Sunday, April 5, 2020

पोखरामा साक्षात देवी



नेपाली नारीको औसत उचाभन्दा अग्लो कद । कदको धारणशक्ति अनुरूप जत्रो आकारको देखिँदा सौन्दर्यको चरम बिन्दु छुन्छ त्यत्रै जीउडाल । कालो रंगको कोट र पाइन्ट मिश्रित औपचारिक पहिरन ।

कोटको सिरानतिरका खुलै छोडिएकाले टाँकले छातीमा 'भी' आकारको डिजाइन बनाएका । बाह्य आवरणको त्यो आकर्षक डिजाइनले उघारेको भू-भाग छोप्न सेतो रंगको भित्री । कोटको माथिको गोजी रहने स्थानमा एयरलाइन्सको लोगो र नामथर स्पष्ट लेखिएको ट्याग । दबेका जस्ता देखिने सम्याइएका शालीन वक्षस्थल । हरेक मान्छेमा विद्यमान सबैभन्दा अर्थपूर्ण गहना कपालको भने पछाडि लगेर आकर्षक जुरो बनाइएको । मैले गहिरिएर उनको तस्वीर हेर्नुको विशेष कारण थियो । 'दक्षताको उडान' शीर्षक दिइएको एक विज्ञापन बुद्ध एयरकै उडान पत्रिकामा छापिएको थियो । नीलो आकाशमा रुमल्लिएको सेतो बादलको पृष्ठभूमिमा सहकर्मीहरुका साथमा उनको मन्द मुस्कानको आभा पस्किएको फोटो विज्ञापनको एक आकर्षण बनेको थियो । मनले भन्यो- मैले यी नमूना हवाई सुन्दरीलाई कहीँ देखेको छु ।

"अघि प्रवेशद्वारमा यात्रुहरुलाई स्वागत गरेर उभिने क्या त !"

आफैंले सोधेको प्रश्न आफैंले उत्तर दिनुको मजा छुट्टै छ । आफ्नै अन्तस्करणबाट उत्तर उदायो । पानी बाँड्न आउँदा फेरि नियालेर तस्वीर र उनलाई पालै पालो हेरेँ । निश्चित भयो- तस्वीर उनकै थियो । पत्रिकाको तस्वीरमा देखिएको व्यक्ति उही पहिरनमा आफ्नै आँखा अघि भेटिनु एक सुखद संयोग थियो । निमेषभरमा नै बुद्ध एयरको पोखरा-काठमाडौं उडान नम्बर ६०४ को सबैभन्दा विशेष यात्रु हुने योजना परिकल्पना गर्न मैले भ्याइसकेको थिएँ ।

जहाजवाट ओर्लने यात्रुको लाममा मैले आफूलाई सबैभन्दा अन्तिममा पारेँ । अनि उनको बिदाइको अभिवादनलाई थाँती राखेर मैले प्रश्न गरेँ ।

"फ्लाइट म्यागेजिनमा दक्षताको उडान शीर्षकको विज्ञापनमा भएको तस्वर तपाईंको हो ?"

"हो ।"

"सुन्दर लाग्यो ।"

शिष्टाचारको अभिवादन पस्किरहेको मुस्कानले कित्ता परिवर्तन गर्‍यो । अनुहारको आभाको तेज अझै गाढा भयो ।  पात्रहरुको परिचय फेरियो । हवाई सुन्दरी र यात्रुको स्थानमा साक्षात आकाश देवी र उनका प्रशँसक बिराजमान भए । यात्रुलाई गरिने सामान्य बिदाई सम्मोहक वार्तालापमा परिणत भएको थियो । 

हवाई सुन्दरीलाई 'साक्षात देवी' को उपमा दिनुको पछि उनको सुन्दरता प्रमुख कारण थियो । यसमा मूल्य थप गरेको थियो- यात्रा गरिएको दिनमा परेको नौरथाको तृतीया तिथिले । नौ पचासको पूर्वाह्नको उडान भए पनि मैले आठ बजे नै हामी बसेको पोखराको नामी होटेल माउन्ट कैलाशबाट प्रस्थान गर्ने योजना बनाएको थिएँ । कुनै ठोस कार्य नहुँदा त्यतिकै हल्लिएर बरालिनुभन्दा म आजभोलि समय अगावै विमानस्थल आइपुग्न रुचाउँछु । यसको एक विशेष फाइदा छ-म केही लेखपढ गर्न पाउँछु । तर आज दिउसो भने मलाई रामबाबु-ज्ञानु समाजसेवा पुरस्कार समारोहमा मन्तव्य ज्ञापन गर्नु थियो । मैले त्यसलाई संस्कारी भाषणको कित्ताबाट बाहिर निकालेर एक प्रस्तुतिमा परिवर्तन गर्ने निधो गरेको थिएँ । त्यसको स्लाइड बनाउन बाँकी थियो ।

तर बुद्ध एयरको काउन्टरमा पुग्दा अर्कै नौलो परिदृष्य उदायो ।

"हजुरको कति बजेको उडान हो ।"

"नौ पचासको हो ।"

"अहिले त नौ बिसका लागि जाँच भैरहेको छ नि त सर !"

अर्थशास्त्रका एक नोबेल पुरस्कार विजेता डेनियल कानेम्यानले भने जस्तो मेरो मष्तिष्कको प्रणाली-२ सचेत भयो । मैले पलभरमा नै एक निर्णय लिएँ ।

"हजुरहरु त चमत्कार गर्न सिपालु हुनुहुन्छ । नौ बीसको उडानमा नै पठाइदिनुस् न मलाई ।"

मैले शब्द चमत्कार देखाएँ । विधाताले बनाएको विधानको धारा लागू भयो । अर्थात् क्रियाको प्रतिक्रिया भयो । काउन्टरका कर्मचारीले पनि चमत्कार देखाए । मैले नौ बीसको उडानकै बोर्डिङ पास पाएँ ।

होटलवाट हिँड्नु अघि पनि आतिथ्य सत्कारको अग्र भूमिकामा खटिएका देवीहरुले मलाई बिदाइ गरे । काउन्टरमा दुई हल्का हरियो रंगको साडीमा सजिएका दुई अधवैंसे कर्मचारी थिए । मैले उनीहरुलाई म एक वर्षअघि आउँदाको एक प्रसंग सुनाएँ ।  

म यही होटलमा एक गोष्ठीमा सहभागी हुन आएको थिएँ । रात्रि भोजको मूल खानाको कर्म सकेपछि म मिठाई फिँजाइएको टेबलतिर लागें । दुई किसिमका केकहरु राखिएका थिए । कुन चाहिँ रोज्ने भन्ने दोधार भयो । ‘विना तर्क हचुवामा निर्णय नगर्ने’ प्राविधिक बानीले कहिलेकहीं मलाई हैरान पारेको छ । त्यसैवेला एक सेविका नजिकै आइपुगिन् ।

यी कुन कुन जातका केक हुन् ।”

मैले ठट्यौली पारामा सोधें ।

ब्ल्याक फरेष्ट र ह्वाइट फरेष्ट ।”

ऊ त्यो तालपारीको जंगल चाहिँ कुन फरेष्ट ?” मैले जुनको उज्यालोमा टल्किएको थुम्कोमा फैलिएको हरियो वन देखाउदै भने । हाम्रो समूहमा अरु सेवक र सेविका पनि थपिए । रोचक कुरा सुनेर ती लोभिए ।

त्यो त क्विन फरेष्ट ।”

अहिले भने गोष्ठीमा सहभागी एक मित्रले उछिने ।

अनि खै त यहाँ त क्विन फरेष्ट छैन ?”

मैले बिस्कुन जस्तै गरी राखिएका केक देखाउँदै भने ।

क्विन फरेष्ट अर्थात् रानी वनमा दिउसो मात्र जान मिल्छ । राति मिल्दैन ।”

गोष्ठीमा सहभागी अर्का एक मित्रले हाम्रो छलफलमा मिसिँदै भन्नुभयो । हामीलाई केन्द्रविन्दु पारेर उभिएका एक हूल होटल कर्मचारी गलल हाँसेका थिए ।

जुन स्थानमा मैले एक वर्ष अघि 'क्विन फरेष्ट' केकको प्रसंग निकालेर रमाइलो पस्केको थिएँ, म यस पटक पनि बिहानको सात बजे ब्रेकफास्ट लिन त्यही स्थानमा पुगेँ ।

हाम्रो गोष्ठीमा बैंककबाट सहभागी हुन आएका दुई 'जापानी देवी' हरु पनि थिए । उनीहरुको पनि ब्रेकफास्ट लिने समय सात बजे नै तय भएको रहेछ । आगन्तुक कक्षमा नै भेट भयो । अब यिनीहरुसँग रमाइलो हुने भयो भन्ने मैले लख काटेँ । नभन्दै हामी एउटै टेबल लिएर बस्यौ र लगभग एक घण्टा तीन जना मात्र गफियौँ । हामी बसेको ठाउँबाट फेवाताल किनारको सडक र नेपाली सेनाको क्याम्पको पर्खाल देखिन्थ्यो । पछाडि भिर्ने झोला भिरेका एक हूल पर्यटकहरु होटेल छोडेर पैदलै लेक साइडतिर लागे । देवीहरुको ध्यानाकर्षण भएछ ।

"आर दे गोइङ टु क्लाइम्ब दि माउन्टेन ?" अकिको सानले सोधिन् ।

'सान' को नेपाली रूप 'जी' हुन्छ । नामको पछिल्तिर जोडिने यो जापानी सम्बोधन बडो प्रिय लाग्छ मलाई । जापानीहरुले मलाई भने 'नावाराजी सान' भन्छन् । मेरो जापानीकरण गरिएको नामको चर्चा मैले अन्य लेखहरुमा गरेको छु ।

उनीहरुले पोखराका वरपर भेटिने हिमालहरु सराङ्ककोट वा शान्ति स्तूपा भएको डाँडो जस्तै नजिकै छन् होला भन्ने ठानेका रहेछन् । मैले आधारभूत भूगोलको व्याख्यावाट शुरूत गरी पोखराबाट 'बेस क्याप' सम्म कसरी जाने भन्ने विवरण बताएँ । त्यहाँसम्म पुग्न लाग्ने समय बताइदिएँ । नोरिको सानले जापानको सबैभन्दा अग्लो टाकुरो माउन्ट फुजीको प्रसंग निकालिन् ।

"म तीन बर्ष जापान बसेँ तर फुजी हिमाल हेर्न जाने अवसर जुराउन सकिनँ ।" मैले अंग्रेजीमा भने ।

सामान्य तयारीले पनि फुजी पर्वतको टाकुरैमा नपुगे पनि अलि तलसम्म पुग्न सकिन्छ । यो पोखराको माछापुच्छ्रे वा अन्नपूर्ण भने जस्तै जापानको एक पर्यटकीय गहना हो । हाम्रो वार्तालाप अघि बढ्यो । 

"पोखरा छेउछाउ भएका अग्ला हिमालको उचाइ कति छ ?"

"केहीको ८००० मी भन्दा पनि बढी छ । अर्थात् फुजी पर्वतभन्दा दुई गुणाले बढी ।"

म यो उचाइको विषयको उठानको साइत पर्खिरहेको थिएँ । जापानी वा अन्य विदेशीहरुसँग गफ गर्दा नेपाल सम्बन्धित तथ्यपरक विषयहरुको चर्चा होस्, अनि तिनलाई उनीहरुको मुलुकका समकक्षी विषयहरुसँग तुलना गर्न पाइयोस, नेपाली हुनुको अर्थ त्यसवेला खुल्छ । 

"ए……… हो न तो (साँच्चै हो त )?"

अकिको सानले आश्चर्य व्यक्त गरिन् ।

'फुजी पर्वतको ३७७६ मीटर छ ।' अकिको सानले तथ्य नै उजागर गरिन् । हामीलाई सगरमाथाको उचाइ ८८४८ मीटर भन्ने कण्ठ भए जस्तै उनलाई फुजीको उचाइ थाहा रहेछ । 

त्यति अग्ला त सयौँ चुचुरा छन् नेपालमा । तर अफसोस फुजी पर्वत एउटै भए पनि जापानीहरुले हुनुसम्मको विकास गरेका छन् । पर्यटकहरु रेलमार्ग, सडकमार्ग वा हवाईमार्गबाट फुजी पर्वतको नजिकैसम्म यात्रा गर्न सक्छन् । हामीले धेरै गर्न बाँकी छ । केही हप्ताअघि धुलिखेलमा एक कफी क्याफेमा पुगेको थिएँ । जापानमा सात वर्ष काम गरेर फर्केका एक काभ्रेली भाइले जापानको अनुभवलाई बीउ बनाएर आफ्नै माटोमा रोपेका रहेछन् । परिवारका सदस्यहरु नै कामदार भएर सम्हालेको त्यो चमेनागृहले म र मेरा केही साथीहरुलाई निकै प्रभाव पार्‍यो । मैले त्यस दिन एउटा सपना देखेँ- विदेशबाट फर्केका हरेक नेपालीले यस्तो इलम समात्ने हो भने हामी केही वर्षमा नै सम्पन्न देशका नागरिक हुन्छौ । 

अघिल्लो दिन हाम्रो एक दिवसीय गोष्ठीको कार्यक्रम थियो । नेपाल जेयसपियस अल्मुनाई एसोसिएसन अर्थात् एन्जाको आयोजनामा वार्षिक साधारणसभासँगै यो गोष्ठीको आयोजना गरिएको थियो । एन्जालाई हामीले केही वर्षअघि स्थापना गरेका थियौं । जापान सोसाइटी फर प्रोमोशन अफ साइन्स नामक जापानको एक प्रतिष्ठित संस्थासँग एन्जाको आबद्धता रहने प्रावधान छ । यसले खासगरी उत्तर विद्यावारिधिको विद्वत् वृत्तिमा जापानमा अनुसन्धान गर्ने अवसर प्रदान गर्छ । गोष्ठीमा मेरो जिम्मेवारी थियो- उदघोषण गर्नु ।

प्राय:जसो हाम्रा यस्ता कार्यक्रमहरुमा औपचारिकता निर्वाह गर्ने परम्परा रही आएको छ । वक्ताहरुले रंग न ढंगका लामा लामा भाषण गर्छन् । यसकारण श्रोतालाई जगाएर कार्यक्रम अवधिभरि उनीहरुको रुचि यथास्थितिमा कायम राख्न सक्नु लरतरो काम होइन ।  म यस विषयमा सचेत थिएँ । तर मेरो काम भीर मौरीको मह काड्नु जस्तै थियो । विविध पृष्ठभूमि भएका श्रोता । सामान्य कृषकदेखि प्राध्यापकसम्म । अंग्रेजी नबुझ्नेदेखि नेपाली नबुझ्नेहरुको उल्लेख्य उपस्थिति । तर कार्यक्रममा मैले केही रोचकता थप्ने भरभग्दुर प्रयास गरेँ । केही प्रसंग ताजै छन् ।  

गोष्ठीका मुख्य वक्ता बैँककबाट आएका प्रा.डा. कुनियाकी यामासितालाई प्रस्तुतिको लागि परिचयका साथ मञ्चमा बोलाउनु थियो ।

"यामासिता सेन्से, तपाईंको हिजो जहाज एक घण्टा ढिलो भए जस्तै आज भने प्रस्तुतिको समय पनि एक घण्टा नै ढिलो भएको छ ।"

सबै गलल हाँसे । जापानी अध्येता पनि हाँसे । अतिथि प्राध्यापकलाई समेत त्यसरी हँसाउन सकेँ । सबैले राम्रै मानेको जस्तो लाग्यो ।

कृषि तथा वन विश्वविद्यालयका रजिष्ट्रारको थर भने 'कोलाछापती' रहेछ । उनी गोष्ठीका प्रमुख अतिथि थिए ।  मैले उनको थरको उच्चारण अन्यथा हुन गएछ । सबै हाँसे ।

"यो अंग्रेजी के अक्षरबाट शुरु हुने थर जति एकै हुन कि के हो ? मेरो थर खतिवडा पनि त्यस्तै छ । कतिजनाले  कतिवटा भन्छन् ।"

त्यसले फेरि श्रोतालाई प्रफुल्ल बनायो ।

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका सदस्य सचिव डा. बुद्धिरत्न खड्गीलगायतले मेरो उदघोषणको तारिफ गर्नुभयो । म दङ्ग परेँ । कार्यक्रम सकेर म कोठामा आएँ । चार्जरले काम नगरेकाले मोवाइल बन्द भयो । घरमा हालखबर आदान प्रदान हुन पाएन । म वैकल्पिक उपायहरु खोज्न थालेँ । रात्रि भोजमा जान अबेर भयो । 

म रात्रिभोज-कक्षमा पुग्दा सबैजना जमिसकेको पाएँ । एक युवतीले जंगे तरल पदार्थमा कोक मिसाउँदै गरेको देखेँ । आखिर आधुनिक देवीहरु पनि के कम ? मैले गमे । म भने बजारमा नयाँ आएको 'नरम अर्ना' अर्थात् अर्ना लाइट बियरतिर लागेँ । कता बसौं भनेर आँखा डुलाउन थालेँ । त्रिदेवी बसेको एक टेविलमा मेरो ध्यान गयो । म त्यतै लम्किएँ ।

"नौरथा अर्थात् नवरात्री मा तीन देवीहरुलाई मात्र एक ठाउँमा बस्न दिनुहुन्न रे !"

"किन होला त्यस्तो ?"

"भैरवीको रूप धारण गर्न बेर लाउँदैनन् रे !"

"यहाँलाई हार्दिक स्वागत छ । आज राम्रो उदघोषण गर्नुभयो ।" बीचमा बसेकी देवीले स्वागत र प्रशंसाका दुई फूलले मेरो स्वागत गरिन् । देवीहरु प्रसन्न हुनु भनेको शुभ संकेत थियो ।

"धन्यवाद ।"

उनीहरुसँग मिसिँदै परिचयको आदान प्रदान भयो । पोखराको एक मेडिकल कलेजमा पढाउने डाक्टर साहिवाहरु रहेछन् ।

"डाक्टरसँग त औपचारिक मात्रै कुराकानी हुन्छ । त्यो पनि बिरामी भएको वेला । यसैले जिन्दगीमा अहिलेसम्म खुलेर कुरा गर्न पाइएको छैन ।"

"ल आज पाउनुभयो । धक फुकाएर बोल्नुहोला ।" देवी नम्बर दुईले भनिन् । 

तीनै जना छिमेकी मित्र राष्ट्र चीनबाट चिकित्सा विज्ञानमा उच्च डिग्री लिएर फर्केका रहेछन् । उनीहरु त निकै फरासिला रहेछन् । बिरामीको नारी छाम्ने परम्परागत चिकित्सा पेशाधर्मभन्दा अन्य विधा अँगालेर वृत्तिविकास गर्ने सोच पालेका रहेछन् । इलम गरेर सर्वाधिक धन कमाएका नेपालका नामी इन्जिनियर र चिकित्सकहरुको प्रसंग निस्कियो । सुई डाक्टर र फुईं डाक्टरका भेदको चर्चा मैले चलाएँ । चिकित्सकले बिरामीको संवेदना र मानवीय मूल्यलाई कसरी लिएको हुन्छ भन्ने विषयमा पनि बहस भयो । गम्भीर विषयले प्रवेश पाएर श्यामश्वेत हुँदै गएको छलफलमा रंग थप्न मैले बिरामी र डाक्टरको एक चुटकिला पनि सुनाएँ । 

चुटकिला यस्तो थियो-

एक श्रीमानले श्रीमतीलाई लिएर प्रसूति तथा स्त्रीरोग विशेषज्ञकहाँ गएछन् । उनीहरु त्यस दिनका अन्तिम ग्राहक बन्न पुगेछन् । नर्सले नाम दर्ता गरेर बिरामीलाई भित्र पठाइदिइछन् । डाक्टरले बिरामीलाई बेडमा पल्टने आदेश दिएछन् । उनले जाँच शुरू गर्नै लाग्दा बिरामीले अनौठो माग राखिछन् ।

"डाक्टरसाहेब कृपया मेरो श्रीमानलाई भित्र बोलाउनुहोस् ।"

"तपाईँलाई मेरो विश्वास छैन र ! म एक आदर्श र नियमले बाँधिएको पेशाकर्मी हुँ । "

"हजुरसँग मेरो पूर्ण विश्वास छ ।"

"अनि किन हजुरको श्रीमानलाई भित्र बोलाउने ?"

"मलाई मेरो श्रीमानप्रति एक रत्ति विश्वास छैन । किनभने बाहिर कि नर्स विछट्टै राम्री रहिछन् ।"

उनीहरु उच्च स्वरमा हाँसे । मेरो निवास रहेको स्थान कोटेश्वरमाथिबाट ठूला जहाजहरु उड्दा भूइँका आवाजहरु एकै छिन ओइलाउँछन् । त्यस्तै भयो । हाम्रो टेबलको संयुक्त हाँसोको आवाज वोईङ भएर निस्कियो । अन्य टेविलका ध्वनि भूइँका आवाज भएर बिलाए । अब केही दूरीमा उभिरहेका केही पुरुष श्रोता हाम्रो समूहमा थपिए । आजको उदघोषकले तीन/तीन जना देवीहरुसँग एक्लै रजाईं गरेको देखेर उनीहरुको मन सायद कुँडियो ।  देवीहरुसँग परिचय गर्ने र आफ्ना गफले उनीहरुलाई मोहित पार्नेमा प्रतिस्पर्धा बढ्यो । यस्तो बेला जंगे पेयपदार्थले उत्प्रेरकको भूमिका खेल्छ । मैले भने आफ्नो गियर घटाउन श्रेयकर सम्झें । 

गोष्ठी सम्पन्न भएको दिनमा म बिहान चार बजे नै उठेको थिएँ । सुखद संयोग जुरेको थियो । नौरथामा पोखरामा बास बसेको थिएँ । बिहान कुनै औपचारिक संलग्नता थिएन । विन्धवासिनीको दर्शन गर्नका लागि योभन्दा उत्तम समय अर्को हुन सक्दैनथ्यो । म पौने पाँच बजे होटल परिसरबाट बाहिर निस्किएँ । कसरी पुग्ने त विन्धवासिनी मन्दिर ? पाए बस नपाए ट्याक्सी भन्ने त थियो नै । तर प्रवेशद्वारका सुरक्षाकर्मीसँग सूचना संकलन गरेँ । उनले पृथ्वीचोकमा गएर बस परिवर्तन गर्ने सुझाए । फर्किँदा सजिलो होस् भनेर त्यो ठाउँको नामसमेत सोधेँ । आम्पोट रहेछ । मैले फेवातालको पुछारतिर जाने सडक समातेँ । ट्याक्सी चढेर मन्दिर परिसरमा पुग्दा मान्छेहरुको लर्को देखियो । तर अचम्म लाइनमा देवीहरु मात्रै थिए । म पनि मिसिएँ ।

"हजुरले त्यता उभिन मिल्दैन । पुरुषको लाइन यता हो ।

सुरक्षाकर्मीले मलाई सचेत गराएँ । लाममा उभिएका देवीहरु मुस्कुराए । अचेतन मनको निर्णयले अधिकांश समयमा धोका दिन्छ ।

"यो लाममा पुरुष किन छैनन् ?"

यो प्रश्नको जवाफ खोज्न घोत्लिएको भए हास्य पात्र हुने थिइन

"जति नै दर्शन गरे पनि मन्दिरभित्रकी देवी मुस्कुराउँदिनन् । दर्शन गर्दा देवी मुस्कुराएको अनुमान गरी आफ्नै मन मुस्कुराउने हो । तर यहाँ त मन्दिरमा उभिएका साक्षात देवीहरु मुस्कुराएका छन् । त्यो मेरो क्रियाकलापले हो । यसमा हर्षित नहुने कारण छैन ।"

आफूले आफूलाई सान्त्वना दिएँ । घुमेर अर्को दिशातिरको लहरमा मिसिएँ । पुरुष एक दुई जना मात्र । देवीको थानमा सरसफाइ भैरहेकाले एक चलायमान मूर्तिलाई ढोका बाहिर ल्याएर राखिदिएँ । यो तरिका नौलो लाग्यो । नरिवल फुटाउने पनि देवीस्थान बाहिर एउटा साँचो राखिएको रहेछ । अक्षताको टीका र ‌भित्तामा टाँसिएको ऐना खोज्न भने मुश्किल भयो । होटेल फर्किँदा भने बसमा पृथ्वीचोक हुँदै फर्किएँ ।    

पोखरा जाँदा हाम्रो सात जनाको समूह थियो । समूहमा आधा दर्जन फुईं डाक्टर थिए । सबैले जापानबाट उत्तरविद्यावारिधि शोधको कार्य गरेका अर्थात् छ जना नै एन्जाका सदस्यहरु । पुष्प अधिकारी, तारा पाण्डे र  युमेद पुनको कृषिक्षेत्रसँग सम्बन्धित ज्ञाता भने रिजनभक्त कायस्थ, कुन्दनलाल श्रेष्ठ र मेरो वातावरणसँग ।

अघिल्लो दिन मेरो ताराजीसँग यात्राबारे फोनवार्ता भएको थियो । वहाँले एक अविस्मरणीय यात्रा मन्त्रको ज्ञान दिनुभयो ।

 "खै ! जाने त भनियो । मादल र महिला बिनाको यात्रा के रमाइलो होला र ? "

तर अलिअलि भए नि मादलको उपस्थिति भने थियो । मेरो मोबाइल, ब्लुटुथ र गाडीको स्पिकरले । मैले केही व्यङ्ग्य प्रधान श्रवण सामाग्री सुनाएँ । हाम्रो मिनिबसमा मलेखुबाट एक अधवैंसे महिला पनि चढेकी थिइन् । उनी गाडीमा चढ्दा पनि रमाइलो सिर्जना भयो ।

"विमला नानी सरहरुलाई नमस्ते गर ।"

ताराजीले आगन्तुकलाई आदेश दिनुभयो । उनले लजाउँदै भनिन्-

गरिसकेँ त ।"

नमस्ते गर । अब अलिकता माइत लैजान लागेको कोसेली पनि निकाल । अनि सरहरुलाई बाँड ।"

मैले मौका छोपेँ । प्रत्युत्पन्न शैलीमा अभिव्यक्ति उमारेँ । त्यो तारा सरतर्फ लक्षित थियो ।

"हजुरले नौरथामा चेलीबेटीलाई भन्ने यही त होला, होइन र तारा सर ? "

मेरो निशाना अचुक भयो । त्यसले विमलाको लज्जा मिश्रित मुस्कानलाई तन्काएन मात्र त्यसमा रहेको गाम्भीर्यको बरफ पगालेर त्यसलाई ठट्टाको बाफसमेत बनायो । फुईं डाक्टरसाहेबहरुको हाँसोले गाडी भरियो । विमलाको घर मलेखुबाट नजिकै रहेछ । उनी घर नजिकको एक विद्यालयमा पढाउँदी रहिछन् ।

"घटस्थापनाको दिनमा भेटिएकी देवीलाई त हामीले पो नमस्ते गर्नुपर्ने हो । या देवी सर्वभूतेषु लज्जा रुपेण संस्थिता । नमस्तस्यै । नमस्तस्यै । नमस्तस्यै नमो नम: ।"

मैले कुरोको कुलो बनाएर देवी स्तुतिसँग जोडेँ । कुरिनटारमा खाना खाएर अघि बढेपछि हामीले गर्मी महसुस गर्दै एसी चलाउने आदेश दियौँ । तर चालकले बाङ्गा कुरा निकाल्यो ।  

"हजुरहरुले साहुसँग एसी चलाउने गरी भाडा तय गर्नुभएको हो र ?"

नेपालमा रू १०० पर्ने कुनै सेवा लिन चाहनुभयो भने रू ६० सम्मको मात्र पाउनुहुन्छ । बाँकी ४० प्रतिशत सेवा लिन चाकडी गर्नु या विशेष पहल गर्नुपर्ने हुन्छ । कसैले कतै भनेको सम्झिएँ ।

"एसी नचलाउने, एसी चलाउने तर चिसो नपार्ने, एसी चलाउने अलिअलि चिसो पार्ने अनि पसिनै सुकाउने गरी एसी चलाउने गरी चार किसिमको दररेट हुन्छ होइन त गुरुजी ?"

"भाडाको शर्त निर्धारण गर्दा गाना बजाउने कि नबजाउने भन्ने पनि निर्णय भएको हुनुपर्छ ! साहुजीलाई गाना चैँ सरहरुकै मोबाइलवाट बजाउनुभएको छ भन्न नबिर्सनु ।"

हामीलाई परिस्थितिले पस्केको नयाँ विषयवस्तु अर्थात् एसी चलाउने का बारेमा यस किसिमका एक दुई ठट्यौली सुनाएपछि गुरुजी गले । उनले चिसो हुने गरी मजैले एसी चलाए । 

हाम्रा जापानिज अतिथिहरु थाई विमान सेवाबाट काठमाडैं ओर्ले लगत्तै आन्तरिक उडानबाट पोखरा आउने योजना थियो । तर अन्तर्राष्ट्रिय टर्मिनलबाट आन्तिरकमा आउनका लागि कुनै व्यवस्था नभएकाले हामीलाई चिसो पसेको थियो । फेरि फोन गरेर बुझ्दा पोखरा विमानस्थल मौसमको कारणले नखुलेको हुनाले पोखराको उडान प्रभावित हुने पक्का थियो । कथमकदाचित उनीहरुको उडान रद्द भएमा अर्को वैकल्पिक व्यवस्थाको खोजी गर्ने जिम्मासमेत हाम्रो हुन जान्थ्यो ।

हामीले अपनाउन सक्ने कुनै सजगता नभएका कारण हाम्रा अतिथिहरुले दु:ख पाउनु भनेको हाम्रा लागि लाज लाग्ने विषयवस्तु हुन सक्थ्यो । जापानिजहरु भनेका संसारकै पूर्णप्राप्तिमा रमाउने जाति हुन् । अपुरो काम गर्ने वा मिहिनेत नपुर्‍याई काम अधुरो राख्ने भन्ने कुराहरु उनीहरुका कार्यसूचीमा नहुने कुरा हुन् । जापानका सार्वजनिक सेवा सुविधाहरु यिनै निर्देशक सिद्धान्तका आधारमा निर्धारित गरिएका छन् । उमेदजीले आफ्नो सञ्जालको माध्यमबाट हामीलाई विकसित घटनाक्रमका बारेमा जानकारी दिन सक्ने व्यक्तिहरुसँग सम्पर्क स्थापित गरेरै छोड्नुभयो । तर भाग्यवश उडानमा एक घण्टामात्र ढिलाइ भयो । हामी पोखरा पुग्नु र अतिथिहरु पुग्नु लगभग एउटै समयमा भयो ।       

यस पटकको पोखरा यात्रा घटस्थापनाको दिनमा भएको थियो । रिजनजी र मेरो कोटेश्वरमा भेट हुने र भाडाको सवारीसाधन पनि त्यहीँ बोलाउने निधो भए तापनि त्यसो भएन । कोटेश्वर आएको २००० रुपैयाँ बढी लिने माग गाडीको साहुले राखेको रहेछ । रिजनजीले ल्याएको ट्याक्सी प्रयोग गरी हामी ठमेल पुग्दा युमेदजी र कुन्दनजी भने हामीलाई पर्खिरहेको पाइयो । सवारीसाधन आउन केही बेर लाग्ने देखियो ।

हामी त्रिदेवी मार्गमा हिमालयन वैंक अघि उभिएका थियौँ । यात्राको आरम्भमा देवी को झझल्को सडकको नामले दिनु पनि एक सुखद संयोग थियो । सडकपारिको कफी पसलमा एक देवी देखिइन् । बिहानको समय । फुक्का भएको मन । पसलमा पाइने स्वादिलो अर्ग्यानिक कफी । अनि पसलमा अरू कोही ग्राहक नभएको अवस्था । प्राय: विदेशी जाने ठमेलको पसलमा त्यहाँकी देवीले मलाई दिल खोलेर पस्कने आतिथ्य । मेरो मन मानेन । साथीहरु पनि मानेनन् । तर म पसलतिर लम्किएँ ।

"म किन आएँ होला तपाईँको पसलमा ?"

"कफ पिउन त होला नि । अरू के होला र ?"

उनले मुस्कानको धर्को मजैले तन्काइन् । मान्छेले मन खुशी भएपछि नराम्रो काम गर्दैन । अरूको अहित चिताउँदैन । सकेको राम्रै गर्छ ।  मैले उनको विशिष्ट सेवा पाउने पक्का थियो । उनको घर रामेछाप रहेछ । अहिले स्नातक पढ्दै रहिछन् । यसरी परिश्रम गर्दै अध्ययन गर्नु भनेको सर्वोत्कृष्ट हो । 'अब पढिसकेर आफ्नै पसल खोल्नु' भनेर अर्ती दिएँ । उनले ज्ञानी शिष्य झैँ मुन्टो हल्लाइन् । यो नै पोखरा यात्रामा देवी हर्षित भएको पहिलो संकेत थियो ।

आश्विन २१, २०७४
तीनकुने, काठमाडौं     
साभार :  http://ujyaaloonline.com/news/85501/pokharama-sakshat-devi/

No comments:

Post a Comment