Wednesday, December 15, 2021

सूत्राधारको बाघचिप्ली दुर्घटना

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रे जिल्लाका धरतीपुत्र एवं तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको काभ्रेकै धरतीमा बेजोडको तारिफ गरे । मुलुकको बागडोर सम्हालेको दुई तिहाइको सरकारको बलिया हस्ती मानिने नेताका बारेमा प्रमुख कार्यकारीले गरेको त्यो टिप्पणी अझै धेरैको मनमा गढेको छ । 

‘काभ्रे प्रतिभा जन्माउने ठाउँ हो । प्रतिभा जन्माउने जिल्ला हो । यो कुरा क्रमशः प्रकट हुँदै गएको छ । आज देशमा राजनीतिक तुलो राख्ने हो भने तुलाको एकातिर गोकुल बाँस्कोटा अर्कातिर अरू सबैजस्तो भएको छ । सरकारको विरोध गर्नुप¥यो भने गोकुल बाँस्कोटातिर हेर्नेबित्तिकै चुप लाग्छन् ।’

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्रीको उनकै गृह जिल्लामा सरकार प्रमुखले गरेको यस्तो तारिफलाई उनको नेतृत्वयात्रामा कोशेढुंगा भएको अनुमान धेरैले गरे । काभ्रे जिल्ला नेपालका ७७ मध्ये खास जिल्लाको रूपमा मानिन्छ । नेपालको विविधता मिसिएको भूगोलसँग जोडेर काभ्रे, स्याङ्जा, झापा र जुम्लाजस्ता जिल्लाका बासिन्दालाई अरूभन्दा चलाख ठान्ने परम्परा रहिआएको छ । ठट्टा गर्दा लोकले काभ्रे जिल्लाका सर्वसाधारण समेतलाई प्रधानमन्त्रीले दिएको जस्तो उपमा दिने गरेको छ ।

‘काभ्रेलीले जन्मदै नौ कक्षा पास गरेको हुन्छ’ भनिन्छ तर प्रधानमन्त्रीले गोकुलको वृत्तिविकासमा अभिवृद्धि गरेको यो मूल्यको चेक साटिन पाएन । नियतिको खेलले अर्कै रूप लियो । राजनीतिक सगरमाथाको चुचुरोमा पाइला टेक्न लागेका गोकुलको जीवनमा एकाएक हिमपहिरो गयो । उनी गल्र्यामगुर्लुम ढले । सेक्युरिटी प्रेसको खरिद प्रक्रियामा लेनदेनको कुराकानी गरेको श्रव्यदृश्य सामग्रीको सार्वजनिकीकरणपछि उनले मन्त्रिपदबाट राजीनामा दिए । प्रधानमन्त्रीले भने जस्तो भएन । असन्तुलित उत्तोलकझैँ गोकुलतराजु एकाएक आकाशमार्गमा उछिट्टियो । 

गोकुलको चिप्लेटी दुर्घटनालाई नेपाली जनमानसमा भिजेका दुई खेलसँग तुलना गर्न सकिन्छ । पहिलो हो बाघचिप्ली । यो खेलमा पानी परेको बेला चिप्लो सतहमा शरीरको सन्तुलन मिलाउँदै चिप्लेर मजा लिइन्छ । भिरालो सतह भयो र रातो माटोको चिप्लेटी भयो भने त्यसले थप आनन्द दिन्छ । विशेष महŒवको कुरा व्यक्त गर्न ‘बाघ’, ‘सिंह’, ‘शेर’ आदि शब्द प्रयोग गरिन्छ । सिंहदरबार, समशेर आदि यस्ता शब्द हुन् । ‘बाघचिप्ली’ शब्दको आशय पनि त्यस्तै हुनुपर्छ । त्यसो त बाक्लो हिउँले ढाकिएका क्षेत्रहरूमा खेलिने साहसिक खेल स्की पनि बाघचिप्ली जस्तै हो । 

शरीरको सन्तुलन मिलेन वा अप्रत्याशित रूपमा कुनै अवरोध आयो भने स्की वा बाघचिप्ली जस्ता खेलहरूले ज्यानै लिने वा अंगभंग हुनेसम्मको क्षति गर्न सक्छन् । अमेरिकामा मात्र सालको ४०–५० जना स्की खेलाडीको ज्यान जाने गरेको छ । यसकारण बाघ वा सिंहको जस्तो शक्ति भएका र आँट पनि भएकाले मात्र बाघचिप्ली वा स्कीको मजा लिन सक्छन् । गोकुल प्रकरण पनि बाघचिप्ली वा स्की खेलमा हुनेजस्तो एक भीषण दुर्घटना हो ।  

त्यस्तै प्रकृतिको अर्को लोकप्रिय खेल ‘सर्प–सिँढी’ हो । यसलाई ‘लुँडो’ पनि भन्छन् । यसमा भने वरदान र अभिशापलाई इंगित गर्ने दुई महत्वपूर्ण परिस्थिति पाइन्छन् । यो खेलमा एकदेखि सयसम्म लेखिएका कोठाहरूमा गोटी सार्दै लानुपर्छ । सिँढीको फेद भएको कुनै कोठामा गोटी प-यो भने त्यो वरदान सावित हुन्छ । सिँढी चढेर छलाङ मार्दै गोटी एकै चोटी ठूलो अंक भएको कोठामा पुग्नसक्छ तर यसको विपरीत लामो सफलता हासिल गरिसकेको गोटी सर्पको मुख भएको कोठामा प-यो भने त्यो अभिशाप सिद्ध हुन्छ र पहिरोमा परेर बगेजस्तो सानो अंक भएका कोठामा गोटी आइपुग्छ । 

यसरी १०० अंक भएको कोठामा पुगेर विजेता बन्न सर्पका मुख भएका धेरैवटा कोठाहरू नाघेर जानुपर्ने हुन्छ । प्रायःजसो ९८ वा ९९ मा एउटा यस्तो विशेषता भएको मूलखड्गो हुन्छ किनभने त्यहाँ सर्वाधिक लम्बाइको सर्प मुख बाएर बसेको हुन्छ । त्यो खड्गो काट्न सक्ने भाग्यमानीमात्र विजेता हुन सक्छ ।

सर्प–सिँढी खेलको अभिशापको प्रतीकको पछिल्लो उदाहरण बनेका छन् बाघजस्तो डुक्रिने क्षमता भएका काभ्रेका धरतीपुत्र गोकुल बाँस्कोटा । धेरैले उनलाई प्रधानमन्त्रीका सबैभन्दा नजिकका विश्वासपात्र ठान्थे । बालकोटस्थित ओलीनिवास नै उनको निवास थियो । नोबेल पुरस्कार विजेता डेनियल कानेम्यानले विश्वप्रसिद्ध पुस्तक ‘थिंकिङ फास्ट एण्ड स्लो’ मा आफ्नो थातथलोको महत्वको बारेमा व्याख्या गरेका छन् । उनका अनुसार जसको मैदान हो उसैले खेल जित्ने सम्भावना प्रबल रहन्छ । यो सिद्धान्त मान्छे र जनावर दुवैमा लागु हुन्छ । नेपाली जनजिब्रोको उखान ‘वनको बिरालो घरको बाघ’ ले पनि त्यस्तै भन्छ । सरकारका प्रवक्ता र प्रधानमन्त्रीका दाहिने हात भएकाले गोकुल आफूलाई धेरै शक्तिशाली ठान्थे । 

उनको यो उन्मादी रजाइँको एकाएक पटाक्षेप भएको छ । उनी पनि सम्भवतः ९९ नम्बरको कोठामा मुख बाएको सर्पको शिकार भएका छन् । चार दशकको चट्टानजस्तो राजनीतिक इतिहासको पृष्ठभूमिमा उभिएका उनी सर्प–सिँढीको ९७ नम्बरको कोठामा पुगेर इन्द्रासनमाझैँ विराजमान थिए । उनले चालेको गोटीले ३ अंक पल्टाएर उनी सय नम्बरको कोठामा पुगेका भए आफूलाई चक्रवर्ती नै भएको ठान्थे होलान् तर त्यस्तो भएन । उनले चालेको कदमले अंक २ लाई सतहमा ल्यायो । 

यसकारण गोकुल ९९ नम्बरको कोठमा पुगे जहाँ सर्प मुख बाएर बसेको थियो । त्यो काल कोठरीमा पसिसकेपछि ‘इन्द्रका बाउ चन्द्र’ को कवचले पनि काम गर्न सक्ने कुरो भएन । बालकोटको बाघको खोरले थाम्न सक्ने कुरो भएन । एकाएक देउपुर मन्डनवासी जनताले अनुत्तीर्ण भएको अनुभूति गरे । गोकुललाई मत दिने जनताले अप्रत्यासितरूपमा ‘औंसीको कालो रात’ अनुभव गरे, जो उनीहरूको कल्पनामै थिएन । 

मित्रराष्ट्र भारतका इन्जिनियरिङ विषयका एक प्राध्यापकले उनलाई सम्मानको दोसल्ला प्रदान गर्ने स्वजनहरूलाई सम्बोधन गर्दै भनेका थिए, ‘सम्मान तीन किसिमका हुन्छन् । पहिलो, जन्मदै लिएर आएको सम्मान । दोस्रो, जीवनकालमा आर्जन गरेको सम्मान । तेस्रो, आफ्ना सन्तान, अनुयायी वा विद्यार्थीका कारणले सिर्जित सम्मान ।’

राणाकाल र शाही शासनकालमा जर्नेल वा राजकुमारहरू जन्मदै सम्मान लिएर आउँथे । यसो हुन कारक हुन्थ्यो उनका पिता पुर्खाको पौरख वा प्रसिद्धि । कसैले जन्मदै ‘नाति जर्नेल’ को पदवी पाउँथे वा राजा बितेपछि उनको जेठो छोरो स्वतः श्री ५ महाराजधिराज हुन्थ्यो । दोस्रो, आफ्ना पौरखले सत्कर्म वा कुकर्म जे गरे पनि पाउने सम्मान वा दुर्नाम हो । 

सत्कर्म गरेर त्यो सम्मान पाउने राजनेताहरूमा पृथ्वीनारायण शाह, बिपी कोइराला वा मदन भण्डारी पर्छन् । सबैभन्दा ओजस्वी भनेको तेस्रो किसिमको सम्मान हो । विद्यालयमा वा विश्वविद्यालयमा अध्यापन गर्ने गुरुहरू गर्वका साथ भन्ने गर्छन्, ‘फलानो मन्त्री वा सांसदलाई मैले पढाएको हुँ ।’ अर्थात छोराको प्रसिद्धिले बाबुआमालाई सम्मान मिल्छ । अनुयायीको प्रतापले नेतालाई । पूर्व विद्यार्थी प्रतिष्ठाले गुरुलाई । 

गोकुल साप–सिँढीरूपी राजनीतिक खेलको कोठा नम्बर १०० मा पुगेका भए यसले ओलीलाई ठूलो सम्मान प्राप्त हुन्थ्यो । तर, ‘बाउको बिँडो थाम्ने’ अथवा बाउआमाभन्दा पनि धेरै यश कमाउने पात्रहरू नेपालको इतिहासमा धेरै कम छन् । यसको विपरीत बाउआमाको प्रतिष्ठा खोलामा बगाएर खलनायकको भूमिकामा कुख्याति कमाउनेहरूको संख्या भने अनगन्ति छ । पूर्वराजा ज्ञानेन्द्रका छोरा पारस, पूर्व माओवादी नेता प्रचण्डका छोरो प्रकाश अहिले आएर ओलीको धर्मपुत्र भनिएका गोकुल यो सूचीको अग्रपंक्तिमा आउने पात्र बनेका छन् । 

नेपाली राजनीतिमा भ्रष्टाचार, यौन दुराचार अधिकार दुरुपयोगरूपी सर्पहरूको शिकार भएर राजनीतिक जीवनमा कहिल्यै फेरि नउठ्ने गरी भासिने नेताहरूको सूची लामो हुने क्रम जारी छ । पूर्वसभामुख कृष्णबहादुर महरा र प्रदेश ३ का पूर्वमन्त्री केशव स्थापितको राजनीतिक पुँजी स्खलन हुनुको कारण अतिशय यौनजन्य क्रियाकलापका आरोप थिए । नेकपाका नेता विष्णु पौडेललाई जग्गा किनबेचको सर्पले डस्यो । हालसालै गोकुल र केही दिनअघि उपप्रधानमन्त्री विजय गच्छदार भने भ्रष्टाचार प्रकरणमा फसे । 

आखिर किन सर्पका शिकार हुन्छन् त राजनेता बनेर मुलुककै कायापलट गर्न सक्ने पात्रहरू ? समाजमा भेटिने खास विशेषता भएका व्यक्तिहरूका बारेमा महाभारत ग्रन्थमा एउटा श्लोक छ । 

शतेषु जायते शूर, सहस्रेषु च पण्डितः ।

वक्ता दशसहस्रेषु, दाता भवति कोटिषु ।।

श्लोकका अनुसार अनियोजित भीडका एक सय जना मान्छेमा एउटा शूरो भेटिन्छ । एक हजारमा एउटा विद्वान भेटिन्छ तर असल वक्ता दशहजारमा एकमात्र हुन्छ । यी पात्रभन्दा पनि दाता विरलै भेटिन्छ जो करोडमा एक हुन्छ । असल नेता वा चामत्कारिक नेता पनि दाताकै तहमा हुन्छ । यसको मतलब नेपालको अहिलेको जनसंख्याको हिसाबले तीन जनामात्र करिस्म्याटिक वा चामत्कारिक नेता हुनसक्ने भए । सम्भवतः नेपालको कायापलट गर्न सक्ने नेता रंगमञ्चमा नदेखिनुको कारण यही हुन सक्छ । 

‘नेतृत्व कौशल’ विषयका अध्येताहरू शास्त्रले भनेको माथिको दृष्टान्तलाई सत्य मान्छन् किनभने यो प्रकृतिको नियम हो । अधिकांश साधारणजनको चिन्तन र आचरण औसत हुन्छ । उनीहरूसँग ‘जोखिम मोल्ने’ वा ‘काममा नचुक्ने’ क्षमता अदभूत हुँदैन । चामत्कारिक नेताले यी विशेषताहरूको गहना लगाएको हुन्छ । ऊ अनुशासित हुन्छ । नित्य साधनालाई आफ्नो दिनचर्याको अभिन्न अंग बनाउँछ । यसैले सामान्य गृहस्थी गर्ने पात्रहरू लाखौं करोडौंको संख्यामा भेटिन्छन् । 

उनीहरूसँग दाता वा नेताको जस्तो अद्वितीय क्षमता हुँदैन । गोकुललाई उनका धर्मपितासमेत मानिएका नेता केपी ओलीले सर्प–सिँढी खेलमा जस्तै ‘तथास्तु’ को जलप लगाएका सिँढी चढाइदिएकोले उनी इन्द्रासनको मजा लिने ठाउँसम्म पुगेका रहेछन् । यो अहिले जगजाहेर कुरो हो तर चामत्कारिक नेताहरू आफ्नै मिहिनेत र बुद्धि प्रयोग गरेर त्यस्ता सिँढी चढ्छन् । कसैको निगाह र आशीर्वादले होइन । 

राजनेताहरूका मौलिक आनीबानी र शैली हुन्छन् । जापानमा लामो समय प्रधानमन्त्रीको पदमा टिकेका जुइचिरो कोइजुमीको लामो कपाल धेरै चर्चामा थियो । नेपालका केही नेताहरूको भने आफूले प्रयोग गर्ने मौलिक थेगोका कारण विशेष चर्चामा छन् । नेकपाका अध्यक्ष प्रचण्डले ‘मने’ थेगो प्रयोग गर्छन् । कांग्रेसका नेता शेरबहादुर देउवाको थेगो ‘भन्देखिलाई’ हो । गोकुलले प्रयोग गरेको ‘हेप्नी’ भन्ने शब्द खुब चर्चामा रहृयो । उनले सरकारको बचाउ गर्दै भनेथे ‘दुई तिहाइको सरकारलाई हेप्नी ? नटेर्नी ?’

देउसी कार्यक्रमको आयोजना गर्ने सिस्नु पानी नेपालले ‘दुई तिहाइ सरकारलाई हेप्नी हो ?’ भन्ने बोलमा देउसी गीत नै बनाएर धेरैलाई हँसाएको थियो । अब त्यो इतिहास भएको छ । गोकुल प्रकरणपछि बालकोटका बासिन्दाले गोकुललाई ‘बालकोटको बाघखोर’ छोड्न भनेछन् भन्ने खबर छापामा आएको छ । बालुवाटारमा यसै विषयलाई लिएर प्रदर्शन गरेको साझा पार्टीको एउटा प्लेकार्डमा गोकुल थेगोको परिवर्तित रूप थियो । ‘जनतालाई हेप्नी ?’

माथि उल्लेख भएजस्तो सर्प–सिँढी खेलको मौलिकता भनेको विजेता बन्न लागेको गोटी पनि सर्पले खायो भने त्यो पुछारमा आउन सक्नु हो । पुछारमा आएको गोटीमाथि प्रतिद्वन्द्वी खेलाडीको गोटी प¥यो भने पहिलो काटिन्छ र खेलको आरम्भमा पुग्छ । यसरी त्यो काटिएको गोटी चलाउने खेलाडीले फेरि १ वा ६ ल्याएर आफ्नो गोटी ब्युँताउनुपर्ने हुन्छ । गोकुल अहिले सर्पको आक्रमणले पुछारमा मात्र पुगेका छन्, खेलबाट बाहिरिएका छैनन् । 

नेपाल हो, गैँडाको जस्तो रक्षाकवच भिरेका खेलाडीहरू प्रायद्यजसो खेलबाट बाहिरिँदैनन् । नैतिक र चारित्रिक हिसाबमा पतन भएका पात्रहरूलाई अर्को चुनावमा जनताले सर्वस्वसहित जमानत जफत गराउने वा चारभञ्ज्याङ कटाउने प्रथा प्रचलनमा छैन । गोकुल वा अन्य नैतिक रूपले स्खलित भएका नेताहरूको हकमा यो लागु होला कि नहोला, त्यो हेर्न बाँकी नै छ । 

नेपालको पहिलो महिला प्रधानमन्त्री को हो ?

लोकसेवा आयोगले लिने परीक्षाहरूमा सामान्य ज्ञानका प्रश्नहरू सोधिन्छन् । यस्ता प्रश्नहरू प्रायजसो इतिहास, भूगोल वा राजनीतिक व्यवस्थासँग जोडिएका हुन्छन् । कल्पना गरौँ ! नेपालको इतिहासको एउटा यस्तो प्रश्न सोधियो– नेपालको पहिलो महिला प्रधानमन्त्री को हुन् ?

सरकारी सेवामा प्रवेश गर्न योग्य उम्मेदवारहरू चयन गर्ने नेपालको एक मात्र स्वतन्त्र निकायको प्रश्नावलीमा उक्त प्रश्न अहिलेसम्म नपरेको हुन सक्छ । लोकसेवा आयोगको मात्र नभएर हाम्रो मुलुकमा विद्यालयदेखि उच्च शिक्षासम्म प्रचलित परीक्षा प्रणालीले सिर्जनात्मक चेत होइन, स्मरण शक्तिको जाँच गर्छ ।

दुई वर्षदेखि कोभिड–१९ को प्रकोपले विश्व नै आक्रान्त बनेको छ । नेपालमा पनि यसको ठूलो असर परेको छ । नेपाल सरकारले २०७७ साल चैत ११ गते पहिलो लकडाउन घोषणा गर्‍यो । नेपाली जनताले राजनीतिक अभिष्टका कारण विभिन्न स्वार्थ केन्द्रले आह्वान गरेका ‘नेपाल बन्द’ को चपेटामा परी स्वतन्त्ररूपले गर्न पाइने आफ्ना गतिविधिमा रोक लगाइएका कुसंस्कार भोग्दै आएका थिए ।

कोरोना भाइरसको प्रसार रोक्न सरकारले नै ‘नेपाल बन्द’ आह्वान गर्‍यो । पूर्वजहरूले कहिल्यै नब्योहोरेको त्रासदी भोग्नुपर्‍यो । यातायात ठप्प भयो, बजार बन्द भयो, अर्थतन्त्र चौपट भयो ।

तर सबै नराम्रो भएन । कोभिड–१९ को प्रलयभित्र लुकेको चाँदीको घेराले अहिलेसम्म पनि नपल्टिएका केही भीमकाय ढुङ्गाहरू पल्टायो । विश्वमै इन्टरनेटको माध्यमबाट अन्तरक्रिया गर्ने र सभासम्मेलन गर्ने काम घाताङ्कीयरूपमा वृद्धि भयो । मोबाइलबाट वित्तीय कारोबार गर्नेदेखि भर्चुअल चौतारीमा विद्यार्थीको कक्षा चलाउनेजस्ता गतिविधि ह्वात्तै बढे । अर्थशास्त्रीले ठहर गरे– विगत २० वर्षमा नेपालले सञ्चार र प्रविधिमा जुन उपलव्धि हासिल गर्नसकेको थियो त्यही बराबरको उपलव्धि कोभिड–१९ को प्रकरण अवधिमा भएको छ ।

कोभिड–१९ नियन्त्रणमा नीतिगत सहयोग पुर्‍याउँदै आएको एक सञ्जालले विश्व नारी दिवसको अवसर पारी भर्चुअल चौतारीमा ‘नेपालको द्रुत आर्थिक विकासका लागि नारी नेतृत्व’ शीर्षकमा एउटा कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा नेपालको राजनीतिमा नारी नायकत्वको अभियानसँग जोडिएको ‘पहिलो महिला प्रधानमन्त्री’ बारे यो आलेखको शीर्षक प्रश्न सोधिएको थियो ।

यसरी लोकसेवाले नसोधे पनि कोरोनाकालले राजनीतिक र गैरराजनीतिक वृत्तका केही अगुवा महिलालाई यो प्रश्नको भुँवरीमा पार्‍यो । उत्तरमा धेरै नामहरू आए । कसैले द्वारिकादेवी ठकुरानीको नाम लिए । केहीले शैलजा आचार्य हो भनेर ठोकुवा गरे । कतिपयले सुजाता कोइरालाको नाम लिए त कतिले विद्यादेवी भण्डारी पनि भने ।

नेपालको इतिहासमा सूचीकृत अब्बल महिलाहरूको पङ्क्तिमा द्वारिकादेवी ठकुरानीको नाम शीर्षस्थानमा पक्कै छ तर उनी प्रधानमन्त्री नभएर उपमन्त्री थिइन् । उनी निर्वाचित पहिलो महिला सांसद पनि थिइन् । विकिपिडियाका अनुसार ब्राह्मण परिवारमा जन्मिएकी ठकुरानीले १९९२ सालमा अन्तर्जातीय बिहे गरेकी थिइन् ।

कांग्रेस नेतृ शैलजा आचार्य पहिलो उपप्रधानमन्त्री हुन् । २०१७ सालमा राजा महेन्द्रलाई कालो झण्डा देखाएर तीन वर्ष जेल परेकी थिइन् । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता कोइराला पनि उपप्रधानमन्त्री भइन् ।

यसरी अगुवा महिला भएर पनि आफ्नो मुलुकको शासन सत्ताको शीर्षस्थानका पदहरूको भेद छुट्याउन नसक्नु र झिनोमसिनो प्रश्नको उत्तर पनि दिन नसक्नु अहिलेको युवा पुस्ताको प्रमुख समस्या हो । यसबाट एउटा निचोडमा पुग्न सकिन्छ– नेतृत्वको ठाडो भर्‍याङ चढ्नेमा हुनुपर्ने पहिलो योग्यता आफ्नो सरोकारको राजनीतिक या अन्य विषयको चेतको फराकिलो दायारा हो ।

नारी दिवसको कार्यक्रममा सहभागी राजनीतिक वृत्तमा आफ्नो वृत्ति विकासको भविष्य कोर्न तम्सेका केही युवा नेत्रीहरूलेसपाट उत्तर दिए– नेपालमा अहिलेसम्म कोही पनि महिला प्रधानमन्त्री भएका छैनन् ।

यसरी यो प्रश्नको भुँवरीमा फसेर सही उत्तरलाई आफ्नो चिन्तनको कित्तामा ल्याउन सफल उत्तरदाताले अर्को प्रतिप्रश्नको सामना गर्नुपरेको थियो ।

तपाईंको उत्तर सही छ । अब भन्नुहोस्, पहिलो महिला प्रधानमन्त्री तपाईं हुनसक्ने सम्भावना कति छ ?

यस्ता प्रश्नले उत्तरदाताको मथिङ्गल घुम्छ । प्रत्युत्पन्न उत्तर प्रायः आउँदैन । भीमसेना थापादेखि हालसम्मको २१५ वर्षमा नेपालको इतिहासमा ३८ जना पुरुषपात्रहरूको नाम प्रधानमन्त्री पदमा दर्ता हुँदा एक जना पनि नारीको नाम छैन ।

सात दशकको इतिहास भएको दलका पुरुष नेता पाँच पटक प्रधानमन्त्री हुँदा एक जना पनि महिलाले अवसर नपाउनु दुःखद आश्चर्य हो । भनाइमा आधा आकाश तर व्यवहारका कतिपय अवस्थाहरूमा पूरै आकाश ढाकेका नेपाली नारीहरू यस्तो अवसरबाट बन्चित हुनु समकालीन नेपालको ठूलो विडम्बना हो ।

लोकतन्त्र अभ्यासको तीन दशक पूरा हुँदा पनि मुलुकमा यो बिडम्वना किन यथावत छ ?

माधवी, मेरी निलिमा, सीता र द्रौपदी आदि पुस्तकका रचयिता मूर्धन्य साहित्यकार मदनमणि दीक्षितसँग कसैले जिज्ञासा राखेछ ।

‘तपाईंको लेखन किन नारीप्रधान हुन्छ ?’

परलोक हुनु केही दिनअघि घोस्टराइटिङ नामक संस्थाले आयोजना गरेको साहित्यानुरागीहरूको कक्षामा दीक्षितले उक्त प्रश्नबारे चर्चा गरेका थिए ।

सम्भवतः नारी नायकत्वको कुरा गर्दा अहिले पनि कतिपयले यो तर्क गर्लान् । नेतृत्वको खडेरी परेको बेला यसलाई लैङ्गिक विभेदको पक्षपाती आँखाले हेर्नु जरुरी छ ? हाम्रो आवश्यकता राजनेताको हो, नारी होओस् कि पुरुष । सम्भवतः दीक्षितको जवाफ नै यो आलेखको शीर्षकमा पानी छम्किन पर्याप्त हुन्छ–

दीक्षितले भनेका थिए :

म एउटा राजनीतिक चेत भएको मान्छे हुँ । मैले सडकमा निकालेका जुलुसहरू नियालेँ । त्यहाँ मैले न त अग्रभागमा, न त बीचमा, न त पुछारमा नारीहरू हिँडेको देखेँ । कहीँ कतै देखिए पनि त्यसले हाँसको बथानमा बकुल्लोको उखान चरितार्थ गर्दथ्यो । यसकारण नारी नायकत्वका बारेमा कलम चलाउन मैले उचित सम्झिएँ ।

दीक्षितका आँखाले नारीविनाको जुलुस देखे र आफ्नो दृष्टिकोण बनाए । हामीले अहिलेसम्म सरकार प्रमुखको सूचीमा नारीको नाम नदेख्नु र यो विषय प्रकारान्तले ओझेलमा पर्नुले आगामी पुस्ताले हामीलाई ‘आँखा भएका धृतराष्ट्र’ भनिदिए भने आश्चर्य नहोला ।

इतिहास साक्षी छ, अहिलेसम्म शीर्षस्थ स्थानमा पुग्नेहरूले त संघर्षको कि बिरासतको या नातागोताको भर्‍याङ चढेका छन् । उल्लिखित ठकुरानी, आचार्य, कोइराला र भण्डारीले हासिल गरेका उपलब्धिहरूको पृष्ठभूमिमा यिनै कारणहरू देखिन्छन् ।

दीक्षितले सोचेजसरी युवा नेतृत्वलाई हौसला र प्रेरणा दिँदा केही उपलव्धि त पक्कै होला तर यो विषयसँग जोडिएको अर्को पाटो पनि छ । त्यो पाटोमा केही प्रश्नहरू छन् । के आफ्नै मिहिनेत र परिश्रमले नेतृत्वको ठाडो उकालो चढ्न सम्भव छ ? कस्ता आचरण र चरित्रले त्यो उकालो यात्रामा सजिलो बनाउँछन् ?

नेपालमा भीमसेन थापादेखि हालसम्मको २१५ वर्षमा ३८ जना प्रधानमन्त्री हुँदा एक जना पनि महिला परेनन् । निरङ्कुश कालको कुरा अर्को, लोकतान्त्रिक कालमा एउटै नेता पाँच पटक प्रधानमन्त्री हुँदा पनि महिलाको पालो आएन । किन होला !

गत वर्ष फेब्रुअरीमा भारतको बनारसमा ‘भगवत गीता र रामायण : नेतृत्व कौशलका सदावहार स्रोत’ शीर्षकमा एक सम्मेलन भएको थियो । त्यसमा सिम्बायोसिस अन्तर्राष्ट्रिय विश्वविद्यालयकी प्राध्यापक सूर्य रश्मि रावतले प्रख्यात शास्त्रीय ग्रन्थ ‘सप्तशती चण्डी’ का केही श्लोकहरूका आधारमा नेतृत्व कौशलको व्याख्या गरेकी थिइन् ।

सर्वविदितै छ दशैँको नवरात्रमा पाठ गरिने यी श्लोकहरूमा दुर्गादेवीको व्यक्तित्व र रूपमा अन्तरनिहित विशेषताहरूको उल्लेख गरिएको छ । एक उदाहरण लिऊँ ।

या देवी सर्वभूतेषु छाया रूपेण संस्थिता ।

नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।

प्राध्यापक रावतले आफ्नो कार्यपत्रमा उल्लिखत श्लोकको सन्देश नेताका चरित्रसँग जोडेर व्याख्या गरेकी थिइन्–

देवीको छाया रूपजस्तै एउटा नेता जहिले पनि जनताका साथमा हुनुपर्छ । दिनको चौबीसै घण्टा र हप्ताको सातै दिन ऊ जनताको पहुँचमा हुनुपर्छ । यसो भयो भने मात्र जनताले ठान्नेछन् कि कठिन समय आत्मसात गर्ने र राम्रो कामको प्रशंसा गर्ने नेता हाम्रो साथमा छ । यो विश्वासले जनतालाई नयाँ अवसरहरूको खोजी गर्न सघाउने छ । यसरी जनताले हासिल गरेका तीतामीठा अनुभवले नेतालाई खार्दै लैजान्छ ।

ग्रन्थको सोही अध्यायमा देवी अन्य गुणहरूको प्रतीकका रूपमा पनि मानिएकी छन् । राजनेता अनेक गुणहरूबाट ओतप्रोत हुन जरुरी हुन्छ । नेता विद्वान (बुद्धी रूप), शक्तिशाली (शक्ति रूप), सहनशील (क्षान्ती रूप), स्मरण क्षमता अब्बल भएको (स्मृति रूप), श्रद्धावान (श्रद्धा रूप) र मातृवत्सल (मातृरूप) हुन जरुरी छ ।

उसले आफू र आफ्ना अनुयायीहरूलाई आवश्यक पर्ने धन सम्पत्तिको जगेर्ना गर्ने सर्वमान्य स्रोतको व्यवस्था (लक्ष्मी रूप) गर्दै जीविका (वृत्ति रूप) र दैनिक गुजारा (क्षुधा रूप) निश्चिन्त गर्नुपर्छ । गल्ती भएमा या दोष देखिएमा त्यसमा लज्जा अनुभूति हुने (लज्जा रूप) र प्राप्त भएको उपलब्धिमा सन्तोष व्यक्त गर्ने (तुष्टी रूप ) गुणहरू हुन जरुरी छ ।

यी चरित्रहरू निर्माण गर्न साधनस्रोत व्यवस्था गर्न जो कोहीले पनि सक्छ । यसको लागि ठूलो धनराशी वा लामो समय चाहिने जमाना अब रहेन । विश्व मानचित्रमा हेर्दा कतिपयले छोटो समयमै आफूलाई अब्बल नेताको रूपमा स्थापित गरेका उदाहरणहरू छन् ।

फिनल्याण्डमा ३४ वर्ष उमेरकी महिला प्रधानमन्त्री छिन् । न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेनले कोरोना कालमा आफूलाई विश्वकै अब्बल नेत्रीका रूपमा स्थापित गराएकी छन् ।

‘नेतृत्व कौशल’ का यी विशेषताहरूबाट नेतृत्वको सगरमाथा आरोहण सम्भव हुँदैन । मुलुकको उपल्लो कार्यकारी बन्न इच्छा राख्ने नेताले आफ्नो कार्य सूचीका मौलिक सवालहरू जनतासामु खुलस्त राख्नुपर्छ । यस्ता सवाल समसामयिक र जनतालाई पिरोलिरहेका समस्या केन्द्रित हुनुपर्छ ।

२०२० जुलाई ०७ मा ‘ह्वाट्स अप’ मा ‘चेली–माइती समूह’ नामको एउटा टोली उदायो । यो समूह गठनको पृष्ठभूमिमा थिइन् प्रदेश १ की एक सांसद । वैदेशिक रोजगारीमा गएका महिलाहरू कोभिड–१९ को कारण धमाधम नेपाल फर्कन थालेका थिए । अतिशय यौन हिंसामा परेकाहरू कतिपय युवतीहरू बेवारिसे गर्भ बोकेर फर्कन बाध्य थिए । कतिले उतै आत्महत्या गरेका थिए ।

यस्ता नेपाली चेलीहरूलाई माइती बनेर बसेको राज्य वा अन्य निकायले केही सहयोग पुर्‍याए पनि जोखिम एकरत्ति घटेको थिएन । समूहले यो समस्या चिर्न सहयोग पुर्‍याउने उद्देश्य राखेको थियो ।

नेपालका राजनीतिक अभियन्ताहरूले कार्यसूचीको पहिलो बुँदाको रूपमा राख्नुपर्ने यो महत्वपूर्ण विषय हो । महिलाका लागि उमेरको हद तोक्ने, वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाउने वा नाबालक सन्तान छोडेर जान नपाउने जस्ता नीति लागु गर्नु समस्याको समाधान होइन ।

आफ्नै मुलुकमा रोजगारी पाए, मर्यादित पेशा अँगालेर जीविकोपार्जन गर्न पाए ‘चालीस काटेसी रमाउँला’ भन्ने गीत गाउन पक्कै पनि कोही विदेश जाँदैनन् ।

नेपालका सबै दलहरूमा दास र स्वामीका शालिकहरू मूर्तिमान छन् । नेताले कार्यकर्तालाई सदस्यताको टीको लगाइदिने प्रथा छ । फरक मत राख्नेलाई किनारामा पार्ने चलन छ । यसर्थ, कुनै युवा नेताले आफ्नो कार्य सूचिमा यी स्वामीका पहाड भत्काउने बुँदा राख्न सक्छ । ऊ कालान्तरमा मूर्तिभञ्जक बनेर उदाउन सक्छ ।

नेपालमा अहिले पनि राउटे समुदाय जङ्गलमा बस्छ । उनीहरूलाई राज्यले नागरिकता पनि दिन सकेको छैन । केही दिनअघि एक राउटे युवतीको अश्लिल भिडियो बनाएर सार्वजनिक गरेको भन्ने समाचार आएको थियो । नागरिकता नहुनेको उजुरी पनि नलाग्न सक्छ । राउटे समुदायका सदस्यलाई नेपाली नागरिक बनाई राज्यको मूलप्रवाहमा ल्याउन पहल गर्ने अर्को राजनीतिक मुद्दा हुन सक्छ ।

नेपालको पहिलो महिला प्रधानमन्त्री हुने अवसर अहिले राजनीतिमा होमिएका र नेपाली नागरिकता भएका सम्पूर्ण नेतृहरूलाई खुला छ । दृढ सङ्कल्प र निरन्तरको साधनाले यो कार्य असम्भव छैन ।

(लेखक नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष हुन् ) 

साभार :  https://www.khabarhub.com/2021/17/289432/