मैले यसैलाई आधार मानी मित्र सूर्यमान शाक्यलाई फोन
गरेको थिएँ ।
“आफू त सालीहरुको साथमा
मनास्लु फेदीतिर जाने भइयो ।”
सुस्मिताको घर विराटनगर भएकाले म साली भनेर जिस्क्याउँथे ।
मैले त्यही डालोमा अरू दुई जना पनि थपिदिएको थिएँ । तर तीनै जनाको पदयात्रामा जान
नमिल्ने भो भन्ने खबर आयो ।
अजिरकोट गाउँपालिकाको काम सकेर म गोर्खाबजार हुँदै सोती
पुगेँ । तर सैनिकले सडकमा पहिरो सफा हुँदै गरेको कारण देखाएर गाडी अघि लान दिएनन्
। सोतीमा सैनिकको ढाट नजिकैको पसलमा रुकस्याक बोक्ने सहयोगी खोज्न थालेँ । एक जना
भाइले जाने इच्छा देखाए । बाटामा जाँदै गर्दा मैले उनको नाम सोधेँ । उनको उत्तरले
मलाई एक सुखद आश्चर्य दियो ।
“मेरो नाम मोहन अधिकारी हो ।”
मेरो ससुराली अधिकारी र ससुरा बाको नाम ठ्याक्कै त्यही ।
नाता नै लगाउने हो भने मोहन मेरो सालो पर्दथ्यो । यसरी सालीसँग घुम्न जाने कुरो
सालोमा आएर टुङ्गिएको थियो । यो घटनाक्रमले साथीभाइलाई सुनाउनका लागि एक मौलिक
खजाना हाता परेको अनुभूति मलाई भयो ।
चैत्र १८ गते बिहान हाम्रो पैदलयात्रा सुरु भएको थियो ।
हामी माछी खोलाबाट बूढीगण्डकीको किनाराको सडक हुँदै उत्तरतर्फ लागेका थियौँ । माछी खोलामा यो आगमन मेरो दोस्रो थियो । पहिलो पटक आइपुगेको भोलिपल्टै नारी
दिवस परेको थियो । विश्वभरि नै मनाइने यो नारीपर्व को उपलक्ष्यमा आयोजित कार्यक्रममा मलाई पनि भाषण गर्ने अवसर जुर्यो । धार्चे
गाउँपालिकाकी उपाध्यक्ष फूलमाया गुरुङको नेतृत्वमा त्यो कार्यक्रम सम्पन्न भएको
थियो । कति जनाले माछीखोलालाई माछाखोला पनि भनेको सुने । नक्शामा पनि माछाखोलागाउँ
लेखेको रहेछ । मैले यसैमा एक ठट्यौली सिर्जना गरेँ ।
“नारी दिवसको
कार्यक्रमपछि यो माछीखोला भयो ।”
दोभानमा पुगेर हामीले खाना खायौँ । खानुअघि फ्रिजको चीसो
बियरले मेरो ध्यानाकर्षण गर्यो । मैलै चीसो बियरको मजा लिएँ । तर त्यो अभिशाप
सिद्ध भयो । खानापछिको लगभग ३ घण्टासम्म मलाई हिँड्न धेरै असजिलो भएको महसूस भयो ।
मैले आफ्नै हातको गतिलो झापड खाएँ । बेलुका बास बस्न हामी जगत पुग्यौँ । हामी
बसेकै होटलमा पोल्यान्डका दुई महिला र एक पुरुष र जर्मनीका एक युवक भेटिए । रात्रि
खाना सँगै भयो । हामीले जमेर कुरा गर्यौँ । खासगरी जर्मन युवासँग ।
भोलिपल्ट मैले उनीहरुसँगै मिसिने
विचार गरेँ । हामी कुरा गर्दै अघि बढ्यौँ । जगतमा एउटा ३५ किलोवाट क्षमताको एउटा जलविद्युत्
योजना रहेछ । कञ्चन पानी भएका दुईवटा जलप्रवाह पार गरेर अघि बढ्यौँ । बिजुलीको
उपलब्धिले जगतको मुहार नै फेरेको पाइयो । गिजरको तातो पानी, डिस होम
टेलिभिजन, कोठामा चार्ज
गर्ने सुविधा आदि सबै सहज उपलब्ध ।
हामी सल्लेरी, घट्टेखोला हुँदै
अघि बढ्यौँ । बूढीगण्डकीपारि फिलिम बजार देखियो । त्यसको दक्षिणतर्फ अलि भिरालो
परेको ठाउँमा हरिया बारीहरु देखिए । हरिया बारी भए तापनि त्यति उचाइमा गरेको
खेतीले हामीलाई समृद्ध बनाउला त ? यही प्रश्नको सेरोफेरोमा मेरो मस्तिष्क
घुमेको थियो ।
पदयात्रा सकेर फर्कनेहरु भेटिए ।
मैले केहीसँग अभिवादन साटासाट गरेँ । केहीसँग छोटो कुराकानी पनि भयो ।
यीमध्ये दुई जनासँगको भेट भने रोचक
रह्यो । उनीहरुसँग अंग्रेजीमा भएको संवाद नै अहिलेसम्म पनि कण्ठस्थ छ ।
“नमस्ते, यहाँहरुलाई
बधाई छ ।’’
मेरो बधाईको आशय थियो- पदयात्रा सम्पन्न गर्नु भनेको ठूलो साहसिक कार्य हो ।
उनीहरुले स्वाभाभिक रुपमा अभिवादन फर्काए ।
“तपाईंहरु कुन मुलुकबाट ?”
“अमेरिका ।”
“कुन व्यवसायमा संलग्न हुनुहुन्छ ?”
दुईमध्येका फरासिलातिर आँखा
जुधाउँदै मैले सोधेँ ।
“म एक किसान हुँ ।”
“धेरै राम्रो । के म तपाईंलाई एक प्रश्न सोध्न
सक्छु ?”
“अवश्य ।”
“त्यो पारिको खेती तपाईंलाई कस्तो लाग्छ ?”
मैले पारिका हरिया बारी देखाउँदै
सोधेँ । उसले मुस्कुराउँदै जवाफ दियो ।
“यहाँका स्थानीयले दशकौँदेखि त्यो खेती गरेका छन् । राम्रै होला ।”
“यो तरीकाले हामी तिमीहरुसँग प्रतिस्पर्धा गर्न सक्छौँ त ?”
उनले उत्तर दिएनन् । मजाले हाँसे
मात्र । मलाई भने लाग्यो- यो आजको नेपालकै यक्षप्रश्न हो ।
यसैले यो प्रश्न पुन: एक पटक दोहोर्याउँछु ।
“के परम्परागत कृषि व्यवसायको माध्यमवाट हामी संसारसँग
प्रतिस्पर्धा गर्न सक्छौँ त ?”
फिलिम पुगेकै दिन गाउँपालिका सभाकक्षमा
एक लामा गुरुले प्रवचन दिने कार्यक्रम रहेछ । सुन्नासाथ मैले सहभागिता जनाउने निधो
गरेँ । कुशल कर्म के हो ? अकुशल कर्म के हो ? आदि विषयमा गुरुले
प्रवचन दिए । सहभागीमा अधिकांश शारीरिक रूपले ज्येष्ठ नागरिक जस्ता देखिने अधवैंसे
महिला थिए । एकआपसमा उनीहरु स्थानीय गुरुङ भाषामा कुरा गर्थे । यसैले नेपाली धेरै
कम बुझ्दथे भन्ने मैले अनुमान गरेँ । पूर्वसचिव खेमराज नेपालले नेपाल विकास
अनुसन्धान प्रतिष्ठानमा शासकीय सुधारको विषयमा प्रवचन दिँदा भन्नुभएको थियो-नाबालक
अवस्थामै बिहे गरेर वैंस नदेखी एकै पटक बूढी हुने प्रथा व्यापक छ ।
यो अभिव्यक्तिलाई मैले फूलको उपमा दिएर धेरै ठाउँमा भने-
“फूल नफुली
कोपिला नै ओइलाउने संस्कार ।”
गुरुले आफ्नो भनाइ राखेर प्रश्नोत्तरलाई समय दिए ।
कसैले प्रश्न सोधेनन् । मैले हात उठाएँ ।
“तपाईंहरुले यसरी जनचेतना जगाउनुभएको छ । अधिकांश
बाबुनानीहरु विद्यालय पनि जान्छन् । सरकार र गैरसरकारी संस्थाहरुले चुमनुब्री
लगायतका दुर्गम क्षेत्रमा अहोरात्र काम गरेका गरेका छन् । तर किन नाबालकले नै बिहे
गर्ने, बीचमै पढाइ छोड्ने र कुनै इलम समात्न नसक्ने आदि जस्ता समस्या यो समाजमा
व्यापक छन् ।”
सबै सहभागीले मतिर हेरे । गुरुले मेरो प्रश्नको लामै उत्तर दिए ।
सारमा उनले भने-
“मनले छुने गरी
कारण बताउनु नसक्नु नै समस्याको जड हो ।”
फिलिममा तीन रातको बसाइ भयो ।
चुमनुब्री गाउँपालिकाको खानेपानी तथा सरसफाइ गुरुयोजनाको कार्यशाला गोष्ठी आयोजना
गर्नु मेरो मुख्य काम थियो । मेरो पदयात्रा पनि गुरुयोजना प्रतिवेदनका लागि आवश्यक
स्थलगत जानकारी संकलन गर्ने काम सँग जोडिएको थियो । यसैले बाटामा भेटिएका विदेशीलाई
मैले भनेको थिएँ-
“बाई वान गेट
वान फ्री ।”
मतलब थियो- मेरा लागि यो यात्रा ‘एक पन्थ दो काज’ हो । झट्ट कुरा बुझ्नेहरुले धेरै ने रमाइलो मानेका थिए ।
चुमनुब्री गाउँपालिकाको भवन परिसरमा एउटा चमेनागृह रहेछ । त्यसकी सञ्चालिका
रहिछन्-राईनी दिदी ।
कार्याशालाका सहभागीलाई खाना र खाजाको बन्दोबस्ती गर्ने जिम्मा उनले पाएकी थिइन
। बडो फरासिली र साहसी नारीको रुपमा मैले उनलाई पाएँ । तर गुरुङ र लामाको वर्चश्व
रहेको ठाउँमा राई कसरी ? सुन्नासाथ प्रश्न तेर्सिएको थियो ।
“तपाईंको माइती कहाँ हो ?”
“धरान ।”
“धरानमा माइती कहाँबाट आए ?”
“ताप्लेजुङबाट ।”
“ताप्लेजुङमा पनि राई छन् र ?”
नयाँ मान्छे भेट्यो कि भूगोल र जातको विश्लेषण गर्न मलाई आनन्द लाग्छ ।
सुन्नेले पनि आनन्द नै मान्ने गरेको बुझेको छु । कसैले आजसम्म “तँलाई किन
चाहियो यो नालीवेली ?” भनेको सम्झना छैन । शायद नेपाली
हुनुको एक गौरव यो हो । यस्तो भौगोलिक विविधता र विभिन्न फूल फुल्ने जातिय
फूलबारीको पहिचान शायदै अरू कुनै मुलुकमा छ ।
“हुन त म लिम्बुनी हो तर सबले रईनी
भन्छन् ।”
“थेनवातुवे हो लुङ्गा ?”
मैले उनीतिर हेरेर लिम्बू भाषा बोलेँ । उनले मलाई ट्वाँ परेर हेरिन् । दश वर्ष
भएछ उनी फिलिम बसेको । फेसबुकबाट फिलिमको गुरुङ केटासँग माया पिरती जोडिएछ । बिहाबारी
पनि भएछ । अहिले उनका पति दुबईतिर रहेछन् ।
राईनी दिदीको चमेनागृहमा पूर्णिमा परियोजनामा काम गर्ने साथीहरु र
गाउँपालिकाको कृषि शाखामा काम गर्ने जुम्ला घर भएका एक कर्मचारी समेतको जमघट भयो ।
“श्रीमानले अर्को सम्बन्ध राखे भने नि ?” भन्ने विषयको चर्चा उठ्यो ।
उनले निर्धक्क
भनिन्-
“टाउको झोलामा, ज्यान खोलामा ।“
मैले लिम्बुवानको चर्चित उखान “ख्याल ख्यालमा
चार इन्ची” भन्ने सुनेको थिएँ । यी दुबै अभिव्यक्ति खुकुरीसँग जोडिएका
थिए ।
चुमनुब्रीको सदरमुकाम फिलिमबाट विहान ६ बजे हिँड्ने
योजना थियो । हाम्रो टोलीमा सँगै जाने तय भएका दुई स्थानीय युवाले मलाई सोधेका थिए-
“भोलि बिहान कति बजे
हिँड्ने हो त सर ?”
“उज्यालो हुँदा
अर्थात् ५ बजे ।”
उनीहरुले जिब्रो टोकेका थिए । दुईमध्ये अलि चञ्चले
स्वभाव भएको सोनाम लामाले
भनेको थियो-
“तपाईँ ५ बजे हिँड्नु । हामी त ७ बजे मात्रै हिँड्छौ । तपाईँलाई बाटोमा सजिलै
भेटिहाल्छौँ ।”
हिँड्नुअघि एउटा कामको टुङ्गो
लगाएर मात्र हिँड्नुपर्ने भयो । खानेपानी र सरसफाइ सम्बन्धित स्वीडेन र नेपालमा
हुने एउटा कार्यक्रमको दरखास्त बुझाउने अन्तिम दिन त्यही थियो । मैले दरखास्त
अघिल्लै दिन तयार पारेको थिएँ । दरखास्तसाथ सँलग्न हुने एउटा लिखत भने बिहान ४ बजे
उठेर ब्रह्ममुहुर्तको साइत पारेर तयार गरेको थिएँ । अफसोस इन्टरनेट सुविधाले काम
गरेन । बिहान ५ बजेदेखि कोशिश गरेँ । काम भएन । गाउँपालिकाकी उपाध्यक्ष कुमारी
गुरुङको होटलमा गएर ‘सुविसु’ कम्पनीको
सुविधाको पनि जाँच गरेँ । त्यसले पनि काम गरेन । फिलिम बजारको पुछारमा भएको
रिसोर्टसम्म पुगेँ । केही उपाय लागेन । मन आत्तियो । हिजै काम सम्पन्न नगरेकोमा
थकथक लाग्यो ।
एकाएक कालो बादलमा एउटा चाँदीको
घेरा देखियो । दरखास्तको अन्तिम प्रति रीताको इमेलमा पनि थियो । मैले छोरीलाई मैले
लेखेको लिखतको पूर्ण पाठ फोनबाट पढेर सुनाएँ । उसले मेरो आवाज रेकर्ड गरी । उसलाई
रेकर्डलाई सुनेर लिखतलाई हुबहु उतार गर्न भने । पुत्ररत्न सिरिनलाई यी दुई
कागजातलाई मेरो इमेलबाट पठाइदिने अनुरोध गरेँ । काम हुने पक्का भयो । म टोलीको
नेतृत्व गर्दै बाटो लागेँ । हामी हिँड्दा ७:३० भएको थियो ।
एकाएक स्थान, काल र पात्रको प्रत्यक्ष
वर्णनन् गर्न मन लागेको छ । किनभने यी
अहिले सामान्य दैनिकीको कित्ताभन्दा वाहिर छन् । स्थान हो, न्याक फेदी । समय भएको छ, पूर्वाह्नको १०: ४५ । रंगमञ्चका पात्रहरूमा एक
दर्जन जति मान्छे र केही झिँगा छन् । म लेख्न बसेको होटलबाट बूढीगण्डकी र स्यार
खोलाको दोभान नजिकै छ । यसैले एकनासको स्या….. को आवाज
नेपथ्यमा आइरहेको छ । न्याक फेदी मनास्लु आधार शिविरतिर जाने बाटोमा पर्ने एउटा
सानो ठाउँ हो । मुश्किलले २, ३ वटा घर छन् । प्रशासनिक इकाइका
हिसाबले हामी उत्तरी गोर्खाको चुमनुब्री गाउँपालिकामा छौँ । मनास्लु संरक्षण
क्षेत्रको प्रसिद्ध पदमार्गमा पर्ने लार्के भन्ज्याङ् जाने बाटो पनि न्याक भएर नै
जाने हो । अहिले हामी बिहानको खाना खाने उद्देश्यले रोकिएका छौँ । सम्भवत: यति ठूलो भूगोल
अर्थात् आँखाले देखिने ठाउँसम्मको क्षेत्रफलमा यति थोरै पात्र मात्र उपस्थित हुनु भीडभाडमै
जीवन बिताउनेहरुका लागि अनौठो हो । घना बस्ती भएका त्यस्ता ठाउँमा बिहान उठेदेखि
रातीसम्म छेउछाउमा मान्छे नै मान्छे भेटिन्छन् ।
न्याकफेदीसम्म हामी लगभग उत्तर दिशामा हिँडेका थियौँ । न्याकबाट बाटो बूढीगण्डकीको किनारै किनार उत्तर-पश्चिम लाग्दो रहेछ । घरी दायाँ किनारमा घरी बायाँ
किनार गर्दै हामी अघि बढ्यौं । नदीको उर्लंदो जलप्रवाह, भीमकाय चट्टान शृङ्खला, विभिन्न किसिमका वनस्पति हाम्रा साथमा थिए । ड्याङ, विही फेदी हुँदै हामी अघि बढ्यौँ । बाटोमा मकै भटमास पोको पारेर बेच्न राखेको रहेछ । भटमास किनेर खायौँ ।
अहिले पूर्वाह्नको ५ बजेर ५० मिनट गएको छ । हामी गापमा बास बसेका छौँ । वार्ड
सदस्यको होटल रहेछ-लामा होटल । आँगन फराकिलो रहेछ ।
हिजो रातभरि पानी पर्यो । अहिले त्यही आँगनमा बसेर ल्यापटपमा यी अक्षर लेखिरहेको
छु । पानीका एक दुई थोपाहरु ल्यापटपमा परे । अब होटलको चमेनाकक्षमा जान्छु- तातो पानी पिउँदै लेखनलाई अघि बढाउने सुर चलेको छ । भित्र आएर हेर्छु त ल्यापटपको स्क्रिनमा चारवटा मोतीका
दाना जस्ता भाग्यमानी थोपा पो छन्! स्क्रिनमा टाँसिएका पानीका कणिकाले मलाई ‘चट्टान र नदी’को कथा स्मरण गराईदिए ।
“चट्टानले आफ्नो स्वरूप जोगाउन नदीसँग सँघर्ष गर्छ । नदीले
आफ्नो प्रवाहलाई कायाम राख्न चट्टानसँग संघर्ष गर्छ । अर्थात् नदीले चट्टानको आकार
निर्धारण गर्छ र चट्टानले नदीको स्वरुप ।”
चट्टान र नदीको परिपूरक सङ्घर्षको यथार्थ जस्तै मान्छे को जीवन पनि त आखिर
संघर्षको यात्रा न हो । बाटोमा हिँड्दा यस्ता कल्पना बाक्लै आए । किनभने त्यहाँ
हिँड्नुको विकल्प हिँड्नु नै थियो । अरू केही थिएन ।
गापमा हामीभन्दा पहिला पुगेर बास बसेको एउटा टोलीसँग भेट भयो । इजरायलका एक
युवक र युवती, चिलीका एक युवक, बेलायतका एक युवक र अर्को एकजना गरी चार जनाको समूह
रहेछ । मैले उनीहरुसँग मिसिएर सँगै अघि बढ्ने निर्णय गरेँ ।
बूढीगण्डकी उत्तर-पश्चिमबाट दक्षिण-पूर्वको दिशामा
बगेकी छन् । नदीका दुवैतिर अजङ्गका पहाड छन् । पहाड अर्थात् चट्टानको थुप्रो ।
मेरो देब्रेतिरको पहाडको सतहमा नै ढल्केर सुतेको चट्टान देखिन्छ । चट्टानको सतहलाई
मैदान बनाएर झरना बगेको छ । हामी प्रोक अर्थात् वार्ड नँ ३ लाई दाहिने पारेर अघि
बढ्यौँ ।
बाटोमा पानीले घुमाउने घट्ट जस्तो
संयन्त्रले मेरो ध्यानाकर्षण गर्यो । पानीले फनन घुमाएको त्यो संरचनामा न त कुनै
अन्न पिध्ने सुविधा थियो न त बिजुली नै निकालिएको थियो । बाटामा हिँड्नेलाई सोधेँ । त्यो त पानी माने पो
रहेछ । निरन्तर घडीको सुई घुम्ने दिशामा घुमिरहने ।
चिलीका युवा इन्जिनियर रहेछन् । उनले पनि मलाई मेरो
पेशागत संलग्नताको बारेमा सोधे अनि नेपालको सन्दर्भ उठाए-
“इन्जिनियरिङ
विधाको हिसाबमा नेपालको अहिलेको आवश्यकता के हो ?”
“पूर्वाधार
विकास गरी यात्रा दूरी घटाउनु ।”
उनले सहमति जनाएर चिलीको प्रसँग
समेत कोट्याए ।
“अहिले म चिलीमा ३०० किलोमीटरको दूरीको यात्रा गर्नुछ भन्ने
सोच्दा २ घण्टाको समय सम्झन्छु । तर नेपालमा १२, १४ घण्टा
लाग्दो रहेछ ।”
उनको विश्लेषण सटीक थियो । अर्को महत्वपूर्ण
विषयको पनि उठान गरे-
“मेरो विचारमा खेर गएका सामानको पुन: प्रयोग नगर्नु
यहाँको अर्को मुख्य समस्या हो । प्लास्टिक लगायतका फोहोरमैला जथाभावी फालेको
देखिन्छ ।”
मैले सहमति जनाएँ । उनीहरुको
समूहकी इजरायली युवतीलाई छोडेर अरूको हिँडाइ मेरा लागि तुफानकै रूप रहेछ । युवतीले
पनि उनका देशको नियम अनुसार अनिवार्य सैनिक तालिम लिएकी रे । उनले पनि मलाई पछारिन्
। उनीहरु अघि लागे । नामरुङ पुग्नु अघिको बाटो उकालो रहेछ । अन्यथा यो पदमार्गको
बाटो तेर्सो नै रहेछ । हामीले नामरुङ्कको प्रसिद्ध ‘फोर सिजन’ होटलमा खाना खायौँ ।
नामरुङ काटेपछि दृश्यको आयतन बढ्यो
। हामीले दायाँ बायाँ दुवैतिर परसम्मका दृश्य देख्यौँ । दूरदराजका पातला बस्ती
देख्यौँ । कुनै चट्टानमाथि बसेका छन् । कुनै जङ्गलका फेदमा छन् । हामीलाई हेर्दैमा
अनकन्टार लाग्छ । तर त्यहाँका बासिन्दा जुगौँदेखि त्यहाँ छन् ।
फिलिम बजारको उचाइ लगभग १६०० मीटर
हो । यस्तै गापको २१६५ मीटर, नामरुङ्को २६६० मीटर र ल्होको ३१८० मीटर । यस
हिसाबले फिलिमबाट हिँडेको दिन हामी लगभग आधा किलोमीटर उक्लेका थियौँ भने दोस्रो
दिन लगभग एक किलोमीटर । समथर जमीनमा १ किलोमीटर हिँड्नु भनेको चुत्थो लाग्छ । यहाँ मेरा चारवटा भित्री गन्जी, दुईवटा टि-सर्ट र दुईवटा सर्ट निथ्रुक्क भिजेका
थिए । गन्जी र सर्ट छिचोलेर पसिना बाहिरी ज्याकेटसम्म आइपुगेको थियो ।
स्यो गाउँको गहुँबाली लगाइएको खेत बडो
मनमोहक देखियो । अनौठो कुरो बालीलाई
जनावरवाट जोगाउने उद्देश्यले बिजुलीका तारजडित बार लगाइएको रहेछ । जनावर भन्नाले
चौँरी र खच्चड होला भन्ने मैले अनुमान गरेँ । हिमाली भेकमा चौंरी भनेको भारी
बोक्ने, खेत जोत्ने र
दूध दिने जस्ता बहुल सेवा दिने महत्वपूर्ण
पशुधन हुँदो रहेछ । मेरो मस्तिष्कमा भने यत्रो उचाइमा यसरी मिहिनेत गरेर
परम्परागत ढङ्गले गरिएको कृषि उत्पादनले विश्वबजारमा कसरी प्रतिस्पर्धा गर्न सक्छ
भन्ने प्रश्न भूत बनेर मडारिइरह्यो ।
बेलुकीको बास ल्हो मा भयो । शरीर थकाईले चुर भए तापनि नजिकै देखिएका हिमालले त्यसलाई बिर्साउने प्रयास
गरेको भान भएको थियो । म भोलि बिहान बादल नलागोस् र हिमाल स्पष्ट देखियोस् भन्ने
कल्पना गर्दै निद्रादेवीको शरणमा गएँ ।
चैत्र ३०, २०७५
बन्दीपुर, तनहुँ
No comments:
Post a Comment