Friday, July 16, 2010

समारोह सम्बोधन

ओसिन भाषा संस्थान स्थापनाको गौरवमय छ बर्ष पुगेको र हुराई प्रतिष्ठानको शुभारम्भको पुनित अवसरमा श्रावण ०१, २०६७ मा काठमान्डौमा आयोजित समारोहमा डा नवराज खतिवडाले दिएको मन्तव्य

समारोहकी सभाध्याक्षा श्री आकेमी होन्दा पोखरेलज्यू
समारोहका प्रमुख अतिथि श्री युजी कितागावाज्यू
समारोहका विशेष अतिथि पूर्व राजदुत डा विष्णुहरि नेपालज्यू
समारोहकी विशेष अतिथि जापानी राजदुतावासकी तृतिय सचिव श्री नास्तुको हासिमोतोज्यू
समारोहका विशेष अतिथि विश्व भाषा क्याम्पसका जापानी भाषा विभागका प्रमुख श्री कामिमुराज्यू
समारोहका अतिथि श्री ओमबहादुर खड्काज्यू
समारोहका अतिथि श्री गोविन्द धितालज्यू
ओसिन भाषा संस्थान र हुराई प्रतिष्ठानका कर्मचारी मित्रहरु
जापानमा केही समय विताई जीवनका नौला अनुभुति संगालेका तथा जापान जाने सोचका साथ यहा उपस्थित भएका भाई वहिनीहरु
तथा अन्य उपस्थित सम्पूर्ण महिला एवं सज्जनवृन्द !!
धेरै दिनको गर्मि र उकुसमुकस पछि आजभोलि हामीले वर्षाको अनुभुति गर्न पाएका छौ । वर्षाको या सिम सिमे पानीको कुरा गर्दा मलाई जापानको एउटा रोचक घटनाको संस्मरण हुन्छ । आजभन्दा दश वर्ष अघिको कुरा हो । त्यसवेला मेरी श्रीमति, मेरा दुई छोरा छोरी र म जापानको साईतामाको मिसातो शहरमा बस्दथ्यौ । रेलको स्टेशनवाट हाम्रो निवास २० मिनटको दुरीमा थियो । एक दिन स्टेशनवाट निवास जादै गर्दा एक्कासि पानी पर्न शुरु भयो । हामीले छाता वोकेका थिएनौ । हामी चारैजना सिम सिमे पानीमा भिज्दै छिटो छिटो हिड्न थाल्यौ । एकै छिन पछि एउटा मझौला आकारको ट्रक हाम्रो नजिकै आएर रोकियो । अचम्म ट्रकका चालकले हामी तिर केही भन्दै विभिन्न लम्बाईका चारवटा छाता तेर्स्याए । हामी अवाक भयौ । ती सह्रिदयी जापानी मित्रलाई हामी चिनेका थिएनौ । जापानी भाषा अलि अलि मात्र जान्ने भएकाले हामीले उनको गुन फर्काउने राम्रा शब्द पनि व्यक्त गर्न सकेनौ ।
सन्दर्भ दिने कुराको छ ।
हाम्रो एतिहासिक ग्रन्थ उपनिषद भन्छ ।
“श्रद्धेय दियम, अश्रद्धेय दियम, ह्रिय दियम, भिय दियम, श्रिय दियम, संविदा दियम”
अर्थात श्रद्धाले देउ, अश्रद्धा भए पनि देउ, लाजले देउ, भयले देउ, एश्वर्यले देउ अनि प्रेमपुर्वक देउ,
मेरो विश्लेषणमा तपाई जापानीजहरु दिने कुरामा अति नै अघि हुनु हुन्छ । यस अर्थमा जापान संग जोडिएका संस्थाहरु त्यो दिने अनुष्ठानमा अग्र पँक्तिमा पर्नु हुन्छ ।
आज यसरी यो गरिमामय सभामा अतिथिको रुपमा मलाई वोलाएर केही वोल्ने मौका दिनु भएकोमा म अत्यन्तै गौरवान्वित भएको छु । यस्तो पुनित अवसर दिनु भएकोमा म आयोजक वर्गलाई ह्रिदयदेखि नै कृतज्ञता अर्पण गर्न चाहान्छु ।
मैले टोकियो विश्वविद्यालयमा उत्तर विद्यावारिधि अनुसन्धान (Post-doctoral Research) का दुई वर्ष विताएको छु । यस्तै योकोहामा नजिक हायामामा अवस्थित जापानको शिक्षा मन्त्रालय अन्तर्गतको अनुसन्धान केन्द्र आईजिईयसमा एक बर्ष । यो तिन वर्षको अनुभवमा मैले आर्जन गरेका केही अनुभुतिहरु म यँहा पस्कने अनुमति चाहान्छु ।
दश वर्ष अघिकै जापान वसाईको अर्को सन्दर्भ हो यो । टोकियोको एउटा सुपरमार्केटमा घुम्दै गर्दा एक अपरिचित नेपाली मित्र फेला परे । नेपालीको नाता जोडियो । हामी नेपालीहरुको विशिष्ट पक्ष हो यो । हामी आफु आफुमा पराई देख्न सक्दैनौ । ति मित्र र मेरो भलाकुसारी शुरु भयो । उनि नेपाल सरकारले पठाएको एउटा तालिमवाट भागेर गैरकानुनी हिसाबमा ज्यालादारी काम गर्ने मजदुर भएका रहेछन् । तपाईले के पाउनुभयो आठ बर्षमा मैले सोधे । उनले के भने होला । तपाईहरु अनुमान गर्न सक्नु हुन्छ । हो उनले धनराशी नै भने । फेरी मैले अर्को प्रश्न राखे । तपाई तालिम सकेर नेपाल फर्केको भए के पाउनुहुन्थ्यो त । म फेरी यो सभामा प्रश्न राख्न चाहान्छु । ति मित्रले के जवाफ दिए होला भनेर । उनले भने ‘पारिवार संग बस्दाको आनन्द र सामाजिक प्रतिष्ठा” र थपे “वास्तवमा भन्ने हो भने वाटो विराएर जंगल पसी बर्षौ कन्दमुल खाएर बाँचेको मान्छेको जस्तो रुप भएको छ मेरो” ।
मेरो व्यक्तिगत दृष्टिकोणमा जापान जानु ठूलो कुरा होईन् । जापानी भाषा सिक्नु पनि ठूलो कुरा होईन् । महत्वपूर्ण कुरा तपाई जीवनमा के गर्न चाहानु हुन्छ भन्ने हो । लगभग बीस बर्ष अघि म उमेरको हिसाबमा तपाईहरुको स्थानमा थिँए । प्रश्न अवको बीस बर्ष पछि तपाईहरु कहा पुग्ने भन्ने हो ।
जापानजाने सोचमा हुनुहुन्छ भने त्यहाँ वाट के कोसेली लिएर फर्कने भन्ने कुरा पनि सोच्ने सल्लाहा म दिन्छु । तपाईको गाँउ, टोल र समाजका लागि जापानवाट ल्याउनु पर्ने अमुल्य निधिहरु थुप्रै छन् । त्यहाँका मानिसहरुको कर्म प्रतिको श्रद्धा, विज्ञान र प्रविधिको प्रयोगका नमुनाहरु, सकारात्मक सोचका डालीहरु , आफ्ना समिपमा रहेका व्यक्तिहरु प्रतिको श्रद्धा र सम्मान जापानवाट ल्याउने सूचि पर्ने मुख्य कोसेली यीनै हुन् । यस्तै प्राज्ञिक दक्षता, पेशागत शीप र अनुभव र योग्यताका प्रमाणपत्रहरु सूचिका थप बुँदाहरु हुन् ।
उपस्थित महिला तथा सज्जनवृन्द !
आजको मेरो यो सम्बोधनलाई मैले युवा पिढीकै वृति विकासको सेरोफेरोमा केन्द्रित गरेको छु । युवाहरुमा रहेको एउटा प्रमुख चुनौति स्वचालित घेराबन्दी हो । स्वचालित घेराबन्दी अर्थात locked in effect को एउटा उदाहरण म यस सभामा निवेदन गर्न चाहान्छु ।
आजभन्दा १४० वर्ष अघिको टाईपराईटरको आविस्कारको कुरा हो । हामी मध्ये केहीलाई त यसको अनुभव पक्कै होला । टाईपराईटर एउटा विजुली नचाहिने हातैले चलाउन मिल्ने यन्त्र हो र यसमा कम्प्युटरमा जस्तै कि बोर्ड हुन्छ । कि बोर्डमा औलाले थिचेपछि अक्षर कुदिएको एउटा सानो मुग्रो चल्छ । त्यसले रिबनमाथी अड्काईएको कागतमा धक्का दिन्छ र अक्षर छापिन्छ । बजारमा आएको नया यो मेशिनमा एउटा कमजोरी देखियो । टाईपिष्टहरु यति छरिता भएकी टाईप गर्दा अक्षरका मुग्राहरुको झडप हुन शुरु भयो । झडपले गर्दा मुग्राहरु सजिलै फिर्ता भएनन । लेखाईको गति मन्द भयो । समस्या सम्बन्धित ईन्जिनियर कहाँ आयो । ईन्जिनियरको निद्रामा विराम लाग्यो । उनी गहन अनुसन्धानमा लागे । उनले के पत्ता लगाए भने मान्छेका सबै औलाहरु उतिकै चलाख हुदैनन् र शब्दहरुमा पनि सबै अक्षरहरुको दोहोरिने क्रम एउटै हुदैन् । यो सिद्धान्तको सहारामा उनले QWERTY KEY BOARD को नमुना तयार गरे । QWERTY ढाँचामा चोर औला जस्ता फूर्तिला औलाहरुले कम प्रयोग हुने अक्षरहरु र कान्छी र माझी औला जस्ता तुलनात्मक हिसाबमा ढिलो चल्ने औलाहरुले बढि प्रयोग हुने अक्षरहरु जस्तै a, e, I थिच्ने प्रावधान मिलाईएको हुन्छ । यो सिर्जना पछि अघिको समस्या समाधान भयो । टाईपिस्टहरुले मुग्राको झडपको सामना गर्नु परेन् ।
नदिहरुमा धेरै पानी बग्यो । जमानाले पल्टा खायो । कम्प्युटरको आविस्कार भयो । त्यसलाई पनि कि बोर्ड चाहियो । स्मरण रहोस कम्प्युटर एउटा विद्युतिय उपकरण हो । यसमा मुग्राहरुको आवश्यकता पर्दैन् । औला जतिसुकै चाडो चलाए पनि केही फरक पर्दैन् । फेरी कम्प्युटरमा मुसो अर्थात माउस चलाउनु पर्छ तिनै दुई हातले । केरमेट गर्ने व्याक स्पेस कि छ जुन टाईपराईटरमा थिएन् । यति हुदाँ हुदै पनि तपाई म अनि वहा वहा अर्थात हामी सबै qwerty key board नै प्रयोग गर्छौ अर्थात हामी सबै प्रविधिको स्वचालित घेराबन्दी भित्र कैद छौ । यसको प्रतिक स्वरुप युवा जमात पनि लहै लहैको घेराबन्दीमा कैद भएको छ । विना तर्क भिडको आकार बढाउँछ । विना विचार र लक्ष्यका साथ जुलुसमा रमाउँछ ।
सवाल मुलबाटो हिड्ने सहजताको हो । म नेपालको दुरदराजको प्रतिनिधित्व गर्दछु । लेक बेसीको यात्राको जानकारी राख्छु । बेसी वट लेक जाने मुलवाटो हिड्ने भन्दा अलि बढि जोखिम मोलेर गोरेटो हिड्ने व्यक्ति गन्तव्यमा चाडो पुग्छ । मुलवाटो या गोरेटो हिड्नेको कार्य सूचिमा नयाँ वाटो पत्ता लगाउने गतिविधि पर्न सक्दैन् । जोखिम नमोली तपाई अरु भन्दा फरक हुन सक्नु हुन्न । पेन्सिल तिखार्दा शरिर नतासी नयाँ दस्तावेज सिर्जना गर्ने पेन्सिलको टुँडो निस्कदैन् । तपाई अरुको लहै लहैमा मात्र सिमित हुनु भयो भने अरुले गरेको जति पनि प्रगति गर्न नसक्ने संभावना प्रवल रहन्छ ।
तपाईहरुको यो यात्रामा साथ दिनकालागि समर्पित दुई वटा संस्था मध्ये ओसिन भाषा संस्थान स्थापनाको गौरवमय छ बर्ष पुगेको यस घडिमा म ओसिन भाषा संस्थाको उत्तरोत्तर प्रगति र यसकी छ वर्ष कान्छी वहिनी हुराई प्रतिष्ठानको दीर्घ जीवनको मंगलमय कामना गर्दछु । दिवंगत पर्शुराम पोखरेलको सपना साकार पार्न आफ्नो पृष्ठभूमिलाई समेत तिलान्जलि दिएर नेपालको असल बुहारीको रुपमा कर्मक्षेत्रमा कटिबद्ध आकेमी होन्दा पोखरेकल सामाको उज्जवल भविष्यको लागि ईश्वरसंग प्रार्थाना गर्दछु ।
र अन्त्यमा यहाँ उपस्थित सम्पूर्ण भाई बहिनीहरुको वृतिविकास यात्रामा अहिले सम्म नहिडिएको सर्वोत्कृष्ट पथ प्राप्त होस भन्दै मेरा यी दुई शब्दलाई विश्राम दिन चाहान्छु ।
…………………………………………अस्तु …………………………………..