Friday, April 3, 2020

जयपुरमा हनिमून


कोलम्बो योजनाको छात्रवृत्तिमा इन्जिनियरिङ विषयको अध्ययनका लागि मैले विरला इन्स्टिच्युट अफ टेक्नोलोजी (बिआईटी) मा जीवनका चार महत्त्वपूर्ण वर्षहरु बिताएको थिएँ। केही महिना अघि बीआईटीका पूर्वविद्यार्थीहरुसँग जोडिएको एक महत्त्वपूर्ण जमघटमा सहभागी हुन निम्तो आएको थियो। त्यो जमघटको नाम जुराइएको थियो- बिटोसा ग्लोबल कनक्लेभ २०१८। सालै पिच्छे आयोजना गरिने यो अनुष्ठानका लागि यस पटक छिमेकी मित्रराष्ट्र भारतको राजस्थान प्रदेशको ऐतिहासिक शहर जयपुरलाई रोजिएको थियो । सहभागिताका लागि तय भएको मिति जनवरी १२-१४ को भएकाले मैले यो भारत यात्रामा धर्मपत्नीलाई समेत लिएर जाने निधो गरेको थिएँ ।

“बूढाबूढी मात्र जाने ? हनिमुन नै हो कि के हो ?” 

पति-पत्नीको ‘घुमघाम’ को ‘धुमधाम’ कुराकानी सुनेका आफ्नै छोराछोरी लगायत अन्य आफन्तजनले यसरी जिस्क्याएका थिए । 

विनोदी प्रतिक्रियाका यी लहरहरुले मलाई भने वास्तविक हनिमुनका लागि तय भएको हाम्रो दार्जीलिङको यात्रा विथोलिएको प्रसंग स्मृतिको पत्रेचट्टानबाट एकाएक सतहमा आएको अनुभूति भएको थियो । विवाह गर्दा भएको खर्चको राप र ‘विवाह गर्नु भनेको दुलही घरमा ल्याउनु त हो नि’ भन्ने संस्कारको जालोमा लपेटिएका थियौँ- हामी नवदम्पती ।पैसा खर्च गरेर टाढा जाने प्रस्ताव बुबाआमाले त्यति नरुचाएको पाइएकाले हाम्रो ‘दार्जीलिङ हनिमुन सपना’ तुहिएको थियो।एकै दिनका लागि मात्र भए पनि हामी धरानसम्म पुगेका थियौ।दन्तकाली मन्दिरमा पुगेर हाम्रो सम्बन्ध अटुट रहनेछ भन्ने संकल्प गरेका थियौँ।विजयपुर र बुढासुब्बा घुमेका थियौ।अहिले पनि स्मरणमा आइरहने धरान यात्राले मधुमासमा रहेका नवयौवनाहरुको एकल भ्रमण कति महत्त्वपूर्ण र रोमाञ्चकारी हुँदो रहेछ भन्ने कुरा स्पष्ट पार्छ ।

‘पशुपतिको यात्रा सिद्राको व्यापार“ भन्ने लोकोक्तिमा समेटिएको हाम्रो भारत यात्राको दोस्रो पक्ष ‘सिद्रा’ को जात जनाउने काम थियो- पुत्ररत्न सिरिनलाई दिल्लीमा भेट्ने।जेट एयरको पूर्वाह्न ८:२५ को उडान भएकाले हामी ५ बजे नै विमानस्थल पुगेका थियौँ।कुनै यात्रामा निस्कँदा बिहान सबेरैको प्रस्थान समय भयो र फर्कँदा बेलुका वा रातिको समय भयो भने जाने र फर्कने दुवै दिनको भरपूर फाइदा लिन सकिन्छ भन्ने मान्यता मैले पालेको हुनाले यस्तो प्रावधान रोजेको थिएँ ।

तर, सोचेको जस्तो कहाँ हुन्छ र !

“यस्तो बिहानै हिँड्नु पर्ने बुझेको भए म त आउने नै थिइन।”

रीताको आक्रोशपूर्ण अभिव्यक्ति छताछुल्ल भयो । नभन्दै विमानस्थल प्रवेशद्वारको सुरक्षा जाँच स्थल, जेट एयरको चेक-इन कक्ष, अध्यागमन आदिमा चहलपहल नै शुरू भएको थिएन ।

“तपाईँहरु धेरै चाँडो हुनुभयो । बिहानै त ३ घण्टाअघि नै विमानस्थल पुग्ने नियम कहाँ लागु हुन्छ र ?”

यसो भन्ने जेट एयरको कर्मचारीको ‘मुख कच्याककुचुक पारिदिउँकि’ भन्ने झोँक नचलेको होइन। किनभने उसको भनाइले रीताको तर्कलाई ‘आगोमा घिउ थप्ने’ काम गरिरहेको थियो। तर मैले मन थामेँ। मौन बसेँ।आफूलाई अचानो मानेपछि जसले जतिसुकै प्रहार गरे पनि मतलब हुँदैन। 

यस पटक इन्दिरा गान्धी विमानस्थलबाट सिरिनको कोठासम्म पुग्ने काम चुनौतीपूर्ण बनेको थियो।अहिले नयाँ दिल्लीमा उबर ट्याक्सीको प्रयोग बढेको र त्यसको प्रयोगका लागि मोबाइलमा उबर ऐप चाहिने।यस्तो गर्न स्थानीय सिम चाहिने।यसो नहुंदा कठिन त ट्याक्सीचालकको उत्तर दिँदै गन्तव्यमा पुर्‍याउनु  हो। केही त्रुटि भए श्रीमतीको खप्की खाइने डर ! तर यी सबै पूर्वानुमानहरुले सत्य सावित हुन पाएनन्।पूर्व-भुक्तानी सेवाको ट्याक्सी सहजै पाइयो। हामी कोठामा पुग्दा दिउसोको लगभग १२ बजेको थियो।

दिनभरिको समय कसरी बिताउने ? मैले नयाँ दिल्लीमा आयोजना गरिएको अन्तर्राष्ट्रिय पुस्तक मेलाको जानकारी लिएको थिएँ।मलाई त्यहाँ जाने सुर थियो।रीतालाई भने दिल्लीको दक्षिण-पश्चिम कुनाको सरोजिनीनगर मार्केट।मैले पहिला प्रगति मैदानको पुस्तक मेला जाने अनि मार्केट जाने भनेर कुरो मिलाएँ।

हामी उबर लिएर प्रगति मैदान पुग्यौँ।हिन्दीको कुनै नियात्राको पुस्तक किन्ने सुर थियो । विद्युतीय सञ्चार र डिजिटल प्रविधिको चपेटामा परेर बजार गुमाइरहेको मुद्रण र प्रकाशन व्यवसायमा आधारित प्रदर्शनीको रौनक नियाल्ने योजना पनि थियो।दुवै काम भए। रीताको मोबाइलमा उबरको ऐप थियो।मेरो त मोबाईल नै बिग्रेर बनाउन ल्याएको थिएँ ।मलाई एक ठाउँको निशान देखाएर रीताले भनिन-कतै अलमल भए यही ठाउँमा आउनु ।फेरि हराउनुहोला।

“पैँतीस बर्षअघिदेखि घुमेको शहर हो । तिमीलाई स्वयंवर गर्नुभन्दा पनि अघिदेखी । त्यही बेलामा कसो यतैका सुन्दरीलाई आँखा लगाइन ?”

“घुमेर के गर्नु उबर बोलाउने अस्त्र त मसँग छ ।”

यो संवादले मलाई ‘सुन जोडी’ का अंशियार सूर्यमान शाक्यले भनेको स्मरण भयो ।

“बूढीलाई दुई पटक कुम्भ मेला लिएर गएँ । तर दुवै पटक काम भएन ।”

“कस्तो काम ?”

मैले कुरो नबुझेर सोधेको थिएँ ।

“तपाईं कुरै बुझ्नुहुन्न । कुम्भ मेलामा सँगै गएको मान्छे हराउने प्रबल सम्भावना हुन्छ क्या !”

मेरो हकमा भने सूर्यमानको यो हस्यौलीको भन्दा विलकुल उल्टो स्थिति भएको थियो । पुस्तक मेलामा श्रीमतीजी होइन ‘श्रीमानजी’ पो हराउने त्रास भएको थियो ।  

प्रगति मैदानबाट हामी उबर लिएर सरोजिनीनगर मार्केट गयौँ । त्यहाँ नेपाली मूलका ग्राहकहरु बाक्लै भेटिए । मेरो कुनै रुचि दाउमा थिएन । रीताको इच्छा अनुसार बजार घुमे पनि मैले मेरा लागि आवश्यक केही व्यक्तिगत सामान किने ।

जयपुरमा होटल आरक्षण गर्न भने शुरूमा समस्या भएको थियो । कारण आफूसँग अन्तर्राष्ट्रीय स्तरमा चल्ने क्रेडिट कार्ड नभएर । दिल्ली पुगेपछि सिरिनको सहयोगमा ‘रोयल अम्पायर’ भन्ने होटल हाम्रो बसाइको टुङ्गो लाग्यो । सम्पर्क व्यक्ति थिईन-राखी जैन । उनले विमानस्थलमा ट्याक्सीको समेत प्रबन्ध मिलाइदिएकी थिइन। नभन्दै योजना मुताविक नै हाम्रो काम भयो । होटलमा पुग्दा राति अबेर भए पनि हाम्रो आतिथ्यको पर्खाइमा रहेकी राखीले भव्य स्वागत गरिन।विना कुनै व्यवधान हामी गन्तव्यमा पुगेका थियौँ। यात्रा गर्दा कि त बिहान सबेरैको कि त राति अबेरको रोज्ने। यस पटक यात्रामा यो सूत्र सिद्धान्त जस्तै भयो।नयाँ दिल्ली-जयपुरको हाम्रो टिकट नौ बजे रात्रिको थियो।यसैले दोस्रो दिन पनि दिनभरि दिल्ली घुम्ने चाहना पूरा भएको थियो। 

भोलिपल्ट बिहान कुनै कार्यक्रम थिएन । म बिहानको घुमाइ पनि गर्ने र एक अत्यावश्यक सामान किन्ने उद्देश्यले होटलवाट निस्किएँ । बिहान चाँडै भएकाले आक्कल झुक्कल बाहेक कुनै पसल खुलेका थिएनन् । लगभग २ घण्टाको समय व्यतीत गरेर होटल फर्किएँ । राखीले पुन: स्वागत गरी । विटोसा ग्लोबल कन्क्लेभ २०१८ मा सहभागी हुन आएका केही साथीहरुसँग भेट भयो । हामीले बिहानको नास्ता गर्दै गफ गर्‍यौँ ।

त्यस दिन दुईवटा मुख्य काम थिए- पहिलो बीआईटीको शाखा जयपुर क्याम्पसमा आयोजना गरिएको स्वागत कार्यक्रममा सहभागी हुने र दोस्रो कन्क्लेभको उदघाटन समारोहमा सरिक हुने । स्वागत कार्यक्रममा सामान्य सहभागिता थियो तर आतिथ्य भने भव्य । हामी केही बेर त्यहाँ अलमलियौँ । त्यसपछि लाग्यौँ-विरला अडिटोरियमतर्फ ।
मैले सन् १९८५ फेब्रुअरीदेखि १९८८ नोभेम्बरसम्म विरला इन्स्टिच्युट अफ टेक्नोलोजी मेसरा मा स्नातक तहको अध्ययन गर्ने अवसर पाएको थिएँ । त्यसवेला यो कलेज विहार प्रान्तमा थियो । अहिले झारखण्डमा छ । परिचय गर्ने क्रममा अधिकांशले मलाई सोध्छन्-तपाईंले कहाँबाट इन्जिनियरिङ पढ्नुभएको हो रे ?

“विरला इन्स्टिच्युट अफ टेक्नोलोजी ।”

“यो कहाँ पर्छ ?”

“ठाउँको नाम भन्न मिल्दैन ।”

प्रश्न सोध्नेहरु आश्चर्यमा पर्छन्- मेरो उत्तर सुनेर।अनि जब ठाउँको नाम ‘राँची’ भन्ने थाहा पाउँछन्- मरीमरी हाँस्छन्।

उदघाटन समारोहमा उपस्थित भएका बीआईटीका पूर्वविद्यार्थीहरू किसिम किसिमका भेटिए।कसैले म जन्मिनु अगावै आफ्नो पढाइ सकेका थिए । कोही भर्खरै स्नातक भएका ।

अमीर खानको चलचित्र ‘थ्रि ईडियट’ हेरेपछि र फेसबुकको उदय भएपछि सन २००८ देखि इन्जिनियरिङ पढ्दाका पुराना साथीहरुसँग पुनर्मिलन हुन थालेको थियो ।

यस पटकको जयपुर भेलामा मेरो एक ‘ईडियट’ मित्र चन्द्रशेखर पनि आउने पक्का भएको थियो । म हर्षित थिएँ । ऊ सँग भेट भएपछि रीताको परिचय गराएँ ।

“भाभीजी ये ना आप से बहुत डरता है ।”

बडो गम्भीर भावमा चन्द्रशेखरलाई रीतालाई यसो भन्यो । मैले उसलाई कहिल्यै पनि ’मेरी पत्नीसँग म डराउँछु’ भनेको जस्तो लाग्दैन।यो कथन शतप्रतिशत मनगढन्ते थियो । न ऊ सँग त्यस्तो धेरै भेट भएको होस।आजपर्यन्त मैले बुझेको छैन- उसले किन मलाई डरपोकको सूचिमा राख्यो ।

चन्द्रशेखरले अर्को एउटा घोषणा भने राम्रै गरिदियो ।

“भाभीजी आपको सच बताउँगा । ये ना पढाइ मे बहुत तेज था ।”

रीताले कसरी बुझिन कुन्नी ! तर चन्द्रशेखरका यी अभिव्यक्तिले हाम्रो आत्मीयता कति झाँगिएको रहेछ भन्ने देखायो ।

उदघाटन समारोहमा अर्को पनि एउटा रोचक प्रसंग सिर्जना भयो । ‘नेतृत्व कौशलका कडी’ शीर्षकमा एक जना अग्रज सहभागीले प्रस्तुति गरे ।

“कलेजमा हावाबाजी गर्न सक्नेको नेतृत्व कौशल जौडे हुन्छ ।”

‘हावाबाजी’ को सीधा अर्थ ‘चर्तिकला’ भन्ने हुन्छ । ‘पढ्ने’ बाहेकका अन्य उटपट्याङ काममा अगुवाइ गर्ने लोकप्रिय हुन्थ्यो । ईन्जिनियरिङको पढाइ चार बर्षको हुन्छ । यसैले चौथो बर्षमा अध्ययन गर्ने वा उत्तीर्ण हुन चार बर्षभन्दा बढी समय लगाउने लाई अरूले ‘बोस’ भन्नुपर्थ्यो । हावाबाजी गर्न सक्ने बोस भयो भने त त्यो कलेजको हिरो नै हुन्थ्यो ।          

मैले प्रस्तोतालाई एक प्रश्न सोधेँ । सोध्नुअघि आफ्नो परिचय दिएँ ।

एउटा मुख्य सत्र सकिएर चिया विश्रामको पालो भएको थियो । म उभिएतिर एउटा हँसिलो चेहरा भएको सहभागी आयो ।

“हेलो ! यू सेड यू आर फ्रम नेपाल राईट ?”

मैले स्वीकारोक्ति जनाएँ । साइत पारेर बोल्नु वा प्रश्न सोध्नुको नतीजा उत्कृष्ट निस्केको थियो । हामीले परिचय गर्‍यौँ । उनी मभन्दा केही वर्ष मात्रै पाको भएतापनि ‘फ्रस्ट एण्ड सुलिभान’ भन्ने विश्वव्यापी कम्पनीको कार्यकारी अध्यक्षको रुपमा काम गर्दा रहेछन् । उनीहरुको नेपालमा समेत शाखा कार्यालय रहेछ।मेरो एउटा मामुली प्रश्नका कारण यस्तो विशिष्ट व्यक्तिसँग भेट हुन पाउँदा म दङ्गदास भएँ । 

लगभग ४०० जना जतिको सहभागिता भएको त्यो भेलामा नचिताएका तर परिचित केही व्यक्तिहरुसँग भेट भयो । नेपालको संघीय सँसदका सदस्य रघुवीर महासेठ र नेपाल दूरसञ्चारका वरिष्ठ इन्जिनियर प्रमोद परमार परिवार सहितै सम्मेलनमा आएका रहेछन् । रात्रि खानाका लागि प्रमोद र रघुवीर दम्पतीद्वय तथा प्रमोद सुपुत्रद्वय र हामी गरी आठ जनाको एउटै टेबुलमा बसाइ भयो ।

मूल परिकार सेवन पछि रघुवीर-पत्नी जुली भाउजूलाई दाइले मिठाई ल्याइदिनुभयो । यस्तो देखेपछि नारी मनोविज्ञान रसाउन थालिहाल्छ । त्यसमा पनि श्रीमती र श्रीमानहरुको जमघटमा त मूल नै फुट्छ । उस्तै परे खहरेको जस्तो बाढी नै आउँछ ।

“सिक्नू हजुरले पनि श्रीमतीलाई माया कसरी गर्नुपर्छ भन्ने कुरा !”

“वहाँको बानी नै यस्तै हो । कहिलेकाहीँ त अति नै गर्नुहुन्छ । आफूले गर्नुपर्ने र गर्न सकिने यस्ता सामान्य काम पनि श्रीमानले मायाको नाममा गरिदिँदा हाम्रो क्षमता कसरी मौलाउँछ ?”

“लौ जा ! आज भने मजा आयो ।”

मैले मनमनै भनेँ र जुली भाउजूको सही थापेँ । आखिर बुढेसकाल लाग्दै गएपछि श्रीमानका सबै बानी ब्यहोरा कहाँ राम्रा लाग्छन् र !

रघुवीर दाइले नयाँ दिल्लीबाट गाडी नै लिएर आएका रहेछन् । उनका लागि यो सामान्य नै हुँदो हो । नेता न परे हामीलाई पनि जाऊँसम्म भनेनन् ।  

हामी होटेलमा फर्कंदा राति भैसकेको थियो । एक पटक त सामाजिक सञ्जालको दर्शन गर्ने सुर आयो । एउटा हातले पानीको जग र अर्कोले ल्यापटप भएको झोला समात्न पुगेँछु । देब्रे हातमा नियन्त्रण गर्नै नसकिने गरी झट्का लाग्यो ।

“मरेँ नि आमा !”

शब्द यिनै निस्किए । दुवै सामान हातवाट उछिट्टिए । मैले ‘तीन त्रिलोक र चौध भुवन’ एकै पटक देखेँ । थुचुक्क बसेँ । केही समय अघिदेखि ‘पाता फर्किने’ अर्थात ‘फ्रोजन सोल्डर’ को समस्याले ग्रसित भएको थिएँ । योग साधना पनि अनियमित भएको थियो । सूर्य नमस्कार वा हात माथि लाने व्यायाम गर्न सक्दिन थिएँ । दाहिनेको तुलनामा देब्रेको क्रियाशीलतामा भारी सीथिलता आएको थियो । यसरी झट्का लाग्दा दुखाइले भुतुक्कै पार्दथ्यो ।

“इन्जेक्सन हान्न नमान्ने । औषधि खान नमान्ने ।”

अहिले भने ‘श्रीमती मनोविज्ञान’ को प्रस्फुटन भयो । अधिकांश श्रीमतीहरु मौका पायो कि चौका हान्न सार्‍है सिपालु हुन्छन । यस विषयमा उनीहरुलाई कुनै शोध वा विद्यावारिधि गर्नु जरुरी हुँदैन।सरस्वती देवी एकाएक साक्षात हुन्छिन्।अचम्म लाग्छ।डिग्रीधारीहरु वा अनुसन्धानकर्तालाई यस्तो किन फुर्दैन ? म अनौठो मान्छु ।  

मुखले जे भने पनि मनमा भने उनलाई पक्कै पीर परेको थियो । एक छिन अघिसम्म हँसमुख भएको मान्छे एकाएक रुन्चे भएकोमा । कहाँ “लौ हनिमुन रिभिजिटेड’ भनेर जिस्क्याएका ! कहाँ ‘पातो फर्किएर इन्तु न चिन्तु’ को स्थितिमा पुगेको आफ्नो बूढो !      

सम्मेलनको दोस्रो दिनको छलफल खासगरी पूर्वविद्यार्थीहरुले बीआईटीको उत्थानमा कसरी योगदान गर्न सक्छन् भन्ने विषयमा केन्द्रित थियो । 

तेस्रो तथा अन्तिम दिनमा भने घुम्न जाने कार्यक्रम मात्र थियो । प्रमोद दाइको परिवार र हामी दुई घुम्न जाने टोलीमा मिसियौँ । बस बिहानको ७ बजे विरला अडिटोरियमबाट छुट्ने निधो भएको थियो । सूचना अनुरूप नै हामी पुग्यौँ । बस चढेर जानुपर्ने ठाउँ थियो- अमेर फोर्ट ।  

भारतमा पनि नेपालमा जस्तै राजा महाराजाहरुका पदचिन्हहरु यथेष्ट पाईन्छन् । अमेर फोर्ट जयपुरवाट ११ किलोमीटरको दूरीमा पहाडको टाकुरामा बनाइएको किल्ला रहेछ । पन्ध्रौ शताब्दीमा बनाइएको यो किल्ला अझै पनि ज्यूँ का त्यूँ अवस्थामा मर्मत संभार गरी राखिएको पाइयो । त्यसवेलाका राजा महाराजाहरुले आफ्नो राजगद्दीको रक्षार्थ नजिकैका बलिया राज्यहरुसँग कुटुम्बको नाता स्थापना गर्ने रणनीति अख्तियार गर्ने चलन रहेको हाम्रा पथप्रदर्शकले बताए । अमेर किल्ला हिन्दू राजाहरुले बनाएको भएतापनि आफ्ना राजकुमारीहरुलाई मुसलमान सम्राटहरु सँग विवाह गराएका वा मुसलमान राज्यका राजकुमारीहरु सँग उनीहरुले विवाह गरेका उदाहरणहरु पनि रहेछन् । अमेर फोर्टमा बसेर लामो राज्य संचालन गरेका एक राजाका एक दर्जन रानीहरु रहेछन् । उनीहरुका लागि राजाले एक दर्जन नै खोपी बनाएका रहेछन् । राजाको खोपी भने रानीहरुको भन्दा एक तला माथि रहेछ ।

“दरवारको संरचना यसरी निर्माण गरिएको थियो कि आज राजा कुन रानी सँग छन् भन्ने जानकारी अरू रानीहरुलाई हुँदैनथ्यो ।“

हाम्रा गाइडले बडो विनोदी भावमा यो वृत्तान्त कहे । मैले भने यो विषय कति जटिल होला भन्ने अनुमान गरेको थिइन । हुन पनि हो ‘अहिले यत्ति नै वेला मेरा पति मेरी सौतासँग पल्लो खोपीमा प्रेमालाप गरिरहेको छ’ भन्ने जानकारी पाएकी रानी कसरी पो निदाउन सक्थिन् होला र  !

बहुरानीसँग जोडिएको यो ऐतिहासिक प्रसंग सँग जोडिने एक सामाग्री मसँग ताजा थियो । दी इकोनोमिस्टको ‘बहुपत्नी किन’ शीर्षकको लेख । दक्षिण सुडानका पूर्व सैनिक प्रमुखका ११२ जना पत्नी भएको कुरा त्यसमा उल्लेख थियो । यो प्रथाका पक्षधरहरुले ‘यसवाट धेरै युवतीहरुलाई बूढीकन्या हुनवाट जोगाउन सकिन्छ’ भन्ने तर्क पेश गर्दा रहेछन् । अफ्रिकी देशमा चलिरहेका गृहयुद्ध र राजनैतिक अस्थिरताका कारकमध्ये ‘बहुस्त्री विवाह’ पनि एक हो रे ।  

नयाँ दिल्लीका लागि हाम्रो त्यसै दिन बेलुकीको उडान थियो । किल्ला घुमेर हामी दिवा खानाका लागि जयपुरको प्रसिद्ध भोजनगृहमा आयौँ । हामी बसेको होटलबाट राखीको फोन आयो । उनले होटलमा तिर्नुपर्ने रकम भुक्तानीका बारेमा सोधपुछ गरिन् । हामीले बिहानै सबै काम सकेका थियौँ । झोला झ्याम्टा भने होटलमा नै राखेका थियौँ । हामी निस्कँदा होटल आगन्तुक कक्षमा दुई जना युवकहरु थिए । 

दिवा खानापश्चात भ्रमण टोलीको चङ्गा उडाउने क्रियाकलापको अवलोकन गर्ने कार्यक्रम थियो। तर रीता र म सिधै होटल आयौँ । आगन्तुक कक्षमा तिनै युवकहरु थिए । उनीहरु न त मुस्कुराउँथे न त अभिवादन नै गर्थे । नेपालका नामी होटल व्यवसायी कर्ण शाक्यले भनेको सँझिन्छु ।

“एक पटक ग्राहक पाउनु कुनै अनौठो होइन तर उसलाई मोहित पारेर फेरि आउने गराउनु भनेको चानचुने कार्य होइन ।”

किन किन राखीको तुलनामा ती युवकहरुको व्यवहार मलाई रुखो लागेको थियो ।
मैले विमानस्थलको प्रतीक्षालयबाट धन्यवाद दिने उद्देश्यले राखीलाई फोन गरेँ ।

“आप जिस तरह मुस्कुराती हो उनको भी उसी तरह कुछ सिखाइये ।”

मैले रमाइलो पारामा राखीलाई यसो भने । रीताले हाम्रो संवाद सुनेकी थिईन् ।
नयाँ दिल्लीमा हामीलाई लिन सिरिन आएको थियो । उसको कोठा जाने क्रममा रीताले यो प्रसंग सिरिनलाई सुनाईन ।

“तेरा बाउलाई कुनै केटीसँग भेट हुनै हुँदैन, मस्का लगाइहाल्नुपर्छ । आजको कुरा सुनेको भए तँ चकित पर्थिस ।”

अब मेरो कुनै पनि स्पष्टीकरणले काम गर्नेवाला थिएन । म खाली अचानो भएर उनीहरुका आरोप र मेरा लागि जबरजस्ती बटारिएका कुरा सुन्न बाध्य थिएँ ।

“तपाईले महा भूल गर्नु भएकै हो।यदि यो वार्तालाप कार्यकक्षमा हुने हो भने र त्यो राखी कडा मिजासकी भएकी भए त्यसले तपाईंलाई यौन उत्पीडनको अभियोग लगाउन सक्थी ।‘तिमीले मुस्कुराएको कस्तो राम्रो’ भन्ने जस्ता अभिव्यक्ति व्यावसायिक कित्ता बाहिरका हुन । फेरी तपाई को हो जसले होटलका कर्मचारीको व्यवहारमा टीकाटिप्पणी गर्ने । होश गर्नु होस्, महाशय नत्र फस्नुहोला अनाहकमा ।”

उनीहरुको निचोड यहि थियो ।

मलाई भने त्यस्तो आकाश खस्ने केही गडबडी गरेको जस्तो लागेको थिएन । तर आफ्ना सबैभन्दा नजीकका हाड नाताका व्यक्तिहरूले नै टिप्पणी गरेपछि झसंग नहुने कुरो थिएन।

“आखिर ! शिवजीको गलामा पनि त सर्पको माला छ ।“

पहिलो मूलरूप हराएर फेरि लेखिएको दिनाङ्क श्रावण २६, २०७५
कोटेश्वर, काठमाडौं

No comments:

Post a Comment