माघ ६ गते अर्थात जनवरी २० को विहान म मिर्मिरेमै उठें ।
सरस्वती पूजा पनि भएको र दिनभरी नै व्यस्त रहनु पर्ने भएको हुनाले योजनाबद्ध तरिकाले समय व्यवस्थापन गर्नु पर्नै हाँक मेरो सामु लमतन्न परेको थियो । आज भारतका प्रख्यात योग गुरु रामदेवले नेपालीहरुका लागि हरिद्वारमा आयोजना गरेको योग शिविरको अन्तिम दिन हेर्ने मेरो अभिलाषा तुषारापात गरिदिएको थियो लोडसेडिङले । जम्मा १५ मिनट भए पनि समापनको दिनको प्रारम्भिक सम्बोधन कार्यक्रम हेर्न पाएकोमा म सरस्वती माताप्रति कृतज्ञ भएको थिएँ।
मेरो नित्य योग सकेर जे त पर्ला भनी चीसै पानीले नुहाउने विचार गरें । बाथरुमको सावर मर्मत गर्न दिएको हुनाले वैकल्पिक धाराको टुटीबाट वाल्टीमा पानी भरी मगले खन्याउनुपर्ने भयो । पानी सिधै टबको एक छेउमा मात्र खस्ने गरी त्रुटिपूर्ण तरिकाले धारो बनाईएको हुनाले बाल्टी भुईँमा राख्दा पानी पाखा जाने भयो । अगाडि तेर्सिएको समस्या काटेको सानो टुक्रा पाईपले समाधान गर्न सकेन । केही दिनअगाडि हेरेको अमिर खानको ‘थ्रि ईडियट’ चलचित्र सम्झदै परि्स्थतिजन्य समाधान खोज्नेतिर मेरो दिमाग लागिसकेको थियो । प्लास्टिकको एउटा झोलाले मेरो समस्याको अल्पकालिन समाधान गरिदियो ।
पूजा कोठामा सरस्वतीको आराधाना गरेँ । आज मेरो साथ दिन आईपुग्ने सरस्वती यन्त्र यहीँ ल्याएर राख्छु भन्दै पुस्तकमा उपलव्ध केही र आफैँलाई कण्ठ आउने दुईवटा मन्त्र जपें । त्यसपछि म पुत्र सिरिनसँग मेरो कार्यालयको नजिक स्थापित सरस्वतीको मन्दिर गएँ ।
सवैभन्दा पहिला मैले मन्दिरलाई दाहिने परिक्रमा गर्ने सोचका साथ मन्दिर प्राङ्गणको बाह्य वृतमा पाईला राख्दा राख्दै बायाँतिर रहेको विशाल घण्टीमा मेरो ध्यान गयो । दर्शनार्थीको लाम छिचोलेर मैले घण्टितिर हात के बढाएको थिएँ रातो सारीमा सजिएर लाममा उभिएकी म भन्दा केही बर्ष पाकी देखिने महिलाले पनि घण्टिमा हात बढाईन् । हाम्रा हातहरु एकै पटकजस्तो अघि वढे तर मैले उनको पालो मिचेको जस्तो अनुभूति गरें । यो अनुभूतिमा मैले उनको अनुहार हेरें । तिनले पनि मलाई हेरिन । हामी हेराहेरमा अलमलियौँ । घण्टि बजाउने अवसर अरुले नै लिए । मलाई केही हतार थिएन । केही क्षणम घण्टि खाली भयो । अब घण्टि बजाउने मेरो पालो थियो । ती महिलाको ध्यान घण्टि भन्दा अन्यत्रै गैसकेको थियो । अब म एक्लो थिएँ । घण्टि पुरै मेरो नियन्त्रणमा थियो । मैले ती महिलालाई “यो पालो तपाईको हो” भनेर सङ्केत गरें । उनले अति नै भव्य मुस्कानले मेरो सँकेतको प्रत्युत्तरमा घण्टि बजाईन् । मैले सरस्वती देवीको प्रांगणमा एक अपरिचित व्यक्तिलाई उनले चाहेको केही दिन सकें । सार्है हर्षित भएं । मैले उनलाई मेरो आफ्नो केही दिईनँ ।
“उनको मसंग जे थियो त्यहि दिएँ ।“
मलाई लाग्यो आजको पावन तिथिमा दिनको शुरुवात अति नै विशिष्ट रुपमा भएको छ ।
धोविघाट र झम्सिखेलको साँधमा वनाईएको यो आस्थाको केन्द्रमा शारदादेवीका दुई मूर्तिहरु प्रतिस्थापन गरिएका छन् । मैले ठूली शारदाको चरण स्पर्श गर्दै एक वालिकासँग ठट्टा गरेको थिएँ-विद्यादेवी र तिमीमा को अग्लो ?
जवाफमा तिनले अविस्मरणिय मुस्कान फर्काईन् । मुस्कानको प्रत्युत्तरमा मैले भनेँ-तिमी पनि भविष्यमा यस्तै अग्ली हुन्छ्यौ !
नेपालमा रमाउनुको आनन्द यसैमा छ । तपाईँ जुन सुकै समयमा जहाँ पनि रमाईलो वाँड्न सक्नु हुन्छ र यसले जीवनलाई घनिभूत वनाउन सक्नु हुन्छ । अहिलेसम्म मैले सार्वजिक स्थल या सवारी साधनमा अरुको म संग थाँति भएको रमाईलो बाँड्न पाएको छु । म संग कुरा गर्ने अपरिचितले असुरक्षित महशुस गरेको सम्झना छैन् । हामी नेपालीको लागि यसरी खुलेर एक अर्कामा हराउन सक्ने स्थल म घुमेको विश्वमा कहीँ फेला पारिनँ । यो हाम्रा पुर्खाले हामीलाई सुम्पेर अहिलेसम्म सुरक्षित रहेको हामी सवै रमाउन सक्ने अमूल्य निधि नै हो ।
मन्दिर परिसरमा अर्को पनि एउटा अविस्मरणिय क्षण सिर्जना भयो । मन्त्र लेखिएको सुनको जलप लागेको सरस्वति यन्त्र सधैको लागि म सँग हुने क्षण थियो त्यो । मैले एउटा यन्त्रको माग राखें, प्रसाद पनि वितरण गरिरहेका भाईहरुसँग । सिरिन नजिकै थियो । पहिले देखि योजना नगरेको एउटा विचार मनमा उव्जियो र सोधेँ-तिमी पनि एउटा यन्त्र लिन्छौ त ?
उसले सकारात्मक भाव जनायो । यन्त्र वापत लिईने सहयोगको रकम तिर्न के लागेको थिएँ, उसले भन्यो-म यो अस्तिको एक हजारवाट किन्छु ।
केही समय अघि एउटा प्रवचन दिन जान तयार हुदै गर्दा विचार गरिएर छानिएको टाई र जुत्ता लगाउदै मैले उसलाई भनेको सम्झे-मेरो प्रवचन प्रभावकारी बनाउन मेरो व्यक्तित्वमा यिनले पनि केही मूल्य थप गर्छन् ।
"त्यसो भए हिँडने वेलामा दक्षिणा दियो भने साईत पर्छ भन्छन्; तपाईँसँग अहिले त्यो अवसर छ ।"
उसले ठट्टामा भनेको थियो । उसलाई रु ५०० चाहिएको रहेछ ।
मैले पनि त्यो अवसरलाई थप उत्पादनमूलक वनाउने लक्ष्यका साथ उसलाई एक हजारको नोट तेर्स्याउदै भनेको थिएँ-म तिम्रो तर्कवाट प्रभावित भएँ । रु ५०० तिम्रालागि । बाँकी रु ५०० ले भने मैले नसोचेको कुनै गहकिलो काम गर्नू ।
उ आश्चर्यचकित भएको थियो ।
ओहो ! यो त मैले नसोचेको काम भयो । म हर्षविभोर भँए । मलाई पुत्रसुखको एक अर्को क्षण भेटेको अनुभूति भयो । केही समय अघि मन्दिर आउदैँ गर्दा मैले ट्याक्सी चालक माईल्दाईलाई ठट्यौलि पारामा भनेको थिएँ ।
"असल पुत्र हुन सजिलो कि असल पिता ? "
रामदेव गुरुले पटक पटक भन्ने गरेको "असल शिष्य भन्दा असल आचार्य बन्न कठिन छ" वाक्य यहाँ स्मरणीय छ । असल पुत्र या शिष्य हुने अभिभारा आफ्नो हातमा हुन्छ तर आचार्य वा पिता बन्ने या नबन्ने भन्ने कुरा अरुको हातमा । अरुको मन जित्न विवेक, विचार र व्यवहारले मात्र सकिन्छ; जुन सहज हुँदैन । मन नजिती न त असल पिता वन्न सकिन्छ न त असल आचार्य नै ।
भगवतीको दर्शन पश्चात म समीपको मेरो कार्यालय गएँ र केही काम गरेँ। दिउँसो म सम्मिलित हुनु पर्ने तीनवटा प्रमुख गतिविधि थिए । पहिलो, कोटेश्वर महादेवस्थानको एउटा ब्रतबन्धको कार्यक्रम, दोस्रो दुई बजे शिक्षा मन्त्रालयको एउटा बैठक र अन्तिम, छोरीको विद्यालयको सांस्कृतिक कार्यक्रम अवलोकन । संयोग नै हुनु पर्छ, कुनै न कुनै रुपमा यी सबै गतिविधि सरस्वतीको आशीर्वाद आवश्यक पर्ने समूहमा भएको मैले बोध गरेँ ।
सरस्वती पूजाको भोलिपल्ट भक्तपुर बहुमुखी क्याम्पसमा ‘व्यक्तित्व विकास र नेतृत्व’ शीर्षकमा दिनु पर्ने प्रवचनको लागि आवश्यक प्रोजेक्टर र स्पीकर बोकेर कार्यालय नजिक ट्याक्सी खोज्दा मध्यान्हको १२ बजिसकेको थियो । ब्रतबन्धमा सहभागी भएर डा. तारानिधि भट्टराईलाई १ बजे भेटी पुतलिसडकवाट शिक्षा मन्त्रालयको वैठकमा आवश्यक पर्ने सिडी समेत सङ्कलन गर्नु पर्ने भएकोले मेरो मन आत्तिई सकेको थियो सबै काम समयमा भ्याउन सकिन्नकि भनेर ।
म सामुन्नेको एउटा ट्याक्सीमा केही नभनी म सामान राखेर बसें । सीटमा बसी सकेपछी मोलमोलाई गर्न थाल्यो । मैले मिटरमा मात्र जाने भने । उसले अडान छोडेन । मैले त्यो सवारी छोडेँ ।
दोस्रोले मान्यो । मैले ट्याक्सी यात्राको समयको पुरा सदुपयोग गरें मोवाईलको मदतले । घरमा सम्पर्क गरी छोरीको कार्यक्रमको लागि आवश्यक भिडियो क्यामेरा लिएर घर नजिकैको मोडमा आईराख्न अराएँ । सोचे अनुसारको काम भयो । ट्याक्सीबाट नओर्लिकनै प्रोजेक्टर र स्पीकर को ठाँउ भिडियो क्यामेराले लिई सकेको थियो ।
महादेवस्थानमा पुगेर ब्रतबन्ध स्थल खोज्दै थिएँ, लौ ! यो त सोच्दै नसोचेको कुरा भयो । जता हेरे पनि जग्गे मात्रै । श्रीपन्चमीको साईतमा विवाह बन्धनमा बाँधिने र ब्रतबन्धमा दीक्षीत हुनेहरुको भीड मात्रै । मलाई त आफू सम्मिलित हुने जग्गे पत्ता लगाउन हम्मे हम्मे पर्यो । यस्तो वेलामा हो मन्दिर परिसरमा आसिन सामाजिक संघ सस्था या प्रहरीले मदत पुराउने । मैले उपस्थित एक प्रहरीलाई सोधे पनि । उनी त म भन्दा पनि अनभिज्ञ पो रहेछन् ।
सुरक्षा र सूचना एकअर्काका परिपुरक छन् । सुरक्षाको अनुभुति गराउने पहिलो पक्ष भनेको सूचना नै हो । तर त्यहां पहिलो थियो, दोस्रो थिएन् । केही समय अघि मैले कसैसंग व्यक्त गरेको थिएँ-हाम्रो समस्या भनेको सीसा नहुनुको होईन, थुप्रिएको कसिगंर कसरी बढार्ने भन्ने मात्र हो ।
म एउटा समूह वाट अर्को समूहमा जादै परिचितहरुको अनुहार खोज्न थालेँ । लगभग १० मिनटको मिहिनेत पछी सामान्य हुने स्थिति भयो । अचम्म ! वटुकहरु त तीन जना पो रहेछन् । म संग दुईवटा मात्र खाम थिए । अर्को आपद आईपर्यो । मैले एक वटुकका अभिभावकसंग मलाई हतार भएको अनुरोध गरेँ । उनले भिक्षा दानका लागि अरु १० मिनट लाग्ने जानकारी दिए ।
अव म सँग १० मिनटमा सक्नु पर्ने तीन वटा काम थिए । महादेवस्थान परिसरमा नै रहेको ज्ञानदेवीको मन्दिर पुग्ने, खाम किन्ने र शौचालय प्रयोग गर्ने । म विजुलीको बेगमा पसल भएको स्थानतिर आएँ र खाम पाउन सकिने सम्भावना भएको पसलमा गएँ । पसलमा दुई जना बहिनी थिए । मैले खाम मागे । उनीहरुसंग भएको खाम सानो आकारको मात्र रहेछ । उनीहरु किन सानो खाम राम्रो भनेर तर्क राख्न थाले । मैले तिन वटा खाम लिएर तिनमा पैसा राख्न थालेँ । ल ! मसँग रु ५०० को नोट मात्र रहेछ तर खामको मुल्य २ रुपैया मात्र । साहूनी बहिनीहरु खुद्रा नभए त हूदैन भन्ने तिर गए म परिस्थितिजन्य उपाय सोच्ने तिर लागेँ । केही उपयोगी अलि मूल्य बढी भएको सामान छ की भनेर नजर घुमाउन थालेँ ।
पसलमा त्यस्तो केही थिएन तर मैले तुरुन्तै एउटा नौलो समाधान सोचें । तीनवटाको सट्टा मेरा दुई खाम दिने । उनीहरुले माने । मैले समयको भरपूर सदुपयोग गर्दै साहुनी बहिनीहरुलाई सरस्वति मन्दिर स्थल कहांनिर हो, सोधेँ। मैले परिसरको पूर्वी भागमा रहेको सरस्वती माताको मन्दिरमा पुगेर दर्शन गरेँ । अव मेरो १० मिनटको समयसीमा सकिदैँ थियो । शौचालय प्रयोग गर्ने काम भने बाँकी नै थियो ।
म परिसरको उत्तरमा रहेको सार्वजिनक स्थल व्यवस्थापनमा सहयोग पुर्याउने कार्यालयमा पुगेँ र कार्यकक्षमा आसिन एक महिला कर्मचारीलाई शौचालय कता छ भनेर सोधे । उनको जवाफले मेरो समस्या समाधान नहुने भयो । उनले जम्मा एउटा शौचालय भएको तर त्यसमा चाबी लागेको यथार्थ वताईन् । म रनभुल्लमा परेँ ।
राज्यले केही समय अघि सम्पन्न गरेको कालापत्थरको जलवायु परिवर्तनको मन्त्रिपरिषदको वैठक सम्झेँ । कोपेनहेगनमा राज्यका प्रमुख कार्यकारीले अगुवाई गरेको नेपालको जम्बो सहभागिता सम्झेँ । महादेवस्थान परिसरमा यो जस्तो कुनै विशेष समयमा जम्मा हुने सयौं मान्छे, शौचालयमा लागेको चाबी र राज्यका प्राथमिकताका विषयहरु सम्झेँ । मैले शीशामा अर्को सघनरुपले टाँसिएको कसिंगर देखें ।
मैले निमेषभरमा नै वटुकहरुलाई दक्षिणा दिने र मुखशुद्धि गर्ने काम सकें र अभिभावकहरुसंग विदा भएँ । अब मलाई ट्याक्सी लिएर डा. भट्टराईकहाँ पुग्नु थियो । म हतार हतार गर्दै महादेवस्थान परिसरको पश्चिम उत्तरमा अवस्थित सिढिँ ओर्लिएँ । अव मलाई तीनकुनेको कान्तिपुर परिसरको आसपास सम्म हिड्नु पर्ने वाध्यता थियो । भिडियो क्यामेरा र मेरो ल्यापटप भएको झोलाको कारण म द्रुत गतिमा हिड्न पनि नसक्ने स्थितिमा थिएँ । सिंढिको फेदमा के पुगेको थिए मुलवाटो मा जाम भएर वैकल्पिक वाटो समातेको एउटा नेपाल यातायातको वस पो फेला पर्यो ।
धन्य ! वीणापुस्तक धारिणि ! तिम्रो आशिर्वाद । बसमा म बसेको सीट पछाडी शान्तिनगरमा अध्यापन गर्ने परिचित दिज्यू हुनुहुँदो रहेछ । मैले ज्ञानदेवीको पूजा गर्ने दिनको शुभकामना बाँडे । अव मैले डा. भट्टराईलाई मेरो परिवर्तित यात्राको बारेमा जानकारी दिनु पर्ने थियो । मोवाईल सम्पर्क भयो उहाँलाई नै ट्याक्सी लिएर आउन भनेँ । हाम्रो १० मिनटपछि शान्तिनगर द्वारमा भेट गर्ने सल्लाहा भयो । मैले दिज्यूसंग विदा माग्दै पैसा तिर्ने पर्स छाम्दा फेरी मसंग खुद्रा नभएको यथार्थ सम्झिएँ र खलासी भाईलाई त्यो सत्य बताएँ । दिज्यूले म दिन्छु भन्नु भयो । मैले धन्यवाद भन्दै त्यो पर्म कुनै दिन तिर्ने कबोल गरेँ ।
शान्तिनगरमा ओर्ले पछि मेरा "भोलिपल्ट प्रवचनमा बाड्नु पर्ने सामाग्रीको फोटोकपी गर्ने र छोरीको कार्यक्रमको लागि भिडियोको चक्का किन्ने " दुईवटा काम सम्पन्न गर्ने अवसरको खोजीमा लागें । म उपयुक्त पसलको खोजीमा थिएं । उत्तरतिर फोटोकपी पनि लेखेको, फोटो स्टुडियो पनि भएको पसल देखेर त्यतै लम्केँ । ढाड घाम तिर फर्काएर कुर्सीमा बसेकी साहुनी वसेर बाँधिएका हातमाथी टाउको राखेर आराम गरिरहेकी थिईन ।
म सिंढि चढेको आवाजले तिनी चनाखो भईन् ।
मैले सोधें-डू यु ह्याभ ईलेकट्रिसिटि ?
उनले भनिन-नो ।
हाम्रो विगतको शिक्षा नीतिले दिएको राम्रो विषय हो । जो पनि अलि अलि मात्र भए पनि किन नहोस अङ्ग्रेजी बुझ्छ वोल्दछ ।
हुन ता हामीमा नराम्रो र विग्रेको विगत मात्र देख्ने संस्कारले डेरा जमाएको छ किन भने सीसा कुचो लगाउनु पर्ने कसिगंर नै कसिंगरले ढाकिएको छ । तर खोजी गरे हामीले गरेका काम मध्ये राम्रा पनि नभएका होईनन् । उनको जवाफ मेरो एउटा काम नहुने संकेत थियो । उनले मलाई आवश्यक चक्का पनि नभएको बताईन् ।
मैले परिस्थिति प्रतिकुल भए पछि रमाईलो थप्ने उदेश्यले भने-उसो भए के पाईन्छ त यो पसलमा ?"
उनी केही बोलिनन् ।
मैले भनेँ-मलाई थाहा भयो के पाईन्छ यहाँ । ग्राहक नआएर हातमाथी टाउको राखेर घाम तापिरहेकी साहूनी पाईन्छ यो पसलमा ।
उनि खित्का छोडेर हाँसिन् ।
यसको प्रभाव पर्यो । उनले मलाई खुला मनले मदत गरिन । चक्का पाईन सक्ने पसल देखाईदिईन् । मैले दोस्रो पसलमा चक्का किन्दै गर्दा राजमार्गको अर्कोतर्फ लोडसेडिगको क्षेत्र फरक भएको र विजुली हुनसक्ने जानकारी लि्ईसकेको थिएँ । नभन्दै हो रहेछ । तर फोटोकपी पसलमा भीड र साहुभाई एक जना मात्र । मैले वाक शक्तिको लगानी गरे र दुईवटै यन्त्रले मेरो काम गर्ने भए म फोटोकपी गर्छु भनेँ । उनले माने । मैले केही मिनटमानै १५० प्रति फोटो कपी गरेँ र सडकमा आएँ । डा. भट्टराई ट्याक्सी रोकेर मलाई खोज्दै हुनुहुदो रहेछ।
हामी पुतलीसडकमा सिडी संकलन गरी जयनेपाल हल तिर लाग्यौ । भोलिको प्रवचनमा सहभागिहरुको वीचमा प्रतिस्पर्धा गराई जगदीश घिमिरेको ‘अन्तर्मनको यात्रा’ र “थ्रि ईडियट” चलचित्रका दुईवटा टिकट पुरस्कारमा राख्ने निश्चयमा थिएँ म । थ्रि ईडियटमा परिस्थितिजन्य समस्या समाधानका राम्रा उदाहरण छन् । जयनेपालमा टिकट किनेर शिक्षा मन्त्रालय पुग्दा घण्टाघरले दुई बजेको संकेत दिईसकेको थियो । एक घण्टामा त्यहांको काम सकेर मलाई तीन बजे प्रज्ञा प्रतिष्ठान पुग्नु थियो छोरीको कार्यक्रम हेर्न ।
सरस्वती पूजाको साईतमा म शिक्षा मन्त्रालय पुगेको थिएँ । केशर महलको वीचको प्रांगण छिचोलेर बैठक हुने कोठामा जांदै गर्दा शिक्षा मन्त्रालयले मलाई प्रदान गरेका दुई अमूल्य उपहारको संझना मलाई भयो । पहिलो थियो, २०३६ सालको प्रवेशिका परिक्षामा प्रथम श्रेणीमा उतिर्ण गरेका विद्यार्थीलाई शिक्षा मन्त्री मरिचमान सिंहको हस्ताक्षर भएको प्रमाण पत्र । अर्को कोलम्बो योजना अन्तर्गत भा्रतमा ईन्जिनियरिङ पढ्न पाएको छात्रवृति । आज म जहाँ छु त्यहाँ पुर्याउने संयन्त्र त्यै छात्रवृति हो ।
मैले यो पावन अवसरमा शिक्षा मन्त्रालयलाई कृतज्ञता अर्पण गरे । कमलादी पुग्दा तीन बजी सकेको थियो । म हतार हतार भित्र पसेर क्यामेरा मिलाउन थाले । मन्चमा कार्यक्रम शुरु भैसकेको थियो । छोरीले त शुरुमै उसको प्रस्तुति छ भनेकी थिई । क्यामेराको पर्दामा छोरीलाई देखे पछि मलाई ढुक्क भयो ।
कार्यक्रम सके पछी हामी भृकुटीमण्डप हुंदै घर फर्कियौ । मैले ’अन्तर्मनको यात्रा’ किन्दा सम्झे-यो मैले किनेको पाँचौ प्रति हुनु पर्छ ।
बुद्धिदेवीको जयन्तिको अन्तिम प्रसाद भयो मेरो फेसबूक यात्रा ।
मेरी पुर्व विद्यार्थी बविनाले लेखेकी रहिछन् "यदि म खुशी हुन सक्छु भने किन दुखी हुने ।"
मैले थपेँ-यो दृष्टिकोणमा भर पर्ने कुरा हो । ओहो ! यस्तो राम्रो फूलमा पनि काँडा भनेर नरमाईलो मान्न पनि सकिन्छ या यस्तो तिखा काँडा भएको हाँगामा पनि फूल भनेर आनन्दित हुन पनि ।"
माघ १९, २०६६
कोटेश्वर, काठमाडौँ
‘झोलाको बार’ बाट साभार
No comments:
Post a Comment