Sunday, November 15, 2020

शौचालय भ्रमण

 

धुलिखेल केन्द्रीय क्याम्पसमा दुई घण्टाको कक्षा सकेर भर्खर बाहिर निस्केको मात्र थिएँ । मोवाईलको घण्टी बज्यो । यसो हेरेँ । ल्यान्डलाइनको कुनै अपरिचित नम्बर थियो । कुनै कार्यालयकै होला भन्ने अड्कल काटेँ ।

 

"सर नमस्ते । म हिमालय टाइम्सबाट पार्वती थापा मगर बोल्दैछु ।" शिष्टाचारयुक्त स्पष्ट बोली र परिचित जस्तै गरी व्यक्त गरिएको अभिवादन सुनियो । 

 

पार्वतीसँग यसअघि भेट भएको वा कुराकानी भएको सम्झना फ्याट्ट आएन । 

 

"म के सेवा गर्न सक्छु त पिटियमजीलाई ।"

 

उनको नाम र थरका सिरानका तिनवटा अङ्ग्रेजी अक्षर टिपेर सम्बोधन गरेँ । उनको हाँसो प्रष्ट सुनियो । मेरो प्रत्युत्पन्न शैली उनलाई रोचक लागेछ ।

 

भोलिपल्ट शनिवार 'विश्व शौचालय दिवस' थियो । यो मौकामा उनको पत्रिकाले एक परिशिष्टाङ्क प्रकाशित गर्ने निधो गरेको रहेछ । त्यसका लागि सामग्री बटुल्न मेरो अन्तर्वार्ता लिन खोजेकी रहिछन् ।

 

मैले दिँउसो तिन बजे पुल्चोक पुग्नु थियो । यसर्थ हामीले दुई बजे कोटेश्वरमा भेट्ने सल्लाह मिलायौँ । कोटेश्वरको सार्वजनिक शौचालयको पनि संयुक्त निरीक्षण गर्ने योजना बन्यो । उनलाई मोवाईलबाट मिस कल गर्न लगाएँ । नम्बर नोट गरेँ ।

 

कोटेश्वरमा ओर्लिएर सार्वजनिक शौचालय र ट्राफिक प्रहरी कार्यालयको बिचमा पर्खने ठाउँको खोजीमा लागेँ । एक चमेना गृहले राखेका खाली स्टुलहरु देखिए । म घाम परेको एउटा रोजेर बसेँ । दुई बजिसकेको थियो । पार्वतीलाई फोन सम्पर्क गरेँ ।

 

"हेलो पिटियमजी ! हजुर कता पुग्नु भो ?"

 

"म तिनकुने आइपुगेँ सर ! हजुर कहाँ पुग्नु भयो ?"

 

"म त कोटेश्वर पुगिसकेँ ।"

 

"हजुर कहाँ निर हुनुहुन्छ ? अनि मैले कसरी चिन्ने होला ?" उनले सोधिन् । पहिलो वाक्यमा कौतुहलको अंश अधिक थियो । दोस्रोमा विनोदी भावको ।

 

"ट्राफिक प्रहरी कार्यालय र शौचालयको बिच भागमा छु । त्यहाँ स्टुलमा बसेर बदाम खाइरहेको राजकुमार जस्तो सुन्दर युवक नै तपाइँले खोजेको व्यक्ति हुनेछ ।"

 

मेरो जवाफ सुनेर उनी फेरि खित्का छोडेर हाँसिन् । मैले नजिकै पसल थापेकी आमैसँग बदाम किनेँ । पारिलो घामको सितनसँग बदाम खान थालेँ ।

 

उनी मुस्कान छर्दै आइपुगिन् । हट्टाकट्टा गठिलो शरीर । खाँट्टी मङ्गोलियन अनुहार । आँखामा चस्मा । जिन्स पाइन्ट र ज्याकेटको पहिरन । कानमा सुन्ने ठेडी कोचिएका । मोवाईल खल्तीमा राखेर उनी सुन्ने तारमा जडित माइक्रोफोनबाट मसँग कुरा गर्दै थिइन भन्ने अनुमान गर्न बेर लागेन ।

 

"कस्तो रमाइलो हुनहुँदो रहेछ सर त ।"

 

एक अर्काले खोजेका व्यक्ति हामी नै हौँ भन्ने ठोकुवा भएपछि उनको पहिलो प्रतिकृयामा नै प्रशंसाका फुल फुलेका थिए ।

 

"यो त कास्टिङ मात्रै हो । चलचित्र त पुरै बाँकी छ ।" घाँटीसम्म आइपुगेको यस्तो जवाफ मैले दबाएँ ।

 

आखिर बोलीको पनि त साइत हुन्छ । जवाफ भित्रै दबाए पनि बाहिर भने म मुस्कुराएँ ।

 

हामी दुवै हलुका स्नायुमा एकसुरले कुरा गर्दै शौचालयको साझा कक्षमा पुग्यौँ ।

 

"सर, हजुर उता अनि म्याडम हजुर चाहिँ यता ।"

 

हामी दुवै 'शौच गर्न आएका अनि अलमलमा परेका' जस्तो भान भएछ त्यहाँका शौचालय हेरालुलाई । उनले हामीलाई सतर्क गराउँदै महिला र पुरुष कक्ष देखाइदिए ।

 

मेरो मन आत्तियो । "काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर" हुने पो छाँट आयो । त्यसैले मैले हाम्रो भ्रमणको विवरण दिनु ढिला गर्नु नहुने ठानेँ ।                                                                       

 

"वहाँ पत्रकार अनि म इन्जिनियर । भोलि विश्व शौचालय दिवस मनाइँदै छ । यस विषयमा वहाँको पत्रिकाले एक परिशिष्टाङ्क निकाल्दै छ । काठमाडौँमा भए मध्येको राम्रो शौचालय तपाईँहरुकै हो भन्ने सुनेकाले आएका हौँ। हामी दुवै जना पुरुष र महिला दुवै कक्षको निरीक्षण गर्न चाहन्छौँ ।"

 

"महिलातिर म्याडमले हेर्नु । पुरुषतिर हजुरले हेर्नु,  हुँदैन र ? कोही आइहाल्यो भने हामीलाई अप्ठ्यारो हुन्छ ।" व्यवस्थापन पक्षले हाम्रो इच्छा पचास प्रतिशत मात्रपूरा गर्ने उपाय सुझायो ।

 

"एकै छिन त हो । हजुरहरुले यहाँ पहरा दिए कसो होला । कोही आइहाल्यो भने एक छिन पर्खन अनुरोध गर्नू ।" मैले उपाय सुझाएँ ।

 

वास्तवमा सामान्य अवस्थामा महिला शौचालयमा पुरुष प्रवेश वा पुरुष शौचालयमा महिला प्रवेश भनेको अनौठो नै हुन्छ । म पनि आक्कल झुक्कल यस्तो दुर्घटनामा परेको छु । विश्वविद्यालय लगायत अन्य सार्वजनिक निकायहरुमा शौचालयमा सरसफाइ का लागि पनि पुरुष कक्षमा लोग्नेमान्छे र महिला कक्षमा स्वास्नीमान्छे खटाएको पाइन्छ । थाइल्यान्डमा भने पुरुष कक्षमा पनि निर्धक्क स्वास्नीमान्छेहरुले सरसफाइ गरेको देखेको थिएँ ।

 

"हुन्छ नि त । तर चाँडै गर्नु होला ।" सञ्चालकले अनुमति दिए ।

 

ओलम्पिक खेलकुदमा सिठ्ठी फुक्ना साथ खेलाडी दौडे जस्तो पत्रकार र इन्जिनियरको जोडी महिला शौच कक्ष भित्र प्रवेश गर्‍यो । ढोकाको व्यवस्था गरिएका स-साना छ वटा खण्ड देखिए । खुट्टा टेकेर बस्न मिल्ने प्यान, पानीको धारो र पानी थाप्ने मग देखिए ।

 

"फ्लस गर्ने ट्याङ्की चैँ भाँचे ।" सञ्चालक मित्रले भने । उनी हाम्रा पछि उभिएका रहेछन ।

 

"बाहिर पहरा दिने भनेको हैन । हजुर त भित्रै आउनु भएछ त फेरि ।" मैले अलिकति रमाइलो सिर्जना गर्ने धेयले भने ।

 

"यस्तो विशेष परिस्थितिमा त भित्र पनि पहरा दिनु पर्‍यो नि । बाहिर साथीलाई अराएको छु ।" उनले पनि वार्तालापमा बेजोडको रङ थपे ।

 

मैले पार्वतीको अनुहार हेरँ । उनले मेरो अनुहार हेरिन् । हामी मुखामुख गर्‍यौँ। अनि एकै चोटि खित्का छोडेर हाँस्यौँ । हाम्रो हाँसोसँग सञ्चालक महोदयको मुस्कान मिसियो ।

 

"हजुरहरु हाँसेको के बुझेर हो मैले बुझिनँ । मैले भित्र पनि पहरा दिनु पर्छ भन्नुको कारण हजुरले यहाँ महिला कक्षमा शौच गर्नु होला कि भनेर हो । कोही कोही केटा मान्छे त कस्तो न होला भनेर हौसिन बेर छैन नि त ।" उनले शौचालयको भित्री भागमा पनि पहरा दिनुको कारण दिए । "हजुरले" भन्दा मतिर पुलुक्क हेरे । उनको तर्कमा दम थियो । 

 

"हो त नि 'महिला शौचालयमा पुरुष प्रवेश' भन्ने त समाचारको मूल शीर्षक नै बन्न सक्छ नि, होइन त पत्रकार महोदय ?" मैले पार्वतीलाई सम्बोधन गर्दै कुरो किनारा लगाएँ ।

 

भित्तामा शौचालय प्रयोग गर्दा  र स्नान गर्दा लाग्ने शुल्क लेखिएको थियो, दिसा गरेको दश रुपैँया र पिसाब गरेको पाँच रुपैँया । शुल्क सूचीमा महिला र पुरुषमा विभेद थिएन, तर मैले समस्याको एउटा चुरो कुरो बुझेँ । पुरुष कक्षमा दिसा र पिसाब गर्ने छुट्टा छुट्टै सुविधा थियो तर महिलातिर थिएन। 

 

"महिलालाई दिसा गरेको कति रुपैया शुल्क लिने गर्नु भएको छ नि ?" मैले सञ्चालक मित्रको ध्यानाकर्षण गराएँ ।

 

"समस्या नै यही हो सर । लामो छोटो के गरिस् भनेर सोध्न मिल्दैन । पुरुषको जस्तो छुट्टै व्यवस्था भएको भए जता जान्छ त्यसको हिसाबमा शुल्क लिन हुन्थ्यो । महिलाको त जे गरे पनि पाँच रुपैया लिन्छौँ ।" उनले भने ।

 

"यसको मतलब सार्वजनिक शौचालयमा महिलाले दिसा गर्दैनन् । राजस्व सङ्कलनको आकडाले त्यही देखाउने भो, हैन त ?" पार्वती त आखिर पत्रकार न परिन् । रोचक निचोड निकालिन् ।

 

हामी महिला कक्ष पछि पुरुषको पिसाब फेर्ने कक्ष तिर लाग्यौ । उभिन मिल्ने युरिनलहरुको व्यवस्था रहेछ । कतिपय शौचालयहरुमा स-साना नानीहरुका लागि होचा युरिनल राखिएको हुन्छ । विदेशका सार्वजनिक शौचालयमा भने फरक क्षमताका प्रयोगकर्ताका लागि पनि छुट्टै व्यवस्था हुन्छ । नेपालमै पनि भृकुटीमण्डपको एक शौचालयमा सीमान्तकृत वर्गका लागि मैले एउटा यस्तो शौच-कक्ष देखेको स्मरण भयो । देख्दा सामान्य लागे पनि प्राविधिकहरुले शौचालय बनाउँदा विचार गर्नु पर्ने यस्ता महत्वपूर्ण विषय छन् । हामी यिनै विषयहरुको टिपोट गर्दै थियौँ । मैले फेरि रमाइलो उमार्ने जमर्को गरेँ ।

 

"यहाँ त वहाँ महिला पत्रकार महोदयले शौच गर्ने सम्भावना शून्य छ नि त । फेरि किन पहरा दिइरहनु भएको छ ।"

 

मैले आँखा झिम्क्याउँदै सञ्चालक मित्रलाई सोधेँ ।

 

"के ठेगान, मौका पाए महिलाले पनि उभिएरै फेर्न के बेर ?" मित्रले अनपेक्षित उत्तर दिए ।

 

"सही हो । अहिले अन्य कतिपय मुलुकमा महिलाले पनि उभिएरै पिसाब फेर्ने सुविधा छ ।"

 

मैले केही समय अघि दि इकोनोमिस्ट पत्रिकाले लेखेको एक समाचार सम्झिँदै भनेँ ।

 

"वाह ! इन्जिनियर साहब । क्या बात ! शौचालय प्रयोगमा पनि लैङ्गिक समानता । अधिकार्मीहरुको लागि त यो हरियो घाँस नै भयो । अनि हाम्रा लागि पनि पहिलो पृष्ठमा नै छापिने समाचार बन्न सक्छ ।"

 

पत्रकार मित्रको रसिलो उद्गार प्रस्फुटन भयो ।   

 

"तर पार्वती जी, असमानताको खाडल पनि त हेर्नुहोस् न । महिलाका लागि छ वटा शौच-कक्ष छन् । पुरुषका लागि भने त्यसको दुई गुणा भन्दा पनि बढी । अझ पुरुषलाई भने दिसा र पिसाब गर्न अलग अलग सुविधा छ ।"

 

मैले हाम्रै आँखा अघि देखिएको यथार्थलाई प्रतिनिधि बनाउँदै अधिकांश सार्वजनिक शौचालयमा भएको सङ्ख्यात्मक असमानता इङ्गित गरेँ ।

 

अहिले सडकमा, सार्वजनिक स्थलमा र सेवाप्रदायक निकायहरुमा नारी उपस्थिति ह्वात्तै बढेको छ । महिला चालक भएको कुनै सार्वजनिक सवारी साधनमा शतप्रतिशत यात्रु महिला भएको दृश्य अब अनौठो भएन । केही समय अघि सम्म काठमान्डौँ लगायत मुलुकका प्रमुख सहरहरुको भिडमा महिलाको उपस्थिति न्यून हुन्थ्यो । उपस्थित महिला पनि या त काखमा सानो बच्चा च्यापेर हिँडेका देखिन्थे या त आफ्नो अभिभावक वा कोही दौँतरीसँग हुन्थे । एक्लै हिँड्दैन थिए । बिहान झिसमिसेमै या रात्रीको समयमा एक्लै हिड्ने युवतीको सङ्ख्या त शून्य बराबर हुन्थ्यो । अहिले परिस्थिति फेरिएको छ । अर्थशास्त्रीहरु या नीति निर्माताहरुका लागि अर्थतन्त्रमा भएको उल्लेखनीय नारी सहभागिताको यो आयाम विभिन्न हिसाबले अर्थपूर्ण होला । वातावरण इन्जिनियर वा सेवा प्रदायक संस्थाहरुले अब बन्ने सार्वजनिक शौचालयमा पुरुष र महिला दुवै समूहको लागि आवश्यक पर्ने शौच-कक्षको सङ्ख्याको पूर्वानुमान गरी व्यवस्था गर्न बाञ्छनीय छ ।

 

अध्ययनले पुष्टि गरे अनुसार पुरुषलाई पिसाब गर्न सालाखाला आधा मिनट लाग्छ भने स्त्रीलाई एक मिनट । यो जैविक आवश्यकता हो । यसकारण उत्तिकै भिड हुनेस्थानमा शौचालयको योजना बनाउँदा पुरुषको भन्दा महिलाको शौच-कक्ष सङ्ख्या दुई गुणाले बढी हुनु जरुरी हुन्छ । महिला शौचालयमा ढोका बन्द गर्ने सुविधा पनि हुनु पर्छ । ढोका नभएको वा बन्द नहुने शौच-कक्षमा कतिपय प्रयोगकर्तालाई असाध्यै अप्ठेरो लाग्छ । बदलिँदो परिवेश अनुसार खासगरी महिलाको पहिरनमा पनि परिवर्तन आएको छ । अहिले अधिकांश महिलाले पाइन्ट लगाउँछन् । सार्वजनिक शौचालयका अधिकांशप्रयोगकर्ता सक्रिय उमेरका युवायुवती हुन्छन् । बृद्ध र बालबालिकाको सङ्ख्या कम हुन्छ। यसकारण सुविधा प्रयोग गर्दा पहिरनको पनि असर पर्छ । सेवा प्रदायक निकायहरुले विचार गर्नु पर्ने केही महत्वपूर्ण विषय यिनै हुन् ।

 

"अहो ! इन्जिनियर साहब ! सार्वजनिक शौचालयसँग जोडिएका समस्या त बग्रेल्तीं पो रहेछन् ।" मेरो कुरा सुनेर पार्वतीले लामो श्वास फेर्दै भनिन् ।

 

"हो त नि । पुगेन त अब पत्रकार महोदयलाई भारी ?" जवाफमा मैले भने ।

 

"आजलाई भारी पुग्यो । अब जानु पर्छ ।" पार्वतीले भनिन् ।

 

"थप केही हुँदा फेरि आए पनि हुन्छ नि म्याडम । अर्को पल्ट आउनु भयो भने पहरा बस्न नपर्ने गरी आउनु होला है ।" सञ्चालकले पनि रमाइलै गरी बिट मारे ।

 

हामी हाम्रो काम र दिन सफल भएको अनुभूति गर्दै आ-आफ्नो बाटो लाग्यौँ ।

 

मसिर ०८, २०७३

धुलिखेल, काभ्रे

प्रकाशित मिति: मङ्सिर १८, २०७३ (December 03, 2016)

प्रकाशक : हिमालय टाइम्स

Thursday, November 5, 2020

अप्सराको मसाज

सियाम रिप । कम्बोडियाको नामी पर्यटकीय सहर । सियाम रिपमा अवस्थित एङ्करवात मन्दिर विश्व सम्पदामा सूचीकृत प्रख्यात दर्शनीय स्थल हो । यो विश्वविख्यात पुरातात्त्विक मन्दिरमा पुग्ने जो कोही पनि त्यहाँको बयान गरेर नथाक्ने । यसकारण पनि म उत्साह र उमङ्गको चरमोत्कर्षमा थिएँ । प्रतीक्षाको घडी अन्तिम पलमा टिक टिक गर्दै थियो । त्यो हिन्दु सांस्कृतिक पहिचानको मन्दिर हो भन्ने जानकारी पाउँदा भन्दा पनि कुनै कालखण्डमा कम्बोडिया एक हिन्दु राष्ट्र थियो भन्ने सुन्दा भने मलाई झन् आश्चर्य लाग्यो । ढुङ्गै ढुङ्गाले बनेको त्यो अद्धितीय संरचना आँखाले भ्याउने दुरीसम्म फैलिएको रहेछ ।

 

मिर्मिरेमा हजारौँको सङ्ख्यामा भेला भएका दर्शनार्थी सँगै मैले पनि एङ्करवातका चुचुराको पल्लो पट्टि उदाएका सूर्यनारायणको दर्शन गरेँ। कोरियन मित्रहरुको जम्बो टोलीसँगै फेरि दिउँसो पनि म एङ्करवातको आभा चुम्न पुगेको थिएँ । प्राचीन कलाको अलौकिक नमुनाको दृश्यावलोकन सँगै अर्को एक रोचक विषय पनि हात लागेको थियोसियाम रिपमा । संस्कृतका केही शब्दले समेत बडो राम्रो पहिचान बनाएका रहेछन् । ती मध्ये एउटा थियो-अप्सरा । बेलुकी एक रेस्टुरेन्टमा सुरापानको आनन्दमा 'अप्सराहरुको' नृत्य थपियो । नृत्यमा इन्द्रकै दरबारमा देखाइए जस्तो हाउभाउले अप्सराहरुले मनमोहक नृत्य देखाए ।

 

उच्च शिक्षा आर्जनको सिलसिलामा आधा दर्जन वर्ष थाइल्यान्डमा बिताएको भएतापनि त्यसवेला मैले कम्बोडिया टेक्ने अवसर पाएको थिइनँ । दुई वर्ष अघि कोरियन मित्र डा. दोक्कोकै निमन्त्रणामा म नोम पेन्ह पुगेको थिएँ । यस पटक भने राजधानीका साथै नेपालको पर्यटकीय सहर पोखराको झल्को दिने सियाम रिपमा दुई दिन बिताउने अपूर्व अवसर जुरेको थियो । डा. दोक्कोसँग जापानमा बस्दा देखिको आत्मीयता छ । आँखामा राख्दा पनि नबिझाउने साथी । कोरियन नागरिक भए पनि साह्रै रमाइलो र मिलिक्कै घुलमिल हुन सक्ने । एङ्करवातमा म समूहबाट छुट्टिएर एङ्कर रोटरी क्लबको कार्यक्रममा जानु पर्ने थियो । छुट्टिनु अघि डा. दोक्कोले मलाई सतर्क गराउँदै भनेका थिए-

 

"तेरो कम्बोडिया घुमाईको रेकर्ड राम्रो छैन । यस पटक पनि तँ पक्कै हराउने छस् । यसकारण यो गाइडलाई बेलैमा एउटी राम्री अप्सरा खोज्न लगा र यहीँ घरजम गरेर बस् ।" 

 

हुन पनि म नोम पेन्हमा तिन पटक हराइसकेको थिएँ । पहिलो २०१५ को भ्रमणताका दुई पटक र यसै पालि एक पटक ।

 

"डा. दोक्को ! मेरो लागि यो अन्तिम अवसर हुनेछ । यसपटक पनि म हराएँ भने तिम्रो सल्लाहअपनाएर अप्सरा खोज्न लगाएर यतै बस्ने छु ।"

 

मुस्कुराउँदै जवाफ दिएर म डा. दोक्को सँग बिदा भएँ ।   

 

सियाम रिप पुगेको दिन हामी दिनभरि खानेपानी र शौचालय पूर्वाधारका संरचनाहरुको अवलोकनमा व्यस्त भयौँ । अप्सरा नृत्यको रसराग र स्वादिष्ट भोजनको आनन्द लिएर होटल फर्कने क्रममा हाम्रा पथप्रदर्शकले एक स्थानमा बस रोकेर उद्घोषण गरे-

 

"लौ! मसाज सेन्टरमा जाने जति गाडीबाट ओर्लनु होला ।"

 

मैले निधो गरिसकेको थिएँ । यस पटक म क्याम्बोडियाको मसाजको पूरा अनुभव लिएरै छाड्छु । लगभग एक दर्जनको समूह बसबाट ओर्लियो । आधा जति युवती थिए ।

 

हातको इसाराले हामीलाई मसाज परिसरको एक छेउतिर लगियो । अघि अघि मसाज सेन्टरमा काम गर्ने युवती थिइन, हामी पछि लाग्यौँ । केही दुरी हिँडेपछि दुई तले एउटा भवनमा पुगियो । कसैले उदघोष गर्‍यो।

 

"हियर लेडिज वन्ली जेन्ट्स प्लिज फलो मी ।"

 

पुरुष र महिलाको लागि अलग कक्ष रहेछन् ।  समूहका युवतीहरुलाई त्यहाँ छोडेर हामी फेरिबाटो देखाउने सेविकाका पछि लाग्यौँ । छ जनाको पुरुष समूहलाई भने तिन तला माथि लगियो । त्यहाँ एक कोठामा छ जनाका लागि व्यवस्था रहेछ । भुइँमा बाक्ला डसना लहरै ओछ्याइएका थिए । हामीलाई लुगा खोल्न भनियो । एउटा छोटो पाइजामा जस्तो लुगा लगाउन दिइयो । कोरियन साथीहरु भकाभक पाइन्ट खोलेर पाइजामा लगाउन थाले । मेरो भने बुच्चे कट्टु भएकाले अलि लाज लाग्यो, तर 'तिन हात जितेर बित्तामा हार्नु हुँदैन' भन्ने उखान सम्झिँदै अराएको काम खुरुक्क गरेँ । रातो रङको युनिफर्ममा सजिएका युवतीहरु भित्र बाहिर गर्दै थिए । उनीहरुले टि सर्ट र पाइन्ट लगाएका थिए । "अन योर मार्क" भइसकेको थियो । "गेट सेट गो !" को पनि इसारा आयो ।  हामी उत्तानो परेर पल्टियौँ ।

 

मलाई मसाज गर्न खटिएकी युवती सर-सामान लिएर आई । म भने घरी सिलिङ्तिर हेर्दै घरी आँखा चिम्लिँदै थिएँ । किन किन ऊसँग आँखा जुधाउने साहस बटुल्न सकिरहेको थिइनँ ।

बारम्बार एउटै प्रश्नको ज्वारभाटा उठिरहेको थियो "के यस्तो सेवा लिनु नैतिक हो त ?"

 

मनमा अर्को पनि चिन्ता पलायो । केही अमेरिकी डलर भएको वालेट पाइन्टको खल्तीमा थियो । त्यो चोरिन सक्ने जोखिम बढेको थियो तर अप्सराको गतिविधिका अघि अरू सबै विषय गौण भए ।

 

"अब यसले के के गर्ने हो" भन्ने पिर यो । हुन ता कपाल काट्दा पनि टाउको जस्तो शरीरको महत्वपूर्ण भाग केही बेरको लागि हजामलाई सुम्पनु पर्छ । हजामको हकमा त उसले के गर्दैछ भन्ने लगभग थाहा हुन्छ तर यहाँ परिस्थिति फरक थियो । एक त आफ्नो पुरै शरीर अप्सराको नियन्त्रणमा थियो । हामीले 'फुल बडी मसाज' को विकल्प रोजेका थियौँ । दोस्रो कुरा "फुल मसाज" का हाँगा बिँगा के के हुन्छन् मलाई खासै जानकारी थिएन ।   

 

अप्सराले मेरो देब्रे गोडाबाट आक्रमण सुरू गरी । ओँलाहरु मर्‍याकमुरुक पार्ने, पड्काउने र उसका हातका औला मेरा खुट्टाका औलाका कापमा छिराउने आदि गर्न थाली । मेरा गोडाका औला अहिलेसम्म यस्तो अनौठो हरकतको चपेटामा बिरलै परेका थिए । अप्सराहरु एक आपसमा केही कुराकानी गर्थे । मेरो भाषा चेतनाको कित्तामा तिनका कुराकानी थिएनन् । घरीघरी खितित्त हाँस्थे ।

 

मेरी अप्सराको गियर परिवर्तन भयो । उसले मेरो देब्रे खुट्टो उसको दाहिने काँधमा राखी । अनि दुवै हातले पिँडौला मुसार्न थाली । बिस्तारै सिरानतिर बढ्न थाली । मेरो मुटुको धुक धुकी बढ्न थाल्यो । धन्य ! उसको गतिविधि तिघ्रासम्म पुगेर रोकियो । देब्रे गोडा पछि दाहिनेलाई पनि त्यस्तै गरी ।

 

दुवै गोडाको मालिस पश्चात् उसले दाहिने गोडालाई पसारेर सिधा राखी । देब्रेलाई दोब्र्याएर दाहिनेको आड माथि राखी । अनि उसका दुबै हातले देब्रे खुट्टालाई न्वारान देखिको बल लगाएर थिची ।

 

"कटट……………."

 

रुख ढल्नलाग्दा वा लौरो भाँच्दा  जस्तो आवाज निस्कन्छ त्यस्तै भयो ।

 

"अय्या……. ! मोरीले ! भाँच्ने भर्इ कि क्याहो ? "

 

मैले मन मनमा मात्र यसो भन्न सकेँ । सकेसम्म सहनुको विकल्प थिएन । मेरा छिमेकीहरु चुपचाप मसाजको मजा लिँदै थिए । म पनि सकेसम्म स्वाभाविक हुने प्रयासमा थिएँ ।

 

अप्सराले इसारा गरी । त्यो अर्को चरणमा प्रवेश गर्ने सङ्केत थियो । अब भने घोप्टे परेर सुत्न लगाई ।

एकाएक ढाडमा गह्रौँवस्तुले थिचे जस्तो भयो । त्यो दबाब दायाँ बायाँ गर्दै सिरानतिर सर्दै गयो । मलाई अनुमान गर्न बेर लागेन"अप्सरा मेरो ढाडमाथिहिँड्दै छे ।"

 

भगवान् शिवको ताण्डव नृत्यको कथा याद आयो । राक्षसलाई मान्द्रो बनाएर नाचेको कतै सुनेको थिएँ । हजुरबाहरु नातिलाई यसरी नै ढाडमा हिँड्न लगाउँथे । म भने 'मेरुदण्ड पडक्कै भाँचिने हो कि' भन्ने चिन्ताले एकाएक ग्रस्त भएँ  तर भेल कुनै विनाश बिना नै थामियो । 

 

ढाडको काम सके पछि अप्सराले फेरि उत्तानो पर्न इसारा गरी । ऊ मेरो पछिल्तिर आई । आफ्ना गोडालाई मेरा टाउकाका दुबैतिर पारेर बसी ।

 

"हे भगवान् ! अब यसले के आँटी?"

 

मैले केही अनुमान गर्न नपाउँदै उसले मेरो टाउको जुरुक्क उचाली । काखमा राखी । उसका गोडा घस्रँदै अघि सरे । ऊ मिल्ने सम्म मेरो जिउमा टाँसिएकी थिई । अनि टाउकाको मसाज गर्न थाली । टाउकाको मर्मत सकेपछि उसले मेरो ढाडलाई विस्तारै आकाश तिर ठेली । मैले कुरो बुझेँ । बिस्तारै ढाड र टाउको सिधा माथि  उठाएँ । ऊ अब ढाडको मसाज गर्न थाली । टाउको पछि दुवै हातलाई मर्‍याकमुरुक पार्ने, औला पड्काउने आदि सकेर पाखुरा र नाडीको पनि मसाज गरी । उसका हातका पाँच औला मेरा हातका औलाका कापमा छिराएर दोबारी । यसरी मसाज अध्याय समाप्त भयो । हामीले एकमुष्ट टिप्स दियौँ । मैले मेरो शरीरमा स्फूर्ति भर्ने मेरी अप्सरालाई उनीहरुको भाषामा धन्यवाद भने-

 

ओ कुन ।     

 

दुई वर्ष अघि पनि नोम पेन्हमा म गोडाको मसाज गराउन डा. दोक्कोको टोलीसँग गएको थिएँ । त्यसवेला पनि अप्सराले नै मसाज गरेका थिए । त्यसवेला उनीहरुको कार्यक्षेत्र तिघ्रासम्म मात्र सीमित थियो । त्यस भ्रमणको अन्तिम दिन हामी नोम पेन्हको राजदरबारको अवलोकन गर्न गएका थियौँ । भ्रमण दलका बहुसङ्ख्यक सहभागी कोरियन नै भएकाले राजदरबार पछि कोरियन रेस्टुरेन्टमा दिवा भोज गर्ने योजना थियो । अवलोकन भ्रमणको अन्त्यतिर म सबैभन्दा पछि थिएँ । मैले दरबार परिसर छोड्नु अघि शौचालय प्रयोग गर्ने निर्णय लिएँ । बाहिर निस्केर हेर्छु त हाम्रो बस हिँडिसकेछ ।

 

मेरालागी शौचकर्म दुर्भाग्य भयो । सफा मौसममा नै एकाएक चट्याङ् पर्‍यो । एक छिन मष्तिष्कले काम गरेन । मेरो राहदानी र टिकट पनि झोलामा थियो । झोला बसमा थियो । मेरा साथीहरुको गन्तव्य अर्थात् कोरियन रेस्टुरेन्टको जानकारी मलाई हुने कुरो भएन । मेरो अघि भीमकाय सङ्कट दारा ङिच्याएर उपस्थित थियो  अर्थात् अर्को पक्षबाट विश्लेषण गर्दा म हराएको थिएँ ।

 

"युर फ्रेन्ड कोरियन, जस्ट लेफ्ट ।"

 

मेरो अवस्था नियाली रहेको एक टेम्पो चालकले मतिर हेरेर जानकारी दियो । उसको भनाइ शत प्रतिशत सत्य थियो । म बथानले छोडेको मृग जस्तो एक्लो भएको थिएँ । नौ नारी गलेका थिए । 'अब के गर्ने ?" अँध्यारो सुरुङमा उज्यालोको कुनै त्यान्द्रो पनि सतहमा नदेखिएको स्थिति थियो ।

 

केही बेरको यथास्थिति पछि केही विचार पलाए । पहिलो, मेरा साथीहरुले म छोडिएको भन्ने थाहा पाउलान् र फर्केर आउलान् । दोस्रो, हामी बसेको होटलको नाम मलाई जानकारी थियो । टेम्पोको सहाराले त्यहाँ जाने र समस्या समाधानका लागि होटलका कर्मचारी गुहार्ने । पछिल्लो विकल्पको सम्भावना बढेर गयो । मैले त्यही अपनाएँ । होटलमा गाइडको मोवाईल नम्बर भेटियो । गाइडसँग सम्पर्क भयो । मेरो अवस्थामा परिवर्तन आयो । अर्थात् अब म भेटिइसकेको थिएँ ।

 

कम्बोडियामा हराएको दोस्रो घटना पनि आफ्नै कमजोरीले सिर्जना भएको थियो । हाम्रो सम्मेलन नोम पेन्हमा अवस्थित नेसनल पोलिटेक्निकल इन्स्टिच्युट अफ क्याम्बोडियामा तय भएको थियो । विमानस्थलमा लिन कोही आउला भन्ने आशा गरेको थिएँ । कम्बोडियामा नेपाली नागरिकलाई पनि विमानस्थलमै भिसा दिइन्छ । भिसाको काम सकेपछि बाहिर निस्केर 'नवराज खतिवडा' लेखेको कागज बोकेको मान्छे खोज्न थालेँ । अफसोच ! यस्तो भएन । त्यहाँ मेरो खोजी गर्ने कोही पनि थिएन ।

 

"अब मेरो गन्तव्य कहाँ हो ?"

 

 प्रश्नको उत्तर एउटै थियो-सम्मेलन आयोजना गरिएको इन्स्टिच्युट । त्यो गन्तव्य विमानस्थलबाट धेरै टाढा नहोला भन्ने लागेको थियो । नेपालको त्रिभुवन विमानस्थलबाट काठमाडौँको केन्द्र दरबारमार्ग या पाटनको पुल्चोक पुग्नु जस्तै ठानेको थिएँ । पोलिटेक्निकल इन्स्टिच्युटको नाम ठेगाना हातमा बोकेर एक हुल ट्याक्सी चालक भएतिर गएँ । मलाई विश्वास थियो-'विजडम अफ दि क्राउड' अर्थात 'भिडको बुद्धि" ले समस्याको निकास निकाल्न सक्छ ।

 

"आई गो दिस प्लेस । क्यान यु हेल्प ?"

 

उनीहरुले एक छिन छलफल गरे । बहुसङ्ख्यकले जानकारी नभएको हाउभाउ देखाए । अन्तिममा एउटाले पन्ध्र डलर लाग्छ, म लगिदिन्छु भन्यो । मलाई उसको शरणमा नजाने कुनै कारण थिएन ।

 

उसले ठूलो परिसर भएको  काठमाडौँ विश्वविद्यालयको धुलिखेल क्याम्पस जस्तो स्थानमा पुर्‍यायो ।  मैले उसलाई पार्किङमा नै एकछिन पर्खन भने । चहलपहल देखिएको एउटा भवन ताकेर म सरासर गएँ । माथिल्लो तलामा केही शिक्षक जस्ता देखिने व्यक्तिहरु भएको एउटा ठूलो कार्यकक्ष भेटियो । मैले मेरो निमन्त्रणा पत्र देखाएँ । एकजनाले मलाई मदत गर्‍यो ।उसका कुरा सुनेर मलाई फेरि भाउन्न भयो । म विपरीत दिशातिर आएको थिएँ । अर्थात् मलाई जानु थियो थानकोट म पुगेको थिएँ धुलिखेल । मलाई सहयोग गर्ने कम्बोडियन मित्रलाई उनीहरुकै भाषामा मेरो गन्तव्य लेख्न लगाएँ । अनि ट्याक्सीवाला कहाँ आएँ । उसले गमेर टुटे फुटेको अङ्ग्रेजी लवजमा भन्यो ।

 

"लाग्न त २० डलर लाग्ने हो तर म १५ मा पुर्‍याइदिन्छु ।" 

 

लगभग ४० किमीको दुरी तय गरेपछि पोलिटेक्निक इन्स्टिच्युट पुगियो । सम्मेलनको तुल देखेर ढुक्क भएँ । सम्मेलन स्थलमै पुग्दा पनि सम्बन्धित व्यक्ति कोही भेटिएन । फेरि मन चिसियो । निकै मिहिनेत गरेपछि एक  जना कोरियन प्राध्यापक भेट भए । उनले आयोजकलाई चिन्दा रहेछन् । मोवाईलबाट सम्पर्क  गरे । एक छिन सोधपुछ गरे । मलाई हेर्दै मुसुमुसु हाँसे । लाग्यो-केही गोलमाल पक्कै भएको छ ।

 

"तपाइँको लागि सहरकै होटलमा बस्ने ब्यवस्था मिलाइएको रहेछ । यहाँसम्म आएर दु:ख पाउनु भयो ।"

 

"दिनभरिको सिकार कान्छा बाउको अनुहार ।"

 

धन्न आयोजक मध्येकी एक युवती सम्मेलन परिसरमा रहिछन् । उनीसँग पनि सम्पर्क भयो । म उनकै कारमा होटल आएँ । आयोजकले पठाएको अन्तिम इमेल नहेरेको कारणले हराउनु परेको र यो दु:ख पाउनु परेको ठहरियो ।

 

तेस्रो घटना भने यस पटक भएको थियो । हाम्रो एकदिने कार्यशाला सकेर बेलुका क्रुज बोटमा रात्री भोज थियो । थाइल्यान्ड र क्याम्बोडियामा यस्ता पानी माथि चल्ने जहाजमा बसेर सुरापान गर्ने, सांस्कृतिक झलकहरु हेर्ने र भोजन ग्रहण गर्ने सुविधा हुन्छन् । हाम्रो डिनरको लागि होटेलबाट छ बजे निस्कने योजना थियो । कार्यशाला पश्चात् सबै सहभागी बास बसेको होटेलमा आएका थियौँ । केही समय बाँकी भएकोले म आफ्नो कोठामा गएर भाइबरबाट घरमा सम्पर्क गरी धर्मपत्नीसँग कुरा गर्न थालेँ । एक जटिल व्यावहारिक विषयमा कुरा हुन थाल्यो । मैले घडी हेर्न बिर्सेछु । झसङ्ग भएर लबीमा आउँछु त क्रुजमा जाने बस छैन । म फेरि एक पटक समूहबाट अलग भएँ । रिसेप्सनमा ड्युटीमा रहेकी युवतीलाई मेरो स्थिति अवगत गराएँ । धन्य उनीसँग गाइडको नम्बर रहेछ । त्यस पछि म तीन पाङ्ग्रे सवारीसाधनमा क्रुज बोट चढ्ने घाटमा पुगेँ । धन्य! सबैजना बोट पर्खिरहेका रहेछन्। डा. दोक्को भने मूल सडकतिर अलि पर एक्लै उभिएका थिए ।

 

" डा. दोक्को ! तिमी किन एक्लै छौ ?"

 

"म तिम्री राजकुमारीलाई पर्खिरहेको छु ।"

 

"को स्पेनकी अप्सरा ?"

 

"हो ।"

 

"के उनले पनि ढिला गरिन् ?"

 

"नेपालको राजकुमारले ढिला गरेपछि स्पेनकी राजकुमारीले बाँकी राख्छिन् त ?"

 

मारिया आइपुगी । दिउँसोको प्राविधिक भ्रमणमा भन्दा उसको रूप र पहिरन बदलिएको थियो । ऊ राजकुमारी जस्तै राम्री देखिएकी थिई । स्पेनिस नागरिक मारिया कम्बोडियाको युनेस्को कार्यालयमा काम गर्दिरहिछ । कोरियनहरुको बथान भएकाले उसको र मेरो हल मिलेको थियो । हामी एक अर्कालाई स्पष्ट बुझ्ने गरी अङ्ग्रेजीमा मनका कुरा गर्न सक्थ्यौँ । मेरो र मारियाको फेरि दोहोरी चल्यो । मैले बिना लयको भाका हालेँ ।     

 

"त्यो मनको कुरो यो मनले जान्दछ ।" 

 

"मलाई पनि त्यो तरिका सिकाइदेऊ ।"

 

"यसको लागि एउटा विशेष पुस्तक पढ्नु पर्छ ।"

 

"उसो भए पुस्तकको विवरण इमेलमा पठाइदेऊ ।"

 

"अवश्य ।"

 

विदेशी मनसँग कुरा गर्नुको रमाइलो यही छ । उनीहरु भइ परि आउनेलाई सहजै लिन्छन् र त्यसैमा भर्‍याङ लगाउँछन् । रमाइलोमा रमाइलो थप्छन् । नेपाल फर्केपछि स्पेनी अप्सरालाई पुस्तकको नाम पठाइदिएँ ।

 

"धन्यवाद नव ! म तिम्रो सिफारिसको पुस्तक अवश्य पढ्ने छु । आशा छ पुस्तक पढेपछि मैले पनि अर्काको मनको कुरा पढ्न जान्ने छु । अनि तिम्रो मनको कुरा मेरो मनले पनि जान्नेछ ।"

उसले इमेलमा लेखी ।

 

कम्बोडियाका घटनाक्रम र अप्सराहरु अतीतको गर्भमा लुकिसके । स्पेनी अप्सराको इमेल भने मेरो इनबक्समा अझै सुरक्षित छ  । विदेशीहरु वचनका पक्का हुन्छन् । आशा छ, उसले पुस्तक पक्कै पढ्नेछे र अर्को पनि इमेल लेख्नेछे।

 

 

फागुन २६, २०७३

कोटेश्वर-धुलिखेल बस यात्रा

मिर्मिरे अनलाइनमा प्रकाशित

लिङ्क : http://ujyaaloonline.com/news/72319/Siem-Reap-Cambodia/