यस पटक हाम्रो भारत यात्राका लागि
नेपाल वायुसेवा छनोटमा परेको थियो । गत साल जस्तै यस पटक दम्पतीलाई चिठ्ठा
परे झैँ भयो । पौष १३ को अपराह्न २:३० को सीधा उडानवाट बङ्गलुरु जाने तय भएको थियो । गत साल विहान सखारैको टिकटले
गर्दा श्रीमतीजीको पारो तातेको अझै ताजा थियो । यस पटक दिउँसोको उडान भए पनि अर्कै
झ्याउलो आइलाग्यो ।
राजकुमारको
ट्याक्सी बोलाएको थिएँ । दुई जनाका
दुईवटा सुटकेस भएकाले धेरै ट्याक्सी पाइने चोकसम्म पनि जान कठिन थियो । यसैले उसलाई ‘स्याङ्तान
फर्निचर’ मा आउ भने । कोटेश्वरको श्री शान्ति मार्गमा कुनै जमानामा अड्डा
जमाएको यो फर्निचर उद्योग अहिले छैन । यो मेरो घरको छेउमा सहजै ट्याक्सी रोक्न मिल्ने ठाउँ हो जुन
मेरो परिवारका सदस्यहरु र अन्य पुरानो सम्पर्क भएका सवारी चालकहरुलाई थाहा छ ।
राजकुमारले पेप्सीकोलामा छु भनेको थियो । हाम्रो निर्धारित समयमा ऊ आइपुगेन तर उसको फोन भने आयो ।
“सर, जडीबुटीबाट ट्राफिकले आउनै दिएन । सबै गाडीलाई
रोकेको छ ।”
अब हिँड्नुको को विकल्प बाँकी थिएन । विदेशमा सुटकेस सजिलै गुडकिन्छ । हाम्रा
अधिकांश सडकमा त्यो सम्भव हुँदैन । बरू सडकमा बजार लाग्छ, फोहोर फालिन्छ, बिस्कुन सुकाइन्छ, दिसअ पिसाब गरिन्छ, गाडी पार्किङ् गरिन्छ । सडकबाट खास सुविधाभन्दा अन्य
सुविधा लिइन्छ ।
सुटकेश दु:खले घिसार्दै हामी मूल सडकमा
पुग्यौँ । तिनकुनेतिर जाने सवारी सबै रोकिएका रहेछन् । हामी कोटेश्वर प्रहरी चौकी
अगाडि पुग्यौँ । सडक सवारीले भरिपूर्ण देखियो । ट्याक्सीको नामोनिशाना थिएन ।
परिस्थिति आत्तेस लगाउने खालको थियो । सयौँ यात्रु सवारीसाधनको खोजीमा थिए । सवारीसाधन
भने विभिन्न नाकामा रोकिएका थिए ।
महादेवस्थान मार्गतिर जाने मोडमा पुगेपछि एउटा ट्याक्सी फेला पर्यो । हामी
त्यसैमा भाडाको कुरा नसोधी चढ्यौँ । यस्तो वेलामा मोलमोलाइको कुनै अर्थ हुँदैन ।
तीनकुनेतिर अलिकति अघि बढेपछि फेरि जाम परेको संकेत देखियो । गाडीहरु सबै रोकिएका
। अनिश्चितता र अन्योलले भरिदैँ बीच सडकमा नै ओर्लिएर स्थिति बुझ्न म पैदलै अघि
बढेँ । गौशाला र बानेश्वर जाने लाईन छुट्टिने मोडमा वाकीटकी हातमा बोकेका पुलिसले
सवारीसाधन रोकेका थिए ।
म सवारीसाधनको लहर छिचोलेर अग्रभागमा पुगेँ ।
“किन रोक्नुभएको गाडीहरु ?”
“सवारी छ ।”
“अग्रिम जानकारी त थिएन नि?”
“खै हामीलाई त्यसबारेमा केही थाहा भएन ।”
उनीहरु आदेशको पालना गरिरहेका थिए
। पाँच दश मिनटमा खुल्छ भन्ने सूचना दिए उनले । त्यसले केही राहत पुर्यायो । पछि
थाहा भयो नेपालमा हालैका दिनमा विवादास्पद भएको एशिया प्यासिफिक शिखर सम्मेलनमा
म्यानमार र कम्बोडियाका सरकार प्रमुखहरुको आगमानको कार्यक्रमले यो सब वितण्डा
मच्चाएको थियो ।
नभन्दै दश मिनटमा जाम खोलियो । श्रीमतीजी
केही कुरा गर्न खोज्दै थिइन् । म भने अझै निश्चिन्त हुन सकेको थिइन । उनलाई भने-
“एक छिन चुप लाग ।”
मेरो अन्तरमनले अनुमान गरे झैँ
विमानस्थलको गेटबाट भित्र ट्याक्सी जान दिएन । अर्को चर्तिकला देखियो । वैकल्पिक
व्यवस्था नगरीकन वा अग्रिम सूचना नदिईकन कुनै सेवा कटौती गर्नु भनेको नेतृत्वको
मूर्खबुद्धिको परिणाम हो भन्ने जगजाहेर छ । यस्ता दृष्टान्तले सार्वजनिक सेवा-सुविधाको
विषयमा ज्ञान नभएको मान्छे नेतृत्वमा छ भन्ने स्पष्ट हुन्छ ।
हामी सुटकेस घिसार्दै विमानस्थल
प्रवेश गर्ने ठाउँमा पुग्यौँ । जताततै सुरक्षाकर्मीको घेरा थियो । सामान्य
यात्रुले यतिले नै ‘दशा लागेको’ महसूस गर्छ ।
तर भुक्तभोगीहरुका लागि सदाका लागि देश छोड्न एउटा अर्को बहाना थपिएको आभास हुन्छ
। हामी सामान जाँच कक्ष छिचोलेर टिकट जाँच कक्षमा पुग्यौँ । केही बेरको पर्खाइपश्चात्
हाम्रो पालो आयो ।
“जहाज कलकत्तातिरको बाटो जान्छ कि दिल्लीतिर भएर जान्छ ?”
टिकट जाँच गर्नेको मेरो यही प्रश्नले बार्ह बजाइदियो ।
उसले नजिकैको एक अर्कोसँग खासखुस गर्यो । भेउ पाउन सकेन ।उसले उत्तरबिना नै काम
चलाउने उपाय निकाल्यो-
“जताबाट गए नि के भो त ? आखिर वैंगलोर पुर्याइहाल्छ
क्यारे !”
“कलकत्तातिर भए देब्रे झ्यालमा बस्ने दिल्लीतिर भए दाहिने ? हिमाल हेर्दै
जाने क्या ?”
यति बक्साएपछि थप प्रतिवाद नगरी उसले
जे दियो त्यसैमा चित्त बुझाइयो । अध्यागमनमा नेपाली यात्रुको पङक्तितिर लामो लाइन
रहेछ । नेपालको शान यो कक्ष
‘बैदेशिक रोजगारी’ र अन्य गरी दुई खण्डमा विभाजित छ । मलाई
यो पनि विभेदकारी लाग्छ । विदेशी भूमिमा कुनै संयुक्त राष्ट्र संघ जस्ता निकायमा
या अन्य पेशागत काम गर्ने ह्वाइट कलर कामदार नेपाली पहिलोतिर
पक्कै जाँदैनन् । यसैले म निचोड निकाल्छु ।
“पहिलोमा विदेशमा श्रम बेचेर नेपाल धान्नेहरु उभिन्छन् ।
दोस्रोमा नेपाल बेचेर जीवन धान्नेहरु ।“
यही सेरोफेरोमा केही दिनअघि नेपालका लागि मलेशियाका राजदूतले भनेको सम्झिए-
“अहिलेसम्म नेपालले हामीलाई श्रम बजार र मलेशियाले तपाईंहरुलाई श्रमिक उत्पादन
गर्ने मुलुकका रुपमा मात्र चित्रण गरेको छ ।“
उडान समय निर्धारितभन्दा ३० मिनटले
मात्र ढिलो थियो । विगतका हवाई यात्राहरु संझिए । विविध कारणले गर्दा नेपाल एयरलाइन्समा
धेरै कम चढेको रहेछु । सुने अनुसार ३० मिनट मात्र ढिलो हुनुलाई स्वाभाविक रुपले
लिनुपर्छ । जहाजको सिँढीको मुखैमा पुग्दा भने सह-यात्री धर्मपत्नीले टिप्पणी गर्ने
एक प्रसंग सिर्जना भयो । उनी लाममा मभन्दा निकै पछि थिइन । मभन्दा अघिकालाई जान
दिएर भुइँ कर्मचारीले मलाई सीमा बनाएर यात्रुलाई रोकिन् । उनी र म आमनेसामने भयौँ
।
मंगोलियन अनुहार, हट्टाकट्टा
शरीर र अनुहारमा मन्द मुस्कान । मेरो प्रत्युत्पन्न मति प्रस्फुटन भैहाल्यो । उनको
छातीमा नाम भएको परिचयपत्र झुन्डिएको थियो । मैले उनको नाम पढ्ने ध्येयले शिर अलि
निहुराएर उनीसँग अझ नजिक भएँ ।
“सुनुवार हुनुहुँदो रहेछ । के राई सुनुवार हो ?”
“हो ।”
“घर कहाँ नि ?”
“रामेछाप ।”
उनको मुस्कानको दुबो अझ मौलायो ।
सिँढी खाली भयो । उनले अघि बढ्ने संकेत गरिन् । पछि रीताले भने यो विषयलाई खरो
मुद्दा बनाइन् ।
“किन हेर्नुपर्यो नि नाम ? नाम हेर्ने निहुँले टाउको पूरै
झुकाएर जोत्नैपर्छ ? जो सँग नि रसरङ्ग गर्नैपर्छ ? के हो पारा ?”
उडानमा पनि श्रीमतीजीको पारो
तात्ने अर्को यस्तै काम भयो । हामी दाहिनेतिर परेछौँ । झ्यालतिर रीता बसिन् । म माझमा । मेरो देब्रेतिर अग्रवाल थर गरेका २४ वर्षे
युवा परेछन् । उनी नेपालका मारवाडी समुदायका व्यावसायिक घरानाका एक पुत्ररत्न रहेछन्
। आफ्नै कम्पनी । आफैँ कार्यकारी निर्देशक । केही समय अघि आफूभन्दा २ वर्ष जेठी
युवतीसँग विवाह बन्धनमा बाँधिएछन् । अहिले आफ्नी अर्धाङगिनी भेट्न बैँगलोर जाँदै
रहेछन् । उनीसँग नेपालमा मारवाडी समुदायले व्यापारमा गरेको तरक्की आदि विषयमा लामै
गफगाफ भयो ।
“इट इज माई ग्रेट प्लेजर टु मिट यू सर !”
व्यापारी समुदायको नेतृत्व तहको
व्यक्तिबाट विना सौदाबाजी यस्तो प्रशंसा पाउनु ठूलो कुरो थियो । म मनमनै दङ्ग परेँ
तर यो हर्षको भेलले नदीको रूप लिन पाएन । मैले रीताको अनुहारको भाव बदलिएको
अनुभूति गरेँ । एक छिन अघिसम्म हाम्रो गफमा मिसिएकी मान्छे एकाएक गम्भीर भएकी
देखियो । त्यसवेला त उनले केही भनिनन् तर पछि विमानस्थलबाट होटल जाने क्रममा
आक्रोश पोखिन-
“तपाईंको लागि त्यो भर्खरै भेटिएको मान्छे महत्त्वपूर्ण कि म ? साथमा को छ ? कुन समयमा कसलाई महत्त्व दिने
भन्ने कुरा जीवनको उत्तरार्द्धमा पनि थाहा नपाउने ?”
“जीवनसाथी नै सहयात्री भएको वेला आफूलाई कुनै कुराले चित्त नबुझे सांकेतिक भाषामा वा रमाइलो पारामा भने
हुन्छ नि ? किन झनक्क रिसाइहाल्नु
?”
मैले मनमनमा मात्र यसो भने । किनभने उमेर
ढल्किँदै गएपछि हाम्रा कतिपय बानीहरु लाहाछाप टाँस्सिए जस्तै टाँसिएका हुन्छन् ।
तिनलाई परिवर्तन गर्नु भनेको असम्भवप्राय हुन्छ । कसैलाई यस्तो सुर्काउनी परेको
परिवेश समातेर रीसको गाँठो पार्ने बानी लागेको हुन्छ भने कसैलाई फकाउने । म जहिले
पनि आफूलाई दोस्रो कित्तामा राख्ने कोशिश गर्छु । किनभने यसमा प्रतिस्पर्धा कम
हुन्छ ।
दायाँ र बायाँतिर तीन तिन जना
अट्ने सीटको प्रावधान भएको जहाज भएकाले नै होला वा जहाज नै सानो भएर हो बीचको
हिँड्ने बाटो साँघुरो थियो । यसैले गर्दा शौचालय जाने क्रममा उडान कर्मचारीसँग
मनोमालिन्यको स्थिति सिर्जना भयो । हिँड्ने बाटोमा जुठा प्लेट आदि संकलन गर्ने ट्रली राखिएको थियो । परिचारकले
मलाई एक छिन पर्खने आदेश दियो ।
“दुब्लो पातलो मान्छे भए त छिर्न सक्थ्यो ।”
उसले मतिर हेर्दै अलि खिसिट्युरीको
पारामा भन्यो । मैले तातो प्रतिक्रिया दिइनँ । तर म शौचालयमा पालो पर्खिँदा त्यही
केटो र दुइटी महिला पछाडि सामान थन्क्याउँदै गरेका भेटिए ।
“यी भाइको प्रतिक्रियामा मेरो
आपत्ति छ ।”
मैले उनीहरुको ध्यानाकर्षण गर्दै विस्तृतमा यथार्थ बताएँ ।
अनि दुईमध्ये अलि मोटीलाई लक्षित गर्दै भनें-
“यस्ती मोटी पनि उडान कर्मचारी ? अनि कहाँ उभो लाग्छ, नेपाल एयरलाइन्स ?”
अभिनय शैलीमा यो वाक्य भनेर स्थिति
गम्भीर बनाएँ ।
“मानौँ ! मैले यस्तो
टिप्पणी गरेँ रे । कस्तो लाग्छ तपाईंलाई ?“
महिलाले स्वीकार गरिन् । केटाले
कालो मुख लगायो । माफी भने मागेन ।
विमानस्थलबाट हामी ट्याक्सी समातेर
‘सिट्रस
कनिङ्गह्याम रोड’ नामक होटलतर्फ
लाग्यौँ । होटल पुग्न एक घण्टा समय लाग्ने जिकिर गरे ट्याक्सी चालकले ।
भोलिपल्टको घोषित कार्यक्रम साँझमा
मात्र थियो । यसैले किनमेलका लागि प्रख्यात यमजी रोडमा गयौँ । त्यहाँ त खासै केही
किनिएन । तर ‘ढुंगो खोज्दा देउता मिल्यो’ भन्ने उखान
साबित हुने एक टेम्पो चालक भेटियो । होटल फर्किने क्रममा उसले हामीलाई सिल्कका
लुगा पाइने पसलमा लग्यो । रीताको खुशीको सीमा रहेन । टेम्पोवालाको फोन नँ लियौँ ।
साँझको कार्यक्रम सिट्रस होटलमा नै
थियो । झारखण्ड राज्यको राँची शहर नजिकै अवस्थित विरला इन्स्टिच्युट अफ
टेक्नोलोजीमा आफ्नो विद्यार्थी जीवनकाल बिताएर अहिले संसारका विभिन्न कुनामा जीविकोपार्जनमा
गरिरहेका लगभग २०० जनाको त्यहाँ सहभागिता थियो । रात्रिभोज शुरू हुनुअघि केही
मन्तव्यहरु सुन्यौँ ।
डिसेम्बर १ को बिहानदेखि बेलुकै
सम्मको कार्यक्रम ललित अशोक होटेलमा आयोजना गरिएको थियो । हामी ओला ट्याक्सीमा
त्यहाँ पुगेका थियौँ । यस पटक म नेपालको प्रतिनिधित्व गर्दै दौरा सुरुवालको
पहिरनमा कार्यक्रममा समावेश भएँ । फ्रस्ट एण्ड सुलेभान नामक विश्वव्यापी कम्पनीका
कार्यकारी अध्यक्ष अरूप जुस्तीले राम्रो प्रस्तुति गरे । उनीसँग गत साल जयपुरमा
भेट भएपछि नेपालको उनको कार्यालय मार्फत केही सहकार्य गर्न हामी सफल भएका थियौँ ।
उनी लगायत अन्य विशिष्ट व्यक्तिहरुसँग परिचय पुनरावृत्ति भयो ।
डिसेम्बर ४ मा मात्र नेपाल फर्कने
टिकट भएकाले दुई दिन घुम्ने योजना बनाएका थियौँ । रीताकी साइँली ठूलीआमाका छोरा
लक्ष्मी खतिवडा बैँगलोरमा नै आईटी व्यवसायमा संलग्न रहेछन् । आइतवार उनको पनि
छुट्टी भएकाले उनकी सानी छोरी निलाशा सहित हामीलाई लिन आए । उनीहरुको निवासमा
बिहानको खाना खाएर बुहारी नीतु, लक्ष्मी, निलिशा, रीता र म गरी ५
जनाको टोली घुम्न निस्कियो । टोलीको पहिलो गन्तव्य थियो ‘हेरिटेज सेन्टर एण्ड एरोस्पेस
म्युजियम’ ।
वास्तवमा वैँगलोर शहरका केही
विशेषता रहेछन् । हवाई सुरक्षा सम्बन्धित ऐतिहासिक केन्द्र रहेछ । मध्य शहरमा
रहेको धावनमार्ग लाई अहिले यही प्रयोजनका लागि प्रयोग गरिएको रहेछ । बैँगलोरमा १
करोड २५ लाख जनसंख्याको आवादी रहेछ । अहिले यो आईटी सम्बन्धित व्यापार व्यवसायको
केन्द्र भएकाले यसलाई पूर्वको सिलिकन भ्याली पनि भन्दा रहेछन् ।
सँग्रहालयमा ‘नेपालका
राजारानी’ शीर्षकमा एक
बृहत तस्वीर पनि राखिएको रहेछ । तस्वीरमा सन् १९६५ भनेर मिति पनि लेखिएको रहेछ ।
यो म जन्मेको साल भएकाले राजा महेन्द्र होलान् भनेर अनुमान लगाएँ । जे जस्तो भए नि
राजा भएको वेला नेपालको शान अर्कै थियो ।
लक्ष्मीले सही थापे-
“इतिहासलाई कसैले परिवर्तन गर्न
सक्दैन । आखिर अहिले बङ्गलुरु भने पनि बैङ्गलोरको दशकौँको इतिहास कहाँ मेटिन्छ र ?”
सङ्ग्रहालय पश्चात ‘जीवन कला’ अर्थात् ‘आर्ट अफ लिभिङ’ का गुरु रविशंकरको आश्रममा गयौँ । नीतु र निलाशासँग रीता र मेरो पहिलो पटक भेट
भएको थियो । निलाशा भर्खर पाँच वर्षमा हिँड्दै रहिछ । आफन्त भने पछि झ्याम्मिने ।
लक्ष्मीले गाडी चलाएका थिए । नीतु अगाडिको सीटमा थिईन् । रीता र म पछाडि । निलाशा
उसकी मम्मीसँग अगाडि गइन । हामीसँगै जमेर बसी । ऊ सँग गफ गर्न पनि रमाइलो भयो ।
उसले नाताको गन्जागोल औल्याउँदै मलाई देखाएर भनी-
“ठूलो बाबा हो कि भिनाजु हो ?”
“भिनाजु नै हो । यसै पनि मेरा सालीहरु कम छन् ।”
मैले अरूलाई
मौकै नदिइ उत्तर दिएँ । उसले सबैभन्दा कान्छी सालीको उपमा पनि पाई । यो प्रसंगले
हामी सबैलाई हँसायो ।
रविशंकर गुरुको
आश्रम बैँगलोर को शान रहेछ । अन्तर्राष्ट्रिय ध्यान केन्द्र, आवासीय प्रशिक्षण, जैविक तरकारी
उत्पादन आदिको आकर्षण । सयौँ हेक्टरमा फैलिएको परिसर । हरियालीको खानी । वर्षातको
पानी संकलन गर्ने पोखरीहरु पनि देखिए ।
अहिले निर्माणाधीन मेट्रो रेल आश्रमको प्रवेशद्वारसम्म नै पुग्ने रहेछ ।
ध्यान केन्द्रमा केही बेर ध्यान गरेर हामी फर्कियौँ । बेलुका इन्दिरानगरको
शाकाहारी रेष्टुरेन्टमा हाम्रो भोजन भयो । एक दिनमा सालाखाला तीन हजार नरनारी यो
आश्रम घुम्न आउने तथ्य जानकारी भयो।
अर्को दिन हामी बैँगलोरको अर्को
शान इस्कोन मन्दिर पुग्यौँ । रामकृष्ण मिशनले सञ्चालन गरेको यो मन्दिर अर्को नमूना
दर्शनीय स्थल रहेछ । ‘हरे राम हरे कृष्ण’ जप्दै १०८ पटक विशेष किसिमले विछ्याइएका शिलामा पाउ राखेर मन्दिर दर्शन
गर्नुको नयाँ अनुभव बटुलियो । अति नै सफा र व्यवस्थित । फूल चढाउने, प्रसाद संकलन
गर्ने र फोहोरमैला व्यवस्थापन गर्ने यी तीन विषयमा ध्यान दिए मन्दिरलाई साँच्चै
पवित्रस्थल हो भनेर स्थापित गर्न कठिन छैन भन्ने इस्कोन मन्दिरले जनायो । पछि
खोजेँ-इस्कोनको अर्थ ‘दी इन्टरनेशनल
सोसाइटी फर कृष्ण कन्सियसनेस’ रहेछ ।
एकातिर इलेक्ट्रोनिक शहरको शान छ
अर्कोतिर आस्थाका केन्द्रहरुको लोकप्रियता छ । यी सबै केही दशकका सोच र मिहिनेतका
फल हुन् । बैँगलोर शहरभित्रको खुला मैदान र रूखबिरुवाको बाक्लो उपस्थिति त झन् लोभ
लाग्दो नै रहेछ । मान्छेले आँटे के हुँदैन ?
दीक्षाको पछाडि भिर्ने झोलाको
किनमेल बाँकी नै थियो । समय भने अन्तिम दिनको विहान मात्र उब्रेको। होटलको आगन्तुक
कक्षमा सूचना संकलन गरेर यमजी रोडको गरुडा मल पुग्यौँ । तर त्यो ११ बजेभन्दा अगाडि
खुल्दो रहेनछ । कसैले त्यसको नजिकै सिटी सेन्ट्रल मल जाने सुझाए । त्यहाँ पनि गयौँ
। पार लागेन । यसैले उही टेम्पोवालाको सहयोग लिएर झोला पाइने पसलमा जाने सल्लाह
भयो । सिटी सेन्ट्रलको अग्रभागमा एउटा कफी पसल भने खुला रहेछ । मैले एक अमेरिकानो
कफी किने । ‘मल कति बजे खुल्छ’ भन्ने कुरा कफीवाली केटीलाई पनि
थाहा रहेनछ । उसले छेउको एक सुरक्षाकर्मीलाई सोध्ने सुझाई ।
“यो मल कति बजे खुल्छ भाइ?”
मंगोलियन अनुहार भएको र नेपालकै राई लिम्बू जस्तो लागेकोले अँध्यारोमा
झट्टी हाने । सिट्रसमा पनि ब्रेकफास्टको व्यवस्थापन सम्हाल्ने मंगोलियन मूलकी एक
सेविका थिईन् । उनलाई यो सिद्धान्त प्रयोग गर्दा भने म अनुत्तिर्ण भएको थिएँ ।
ऊ भने एकाएक मुस्कुरायो ।
“एकछिनमा खुल्छ ।”
मैले उसलाई पाँचऔले अभिवादन अर्थात्
‘हाई-फाइभ’ दिएर रंगमञ्चमा थप रंग घोलेँ ।
“नेपालमा घर कहाँ हो ?”
“पूर्व ।”
“पूर्व कहाँ ?”
“पाँचथर ।”
“पाँचथर कहाँ ?”
“आङसराङ ।”
आङसराङ र म जन्मेको स्याब्रुम्बा
गाउँपालिकाको बीचमा यासोक मात्र छ । हाम्रो भूगोल पनि एउटै परेछ ।
मैले फेरि पाँचऔंले अभिवादन गरेँ ।
“तिमी सुब्बा हो ?”
“हो ।”
“थेन वातुवे हो लुङ्गा ?”
ऊ मुस्कुरायो । उसले फेरि मेरो अभिवादन
पायो । यसरी मेरो हाइफाइभले सिद्धान्तकै रूप धारण गर्यो ।
मैले एकछिन उसको कामका बारेमा कुरा
गरेँ । महिनाको १०,००० भारु पाउँदो रहेछ । उस्का एक आफन्त उनीहरुका नाइके
रहेछन् । खाना डेराबाटै ल्याउँदा रहेछन् । तर उसको भनाइ अनुसार अब ऊ केही महिना
पछि मलेशिया जाने दाउमा रहेछ । मैले कफीवालीलाई पनि तलबको बारेमा सोधेको थिएँ ।
उनीहरु जस्ता नवप्रवेशीले भारु ६,००० पाउँदा रहेछन् । यस हिसाबले सुब्बा भाइको तलब
थोरै लागेन । यसले वैदेशिक रोजगारीको विषयमा मलेशियाका राजदूतले भने झैँ
नेपालीहरुको मलेशिया मोह र सरकारको रबैयाका बारेमा केही सूचना प्रदान अवश्य गर्यो
।
फर्कंदा नेपाल एयरलाइन्सको उडान
समयमा नै भएको पाइयो । हामी केम्पेगौडा अन्तर्राष्ट्रिय हवाई अड्डामा पनि एउटा
झ्याउलोका शिकार भयौँ । अध्यागमनमा डोमेस्टक अर्थात् अन्तर्राज्यीय कक्षतिर
लागेछौँ । रीता महिला जाँच कक्षतिर लागिन म पुरुषतिर । मैले ट्रेमा सामान राखेँ ।
त्यसमा कसैले छोडेको गाडीको एउटा चाबी थियो । मैले त्यो चाबीको बारेमा केही सोचिन
। तर जब मलाई रोकियो । मैले मेरा सबै सामान ल्याएँछु तर आफ्नो चाबी भने संकलन गर्न
बिर्सेछु ।
म हुस्सु दण्डको भागी भएर फर्किँदा
परबाट सुरक्षाकर्मी र त्यसपछि अर्को यात्रुले मलाई लक्षित गरेर भनेका थिए-आपका चाबी छुट
गया ।
“वो मेरा नही है ।”
मैले त्यही बेवारिसे गाडीको चाबी भन्ठानें तर वास्तवमा
उनीहरु मेरो चाबीको बारेमा भन्दै रहेछन् ।
पछि अन्तर्राष्ट्रिय कक्षमा आएर रीतासँग भेट भएपछि पो म झसंग भएँ । फेरि फर्केर
लम्किँदै गएँ । सुरक्षाकर्मीले मलाई दिएको हुस्सुको पगरी गुथेर चाबी लिएँ ।
नेपाल एयरलाइन्सको उडानमा फेरि
गाँसमा ढुंगो लाग्ने काम भयो । पछाडिका यात्रुहरुलाई हाम्रै लहरदेखि खाना वितरण
शुरू भएको थियो । तर परिचारिकाले घोषणा गरिन-
“हामीसँग शाकाहारी मात्रै छ ।”
“किन नि ?”
“हजुरहरुले पहिला नै खबर गरेको भए मांशाहारी परिकारको व्यवस्था हुन सक्थ्यो ।”
थाइल्याण्डमा बस्दा त्यहाँ आलुभन्दा
कुखुराको मासु सस्तो पाएर हामीलाई आश्चर्य लागेको थियो । थाई एयरवेजमा कहिलेकहीं ‘माछा र
कुखुराको मासुको मात्र परिकार छ, शाकाहारी छैन’ भन्ने सुनिएको थियो । तर हाम्रो ध्वजावाहकमा यसको विपरीत । यसको अर्थशास्त्र
वा मनोविज्ञानतिर लाग्नुभन्दा चुपचापे नीति अपनाएर म केही बेरमा आफ्नै मुलुकमा
पुगेर गर्ने कामको कल्पनामा लागेँ ।
पौष १०, २०७५
नेपाल विकास अनुसन्धान प्रतिष्ठान
पुल्चोक, ललितपुर
No comments:
Post a Comment