Friday, October 23, 2020

जोगीको सेल्फी मोह

त्रिशूलीको भूगोल । जालपादेवीको सानिध्य । एक पटक भत्काएर पुनर्निर्माण गरिएको पृथ्वी राजाको शालिक । अपरान्हका सूर्यनारायण । वर्तमानको मेरो सेरोफेरो । 

 

म अथाह जलप्रवाह बोकेर अविरल बगेकी नदीमा परेको प्रकाश र पृष्ठभूमिमा देखिएको फाँट र पहाडको मनोरम दृश्य पान गर्न थालेँ । मोबाइल निकालेर तस्बिर खिच्नै लागेको थिएँ । मेसेज आएको आवाज आयो । तस्बिर खिच्ने काम छोडेर म मेसेज पढ्न थालेँ ।

 

के को फोटो खिच्न लाग्नु भो ?

 

कसैले मेरो ध्यानाकर्षण गर्‍यो । आवाज आएतिर हेरेँ । भगवान् शिवकै साक्षात्रूप । दायाँ हातमा तामाको सानो हत्तर,बायाँमा सर्प जस्तै देखिने लौरो, गेरु वस्त्र, रुद्राक्षको मालाले बाँधिएको नाडी, र निधारमा खरानीको पोतो । घाँटीमा नागको माला भएको भए महादेवसँग भेट भएको भन्न मिल्ने । एकाएक पदार्पण भएका बाबा देखेर म अचम्म परेँ ।

 

एक छिन है, बाबाजी ।

 

उनीसँग वार्तालाप गर्न इच्छा भएको सङ्केत दिएर म हतार हतार मेसेजको जवाफ दिन लागेँ । बाबा उभिएर मेरो क्रियाकलाप नियाल्न थाले । 

 

ए बाबाजी ! कहाँ हो नि घर ?’

 

मेसेजको चटारोले उनको प्रश्न मैले बिर्सिएछु । सम्भवत: पेशा या व्यवसायको हिसाबमा उनको लागि मेरो यो प्रश्न सही थिएन । किनभने जोगीको अरुको जस्तो स्थायी कित्ता हुँदैन । बास हुन्छ तर घर हुँदैन । जहाँ गयो त्यहीँ घर । अहिले त्रिशूलीकिनारमा हो ।

 

नभन्दै जवाफ त्यस्तै आयो । लोकको भनाइ चरितार्थ भयो । उठ् जोगी फड्कार् छाला, जहाँ जाला उहीँ खाला ।

 

जन्मेको ठाउँ त होलानी ?’

 

मैले मेरो प्रश्न सच्याउने जमर्को गरेँ । जोगी पनि मान्छे हो । यसकारण मेरो मान्यता हो मान्छे भए पछि घर हुन्छ, घर भए पछि मान्छे हुन्छ । 

 

बारा हो ।

के थरी हुनु भयो ?’

 

उनको हाउभाउले सङ्केत गर्‍यो । साधु महाराज फेरि अर्को गलत प्रश्नको सिकार भएका छन् । म भने अन्जानमा नै जोगी र अन्य मान्छेका समान र असमान विशेषता खोजिरहेको थिएँ । एक मनले भन्यो अरू सामान्य जनलाई सोध्ने मेरा यी खिया लागेका प्रश्नले बाबालाई जिस्क्याइ रहेकाछन् । बाबा भने आधुनिक लुगा लगाएक, सन्यास धर्मको भाषा नबुझ्ने यो हरिलठ्ठक भोगी मनुवाको प्रश्नमा भित्रभित्रै चक्कराइरहेका थिए कि ! बाहिर भने उनी विचलित नभएको जस्तो गरिरहेका थिए । 

 

जोगीको कुनै थर हुँदैन ।

 

आफन्त होलान् । जन्मदिने बा आमा होलान् । मान्छे भए पछि किन हुँदैन नि थर ?’

 

म प्रश्नको पृष्ठभूमि अझ मजबुत पार्छु । उनी बेघरबारका जोगी तर म घरजम भएको मान्छे । उनी र ममा के फरक छ ? आज म यो भिन्नता बुझ्दै थिएँ । एकातिर नाम, थर, पद, पैसा र पहिचानको गह्रौँ भारी बोकेर हिँड्ने तथाकथित कर्मयोगी । अर्कोतिर वैराग्यको बिरासतमा डुबेका सन्यासी ।

 

कपास जस्तो हलुका भएर हिँडेका छन् । मेरो मनमा शङ्का पनि पलाउँछ, यी साधु महाराज पनि तथाकथित हुन सक्छन् ? किन नसक्नु ? आखिर अहिलेको जमानामा को पो पूर्ण पात्र छ र ? कसले पो स्वधर्म बोकेर हिँड्छ ? कसले पो आदर्शको दोसल्ला ओडेर हिँड्छ ? 

 

मेरो एक आफन्त तपाइँ नै हो । बितिसकेका बा आमाको के कुरा भयो र ? भन्नुहोस् न, तस्बिर केको खिच्न लाग्नु भो ?’

 

यसो भन्दै उनी मुस्कुराए । हाम्रो सवाल जवाफ सुरताल नमिलेको सङ्गीत जस्तो भएको थियो । उनले तस्बिरको कुरा निकालेर वार्तालापको सुरताल मिलाउने प्रयास गरे ।

 

मेरा अनुचित प्रश्नले हैरान भएका बाबाले आफ्नो उत्तरमा गजबको विराम लगाए । उनी मेरो तस्बिरको हुलिया जान्न चाहन्थे । मेरा आँखाले खोजेको प्रकृतिको खजानाको बारेमा जान्न चाहन्थे ।

तस्बिर खिच्न लागेको मान्छेलाई सोध्ने यो प्रश्न पनि अनौठो नै होला । आखिर उसले खिच्नलागेको दृश्यतिर हेरे त भइ गयो नि । किन पो सोधिरहनु ? केको तस्बिर खिच्न लाग्नु भो ? क्यामेरा फर्केको दृश्यतिर हेरेर आफैँ अनुमान गरे त भइ गयो नि । उनको चासो मलाई नौलो लाग्यो । 

 

यो फाँटमा लागेको घाम र यो भीमकाय सिन्धुको ।

 

सवाल जवाफमा मैले सिन्धुशब्दको पहिलो तर नौलो प्रयोग गरेँ । आखिर जवाफ अर्काले बुझ्नु पर्छ भन्ने के छ र ? त्यो पनि समाजको पल्लो कित्तामा चर्ने यी डामेर छोडेको साँढेजस्ता फिरन्ते मनुवासँग ।  

 

कति पर्छ यो मोबाइलको ?’

 

सुनेको थिएँ, अर्थशास्त्रको शब्दकोशमा जोगी शब्दको प्रविष्टि हुँदैन । किन भने अरूको जस्तो न त उसको आयको हिसाब हुन्छ न त व्ययको । न त कुनै बैङ्कमा यिनको खाता हुँदो हो । न कुनै एटिएम कार्ड, न त कुनै कारोबार । पासपोर्ट, नागरिकता र लालपुर्जा त झन् दूरका कुरा भए ।

 

ऋण तिर्न नसके पछि साहुकहाँ पुगेर कुनै आसामीले भन्छ-

 

व्यवहार बिग्रेर मेरो जोगीको हालत भयो । म्याद अरू केही समयका लागि थपि पाऊँ ।

 

साहु जोगीभन्ने शब्द सुन्दा सायद पग्लिन सक्छ । यसरी जोगी हुनुभनेको अर्थशास्त्रको कित्ता बाहिर पुग्नु हो भन्ने निचोड निस्कन्छ भन्ने मलाई लाग्छ । 

 

कवि शिरोमणि लेखनाथ पौड्यालले मुसा, मानिस र मौरीमा गजबको समानता भेटे । यी तिनै प्राणी आफूलाई चाहिने भन्दा बढी सम्पत्ति सञ्चय गर्छन् । अनि जीवनभरि चिन्ता र पीडा बोकेर हिँड्छन् । विधाताले प्राणी जगत्लाई दिएको प्रेस्कृप्सन पनि गजबको छ । आखिर जोगी पनि त प्रेसक्रिप्सनको एउटा अपवाद पात्र न हो ।

 

केही वर्षअघि मेरी पत्नीले शनि ग्रहको स्वस्ति शान्ती गर्न जप गराएकी थिइन । जपकार्य पश्चात् केही तिल, फलामका हतियार र कालो कपडा लगायतका काला रङ भएका सामग्री दान गर्नु पर्ने भयो । कारणवश हामी पशुपतिनाथ मन्दिर जान सकेनौँ ।  यसैले कोटेश्वर महादेवस्थान परिसरमा सिदा दान गर्न गयौँ । शनिको नाम सुन्ना साथ पुरेतहरु डराए । कसैले पनि सिदा लिन मानेनन् ।

 

यस्तो दान त जोगीले मात्र लिन्छ ।

 

हाम्रो समस्या सुनेका कुनै शुभचिन्तकले सुनाए ।

 

नभन्दै एक जोगीले ती सामग्री सहर्ष सवीकारे । त्यसदिन मलाई लाग्यो, जोगी भनेको यस्तो पात्र हो जसले अरूले नलिने सिदा पनि स्वीकार गर्न सक्छ । सम्भवत: यो पात्र प्रशान्त महासागरको बर्मुडा त्रिभुज जस्तै हो जहाँ जस्तो जहाज वा भौतिक वस्तु पनि अलप हुन सक्छ । उसलाई कालोको डर हुँदैन । अन्धकारको भय हुँदैन । मसानघाटको मलिनता उसको शालीनता हुन्छ । अरूको कालोजोगीको लागि रङ्गिनवस्तु हो । ऊ सँग त्यो ग्रहण गर्ने अतुलनीय सामर्थ्य छ जो अरू सामान्यको वश भन्दा बाहिर छ ।   

 

चरा, जोगी र अजिङ्गरको आहारा दैवले पुर्‍याउँछन् रे । यस अर्थमा जोगी भनेको मान्छे जातको समूहमा हाँसको बिचमा बकुल्लोहो । बहस गर्दै गए निचोड निस्कन सक्छ । सायद जोगी नै सबैभन्दा सुखी मान्छे हो । किनभने ऊ शोक न सुर्ता भोक न भकारी उखान चरितार्थ हुने कित्ताको केन्द्र भागमा हुन्छ । कालो दान पनि सहर्ष स्वीकार गर्छ । जहाँ गए पनि घुलमिल हुन्छ । एक्लो जीवन बाँच्छ । जगेर्ना गर्न जान्दैन, भोकै पनि मर्दैन । आधुनिक अनुसन्धान विज्ञानका विधि लगाएर कसैले शोध गरे पक्कै मेरो अड्कलको पुष्ट्याइँ हुने थियो होला ।

 

मेरो सामसुङ मोबाइलको मूल्य प्रसङ्गमा फर्कन्छु । बाबा कौतुहल बोकेर मेरो जवाफ सुन्न आतुर देखिन्छन् ।

 

पच्चिस हजार ।

 

बाफरे ! पच्चिस हजार पर्छ ।

 

एक सामान्य जोगीका लागि पच्चिस हजार भनेको मेरा लागि पच्चिस करोड जस्तै होला । यसैले उनको आश्चर्य भाव उजागर हुनु स्वभाविक होला । मैले केही प्रत्युत्तर दिनु जरुरी थियो । उनले हातमा बोकेको तामाको भाँडोमा ध्यान गयो । त्यसैलाई देखाउँदै मैले भनेँ-

 

यसको दाम कति पर्छ नि ? हेर्दा तामाको जस्तो देखिन्छ ।

 

पच्चिस सय ।

 

पच्चिस सय ! के भन्छन् नि यसलाई ?’

 

मैले पनि मेरो पहिलो अभिव्यक्ति विस्मयादिबोधक बनाएँ । पक्कै पनि अर्थशास्त्रको कित्ता बाहिरको अवित्तीयपात्रले बोकेको वस्तुको त्यत्रो मूल्य हुनु मेरा लागि पनि त अनौठो नै हो ।

 

अम्खोरा ।

 

अम्खोरा त सानो पो हुन्छ । हुन ता ठुलो अम्खोरा या सानो गाग्रो जे भने पनि भयो ।

 

मैले कुराको किनारा लगाएँ ।

 

आउनुहोस् बाबाजी । एउटा फोटो खिचौँ । आखिर सेल्फीको जमाना छ ।

 

उनले मेरो प्रस्ताव सहर्ष स्वीकार गरे । मैले मेरो र उनको सेल्फी खिचेँ । मोबाइलमा भर्खर खिचेको हाम्रो तस्बिर उनलाई देखाइदिएँ । यो रोचक तस्बिरका पहिला दुई दर्शक नै हामी दुई थियौँ । तस्बिरमा दाहिनेतिर म थिएँ, देब्रेतिर उनी । उनको कद मेरो भन्दा होचो । मेरो सर्ट र उनको गेरु वस्त्रको समान रातो रङले तस्बिरमा मूल्य थपेको थियो ।

 

खै तपाइँको मोबाइल दिनु त । म पनि एउटा सेल्फी खिचौँ ।

 

यदि ज्यान भएको भए साधु महाराजको अनपेक्षित उदघोषले मेरो मोबाइलको सातो जान्थ्यो होला । मेरो निदाएको छैटौ इन्द्रियले एकाएक सतर्क भएको सूचना दियो । बाबाले लक्ष्मण रेखा काटेको अनुभूति मलाई भयो । उनी अब भने अर्थशास्त्रको खलोमा प्रवेश गर्ने जमर्को गर्दै थिए ।  उनको हातमा मेरो मोबाइल दिनु ? मैले उनको इच्छाको आशय बुझ्न सकिन । के उनी अर्थशास्त्रको कित्तामा या फोटोग्राफीको कित्तामा रमाउन चाहन्छन्? मैले उनको हत्तर या सर्प-लठ्ठी हातमा लिए बराबर हुन्छ ।

 

उनका यी सामग्रीको न मलाई कुनै औचित्य हुन्थ्यो । न म चाहन्थेँ । अहिलेको जमानाको मेरो प्राण प्रिय वस्तुको उनलाई कुनै औचित्य होस् । के ठेगान उनी पनि साँच्चिकै तथाकथितको कित्तामा रहेछन् भने । मेरा मनमा एक निमेषमा यी शङ्का र उपशङ्काका बादल मडारिए ।

 

सच्चा जोगीको बारेमा एक मित्रले भनेको कथा स्मरण भयो । कुनै सहरमा एक नाम चलेकी वेश्या थिइन । उनको कर्मथलो नजिक एक युवा जोगीले कुटी बनाए । जोगीको जिउडाल र व्यक्तित्व राजकुमारको जस्तो थियो । युवतीले ती युवा जोगीलाई आफूले प्रदान गर्ने यौन सुखको आनन्द लिन निम्तो दिइन ।

 

निमन्त्रणाको लागि धन्यवाद, देवीजी ! तर म त्यो स्वीकार गर्न असमर्थ छु ।

 

तिमी साँच्चि नै मेरो निम्तो अस्वीकार गर्न सक्छौ त ?’

 

युवतीको आह्वानले युवकको मनमा आवेगको आगो बाल्न सकेन । आखिर ओसिएको बारुदले आगो बल्दैन, सलाईको खोलको मसला जतिसुकै तेज किन नहोस् । फुल जतिसुकैसुन्दर भए पनि भमरामा चाह नभए ती दुईको मिलन हुँदैन । आफ्नो पुरुषत्व दाउमा पार्न खोज्ने युवतीलाई युवा जोगीले यसरी जवाफ दिए ।

 

म कुनै दिन यो प्रश्नको उत्तर तिमीलाई अवश्य दिनेछु ।

 

समयको चक्र धेरै घुम्यो । युवा वृद्ध भए । उनलाई जीवनको अन्तिम अवस्थामा पुगेको अनुभूति भयो । आफ्ना एक शिष्यलाई आफ्नो पुरुषत्वलाई चुनौती दिने वेश्या खोज्न पठाए । तिनी शहरकै एक बृद्धाश्रममा भेटिइन् । शिष्यले उनलाई जोगीको आश्रममा लिएर आए ।

 

देवीजी ! मैले सकेँ ।

 

बृद्ध जोगीले आफ्नो जीवनकालकै सबैभन्दा कठिन प्रश्नको सटिक तर छोटो उत्तर दिए ।

 

म फेरि त्रिशूलीकिनारमा फर्किएँ । मेरो मोबाइलमा आँखा लगाएका जोगीतर्फ मेरो ध्यान गयो ।  उनले दाम पनि सोधेका थिए । उनले न त मेरो परिचय मागे । न त म त्यहाँ जानुको उद्देश्य नै सोधे । यसैले मैले आफूले आफूलाई प्रश्नमाथि प्रश्न गरेँ ।

 

जोगीको सेल्फी मोह किन ?’   

 

कहीँ मेरो प्रिय मोबाइल हातमा पारेर सुइँकुच्चा ठोक्ने दाउ त होइन ?’

 

त्यसो भयो भने त्यो निर्जन ठाँउमा म के गर्न सक्थेँ । अर्थशास्त्र र पुर्जाप्रमाणबिहीन अपरिचित व्यक्तिसँगको व्यवहार मेरो नदुखेको कपाल बाँध्ने डोरीको रूपमा विकसित हुन सक्थ्यो ।       

 

त्यो चाहिँ नगरौँ होला ।

 

मैले निर्णय सुनाएँ । उनको किन ?’ भन्ने प्रश्न आउनु अघि म उनीसँग बिदा भएँ । किनभने सबै निर्णयको कारण सार्वजनिक गर्नु पनि त जरुरी छैन ।

 

अहिलेसम्म पनि एउटा अन्योल भने यथावत् छ । त्रिशूली किनारका जोगीलाई मोबाइल छुन नदिएर के मैले ठिक गरेँ कि बेठीक ?

:५२ बजे

पौष ०२, २०७३

बेत्रावती, नुवाकोट

Thursday, October 22, 2020

पानी संसारको बाघ

नेपालबाट पूर्व उड्दा देब्रेतिरको झ्यालको सिट र पश्चिम उड्दा दाहिनेतिरको झ्यालको सिट रोज्ने मेरो बानी यसपटक पनि कायम रह्यो । मेरो टिकट मिलाउने ट्राभल एजेन्सीलाई यो कुरा स्पष्ट भनेको थिएँ । टिकट जाँच कक्षमा तिनजनाको कागजात एकैसाथ बुझाउनुपरेकोले मेरो माग जोखिममा परेको आभास मलाई भएको थियो । यसैले सामान जाँच गराउन अगुवाइ गरिरहेकी सहयात्री शिलालाई सिट रोजाइका विकल्प पनि उल्लेख गर्न लगाएँ ।

 

तिनै जनालाई देब्रेतिर झ्यालका अलगअलग सिट ।

 

नभए,

 

एक जनालाई देब्रेझ्यालतिर पारेर तीनै जनालाई एउटै लहरमा 

 

नभए,

 

जता भए पनि तीनै जनालाई एउटै लहरमा ।'

 

दुर्भाग्यवश नतिजा नचिताएको चैँ आयो । विकल्पहरूले काम गरेनन् । शिला र म दाहिने तिरको लहरमा पर्‍यौँ । सूर्यमान सर भने हाम्रो भन्दा पछाडिको सिटमा ।

 

जहाजमा कुनै उल्लेखनीय प्रसङ्ग सिर्जना भएन । मैले एउटा पुस्तक पढेर अधिकांश समय बिताएँ । हाम्रो गन्तव्य थियो-बङ्गालादेशको दक्षिण समुद्री किनार नजिकमा अवस्थित व्यापारिक केन्द्रको खुलना इन्जिनियरिङ तथा प्रविधि विश्वविद्यालय (कुयेट) । त्यहाँ आयोजना गरिएको फोहोर मैला व्यवस्थापन विषयक एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन हामी छ जना नेपालीको समूह जाँदै थियो । समूहको केन्द्रमा थियो सुनजोडी । वातावरण व्यवस्थापन र पूर्वाधार विकासमा जुग बिताएका पूर्वमन्त्री एवं अभियन्ता गणेश शाहले जुराइ दिएको नाम होसुन जोडी । यसपटकको यात्रामा मह जोडीको भाइ सुनजोडीमा हिरा जडिएर दि सुनभएको थियो । किनभने सूर्यमान शाक्य, म र डा. दिनेशराज मानन्धर एकै साथ थियौँ केही दिनको हाम्रो बाससमेत एकै थलोमा हुने वाला थियो । यो यात्रामा दिनेशजीको साथ दिनु भएको थियो आरती भाउजूले । अर्का सहभागी डा. अनिश घिमिरेको भने दिल्ली हुँदै उडान भएकाले उनीसँग ढाकामा भेट गर्ने सल्लाह थियो ।

 

हाम्रो अन अराइभल भिसा लिने योजना थियो । सूर्यमान सरको रणनीति मुताबिक मैले एक सामूहिक निमन्त्रणा पत्र पनि मगाएको थिएँ । वास्तवमै यसले नै हाम्रो काम धेरै सहज बनाएको थियो । अध्यागमनमा भिसा दिन पाँचजना प्रहरी अधिकृतले काम गरिरहेका थिए । हामी पाँचजना नेपालीबाहेक त्यहाँ अरू विदेशी पनि थिए । दाहिनेतिरका अधिकृतले एक गोरो वर्णका विदेशीलाई र्‍याखर्‍याख्ती पारेको सुनियो ।

 

हृवाइ आर यु कमिङ टु बङ्गालादेश ?’

 

टु मिट माइ फ्रेन्ड ।

 

विदेशीले उनको साथीको नाम ठेगाना बताए । ती एक बङ्गाली महिला रहिछिन् ।

 

इज सि युर फ्रेन्ड अर गर्लफ्रेन्ड ?’

 

केरकार गरिरहेका अधिकृतको प्रश्न सुनेर विचरा विदेशीले रातो मुख बनाए । हामीले मुखामुख गर्‍यौँ । सूर्यमान सरले मौकाको फाइदा उठाउनुभयो । वहाँले दिनेशजीको कानमा खुसक्क भन्नुभयो ।

 

तयार हुनुहोस् । अब तपाईंलाई पनि आरती भाउजुतपाईंकै श्रीमती हो भन्ने प्रमाण देखाऊ भन्न सक्छन् ।

 

यो प्रसङ्गमा हामी पछिसम्म हाँस्यौँ । हुर्मत काढिएका विदेशीको ठाउँबाट हेर्दा व्यक्तिगत कित्ताका प्रश्न सोध्ने ती बङ्गाली अधिकृतले लक्ष्मणरेखा काटेकै ठहरियो । बङ्लादेशको अध्यागमनको काम प्रहरीमा रहेछ । अन्य कतिपय मुलुकमा पनि यस्तै छ । नयाँदिल्लीमा पनि अग्रिम भुक्तानी ट्याक्सी सेवा सञ्चालनको काम प्रहरीले गर्छ । नेपालको अध्यागमन विभाग गृह मन्त्रालयअन्तर्गत छ । लोकसेवा पास गरेका कर्मचारी त्यहाँ काम गर्छन् । राज्य सञ्चालनको यो असल पक्ष हो ।

 

सामान बुझेपछि अनिशसँग भेट भयो । दिनेशजी र आरती भाउजूको भोलिपल्टको आन्तरिक उडानको टिकट भएकोले वहाँहरू होटलतिर लाग्नुभयो । बाँकी हामी चारजना रात्रिबसबाट खुलना जाने तय थियो । विमानस्थलमा हामीलाई लिन आएका बङ्गाली सहयोगीको मदतले खुलना जाने बस चढ्ने ठाउँमा गयौँ । बस यातायातको कार्यालयमा सामान राखेर चियाको खोजीमा निस्कियौँ ।

 

बङ्गलादेशमा नेपालमा जस्तो दुग्ध पदार्थ सर्वसुलभ छैन । चिया कफीका लागि प्रायः आयातित पाउडर दुध प्रयोग हुन्छ भन्ने जानकारी मैले विगतका भ्रमणमा पाएको थिएँ । नेपालमा पाइने गोठको ताजा दुधले बनेको चिया पिउने तलतल पाउडर दुधले मेटिने कुरो थिएन ।

 

चिया बेचिरहेको पसलमा मैले सोधेँ ।

 

गोरु दुध चिया आसे ?’

 

डेनिस अर्थात् पाउडरको मात्र रहेछ । अरू एक दुईवटा पसल चहारेपछि गोरु दुध अर्थात् हाम्रो भाषामा गाईको दुध पाइयो । गाईलाई गोरु भन्ने ठाउँमा गोरुलाई चैँ केभन्दा हुन् भन्ने कौतुहल जाग्नु स्वाभाविक भयो । पछि थाहा भयो, साँढेभन्दा रहेछन् ।

 

अर्को दिन बिहान सात बजे कुयेट नजिकैको फूलबारी चोकमा ओर्लियौँ । रात्रिबसको थकाइ । गन्तव्यको खानपिनको व्यवस्थापनको शून्य जानकारी । हामी ओर्लेको चोकको छेउछाउमा लोभलाग्दा चिया पसल । यी कारण नै पर्याप्त थिएएक एक कप गोरु दुधको चिया पिउन । हामीले चिया र गफ मजैले मिसायौँ । हाम्रो आतिथ्यका लागि सम्मेलनका सचिव डा. इस्लामले कुयेटको अतिथि आवास गृहका सम्पर्क अधिकृत राजीवलाई खटाएका थिए । उनी फोन गर्नासाथ आइपुगे । हामी भुइँ रिक्सा चढेर अतिथि गृहतिर पुग्यौँ ।

 

विश्वविद्यालयको नयाँ अतिथि गृहमा हामी सबै नेपाली सहभागीको गाँस र बास दुवैको व्यवस्था गरिएको रहेछ । हाम्रो सम्मेलन भोलिपल्ट बिहान मात्र सुरु हुने भएकोले त्यस दिन हामी फुर्सदिला थियौँ । अपराह्न कुयेटका उपकुलपति तथा सम्मेलन आयोजक समितिका अध्यक्ष प्राध्यापक आलमगिरसँग भेट भयो ।

 

तपाइँहरूलाई भिसा लिन त समस्या परेन ?’

 

वहाँले पहिलो प्रश्न गर्नुभयो । हामीले सँगै भिसा लिएका एक विदेशीलाई गरिएको केरकार सम्झियौँ । सम्मेलनमा आउने तय भएका भारतका प्राध्यापकलाई कलकत्तामा रहेको बङ्गालादेशको राजदूतावासले भिसा नदिएको रहेछ । सम्भवत संसारभरि नै प्राज्ञिक प्रयोजनका लागि तुलनात्मकरूपमा सहजै भिसा पाइन्छ । मलाई एकपटक फेरि नेपालको प्रतिनिधित्व गरेर नेपाली राहदानीले विदेश घुम्दा पाइने प्रतिष्ठा र मानमा गर्व गर्न मन लाग्यो । अफ्सोच हामीले यसको भर्‍याङ लगाएर अहिलेसम्म कुनै उचाइमा पुग्ने काम गर्न सकेनौँ ।

 

दुईदिने सम्मेलनमा पनि हामी सबै नेपाली सहभागीले उच्चस्तरको सम्मान पायौँ । मैले त प्लेनरी सत्रकै अध्यक्षता गरेँ । सूर्यमान सर र दिनेशजीले पनि एक एक प्राविधिक सत्रको अध्यक्षता गर्नुभयो । अनिश र शिलाले कार्यपत्र प्रस्तुत गरे ।

 

हामी पुगेकै दिन कुयेटको मूलद्वार बाहिरको सानो बजार केही बेर घुम्यौँ । त्यहाँ सडकमा हिँड्ने महिला चार किसिमका पहिरनमा सजिएका पाइए । पूरै शरीर ढाक्ने कालो वा रङ्गीन बुर्का, सलवार कुर्ता र साडी चोलो । यीमध्ये कालो बुर्काले मेरो ध्यानाकर्षण गर्‍यो । स्त्रीले लगाउने यो लुगा सबैभन्दा रूढीवादी होला । यसर्थ मेरो मनमा कालो बुर्कासम्बन्धी एक प्रश्न पहाड बनेर उभिएको थियो ।

 

आखिर किन लगाउँछन् कालो रङको बुर्का ?

 

आज म यो प्रश्नको उत्तर सकेसम्म कालै बुर्का लगाएकी युवतीलाई सोध्छु भन्ने निर्णय लिएँ । यो काम सजिलो थिएन । दिवा भोजको क्रममा मेरो टेबलको छेउमा एक हुल युवा बसे । त्यस समूहमा एक युवतीले कालो बुर्का लगाएकी थिइन । सँयोगवश, उनको अनुहार भने छोपिएको थिएन । त्यही टेबलमा बसेकी अर्कीले सलवारकुर्ता लगाएकी थिइन । साथमा केही केटाहरू थिए । मेरो काम अलि सहज भएको अनुभूति भयो । म छेउमा गएँ । उनीहरूले मलाई चिनिसकेका थिए । स्वागत गरे ।

 

मसँग एउटा प्रश्न छ । सम्बन्धित व्यक्तिले नै उत्तर दिए राम्रो ।

 

उनीहरूले स्वीकृति दिए ।

 

हाम्रो नेपालमा पनि अहिले धेरै युवायुवती कालो रङको पहिरन लगाउन थालेका छन् तर उनीहरूको उद्देश्य फेसनसँग जोडिएको छ । यहाँ बङ्गलादेशमा पनि महिलाहरूले शरीरै ढाक्ने गरी कालो लगाएको देखेँ । यसको कारण के होला ?’

 

मैले पृष्ठभूमिमा नेपालको सन्दर्भ जोडेकोले प्रश्न अप्रिय भएन होला भन्ने मेरो अनुमान थियो । उनीहरूको अनुहारको गाम्भीर्यमा कुनै परिवर्तन देखिएन । मतलब मेरो प्रश्नले सहज गोल गरेको थियो ।

 

ध्यान विकर्षण गर्न ।

 

मेरो मस्तिष्क चकरायो । ध्यान आकर्षण गर्नु भनेको प्राकृतिक हो । भवँराको ध्यान आकर्षण गर्नु नपर्ने भए फूल रंगीन हुने थिएन । इन्द्रेणीमा पनि कालो रङ हुन्थ्यो होला । आकर्षणले आवेग पैदा गर्छ । आवेगले प्रेम । संसार चल्ने प्रेमले नै हो तर यो कालो संसारको बुझाइ मेरोभन्दा फरक निक्ल्यो । केही दिनअघि कम्बोडियाको भ्रमणमा नोम पेन्ह विमानस्थल पार्किङमा हेलमेट लगाएकी एक युवतीको पाइन्टले ध्यानाकर्षण गरेको थियो । उनले जिन्स पाइन्ट र पहेँलो ज्वारीकोट लगाएकी थिइन । ट्याक्सीको झ्यालबाट उनको पाइन्टमा लेखिएका अक्षर स्पष्ट देखिन्थे । मैले फोटो पनि खिच्न भ्याएँ । त्यसमा लेखिएको थियोसेक्सी गर्ल । कस्तो अचम्म ! एकातिर पहिरनको यो उदारवाद ! अर्कोतिर बुर्काको कालो संसार !

 

दुई दिनको सम्मेलन सकेर सुन जोडी इटालियन र जर्मन सहभागीहरूसँग मिसिएर सुन्दरवनको यात्रामा निक्लियो । लगभग दस हजार वर्ग किलोमिटरमा फैलिएको यो संरक्षित क्षेत्र भारत र बङ्गलादेश दुवै तिरमा फैलिँदो रहेछ । युनेस्कोको विश्व सम्पदासूचीमा राखिएको सुन्दरवन वास्तवमा टापुहरूको समूह रहेछ । बाघ पाइने भएको हुनाले यो विश्वमै नामी पर्यटकीय स्थल रहेछ । दुई रात पानी संसारमा बिताउने हाम्रो योजना थियो ।

 

जलयात्राको कल्पनाले होला मलाई साढे तिन बजे नै निद्राले छोड्यो । हाम्रो यात्राको चाँजोपाँजो मिलाउने सहयोगी राजीव नै परेछन् । साढे पाँच बजे त हामी प्रस्थान गरिसकेका थियौँ । अतिथिगृहदेखि घाटसम्म कुयेटकै भ्यानमा गयौँ । घाटमा रहेको सानो डुङ्गा चढेर लगभग आधा घण्टाको पानीयात्रापछि क्रुज सिप अर्थात् सानो जहाजमा सर्‍यौँ । त्यो सानो जहाज वास्तवमा हाम्रो लागि होटल र सवारीसाधन दुवै थियो ।

 

जहाज पासुई नदीमा लगभग २० किमी प्रतिघण्टामा थियो । नन्दावाला भन्ने ठाउँमा पुगेपछि हामी सेइया नामको शाखा नदी पछ्याउँदै अघि बढ्यौँ । जहाजको अगाडिपछाडि, दायाँबायाँ चारैतिर आँखाले भ्याउनेसम्म पानी नै पानी । अर्थात् यो पानीको संसार । त्यसपछि पानीमै उभिएका रूखले बनेको जङ्गल । मैले सोचेँ, एक किसिमले यो पानी जङ्गल हो । नदीहरू एक आपसमा जोडिएर जहाजको बाटो बनाएका छन् । यो प्रकृतिले बनाएको बाटो हो । मान्छेले त जहाज मात्र बनाएका हुन् । जमिनको भूभागको यातायात र यसमा मैले एक भिन्नता पाएँ ।

 

क्रुज सिपको भुइँतलामा सुत्ने कोठाहरु थिए । बिचमा भान्सा र भोजन कोठा । छतमा भने दृश्यावलोकन गर्ने कौसी जस्तो संरचना । साँझपख म छतमा गएँ । इटालिकी फ्रान्सिस्का, भेरोनिकालगायत अन्य केही साथी थिए । नेपालमा नदीहरू प्रशस्त छन् बगिरहेको नदी हेरेर जो कोहीले पनि कल्पना गर्न सक्छ-यो नदी कहाँसम्म जाने होला ?

 

नदीको गन्तव्य आफ्नै आँखाअघि अनुभूति गर्ने ठाउँमा आइपुगेको थिएँ म । मैले नदी र समुद्रको एउटा प्रसङ्ग सम्झेँ । फ्रान्सिस्कालाई सुनाएँ ।

 

नदी र समुद्रको वार्तालाप भएछ ।

 

किन तिमी वर्षौंदेखि यसरी मलाई भेट्न आएका छौ ?’

 

म गुलियो छु । तिमी नुनिलो छौ । म तिमीलाई पनि गुलियो बनाउन चाहन्छु ।

 

तर तिमी त लाखौँ करोडौँ वर्षदेखि बगिरहेछौ ।

 

जबसम्म मेरो लक्ष्य पूरा हुँदैन । म बगिरहनेछु । तिमीलाई गुलियो बनाइरहने छु ।

 

उपस्थित सबैजनाले ताली पिटे । फ्रान्सिस्काले यो कथा फेसबुकमा राख्छु भनी । नेपाल आएपछि थाहा भयो, उसले भनेको काम गरिछे । मैले उसको कामको प्रशंसा गरेँ । अहिले पनि कहिलेकाहीँ म उसको त्यो पोस्ट हेरेर रमाउँछु र पानीसंसार सम्झन्छु, फ्रान्सिस्कालाई सम्झन्छु । फ्रान्सिस्का मैले जीवनमा भेटेका विदेशीमध्येकै राम्री र फरासिली तरुनी थिई । साल्सा नृत्य गर्छु भन्थी । अनि घरीघरीलेट्स डु समथिङ्, वन्डरफुलभनेर सबैको ध्यानाकर्षण गर्थी । पहिलो दिनको बास कालकामा भयो । वास्तवमा यो एक अनकन्टार ठाउँ थियो । भोलिपल्ट बिहान हाम्रो जहाजले घिसारेर ल्याएको सानो डुंगा लिएर घुम्न जाने योजना बन्यो । नभन्दै हामी सबैजना मिर्मिरेअघि नै सानो डुंगामा सर्‍यौँ। डुंगाले हामीलाई जङ्गलभित्र लिएर गयो ।

 

मैले डायरीमा नोट गरेँ । पूर्वाहृन६:१२ । चलिरहेको धमिलो पानी । पानीमाथि डुंगा । डुंगामाथि कुर्सी । कुर्सीमाथि म । लगभग १५ मिटर चौडाइको नदी । पानीलाई छोएको लेदो माटो । नहरको जस्तो किनारा । किनाराले जङ्गललाई छोएको छ । आठदश मिटर अग्ला रूखहरू । चराचुरुङ्गीको आवाजचिउ चिउ चिउ, कुखुरी काँ, हु चिउ । पर उडेका चरा केही देखिए ।

 

हाम्रा यात्रा प्रदर्शकको नाम थियोकिंगसन । किंगसनले मौन रहन आदेश दिए । हामी कुनै जनावर देखिने आशामा थियौँ । नभन्दै डुंगाको यात्रामा हामीले हरिण र बनेल देख्यौँ । केही चरा पनि देखिए । बाघको भने अत्तोपत्तो थिएन ।

 

सूर्यमान सरका जुँगा फुरफुर गर्न थाले । वहाँले किंगसनलाई सबैका अघि सोध्नु भयोअनि खोइ त बाघ ?

 

भोलि माल्ग्रुमको जङ्गलमा भेटिन्छ ।ऊ पनि के कम । समयको सहारा राम्रैसँग लियो ।

 

हाम्रोभन्दा केही ठूलो आकारको डुंगामा केही बङ्गालादेशी पर्यटक पनि हामीलाई पछ्याउँदै आए । डुंगा चालकले मोटर बन्द गरेर हातले नै डुंगा खियाउन थाले । केही समय पछि डुंगा त स्थिर भयो ।

 

डुंगाले भुइँ छोयोचालकले घोषणा गरे ।

 

ल मार्‍यो  । अब के हुन्छ ?’म भित्रभित्रै आत्तिएँ । चितवन राष्ट्रिय निकुन्जभित्र चलिरहेको गाडी एक्कासि रोकिएको जस्तो भान भयो । त्यो अनकन्टार ठाउँमा उद्धार गर्न पनि को आउला र !

 

तर कोही पनि आत्तिएको देखिएन । पानीको गहिराइ तिन फिट जति मात्र थियो । हामी चुपचाप थियौँ । केही बेरमा किंगसनले भन्यो–‘टाइड आएपछि पानीको सतह बढ्छ । अनि डुंगा फेरि चल्छ ।

 

रोकिएको डुंगा चल्ने यस्तो अनौठो सूत्रको जानकारी अहिलेसम्म मलाई थाहा थिएन । सुनेको त थिएँ

 

बङ्गलादेशजस्तो समुद्रीकिनारका भूभागमा नदीको बहाव दुईतर्फी हुन्छ । यसो हुनुको कारण ज्वारभाटा अर्थात् टाइड हो ।

 

आफैँले त्यो कुरा भोग्दा नयाँ अनुभूति भयो ।

 

अर्को दिन बिहान हामीले जमिन टेक्ने मौका पायौँ । डुंगाबाट जेटी हुँदै जमिनमा टेक्यौँ । माल्ग्रुम नामको जङ्गलभित्र तिन घण्टाको पैदल यात्रा गर्‍यौँ । पानीमा अडिएको जङ्गललाई म्याग्रुभ भनन्छन् । हामी हिँडेको जङ्गल भने नेपालकै जस्तो थियो । ठाउँठाउँमा आली बनाएर उठाइएको बाटोमा पैदल यात्रा गर्यौँ ।

यो । त्यहाँ घाँस जातका वनस्पतिको नामनिशान थिएन । हरिणले उभिँदा जहाँसम्म भेट्छ त्यो उचाइसम्म पातको नामनिशान नभएका रूख । परबाट हेर्दा भने औजार प्रयोग गरेर एकनासले छाँटिएको जस्तो । पूरै जङ्गलमा एउटा तहभन्दा माथि मात्र पात । बडो मनमोहक दृश्य अवलोकन गर्न पाइयो ।

 

एक दुई ठाउँमा जमिनको सतह केही माथि उठेको पाइयो । किंगसनले अथ्र्यायो यो बाघले हरिण खाने ठाउँ हो ।

 

अनि खोइ त बाघ ?’

 

सूर्यमान सरका जुँगा फेरि फुरफुर गर्न थाले ।

 

आज बेलुकासम्म बाघ नभेटिए तिम्रो ज्यान जोखिममा पर्ने छ ।हाम्रो साथमा भएका वन सुरक्षाकर्मीको बन्दुक देखाउँदै सूर्यमान सरले किंगसनलाई आतंकित पार्ने अभिनय गर्नुभयो । सबै गलल्ल हाँसे । बाघ नेपालमै पनि सजिलै भेटिने जन्तु होइन । हाम्रो यात्राको तेस्रो तथा अन्तिम दिनमा भने डल्फिन देखिए । चार नदी मिसिएको स्थानमा पानीको सतहबाहिर उफ्रेका डल्फिन देखेर हामीले बाघको न्यास्रो मेट्नु पर्‍यो ।

 

दुई रात तिन दिनको यात्रा सकेर हामी खुलना आएर बस्यौँ । फर्किंदा भने हामीले जोहोरढाकाको हवाईयात्रा गर्‍यौँ । जोहोर विमानस्थलमा फेरि इटालियन र जर्मन टोलीसँग भेट भयो । सुन्दरवनमा बाघ नभेटिएको प्रसङ्ग फेरि चर्चामा आयो ।

 

ढाकाबाट दिउँसो तिन बजेको उडान थियो । हतारहतार केही किनमेल पनि गर्‍यौँ । त्रिभुवन विमानस्थलमा जहाज अवतरण गर्‍यो ।

 

अध्यागमनमा म संयोगले एक महिला कर्मचारी भएको लाइनमा परेछु । लाइन लामो थिएन । मेरो पालो आएपछि उनले पुलुक्क हेरेर भनिन् गुड आफ्टरनुन सर !

 

गुड आफ्टरनुन ।

 

मेरो बीस वर्षको विदेश आइजाइको क्रममा भएको यो पहिलो घटना थियो-

 

अध्यागमनका अधिकृतले मलाई अभिवादन गरेका ।

 

मैले उनको प्रशंसा गरेँ ।

 

म विगत बिस वर्षदेखि विदेश यात्रा गर्दैछु । आज दुईवटा अनौठा घटना भए । पहिलो, मैले कुनै महिला अधिकृतको सेवा पहिलोपटक लिन पाएँ । दोस्रो, त्यो सेवामा मुस्कानसहितको अभिवादन थियो । म अत्यन्त खुसी छु ।

 

उनी मजैले मुस्कुराइन् । उनको मुस्कानले मलाई एउटा स्पष्ट सन्देश दियो ।

 

अध्यागमनलगायतका अन्य कतिपय सेवा दिने क्षेत्रमा नेपालले फड्को मारेको छ । किनभने अब त्यहाँ मलामी गाम्भीर्यको ठाउँमा मुस्कानको मूल फुट्न लागेको छ ।

 

मैले नोट गरेँ । बङ्गलादेश भ्रमणको सबैभन्दा ठूलो उपलब्धि यही सन्देश थियो ।

 

१६ चैत, २०७३

 

चौतारा, सिन्धुपाल्चोक

प्रकाशक : हिमालय टाइम्स

लिङ्क : http://ehimalayatimes.com/bichar-sahitya/10099