Tuesday, March 31, 2020

मनास्लु फेदी




यो यात्रामा केही रमाइला प्रसङ्गहरु सिर्जना भए । कान्तिपुर दैनिककी पत्रकार फातिमा बानु, भूकम्प प्रभावित क्षेत्रको पुन: निर्माण परियोजनामा काम गर्ने सुस्मिता कार्की र पूर्णिमा परियोजनाकी गोर्खा कार्यालयकी प्रमुख गीता लिम्बूले पनि म सँगै जाने कुरो गरेका थिए ।
मैले यसैलाई आधार मानी मित्र सूर्यमान शाक्यलाई फोन गरेको थिएँ ।

आफू त सालीहरुको साथमा मनास्लु फेदीतिर जाने भइयो ।

सुस्मिताको घर विराटनगर भएकाले म साली भनेर जिस्क्याउँथे । मैले त्यही डालोमा अरू दुई जना पनि थपिदिएको थिएँ । तर तीनै जनाको पदयात्रामा जान नमिल्ने भो भन्ने खबर आयो ।

अजिरकोट गाउँपालिकाको काम सकेर म गोर्खाबजार हुँदै सोती पुगेँ । तर सैनिकले सडकमा पहिरो सफा हुँदै गरेको कारण देखाएर गाडी अघि लान दिएनन् । सोतीमा सैनिकको ढाट नजिकैको पसलमा रुकस्याक बोक्ने सहयोगी खोज्न थालेँ । एक जना भाइले जाने इच्छा देखाए । बाटामा जाँदै गर्दा मैले उनको नाम सोधेँ । उनको उत्तरले मलाई एक सुखद आश्चर्य दियो ।

 मेरो नाम मोहन अधिकारी हो ।

मेरो ससुराली अधिकारी र ससुरा बाको नाम ठ्याक्कै त्यही । नाता नै लगाउने हो भने मोहन मेरो सालो पर्दथ्यो । यसरी सालीसँग घुम्न जाने कुरो सालोमा आएर टुङ्गिएको थियो । यो घटनाक्रमले साथीभाइलाई सुनाउनका लागि एक मौलिक खजाना हाता परेको अनुभूति मलाई भयो ।

चैत्र १८ गते बिहान हाम्रो पैदलयात्रा सुरु भएको थियो । हामी माछी खोलाबाट बूढीगण्डकीको किनाराको सडक हुँदै उत्तरतर्फ लागेका थियौँ । माछी खोलामा यो आगमन मेरो दोस्रो थियो । पहिलो पटक आइपुगेको भोलिपल्टै नारी दिवस परेको थियो । विश्वभरि नै मनाइने यो नारीपर्व को उपलक्ष्यमा आयोजित कार्यक्रममा मलाई पनि भाषण गर्ने अवसर जुर्‍यो । धार्चे गाउँपालिकाकी उपाध्यक्ष फूलमाया गुरुङको नेतृत्वमा त्यो कार्यक्रम सम्पन्न भएको थियो । कति जनाले माछीखोलालाई माछाखोला पनि भनेको सुने । नक्शामा पनि माछाखोलागाउँ लेखेको रहेछ । मैले यसैमा एक ठट्यौली सिर्जना गरेँ ।

नारी दिवसको कार्यक्रमपछि यो माछीखोला भयो ।

दोभानमा पुगेर हामीले खाना खायौँ । खानुअघि फ्रिजको चीसो बियरले मेरो ध्यानाकर्षण गर्‍यो । मैलै चीसो बियरको मजा लिएँ । तर त्यो अभिशाप सिद्ध भयो । खानापछिको लगभग ३ घण्टासम्म मलाई हिँड्न धेरै असजिलो भएको महसूस भयो । मैले आफ्नै हातको गतिलो झापड खाएँ । बेलुका बास बस्न हामी जगत पुग्यौँ । हामी बसेकै होटलमा पोल्यान्डका दुई महिला र एक पुरुष र जर्मनीका एक युवक भेटिए । रात्रि खाना सँगै भयो । हामीले जमेर कुरा गर्‍यौँ । खासगरी जर्मन युवासँग ।   

भोलिपल्ट मैले उनीहरुसँगै मिसिने विचार गरेँ । हामी कुरा गर्दै अघि बढ्यौँ । जगतमा एउटा ३५ किलोवाट क्षमताको एउटा जलविद्युत् योजना रहेछ । कञ्चन पानी भएका दुईवटा जलप्रवाह पार गरेर अघि बढ्यौँ । बिजुलीको उपलब्धिले जगतको मुहार नै फेरेको पाइयो । गिजरको तातो पानी, डिस होम टेलिभिजन, कोठामा चार्ज गर्ने सुविधा आदि सबै सहज उपलब्ध । 

हामी सल्लेरी, घट्टेखोला हुँदै अघि बढ्यौँ । बूढीगण्डकीपारि फिलिम बजार देखियो । त्यसको दक्षिणतर्फ अलि भिरालो परेको ठाउँमा हरिया बारीहरु देखिए । हरिया बारी भए तापनि त्यति उचाइमा गरेको खेतीले हामीलाई समृद्ध बनाउला त ? यही प्रश्नको सेरोफेरोमा मेरो मस्तिष्क घुमेको थियो ।

पदयात्रा सकेर फर्कनेहरु भेटिए । मैले केहीसँग अभिवादन साटासाट गरेँ । केहीसँग छोटो कुराकानी पनि भयो ।

यीमध्ये दुई जनासँगको भेट भने रोचक रह्यो । उनीहरुसँग अंग्रेजीमा भएको संवाद नै अहिलेसम्म पनि कण्ठस्थ छ ।

नमस्ते, यहाँहरुलाई बधाई छ ।’’

मेरो बधाईको आशय थियो- पदयात्रा सम्पन्न गर्नु भनेको ठूलो साहसिक कार्य हो । उनीहरुले स्वाभाभिक रुपमा अभिवादन फर्काए ।

तपाईंहरु कुन मुलुकबाट ?”

अमेरिका ।

कुन व्यवसायमा संलग्न हुनुहुन्छ ?”

दुईमध्येका फरासिलातिर आँखा जुधाउँदै मैले सोधेँ ।

म एक किसान हुँ ।

धेरै राम्रो । के म तपाईंलाई एक प्रश्न सोध्न सक्छु ?”

अवश्य ।

त्यो पारिको खेती तपाईंलाई कस्तो लाग्छ ?”

मैले पारिका हरिया बारी देखाउँदै सोधेँ । उसले मुस्कुराउँदै जवाफ दियो ।

यहाँका स्थानीयले दशकौँदेखि त्यो खेती गरेका छन् । राम्रै होला ।

यो तरीकाले हामी तिमीहरुसँग प्रतिस्पर्धा गर्न सक्छौँ त ?

उनले उत्तर दिएनन् । मजाले हाँसे मात्र । मलाई भने लाग्यो- यो आजको नेपालकै यक्षप्रश्न हो । यसैले यो प्रश्न पुन: एक पटक दोहोर्‍याउँछु । 

के परम्परागत कृषि व्यवसायको माध्यमवाट हामी संसारसँग प्रतिस्पर्धा गर्न सक्छौँ त ?”
फिलिम पुगेकै दिन गाउँपालिका सभाकक्षमा एक लामा गुरुले प्रवचन दिने कार्यक्रम रहेछ । सुन्नासाथ मैले सहभागिता जनाउने निधो गरेँ । कुशल कर्म के हो ? अकुशल कर्म के हो ? आदि विषयमा गुरुले प्रवचन दिए । सहभागीमा अधिकांश शारीरिक रूपले ज्येष्ठ नागरिक जस्ता देखिने अधवैंसे महिला थिए । एकआपसमा उनीहरु स्थानीय गुरुङ भाषामा कुरा गर्थे । यसैले नेपाली धेरै कम बुझ्दथे भन्ने मैले अनुमान गरेँ । पूर्वसचिव खेमराज नेपालले नेपाल विकास अनुसन्धान प्रतिष्ठानमा शासकीय सुधारको विषयमा प्रवचन दिँदा भन्नुभएको थियो-नाबालक अवस्थामै बिहे गरेर वैंस नदेखी एकै पटक बूढी हुने प्रथा व्यापक छ

यो अभिव्यक्तिलाई मैले फूलको उपमा दिएर धेरै ठाउँमा भने-

फूल नफुली कोपिला नै ओइलाउने संस्कार ।     

गुरुले आफ्नो भनाइ राखेर प्रश्नोत्तरलाई समय दिए । कसैले प्रश्न सोधेनन् । मैले हात उठाएँ ।

तपाईंहरुले यसरी जनचेतना जगाउनुभएको छ । अधिकांश बाबुनानीहरु विद्यालय पनि जान्छन् । सरकार र गैरसरकारी संस्थाहरुले चुमनुब्री लगायतका दुर्गम क्षेत्रमा अहोरात्र काम गरेका गरेका छन् । तर किन नाबालकले नै बिहे गर्ने,  बीचमै पढाइ छोड्ने र कुनै इलम समात्न नसक्ने आदि जस्ता समस्या यो समाजमा व्यापक छन् ।

सबै सहभागीले मतिर हेरे । गुरुले मेरो प्रश्नको लामै उत्तर दिए । सारमा उनले भने-

मनले छुने गरी कारण बताउनु नसक्नु नै समस्याको जड हो ।

फिलिममा तीन रातको बसाइ भयो । चुमनुब्री गाउँपालिकाको खानेपानी तथा सरसफाइ गुरुयोजनाको कार्यशाला गोष्ठी आयोजना गर्नु मेरो मुख्य काम थियो । मेरो पदयात्रा पनि गुरुयोजना प्रतिवेदनका लागि आवश्यक स्थलगत जानकारी संकलन गर्ने काम सँग जोडिएको थियो । यसैले बाटामा भेटिएका विदेशीलाई मैले भनेको थिएँ-

बाई वान गेट वान फ्री ।

मतलब थियो- मेरा लागि यो यात्रा एक पन्थ दो काजहो । झट्ट कुरा बुझ्नेहरुले धेरै ने रमाइलो मानेका थिए ।       

चुमनुब्री गाउँपालिकाको भवन परिसरमा एउटा चमेनागृह रहेछ । त्यसकी सञ्चालिका रहिछन्-राईनी दिदी ।

कार्याशालाका सहभागीलाई खाना र खाजाको बन्दोबस्ती गर्ने जिम्मा उनले पाएकी थिइन । बडो फरासिली र साहसी नारीको रुपमा मैले उनलाई पाएँ । तर गुरुङ र लामाको वर्चश्व रहेको ठाउँमा राई कसरी ? सुन्नासाथ प्रश्न तेर्सिएको थियो ।

तपाईंको माइती कहाँ हो ?”

धरान ।

धरानमा माइती कहाँबाट आए ?”

ताप्लेजुङबाट ।

ताप्लेजुङमा पनि राई छन् र ?”

नयाँ मान्छे भेट्यो कि भूगोल र जातको विश्लेषण गर्न मलाई आनन्द लाग्छ । सुन्नेले पनि आनन्द नै मान्ने गरेको बुझेको छु । कसैले आजसम्म तँलाई किन चाहियो यो नालीवेली ? भनेको सम्झना छैन । शायद नेपाली हुनुको एक गौरव यो हो । यस्तो भौगोलिक विविधता र विभिन्न फूल फुल्ने जातिय फूलबारीको पहिचान शायदै अरू कुनै मुलुकमा छ ।  

हुन त म लिम्बुनी हो तर सबले रईनी भन्छन् ।

थेनवातुवे हो लुङ्गा ?”

मैले उनीतिर हेरेर लिम्बू भाषा बोलेँ । उनले मलाई ट्वाँ परेर हेरिन् । दश वर्ष भएछ उनी फिलिम बसेको । फेसबुकबाट फिलिमको गुरुङ केटासँग माया पिरती जोडिएछ । बिहाबारी पनि भएछ । अहिले उनका पति दुबईतिर रहेछन् ।

राईनी दिदीको चमेनागृहमा पूर्णिमा परियोजनामा काम गर्ने साथीहरु र गाउँपालिकाको कृषि शाखामा काम गर्ने जुम्ला घर भएका एक कर्मचारी समेतको जमघट भयो । श्रीमानले अर्को सम्बन्ध राखे भने नि ?” भन्ने विषयको चर्चा उठ्यो ।

उनले निर्धक्क भनिन्-

टाउको झोलामा, ज्यान खोलामा

मैले लिम्बुवानको चर्चित उखान ख्याल ख्यालमा चार इन्ची भन्ने सुनेको थिएँ । यी दुबै अभिव्यक्ति खुकुरीसँग जोडिएका थिए ।
चुमनुब्रीको सदरमुकाम फिलिमबाट विहान ६ बजे हिँड्ने योजना थियो । हाम्रो टोलीमा सँगै जाने तय भएका दुई स्थानीय युवाले मलाई सोधेका थिए-

भोलि बिहान कति बजे हिँड्ने हो त सर ?”

उज्यालो हुँदा अर्थात् ५ बजे ।

उनीहरुले जिब्रो टोकेका थिए । दुईमध्ये अलि चञ्चले स्वभाव भएको सोनाम लामाले 
भनेको थियो-

तपाईँ ५ बजे हिँड्नु । हामी त ७ बजे मात्रै हिँड्छौ । तपाईँलाई बाटोमा सजिलै भेटिहाल्छौँ ।

हिँड्नुअघि एउटा कामको टुङ्गो लगाएर मात्र हिँड्नुपर्ने भयो । खानेपानी र सरसफाइ सम्बन्धित स्वीडेन र नेपालमा हुने एउटा कार्यक्रमको दरखास्त बुझाउने अन्तिम दिन त्यही थियो । मैले दरखास्त अघिल्लै दिन तयार पारेको थिएँ । दरखास्तसाथ सँलग्न हुने एउटा लिखत भने बिहान ४ बजे उठेर ब्रह्ममुहुर्तको साइत पारेर तयार गरेको थिएँ । अफसोस इन्टरनेट सुविधाले काम गरेन । बिहान ५ बजेदेखि कोशिश गरेँ । काम भएन । गाउँपालिकाकी उपाध्यक्ष कुमारी गुरुङको होटलमा गएर सुविसुकम्पनीको सुविधाको पनि जाँच गरेँ । त्यसले पनि काम गरेन । फिलिम बजारको पुछारमा भएको रिसोर्टसम्म पुगेँ । केही उपाय लागेन । मन आत्तियो । हिजै काम सम्पन्न नगरेकोमा थकथक लाग्यो ।

एकाएक कालो बादलमा एउटा चाँदीको घेरा देखियो । दरखास्तको अन्तिम प्रति रीताको इमेलमा पनि थियो । मैले छोरीलाई मैले लेखेको लिखतको पूर्ण पाठ फोनबाट पढेर सुनाएँ । उसले मेरो आवाज रेकर्ड गरी । उसलाई रेकर्डलाई सुनेर लिखतलाई हुबहु उतार गर्न भने । पुत्ररत्न सिरिनलाई यी दुई कागजातलाई मेरो इमेलबाट पठाइदिने अनुरोध गरेँ । काम हुने पक्का भयो । म टोलीको नेतृत्व गर्दै बाटो लागेँ । हामी हिँड्दा ७:३० भएको थियो ।

एकाएक स्थान, काल र पात्रको प्रत्यक्ष वर्णनन् गर्न मन लागेको छ । किनभने यी अहिले सामान्य दैनिकीको कित्ताभन्दा वाहिर छन् । स्थान हो, न्याक फेदी । समय भएको छ,  पूर्वाह्नको १०: ४५ । रंगमञ्चका पात्रहरूमा एक दर्जन जति मान्छे र केही झिँगा छन् । म लेख्न बसेको होटलबाट बूढीगण्डकी र स्यार खोलाको दोभान नजिकै छ । यसैले एकनासको स्या….. को आवाज नेपथ्यमा आइरहेको छ । न्याक फेदी मनास्लु आधार शिविरतिर जाने बाटोमा पर्ने एउटा सानो ठाउँ हो । मुश्किलले २, ३ वटा घर छन् । प्रशासनिक इकाइका हिसाबले हामी उत्तरी गोर्खाको चुमनुब्री गाउँपालिकामा छौँ । मनास्लु संरक्षण क्षेत्रको प्रसिद्ध पदमार्गमा पर्ने लार्के भन्ज्याङ् जाने बाटो पनि न्याक भएर नै जाने हो । अहिले हामी बिहानको खाना खाने उद्देश्यले रोकिएका छौँ । सम्भवत: यति ठूलो भूगोल अर्थात् आँखाले देखिने ठाउँसम्मको क्षेत्रफलमा यति थोरै पात्र मात्र उपस्थित हुनु भीडभाडमै जीवन बिताउनेहरुका लागि अनौठो हो । घना बस्ती भएका त्यस्ता ठाउँमा बिहान उठेदेखि रातीसम्म छेउछाउमा मान्छे नै मान्छे भेटिन्छन् । 

न्याकफेदीसम्म हामी लगभग उत्तर दिशामा हिँडेका थियौँ ।  न्याकबाट बाटो बूढीगण्डकीको किनारै किनार उत्तर-पश्चिम लाग्दो रहेछ । घरी दायाँ किनारमा घरी बायाँ किनार गर्दै हामी अघि बढ्यौं । नदीको उर्लंदो जलप्रवाह, भीमकाय चट्टान शृङ्खला, विभिन्न किसिमका वनस्पति हाम्रा साथमा थिए । ड्याङ, विही फेदी हुँदै हामी अघि बढ्यौँ । बाटोमा मकै भटमास पोको पारेर बेच्न राखेको रहेछ । भटमास किनेर खायौँ ।      

अहिले पूर्वाह्नको ५ बजेर ५० मिनट गएको छ । हामी गापमा बास बसेका छौँ । वार्ड सदस्यको होटल रहेछ-लामा होटल । आँगन फराकिलो रहेछ । हिजो रातभरि पानी पर्‍यो । अहिले त्यही आँगनमा बसेर ल्यापटपमा यी अक्षर लेखिरहेको छु । पानीका एक दुई थोपाहरु ल्यापटपमा परे । अब होटलको चमेनाकक्षमा जान्छु- तातो पानी पिउँदै लेखनलाई अघि बढाउने सुर चलेको छ । भित्र आएर हेर्छु त ल्यापटपको स्क्रिनमा चारवटा मोतीका दाना जस्ता भाग्यमानी थोपा पो छन्! स्क्रिनमा टाँसिएका पानीका कणिकाले मलाई चट्टान र नदीको कथा स्मरण गराईदिए ।

चट्टानले आफ्नो स्वरूप जोगाउन नदीसँग सँघर्ष गर्छ । नदीले आफ्नो प्रवाहलाई कायाम राख्न चट्टानसँग संघर्ष गर्छ । अर्थात् नदीले चट्टानको आकार निर्धारण गर्छ र चट्टानले नदीको स्वरुप ।

चट्टान र नदीको परिपूरक सङ्घर्षको यथार्थ जस्तै मान्छे को जीवन पनि त आखिर संघर्षको यात्रा न हो । बाटोमा हिँड्दा यस्ता कल्पना बाक्लै आए । किनभने त्यहाँ हिँड्नुको विकल्प हिँड्नु नै थियो । अरू केही थिएन ।

गापमा हामीभन्दा पहिला पुगेर बास बसेको एउटा टोलीसँग भेट भयो । इजरायलका एक युवक र युवती, चिलीका एक युवक, बेलायतका एक युवक र अर्को एकजना गरी चार जनाको समूह रहेछ । मैले उनीहरुसँग मिसिएर सँगै अघि बढ्ने निर्णय गरेँ ।

बूढीगण्डकी उत्तर-पश्चिमबाट दक्षिण-पूर्वको दिशामा बगेकी छन् । नदीका दुवैतिर अजङ्गका पहाड छन् । पहाड अर्थात् चट्टानको थुप्रो । मेरो देब्रेतिरको पहाडको सतहमा नै ढल्केर सुतेको चट्टान देखिन्छ । चट्टानको सतहलाई मैदान बनाएर झरना बगेको छ । हामी प्रोक अर्थात् वार्ड नँ ३ लाई दाहिने पारेर अघि बढ्यौँ । 

बाटोमा पानीले घुमाउने घट्ट जस्तो संयन्त्रले मेरो ध्यानाकर्षण गर्‍यो । पानीले फनन घुमाएको त्यो संरचनामा न त कुनै अन्न पिध्ने सुविधा थियो न त बिजुली नै निकालिएको थियो । बाटामा हिँड्नेलाई सोधेँ । त्यो त पानी माने पो रहेछ । निरन्तर घडीको सुई घुम्ने दिशामा घुमिरहने ।  

चिलीका युवा इन्जिनियर रहेछन् । उनले पनि मलाई मेरो पेशागत संलग्नताको बारेमा सोधे अनि नेपालको सन्दर्भ उठाए-

इन्जिनियरिङ विधाको हिसाबमा नेपालको अहिलेको आवश्यकता के हो ?

पूर्वाधार विकास गरी यात्रा दूरी घटाउनु ।

उनले सहमति जनाएर चिलीको प्रसँग समेत कोट्याए ।

अहिले म चिलीमा ३०० किलोमीटरको दूरीको यात्रा गर्नुछ भन्ने सोच्दा २ घण्टाको समय सम्झन्छु । तर नेपालमा १, १४ घण्टा लाग्दो रहेछ ।

उनको विश्लेषण सटीक थियो । अर्को महत्वपूर्ण विषयको पनि उठान गरे-

मेरो विचारमा खेर गएका सामानको पुन: प्रयोग नगर्नु यहाँको अर्को मुख्य समस्या हो । प्लास्टिक लगायतका फोहोरमैला जथाभावी फालेको देखिन्छ ।

मैले सहमति जनाएँ । उनीहरुको समूहकी इजरायली युवतीलाई छोडेर अरूको हिँडाइ मेरा लागि तुफानकै रूप रहेछ । युवतीले पनि उनका देशको नियम अनुसार अनिवार्य सैनिक तालिम लिएकी रे । उनले पनि मलाई पछारिन् । उनीहरु अघि लागे । नामरुङ पुग्नु अघिको बाटो उकालो रहेछ । अन्यथा यो पदमार्गको बाटो तेर्सो नै रहेछ । हामीले नामरुङ्कको प्रसिद्ध फोर सिजन होटलमा खाना खायौँ ।
  
नामरुङ काटेपछि दृश्यको आयतन बढ्यो । हामीले दायाँ बायाँ दुवैतिर परसम्मका दृश्य देख्यौँ । दूरदराजका पातला बस्ती देख्यौँ । कुनै चट्टानमाथि बसेका छन् । कुनै जङ्गलका फेदमा छन् । हामीलाई हेर्दैमा अनकन्टार लाग्छ । तर त्यहाँका बासिन्दा जुगौँदेखि त्यहाँ छन् । 

फिलिम बजारको उचाइ लगभग १६०० मीटर हो । यस्तै गापको २१६५ मीटर, नामरुङ्को २६६० मीटर र ल्होको ३१८० मीटर । यस हिसाबले फिलिमबाट हिँडेको दिन हामी लगभग आधा किलोमीटर उक्लेका थियौँ भने दोस्रो दिन लगभग एक किलोमीटर । समथर जमीनमा १ किलोमीटर हिँड्नु भनेको चुत्थो लाग्छ ।  यहाँ मेरा चारवटा भित्री गन्जी, दुईवटा टि-सर्ट र दुईवटा सर्ट निथ्रुक्क भिजेका थिए । गन्जी र सर्ट छिचोलेर पसिना बाहिरी ज्याकेटसम्म आइपुगेको थियो ।   

स्यो गाउँको गहुँबाली लगाइएको खेत बडो मनमोहक देखियो ।  अनौठो कुरो बालीलाई जनावरवाट जोगाउने उद्देश्यले बिजुलीका तारजडित बार लगाइएको रहेछ । जनावर भन्नाले चौँरी र खच्चड होला भन्ने मैले अनुमान गरेँ । हिमाली भेकमा चौंरी भनेको भारी बोक्ने, खेत जोत्ने र दूध दिने जस्ता बहुल सेवा दिने महत्वपूर्ण  पशुधन हुँदो रहेछ । मेरो मस्तिष्कमा भने यत्रो उचाइमा यसरी मिहिनेत गरेर परम्परागत ढङ्गले गरिएको कृषि उत्पादनले विश्वबजारमा कसरी प्रतिस्पर्धा गर्न सक्छ भन्ने प्रश्न भूत बनेर मडारिइरह्यो ।    

बेलुकीको बास ल्हो मा भयो । शरीर थकाईले चुर भए तापनि नजिकै देखिएका हिमालले त्यसलाई बिर्साउने प्रयास गरेको भान भएको थियो । म भोलि बिहान बादल नलागोस् र हिमाल स्पष्ट देखियोस् भन्ने कल्पना गर्दै निद्रादेवीको शरणमा गएँ । 

चैत्र ३०, २०७५
बन्दीपुर, तनहुँ