी तर्छ
अनि दुई रुपैयाँ तिरेर मूलको पानी ल्याउँछ
भेली (सख्खर) पारि लैजान्छ
अनि रक्सी बोकेर फर्किन्छ “

भेरी नदीमा डुंगा चढेर वारिपारि गर्नु मेहेलकुनाका नरनारीको सामान्य दैनिकी थियो । साढे दुई दशकअघि र अहिलेको तुलना गर्दा मेहेलकुनामा खानेपानीको समस्या त पक्कै समाधान भएको हुनुपर्छ । मेरो कवितामा उल्लिखित अर्को विषय ‘मदिरा सेवन’ को समस्या भने अहिले पनि ज्यूँ का त्यूँ छ भन्ने सुनेर मलाई यस पटक दु:खी बनायो । यो कालो वृक्ष झाँगिएर अर्कै रूप धारण गरेको छ भन्ने सुन्दा म दु:ख मिश्रित आश्चर्यले समेत भरिएँ । सुर्खेतमा घर भएका एक सज्जनले समस्याको बेलीविस्तार लगाए ।

“छिन्छु-जाजरकोट करिडोरमा मापसेको नयाँ आयाम थपिएको छ । सडक निर्माण भएपछि रिबन आकारको बजार उम्रने त भैगयो । बजारमा पसल खुल्ने नै भए । पसलको मुख्य व्यापार मदिरा हुने नै भयो । क्याम्पस पढेका युवतीहरु बेरोजगार भए । उनीहरु पसलमा साहुनी भएर बस्न थाले । साहुनीहरुको अरू काम क्यै भएन । कतिपयको योग्य वर नपाउँदा बिहे पनि भएन । अनि उनीहरु तनाव हटाउन पसलमा भएको मदिरा पिउन थाले । मदिराको लत लाग्यो र अधिकांश दुर्व्यसनी भए ।“

यो कथनमा कति सत्यता छ, भगवान् नै जानुन। तर कथनमा अन्तर्निहित तथ्यहरुले यो असम्भव हुने कारण म देख्दिनँ । जुन वेला म जाजरकोट र सुर्खेतमा बस्थेँ । त्यसवेला पनि बादी जातिका नारीहरुले यौनव्यापार गर्छन् भन्ने सुनिन्थ्यो । यस्ता गतिविधि हुने चर्चित ठाउँहरु चौरजहारी, दाङ, छिन्छु र नेपालगन्ज थिए ‘अव्यवस्थित मदिरा सेवन’ नेपालमा सम्भवत: अहिलेको एक ठूलो समस्या हो । कतिपय गाउँपालिका, नगरपालिका र जिल्लाले मदिरामुक्त क्षेत्र बनाउने जमर्को नगरेका होइनन् । जबसम्म उपल्लै तहबाट घनीभूत प्रयास हुँदैन, यो अभियान असम्भव छ भन्ने देखिएको छ ।     

महिलाहरुकालागि उपलब्ध रोजगारीमा उल्लेख्य वृद्धि नभएको भने होइन । वीरेन्द्रनगरको बुद्धपथमा रहेको शीतल डेरी उद्योगमा हामीलाई सवारी साधनको सेवा प्रदान गर्ने अधिकारी थर (नाम भने विर्सें) का गुरुजीले खाजा ख्वाउन लगे । त्यहाँको व्यवस्थापनको पूरै जिम्मा महिलाहरुले लिएका रहेछन् । पकाउने, पस्कने र भाँडाकुँडा सफा गर्ने सबै अधवैंसे महिला । भुक्तानी कक्षमा भने दुई कलिला युवती थिए । उनीहरु ग्राहकको टेबुलमा खाजा पुर्‍याउने र जुठा प्लेटहरु उठाउने काम पनि गर्थे ।

“ए ! बहिनी,  यो चमेनागृहको म्यानेजर तिमी हो ?”

सेता चम्किला दाँत देखाएर मुस्कुराउँदै तिनले मुन्टो हल्लाइन् । सम्भवत: मेरो प्रश्न उनका लागि नौलो थियो । भित्तामा लेखेको सन्देशमा उनको ध्यानाकर्षण गराएँ । एक दर्जनभन्दा बढी सूचनाको सूची थियो । नौ नँ बुँदामा यस्तो लेखिएको थियो ।        

“टेबुलमा खाजाको समय २० मिनट हुनेछ । सोभन्दा बढी समय आवश्यक परेमा प्रति ३० मिनट रू २०० चार्ज लाग्नेछ ।“

“कोही मान्छेले २० मिनटपछि अर्को खाजा मगायो । अनि फेरि २० मिनटमा अर्को । यस्तो वेलामा ९ नम्बरको नियम लाग्छ कि लाग्दैन ?”

मैले लजाउँदै गरेकी म्यानेजर बहिनीलाई सोधेँ । मेरो खाजा-ईतर कित्ताको गतिविधिले साहुजीको पनि ध्यानाकर्षण भयो । उनले आफैँले जवाफ दिने कामको सत्ता सम्हाले । मेरो जिज्ञासा शान्त भयो । 

विमानस्थलको सुरक्षा जाँच कक्षमा भने एक नौलो विषयवस्तु फेला पर्‍यो । महिलालाई जाँच गर्ने सुरक्षाकर्मीले औपचारिक पोशाक लगाएकी थिइनन । उनी सलवार कुर्तामा थिईन । मलाई यसको कारण पत्ता लगाउन निमेषभर पनि लागेन । उनी दोजिया थिईन । सेवाप्रदायक व्यापारिक प्रतिष्ठानहरुले सेवाग्राहीहरुसँग अन्तर्क्रिया हुने अग्र-भागमा विशेष ध्यान दिएर रूपवती वा रूपवान तन्नेरीहरुलाई राखेका हुन्छन् । केही दिनअघि भएको ‘नाडा अटो शो’ मा पनि नयाँ गाडीको छेउमा छोटो लुगा लगाएका सुन्दरीहरु राखिएको थियो । यस्तो वेलामा गर्भवती महिलालाई उभ्याउने हो भने ग्राहकलाई कस्तो छाप पर्ला ? जो कोही ले अनुमान गर्छ । सन्तानउत्पादन गर्ने विधिको विधान मात्र नभएर कानूनी अधिकार नै भएको हुनाले ती दोजिया सुरक्षाकर्मीलाई पश्चभागका अरू नै काममा खटाएको भए जाती हुन्थ्यो । यसको अर्को त्रिशूल पाटो पनि छ । विमानस्थलको सुरक्षा जाँचमा एक्स-रे मेशिन पनि हुन्छ जसको प्रयोग वा सामीप्य सामान्य व्यक्तिले पनि कम गर्नु भनिन्छ ।   

हाम्रो सुर्खेत भ्रमण दलमा प्राडा. माधवप्रसाद पोखरेल, डा. जयकुमार गुरुङ र डा. दीपेन्द्र रोकाया हुनुहुन्थ्यो । हामीले कर्णाली प्रदेशका मुख्यमन्त्री, अन्य मन्त्रीगण, प्रमुख सचिव र अन्य सचिवलाई भेटेका थियौँ । 

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शिवनारायण चौधरीसँगको भेट आद्वितीय नै रह्यो । वहाँको विनोदप्रिय कार्य शैलीको मुक्त कण्ठले प्रशँसा गर्‍यौँ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीलाई त मैले हाम्रो भेटघाटको अन्त्यतिर एक प्रश्न राखेँ ।

“माननीयज्यू त साहित्यको अनुरागी समेत हुनुहुन्छ । मन्त्रीको कार्यसम्पादनमा साहित्यले केही सहयोग गरेको छ त ?”
“विषयवस्तु बुझ्न र सिर्जनात्मक हुन सहयोग पुर्‍याएको छ ।”
मेरो प्रश्न र मन्त्रीज्यूको उत्तर हाम्रो भ्रमणदलका सदस्यले मन पराउनुभयो । 
सुर्खेत जाँदा हाम्रो चार जनाको समूह दुई भागमा विभाजित भएको थियो । डा. गुरुङ र म प्रदेश ५ को अस्थाई राजधानी वुटवल हुँदै कोहलपुरमा एक रात बसेर वीरेन्द्रनगर पुगेका थियौँ । माधव सरहरु बुद्ध एयरको सीधा उडानबाट आउनुभएको थियो । 
यात्रा गर्दा म देखिएका र भेटिएका नौला दृश्यलाई सकेसम्म क्यामेरामा कैद गर्छु । छिन्छु पुग्नै लाग्दा सडकको दाहिने किनारामा वरपीपल र चौतारी भएका स्थानमा स्कूलको पोशाक लगाएका स-साना बालबालिका देखिए । मैले गुरुजीलाई गाडी रोक्ने आदेश दिएँ । किनभने समूहका दुई जना केटाहरु कान समातेर उठबस गरिरहेका थिए । एक युवती नजिकै थिइन। उठवसको क्रियाकलाप उनकै निर्देशनमा भइरहेको थियो । 
“के बदमासी गरे त मिस यिनीहरुले ?”

“साना बच्चालाई लडाए ।”

“ए । कति चोटी गर्नुपर्ने हो त यिनले उठबस ?”

“सय पुर्‍याउनु भनेको ।”

“सय त धेरै भयो मिस ।”

मिसले मेरो सल्लाह मानिन् । मैले बालबालिकालाई ‘इलामेली ललिपप’ दिएँ । हामीले सामूहिक तस्विर पनि खिच्यौँ ।   

सुर्खेत विमानस्थलवाट सिधै काठमाडौं आउने यो मेरो यात्रा को गन्ती तीन पुगेको थियो । वायुयान चढ्ने क्रममा हामी चार भाइ सबैभन्दा पछि पर्‍यौँ । डा. गुरुङले तस्वीर खिच्ने प्रस्ताव राख्नुभयो । हामी एक छिन अलमलियौँ ।

एक सुरक्षाकर्मीले हातले ‘हतार भएको’ इशारा गरे । मैले परिवेशलाई स्वाभाविक बनाउने जमर्को गरेँ । 

‘हामीले फोटो खिचेको खिच्यै गर्‍यौं भने के गर्नुहुन्छ त ?’

“यो त हजुरहरुले जान्ने कुरा हो ।”

“आज पनि सुर्खेतकै पाहुना बनाउँछौं, भोलिको उडानमा पठाउँछौं-भन्ने जवाफ दिनुहोसन।”

यो अभिव्यक्ति माधव गुरुबाट आएको थियो ।

माधव गुरु र म एउटै सीटमा पर्‍यौँ । बादलको बाहुल्य भएकाले हिमाल खासै देखिएन । माधव गुरुको सान्निध्यको यो मेरो पहिलो हवाई यात्रा थियो । यसैले हिमाल नदेखिनुको कुनै पछुतो थिएन । हाम्रो कुराकानीको आयतन र विविधता अहिलेसम्मकै सुर्खेत हवाई यात्रामा भएका कुराकानीभन्दा अधिक थियो ।  

सामान संकलन कक्षमा मैले डा. गुरुङलाई भने-अन्तरप्रदेशीय यात्राले पुगेन । अब मलाई माधव गुरुसँग अन्तर्राष्ट्रिय उडान भर्ने इच्छा छ ।

वहाँहरु झोला संकलन गर्नासाथ हिँड्नुभयो । म भने अमेरिकानो कफीको खोजीमा लागेँ ।

आश्विन १०, २०७५

हाइल्याण्ड विन्स कफी
ललितपुर मल, लगनखेल

No comments:

Post a Comment