हामी सात जनाको समूहमा थियौँ । आधा दिनका लागि सवारीसाधन
भाडामा लिइएको थियो । चारमिनारको बिसौनी पुगेपछि चालकले छैटौं इन्द्रिय
सतर्क गराए । उनले टुटे फुटेको हिन्दीमा भने– होश गर्नू, पाकेटमारले सफाचट पारिदिन सक्छ ।
चालकको आह्वानले मेरो ध्यान साथमा भएका बहुमूल्य सामानमा
गयो । भर्खरै ‘एस बैँक’ को एटीएमबाट दश हजार दाम निकालेको थिएँ । मेरो आधुनिक थैली
अर्थात् वालेटमा तीनवटा बैँकका भिसा कार्ड थिए । मैले पछाडिको खल्तीबाट वालेट
अगाडि सारेँ ।
रात्रिको आठ बजेको थियो । बत्तीको झिलिमिलीमा जगमगाएको
चारमिनार हाम्रो सामुन्ने थियो । चारमिनार दक्षिण भारतको तेलंगना प्रदेशको राजधानी
हैदरावादको प्रसिद्ध पर्यटकीय स्थल रहेछ । चारमिनारको अर्थ ‘चार स्तम्भ’ रहेछ, चारवटा विशाल खम्बामा उभिएको भवन जस्तो विशाल संरचना ।
भवनका चार कुनाबाट उम्रिएर आकाशिएका चारवटा स्तम्भ यो भव्य स्मारकका आकर्षण रहेछन्
। चारवटा सडकको मिलन बिन्दुमा बनाइएको यो स्मारकको पहिलो तलामा एक मस्जिद रहेछ ।
हामी चारमिनारलाई दाहिने पारेर एक फन्को मार्न अघि बढ्यौँ ।
‘सूर्यसरको पछि चन्दा, चन्दाको पछि
निर्मल गर्दै सबै एक लहर बनाएर हिँड्ने । यसो गरे हराइँदैन ।‘
मेरो आदेशको पालना भयो ।
सूर्य सर र मबाहेक टोलीका अरू पाँच जनाका लागि भारत भ्रमण
नौलो थियो । समूहका सुवास, निवेश र पुष्पाले
भारतमा केही लामो यात्रा गरेका रहेछन् । बाँकी रक्सौल र जोगबनीसम्म पुगेका रहेछन्
। यो जानकारीले कुनै जमानामा सुनेको संसार घुम्ने एक सूत्र सम्झायो– हिन्दुस्तान
एक्लै घुम्न सक्ने आँटीले ससार सजिलै घुम्न सक्छ ।
घुमेकै भए पनि नयाँ ठाउँ र नयाँ परिवेशमा सतर्क हुनैपर्छ ।
पाकेटमारले ‘यो घुमेको रहेछ वा लालबुझक्कड रहेछ, यसको पाकेट अहिलेलाई नचलाऊँ’ भन्दैन ।
हामी चारमिनार वरिपरि जम्मा भएका हजारौँ नरनारीको हुलमा मिसिएका
थियौँ । कालो बुर्का लगाएका मुस्लिम महिलाहरू बाक्लै देखिन्थे । काला पहिरनले
छोपिएका ती नारीहरूतिर संकेत गर्दै चन्दा र पुष्पालाई भनेँ–कति भाग्यमानी तिमीहरू ! टाइट पाइन्ट र बुट लगाएर हिँड्न पाएका
छौ, तिम्रा समकक्षीसँग आफूलाई तुलना गर र जिन्दगीमा गर्व गर
।
सडक किनारा खुद्रा पसलले भरिएका थिए । मैले बिहान
विकिपिडियामा चारमिनारबारे पढेको थिएँ । प्लेगको माहामारीले आक्रान्त भएको शहरलाई
हैदराबादको नयाँ नाम दिँदै सुल्तान कुतुव शाहले चारमिनारको जग शिलान्यास गरेका थिए
अरे । ग्रेनाइट, चुनढुंगा र
सिंगमरमरले बनाइको यो प्राचीन स्मारक लगभग चार सय वर्ष पुरानो मानिँदो रहेछ ।
सम्राट् कवि पनि भएकाले शिलान्यास गर्दा उनले कविताको रूपमा यस्तो भनेका थिए अरे–
हे अल्लाहा ! यो मेरो शहरलाई नदीलाई माछाले भरिदिए जस्तै मान्छे मान्छेले
भरिदिनू ।
सूर्यसर एकाएक मूल बाटो छोडेर दाहिने मोडिनुभयो । हामीले
पिछा गर्यौँ । अव हामी मान्छेको कम घनत्व भएको ठाउँ मूल सडक र चारमिनारको मध्यवर्ती क्षेत्रमा
थियौँ । अचम्म भयो । हामी त एक भव्य मन्दिरअगाडि आइपुगेका थियौँ । मन्दिरको
सिरानमा हिन्दीमा लेखिएको थियो– श्री भाग्यलक्ष्मी मन्दिर, चारमिनार ।
अंग्रेजी र अन्य एक भाषामा पनि यो शीर्षक लेखिएको थियो । शीर्षकको
दाहिनेतिर गणेशजीको तस्वीर थियो,
देब्रेतिर
सरस्वतीको र बीचमा लक्ष्मीको । यो मुस्लिम समुदायको तीर्थस्थलमा एकाएक उदाएकी
लक्ष्मी देख्दा सयपत्री टिप्न बगैँचामा जाँदा पारिजात भेटिएको अनुभूति भयो । म
दर्शन गर्न तम्सिएँ । फूलै फूलले सजिएकी, आँखामा गाजल, ओठमा रातो
लिपिस्टिक, देब्रे नाकमा
कालो फुली, नाकमा दाहिनेपट्टि
नत्थी, कानमा सुनका झुम्का, आज्ञाचक्रमा वृत्ताकार रातो टीका, निधारमा अर्को रातो टीका र शिरमा मुकुट– यस्ती साक्षात देवीको दर्शन पाउनुलाई
मैले आफ्नो अहोभाग्य सम्झेँ । भाग्यलक्ष्मीको दर्शन मेरो जीवनकै पहिलो अवसर थियो ।
मैले झल्याँस्स काठमाण्डू विश्वविद्यालयको प्रांगणकी सरस्वतीदेवी सम्झेँ । जसको
अनुहारमा देवीको रूपअनुरूपको आभा नभए जस्तो लाग्छ । ती मूर्तिकारलाई यहाँ ल्याएर
भाग्यलक्ष्मीको मुस्कान देखाउन मन लाग्यो ।
मैले सूर्यसरलाई सोधेँ– भाग्यलक्ष्मी देवीको यो मुस्कान
सरलाई कस्तो लाग्यो ?
‘भव्य,
मोनालिसा मुस्कान
जस्तो ।'
यसो भनेर वहाँ पनि भाग्यलक्ष्मी देवीझैँ मुस्कुराउनुभयो ।
झट्ट हेर्दा गम्भीर मुद्रा जस्तो र अलिक गहिरिएर हेर्दा
मधुर मुस्कान देखिने यो मूर्तिका शिल्पकारलाई मैले नमन गरेँ । वास्तवमा मेरो अगाडि
उनको कल्पना मुस्कुराइरहेको थियो ।
चारमिनारको नामले नयाँ दिल्लीको कुतुवमिनारको झल्कोसँगै
आगराको ताजमहलको पनि सम्झना दिलाउँदो रहेछ । मुगल सम्राट् साहजाँहले मुमताजको
सम्झनामा प्रेमको प्रतीक निर्माण गरे । त्यसलाई ताजमहल भनियो । यस्तै, सुल्तान कुतुव शाहले हरिजन समुदायकी चेली भाग्यवतीको
सम्झनामा चारमिनार निर्माण गरेका रहेछन् । कुतुव शाहले भाग्यवतीको दर्शन पाएकै
ठाउँमा चारमिनार बनाएका हुन् भन्ने किंवदन्ती रहेछ । धर्म परिवर्तन गरेर हरिजन
युवती मुस्लिम भइछन् । सम्राट्की रानी हुने शौभाग्य पाएकाले ती नारीलाई भाग्यवतीको
नाम दिइएको हुनसक्ने अनुमान गरेँ । मुसलमानको आस्थाको केन्द्रमा यसरी हिन्दू
मन्दिर हुनु अपत्यारिलो र अनौठो हुने नै भयो । नेपालमा पनि कतिपय धार्मिक स्थलमा
हिन्दू देवीदेवता र बुद्धका मूर्तिहरू एकै परिसरमा राखिएका छन् ।
‘ठोस फोहोरमैला व्यवस्थापन’ विषयमा आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी
हुन सूर्य सर र म (सुनजोडी) स्नातकोत्तर तहका छ जना विद्यार्थी लिएर हैदरावाद गएका
थियौँ । सम्मेलनमा विद्यार्थीका चार र सुन जोडीको एक गरी पाँच प्रस्तुति नेपालको
तर्फबाट थिए । नेपालको सीमाबाहिर नटेकेका विद्यार्थीहरूका लागि संसारभरका
अध्येताहरूसँग भेट गर्ने यो सुनौलो अवसर थियो । सम्मेलनका गतिविधिमा कसरी
परिणाममुखी हुने भन्ने विषयमा हाम्रो निर्देशन पाएकाले उनीहरूको हौसला बढेको थियो
। विद्यार्थीलाई हँसाई हँसाई ब्रह्म खुल्नेगरी ज्ञान दिने सूर्य सरको शैलीले
त्यहाँ पनि अवसर पायो । हाम्रो समूहका एक प्रस्तोताले सबै श्रोतासँग आँखा जुधाउन
सकेनन् । अधिकांश समय उनी एक दुई जनामा केन्द्रित भए । उनको प्रस्तुति सकिएपछि
सूर्यसरले सोध्नुभयो–तिमीले किन एउटी युवतीलाई मात्र हेरेको ?
प्रस्तोता चुप रहे । सूर्य सरको पारो अलिकति चढ्यो ।
‘एउटीलाई मात्र हेरेपछि त्यसले मानिन भने तेरो गति के हुन्छ ?’
हामी सभाकक्षै थर्किने गरी हाँस्यौं ।
उपहारका लागि हामीले ढाकाकपडाले बनेका सामग्री लगेका थियौँ । सम्मेलन आयोजक
प्राध्यापक सज्जन घोष, बंगलादेशको
खुल्ना विश्वविद्यालयका उपकुलपति प्राध्यापक आलमगिर, थाइल्याण्डका प्राध्यापक भिसु लगायतलाई हार्दिकतासाथ लगाइदियौँ ।
‘तपाईंका लागि र यो तपाईंको उपल्लो आधा (बेटर हाफ) का लागि यो ।‘
मैले अंग्रेजीमा भने ।
सूर्य सर धुरा पस्दै भन्नुभयो–यु मेड अ मिस्टेक । इट इज नट बेटर हाफ, इट इज नाइन्टी परसेन्ट ।‘
आफ्नो अर्धाङ्गिनीको प्रशंसा कसलाई राम्रो लाग्दैन र एक हिसाबले हेर्दा हाम्रा धर्मपत्नीहरू हाम्रालागि आधाभन्दा
बढी नै हुन् । सूर्य सरको हँस्यौलीभित्रको मर्म जसले पनि बुझ्न सक्थ्यो । उपहार
पाउनेहरू दंग परे ।
त्यस दिन दिउँसो हैदरावादको प्रसिद्ध संग्रहालय भ्रमणबाट हाम्रो
प्राज्ञिक शिष्टमण्डलको अनौपचारिक गतिविधि शुरू भयो । राजा महाराजा अर्थात्
नाजिमहरूले उनीहरूका हुकुमतमा प्रयोगमा ल्याएका सरसामान, हतियार र आभूषणहरूको संग्रह रहेछ । गिनिज बुकमा सूचीकृत
सुल्तानकी बेगमको लुगा राख्ने दराज पनि हेरियो ।
संग्रहालयपछि हैदराबादका प्रसिद्ध खरिद केन्द्रहरूमा गयौँ ।
मैले मोतीका दुईवटा हार किने । सूर्य सरले त्यहाँ पनि रमाइलो सिर्जना गर्नुभयो ।
साहुजीले हाम्रो समूहका केटाहरूलाई भने–आप लोग भी कुछ ले लिजिए ।
“इन लोगोँका शादी नही हुआ है ना । इसिलिए ये लोग सिर्फ फोटो
लेगेँ ।“
सुवास र युगदीपतिर देखाउँदै सूर्य सरले भन्नुभयो ।
अहिले क्यामेरा जडित मोबाइल फोन त जोसँग पनि हुन्छ तर
सुवाससँग साँच्चै राम्रो क्यामेरा नै थियो ।
हाम्रा पथप्रदर्शक चालकले अत्तर पाइने पसललाई हाम्रो दोस्रो
गन्तव्य बनाइदिए । किसिम किसिमका अत्तर र आवश्यकता अनुसार सानो बोतलमा खन्याएर पनि
बेच्ने चलन रहेछ । स्प्रे गर्ने सुविधा पनि राख्न मिल्ने रहेछ । कोसेली स्वरूप
केही किनेँ ।
मोती पसलमा सामानको न्यूनतम र अधिकतम मूल्यको जानकारी लिएको
थिएँ । भारु एक हजारदेखि लिएर १५–२० लाखसम्मका सामान उपलब्ध रहेछन् । चारमिनारमा
हातहातमा बोकेर ल्याएका मोतीहारको दाम सुनेर म छक्क परेँ । मोलमोलाई गर्दा एउटाको
भारु सयमा पनि पाइयो । मैले आँखा चिम्लेर तीनवटा हार किनेँ ।
सूर्यसरले एउटा मोती व्यपारीलाई तानेर साउती गर्नुभयो ।
‘दो बिबियाँ हैँ, थोडा और कम करो ।‘
व्यापारी मजैले हाँस्यो । उसको कालो अनुहारमा सेता दाँत
टल्किए । अर्को व्यापारी आयो । हारको दाम घट्न थाल्यो ।
चन्दाले भनिन्–लौ सर ! हजुरले सयमा लिएको हार त यसले सयको तीनवटा दिन्छु भन्छ ।
चन्दा र पुष्पाले पछिल्लोसँग किने । पहिलोले मलाई एउटा
थपिदियो । यो मेरो लागि नौलो अनुभव थियो । चारमिनारको बजार अर्थशास्त्र बुझ्न
हामीलाई हम्मे परेको थियो ।
हैदरावादमा सम्मेलनस्थल त्यहाँको प्रसिद्ध कृषि
विश्वविद्यालय परिसरमा थियो । परिसरको फैलावटले मलाई आश्चर्यचकित बनायो । धेरै
मुलुकका विश्वविद्यालय भ्रमण गरेको छु तर घुमेका मध्ये यो अहिलेसम्मकै विशाल
लाग्यो । त्यहाँको अतिथिगृह मैले स्नातक तह पढेको राँचीको विरला प्राद्यौगिक
अध्ययन संस्थान जस्तै रहेछ । मलाई तीन दशकअघिको सम्झनाले भावुक बनायो ।
हाम्रा विद्यार्थीहरू फर्कने टिकट रेलकै थियो । सूर्य सर र
म भने हवाईमार्गबाट कलकत्ता आउने योजना थियो । योजना मुताविक कलकत्तामा हामी
हिन्दुस्तान पार्कको ५५ बी नामको अतिथिगृहमा बस्यौँ । भोलिपल्ट एउटा उबर लिएर
विमानअड्डाका लागि प्रस्थान गर्यौँ । ब्रिटिशको समयदेखिको प्रख्यात यो शहरका
सडकमा अम्बेस्याडर कार र प्राचीन युगीन ट्रामले हाम्रो ध्यानाकर्षण गर्यो ।
सडक खुला थियो, गाडीको लहर पातलो । म पछाडि बसेर ल्यापटपमा टाइप गर्न थालेँ । सूर्य सर र
चालकको संवाद जस्ताको तस्तै उतार्ने विचार आयो । सूर्य सर बोल्न थाल्नुभयो–मेरे
पास भी अम्बेस्याडर जैसा ही पुराना मारुती कार है ।
‘हाँ जी ।‘
‘एक बार मेरी बिबी बोली–गाडी पुराना हो गया, नये खरिद क्यो नही करते हो ।
मैने जवाफ दिया–बात तो सही है लेकिन क्या करुँ, पुराना चीज तो मेरे पास और भी है ।
चालक हाँस्यो । सूर्यमान शाक्य सरसँग प्रत्युपन्न बुद्धिको खानी छ । मैले यो
वाक्य मनमा दोहोर्याएँ । कुराकानी जारी रह्यो ।
‘ये क्या बन रहा है ?’
‘मेट्रो बन रहा है, साहब ।‘
‘उपर क्यो बन रहा है ?’
‘कलकत्ता मे तो अन्दर नदी है ना साहब ।‘
मैले अनुमान गरेँ । भूमिगत मेट्रोको अनुभवले होला अहिले
आकाशे मेट्रो बनेको । चालकले ठीकै भनेको थियो ।
हामीले आधा बाटो तय गरिसकेका थियौँ । मुख्यमन्त्री ममता
बेनर्जीले हात जोडेर अभिवादन गरेको ठूलो कदको तस्वीर देखियो । अब संवादमा ममताको
कार्यसम्पादन क्षमताले प्रवेश पायो ।
‘दिदी ने गरीबका हक मार दिया ।‘
चालकले गम्भीर भएर भन्यो । उसको इशारा टाटा स्टील र
मारुतीको कम्पनीले पश्चिम बंगालमा स्थापना गर्ने योजना बनाएका कारखानाहरूतर्फ थियो
।जसलाई ममताले अस्वीकार गरेकी थिइन। त्यसपछि तिनले भारतका अन्य राज्यमा त्यस्ता
ठूला कारखाना खोलेका थिए । त्यस्तो एउटा कारखानाले मात्र हजारौँलाई रोजगारी दिन
सक्छ र अर्थतन्त्रलाई ठूलो टेवा दिन्छ ।
सफा सडक, निर्माण पूरा
भएको हवाईअड्डा र म्यारिबोट जस्ता अन्तर्राष्ट्रिय होटलको आगमनले कलकत्ता
निद्राबाट बिउँझेको अनुमान मैले गरेँ ।
सूर्य सरले अध्यागमनमा पनि एक जना सुरक्षाकर्मीलाई मजैले हँसाउनुभयो
। वहाँ मभन्दा अघि हुनुहुन्थ्यो । हाम्रा हातमा बोर्डिङ कार्ड थिए । बोर्डिङ
कार्डको पछाडिको भागमा पहेँलो सारीमा सजिएकी चर्चित भारतीय नायिक प्रियंका चोपडाको
तस्वीर रहेछ । हट्टाकट्टा शरीका सुरक्षाकर्मी गम्भीर मुद्रामा थिए । वहाँले
प्रियंकाको तस्वीर माथि पारेर सुरक्षाकर्मीलाई कार्ड दिनुभयो ।
“दुसरी साईड दिखाईए ।”
“वो तो आपका है । मेरा साईड तो येही है ।“
सुरक्षाकर्मी मुस्कुराए । मैले कल्पना गरेँ–मैले पनि यो तरीका सोच्न सक्थेँ
तर बुद्धि आएन ।
यसपालिको भारत यात्राको अन्तिम चरणमा थियौँ हामी । सुन
जोडीको अर्को सुन्दर विदेश यात्राको कल्पना गर्दै म प्रष्ट देखिएका हिमालमा हराएँ
।
हिमालय टाइम्स
शनिवार, ०५ जनवरी २०१८
(पौष २१, २०७४)
लिङ्क : http://ehimalayatimes.com/bichar-sahitya/20894
No comments:
Post a Comment