Thursday, September 8, 2022

चिसो कार्यालयले तताएको परिवेश

शुक्रबार, माघ १४, २०७८ । समय : दिनको २ बजे । स्थान : शिक्षा पत्रकार समूहको कार्यालय, अनामनगर ।

प्रसंगको पृष्ठभूमि यसरी बन्छ । बरफ भएर जमेको वर्तमानको शिक्षा क्षेत्रलाई ‘बहसमा शिक्षा’ विषयक टेलिभिजन कार्यक्रमको हतौडामार्फत ठोकठाक गर्ने कार्यमा संलग्न सुदर्शन सिग्देललाई भेट्न अनामनगर पुगेको थिएँ । समूहले टेलिभिजन कार्यक्रमलगायत अन्य धेरै अभियानलाई अघि बढाएको छ । सिग्देल त्यसैका एक कर्मठ पात्र हुन् ।

अनामनगरका केही प्रख्यात सीमास्तम्भमध्ये एक हो, सेकुवाको सेवन नगर्ने शाकाहारीलगायत जोकोहीले पनि जानेको ‘बाजेको सेकुवा’ । हनुमानस्थानबाट उत्तर जाँदा बाजेको सेकुवाबाट धोबीखोलातिर जाँदा अक्सिडेन्टल पब्लिक स्कुलको छेउमा छ, शिक्षा पत्रकार समूहको कार्यालय ।

उक्त कार्यालय उत्तर–दक्षिण फैलिएको सडकको पश्चिम किनारामा एकापसमा जोडिएका बहुतले भवनहरूमध्ये एकको पहिलो तलामा अवस्थित रहेछ । केही दिनदेखि राम्रोसँग घाम लाग्न नसकेको वातावरणले मलाई तनाव पस्किरहेको थियो ।

पत्रकारहरूको त्यो कार्यालयमा पुगेपछि त्यहाँको पानी जम्ने चिसोले ‘करेलालाई निमको थाँक्रो’ भन्ने उखान चरितार्थ गराइदियो ।

मैले सिग्देललाई कार्यालयमा देखिनँ । हामीले भेट्न तय गरेको समयसीमा नाघिसकेको थियो । मैले उनलाई मोबाइलमा सम्पर्क गरेँ ।

“तपाईंको अति नै चिसो कार्यालयमा आईपुगेँ । तपाईं कता हो त ?”

“सर, म अर्को जरुरी कामले बबरमहल आएको छु । सर बस्दै गर्नुहोला, म आइहालेँ ।”

हाम्रो छलफल ‘विद्यालयको कम्प्युटर शिक्षण सिकाइ’ विषयमा हुनेवाला थियो । मैले कुरा गर्दागर्दै भनेँ, “यो चिसो छिँडीजस्तो ठाउँमा छलफल गर्नुको कुनै तुक छैन । बाहिर घाम लागिरहेको छ । कुनै घाम लाग्ने स्थानमा गए त भैगो !”

“होइन, त्यसो नगरौँ । म तपाईंलाई लिन आउँछु । हामी कुनै तातो ठाउँमा जाऔँ ।”

मेरो प्रस्ताव उनले माने ।

म त्यो चिसो कार्यालयबाट बाहिर निस्किएँ र बाजेको सेकुवातिर लागेँ । मेरो काम अब ट्याक्सी खोज्ने थियो । आँखा सडकका सवारीसाधनमा भए पनि मन भने कार्यालयको चिसोतातोमा नै रुमल्लिएको थियो ।

जापानको इन्स्टिच्युट अफ ग्लोबल इन्भाइरोन्मेटल स्ट्राटेजिज अर्थात् आईजीईएसलाई सम्झिएँ । सम्भवतः अहिलेसम्म मैले काम गर्ने अवसर पाएका कार्यालयहरूमा सबैभन्दा उत्कृष्ट त्यही होला । चिसोतातोको त के कुरा, त्यस भवनले कुन मौसममा कति कार्बन उत्सर्जन गर्छ भन्ने कुराको समेत जानकारी सर्वसाधारणका लागि उपलब्ध थियो ।

उता, काठमाडौं विश्वविद्यालयको केन्द्रीय क्याम्पस, धुलिखेलमा भने गर्मी मौसमका लागि अतिउपयुक्त र जाडोमा भने ‘बरफ’ जम्ने कार्यकक्ष र कक्षाकोठाहरू थिए । टिनको छानो भएको कक्षामा खुला झ्याल राखेर पुस÷माघतिर पढाउनु भनेको सकसपूर्ण काम थियो ।

अलि अघिल्तिर चोकमा एउटा ट्याक्सी देखियो । म नजिकै पुगेँ । तर, चालक थिएनन् । ट्याक्सी पार्क गरेनजिकै ठेलागाडामा सामान राखेर बेच्ने एक व्यापारी देखिए । उनले मैले ट्याक्सी खोजेको आशय बुझे । म जताबाट आएँ, त्यतैतिर हातले संकेत गरे ।

मैले पछाडि फर्केर हेरेँ । एक पाका सवारीचालक देखिए । उनी हातमा चाबी बोकेर मतिरै आए । हाम्रो कुरो मिल्यो । दामको कुरा दुवैले गरेनौँ । सायद उनले र मैले एकार्कामा एउटै मनोभाव पढ्यौँ ।

“भाडाको मोलमोलाइ त्यसले गर्छ, जोसँग सहमतिमा आउने आँट र अनुभव हुँदैन ।”

उनी सर्लाहीका बासिन्दा रहेछन् । भूगोलको सोधीखोजीपछि म ‘कथा संसार’को पोको खोल्न लागेँ ।

“आज ठेलागाडाका ती व्यापारीले तपाईंलाई गुन लगाए । मान्छेले गुन लगाउन जान्यो भने त्यसले कहिलेकाहीँ ठूलो काम गर्छ ।”
उनी सहमत भए । मेरो कुरामा चाख दिए ।

मैले एउटा रोचक प्रसंग सम्झिएँ, कोइलाखानीमा थुनिएको एक मजदुरको ।

मैले उनलाई सुनाएँ—
“खानीमा सुरुङ भएर जानुपर्दो रहेछ । सुरुङको गेट बिहान ९ बजे खुल्दो रहेछ र बेलुका ५ बजेपछि बन्द हुँदो रहेछ । सयौँ मजदुर बिहान एकैपटक भित्र पस्दा रहेछन् र बेलुका सुरुङबाट निस्किँदा रहेछन् । गेटमा प्रायजसो एउटै गेटपाले बस्दो रहेछ । एक दिन एक मजदुर बेलुका भित्र थुनिएछन् । गेट बन्द भएपछि सुरुङको तापमान स्वाट्टै घटेर माइनस हुँदो रहेछ । थुनिएका मजदुरअघि काल मडारिन थालेछ । तर, भाग्यवश आधा मिनेटजति पछि गेट खुलेछ । गेटपाले भित्र आएछन् । र, ती मजदुरको ज्यान जोगिएछ ।”

मैले कथामा रङ भर्न चालक महोदयलाई सोधेँ—
“तपाईं भन्नुस् त, ती गेटपालेले कसरी थाहा पाए होलान् भित्र कोही व्यक्ति थुनिएको कुरा !”

उनले भने— 
“मैले कल्पना गर्न सकिनँ हजुर ।”

त्यस्तो उत्तर आउनु स्वभाविक थियो । यसैले मैले कथाको यसरी बिट मारेँ । 
“ती थुनिएका मजदुरको एउटा विशेषता रहेछ । उनी भित्र पस्दा र बाहिर निस्कँदा गेटपालेसँग आँखा जुधाएर मुस्कुराउँदा रहेछन् र अभिवादन गर्दा रहेछन् । यसैले गेटपालले उनलाई चिन्दा रहेछन् । थुनिएको दिन गेटपालेले मनैमन ‘आज केही फरक भएको छ, ती मुस्कुराउने मजदुर बिहान त भित्र पसेका थिए बाहिर निस्किएका छैनन्’ भन्ने तर्क गरेछन् । यसैले उनले गेट खोलेछन् ।”

सुदर्शन दाहालसँग मेरो आर्ट काउन्सिलमा भेट्ने कुरा थियो । यसैले ट्याक्सी त्यहीँ एक छिन रोकेपछि उनी आए । हामीले पुल्चोक, बखुन्डोलमा नयाँ खुलेको रेस्टुरेन्टलाई गन्तव्य बनायौँ ।

रेस्टुरेन्ट भएको पाँचतले भवन निर्माणको अन्तिम चरणमा छ । यसको छतमा भएको रेस्टुरेन्टमा घामको आनन्द लिन पाइने भएकोले पनि यो मेरो रोजाइमा परेको थियो ।

ट्याक्सीबाट ओर्लनुअघि मैले चालक महोदयलाई सोधेँ— 
“कति पैसा दिऊँ त हजुरलाई ?”
“मलाई पैसाले त हुँदैन हजुर ! मलाई त पूरै ३०० रुपैयाँ चाहिन्छ ।”
“ल हुन्छ ।”

मैले उनलाई ३५० रुपैयाँ दिएँ । उनले आश्चर्यभावमा मतिर हेरे ।
“पचास बढी आयो त हजुर !”
“यो ५० को ती ठेलावालाको कुनै सामान किनिदिनुहोला ।”

उनले मेरो मनसाय बुझे । पक्कै पनि सुरुङमा थुनिएका मजदुरले हाँसेर गेटपालेलाई गुन लगाएको सम्झिए होलान् । उनले आदरभावमा भने—
“म यो ५० उसैलाई दिन्छु हजुर ।”

मेरो दिन बनेको थियो । मलाई लाग्यो– सम्भवतः इमानको यो सगरमाथा सबैले चढ्ने हो भने हामी अर्कै मुलुकका नागरिक हुने थियौँ । मेरो मन द्रवीभूत भयो । यो लेखिरहँदा मेरा आँखामा आँसु छन् । मन भारी भएको छ । ती सवारीचालक र ठेलावालालाई म जिन्दगीभर भुल्ने छैन ।

यो घटनाले मलाई १२ वर्षअघिको एक प्रसंग स्मरण गरायो । नेपाल विकास अनुसन्धान प्रतिष्ठानको कार्यालय धोबीघाटमा थियो । म पुल्चोकको दमकल भएको स्थानभन्दा केही सय मिटर पश्चिममा अवस्थित एक स्टेसनरी पसलमा सामान किन्थेँ । साहुजी रमाइला थिए । म पुगेपछि भन्थे— 
“सर आउनुभयो । अब केही नयाँ कुरा सुन्न पाइन्छ ।”

म पनि उनका कुरा सुनेर मक्ख पर्थेँ । एक दिन सामान किन्ने क्रममा एउटा अविस्मरणीय घटना सिर्जना भयो । एउटा ५ वर्षजतिको बालक आफ्नी बहिनीका साथ त्यही पसलमा सामान किन्न आयो । हुलियाले उनीहरू गरिब परिवारका सन्तान भन्ने जनाउँथ्यो । बालकको रोजाइमा परेको सामानको दाम १५ रुपैयाँ पर्ने रहेछ । तर, ऊसँग १० रुपैयाँ दाम मात्र रहेछ । साहुजी र बालकको कुराकानीले मेरो ध्यानाकर्षण गर्यो ।

“साहुजी, यो ५ रुपैयाँ म दिन्छु । उसले रोजेकै सामान दिनुहोस् ।”

साहुजीले नमान्ने कुरै भएन । बालक खुसी भएर गयो । मेरो र साहुजीको कुरा अन्यत्रै मोडियो । मैले उनको ५ रुपैयाँ दिन बिर्सिएछु । भोलिपल्ट त्यही बाटो भएर म गएँ । साहुजी प्रफुल्ल मुद्रामा भेटिए ।
“के सेवा गरौँ त हजुर ?”

“तपाईंले सेवा दिने होइन । मैले पो हिजो त्यो बाबुलाई सामान किनिदिएको रुपैयाँ तपाईंलाई दिन बिर्सिएछु । यसैले आएको ।”

साहुजीले मतिर एक छिनसम्म एकटक लगाएर हेरे । उनले त्यो ५ रुपैयाँ लिन मानेनन् । त्यसपछि जहिले पनि मैले सामान किन्दा उनी आफैँ भन्थे–
“यसको बजार मूल्यमा हजुरलाई यति छुट हुन्छ ।”

मैले ५ रुपैयाँभित्र लुकेको इमानको शक्ति देखेँ । त्यसले त्यस्ता सयौँ ५ रुपैयाँहरू आफसे आफ मेरो कित्तामा ल्यायो ।
इमानको यो अर्को दृष्टान्त पनि मानसपटलमा चट्टान भएर बसेको छ ।

सुदर्शनजीसँग विद्यालयको वर्तमान शिक्षण सिकाइको तौरतरिकालाई कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा छलफल भयो । पुल्चोकको यो रेस्टुरेन्ट भर्खरै सञ्चालनमा आएको हुनाले ग्राहकहरूको संख्या विस्तारै बढ्ने क्रममा छ । कोरोना कालखण्डमा केही कालो बादलका चाँदीका घेराहरू पनि देखिएका छन् । समग्र नेपालमा धेरैवटा स्तरीय होटेल र रेस्टुरेन्ट खुलेका छन् ।

म भने चौथोपटक त्यहाँ पुगेको थिएँ । यसैले त्यहाँका अधिकांश कर्मचारीहरूले मलाई चिनिसकेका थिए । हामीले बिल भुक्तानी गर्दा हामीलाई सेवा दिने भाइले भनेका थिए—
“सरलाई मैले छुटसहितको बिल ल्याएको छु ।”

मेरा लागि त्यो हर्षको विषय थियो । हामी मूल काउन्टर भएको तलामा ओर्लियौँ । त्यहाँ छोटो अलमल भयो । काउन्टरमा बस्ने अधिकृत कर्मचारी पनि परैबाट मलाई अभिवादन गर्दै आइन् ।

“लौ ! तपाईंहरूको छतमा लाग्ने पारिलो घाम र सुन्तलाको ताजा जुसले मोहनी लगायो । हामी फेरि आयौँ ।”

“धेरै–धेरै धन्यवाद सर । फेरि पनि सेवा गर्ने मौका दिनुहोला ।”

मलाई मैले प्रयोग गरेको ‘मोहनी’ शब्दले धुलिखेलको एउटा बेकरीको प्रसंग याद दिलायो ।

“मैले भने नि मोहनी लगायो भनेर । यो मोहनीको जादु त कमालको पो हुन्छ त !”

“सुनौँ न सर !”

हाम्रो कुराकानीले त्यहाँ भएका अधिकांशलाई तान्यो ।

मैले प्रसंग सुनाए–
“म तपाईंहरूले जस्तै बेकरीको मोहनी लागेर काठमाडौं विश्वविद्यालयको केन्द्रीय क्याम्पसनजिकको त्यो कारखानामा गएँ । बिक्रीकक्ष र कारखाना एकै स्थानमा थिए । एकपटक यसैगरी पेस भएँ । बिक्रीकक्षका अधिकारी मेरो माग पूरा गर्दै थिए । मोहनी शब्दले नजिकै बेकरी परिकार पोको पार्ने काममा खटिएका ४÷५ जना महिलाहरूको ध्यान खिचेछ । सबैले मलाई अनौठो मानेर हेरे !”

मैले उनीहरूतिर लक्षित गर्दै भनेँ— 
“लौ भन्नु त, मोहनी लागेपछि के हुन्छ ?”

समूहकी एक युवतीले मेरो प्रश्नको प्रत्युत्पन्न जवाफ दिइन्— 
“मोहनी लागेपछि के हुनु नि ! मान्छे पागल हुन्छ ।”
सबै खित्का छोडेर हाँसे । अधिकारीले पनि रमाइलै माने ।

“मान्छे पागल भएपछिचैँ के हुन्छ नि ?”
मैले फेरि उनको जवाफमा भर्याङ लगाएँ ।
“अर्को पागलसँग भेट हुन्छ ।”

अब भने छानो उडाउने हाँसो सिर्जना भयो । मेरो भन्डारणमा अर्को प्रश्न थिएन ।

यता वर्तमानमा पनि त्यति नै आयतन बराबरको हाँसो छताछुल्ल भयो । मैले रंगमञ्चको पर्दा लगाएँ । सुदर्शनजी र म लिफ्ट चढेर ओर्लियौँ । 

मैले उनलाई भनेँ— 
“लौ हेर्नुहोस् ! तपाईंको चिसो कार्यालयको कमाल । हामी त्यहीँ बसेका भए यो रमाइलो कहाँ उम्रिन्थ्यो होला त ?”

हामी शुक्रबार अपराह्नलाई बिट मार्दै र फेरि रमाइलो उमार्ने वाचाका साथ छुट्टियौँ ।

१२ खरी 

माघ २२, २०७८

लिङ्क :  https://baahrakhari.com/detail/341002

Friday, September 2, 2022

सेवा केन्द्र विस्तारका प्राविधिक पक्ष

केही वर्ष अघिको प्रसंग हो । नेपालको विकासमा सघाउ पुर्‍याउन आएका एक जापानी विज्ञ उनका समकक्षी नेपाली सरकारी अधिकृतसँग कुनै एक मध्यपहाडी जिल्लाको भ्रमण गर्न गएछन् । गाउँमा विकासको योजना आउन लागेको शंका लागेर एक हुल गाउँले विकासकर्मीहरूको सवारी साधन वरिपरि झ्याम्मिएछन् । तर नेपाली अधिकृतले भने चालकलाई गाडी नरोकिकन लैजाने आदेश दिएछन् । यो देखेर जापानी विज्ञ आश्चर्यमा परेछन् र भनेछन्, यस्तो जनचासो भएको ठाउँमा पो आयोजनाको निर्माण कार्य सहज रूपले अघि बढ्न सक्छ । जापानको गाउँमा कहाँ यस्तो पाउनु ?
 

प्रसंग सेवाकेन्द्र विस्तारको हो । जनतालाई आवश्यक पर्ने सेवालाई घरदैलोमा पुर्‍याउने उद्देश्यले नेपाल सरकारले विस्तार गर्नलागेका सेवा केन्द्रहरूको विवादले अहिले आकाश छोएको छ । बन्द र हडतालमात्र भएनन् । झडपमा दर्जनौं जनता घाइते भएका छन् । धनजनको व्यापक क्षति भएको छ । विस्तार गर्न लागिएका सेवाकेन्द्रका पक्ष र विपक्ष दुवै कित्तामा विरोधका विगुल फुकिएका छन् । स्थानीय जनताहरू पुनः एकपटक विशुद्ध विकासको सवाललाई लिएर सडकमा ओर्लिएका छन् । लाग्छ, उनीहरूले राजनीतिक मुद्दालाई बिर्सिएका छन् । उनीहरूले प्रमाणित गरेका छन्, चुरो कुरो त विकास हो । तर निर्णय गर्ने निकायहरूले आफनो बचाउमा कुनै विज्ञप्ति वा सार्वजनिक वक्तव्य दिएको सुनिएको छैन । स्थानीय प्रशासन आन्दोलन दबाउन उद्यत छ । किन यस्तो भयो ? के गरेको भए जनता यसरी आन्दोलित हुने थिएनन् ? के यो सरकारी निकायहरूको अदूरदर्शिताकै प्रतिफल हो त ? के सेवाकेन्द्रको स्थान छनोट गर्ने निर्णय वैज्ञानिक वा सर्वमान्य अवधारणामा आधारित थियो त ? समानुपातिक आर्थिक विकास विषयमा डिग्री गुँथेका अध्येताहरूले यो विवादको चुरोलाई किन पत्ता लगाउन सकेनन् ? ग्रामीण विकासमा शोध गर्ने विद्यार्थी वा गराउने गुरु, अर्थ वाणिज्यको बिट समातेर बसेका पत्रकारहरू वा यस विषयमा सार्वजनिक बहस चलाउने विकासे संस्थाहरू किन मोतीविन्दुले ग्रसित भए ? र समाधानका कसीहरू किन सतहमा अझैसम्म आएका छैनन् त ? पेचिला प्रश्नहरू सोझएिका छन् ।
 

लेखको आरम्भमा उल्लेख गरिएका विदेशी नागरिकको मुलुक जापानले केही समयअघि राज्यको क्षेत्रगत हिसाबमा पुनःसंरचना गर्ने कार्य अघि बढाएको थियो । यसका दुई प्रमुख वैज्ञानिक आधार रहेका थिए । पहिलो थियो, प्रशासनिक कार्य र व्यापार व्यवसाय गर्नका लागि जनताको घरदैलोबाट सेवाकेन्द्र स्थल सकेसम्म कम दूरीमा हुनुपर्छ । पूर्वाधार विकास र यातायात सुविधाले त्यसलाई समानुपातिक रूपले प्रतिफल दिनेगरी संयोजन गर्नुपर्छ । यसरी उनीहरूले 'एक दिन', 'आधा दिने' र 'दुई घन्टे' जस्ता आर्थिक दूरीका अवधारणा ल्याए । यस अनुरुप जापानको कुनै पनि घरदैलोबाट पूर्वी एसियाका सहरहरू बैंकक, सिंगापुर वा सोल एकै दिनमा आइजाइ गर्न सकिनुपर्ने भयो भने राजधानी टोकियो आधा दिनमा । जिल्ला सदरमुकाम भने 'दुई घन्टा'मा आइजाइ गर्न सकिनेगरी यातायात पूर्वाधार वा जिल्लाहरूको सिमाङन गरिनुपर्ने प्रावधान ल्याइयो । नेपालको राज्य पुनःसंरचना गर्दा पनि यस्तै किसिमले एक भातको वा एक बिहानको बाटोमा राजधानी हुनेगरी प्रदेशहरूको खाका कोरिनुपर्छ भनी पङक्तिकार लगायतका अध्येताहरूले प्रस्ताव गरेका थिए (हेर्नुहोस्, भट्टराई आदि लिखित राज्य पुनःसंरचनाका वैज्ञानिक आधार) । जापानको क्षेत्रगत पुनःसंरचना गर्दा आधार बनाइएको दोस्रो वैज्ञानिक पक्ष थियो, दुई जिल्लाको सिमानामा परेका भूभागहरूमा कम विकास भएको स्थिति । यसरी सिमान्तकृत भूभागलाई केन्द्रमा पारिँदा वा यातायात सञ्जालले जोडिँदा तुलनात्मक रूपमा चाँडै विकास हुने ठम्याइ विज्ञहरूको अध्ययनले देखाएको थियो ।
 

हाल चर्चामा रहेका नेपालका पूर्व-पश्चिम फैलिएका यातायात पूर्वाधारहरू मुख्य चारवटा छन् । पूर्व-पश्चिम राजमार्ग, हुलाकी सडक, मध्यपहाडी राजमार्ग र पूर्व-पश्चिम रेलमार्ग । हाम्रो परिप्रेक्ष्यमा पनि जापानकै जस्तो हिसाबमा सोच्न नसकिने होइन । उत्तर-दक्षिण फैलिएका अन्य सडकहरू र हवाइ यातायातको समेत हिसाब गर्दा के यी प्रस्तावित सेवाकेन्द्रहरू जनताका घरदैलोबाट समान आर्थिक दूरीमा पर्नेगरी प्रस्तावित गरिएका छन् त ? प्रश्नमाथि अर्को प्रश्न तेर्सिन्छ ।
 

दूरदराजमा रहेका जनतालाई सेवा दिने सदरमुकाम वा सेवाकेन्द्रहरू कहाँ राख्ने भन्ने विषयलाई निक्र्योलमा पुर्‍याउने अर्को वैज्ञानिक पक्ष हो, जनसंख्या र केन्द्र स्थापित हुने थलोको धरातलीय सहजता । सामान्यतया सेवा दिनुपर्ने कुल जनसंख्याको १०/१५ प्रतिशत जनसंख्यालाई बसोबास गर्न मिल्ने, सेवाप्रदायक निकायहरूका भवनहरू निर्माण गर्न पर्याप्त जग्गा जमिन भएको र यातायातका पूर्वाधार विकाससमेत गर्न मिल्ने स्थानहरूमा प्रदेशका राजधानी, जिल्लाका सदरमुकाम र सेवा केन्द्रहरू रहनु वाञ्छनीय हुन्छ । किनभने सडक बनेपछि वा केन्द्र घोषणा भएपछि त्यहाँ स्वस्फुर्त रूपमा बसाइँ सरेर आउनेहरूको ओइरो लाग्छ । हालसालै घोषणा गरिएका नगरलाई जोडा अहिले नेपालमा नगरपालिकाको संख्या १ सय ९१ पुगेको छ र सरकारी तथ्यांककै हिसाबमा नगरवासीहरूको संख्या एक करोडमाथि छ । सहरीकरण बढ्नु भनेको आर्थिक समुन्नति हो । विश्व बैंकको सन् २००९ को विकास प्रतिवेदनले भन्छ, भौगोलिक हिसाबले सुविधा बञ्चित र आर्थिक रूपले पछि परेका भूभागका वासिन्दालाई सम्पन्नताको मूलधारमा समावेश गर्ने स्वाभाविक प्रक्रियाहरू हुन्, बसाइँ-सराइ र सहरीकरण । यिनले आर्थिक सघनता बढाउँछन्, अवसरलाई घरदैलोमा पुर्‍याउँछन् र भौगोलिक दूरीलाई घटाउँछन् । यस्तै नेपाल विकास अनुसन्धान प्रतिष्ठानले गरेको एक अध्ययनले के देखाएको छ भने केही दशक अघिसम्म नेपालका १५ सय मिटरमाथि बसोबास गर्ने वासिन्दाहरू बसाइँ-सराइ गरेर अन्यत्र गैसकेका छन् । दस वर्ष अघिका बाह्रविसेका वासिन्दा अहिले प्रायःजसो काठमाडौंवासी भएका छन् । यस्तै अहिले बाह्रविसेमा भेटिनेहरू दस वर्षअघि दूरदराजमा भेटिन्थे । यसरी विगत केही दशकमा नेपाली जनताको बसोबासको मानचित्र व्यापक रूपमा फेरिएको छ । यसलाई वैदेशिक रोजगार र विदेशको बसाइँ-सराइले थप सघाएको छ । तर बसाइँ-सराइको स्वरुप नेपालका सबै भूभागमा एकैनासको छैन । यसकारण कुनै बेला खण्डहर लाग्ने केही स्थानहरू अहिले भव्य सहरमा परिणत भएका छन् भने कतिपय पुराना सदरमुकाम वा सेवा केन्द्रहरू थेग्नै नसक्नेगरी मोटाएका छन् । सदरमुकाम वा प्रसिद्ध स्थल भएर पनि तुलनात्मक रूपमा विकासमा पछि परेका केही सहरहरू हुन्, भद्रपुर, राजविराज, सिरहा, जनकपुर, राजापुर, तुलसीपुर आदि । द्रुतगतिमा विकास भएका केही सहरहरू हेटौंडा, इटहरी, अत्तरिया, डडेलधुरा वा आबुखैरेनी हुन् भने कुनै उल्लेखनीय विकास गर्न नसकेका बस्तीहरू हुन्, भीमफेदी, मुगलिन, मूलघाट, बाह्रविसे, दोलखाको नयाँ पुल वा रुकुमको चौरजहारी ।
 

सेवाकेन्द्र प्रस्तावित गर्दा विचारणीय अर्को पक्ष हो, सहरी विकासका उदाउँदा चुनौतीहरूको आँकलन । नेपालका अधिकाँश नदीनाला दक्षिणतिर बग्छन् । नेपालको आकार लाम्चो भएकोले मूलसडकहरू पूर्व-पश्चिम फैलिएका छन् । यसरी सडक बनेपछि सडकको दुवैतिर सिर्जना भएको सहरको फैलावट पूर्व-पश्चिम दिशामा रहेको छ । यसले गर्दा सडक र बस्तीले एक किसिमको बाँधको काम गर्ने र प्राकृतिक निकासहरू अतिक्रमण भएकाले अलिकति वर्षाले पनि सहरमा बाढी आउने स्थिति बनेको छ । विर्तामोड, उर्लाबारी, लहान, भरतपुर र वीरेन्द्रनगरजस्ता पूर्व-पश्चिम सडकको किनारामा उभिएका सहरहरू अहिले वर्षातमा आउने बाढीबाट आक्रान्त बनेका छन् । गत साल वीरेन्द्रनगरमा आएको बाढीले धनजनको ठूलो क्षति भएको थियो भने केही वर्षअघि नेपालगन्जमा डुंगा नै चलाउनुपरेको थियो । निकासजन्य समस्याले ग्रस्त अन्य सहरहरूमा नेपालगन्ज, वीरगन्ज, काठमाडौं र हालै घोषति सूर्यविनायक नगरपालिका पनि हुन् । यसकारण सेवाकेन्द्र प्रस्ताव गर्दा भविष्यमा त्यहाँ हुनसक्ने सहरीकरण र त्यसले सिर्जना गर्ने समस्याहरूको निराकरण गर्ने सकिने र नसकिने यकिनसमेत गर्नुपर्ने हुन्छ ।
अहिले देखिएको अर्को समस्या जिल्ला, अञ्चल वा विकास क्षेत्रको सिमाङन पनि हो । अहिले नगरकोट सहर दुई जिल्लामा पर्छ । काभ्रे जिल्लातिर पर्ने नगरवासीहरूलाई सदरमुकामको सेवा लिन भक्तपुर हुँदै धुलिखेल जानुपर्छ । यस्तै समस्या बोकेका छन्, काभ्रे र भक्तपुर सिमानामा पर्ने साँगा र पाँचथर, इलाम सिमानामा पर्ने रवि र पाल्पा, स्याङजा, गुल्मीको सिमानामा पर्ने रिडी बजारका वासिन्दाले । भरतपुरबाट नारायणी पुल तरेर हावा खान आउनेलाई सुविधा प्रदान गरेको गैँडाकोटले भोगेको समस्या सर्वविदितै छ । यस्ता समस्याहरू अनगिन्ती छन् र अन्य सहरमा वा जिल्लामा पनि छन् ।
अब लागौं सेवाकेन्द्रको स्थान छनोट गर्ने सर्वमान्य प्रक्रियातिर । सर्वप्रथम सेवाकेन्द्रको स्थापना गर्ने वैज्ञानिक आधार र सर्वमान्य अवधारणाको फेहरिस्त तयार गरी सार्वजनिक गर्नु वाञ्छनीय हुन्छ । यसमा सार्वजनिक परामर्श वा सार्वजनिक सुनवाइ गरी स्थानीयवासीको अभिमत लिनुपर्छ । त्यसपछि प्राविधिक रूपले उचित विकल्पहरू छनोट गरी स्थानीय नेता, बुद्धिजीवी र सामान्य जनतासँग ती विकल्पहरूका सबल र दुर्बल पक्षहरू बारेमा विचार विमर्श गर्नुपर्छ । यसरी उचित विकल्प छनोट गरी र उक्त प्रस्ताव लागु गर्दा कुनै स्थानका वासिन्दालाई अन्याय हुने वा कम सुविधा प्राप्त हुने भएमा उनीहरूलाई राज्यले अर्को कुनै किसिमले न्याय गर्ने उपक्रमको समेत खोजी गरिनुपर्छ । यो कार्य गर्नका लागि राज्यले विकासको मौलिक ज्ञान बाँड्ने पहिलो काम हाम्रो हो भनी ढोल पिटेर हिँडेका विश्वविद्यालय वा अनुसन्धान संस्थालाई संलग्न गराउन सक्नुपर्छ । यसरी सही पद्धति निर्माण नहुँदा यी प्राज्ञिक निकायहरू 'अव्यावहारिक ज्ञान सिर्जना' गर्ने थलोको रूपमा विकसित भएका छन् । यस कार्यमा बाध्यात्मक रूपले संलग्न गराई राज्यले फाइदा लिनुपर्ने अन्य निकायहरू पनि छन् । ती मध्ये नेपालमा दु्रत विकासको विगुल फुक्ने कार्यमा सघाउ पुर्‍याउँछौं भनी वाचा गरी बसेका विश्व बैंक, एसियाली विकास बैंक वा संयुक्त राष्ट्रसंघ विकास नियोग पनि हुन् । यस्ता अवसरले यी साँच्चिकै सारथी हुन् वा घटना दर्शकमात्र हुन् भन्ने प्रमाणित गर्नेछ ।
 

औसतमा केही लाख जनसंख्यालाई प्रत्यक्ष प्रभाव पार्ने सेवाकेन्द्र विस्तारको कामले मच्चाएको यो वितण्डा देखेर आसन्न राज्य पुनःसंरचना वा प्रदेशको सिमाङन वा प्राकृतिक स्रोतको बाँडफाँड गर्दा कत्रो जोखिम मोल्नुपर्ने हो भन्ने कुरा सायद राजनेताहरूले आँकलन गरिसकेको हुनुपर्छ । सेवाकेन्द्रको विवादमा त खालि प्रशासनिक सुगमता वा पाइरहेको सुविधाका विषयहरू केन्द्रमा छन्, तर राज्य पुनःसंरचनामा त जातीय पहिचान वा प्राकृतिक स्रोतको बाँडफाँडका सवालहरू केन्द्रमा छन् । अहिले मडारिएको कालो बादलको चाँदीको घेरो भने यसले मुलुकका तीन करोड जनतालाई नै प्रत्यक्ष प्रभाव पार्ने निर्णय लागु गर्दा कत्रो जोखिम मोल्नुपर्ला भन्ने पूर्वानुमान हो ।
 

अन्त्यमा, आफूलाई सरोकार पर्ने विषयमा कुनै हिच्किचाहटविना आवाज बुलन्द गर्ने क्षमता भएका नेपाली जनतालाई देखेर ती विकास सारथी बन्न आएका जापानी विज्ञ अहिले यहाँ भएका भए सायद भन्ने थिए होला, धन्य नेपाली जनता ! तिम्रो खबरदारी प्रशंसनीयमात्र छैन, तिमीले सरकारी निकायहरू, प्राज्ञिक संघ संस्थाहरू, विकास सारथीहरू र सम्पूर्ण विकास अगुवाहरूलाई एउटा गतिलो झापट दिएका छौ । गैरराजनीतिक विषयमा राजनीति गरी राजनीतिक नेताहरूको त उछित्तो नै काढेका छौ ।
खतिवडा काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक हुन् ।

कान्तिपुर  

चैत्र २५, २०७१

Monday, August 1, 2022

ह्याप्पी ग्रीन डे

 

साउन ११ गते, सोमबार अर्थात साउने सोमबार । अघिल्लै दिन महादेवीको उर्दी जारी थियो, परिवारका सबै सदस्यले ब्रत लिने अर्थात नियमितरूपले सेवन गरिने परिकारमा बन्देज । शाकाहारी भोजन । बिहान शिवजीको पूजाआजा आदि ।

ब्रत भए नि नभए नि नियमित काममा बन्देज हुने कुरो भएन । आजभोलि म ‘पठाओ’ नामक सेवा प्रदायकका ट्याक्सी प्रयोग गर्छु । रङ्गीबिरङ्गी सवारी चालकहरूसँग भेट हुन्छ । कुनैले नक्साको कुरा बुझ्दैन । कुनैलाई कुन ठाउँ कता पर्छ भन्ने थाहा हुँदैन ।

धेरैलाई चार दिशा छुट्याउने भेउ छैन । कोही ग्राहकको सिग्नल अठ्याएर फोन नगरी बस्छन् । कोही फोन गर्छन् र सोध्छन्–

‘कहाँ हुनुहुन्छ ?’

यो प्रश्नले म झस्कन्छु । निचोड निकाल्छु, सवारी चालक व्यावसायिक परेन । अनि सिधा जवाफ दिन्छु ।

‘ठ्याक्कै लोकेसनमा छु ।’

ऊ के कम ! मेरो आशय नबुझी फेरि भन्छ, ‘लोकेशन कहाँ हो र ?’

अब मेरो कन्सिरी तातेर आउँछ । भैरव अर्यालले ‘टाउको’ शीर्षकको निबन्धमा लेखेझैँ ‘तृतीय पुरुष’ सम्बोधन गरेर आक्रोश व्यक्त गर्न मन लाग्छ ।

‘लोकेसन तेरा टाउकामा छ ।’

भित्र जे भए नि बाहिर संयमित हुन्छु । चालकको सवारीसाधन भएको स्थान नक्सामा हेर्छु र म भएको ठाउँमा आउने उपाय बताउँछु ।

आज पनि प्रायः हुने गरेकै दृष्टान्त दोहोरियो । नेपाल थरका एक जना चालकले मेरो सङ्केत अठ्याए तर फोन उनैले गरे ।

‘हजुर कहाँ हुनुहुन्छ ?’

‘म लोकेसनमा छु ।’

‘हुन्छ म जीपीयस चलाएर आउँछु ।’

मैले राहत महसुस गरेँ । नभन्दै उनी आइपुगे । घर सिन्धुली रहेछ । स्नातक तहको पढाइसकेका रहेछन् । कोरिया जाने धुनमा रहेछन् ।

म प्रायः चालकहरूसँग कुराकानी गर्छु । यो अन्यत्र नपाइने र सम्भवत नेपालमा मात्रै पाइने रमाइलो हो । म चालकको घरको भूगोलबाट वार्ता आरम्भ गर्छु । अधिकांशको घर काठमाडौँ बाहिर हुन्छ । जीपीयस जडित ट्याक्सीले कसरी उत्कृष्ट सेवा दिनसक्छ भन्ने कुरा मैले जानेको जति बताइदिन्छु ।

अघिल्लो दिन मलेशियाबाट ठूलो सङ्ख्यामा कामदारका लास नेपाल आएको खबर छापिएको थियो । मैले त्यही खबरलाई अधार मानेर उनलाई नेपालमै इलम गर्ने सल्लाह दिएँ । उनले ध्यान दिएर सुने ।

मेरो गन्तव्य थियो जावलाखेलको बरिस्ता कफी लाभाजा । स्ट्यान्डर्ड चार्टर्ड बैँक भएको भवनको पहिलो तलामा छ यो कफी पसल ।

म केही काम गर्नुपर्‍यो भने मुड बनाउन कफी पसल चाहार्छु । कफी मगायो, ल्यापटप खोल्यो र शुरू गर्‍यो आफ्नो काम । कति सहज पारेको छ प्रविधिले !

पसल, बैंक र कार्यालयहरू भर्खर खुल्दै थिए । म सरासर माथि उक्लिएँ । कफी पसलको अग्रभागमा बाटो छेकेर उभिएका दुई युवती भेटिए । उनीहरू दोस्रो तलामा रहेको क्लिनिकले राखेको जानकारीपाटी हेर्दै केही गफमा मस्त थिए । मेरो सम्बोधनले झस्किए ।

‘एक्सक्युज मी । अलिकता बाटो छोडिदिनुहुन्छ कि ?’

मैले बाटो पाएँ । उनीहरूसँग केही संवाद गर्ने बुद्धि पलाएको आभास भयो । आखिर म ‘प्रत्युत्पन्नमति’ की वाग्देवीको भक्त न परेँ ! म रोकिएँ, १८० डिग्रीको फन्को मारेँ र दुईमध्ये मेरा लागि अधिक बाटो छोडिदिने देवीजीसँग आँखा जुधाउँदै भने,

‘रङ्गमन्च नै बिथोल्नु प¥यो । क्षमा गर्नु होला ।’

उनीहरूले मुखामुख गरे । मैले स्पष्ट पारेँ ।

‘स्टेजको बीचबाट हिँड्नुपर्‍यो भनेको क्या !’

‘के फरक पर्‍यो र आखिर बाटो त सबैको हो !’

मुस्कान मिश्रित आवाज आयो । मेरो प्रत्युत्पन्नमतिको तीरले पूर्णता हासिल गरेको थियो । म तृप्त भएँ ।

दुर्भाग्य ! कफी पसल बन्द रहेछ । अघि आएकै बाटो ओर्लिएँ । अर्को पसलतिर लागेँ । जावलाखेलबाट कुमारीपाटीतिर जाँदा ‘डल्ले मोमोको पसल’ पुग्नुअघिको भवनको चौथो तलामा मेरो रोजाइको अर्को कफी पसल छ । त्यसैलाई गन्तव्य बनाएँ, त्यो पनि बन्द !

त्यसपछि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (जनजिब्रोमा स्टाफ कलेज) को विपरीत दिशामा रहेको हिमालयन हाइल्यान्ड कफी पसल पुगेँ । यो पसलका सञ्चालकसँग म परिचित छु । उनीहरूले बत्तिसपुतली र वानेश्वरमा पनि शाखा चलाएका छन् । अर्को दुर्भाग्य ! त्यो पनि बन्द रहेछ ।

त्यसपछि म पुगेँ लबिम मलको भुइँतलामा रहेको हिमालयन जाभा कफी । यो खुलै थियो । शायद मै पहिलो ग्राहक थिएँ । अमेरिकानो मगाएँ । लामखुट्टेको टोकाइका बाबजुद कफी पिउने र स्लाइडको तयारी गर्ने दुवै काम सम्पन्न भए ।

म पुल्चोकस्थित कार्यालयमा मध्याह्न १२ बजेतिर पुगेँ । अपराह्न साढे दुई बजे एशियाली विकास बैँककी परियोजना अधिकृतसँग जुम बैठक तय थियो । कोरोना कहरका कारण उनी लन्डनमै बसेर काम गर्दैछिन् । हाम्रा सबै काम भर्चुअल दुनियाँमा सम्पन्न हुन्छन् । म कहिलेकाहीँ ‘देवी प्रसङ्ग’ सिर्जना गरेर साथीभाइसँग ठट्टा गर्छु ।

‘म आजभोलि दुई देवीको निर्देशन पालना गर्छु । एक महादेवी र अर्की कामको रिमोट हातमा लिएर लन्डनमा बस्ने देवी ।’

छलफलको लागि गृहकार्य एक बजेतिरै सकियो । मसँग अब साढे एक घण्टा समय थियो । म जिउ तन्काउन कार्यकक्षबाट बाहिर निस्किएँ । वित्तीय व्यवस्थापकसँग भेट भयो ।

‘साउने सोमबारको शुभकामना ।’

‘हजुरलाई पनि शुभकामना । सरलाई म पनि सम्झिरहेकी थिएँ । एउटा चेक दिनु थियो ।’

कतिपय कार्यालयमा लेखा शाखा र प्रशासन शाखाका कर्मचारी भेट भए म ठट्यौली पारामा भन्छु–

‘मलाई लेखा शाखामा जाऊँ जाऊँ लाग्छ, त्यसले बोलाइरहोस् जस्तो लाग्छ तर प्रशासनपट्टि भने आँखा लाउन पनि मन लाग्दैन ।’

यसरी रमाइलो उम्रिन्छ । कार्यसम्पादनसँग जोडिएका यस्ता ठट्यौली र विनोदप्रिय कुराकानी नै कार्यालयहरूमा लम्पसार परेर मडारिइरहने मलामी–गाम्भीर्य चिर्ने अस्त्रहरू हुन् ।

चेक लिएर आफैँ बैँक जाने निधो गरेँ । पुल्चोकको मेरो कार्यालयका वरिपरि धेरैवटा वाणिज्य बैँकका शाखाहरू छन् । तोकिएको बैँकको चेक सटही काउन्टरमा पुग्दा खासै भिड थिएन । सुरक्षाकर्मीले मलाई एकछिन पर्खन आदेश दिइन् । अधिकांश काउन्टर बन्द थिए । केही मिनटको पर्खाइपछि काउन्टरमा एक महिला कर्मचारी उदाइन् । मैले अघि बढ्ने आदेश पाएँ ।

उनी चेकलाई नगदमा रूपान्तरण गर्ने काममा लागिन्, म उनलाई नियाल्न लागेँ । निधारमा रातो टीका थियो, नाडीमा हरिया चुरा, हरियै सलवारकुर्ता लगाएकी थिइन् । साउने सोमबारको फल प्राप्त गर्ने कित्तामा यी चेली पनि रहिछन् !

दुई वटा हस्ताक्षर गरी मोबाइल नम्बर पनि लेखेर मैले चेक बुझाएँ ।

उनी चेकलाई नगदमा रूपान्तरण गर्ने काममा लागिन्, म उनलाई नियाल्न लागेँ । निधारमा रातो टीका थियो, नाडीमा हरिया चुरा थिए । हरियै रङको सलवारकुर्ता लगाएकी थिइन् । साउने सोमबारको फल प्राप्त गर्ने कित्तामा यी चेली पनि रहिछन् ! उनले मतिर हेरिन् र औपचारिक प्रश्न सोधिन् ।

‘यो रकम तपाईंको तलब हो ?’

‘होइन ।’

‘उसो भए के को आम्दानी हो त ?’

बैंकिङ कारोबारको बारेमा मेरो ज्ञानभण्डार सानो छ । सेयर कारोबार गर्न पनि खासै रुचि छैन । सानोतिनो रकमको पनि केरकार गर्नुको अर्थ देख्दिनँ । विदेशी मुद्रा सटही गर्दा पनि यो झन्झट मैले व्यहोरेको छु । अमेरिकी डलरका हरेक नोटहरूको नम्बर कागतमा लेख्न लगाउँछन् । सानोतिनो नगद सटहीका लागि पनि घण्टौँ लाग्छ । विदेशमा, खास गरी विमानस्थलहरूमा, चुट्कीभरमा यी काम हुन्छन् ।

‘मेरो संस्था सेवाप्रदायक हो । मैले परामर्श सेवा दिए वापतको रकम हो ।’

उनले प्रतिप्रश्न गरिनन् । मैले रकम समातेँ अनि उनीतिर हेर्दै भनेँ, ‘थ्याङ्क यू, ह्याप्पी ग्रीन डे !’

उनले नबुझेको जस्तो गरेर हेरिन् ।

‘तपाईंले पनि साउने सोमबार मानेको जस्तो लागेर शुभकामना दिएको ।’

उनी मजैले हाँसिन् । मास्क लगाएकाले अनुहारको पूरै भाव पढ्न सकिनँ ।

‘थ्याङ्क यु सो मच ।’

उनी मेरो शुभकामनामा सहज प्रस्तुत भइन् । यसरी साउने सोमबारको साधना दोस्रो पटक प्रखरित भयो । म कार्यालय फर्किएँ । लन्डनकी देवीजीसँगको छलफल परिणाममुखी भयो ।

बिहान शिवजीको पूजा गर्दा मैले रातो अक्षताको टीको लगाएको थिएँ । विदेशीहरूलाई चासो पर्ला भनेर मैले देवीजीलाई जुमको भिडियो खोल्नासाथ भनेँ ‘आजको सोमबार नेपालमा पर्वको रूपमा मनाइन्छ । यसैले मैले निधारमा रातो टीका लगाएको छु ।’

भर्चुअल प्लेटफर्ममा आजभोलि छलफल गर्दा भिडियो खोलेर बोल्न मिल्ने सुविधा छ । कतिपयले यो सुविधाको सही उपयोग गरेका छन्, कतिपयले जानेका छैनन् ।

केही दिनअघि एक विशिष्ट व्यक्ति मदिराले लट्ठ भएको अवस्थामा जोडिएका थिए । कतिपयले पृष्ठभूमिका अनावश्यक दृष्यहरू देखाउँछन् । कोही पहिरनको बेवास्ता गर्छन् । कोही चियाखाजा खाइरहेको भिडिओ देखाउँछन् ।

अपराह्न पनि म थप दुई वटा जुम बैठकमा सहभागी भएँ । पहिलो थियो डा. रुजु शर्माले संयोजन गरेको छलफल । उनले भिडियो खोलिन्, हरियो वस्त्र लगाएकी थिइन् तर निधारमा टीको भने देखिनँ । मैले शुभकामना दिँदै भनेँ, ‘हरियो दिनको शुभकामना । अनि खै त टीका ?’

उनले प्रसन्नतापूर्वक जवाफ दिइन् ।

‘सानो लगाएकी थिएँ, मेटिइसकेछ ।’

दोस्रो थियो रोटरी नारी समूहले आयोजना गरेको ‘एजलेस ट्यालेन्ट’ अर्थात ‘उमेरविहीन प्रतिभा’ विषय केन्द्रित छलफल ।

मेरा दौँतरी स्वर्गीय सूर्यमान शाक्यले मलाई सन् २०१० मा रोटरी क्लबको सदस्य बन्न सिफारिस गरेका थिए । यो क्लबको सदस्य भएर मैले स्वदेशी र विदेशी गरी धेरैवटा क्लबहरूका बैठकहरूमा सहभागी मौका पाएको छु । अहिले नेपाल लगायत संसारभरि नै असल नेतृत्वको खाँचो छ । रोटरी अभियानले त्यो खाँचो केही हदसम्म सम्बोधन गर्न सक्छ भन्ने मलाई लाग्छ ।

सोमबारको त्यो कार्यक्रममा नेपाल र भारतका विभिन्न रोटरी क्लबहरूमा विशिष्ट पदाधिकारी नारीहरूको उपस्थिति थियो । पूर्व गभर्नर जया शाह र यो वर्षका गभर्नर सन्तोष रिजालको उपस्थिति थियो ।

केही बेर सुनेपछि मैले हात उठाएँ ।

यसरी कुनै समारोहमा वा सामूहिक भेलामा आफूलाई प्रदर्शन गरी एकै झ्वाँकमा भुइँमान्छेबाट नायक बन्न सक्ने अद्वितीय गुणले भरिभराउ थिए मेरा मित्र सूर्यमान । उनले मलाई धेरै गुन लगाएका छन् । मैले उनैलाई सम्झिँदै यो कार्यक्रममा पनि ‘नेतृत्व कौशल’ को त्यो कडी प्रदर्शन गर्ने सुर झिकेँ ।

कार्यक्रम सञ्चालिकाले मलाई अवसर दिइन् ।

मैले भनेँ, ‘मैले अहिले भर्खरै गुगलदेवीको सहयोगले के थाहा पाएँ भने रोटरी क्लबको ११५ वर्षको इतिहासमा एक नौलो काम हुन लागेको छ । पहिलो पटक एक नारी आरआई प्रेसिडेन्ट अर्थात रोटरी क्लबकी अन्तराष्ट्रिय अध्यक्ष हुन लागेकी छन् । ती भाग्यमानी नारी हुन् क्यानाडाकी जेनिफर जोन्स । म यो सभामा के निवेदन गर्न चाहन्छु भने तपाईंहरूसँग पनि त्यो ताकत छ । नारी नेतृत्वका गहिरा खाडलहरू पुरिन बाँकी छन् । नेपालले पहिलो महिला प्रधानमन्त्री पाएको छैन । भारतले दोस्रो महिला प्रधानमन्त्री पाएको छैन । नेपाल रोटरीको पहिलो महिला गभर्नर आदरणीय जया शाह यहाँ उपस्थित हुनुहुन्छ । दोस्रो महिला गभर्नर हुने अवसर तपाईंहरूसँग छ । यहाँ उपस्थित हुनुभएका सम्पूर्ण नारी प्रतिनिधिलाई नायकत्वको सगरमाथा आरोहण गर्नका लागि हृदयदेखि नै शुभकामना दिन्छु ।’

मेरो सम्बोधनमा ताली बजेका केही सङ्केतहरू देखिए । पछि मेरो प्रशंसामा डा. दिनेशराज मानन्धरको फोन आयो ।

मलाई लाग्यो, हरियो दिनको सबैभन्दा सशक्त शुभकामना त्यही थियो ।

दिउँसो साटेको चेकको रकम खाममा राखेर दिइएको थियो । त्यो खाम मैले सटको खल्तीमा ठाडो पारेर राखे । यो तरिका पनि मलाई सूर्यमानले नै सिकाएका थिए । घरमा पुगेपछि खामले महादेवीको ध्यानाकर्षण गर्‍यो । उनको मुहारमा प्रसन्नताका लहर देखिए । उनले मैले प्रसार गरेको मौन भाकाको सन्देश सहजै बुझिन् ।

मनमनमा भनेँ, ‘ह्याप्पी ग्रीन डे कैलाशपति ! आजको मेरो दिन सफल भयो ।’

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ७ : ५५ बजे 

 लिङ्क : https://www.khabarhub.com/2021/31/293451/

Saturday, July 16, 2022

उनको मसँग जे थियो !

माघ ६ गते अर्थात जनवरी २० को विहान म मिर्मिरेमै उठें ।

सरस्वती पूजा पनि भएको र दिनभरी नै व्यस्त रहनु पर्ने भएको हुनाले योजनाबद्ध तरिकाले समय व्यवस्थापन गर्नु पर्नै हाँ मेरो सामु लमतन्न परेको थियो । आज भारतका प्रख्यात योग गुरु रामदेवले नेपालीहरुका लागि हरिद्वारमा आयोजना गरेको योग शिविरको अन्तिम दिन हेर्ने मेरो अभिलाषा तुषारापात गरिदिएको थियो लोडसेडिले । जम्मा १५ मिनट भए पनि समापनको दिनको प्रारम्भिक सम्बोधन कार्यक्रम हेर्न पाएकोमा म सरस्वती माताप्रति कृतज्ञ भएको थिएँ

मेरो नित्य योग सकेर जे त पर्ला भनी चीसै पानीले नुहाउने विचार गरें । बाथरुमको सावर मर्मत गर्न दिएको हुनाले वैकल्पिक धाराको टुटीबाट वाल्टीमा पानी भरी मगले खन्याउनुपर्ने भयो । पानी सिधै टबको एक छेउमा मात्र खस्ने गरी त्रुटिपूर्ण तरिकाले धारो बनाईएको हुनाले बाल्टी भुईँमा राख्दा पानी पाखा जाने भयो । अगाडि तेर्सिएको समस्या काटेको सानो टुक्रा पाईपले समाधान गर्न सकेन । केही दिनअगाडि हेरेको अमिर खानको थ्रि ईडियट चलचित्र सम्झदै परि्स्थतिजन्य समाधान खोज्नेतिर मेरो दिमाग लागिसकेको थियो । प्लास्टिकको एउटा झोलाले मेरो समस्याको अल्पकालिन समाधान गरिदियो ।

पूजा कोठामा सरस्वतीको आराधाना गरेँ । आज मेरो साथ दिन आईपुग्ने सरस्वती यन्त्र यहीँ ल्याएर राख्छु भन्दै पुस्तकमा उपलव्ध केही र आफैँलाई कण्ठ आउने दुईवटा मन्त्र जपें । त्यसपछि म पुत्र सिरिनसँग मेरो कार्यालयको नजिक स्थापित सरस्वतीको मन्दिर गएँ

सवैभन्दा पहिला मैले मन्दिरलाई दाहिने परिक्रमा गर्ने सोचका साथ मन्दिर प्राङ्गणको बाह्य वृतमा पाईला राख्दा राख्दै बायाँतिर रहेको विशाल घण्टीमा मेरो ध्यान गयो । दर्शनार्थीको लाम छिचोलेर मैले घण्टितिर हात के बढाएको थिएँ रातो सारीमा सजिएर लाममा उभिएकी म भन्दा केही बर्ष पाकी देखिने महिलाले पनि घण्टिमा हात बढाईन् । हाम्रा हातहरु एकै पटकजस्तो अघि वढे तर मैले उनको पालो मिचेको जस्तो अनुभूति गरें । यो अनुभूतिमा मैले उनको अनुहार हेरें । तिनले पनि मलाई हेरिन । हामी हेराहेरमा अलमलियौँ । घण्टि बजाउने अवसर अरुले नै लिए । मलाई केही हतार थिएन । केही क्षणम घण्टि खाली भयो । अब घण्टि बजाउने मेरो पालो थियो । ती महिलाको ध्यान घण्टि भन्दा अन्यत्रै गैसकेको थियो । अब म एक्लो थिएँ । घण्टि पुरै मेरो नियन्त्रणमा थियो । मैले ती महिलालाई यो पालो तपाईको हो भनेर सङ्केत गरें । उनले अति नै भव्य मुस्कानले मेरो सँकेतको प्रत्युत्तरमा घण्टि बजाईन् । मैले सरस्वती देवीको प्रांगणमा एक अपरिचित व्यक्तिलाई उनले चाहेको केही दिन सकें । सार्‍है हर्षित भएं । मैले उनलाई मेरो आफ्नो केही दिईनँ

उनको मसंग जे थियो त्यहि दिएँ

मलाई लाग्यो आजको पावन तिथिमा दिनको शुरुवात अति नै विशिष्ट रुपमा भएको छ ।

धोविघाट र झम्सिखेलको साँधमा वनाईएको यो आस्थाको केन्द्रमा शारदादेवीका दुई मूर्तिहरु प्रतिस्थापन गरिएका छन् । मैले ठूली शारदाको चरण स्पर्श गर्दै एक वालिकासँठट्टा गरेको थिएँ-विद्यादेवी र तिमीमा को अग्लो ?

जवाफमा तिनले अविस्मरणिय मुस्कान फर्कान् । मुस्कानको प्रत्युत्तरमा मैले भनेँ-तिमी पनि भविष्यमा यस्तै अग्ली हुन्छ्यौ !

नेपालमा रमाउनुको आनन्द यसैमा छ । तपाईँ जुन सुकै समयमा जहाँ पनि रमाईलो वाँड्न सक्नु हुन्छ र यसले जीवनलाई घनिभूत वनाउन सक्नु हुन्छ । अहिलेसम्म मैले सार्वजिक स्थल या सवारी साधनमा अरुको म संग थाँति भएको रमाईलो बाँड्न पाएको छु । म संग कुरा गर्ने अपरिचितले असुरक्षित महशुस गरेको सम्झना छैन् । हामी नेपालीको लागि यसरी खुलेर एक अर्कामा हराउन सक्ने स्थल म घुमेको विश्वमा कहीँ फेला पारिनँ । यो हाम्रा पुर्खाले हामीलाई सुम्पेर अहिलेसम्म सुरक्षित रहेको हामी सवै रमाउन सक्ने अमूल्य निधि नै हो

मन्दिर परिसरमा अर्को पनि एउटा अविस्मरणिय क्षण सिर्जना भयो । मन्त्र लेखिएको सुनको जलप लागेको सरस्वति यन्त्र सधैको लागि म सँग हुने क्षण थियो त्यो । मैले एउटा यन्त्रको माग राखें, प्रसाद पनि वितरण गरिरहेका भाईहरुसँग । सिरिन नजिकै थियो । पहिले देखि योजना नगरेको एउटा विचार मनमा उव्जियो र सोधेँ-तिमी पनि एउटा यन्त्र लिन्छौ त ?

उसले सकारात्मक भाव जनायो । यन्त्र वापत लिईने सहयोगको रकम तिर्न के लागेको थिएँ, उसले भन्यो-म यो अस्तिको एक हजारवाट किन्छु ।

केही समय अघि एउटा प्रवचन दिन जान तयार हुदै गर्दा विचार गरिएर छानिएको टाई र जुत्ता लगाउदै मैले उसलाई भनेको सम्झे-मेरो प्रवचन प्रभावकारी बनाउन मेरो व्यक्तित्वमा यिनले पनि केही मूल्य थप गर्छन् । 

"त्यसो भए हिँडने वेलामा दक्षिणा दियो भने साईत पर्छ भन्छन्; तपाईँँग अहिले त्यो अवसर छ"

उसले ठट्टामा भनेको थियो । उसलाई रु ५०० चाहिएको रहेछ ।

मैले पनि त्यो अवसरलाई थप उत्पादनमूलक वनाउने लक्ष्यका साथ उसलाई एक हजारको नोट तेर्स्याउदै भनेको थिएँ-म तिम्रो तर्कवाट प्रभावित भएँ । रु ५०० तिम्रालागि । बाँकी रु ५०० ले भने मैले नसोचेको कुनै गहकिलो काम गर्नू 

उ आश्चर्यचकित भएको थियो ।

ओहो ! यो त मैले नसोचेको काम भयो । म हर्षविभोर भँए । मलाई पुत्रसुखको एक अर्को क्षण भेटेको अनुभूति भयो । केही समय अघि मन्दिर आउदैँ गर्दा मैले ट्याक्सी चालक माईल्दाईलाई ठट्यौलि पारामा भनेको थिए

 "असल पुत्र हुन सजिलो कि असल पिता ? "

रामदेव गुरुले पटक पटक भन्ने गरेको "असल शिष्य भन्दा असल आचार्य बन्न कठिन छ" वाक्य यहाँ स्मरणीय छ । असल पुत्र या शिष्य हुने अभिभारा आफ्नो हातमा हुन्छ तर आचार्य वा पिता बन्ने या नबन्ने भन्ने कुरा अरुको हातमा । अरुको मन जित्न विवेक, विचार र व्यवहारले मात्र सकिन्छ; जुन सहज हुँदैन । मन नजिती न त असल पिता वन्न सकिन्छ न त असल आचार्य नै ।

भगवतीको दर्शन पश्चात म समीपको मेरो कार्यालय गएँ र केही काम गरेँ। दिउँसो म सम्मिलित हुनु पर्ने तीनवटा प्रमुख गतिविधि थिए । पहिलो, कोटेश्वर महादेवस्थानको एउटा ब्रतबन्धको कार्यक्रम, दोस्रो दुई बजे शिक्षा मन्त्रालयको एउटा बैठक र अन्तिम, छोरीको विद्यालयको सांस्कृतिक कार्यक्रम अवलोकन । संयोग नै हुनु पर्छ, कुनै न कुनै रुपमा यी सबै गतिविधि सरस्वतीको आशीर्वाद आवश्यक पर्ने समूहमा भएको मैले बोध गरेँ

सरस्वती पूजाको भोलिपल्ट भक्तपुर बहुमुखी क्याम्पसमा व्यक्तित्व विकास र नेतृत्व शीर्षकमा दिनु पर्ने प्रवचनको लागि आवश्यक प्रोजेक्टर र स्पीकर बोकेर कार्यालय नजिक ट्याक्सी खोज्दा मध्यान्हको १२ बजिसकेको थियो । ब्रतबन्धमा सहभागी भएर डा. तारानिधि भट्टराईलाई १ बजे भेटी पुतलिसडकवाट शिक्षा मन्त्रालयको वैठकमा आवश्यक पर्ने सिडी समेत सङ्कलन गर्नु पर्ने भएकोले मेरो मन आत्तिई सकेको थियो सबै काम समयमा भ्याउन सकिन्नकि भनेर ।

म सामुन्नेको एउटा ट्याक्सीमा केही नभनी म सामान राखेर बसें । सीटमा बसी सकेपछी मोलमोलाई गर्न थाल्योमैले मिटरमा मात्र जाने भने । उसले अडान छोडेन । मैले त्यो सवारी छोडेँ 

दोस्रोले मान्यो । मैले ट्याक्सी यात्राको समयको पुरा सदुपयोग गरें मोवाईलको मदतले । घरमा सम्पर्क गरी छोरीको कार्यक्रमको लागि आवश्यक भिडियो क्यामेरा लिएर घर नजिकैको मोडमा आईराख्न अराएँ । सोचे अनुसारको काम भयो । ट्याक्सीबाट नओर्लिकनै प्रोजेक्टर र स्पीकर को ठाँउ भिडियो क्यामेराले लिई सकेको थियो ।

महादेवस्थानमा पुगेर ब्रतबन्ध स्थल खोज्दै थिएँ, लौ ! यो त सोच्दै नसोचेको कुरा भयो । जता हेरे पनि जग्गे मात्रै । श्रीपन्चमीको साईतमा विवाह बन्धनमा बाँधिने र ब्रतबन्धमा दीक्षीत हुनेहरुको भीड मात्रै । मलाई त आफू सम्मिलित हुने जग्गे पत्ता लगाउन हम्मे हम्मे पर्यो । यस्तो वेलामा हो मन्दिर परिसरमा आसिन सामाजिक संघ सस्था या प्रहरीले मदत पुराउने । मैले उपस्थित एक प्रहरीलाई सोधे पनि । उनी त म भन्दा पनि अनभिज्ञ पो रहेछन् ।

सुरक्षा र सूचना एकअर्काका परिपुरक छन् । सुरक्षाको अनुभुति गराउने पहिलो पक्ष भनेको सूचना नै हो । तर त्यहां पहिलो थियो, दोस्रो थिएन् । केही समय अघि मैले कसैसंग व्यक्त गरेको थिएँ-हाम्रो समस्या भनेको सीसा नहुनुको होईन, थुप्रिएको कसिगंर कसरी बढार्ने भन्ने मात्र हो ।

म एउटा समूह वाट अर्को समूहमा जादै परिचितहरुको अनुहार खोज्न थालेँ । लगभग १० मिनटको मिहिनेत पछी सामान्य हुने स्थिति भयो । अचम्म ! वटुकहरु त तीन जना पो रहेछन् । म संग दुईवटा मात्र खाम थिए । अर्को आपद आईपर्‍यो । मैले एक वटुकका अभिभावकसंग मलाई हतार भएको अनुरोध गरेँ । उनले भिक्षा दानका लागि अरु १० मिनट लाग्ने जानकारी दिए ।

अव म सँग १० मिनटमा सक्नु पर्ने तीन वटा काम थिए । महादेवस्थान परिसरमा नै रहेको ज्ञानदेवीको मन्दिर पुग्ने, खाम किन्ने र शौचालय प्रयोग गर्ने । म विजुलीको बेगमा पसल भएको स्थानतिर आएँ र खाम पाउन सकिने सम्भावना भएको पसलमा गएँ । पसलमा दुई जना बहिनी थिए । मैले खाम मागे । उनीहरुसंग भएको खाम सानो आकारको मात्र रहेछ । उनीहरु किन सानो खाम राम्रो भनेर तर्क राख्न थाले । मैले तिन वटा खाम लिएर तिनमा पैसा राख्न थालेँ । ल ! मसँग रु ५०० को नोट मात्र रहेछ तर खामको मुल्य २ रुपैया मात्र । साहूनी बहिनीहरु खुद्रा नभए त हूदैन भन्ने तिर गए म परिस्थितिजन्य उपाय सोच्ने तिर लागेँ । केही उपयोगी अलि मूल्य बढी भएको सामान छ की भनेर नजर घुमाउन थालेँ

पसलमा त्यस्तो केही थिएन तर मैले तुरुन्तै एउटा नौलो समाधान सोचें । तीनवटाको सट्टा मेरा दुई खाम दिने । उनीहरुले माने । मैले समयको भरपूर सदुपयोग गर्दै साहुनी बहिनीहरुलाई सरस्वति मन्दिर स्थल कहांनिर हो, सोधेँ। मैले परिसरको पूर्वी भागमा रहेको सरस्वती माताको मन्दिरमा पुगेर दर्शन गरेँ । अव मेरो १० मिनटको समयसीमा सकिदैँ थियो । शौचालय प्रयोग गर्ने काम भने बाँकी नै थियो ।

म परिसरको उत्तरमा रहेको सार्वजिनक स्थल व्यवस्थापनमा सहयोग पुर्‍याउने कार्यालयमा पुगे र कार्यकक्षमा आसिन एक महिला कर्मचारीलाई शौचालय कता छ भनेर सोधे । उनको जवाफले मेरो समस्या समाधान नहुने भयो । उनले जम्मा एउटा शौचालय भएको तर त्यसमा चाबी लागेको यथार्थ वताईन् । म रनभुल्लमा परे

राज्यले केही समय अघि सम्पन्न गरेको कालापत्थरको जलवायु परिवर्तनको मन्त्रिपरिषदको वैठक सम्झे । कोपेनहेगनमा राज्यका प्रमुख कार्यकारीले अगुवाई गरेको नेपालको जम्बो सहभागिता सम्झे । महादेवस्थान परिसरमा यो जस्तो कुनै विशेष समयमा जम्मा हुने सयौं मान्छे, शौचालयमा लागेको चाबी र राज्यका प्राथमिकताका विषयहरु सम्झे । मैले शीशामा अर्को सघनरुपले टासिएको कसिंगर देखें ।

मैले निमेषभरमा नै वटुकहरुलाई दक्षिणा दिने र मुखशुद्धि गर्ने काम सकें र अभिभावकहरुसंग विदा भए । अब मलाई ट्याक्सी लिएर डा. भट्टराईकहा पुग्नु थियो । म हतार हतार गर्दै महादेवस्थान परिसरको पश्चिम उत्तरमा अवस्थित सिढि ओर्लिए । अव मलाई तीनकुनेको कान्तिपुर परिसरको आसपास सम्म हिड्नु पर्ने वाध्यता थियो । भिडियो क्यामेरा र मेरो ल्यापटप भएको झोलाको कारण म द्रुत गतिमा हिड्न पनि नसक्ने स्थितिमा थिए । सिंढिको फेदमा के पुगेको थिए मुलवाटो मा जाम भएर वैकल्पिक वाटो समातेको एउटा नेपाल यातायातको वस पो फेला पर्‍य 

धन्य ! वीणापुस्तक धारिणि ! तिम्रो आशिर्वाद । बसमा म बसेको सीट पछाडी शान्तिनगरमा अध्यापन गर्ने परिचित दिज्यू हुनुहुदो रहेछ । मैले ज्ञानदेवीको पूजा गर्ने दिनको शुभकामना बाडे । अव मैले डा. भट्टराईलाई मेरो परिवर्तित यात्राको बारेमा जानकारी दिनु पर्ने थियो । मोवाईल सम्पर्क भयो उहालाई नै ट्याक्सी लिएर आउन भने । हाम्रो १० मिनटपछि शान्तिनगर द्वारमा भेट गर्ने सल्लाहा भयो । मैले दिज्यूसंग विदा माग्दै पैसा तिर्ने पर्स छाम्दा फेरी मसंग खुद्रा नभएको यथार्थ सम्झिए र खलासी भाईलाई त्यो सत्य बताए । दिज्यूले म दिन्छु भन्नु भयो । मैले धन्यवाद भन्दै त्यो पर्म कुनै दिन तिर्ने कबोल गरे

शान्तिनगरमा ओर्ले पछि मेरा "भोलिपल्ट प्रवचनमा बाड्नु पर्ने सामाग्रीको फोटोकपी गर्ने र छोरीको कार्यक्रमको लागि भिडियोको चक्का किन्ने " दुईवटा काम सम्पन्न गर्ने अवसरको खोजीमा लागें । म उपयुक्त पसलको खोजीमा थिएं । उत्तरतिर फोटोकपी पनि लेखेको, फोटो स्टुडियो पनि भएको पसल देखेर त्यतै लम्के । ढाड घाम तिर फर्काएर कुर्सीमा बसेकी साहुनी वसेर बाधिएका हातमाथी टाउको राखेर आराम गरिरहेकी थिईन

सिंढि चढेको आवाजले तिनी चनाखो भईन् ।

मैले सोधें-यु ह्यभ ईलेकट्रिसिटि ?

उनले भनिन-नो ।

हाम्रो विगतको शिक्षा नीतिले दिएको राम्रो विषय हो । जो पनि अलि अलि मात्र भए पनि किन नहोस अङ्ग्रेजी बुझ्छ वोल्दछ ।

हुन ता हामीमा नराम्रो र विग्रेको विगत मात्र देख्ने संस्कारले डेरा जमाएको छ किन भने सीसा कुचो लगाउनु पर्ने कसिगंर नै कसिंगरले ढाकिएको छ तर खोजी गरे हामीले गरेका काम मध्ये राम्रा पनि नभएका होईनन् । उनको जवाफ मेरो एउटा काम नहुने संकेत थियो । उनले मलाई आवश्यक चक्का पनि नभएको बताईन् ।

मैले परिस्थिति प्रतिकुल भए पछि रमाईलो थप्ने उदेश्यले भने-उसो भए के पाईन्छ त यो पसलमा ?"

उन केही बोलिनन्

मैले भने-मलाई थाहा भयो के पाईन्छ यहा । ग्राहक नआएर हातमाथी टाउको राखेर घाम तापिरहेकी साहनी पाईन्छ यो पसलमा ।

उनि खित्का छोडेर हासिन् ।

यसको प्रभाव पर्‍यो । उनले मलाई खुला मनले मदत गरिन । चक्का पाईन सक्ने पसल देखाईदिईन् । मैले दोस्रो पसलमा चक्का किन्दै गर्दा राजमार्गको अर्कोतर्फ लोडसेडिगको क्षेत्र फरक भएको र विजुली हुनसक्ने जानकारी लि्ईसकेको थिए । नभन्दै हो रहेछ । तर फोटोकपी पसलमा भीड र साहुभाई एक जना मात्र । मैले वाक शक्तिको लगानी गरे र दुईवटै यन्त्रले मेरो काम गर्ने भए म फोटोकपी गर्छु भने । उनले माने । मैले केही मिनटमानै १५० प्रति फोटो कपी गरे र सडकमा आए । डा. भट्टराई ट्याक्सी रोकेर मलाई खोज्दै हुनुहुदो रहेछ।

हामी पुतलीसडकमा सिडी संकलन गरी जयनेपाल हल तिर लाग्यौ । भोलिको प्रवचनमा सहभागिहरुको वीचमा प्रतिस्पर्धा गराई जगदीश घिमिरेको अन्तर्मनको यात्राथ्रि ईडियट चलचित्रका दुईवटा टिकट पुरस्कारमा राख्ने निश्चयमा थिए म । थ्रि ईडियटमा परिस्थितिजन्य समस्या समाधानका राम्रा उदाहरण छन् । जयनेपालमा टिकट किनेर शिक्षा मन्त्रालय पुग्दा घण्टाघरले दुई बजेको संकेत दिईसकेको थियो । एक घण्टामा त्यहांको काम सकेर मलाई तीन बजे प्रज्ञा प्रतिष्ठान पुग्नु थियो छोरीको कार्यक्रम हेर्न ।

सरस्वत पूजाको साईतमा म शिक्षा मन्त्रालय पुगेको थिए । केशर महलको वीचको प्रांगण छिचोलेर बैठक हुने कोठामा जांदै गर्दा शिक्षा मन्त्रालयले मलाई प्रदान गरेका दुई अमूल्य उपहारको संझना मलाई भयो । पहिलो थियो, २०३६ सालको प्रवेशिका परिक्षामा प्रथम श्रेणीमा उतिर्ण गरेका विद्यार्थीलाई शिक्षा मन्त्र मरिचमान सिंहको हस्ताक्षर भएको प्रमाण पत्र । अर्को कोलम्बो योजना अन्तर्गत भा्रतमा ईन्जिनियरि पढ्न पाएको छात्रवृति । आज म जहा छु त्यहा पुर्याउने संयन्त्र त्यै छात्रवति हो ।

मैले यो पावन अवसरमा शिक्षा मन्त्रालयलाई कृतज्ञता अर्पण गरे । कमलादी पुग्दा तीन बजी सकेको थियो । म हतार हतार भित्र पसेर क्यामेरा मिलाउन थाले । मन्चमा कार्यक्रम शुरु भैसकेको थियो । छोरीले त शुरुमै उसको प्रस्तुति छ भनेकी थिई । क्यामेराको पर्दामा छोरीलाई देखे पछि मलाई ढुक्क भयो ।

कार्यक्रम सके पछी हामी भृकुटीमण्डप हुंदै घर फर्कियौ । मैले अन्तर्मनको यात्रा किन्दा सम्झे-यो मैले किनेको पाचौ प्रति हुनु पर्छ ।

बुद्धिदेवीको जयन्तिको अन्तिम प्रसाद भयो मेरो फेसबक यात्रा ।

मेरी पुर्व विद्यार्थी बविनाले लेखेकी रहिछन् "यदि म खुशी हुन सक्छु भने किन दुखी हुने ।"

मैले थपे-यो दृष्टिकोणमा भर पर्ने कुरा हो । ओहो ! यस्तो राम्रो फूलमा पनि काँडा भनेर नरमाईलो मान्न पनि सकिन्छ या यस्तो तिखा काँडा भएको हाँगामा पनि फूल भनेर आनन्दित हुन पनि ।"

माघ १९, २०६६

कोटेश्वर, काठमाडौँ

झोलाको बार बाट साभार