Monday, July 21, 2014

प्रकृति गुरु



त्य रात म धुलिखेलम वसेँ । गुरु पुर्णिमाको रात भए पनि आकाशमा जूनको उज्यालोको नामोनिशाना थिएन । बादलको बाक्लो उपस्थिति थियो । काठमाण्डौ विश्वविद्यालयको धुलिखेल केन्द्रिय क्याम्पस हातामा थिँए म ।  बेलुकीको खाना विद्यार्थीहरुको क्यान्टिनमा भयो । विश्वविद्यालय परिसरमा हिँडडुल गर्दा उकाली ओरालीको आनन्द लिन पाईन्छ । म क्यान्टिनलाई ताकेर तल ओर्लदै थिँए । एक हुल  छात्राहरु माथी उक्लदै रहेछन । मेरो उनीहरु सँग जम्काभेट भयो ।

उनीहरुले अभिवादन गरे ।

गुड ईभिनिङ्ग सर ।

गुड ईभिनिङ्ग एण्ड ………….

अभिवादन फर्काउँदै उनीहरुलाई अलिकता अन्यौल पस्किदिँए । मेरो स्वभाव यस्तै छ । सिर्जित परिस्थितीको भरपर उपयोग गर्ने । उनीहरु एक अर्काको अनुहार हेर्न थाले । मैलै मेरो अनिलाई कायम राखेँ ।

एण्ड ? ”

एण्ड ? ”

उनीहरुले मेरो प्रश्न बुझे । त्यो दिन केही विशेष हो भन्ने उनीहरुलाई पर्यो । पछिल्तिरको समूहकी एक छात्राले आत्तिएको स्वरमा भनिन् ।

ह्याप्पी बर्थ डे सर ! ”

कौतुहलताको भावलाई एकाएक बेजोडको हाँसोले विस्थापित गर्यो । मैले मिलेन भने । सरले सोधेको प्रश्नको उत्तर सकेसम्म मिलाउन पाए हुन्थ्यो भन्ने उनीहरुलाई लाग्छ । त्यस कारण सही परिस्थितिमा सही प्रश्न सोध्न पनि विशेष कौशल चाहिन्छ । यसरी परिस्थितिलाई प्रसँगमा बदल्न सक्ने कला चानचुने हुँदैन । जुन शिक्षकसँग त्यो कला हुन्छ त्यो भविष्यमा गुरु बन्न सक्छ भन्ने मेरो मान्यता छ ।  कक्षाकोठामा पनि यही हुन्छ । म सकेसम्म उनीहरुवाटै सही जवाफ निकाल्ने अभियानलाई टुँगोमा नपुगुन्जेल प्रश्न सोधि रहन्छु । उनीहरुको मष्तिष्कको शान्त तलाउमा ढुँगा हानेर हलचल ल्याउने प्रया गर्छु । उनीहरुका अन्दाजी उत्तरहरुमा छलफल चलाउँछु ।  सृष्टिको नियम नै यही छ । हरेकको सोच्ने तरिका अलग अलग छ । हरेकको उभिएको धरातल फरक छ । पृष्टभूमि फरक छ । दिईएको परिस्थिति वा प्रश्नलाई उनीहरु कुनै न कुनै पृष्टभूमि सँग जोडेर सही उत्तर निकाल्ने प्रयास गर्छन् । म सँग भएको गुरुत्वको सानो अँश त्यसैमा रमाउँछ ।  सिर्जना त्यँही फुल्छ । ज्ञान त्यही फुल्छ । 

फेरी मौन तर त्यो झाँगिन पाएन । हुलमध्येको एक जनालाई फुरेछ । उनले तिव्र गतिमा हाँस्दै भनिन्-

! ह्याप्पी गुरु पुर्णिमा सर ।

हाउ वन्डरफुल ! थ्याङ्क यू सो मच !”

भए भरका सवैले एकै स्वरमा भने-  ह्याप्पी गुरु पुर्णिमा सअअअअअर ।

म सुत्रधारको भुमिकामा थिँए । रगँमन्च तयार भै सकेको थियो । मैले रँगमन्चकी नायिका तिर हत्केलालाई ठाडो पारेर हात वढाएँ । उनको हात त्यसै गरेर मेरो हात तिर आयो । आकाशमा हाई फाईभ को सिर्जना भयो । स्यावासी पाएकोले उनको अनुहारमा चमक थपियो । खुशीको सीमा आकासियो । एकाएक अरु वेलाको जस्तै सामान्य परिस्थितिमा रोचक प्रसँगको पहाड उभियो । समूहमा प्रश्न सोध्नुको आनन्द यही छ । विलक्षण प्रतिभा भएको कोही न कोही निस्कन्छ र खोजेको जवाफ प्रस्फुटन हुन्छ । सही जवाफ दिनेलाई हौसला दिँदा प्रेरणाको थप श्रोत हुन्छ । यसरी विद्यार्थीहरु सँगको भेटले यो पालाको गुरु पूर्णिमाको दिन साँच्चि नै रमाईलो भएको थियो ।        
भोलिपल्ट विहान म एकै छिन घुम्न निस्के । बाहिरको मौसम एकदमै राम्रो भेटियो । आकाशमा बादल, जमिनमाथी कुहिरो, पातलो घनत्वमा बर्सिरहेको जुम्रे पानी र कागको काँकाँको सँगत । अस्ताउन लागेको आषाढ । उदाउन लागेको श्रावण तर रँगमन्चमा त्यो रमणय क्षणलाई रसस्वादन गर्ने नरनारी एकाध दुई मात्र थिए । उनीहरु आनन्दमा हराउने भन्दा पनि काम विशेषमा लन थिए । काठमाण्डौ विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थी वा अध्यापन गराउने प्राध्यापक कोही बाटोमा भेटिन्छ कि भन्ने आशा त्यतिकै बिलायो । विहान ढिलो उठ्ने सँस्कृतिको नतिजा यही हो । कागको काँकाँको सँगत अझ प्रखर भयो । योग साधना केन्द्रमा धेरै जना सहभाग भएर एकै साथ ॐ को उच्चारण गर्दा जुन उचाईको आनन्द प्राप्त हुन्छ सायद सृष्टिकर्ताले कागहरुको सामूहिक बोलीमा पनि त्यही प्रकृति पस्केका होलान् भन्ने कल्पना मेरो मनमा पलायो । म विश्वविद्यालय परिसर छिचोलेर व्यक्तिगत घर र पसलहरु भएको स्थानमा पुगेँ । दार खौरने क्रिम किन्ने विचार आयो तर आश्चर्य ! एउटा पनि पसल खुलेको थिएन् । सेवाग्राही नभएकोले सेवा प्रदायकहरु जाग्ने कुरै एन । काग र अन्य चरा उठेर नित्य कर्ममा लागिसकेका थिए । राति चराहरु पनि बास्छन् । मध्य रातमा त्यसरी एक तमासले काग कराएको कसैले सुनेको छैन होला । ईश्वरले यो सब मिलाएर बनाएका छन् । रातको समयमा मान्छे लगायतका अन्य प्राणीहरुको गतिविधि शून्य प्राय हुन्छ । यसलाई मिलाउन निद्राको आविष्कार गरेका छन् त विशिष्ट चित्रकारले ।

केही समय अघि लामटा उपत्यका घुमेर आएका वातावरण विज्ञान र ईन्जिनियरिङका केही विद्यार्थीलाई मैले सोधेको थिँए-

तिमीले य भ्रमणवाट सिकेको सबैभन्दा विशिष्ट कुरा के हो ? “

उनीहरुले सामान्य उत्तर दिए । शायद नयाँ ठाँउमा पुग्ने पर्यटकले पनि त्यही देख्छ ।  त्यस ठाँउको मौलिकपन, भूगोल र प्राकृतिक सुन्दरता देख्छ र त्यही भन्छ तर म चाहान्थे शैक्षिक भ्रमणमा उनीहरुका विज्ञान र ईन्जिनियरिङ आँखा खुलुन र उनीहरुले यस्तो उत्तर दिउन्-

मैले प्रकृतिको विधानलाई नजिक वाट नियाल्ने मौका पाँए सर । वाह ! त्यो ईन्जिनियरिङ । वाह ! त्यो कलाकारिता ।  चट्टानमा चट्टान खप्टिएर पहाड बनेको छ । प्रत्येक कण कण नियमले वाँधिएको मात्रै छैन त्यहाँ विचित्रको जादु छ । चट्टानमाथि माटो छ । माटोमाथि घाँस छ । एउटाले अर्को लाई धानेको छ । अनौठा नियमहरु छन् । पानी तल वग्छ । तातो वाय माथि । माटोको आफ्नै नियम छ । पानीको आफ्नै विधान छ । वनस्पतिको आफ्नै शास्त्र छ । जरा पातलिन्छ । वोट आकाशिन्छ । किट पतङ्ग, पुतली, चरा, प्राणी हरेकको आफ्नै विज्ञान छ । एउटा डाँडोको रुप अर्कोसँग मिल्दैन् । पाखाहरु फरक छन् । जँगलहरु फरक छन् । कसरी भयो त्यो सिर्जना ? कसरी त्यति धेरै विविधतालाई सुत्रबद्ध गरिएको छ ? कसरी समेटिएका छन् य हरेकका जीवन कथाहरु ? कागको आवाज अर्कै छ । भँगेराको चिँचिँ अर्कै छ । बाह्य रुप, शरिरको बनावट, जन्मने तरिका, बाँच्ने तरिका सबै फरक फरक छन् । फरक हुनुको पनि कारण छ । त्यो कारणको पनि विधान छ ।  विज्ञानले ठेलीका ठेली पुस्तक निकालेको छ यिनै प्रकृतिले सिर्जना गरेका ज्ञान समेटेर ।  मैले पुस्तकमा पढेको र  त्यँहा देखिएको दृष्य र त्यसको सँरचना भित्रको तत्वज्ञानमा समानता देँखे । यसले मेरो मन प्रसन्न भयो सर ! मैले आफ्नो ज्ञानभण्डारमा थुप्रेको कितावी ज्ञानलाई आफ्नै आँखा अगि देखिएको त्यो वास्तविकता सँग दाँज्ने अवसर प्राप्त गरेँ । लामटाङ भ्रमणको उपलब्धि यही हो सर ! “

केही बर्षअगि म चितवनको देवघाटमा पुगेको थिँए । काली गण्डकी र त्रिशुलीको विशाल जल प्रवाह एक अर्कामा त्यति सहज र शालन तरिकाले मिसिएको देखेर मलाई लागेको थियो- “वाह ! प्रकृति ! विराट अनुष्ठान भनेको यही हो ?“ 

एउटा अम्खोराको पानी अर्कोमा खन्याउँदा आवाज आँउछ । सानो धारोको पानी पनि धरर गर्दै बग्छ । तर हजारौ क्युबिक मिटर प्रति सेकेण्डको हाव बोकेर सयौ किलो मिटर यात्रा तय गरेर आएका ती जलप्रवाहहरु कति शान्त पाराले मिसिएका छन् । जलप्रवाहको परिमाणकै तुलनाको आवाज निस्कने हो भने कस्तो हुन्थ्यो होला ? यसरी मेरा कल्पनाका तरङ्ग हरु अगि बढेका थिए । यहि प्रकृतिलाई गुरु थापेर विज्ञान यहाँ सम्म आईपुगेको छ । प्रकृतिमा भएकै ज्ञान समेटेर ईन्जिनियरिङको ढोका खोलिएको छ । चट्टानको खातले खपेको भार देखेर धैरै तला भएको भवन वनाउने ज्ञान पलायो । भुईँमा खसेको स्याउले रकेट जन्मायो । आकाशमा उडेको चिलले हवाईजहाज वनाउने प्रेरणा दियो तर प्रकृतिमा उपलब्ध ज्ञानको तुलनामा हाम्रो बुझाई अझ अल्प छ । हाम्रै जीवन कालमा या हाम्रा सन्ततिका समयमा अझ कस्ता कस्ता आविष्कार होलान ? कल्पना गर्न समेत चर्को छ ।

मलाई कहिलेकहीँ लाग्छ, यस चराचर जगतका सम्पूर्ण प्राणी र वनस्पति ती जगत पिता प्रभु अर्थात प्रकृति आमाप्रति अनुगृहित छन् जसको कल्पना, सिर्जना र ओतले हरेकको अस्तित्व र श्री यस जगतमा फुल्न पाएको छ । गुरु जनहरु प्रति अनुगृहित हुने यो विशेष तिथिको साईत पारेर म तिनै चमत्कारिक सर्जकलाई स्मरण गर्न चाहान्छु-

हे प्रकृती ! हे प्रभु ! गुरु पुर्णिमाको यस पवित्र अवसरमा कोटी कोटी नमन !  
---------------------------------------- समाप्त--------------------------------------------
साभार : शब्दाङ्कुर (साहित्यप्रधान मासिक), वैशाख २०७३, अङ्क १७५
नोट-
धुलिखेलमा रात विताएको दिन- शनिवार, आषाढ २८, २०७१
लेखन शुरु भएको दिन- कोटेश्वर,  आईतवार, आषाढ २९, २०७१
विट मारिएको दिन-  सौराहा, साउने सोमवार, श्रावण ०५, २०७१