Saturday, March 12, 2022

हामी दाप्सा पेटले यिनलाई कहिले तह लगाउने!

 पूर्वाह्नको ४ बजेर १८ मिनटको साइत परेछ। बारा जिल्लाको कोल्वी बजारस्थित एक होटेलमा बास बसेको थिएँ। यसै त मधेस ढिलोसम्म सुत्छ, त्यसमा पनि अघिल्लो दिन पानी परेर मौसम थोरै चिसो भएको थियो।

परमप्रिय धीर भण्डारीलाई फोन गरेँ। उहाँ म बसेको होटलबाट तीन किलोमिटर टाढा एक स्थानीयवासीकहाँ बस्नुभएको थियो।

योग–ध्यान नगर्ने मान्छेका लागि घडीचरो समेत नबासी फोनको घन्टी बज्नु कुसाइत हुन सक्छ। कतिपयले त झुक्किएर थिचियो होला भन्लान्। यो समयमा गरेका नगन्य मात्र उठ्दा हुन्।

मलाई थाहा थियो धीरजी साधना गर्नुहुन्छ। अन्यथा मलाई पनि यो आँट आउने थिएन। रवीन शर्माले ‘फाइभ एएम क्लब’ भन्ने किताब नै लेखेका छन्। बिहान चाँडै उठ्नेले संसार हाँक्छ भनिन्छ।

केही घन्टीपछि आवाज आयो।

‘अबको संसदीय निर्वाचनपछि नेपालको प्रधानमन्त्री को बन्ला?’

‘अहिले रंगमन्चमा देखिएका पुरानै पात्र त बन्लान् नि हजुर!’

प्रश्न मेरो थियो। जवाफ धीरजीको।

‘मिलेन! त्यो प्रधानमन्त्रीसँग अहिले हजुर फोन वार्तामा हुनुहुन्छ।’

हाँसोको फोहोरा छुट्यो। धीरजीको बेजोड हाँसोको आयतनमा सूत्रधारको समेत मिसिँदा त्रिशूलीमा काली मिसिएर नारायणी भएको जस्तो भयो।

म होटलको कारागारमा थुनिएको थिएँ। यसैले ब्रह्ममुहूर्तमा धीरजीलाई बिथोल्न पुगेको थिएँ। यो होटलमा बासको अवसर उहाँकै सौजन्यमा प्राप्त भएको थियो। धीरजीले होटल सञ्चालकलाई फोन गरेर मलाई कारागार मुक्त गर्न प्रयास गर्ने वचन दिनुभयो।

म होटल कारागारमा यसरी पटकपटक थुनिएको छु। नरेन्द्र मोदीले भारतमा ‘प्रधानमन्त्री हुन चिया बेचेको अनुभव हुनु पर्छ’ भन्ने मापदण्ड बनाइदिए। नेपालमा भने जेल विश्वविद्यालयको डिग्री लिएको हुनु पर्छ भन्ने मान्यता छ।

सिन्धुलीको कमलामाई, रौतहटको गौर, तनहुँको दमौली र बाराकै कोल्वीका होटेल कारागारहरूमा थुनिएको म पनि प्रधानमन्त्री बन्न योग्य भएको छु भन्ने मेरो जिकिर हो।

काठमाडौं–तराई द्रुत मार्ग पूर्व–पश्चिम जोडिने बिन्दुबाट लगभग १५ किलोमिटर जति दक्षिणमा अवस्थित कोल्वी नगरपालिकाको ‘तामागढी इभेन्ट भेन्यु’ नामको होटलमा बसेको थिएँ।

पूर्वाह्नको तीन बजेतिर निद्रादेवीले मलाई छाडेर हिँडिन्। बिजुलीदेवी पनि राति कुन बेलादेखि बेपत्ता रहिछन्। स्वीच अन गर्दा अपेक्षित प्रतिक्रिया आएन। मोबाइल फोनमा इन्धन दस प्रतिशतभन्दा कम बाँकी थियो। ल्यापटपले त बेलुकै रातो बत्ती बालेको थियो।

इन्जिनियरिङमा स्नातक, स्नातकोत्तर, विद्यावारिधि र उत्तर विद्यावारिधि समेत उपाधि हासिल गरेर अब जेल विश्वविद्यालयको समेत डिग्री हासिल गरेको फुइँ डाक्टरसामु संकट खडा भएको थियो। बिहान छ बजेसम्मको तीन घन्टा निशाचर भएर कसरी बिताउने! पाँच बजे त योगसाधना गर्ने साथीहरू ‘जुम’ मा भेला हुने रीत छ। त्यसो हुँदा पनि १२० मिनेट जो बिताउनु थियो।

केही लागेन भने आनापाना ध्यान गर्छु भन्ने सोचेँ।

भईपरी आएको बिपत्ति नआत्तिई समाधान गर्न बानी परेको फुइँ डाक्टरको दिमागले उपलब्ध साधनस्रोतको विश्लेषण थाल्यो। आर्किमिडिज पौडी खेल्दा खेल्दै ज्ञान फुरेर ‘युरेका’ भन्दै निर्वस्त्र दौडेका थिए रे! फुइँ डाक्टरको दिमागमा पनि बेजोडको झड्का लाग्यो।

सुटकेसमा ‘पावर ब्यांक’ छ नि त!

गत दसैंताका मैले संयुक्त राष्ट्र संघको एक विकास नियोगका लागि काम गरेको थिएँ। भारत सरकारले नुवाकोटमा भूकम्पपछिको पुनर्निर्माणको काम गरेको थियो।

मैले पालिकाका प्रमुख लगायत अन्य जननिर्वाचित प्रतिनिधिहरूको कार्यशालामा सहजीकरण गर्ने भूमिका पाएको थिएँ, छ दिनको काम थियो। आम्दानी दुई लाख हाराहारी।

काठमाडौं विश्वविद्यालयमा सहप्राध्यापक पदमा कार्यरत रहँदा त्यति आम्दानी प्राप्त गर्न चार महिना पर्खनु पर्थ्यो।

मेरा मित्र सूर्यमान शाक्य भन्थे, ‘मैले मेरा छोराछोरीलाई सिमुलेटेड पोभर्टीको झड्का दिने गरेको छु।’

सिमुलेटेड पोभर्टी भनेको सिर्जना गरिएको कृत्रिम गरिबी हो।

मेरो जीवनमा पनि सूर्यमानले भनेजजस्तै कित्ता सिर्जना भएको थियो। मेरा छोराछोरीले मेरो आम्दानीबारे नयाँ धारणा बनाएका थिए। खर्चबर्चका लागि रकमको मागफारम भर्दा विचार पुर्‍याउन थालेका थिए।

‘हाम्रो अभिभावक विश्वविद्यालयमा पढाउँछ। उसले हाम्रा न्यूनतम आवश्यकता मात्र पूरा गर्न सक्छ’ भन्ने थाहा पाएका थिए।

मैले विश्वविद्यालयमा राजीनामा गरेँ। म स्वतन्त्र परामर्शदाताको कित्तामा आइपुगेँ। त्यही हाराहारीमा दुवै छोराछोरी बाटो बिराउने कालखण्ड पार गरे। कृत्रिम गरिबीको झड्काले मूल्य थप गर्‍यो।

नुवाकोटको कार्यशालामा दातृसंस्थाले परियोजनाको तर्फबाट सबै सहभागीलाई विद्युत सञ्चय गर्न मिल्ने उपकरण पावर ब्यांक बाँडेको थियो।

मैले बिजुली नभएको तोडमा सुटकेस खोतलखातल पारेर पावर ब्यांक निकालेँ। मोबाइल फोनमा जोड्न खोजेँ। यसमा विशेष किसिमको तारले दुई विद्युतीय यन्त्रलाई जोड्छ। दुर्भाग्य! मोबाइल फोनको अति सानो प्वालमा जोडाइ मिलेन क्यारे, तार जोडिएन। निष्पट्ट अँध्यारो जो थियो।

सर्वसाधारणले सजिलै बुझून् भनेर इन्जिनियरहरू ताला र चाबीको भूमिकामा रहेका एक अर्कामा जोडिने तारका टुप्पालाई भाले र पोथी भन्छन्। मोबाइल फोन र पावर ब्यांकको हकमा भालेपोथीको मिलन नभएपछि फुइँ डाक्टरको पारो तात्यो।

मोबाइलमा थोरै इन्धन थियो। मोबाइलकै टर्चले त्यसकै फेदको प्वाल देखिने कुरै भएन। साधन भएर पनि प्रयोग गर्न सकिएन भने इन्जिनियरलाई पीडाबोध र हीनताबोध दुवै हुन्छ। मेरो त्यही हाल भयो।

हातमा पावर ब्यांक र मोबाइल बोकेर म कोठाबाट बाहिर निस्केँ। टहटह जुन लागेको थियो। जुनको उज्यालोले पनि काम गरेन। होटेलको आवासगृहको पहिलो तलामा म बसेको थिएँ। नजिकै अर्को दुई तले भवनमा चमेनागृह र केही कोठा थिए।

होटलको काम सकेर कर्मचारीहरू आफ्नै घर जाँदा रहेछन्। मैले ‘होटल कारागार’ को उपमा दिएका प्रसंगहरूमा अधिकांशमा यही भएको छ। यही बुझेर मैले रात्रिको खाना खाने क्रममा सञ्चालकलाई सोधेको थिएँ– राति होटेलमा अतिथिबाहेक कोही कर्मचारी बस्छ कि बस्दैन?

‘सुरक्षा गार्ड बस्छ हजुर!’

उनको भनाइ सम्झेर मैले आवाज दिएँ– ‘ए भाइ! को हुनुहुन्छ?’

स्वर अझै ठूलो पारेँ। चरोमुसो पनि नभएको जस्तो भयो। मेरो प्रयास काम लागेन।

होटल परिसरबाट बाहिर निस्कने गेटतिर आएँ, बन्द थियो। चकमन्न रातको अन्तिम प्रहरले आफ्नो बिरासत फैलाएको थियो। म निरीह थिएँ।

होटल परिसरसँगै जोडिएको एक मार्ट थियो। मार्टको आँगनको किनारामा सोलारको एउटा बत्ती थियो। बत्ती म उभिएको ठाउँबाट विपरीत फर्केको हुनाले मेरो काम हुने सम्भावना न्यून थियो। मार्ट र होटल परिसर छुट्याउन राखिएको तारजालीको माथिको भागबाट दुवै हात फैलाएर भालेपोथी जोड्ने प्रयास गरेँ। पार लागेन।

म कोठामै फर्किएँ। मेरो मनमा यो भईपरी आएको परिस्थितिले दुई वटा विचार जन्माइदियो। पहिलो, कारागारको जीवन। हाम्रा नेताहरू केही वर्ष कारागार बसेका थिए। नेतृत्व कौशलमा विश्व प्रख्यात राजनेता नेल्सन मन्डेला २७ वर्ष बसे।

आखिर सानो घेरामा खुम्चिनु र आफूले चाहेको काम गर्न स्वतन्त्र नहुनु नै हो क्यारे बन्दी जीवन। म पनि केही घन्टाका लागि बन्दी भएको थिएँ।

दोस्रो विचार भने एकल महिला वा एकल पुरुषको बारेमा थियो। उनीहरू कसरी जीवनयापन गर्दा हुन्! अहिले म आफ्नै निवासमा भएको भए वा मेरी धर्मपत्नी साथमै भएकी भए परिस्थिति अर्कै हुन सक्थ्यो। अरू केही नभए पनि उनीसँग दुःख बिसाउँथे। चार आँखा र दुई मष्तिष्क हुन्थे, केही न केही समाधान निस्कन्थ्यो।

मेरो ढोका बाहिर कसैले आवाज दियो। सुरक्षा गार्ड रहेछन्।

‘त्यत्रो ठूलो आवाजले बोलाएँ। तपाईंले सुन्नु भएन! अहिले कताबाट झुल्किनु भयो त हजुर?’

‘सर! राति अबेरसम्म बस्नु पर्‍यो। गार्ड हाउसमा सुतेको थिएँ। भुस भएर निदाएछु।’

सुरक्षा गार्डले आफू इमानदार भएको प्रमाण दिए।

मैले सुरक्षा गार्डले सपना देखेर मालिकलाई दुर्घटना बचाएको अनि मालिकले पुरस्कार दिएर जागिर खोसेको कथा सम्झेँ।

लगभग तीन घन्टाको बन्दाबन्दी सकिएको थियो। गेट खोलियो, छ बजेतिर म होटलबाट निस्केँ। अब मेरो मोबाइल फोन ऊर्जावान् भएको थियो। पावर ब्यांक र मोबाइल हातमा बोकेर मूल सडकमा हिँड्न थालेँ। प्रधानमन्त्री बन्न जेल विश्वविद्यालयको उपाधि पाएको प्रसंग साथीभाइलाई सुनाउन मन आतुर थियो।

‘युवा नेतृत्व क्षमता अभिवद्धि’ अभियानका सहयात्री पाण्डव कार्कीलाई फोन गरेँ।

‘ओहायो गोजाइमास!’

पाण्डवजीसँगको चिनजान पुरानो हो। उनी जापानमा व्यपार व्यवसाय गर्ने भएकाले हाम्रो कुराकानीको केही अंश जापानी भाषामा पनि हुने गर्छ। सिंहदरबारको इन्द्रासनमा विराजमान हुने प्रसंगले उनलाई मजैले हँसायो।

केही दिनअघि भारतको आम आदमी पार्टीका नेता केजरीवालले लोकतन्त्रको एउटा नमूना उदाहरण पेस गरे।

उनले पञ्जावका जनतालाई सोधे– अबको मुख्यमन्त्रीको उम्मेदवार कसलाई बनाउने?

२२ लाख जनताले टेलिभोटमार्फत आफ्नो मत जाहेर गरे, ९० प्रतिशतभन्दा बढीले भगवन्त मानलाई चुने। केजरीवालले उनैलाई उम्मेदवार बनाए।

मैले पाण्डवजीलाई यही दृष्टान्त दिएर भनेँ, ‘नेपालमा पनि यस्ता नौला प्रयोगले राजनीतिक दलको दलालीमाथि बज्र प्रहार हुन सक्छ। सिंहदरबारमा युवा नेतृत्वको वर्चस्व हुन सक्छ।’

म दक्षिणतिर लागेँ। चौडा सडक, दायाँबायाँ बढ्दै गरेको आवादी। आधुनिक सहर बन्ने दिशामा कोल्बीले कोल्टे फेरेको अनुभूति भयो। काठमाडौं–तराई द्रुत मार्ग, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पूर्व–पश्चिम रेल आदि यो भूगोलमा नयाँ थपिन लागेका पूर्वाधार हुन्। कलैया जाने र सिम्रौनगढ जाने उत्तर दक्षिण सडकहरूले पनि कोल्वीको द्र्रुत सहरीकरण हुने सम्भावनामा थपेका छन्।

अर्को फोन भूगर्भशास्त्री प्राडा तारानीधि भट्टराईलाई लगाएँ।

‘नेपालमा अबको निर्वाचनपछि सरकार प्रमुख को बन्ला?’

उहाँले पनि परम्परागत जवाफ दिनुभयो। मैले आफूलाई सिंहदरबारको इन्द्रासनमा विराजमान हुन आवश्यक जेल विश्वविद्यालयको डिग्री प्राप्त भएको जानकारी गराएँ।

प्राडा भट्टराई र मैले केही अनौठा र रमाइला सहकार्य गरेका छौं। त्योमध्ये एक थियो नेपालका मूर्धन्य साहित्यकार दाहाल यज्ञनिधिलाई भेट्ने। हामी उनकै निवासमा पुगेका थियौं। लगभग दुई घन्टा उनको विचार सुनेका थियौं।

नेपालका राजनीतिक दल, तिनका नेता र समग्र नेपालीको वर्तमानका बारेमा लेखिएका दाहालका रचना मलाई औधि मन पर्छन्। उनले एक निबन्धमा नेपालका प्रमुख तीन दललाई राँगो, अर्ना र साँढे दर्जा दिएका छन्। जनताको मताधिकारको शक्ति पहिचान गरी व्यंग्यात्मक शैलीमा उनले एक ठाउँमा लेखेका छन्, ‘यी तीन वटै गणका भालेलाई कोरलो छँदै चेपुवा लगाएर खसी पार्न हामी दाप्सा पेट (जनता) ले सकेनौं।’

मैले जेलयोग्यताको कुरा गरे पनि जनताले यो योग्यताको भरमा चुनाव जित्ने सपना देख्ने फुक्लेका ढिकीहरूलाई दाहालले भनेझैं तह लगाउने सूचीमा अझै राख्ने छैनन्।

जनताको कसीमा घोटिन चाहने युवा नेताहरू भारतमा आम आदमी पार्टीले गरेजस्तो जनमतको कदर गर्ने नयाँ संयन्त्र विकास गर्न किन अग्रसर नहुने!

प्रकाशित मिति: शनिबार, फागुन २१, २०७८, १४:३३:००

सेतोपाटी डिजिटल पत्रिका

लिङ्क : https://www.setopati.com/blog/263774

अब शिक्षकले के ओढ्ने ?

 नेपाल विकास अनुसन्धान प्रतिष्ठान र रिसोर्सेस हिमालयको संयुक्त आयोजनामा सञ्चालित एक अन्तर्क्रिया कार्यक्रमा एउटा नौलो विषयले प्रवेश पायो । सरकारी विद्यालयमा पढाउने इलाम जिल्लाका एक शिक्षकले भने – इलाम जिल्लाका विद्यालयहरूको पाठ्यक्रममा कम्प्युटर विज्ञान हटाएर पर्यटन विषय राखिएको छ ।

कार्यक्रममा सहभागी सबैले यसलाई आश्चर्यका रूपमा लिए । पाठ्यक्रम विकास केन्द्रले कक्षा ६, ७ र ८ मा कम्प्युटर शिक्षा अनिवार्य विषयका रूपमा राखेको जानकारी थियो । तर, छलफलबाट थाहा भयो - यसै वर्षदेखि कक्षा ६ को कम्प्युटर शिक्षा हटाएर यसलाई विज्ञान र प्रविधि विषयको एक परिच्छेदमा सीमित गरिएको छ ।

छिमेकी भारतमा सरकारी विद्यालय पढेर कम्प्युटर इन्जिनियरिङमा विद्यावारिधि गरेका पराग अग्रवाल ट्विटरका कार्यकारी प्रमुख भएको समाचार ताजै थियो । उनको तलब मासिक रु एक करोडको हाराहारीमा रहेको बारे मैले त्यसै कार्यक्रममा श्रोताहरूको ध्यानाकर्षण गराएको थिएँ । नेपालमा पनि त्यही श्रेणीका कम्प्युटर इन्जिनियर वा उद्यमी उत्पादन गर्न अब हामीलाई कुनै बाधा छैन भन्ने विषयको उठानसमेत मैले गरेको थिएँ । कक्षा ६ बाट कम्प्युटर विषय हटाएको जानकारीले मेरो दृष्टिकोणमा बज्रपात भएको महसुस हुनु स्वाभाविकै थियो ।

सरकारी विद्यालयका पाठ्यपुस्तक निःशुल्क वितरण हुने नीति सरकारले लिएको भए पनि अभिभावकले पसलबाट पुस्तक किन्नुपर्ने र पछि विद्यालयले सोधभर्ना गर्ने गरेको पनि मैले थाहा पाएँ । कक्षा ६ मा लागु गरिएको परिवर्तित पाठ्यपुस्तक किनेर कम्प्युटर विषयका सामग्री हेर्ने विचार आयो ।

म हान्निएर कोटेश्वरका पुस्तक पसलमा पुगेँ । बिहानको ८ बजेको हुँदो हो । दुई, तीनवटा पसल चाहार्दा पनि पुस्तक भेटिएन तर अर्को एक नौलो कुरा मेरो मञ्चमा प्रवेश गर्‍यो ।

कोटेश्वर चोकबाट महादेवस्थान मन्दिर जाने सेतीओपी मार्गका बिजुलीका खम्बा र भित्तामा टाँसिएको पर्चाले मेरो ध्यान खिच्यो – प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, महाधिवेशन स्थल ।

म पर्चाले देखाएको निशाना पछ्याउँदै हिडेँ । नभन्दै महादेवस्थान मन्दिर पुग्नुअघिको भोजभतेर गृहमा तामझाम देखियो ।

प्रवेशद्वारमा राखिएको तुल पढेँ । निश्चिन्त भएँ र भित्र पसेँ । प्रवेशद्वारको देब्रे कुनामा घाँटीमा परिचयपत्र भिरेका दुईजना सहभागी गफ गर्दै गरेका भेटिए ।

यहाँहरू कुन जिल्लाबाट ?’

बझाङ ।’

प्रत्युत्पन्न मतिले काम गर्‍यो । मैले सोचेँ – म पढेको विद्यालय वा जिल्लाबाट पनि कोही आएको होला ।

म बझाङीसँग विदा भएर अघि बढेँ । दाहिनेतिर एउटा कुर्सीमा बसेर खाजा खाइरहेका त्रिदेवी भेटिए । म उनीहरूसँग मिसिएँ ।

खाली कुर्सीमा बसेँ ।

नमस्कार ! यहाँहरू कुन जिल्लाबाट ।’

मेरो सोधखोजले काम गर्‍यो । दुई जना मोरङ र एक जना सुनसरीबाट आएका रहेछन् । मैले मेरो बिजिनेस कार्ड दिएँ ।

एक जनाले आश्चर्यभावमा भनिन् - ‘हजुर पनि खतिवडा पो हुनुहुँदो रहेछ !’

यसो भन्ने देवीजी मेरै बन्धु परिछन् । मैले एकै छिन कुरा गरेँ र मेरो माग राखेँ ।

यहाँहरूको अध्यक्षलाई भेट्ने इच्छा थियो ।’

ल हिँड्नुहोस् । उहाँ अधिवेशन कक्षको मञ्चमा हुनुहुन्छ ।’

खतिवडा मिसले मलाई मञ्चमा पुर्‍याइन् र परैबाट संकेत गरिन् । सहभागीहरू दुइ सय हाराहारीमा थिए । धेरैले अनौठो मानेर मतिर हेरे । मूल कार्यक्रम सुरु हुन बाँकी थियो । म सिधै मञ्चमा गएँ ।

प्रमुख अतिथि र अध्यक्षको केही गम्भीर वार्तालाप चल्दै थियो । मैले बिथोलेर बिजिनेस कार्ड दिएँ ।

शिक्षक र विद्यार्थीका लागि कम्प्युटरको महत्त्वपूर्ण राष्ट्रिय कक्षा लिइरहेका छौँ । यो अधिवेशनमा सूचना प्रसार गर्ने मौका दिनु होला ।’

प्रमुख अतिथिले मास्क खोले । उनी त मेरै आफन्त परेछन् । मेरो काम सजिलो हुने ठहर्‍याएँ । मूल कार्यक्रम सकिएपछि छोटो समय पाउन सक्ने सम्भावना देखियो ।

म अनौपचारिक पोसाकमा थिएँ । घर फर्किएँ । एक घन्टापछि प्रमुख अतिथिलाई फोन गरेँ । तेस्रो पटकमा उठ्यो । आधा घन्टापछि आउनु भन्ने संकेत प्राप्त भयो । ठीक समयमा पुगेँ र  सभाकक्षको पछाडि गएर बसेँ । मञ्चमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का केही नेता थिए ।

पञ्चायती व्यवस्था ढाल्ने सिलसिलामा शिक्षक आन्दोलनको अगुवाइ गर्ने भुटनदेवी माविका तत्कालीन प्रधानाध्यापक बद्रीप्रसाद खतिवडा पनि मञ्चमा थिए । म पुगेको केही बेरमै अध्यक्षको सम्बोधन शुरु भयो । करिब ४० मिनट उनको भाषण सुनेँ । सङ्गठनको झण्डामा कलमको एङ्गल नमिलेको, सङ्गठनको नाम नै अरुसँग जुधेको, राजनीतिक दलसँगै  टुक्रेको सङ्गठनले बेहोरेका समस्या आदि विषयमा उनको अभिव्यक्ति अनवरत प्रसार भइरह्यो ।

मलाई ती कुरामा कुनै चासो थिएन । पालो पर्खेर मञ्चमा उभिएर बोल्नुले कुनै मूल्य थप गर्लाजस्तो लागेन । मेरो उद्देश्य सभाका सहभागीलाई भर्चुअल प्लेटफर्ममा हुने ‘कम्प्युटर कक्षा’ बारे जानकारी दिनु थियो । मैले कागजमा खेस्रा गरेर सूचनाको अन्तिम रूप दिएँ । एक जना स्वयंसेवकलाई प्रमुख अतिथि समक्ष त्यो कागज पुर्‍याइदिन लगाएर म हिँडेँ ।

त्यस दिन बेलुका र भोलिपल्ट गरी दुईजना शिक्षकको फोन आयो । मैले उनीहरूको विद्यालयलाई 'ह्वाट्स अप' समूहमा जोडेँ ।

एउटा विद्यालयका कक्षा ६ का विद्यार्थी राष्ट्रिय कक्षामा सहभागी भए ।

कोरोना काल सुरु भएपछि नेपाल विकास अनुसन्धान प्रतिष्ठानले नेपाल दूरसञ्चार प्राधिकरणको आर्थिक सहयोगमा सात प्रदेशका ३५ वटा विद्यालयमा ‘फोन कक्षा’ को नमुना परीक्षण गरेको थियो । इन्टरनेट आवश्यक नपर्ने हुनाले नेपालको जुनसुकै कुनामा पनि महामारीका बेला शिक्षण–सिकाइमा यो तरिका विकल्पको रूपमा स्थापित हुने सम्भावना थियो तर सोचेको उपलब्धि हासिल हुन सकेन ।

अधिकांश प्रधानाध्यापक  र शिक्षकहहरू राजनीतिको खोल ओडेर जागिर जडताको सिकार भएका र जोखिम नलिने प्रवृत्तिका भएका कारण तिनले यस्ता वैकल्पिक विधिमा चासो दिएनन् ।

यथास्थितिभन्दा फरक चिन्तनको बीजारोपण गर्न शिक्षा क्षेत्रमा पनि कठिन भएको वर्तमान परिस्थितिमा शिक्षक सङ्गठनको महाअधिवेशनमा गरिएको ‘एजेन्डा हस्तक्षेपकारी कार्य’ ले केही प्रतिफल दिएको थियो । मेरो नौलो क्रियाकलापका बारेमा पूर्वमन्त्री गणेश शाह, विवेकशील साझाका नेता केशव दाहाल आदिलाई पनि सुनाएँ ।

अरूको सभामा गएर एजेन्डा हस्तक्षेप गरेको केही दिन भएको थियो । बद्रीप्रसाद खतिवडासँग एक अर्को रोचक अवसर सिर्जना भयो । 'घोस्ट राइटिङ नेपाल'ले उनको ‘अभियन्ता’ नामको पुस्तक प्रकाशन गरेको रहेछ । केही विमोचन समारोहमा मैले केही पुस्तकको समीक्षा गरेर स्लाइड प्रस्तुत गरेको बारे घोस्ट राइटिङका अध्यक्ष कमल ढकाललाई सुनाएको थिएँ । उनले ‘अभियन्ता’ को विमोचन समारोहमा पनि प्रस्तुतिका लागि मलाई निम्ता दिए ।

मैले सहर्ष स्वीकार गरेँ ।

विमोचन समारोहमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आउने कुरा सुनेको थिएँ तर  उपस्थित भए अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनाल । एकातिर पुस्तक विमोचन समारोहमा स्लाइड देखाउनु नौलो प्रयोग थियो भने अर्कातिर प्रस्तुति प्रभावकारी बनाउने चुनौती थियो ।

कार्यक्रम तीनकुनेको रोयल ब्यान्क्वेटमा राखिएको थियो जहाँ प्रोजेक्टर, स्क्रिन आदिको नामनिसाना थिएन । यी ‘सुविधा उपलब्ध छैन’ भनेर जानकारी दिने व्यक्तिसमेत खोजी गर्दामात्र भेटियो । आखिर प्रस्तुति भयो, भित्तो नै स्क्रिन भयो । प्रोजेक्टर अन्यत्रैबाट ल्याइयो ।

बद्रीप्रसाद नातामा मेरा हजुरबुबा पर्ने भएकाले मलाई ‘एजेन्डा हस्तक्षेप’ गर्न र आफ्नो कुरा भन्न अवसर थियो । कार्यक्रममा उनका पुत्र स्वास्थ्यमन्त्री विरोध खतिवडा, उनकी नातिनी पूर्वनेपाल सुन्दरी शृङ्खला खतिवडा, पूर्वमन्त्री हृदयेश त्रिपाठी आदि उपस्थित रहेकाले मेरा सन्देशहरूको केही दूरगामी प्रभाव पर्ला कि भन्ने आशा पनि थियो ।

नेपालको राजनीतिक इतिहासमा पानीढलो बनेको २०३६ सालको विद्यार्थी र शिक्षक आन्दोलनको प्रसङ्ग अघि सार्दै आजको सन्दर्भमा शिक्षक राजनीतिको औचित्यका बारेमा लेखकको धारणा मैले महत्त्वका साथ प्रस्तुत गरेँ ।

बद्रीप्रसादले लेखेको जस्ताको तस्तै सुनाएँ –

निर्दलीय पञ्चायती व्यवस्थालाई फाल्नका लागि आन्दोलनको आवश्यकता थियो । अब प्रजातन्त्रमात्र होइन लोकतन्त्रसमेत आइसकेको अवस्थामा अब शिक्षकले राजनीतिमा लाग्नु हुँदैन । झोले कार्यकर्ता भएर राजनीतिमा संलग्न हुनु धोका हुनेछ ।”

मैले आफ्नो प्रस्तुतिमा यो विषयलाई उकेरा लगाउँदै भनेँ –

शिक्षकले राजनीतिमा लाग्नुपर्ने एक कालखण्ड थियो । त्यो अब पूरा भयो । अब शिक्षकले राजनीतिमा लाग्नु हुँदैन । यी वाक्यहरू हजुरबाका हुन् । पुस्तक नपढुजेन्ल मलाई चिन्ता थियो, हजुरबाले यो विषयमा के लेख्नु भएको होला भन्ने । म अहिले हर्षित भएको छु । अब शिक्षकले राजनीतिको खरानी घस्नु जरुरी छैन । यसमा नाति र हजुरबाको धारणा एक भएको छ ।"

पूर्वप्रधानमन्त्री झलनाथ खनाल प्रमुख अतिथि भएकाले उनले अन्त्यतिर सभालाई सम्बोधन गरे । मलाई मेरो मिहिनेतले विमोचन समारोहमा अड्डा जमाएको अनुभूति भयो जब खनालले मेरो अभिव्यक्तिलाई पृष्ठभूमि बनाए ।

उनले भने, ‘अहिले शिक्षकहरू राजनीतिमा लाग्नु हुन्न भन्ने नयाँ चिन्तन आएको छ । शिक्षकहरूलाई तपाईंले राजनीतिमा नलाग भनेर रोकेर कहिले पनि रोकिन्न । त्यो विचारको प्रश्न हो । दृष्टिकोणको प्रश्न हो । मानिसको व्यक्तिगत स्वतन्त्रताको प्रश्न हो।

पुस्तकका टिप्पणीकर्ताको रूपमा मैले बोलेको अवधारणा आधार बनाएर उनले थप कुरा भने- ‘टिप्पणीकर्ताले एक अवधारणा अघि सारे, अब संघर्षको जीवन सकियो त्यसैले निर्माणतर्फ लाग्नुपर्छ । मैले सुन्नमा गल्ती गरेको हुनुपर्छ मेरो ठम्याइ छ । सुन्नमा गल्ती गरेको होइन र राजनीतिक संघर्ष सिद्धियो भन्ने अवधारणा बद्री कामरेडले राख्नु भयो र पुस्तकमा पनि यस्तो लेखिएको छ भने त्यो गलत हो ।’

एकातिर मैले हस्तक्षेप गरेको विषयवस्तुले पूर्वप्रधानमन्त्री र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का हस्तीको मथिङ्गल हल्लाइदिएको थियो । तर, खनालले जिकिर गरेको विषयवस्तु भने मेरो मथिङ्गलमा पस्न सकेन ।

मैले राजनीतिका खेलाडीहरूको राय लिन मनासिब सम्झे । केशव दाहाललाई बेलिविस्तार लगाएँ । मैले उठान भएको विषयवस्तु छोटकरीमा राखेँ ।

लोकतन्त्र, संघीयता सबै गर्दा राजनीतिक वर्णक्रममा पल्लै छेउ पुगिसकियो । सरकारमा जेएन (झलनाथ) कामरेडहरूको दल पनि समावेश छ । उहाँहरूको जिकिर छ, संघर्ष अझै बाँकी छ र शिक्षकले राजनीति गर्न छोड्नु हुन्न ।“

दाहालको बुझाइले मलाई झन् चकित गरायो । उनको थप टिप्पणी थियो –

डा. साहेब ! उहाँहरूले भन्नुभएको यस्तो हो, सरकार कब्जा भएको छ तर राज्यसत्ता कब्जा भएको छैन । पुँजीवादी लोकतन्त्र पो आयो त । हामीलाई चाहिएको समाजवादी लोकतन्त्र हो । त्यसपछि अन्तिम गन्तव्य साम्यवादी लोकतन्त्र ।"

कोरोनाकाल शुरु हुनुअघि म चीनको ठूलो सहर सेनजेनको युनिभर्सिटी टाउनमा अवस्थित विश्वविद्यालयमा अतिथि प्राध्यापक बनेर गएको थिएँ । त्यहाँ आयोजित एक रात्रिभोजमा चीनको कम्युनिस्ट पार्टीका एक नेता भेटिए ।

अंग्रेजी भाषा राम्रै बोल्ने रहेछन् । उनको र मेरो सामिप्य बढ्यो । अर्को दिन पनि उनीसँग मेरो भेट भयो । हलुका वातावरणमा कुरा गर्न थाले । कुरैकुरामा उनले मलाई सोधे - ‘तिम्रो मुलुकको विकास नहुनुको मूल कारण के हो ?’

धेरै छन् । मुख्य चाहिँ आधुनिक इन्जिनियरिङ र प्रविधिको उपयोग हुन नसक्नु हो ।’

मेरो जवाफ उनलाई उचित लागेन ।

उनले भने - ‘मेरो विचारमा तिम्रो मुलुकको मूल समस्या भनेको जनताको अधिकांश समय राजनीतिक गतिविधिमा बित्नु हो । द्रूत आर्थिक विकासका लागि बहुसंख्यक जनताले विचार र समय दुवै दान गर्नु जरुरी हुन्छ ।’

उनको कुरा पनि मलाई बेठीक लागेन । यता आफ्ना नेताहरूको कुरो पनि ठीक लाग्ने नै भयो तर, राजनीतिमा भन्दा पनि मेरो चासो शिक्षण पेसामा रहेको छ । कम्प्युटर विज्ञानजस्तो विषयमा हाम्रा विद्यार्थीको चेत बढाउन अब कुनै तगारो छैन । तर प्रश्न चिन्ह शिक्षकको भूमिकामा छ । 

यसैले अहिलेको परिवर्तित परिस्थितिमा शिक्षकहरूको भूमिका के हुने भन्ने विषयमा सर्वमान्य अवधारणा बन्न नितान्त जरुरी छ ।

अबको परिस्थितिमा शिक्षकहरूले के ओढ्ने - शिक्षण सिकाइको दोसल्ला कि राजनीतिको खोल ?

बाह्रखरी - शुक्रबार, माघ ७, २०७८

लिङ्क : https://baahrakhari.com/news-details/339794