Thursday, June 23, 2022

लालबुझक्कडको मेला

उनले यथास्थिति चिर्दै प्रश्न गरे। शान्त तलाउमा ढुंगो खसेर चुर्लुम्म डुब्दा जस्तो हुन्छ त्यस्तै झल्को आयो।

'हजुर! राजा राम्रो कि दल?'

उनको प्रश्नले मलाई गम्भीर बनायो।

म त्यस दिन दिउँसो दुई वटा विवाह उत्सवमा समावेश हुनु पर्ने थियो। यसैले बिहान सात बजे नै म लगनखेलको एबिसी व्यापारिक परिसरमा पुगेको थिएँ। धरानमा आइएससी पढ्दाका मेरा मित्र टुकाराम ढकालले सञ्चालन गरेको त्यो परिसर हालै खुलेको हो। त्यहाँ एक उद्यमी युवाले चलाएका छन्– कपाल काट्ने सैलुन।

म बिहान पुग्दा उनको सैलुन लगायत अधिकांश सटरहरू बन्द थिए। मैले सैलुनको बोर्डमा लेखिएको मोबाइल नम्बरमा सम्पर्क गरेँ। सञ्चालक भाइले १०–१५ मिनटमा आइपुग्छु भने। उनलाई पर्खिने समयमा मैले चियापान गरेँ। 

कपाल कटाउँदै गर्दा अलमलिने केही गतिविधि भए रमाइलो हुन्छ। मोबाइलमा स्वचालित वाइफाइ चलेको सूचना पाइसकेको थिएँ। मैले योहो टिभीमा केही हप्ताअघि जीवराम भण्डारीले लिएको मेरो अन्तर्वार्ता युट्युबको रंगमञ्चमा ल्याएँ। म त्यो सुन्न थालेँ। मेरो तिलचामले कपालको बगैंचामा कैंची चल्न थाल्यो। 

हात्तीलाई 'डोरीको भ्रम' ले बँधुवा बनाए जस्तै युवा नेतालाई पनि दलका राजनीतिज्ञले दासत्वको भ्रम सिर्जना गरेका छन्। मैले स्नातकोत्तर र विद्यावारिधि गरेको शैक्षिक संस्था एसियन इन्स्टिच्युटबाट प्राप्त गर्नुभएका प्राध्यापक डाक्टर राममनोहर श्रेष्ठसँग हालै भेट भएको थियो। उहाँले नेताको तीन किसिमको वर्गीकरण गर्नुभयो। उहाँको व्याख्या मलाई घत परेको थियो। यो वर्गीकरणमा राजनेता, नेता र राजनीतिज्ञ पर्छन्। 

वर्तमान कालखण्डमा नेपालमा नेता र राजनेता विरलै छन् तर राजनीतिज्ञ फालाफाल। यो कुरा थप स्पष्ट पार्न अन्तर्वार्तामा मैले उँट लिएर हिँड्ने एक व्यापारीको प्रसंग जोडेको थिएँ। त्यो प्रसंग सुनेर कैंची चलाइरहेका सेवा प्रदायक मुसुक्क हाँसेको मैले चाल पाएँ। 

मलाई शंका लाग्यो। यी भाइ पक्का पनि चानचुने होइनन्। उनको गहन प्रश्नले उनको राजनीतिक चेतनास्तर अब्बल भएको मैले अनुमान गरेँ। मेरो अनुमानको परीक्षा लिने सोच पलायो। 

'तपाईं विदेशतिर बस्नुभएको छ?' 

'छु सर! मलेसियामा आठ वर्ष।'

मेरो अनुमान सत्य सावित भयो। अब उनको प्रश्नको उत्तर दिन मलाई केही खुराक मिलेको थियो। हुन त 'राजा कि दल?' भन्ने प्रश्नको उत्तर दिनुपर्ने बाध्यकारी परिस्थितिको सामना यस अघि पनि मैले गरेको हुँ।  

सन् २००६ मा म जापानको हायामा भन्ने स्थानमा एक अर्धसरकारी निकायमा काम गर्थेँ। त्यस बेला नेपालमा राजनीतिक उथलपुथल भइरहेको थियो। राजासहितको व्यवस्था कि राजारहितको भन्ने विषयमा जनमत संग्रह हुने हल्ला पनि थियो। 

जापान सरकारको वातावरण मन्त्रालयसँग जोडिएको मेरो कार्यालयमा अधिकांश जापानी कर्मचारी थिए। हामी केही विदेशी पनि थियौं। सबै कर्मचारी लागि दिउँसोको भोजन कार्यालयकै चमेना गृहमा पाक्थ्यो। ज्युनार गर्ने काम पनि लगभग एउटै समयमा हुन्थ्यो। 

सहभोजनकै क्रममा एक दिन एक जापानी मित्रले मलाई नेपालको खबर के छ भनेर सोधे। मैले राजा राख्ने कि नराख्ने भन्नेमा जनमत संग्रह हुने सम्भावना भएको जानकारी दिएँ। 

प्रायः मौन रहने एक अर्का जापानीले मौकाको फाइदा उठाएर मलाई सोधे– यो नितान्त निजी प्रश्न हो, तपाईंलाई अन्यथा लाग्दैन भने मात्र जवाफ दिनु होला। यदि जनमत संग्रह भयो भने तपाईं राजा राख्ने पक्षमा मत दिनु हुन्छ कि विपक्षमा? 

मलाई ती जापानीको प्रश्नले संकटमा पारेको थियो। यथार्थमा मैले आफ्नो राजनीतिक अभिमतको कित्ताकाट गरेको थिइनँ। आजसम्म पनि म कुनै राजनीतिक दल वा विचारको भक्त भएको छैन। पेसाधर्मी वा अध्येता साक्षीभावको हिमायती हुनु पर्छ भन्ने मेरो मान्यता छ।

मैले निमेषभरमा नै सोचेँ– अब यी जापानी मित्रले पहिलोको उत्तर पाएपछि त्यसको पूरक प्रश्न सोध्नेछन्। त्यो प्रश्न पहिलोको कारणको रूपमा उभिनेछ। पहिलोको उत्तर सहज हुनेछ र दोस्रोको कठिन।

यसर्थ मैले दोस्रोको जवाफ पहिले सोचे। अनि पूरा आत्मविश्वासका साथ भनेँ– म राजासहितको प्रजातान्त्रिक व्यवस्थाको पक्षमा मत गर्नेछु। 

टेबुलको वरिपरि बसेका सबैको ध्यान मेरो र ती जापानी मित्रको संवादले खिच्यो। नभन्दै उनले मेरो अनुमान बमोजिम पूरक प्रश्न राखे। 

'के म त्यसको कारण जान्न सक्छु?' 

'हामीले दुई सय वर्षभन्दा बढी लगाएर नेपाल एउटा राजतन्त्रात्मक हिमाली राष्ट्र हो भन्ने पहिचान बनाएका छौं। तपाईंको जापान लगायत संसारमा धेरै राष्ट्रहरूको यो पहिचान छ। नागरिकको आफ्नै पौरखले त्यही मापनको अर्को पहिचान निर्माण गर्न सदियौं लाग्न सक्छ। म चाहन्छु हाम्रा पुर्खाले आर्जेको हाम्रो विश्वव्यापी पहिचान कायाम रहोस्। 

'नारो होदो।'

उनले जापानिज भाषामा भनेको शब्दावली 'नारो होदो' अर्थात 'तपाईंको उत्तरले म मन्त्रमुग्ध भएँ' भन्ने आशयले मैले बहसको रंगमञ्च उत्कर्षमा पुर्‍याएर पर्दा लगाएँ भन्ने भान मलाई परेको थियो।

प्रश्नोत्तरको विश्वव्यापी मान्यता र शास्त्रीय परम्परा छ। पाण्डव ज्येष्ठपुत्र युधिष्ठिरले यक्षले सोधेका प्रश्नको दिएका उत्तर होउन् या लक्ष्मीप्रसाद देवकोटाले लेखेको कविता होओस्, कालजयी छन्। गुरुशिष्य परम्परामा पनि प्रश्नोत्तरले महत्वपूर्ण कित्ता ओगटेको छ। कतिपय परिस्थितिमा गुरुसँग पनि सबै प्रश्नको सपाट र स्पष्ट उत्तर हुँदैन। बुद्ध दर्शनमा यस्ता विषयको बाक्लो चर्चा छ। 

मानौं भगवान बुद्धलाई कुनै शिष्यले यस्तो प्रश्न सोधे रे– यो ब्रह्माण्ड सीमित छ कि असीमित?  

यस्तो अवस्थामा बुद्धको उत्तर के हुन्थ्यो होला? 

सन् २०१६ मा प्रकाशित इकोनोमिस्ट पत्रिकाको एक विशेष अंकमा एक स्तम्भकारले यो विषयको चर्चा गरेका छन्। उनले लेखेका छन्– यस्तो प्रश्नमा बुद्धको जवाफ हुन्थ्यो– मौनता। अर्थात गुरु मौन बस्थे। 

स्तम्भकारले यसको दुइटा सम्भाव्य कारण हुन सक्छन् भनेका छन्। पहिलो, गुरुले 'शिष्यको चेतनास्तरले यो प्रश्नको उत्तर बुझ्न सक्दैन, यसकारण उसलाई अन्यौलको भुमरीमा पार्नुको अर्थ हुँदैन' भन्ने ठान्थे।

दोस्रो, उत्तर विवादित हुन्छ, यसले शिष्यलाई भ्रममा पार्नेछ। ब्रह्माण्ड सीमित कि असीमित? दिन पहिला आयो कि रात? ईश्वर छन् कि छैनन्? आदि प्रश्नहरू तर्कको घेराबन्दीले बाँधिएका छन्। 

मैले मेरो कपालमा कैंची चलाइरहेका सेवाप्रदायकको कठिन प्रश्नको उत्तर नदिनुको औचित्य देखिनँ। लालबुझक्कड भएर सामान्य उत्तर दिएर उम्कने सुविधा पनि थिएन। मेरा अर्का एक अनन्य मित्र कोमल धमलाले लालबुझक्कडका बारेमा केही दिनअघि सन्त कविर दासका यी हरफ सुनाएका थिए– 

लालबुझक्कड बुझे यी और नबुझे कोही

पैरमे चक्की बाँधकर हिरण चले होई!!

एउटा गाउँमा राती हात्ती आएछ। बिहान उठ्दा गाउँलेले ठूला ठूला पाइला देखेछन्। कुन जनावरका पाइला हुन् भन्ने यकिन भएनछ। एक जना लालबुझक्कडले भनेछन्– राती हरिण आएछ, त्यसले खुट्टामा जाँतो बाँधेर आएको हुनाले यस्ता पाइला देखिएका हुन्। 

नेपालमा लालबुझक्कडहरूको मेला छ । त्यो राजनीतिक होओस् या प्राविधक विषय, उनीहरूकै एक छत्र छ। माहुतेले हात्ती बाँधेझैं राजनीतिज्ञले 'आश्वासनको भ्रम' ले युवा नेताहरूलाई बाँधेका छन्। उम्मेदवारहरू दाम राखेर मतदाताका खुट्टा ढोग्छन्। मतदाताहरू शुभकामना दिन उम्मेदवारको खुट्टा ढोग्छन्। 

हिजो टाउकाको मोल राखेर दुश्मनको कित्तामा राखेका घोर उत्तरपन्थीसँग दक्षिणपन्थीहरू गठबन्धन गर्छन्। उम्मेदवारहरू प्रश्नकर्ता महिलामाथि अपशब्द प्रयोग गरी सार्वजनिक सभामा नै हुर्मत लिन्छन्। एउटै दलका बाउ नेताको दुश्मनी साँचेर छोरानाति पनि हिंसात्मक गतिविधिमा ओर्लन्छन्।

यसैले मैले प्रश्नकर्तालाई फेरि सोधेँ– तपाईंले काम गरेको मुलुक मलेसियामा द्रुत गतिमा विकास भइरहेको छ। त्यहाँको जनसंख्या नेपालको जति नै छ। यी दुई मुलुकमा प्राकृतिक साधनस्रोत र सांस्कृतिक विविधता पनि उस्तै छन् तर नेपालमा विकास खासै भएको छैन। तपाईंको विचारमा यसको कारण के होला?

'भ्रष्टाचार।' 

उनले दिएको सपाट एक शब्दे जवाफले मेरो प्रश्नको लामो भूमिका स्वाट्टै निलिदियो। 

मैले मेरो धारणा राखेँ।

भ्रष्टाचार खराब र स्वार्थी नेता वा अगुवाले गर्छन्। यसर्थ व्यवस्था प्रधान होइन, व्यक्तिको नियत प्रधान हो। मलेसियामा पनि संवैधानिक राजतन्त्र छ अर्थात राजा छन्। कतारमा पनि वंशपरम्पराका राजा छन्। 

यी दुवै मुलुकमा हाम्रा नेपाली दाजुभाइ र दिदीबहिनी श्रमिक छन्। उनीहरूका श्रमले ती मुलुकमा द्रुत आर्थिक विकास भएको छ। हाम्रो नेपालमा जस्तो खुलमखुला भ्रष्टाचार र कुशासन छैन। अर्कोतिर राजा नभएका मुलुक अमेरिका, क्यानडा र भारतले पनि विकासमा हामीलाई कैयौं दशकपछि पारेका छन्। 

यति भनेपछि मेरो मनमा थप भावनाहरू चलमलाउन थाले। 

नेपालकै हकमा पनि पृथ्वीनारायण शाहको कुनै दल थिएन। उनी राजा थिए। गैरराजनीतिक क्षेत्रमा लक्ष्मीप्रसाद देवकोटा र माधव घिमिरेले दलसँग आबद्धताविना अमूल्य योगदान गरेर गए। सत्यमोहन जोशी पनि दलविहीन जीवित पात्र हुन् जसले देशका लागि अतुलनीय योगदान गरेका छन्। 

दलको कुरा गर्दा भारतमा अहिले एउटा राजनीतिक दल निकै लोकप्रिय छ, आम आदमी पार्टी। त्यसका नेता अरविन्द केजरीवालको एउटा भिडियो अहिले भाइरल छ।

उनले जनतालाई त्यो भिडियोमा भनेका छन्, 'तपाईंहरूलाई स्कुल चाहियो, अस्पताल चाहियो वा बिजुली चाहियो भने मलाई भन्नु होला। तपाईंहरूलाई राजनीति चाहियो भने अरू दललाई भन्नु होला। मलाई राम्रो स्कुल वा अस्पताल बनाउन आउँछ तर राजनीति आउँदैन।'

मेरा सेवा प्रदायक भाइले थप प्रश्न गरेनन्। मैले मेरो जवाफमा उनी सहमत वा असहमत के छन्, सोधेँ। मैले कोरोना कालअघि सानेपामा अवस्थित मलेसियाली राजदूतावासमा त्यहाँका राजदूतसँग भएको एक प्रसँग सम्झिएँ।

नेपाल विकास अनुसन्धान प्रतिष्ठानबाट हामी केही साथी त्यहाँ पुगेका थियौं। हाम्रो छलफलको एजेन्डा थियो– मलेसियाको द्रुत आर्थिक विकासको ढाँचा कसरी नेपाल भित्र्याउने? 

बैठकको आरम्भमा युवा राजदूतले भने, 'तपाईंहरूको एजेन्डा सुनेर मलाई आश्चर्य लागेको छ। मलेसियाको आर्थिक विकासको ढाँचाबारे बुझ्न यहाँ नेपालका नेता वा विकास अध्येताहरू विरलै आउँछन्।'

उनको आशय हामीले बुझ्यौं। नितान्त व्यक्तिगत कामले वा मलेसियामा कुनै समस्यामा परेको नेपाली श्रमिकको उद्धार गर्ने अभिप्रायले मात्रै त्यहाँ कोही जाँदो हो। अझ धरातलीय यथार्थको नजिक पुग्दा नेपाली श्रमिकको लाश छुटाउने उद्देश्यले त्यहाँ कोही जाँदो हो।

सम्भवतः समकालीन नेपालको सबैभन्दा ठूलो समस्या यही हो। राष्ट्रिय चिन्तन गर्ने वा मुलुकलाई एक बित्तामाथि उठाउने उद्देश्य राखेर कर्म क्षेत्रमा उभिने नेता वा जनता दुवैको अभाव अहिलेको वर्तमानको यथार्थ हो।

यसकारण प्राडा श्रेष्ठको नेता वर्गीकरण सिद्धान्तमा ओज छ। राजनेतालाई अंग्रेजीले स्टेट्सम्यान भन्छ। त्यो भनेको राष्ट्रिय वा अन्तर्राष्ट्रिय क्षेत्रमा सम्मान कमाएको नेता हो जसले सत्कर्मको अतुलनीय पदचिह्न छाडेको हुन्छ।

आशा गरौं– नेपालको राजनीतिक रंगमञ्चमा उदीयमान युवा नेताले राजनीतिशास्त्रको यो मर्म आत्मसात गर्नेछन्। 

सेतोपाटीमा प्रकाशित 

https://www.setopati.com/blog/269821

Saturday, June 11, 2022

खिइँदै गएको वैवाहिक सम्बन्धको डोरी

शब्द र लय बुनेर कालजयी सिर्जना पस्कने सक्ने स्रष्टा थिए भीम विराग । मधु क्षेत्रीको स्वरमा घन्केर वनपाखा थर्काएको उनको एउटा गीतमा देउता र ढुङ्गा एकै साथ उदाएका छन् ।

‘देउता बन्ने रहरमा, ढुङ्गा बन्छ मानिस’

अवास्तविक महत्वाकांक्षाको यति सशक्त उदाहरण शायदै अन्त कतै पाइएला ।

देउता बन्ने कल्पनामा डुबेको मानिस कसरी ढुङ्गा बन्छ त ?

सन् २०१७ मा नोबेल पुरस्कार पाएका अध्येता रिचर्ड थेलरले विवाह र पारपाचुकेको प्रसङ्ग जोडेर यो विष अथ्र्याएका छन् ।

मानौं यो लेख पढ्दा पढ्दै कसैले गुगल महारानीलाई प्रश्न सोध्यो रे :

‘अहिले विश्वमा पारपाचुके गर्ने दर के छ ?’
महारानीले फटाक उत्तर दिनेछिन् !
‘विश्वमा अहिले लगभग पचास प्रतिशत दम्पतीको लगनगाँठो चुँडिने गरेको छ ।’
‘अर्थात एक दिनमा विश्वका ५० हजारभन्दा बढी जोडीले छोडपत्रको कागजातमा सहीछाप गर्छन् ।’

तपाईंले हालसालै अग्निसाक्षी राखेर विवाहको मन्त्र सुन्नुभएको छ भने मुटु दह्रो बनाउनुहोस् मित्रवर !

‘तपाईंले यो लेख पढ्न सुरु गरेको आधा मिनेट भएको छ । यति समयमा विश्वभरिका २० जोडीको पारपाचुके भएको छ ।’

यसै विषयलाई उधिनेर रिचर्ड र सन्सटियनले आफ्नो विश्वप्रसिद्ध पुस्तक ‘नज’ मा एउटा रोचक वर्णन गरेका छन् ।
यो व्याख्या अझै घनिभूत पार्न एउटा कल्पना गरौँ ।

मानौँ, अत्यन्तै मिल्ने एक साथीको विवाह भइरहेको मण्डपमा तपाईं पुग्नुभयो ।

स्वयम्बरको माला र औँठी आदान–प्रदान गरेर सोफामा बसेका दुलाहा वा दुलहीलाई कानमा खुसुक्क साउती गर्दै तपाईंले भन्नुभयो : ‘विश्वमा अहिले हरेक दुई जोडीमध्ये एकको सम्बन्धमा छोडपत्रको कालो बादल मडारिने गरेको छ । तिम्रो विवाहको हकमा यस्तो दुरवस्था हुने सम्भावना कति होला ?’

सम्भवत: तपाईंका दुलाहा मित्रले यस्तो प्रश्न गर्नेलाई विवाह स्थलबाट बाहिर निकाल्ने छन् । अथवा पागल भन्नेछन् ।

यदि समाजमा विध्वंशकारी कित्तामा नाम कहलाएको खलनायक दुलाहाको स्थानमा रहेछ भने उसले आफ्ना साथीभाइलाई फिल्मी शैलीमा भन्न सक्नेछ : ‘कच्याक कुचुक पारिदेऊ साथी हो यसको थुतुनो !’

मण्डपका नायक या नायिका तपाईंका एकदम मिल्ने दौँतरी परे रे । रिसको काँचो वायु मित्रताको कवचले थाम्दै तीनले भन्लान् : ‘शून्य प्रतिशत । त्यो तथ्यांक अरूलाई लागु होला तर हामीलाई लाग्दैन ।’

किन यस्तो हुन्छ त ?

किनकि सदियौँदेखि चलेको यो संसारको रीत हो । विवाह बन्धनमा बाँधिन लागेका शतप्रतिशत जोडीले वाचा गर्छन् : ‘जस्तोसुकै विषम परिस्थिति आए पनि हाम्रो सम्बन्धको डोरी छिन्दैन ।’

तारादेवीले ‘सोचेजस्तो हुन्न जीवन’ भनेर गाएजस्तो हुन्छ सबै विवाहित जोडीको सम्बन्धको डोरी । सोचेजस्तो हुन्न, छिन्न पनि सक्छ । मैले केही समयअघि लेखेको एक निबन्धमा यसको बाक्लो चर्चा गरेको छु ।

‘कुनै एक समयमा इष्ट देवताको आँगनमा कसम खाई प्रणयसूत्रमा बाँधिएका जोडीहरू मायाको मर्करी शुन्यमा झारेर बिछोडिन पनि पुग्छन् ।’

अर्थात गुगल महारानीले भनेको सत्य हो । अहिले संसारमै विवाह गराउने पण्डितको भन्दा छोडपत्र गराउने वकिलको कमाइ बढी छ ।

नेपालमै पनि सर्वसाधारणदेखि समाजका धनाढ्य वा प्रतिष्ठित कुलघरानाका दम्पतीहरूको सम्बन्ध विच्छेद हुने दर उर्लंदो भेलजस्तै बढ्दो छ ।

वैवाहिक स्थितिको यो जोड–घटाउको विडम्बनालाई रिचर्ड र सन्सटियनले अनरियलिस्टिक अप्टिमिज्म अर्थात अवास्तविक महत्वकांक्षाको एक बलियो उदाहरण भनेका छन् ।

उदेकलाग्ने कुरा त के छ भने पहिलो सम्बन्धमा पूर्णविराम लागेर दोस्रो विवाह गरेकाहरू पनि यो महत्वाकांक्षाको सिद्धान्तको सिकार हुन्छन् ।
अमेरिकामा दोस्रो विवाह गरेका ६० प्रतिशत दम्पतीको सम्बन्ध विच्छेद हुने गरेको छ ।

‘महत्वाकांक्षाको पूर्वाग्रह’ शीर्षकमा विश्वप्रसिद्ध प्रवचन शृङ्खला ‘टेड टक’ मा बेलायती अध्येता ताली सारोतले भनेकी छन् : ‘उदेक लाग्दो कुरो त सम्बन्ध विच्छेद गराउने वकिलहरूले पनि आफ्नो हुन लागेको छोडपत्रका बारेमा पूर्वानुमान गर्न सक्दैनन् ।’

सारोतका अनुसार प्रत्येक व्यक्तिले आफू र आफ्ना परिवारका बारेमा धेरै आशावादी सोच पालेको हुन्छ तर आफ्नो छिमेकी, प्रतिस्पर्धी वा राष्ट्रप्रति भने निराशावादी सोच पालेको हुन्छ । अझ भनौँ, अरूको उन्नति या प्रगतिको बारेमा त जसले पनि मात्सर्य नै पालेको हुन्छ । यसकारण उसको महत्वाकांक्षा कालान्तरमा अवास्तविक कित्तामा अवतरण गर्न सक्छ ।

नेपाली चलचित्रमा नाम कमाएकी कलाकार प्रियंका कार्कीले २२ वर्षको उमेरमा रोचक मैनालीसँग प्रेमविवाह गरिन् । बिस्तारै उनीहरूको सम्बन्धमा दरार आयो । अहिले प्रियंका र रोचक दुवैले दोस्रो विवाह गरिसकेका छन् ।

नेपाली चलचित्रका सदावहार नायक भुवन केसीको दोस्रो विवाहमा पनि पूर्णविराम लाग्यो । छापाहरूका अनुसार उनी अहिले तेस्री महिलाको सान्निध्यमा छन् ।
अमेरिकाकै तथ्यांकले भन्छ, तेस्रो विवाह गर्नेमध्ये लगभग तीन चौथाईको सम्बन्धविच्छेद हुनेगरेको छ ।

वैवाहिक सम्बन्धमा चरम विचलन आएका र नेपालको राजनीतिसँग जोडिएका पात्रहरूमा पूर्वप्रधानमन्त्री प्रचण्डका छोरा प्रकाशको पनि नाम आउँछ । उनले पहिलीसँग सम्बन्ध विच्छेद गरी दोस्रो विवाह गरेका थिए । फेरि उनले तेस्री महिला ल्याए । दैवको लीला ! जवानीमै प्रकाशको निधन भयो ।

नेपाली समाजको इतिहासमा पुरुष वा महिलाले दोस्रो विवाह गर्ने प्रचलन नभएको होइन । पुरुषले बहुविवाह गरी एउटै घरमा दुई वा तीन श्रीमती राख्ने चलन सामान्य थियो । अहिले पनि यदाकदा त्यस्तो हुने गरेको छ ।

विद्यालय पढ्दाका मेरा एक सहपाठी साथीले दोस्रो विवाह गरे । जेठी श्रीमतीबाट सन्तान भएका थिएनन् । यसलै उनको कदमको लोकले आलोचना गरेन । कान्छीपट्टीवाट दुई सन्तान भए ।

दुई वर्षअघि हामी पढेको विद्यालयको स्वर्ण महोत्सव मनाइयो । म कार्यक्रममा सहभागी हुन मोरङको उर्लाबारी गएँ । ती साथीको बसाइ उर्लाबारीमै छ । महोत्सवकै अवसरमा मेरी अर्की एक सहपाठी र म ती साथीको घर गयौँ ।

हामी दुई जना बैठक कोठामा एकातिरको सोफामा बसेका थियौँ । ती साथी र उनका दुईवटी अर्धाङ्गिनीले हाम्रो विशिष्ट सत्कार गरे । चियाको चुस्की लिँदै हामी गफमा मस्त भयौँ ।

मलाई अहिले पनि हाम्रो विपरीतको सोफामा बसेका तीन पात्रको तस्वीर एकमुष्ट आफ्नै अघि आइरहेको छ । बीचमा साथी थिए । दाहिनेतिर उनकी जेठी श्रीमती बसेकी थिइन् भने देब्रेतिर कान्छी ।

मेरो लागि यो जीवनकै एक अविस्मरणीय अनुभूति हुन गयो ।

पढेको थिएँ । सुनेको थिएँ । आफ्नै आँखाअघि आफ्नै साथीका दुई अर्धाङ्गिनी देख्दा म किन हो पुलकित भएँ ।

मैले बुझेको दम्पतीको समीकरण त्यहाँ भत्किएको थियो । दुवै श्रीमती एकै पटक आफ्नो श्रीमानको अनुहार हेर्थे । अनि हामीतिर हेर्थे ।

अरूले सामान्यरूपमा लेलान् तर मलाई ताज्जुब लागेको मुख्य कुरो मेरो अराजक कल्पना थियो । यसले अझै पनि कहिलेकाहीँ मेरो मष्तिष्कमा हलचल ल्याउँछ । म आफूलाई मेरा ती सहपाठीको स्थानमा राखेर हेर्छु ।

‘मेरा दायाँ–बायाँ दुई श्रीमती भएको भए के हुन्थ्यो होला ?’

मेरा अनन्य मित्र अर्थात ‘सुन जोडी’ का उपल्लो अंशियार सूर्यमान शाक्यले आफूले जानेको एक परिवारको ‘बहुल श्रीमती व्यवस्थापन’ को पक्ष चोटिलो रहेको बताएका थिए ।

‘एक दिन जेठीको कोठामा रात बिताउने । त्यसको लगत्तै भोलिपल्ट कान्छीको कोठामा । जेठीको कोठामा जति जोडी लुगा हुन्छन् कान्छीकोमा पनि उही रङ्गका उति नै थान हुन्छन् । अनि बिहान उठेर इस्त्री गर्दा दुवैको प्रतिस्पर्धा हुन्छ । कसको क्रिज धारिलो, इत्यादि । जिन्दगीको मजा यसैमा छ !’

केही हिम्मतीहरूका लागि बहुल श्रीमती राख्नु यो ‘साहसिक पर्यटन’ खेलजस्तो होला । कतिका लागि फगत एक मात्सर्य । मेरा लागि भने यो खुकुरीको धारमा हिँड्न पर्ने जोखिम यात्रा हुन्थ्यो । अनि अधिकांश पुरुषका लागि पनि त्यस्तै होला भन्ने ठान्दछु । त्यसैले यो प्रचलन समाजविकासक्रमको मूलधारमा नआएको होला ।

महिलाले दोस्रो विवाह गर्ने भन्ने चलन पनि थियो । कसैले यस्तो साहस गरे ‘पोइल गई’ भनिन्थ्यो । यसो गर्नेप्रति हेयको दृष्टि हुन्थ्यो । अर्काकी स्वास्नी फकाएर ल्याउने काम पराक्रमसँग जोडिन्थ्यो । यसलाई ‘जारी प्रथा’ भनिन्थ्यो । शब्दकोशले ‘जारी’ लाई पुरुषप्रधान र ‘पोइल’ लाई स्त्रीप्रधान बनाई प्रस्तुत गरेको छ । ‘स्वास्नी पोइल गई’ भन्नुको अर्थ आफूखुशी अर्को लोग्ने खोजेर गई भन्ने अर्थ लाग्दो रहेछ ।

यहाँनिर ‘जारी’ र ‘पोइल’ को तात्विक भिन्नतामा भेदभावको गन्ध देखिन्छ ।

त्यसो त यौन विचलन र यौनतृप्तिसँग जोडिएका ‘अवास्तविक महत्वाकांक्षा’ का उदाहरणहरू इतिहासमा बाक्लै पाइन्छन् ।

धनुषचन्द्र गोतामेले आफ्नो एक निबन्ध संग्रहमा २०१८ सालतिरको एक प्रसङ्ग उल्लेख गरेका छन् । त्यसेला स्थानीय निकायका अधिकारी अञ्चलाधीश हुन्थे रे । चरम दरिद्रतामा जीवनयापन गरेका जुम्लातिरका जनता ती अधिकारी र दौडाहामा आएका मन्त्रीलाई गुनासो र उजुरी गर्थे रे ।

उनीहरूका गुनासा र उजुरी अधिकांश यौन र सामाजिक अन्यायका विषयमा केन्द्रित हुन्थे रे । नवयौवना आइमाईहरू साहसिला पुरुषको याचना गर्दै यतिसम्म भन्थे रे :

‘पोइ सानु भो, साटिपाऊँ ।’

यसरी पहिलो सम्बन्धमा आफूले अपेक्षा गरेको जस्तो रूप र पराक्रम नभेटिनुका कतिपय जायज कारण पनि होलान् । सत्य कुरा के हो भने विवाह गर्दा हाम्रो वैवाहिक जीवनमा दरार आउन सक्छ भनेर कसैले कल्पना गर्दैन ।

राजनीतिक पृष्ठभूमिसँग जोडिएकी र चलचित्र क्षेत्रमा नाम कमाएकी एक पात्र हुन् मनीषा कोइराला । उनले काठमाडौँका धनाढ्य व्यापारी सम्राट दाहालसँग विवाह गरिन् । हनिमुनको दुई वर्षपछि नै उनीहरू अलग्गिए । मनीषाले दोस्रो विवाह गरेको समाचार आएको छैन । उनको जीवनशैलीमा भने आकाश–जमिनको परिवर्तन आएको छ ।

सम्बन्ध विच्छेद गरेर दोस्रो विवाह नगर्नेको संख्या पनि बढ्दो छ । उता विकसित देशमा भने विवाह नै नगरी एकल जीवन बिताउनेको संख्या यथेष्ठ छ । यसरी बढ्दो सम्बन्ध विच्छेद, समलिङ्गी विवाह, विवाहपूर्वको सहवास, एकल जीवनशैली आदिका कारण विवाहको संस्थागत संरचना जोखिममा परेको छ ।

अष्ट्रेलियाजस्ता मुलुकमा जाने नेपाली युवायुवतीले त हाडनातामा पनि नक्कली विवाह गर्ने गरेका छन् । अहिले परम्परागतरूपमा लगन नहुने महिनामा पनि विवाह हुने थालेको छ ।

यसरी हजारौँ वर्षदेखि जीवन्त रहेको विवाहपद्धतिमा आएको स्खलन नै सम्बन्ध विच्छेद आदि हुनुको एक कारक हो भन्नेमा धेरै अध्येताहरूको निचोड छ । ‘एक व्यक्ति एक जीवनसाथी’ जस्तो हाम्रो परम्परागत र स्थापित मान्यता भत्किन थालेको छ ।

सनातन पद्धतिअनुसार विवाह गर्दा मण्डपमा दुलाहा–दुलहीले अग्नि साक्षी राखेर केही प्रतिज्ञा गर्नु पर्दथ्यो ।

दुलहीले दुलाहालाई यसरी वाचा गराउँथिन् : ‘कन्याको रूपमा तपाईंसँग यो पनि वर माग्दछु कि तपाईं मबाहेकका अन्य स्त्रीलाई आमा समानको दृष्टिले हेर्नुहुन्छ । हामी पति–पत्नीको प्रेमको अंशियार अरू कसैलाई बनाउनु हुन्न । तपाईंलाई यो स्वीकार्य छ भने म तपाईंकी पत्नी हुन मञ्जुर छु ।’

अनुशासन र मर्यादाको यो विराशतमा धमिरा लागेको छ । यसैले दाम्पत्य जीवनका विपरीतधर्मी गतिविधिहरू मौलाएर वृक्ष भएका छन् ।

देउता बन्ने महत्वाकांक्षा लिएर ढुङ्गा बन्ने मान्छेको गीत गाएका मधु क्षेत्रीले यसको कारण पनि त्यही गीतमा खोलेका छन् :

अरूलाई कुल्चेर अघि बढ्छ मानिस ।
देउता बन्ने रहरमा ढुङ्गा बन्छ मानिस ।।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ८ : ५८ बजे 

 लिङ्क : https://www.khabarhub.com/2020/02/159248/