म
पुन: एक
पटक जोडिएका तिम्ल्याहामध्येको एक कुर्सीमा बस्न पुगेको थिएँ । उनी मेरो
दाहिनेतिरको कुर्सीमा बसेकी थिइन । वास्तवमा उनको
छेउको कुर्सी नै मैले रोजेको थिएँ । कुनै कथा उम्रिने आशा थियो । यसैले मेरो रोजाइलाई
स्वाभाविक बनाउन देव्रेतिरको सीटमा
जानाजानी मेरो ल्यापटप झोला राखेको थिएँ । मेरो हातमा भर्खरै किनेको अमेरिकानो कफी
थियो । म त्यसको चुस्कीमा हराउँदै थिएँ । हाम्रो अघि रहेको प्रवेशद्वारबाट एक हुल
यात्रीहरु भित्र छिरे । उनी जुरुक्क उठिन् । हूलमा मिसिएर
आएकी पहेलो कुर्ता सुरुवालमा सजिएकी अधवैंसे महिला र उनका चार आँखा भए । उनी तिनै
महिलाको पर्खाइमा रहिछन। दुवैले
मुस्कान र आँखाको भावले अभिवादन साटे ।
“यात्रा कस्तो
रह्यो त ?”
“आरामदायी रह्यो । एकै छिन है !”
अधवैंसेले लामो
उत्तर दिइनन् । उनी वरिपरिको भीडभाडमा आँखा डुलाउन थालिन् । मेरो छेउमा बसेकी युवती भने फर्केर फेरि त्यही कुर्सीमा
बस्न पुगिन
। प्रत्युत्पन्न बुद्धिको भण्डारबाट मैले एउटा प्रश्न निकालेँ । तिनलाई लक्षित
गरेँ । बेजोडको साइत पर्यो ।
“कहाँबाट आएको रहेछ यो जहाज ?”
“धनगढीबाट ।”
हामी
एकै छिन अघि सुर्खेतबाट
आएको बुद्ध एयरको वायुयानवाट आएका थियौँ । हामी पछि लगत्तै धनगढीबाट आएको वायुयानले
अवतरण गरेछ । सुर्खेतमा टिकट जाँच गर्ने कक्षमा मैले यात्रुहरुलाई दिइएको सूचनामा
यो शब्द पढेको थिएँ ।
अंग्रेजी ‘एयरक्राफ्ट’ को
नेपाली अनुवाद ‘वायुयान’ मलाई राम्रै
जँचेको थियो । पूर्व सचिव खेमराज नेपालले
एकदम मिलेको अनुवाद भनेर दिएको “बडा
लेखापाल”
को उदाहरण सम्झिएँ । यसको अंग्रेजीमा ‘सिनियर
एकाउन्टेण्ट’ हुन्छ । यहाँनिर सर्वाधिक रोचक पक्ष
भनेको ‘टेन्ट’
को नेपालीमा अनुवाद ‘पाल’ हुनु हो । यो एक
किसिमले ‘फोटो
कपी’
को सिद्धान्त मिल्ने हिसाबकै अनुवाद भएकाले
म प्रफुल्ल भएको थिएँ ।
एक्कैछिन पछि पहेंलो कुर्तावाली महिला फेरा
रंगमन्चमा आइन । उनको हातमा एउटा ‘ए फोर’
साइजको खाम थियो । उनले त्यो युवतीतिर बढाइन् । युवतीलाई अँगालो हालिन ।
“हजुरलाई दु:ख
भयो होला ।”
“जाबो यति सानो कुराले पनि दु:ख
हुन्छ ! बरु
अन्तर्वार्तामा राम्रो गर्नू । टेन्सन नलिनू ।”
अर्ती दिएर महिला
आफ्नो सामान लिन हिँडिन् । युवतीले पनि हिँड्ने तरखर गरिन् ।
उनले सीटबाट
आफ्नो ब्याग टिप्दै गर्दा मैले सोधेँ-
“केको अन्तर्वार्ता हो त बहिनीको ?“
“ज्योति विकास बैंकको ।”
“अन्तर्वार्तामा कहिलेकाहीँ नपढेको तजबीजले उत्तर दिनुपर्ने
प्रश्न सोधिन्छ ।”
मेरो अभिव्यक्तिको ध्येय कुरा तन्काउने थियो ।
“हजुर टिचर हो ?”
“हो । म काठमाण्डौ विश्वविद्यालयमा पढाउँछु ।”
“ए । मेरो त धेरै अनुभव छैन । कस्तो
कस्तो लागिरहेको छ ।”
उनले सँकोच निवारण भएको सँकेत दिईन ।
“नआत्तिईकन उत्तर दिनुपर्छ । एउटा
अन्तर्वार्ता कै जस्तो प्रश्न सोधौँ त ?”
“हुन्छ ।”
“यो भीडमा कति मान्छे होलान् ?”
“बुझेँ । उत्तर चैँ दिनुपर्यो हैन त । ठ्याक्कै कति होलान् भनेर त
सोध्नेलाई पनि कहाँ थाहा होला र
?”
“सही हो । तर उत्तर तार्किक हुनुपर्यो
। हचुवा भयो भने सोध्नेले त्यसैलाई आधार बनाउँछ ।”
“जे होस चूप लागेर चैँ बस्नुभएन । होइन
त ?”
“हो । ल ! बहिनीलाई शुभकामना
।’
मलाई
लेख्ने खुराक प्राप्त भै सकेको थियो । ल्यापटप निकालेर लेख्न सुरु गरेँ । मसँग
केही ‘पर्खने
समय’ थियो
। पुत्ररत्न सिरिनको
धर्मपत्नी रीतालाई कमलादीमा छोडेर मलाई लिन विमानस्थल आउने योजना थियो । म
अमेरिकानो कफीको चुस्कीमा भर्खरै आलो भएको प्रसङ्ग लिपिबद्ध गर्न थालेँ ।
कफी
किनेको पसलमा पनि रमाइलो भएको थियो । तीन जना अल्लारे जस्ता देखिने युवाहरुले पसलको
सत्ता सम्भालेका थिए । आदेश पाउना साथ पहिलोले काम शुरू गर्यो । दोस्रो गीत
गुनगुनाउन थाल्यो । त्यो परिवेशमा मेरो ‘कथा खोज्ने’
अभियानको कोपिला स्पष्ट देखा पर्यो । म त्यसलाई
ढकमक्क फुलेको फूल बनाउने कसरतमा लागेँ ।
“गाना मिसिएपछि त कफीको रूपै फेरिने भो
त !“
“त्यही त भन्या सर । यसलाई नेपाल आइडलमा
गाउन जा भनेको सुन्दैन ।”
तेस्रोले भाका
मिलायो ।
“हो नि, काउली बूढीजस्ता
सुन्दरीसँग भेट पनि हुने ।“
कफी
तयार भएको घोषणा गर्दै पहिलोले भन्यो । मैले पनि नेपाल आइडलको प्रदर्शनी हेरेको थिएँ
। सुर्खेतवाट आएकी सन्ध्या बूढाले ‘काउली बूढी’ नामकी
वृद्धाको भेषमा एक आश्चर्यले भरिएको प्रस्तुति गरेकी थिइन । ‘सुर्खेत
घर’
भन्ने सुन्नासाथ कार्यक्रमका निर्णायक मण्डलका सदस्य न्हु बज्राचार्यले भनेका थिए- सुर्खेतको मान्छेको
त सुर लाग्छ नि । सुर्खेतका गायक गायिकालाई गीतको सुर
लागे जस्तो मलाई सुर्खेतको भुगोलको सुर लागेको थियो ।
‘सुर्खेत’
सम्झिँदा पटक पटक मस्तिष्कमा उदाउने व्यक्ति ‘छमान
थापा मगर’ हुन् । छमानसँग मेरो बैंककमा भेट भएको थियो
। उनी सुर्खेतवासी रहेछन् । साथै परराष्ट्रका कर्मचारी पनि । दुई वर्ष जति अघि म कम्बोडियावाट फर्कने क्रममा नेपाली
राजदूतावासको पाहुना हुन पुगेको थिएँ । बहिनी-ज्वाइं राजन रेग्मी
त्यहाँ काम गर्नुहुन्थ्यो । मेरी बहिनी मञ्जु, राजन
ज्वाइं, छमानका बूढाबूढी र म सहित पाँच जनाको जत्था किनमेलका लागि
निस्केको थियो ।
“डाक्टर साहेब ! मनमा एउटा कौतूहल जागेको छ
। भनूँ कि नभनूँ भयो ।”
“दिल खोलेर भन्नुहोस्, किन नभन्ने ?”
“डाक्टर दुई किसिमका हुन्छन् भन्ने सुनेको छु । सुई डाक्टर र फुईं डाक्टर । हजुर कुनमा पर्नु भो ?”
उत्तर दिनुअघि नै हाँस्न थालेँ । समूहका अरू पनि हाँसे ।
“म दोस्रोमा परेँ ।”
डाक्टरका दुई विशेषण ‘सुई’ र ‘फुईं’ वारेको यो छमानमाहात्म्य धेरै ठाउँमा सुनाएँ । सबैले रमाइलो
माने ।
मेरो कवितासंग्रहमा ‘मेहेलकुना’ शीर्षकको एक कविता छ । मेहेलकुना
छिन्छु जाजरकोट करिडोरमा
पर्ने एक सानो बजार हो । उहिलेको क्षेत्रिय
सदरमुकाम तर अहिलेको कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा म सरकारी कर्मचारीको
हैसियतमा २०४९ सालमा बसेको थिएँ । त्यो बसाई मेरो पेशागत जीवनको एउटा
यस्तो बेजोडको घुम्ती भयो कि म सरकारी जागीर छोडेर उच्च शिक्षा हासिल गर्ने बाटोमा
लागेँ । म अघि बढ्दै गएँ र उत्तर-विद्यावारिधि सम्मको अध्ययन गर्ने मौका पाएँ । वीरेन्द्रनगरको
बसाइमा एक पटक म मेहेलकुना पुगेको थिएँ । त्यहीँ यो एक कविता रचेको थिएँ ।
त्यसको एक अंश यस्तो थियो-
“मेहेलकुना डुंगामा
बसेर भेरी तर्छ
अनि दुई रुपैयाँ तिरेर मूलको पानी ल्याउँछ
भेली (सख्खर) पारि लैजान्छ
अनि रक्सी बोकेर फर्किन्छ “
भेरी नदीमा डुंगा चढेर वारिपारि गर्नु
मेहेलकुनाका नरनारीको सामान्य दैनिकी थियो । साढे दुई दशकअघि र अहिलेको तुलना
गर्दा मेहेलकुनामा खानेपानीको समस्या त पक्कै समाधान भएको हुनुपर्छ । मेरो
कवितामा उल्लिखित अर्को विषय ‘मदिरा सेवन’ को समस्या भने अहिले पनि ज्यूँ का त्यूँ छ भन्ने सुनेर मलाई
यस पटक
दु:खी बनायो । यो कालो
वृक्ष झाँगिएर अर्कै रूप धारण गरेको छ भन्ने सुन्दा म दु:ख मिश्रित आश्चर्यले समेत भरिएँ । सुर्खेतमा घर
भएका एक सज्जनले समस्याको बेलीविस्तार लगाए ।
“छिन्छु-जाजरकोट करिडोरमा
मापसेको नयाँ आयाम थपिएको छ । सडक निर्माण भएपछि रिबन आकारको बजार
उम्रने त भैगयो । बजारमा पसल खुल्ने नै भए । पसलको मुख्य व्यापार मदिरा हुने नै भयो । क्याम्पस
पढेका युवतीहरु बेरोजगार भए । उनीहरु पसलमा साहुनी भएर बस्न थाले । साहुनीहरुको
अरू काम क्यै भएन । कतिपयको योग्य वर नपाउँदा बिहे पनि भएन । अनि उनीहरु तनाव
हटाउन पसलमा भएको मदिरा पिउन थाले । मदिराको लत लाग्यो र अधिकांश दुर्व्यसनी भए ।“
यो कथनमा कति सत्यता छ, भगवान् नै जानुन। तर कथनमा
अन्तर्निहित तथ्यहरुले यो असम्भव हुने कारण म देख्दिनँ । जुन वेला म जाजरकोट र सुर्खेतमा
बस्थेँ । त्यसवेला पनि बादी जातिका नारीहरुले यौनव्यापार गर्छन् भन्ने सुनिन्थ्यो । यस्ता गतिविधि
हुने चर्चित ठाउँहरु चौरजहारी, दाङ, छिन्छु र नेपालगन्ज
थिए ‘अव्यवस्थित मदिरा
सेवन’ नेपालमा सम्भवत: अहिलेको एक ठूलो समस्या हो । कतिपय
गाउँपालिका, नगरपालिका र
जिल्लाले मदिरामुक्त क्षेत्र बनाउने जमर्को नगरेका होइनन्
। जबसम्म उपल्लै तहबाट घनीभूत प्रयास हुँदैन, यो अभियान असम्भव छ भन्ने देखिएको छ
।
महिलाहरुकालागि उपलब्ध रोजगारीमा उल्लेख्य
वृद्धि नभएको भने होइन । वीरेन्द्रनगरको बुद्धपथमा रहेको शीतल डेरी उद्योगमा
हामीलाई सवारी साधनको सेवा प्रदान गर्ने अधिकारी थर (नाम भने विर्सें) का गुरुजीले खाजा ख्वाउन लगे ।
त्यहाँको व्यवस्थापनको पूरै जिम्मा महिलाहरुले लिएका रहेछन् । पकाउने, पस्कने र भाँडाकुँडा सफा गर्ने सबै
अधवैंसे महिला । भुक्तानी कक्षमा भने दुई
कलिला युवती थिए । उनीहरु ग्राहकको टेबुलमा खाजा पुर्याउने र जुठा प्लेटहरु
उठाउने काम पनि गर्थे ।
“ए ! बहिनी,
यो चमेनागृहको
म्यानेजर तिमी हो ?”
सेता चम्किला दाँत देखाएर मुस्कुराउँदै
तिनले मुन्टो हल्लाइन् । सम्भवत: मेरो प्रश्न उनका लागि नौलो थियो ।
भित्तामा लेखेको सन्देशमा उनको ध्यानाकर्षण गराएँ । एक दर्जनभन्दा बढी सूचनाको सूची थियो । नौ नँ बुँदामा यस्तो लेखिएको थियो ।
“टेबुलमा खाजाको समय
२० मिनट हुनेछ । सोभन्दा बढी समय आवश्यक परेमा प्रति ३० मिनट रू २०० चार्ज लाग्नेछ
।“
“कोही
मान्छेले २० मिनटपछि अर्को खाजा मगायो । अनि फेरि
२० मिनटमा अर्को । यस्तो वेलामा ९
नम्बरको नियम लाग्छ कि लाग्दैन ?”
मैले लजाउँदै गरेकी म्यानेजर बहिनीलाई
सोधेँ । मेरो खाजा-ईतर कित्ताको
गतिविधिले साहुजीको पनि ध्यानाकर्षण भयो । उनले आफैँले जवाफ दिने कामको सत्ता
सम्हाले । मेरो जिज्ञासा शान्त भयो ।
विमानस्थलको सुरक्षा जाँच कक्षमा भने
एक नौलो विषयवस्तु फेला पर्यो । महिलालाई जाँच गर्ने सुरक्षाकर्मीले औपचारिक
पोशाक लगाएकी थिइनन । उनी सलवार कुर्तामा थिईन । मलाई यसको कारण पत्ता लगाउन
निमेषभर पनि लागेन । उनी दोजिया थिईन । सेवाप्रदायक व्यापारिक प्रतिष्ठानहरुले सेवाग्राहीहरुसँग
अन्तर्क्रिया हुने अग्र-भागमा विशेष ध्यान
दिएर रूपवती वा रूपवान तन्नेरीहरुलाई राखेका हुन्छन् । केही दिनअघि भएको ‘नाडा अटो शो’ मा पनि नयाँ गाडीको छेउमा छोटो लुगा लगाएका
सुन्दरीहरु राखिएको थियो । यस्तो वेलामा गर्भवती महिलालाई उभ्याउने हो
भने ग्राहकलाई कस्तो छाप पर्ला ? जो कोही ले अनुमान गर्छ । सन्तानउत्पादन गर्ने विधिको विधान मात्र नभएर कानूनी अधिकार नै भएको हुनाले ती दोजिया सुरक्षाकर्मीलाई
पश्चभागका अरू नै काममा खटाएको भए जाती हुन्थ्यो । यसको अर्को त्रिशूल पाटो
पनि छ । विमानस्थलको सुरक्षा जाँचमा एक्स-रे मेशिन पनि हुन्छ जसको प्रयोग वा सामीप्य सामान्य व्यक्तिले
पनि कम गर्नु भनिन्छ ।
हाम्रो सुर्खेत भ्रमण दलमा प्राडा. माधवप्रसाद पोखरेल, डा. जयकुमार गुरुङ र डा. दीपेन्द्र रोकाया हुनुहुन्थ्यो । हामीले कर्णाली प्रदेशका
मुख्यमन्त्री, अन्य मन्त्रीगण, प्रमुख सचिव र अन्य सचिवलाई भेटेका
थियौँ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शिवनारायण
चौधरीसँगको भेट आद्वितीय नै रह्यो । वहाँको विनोदप्रिय कार्य शैलीको मुक्त कण्ठले प्रशँसा गर्यौँ ।
आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश
भण्डारीलाई त मैले हाम्रो भेटघाटको अन्त्यतिर एक प्रश्न राखेँ ।
“माननीयज्यू त साहित्यको अनुरागी समेत
हुनुहुन्छ । मन्त्रीको कार्यसम्पादनमा साहित्यले केही सहयोग गरेको छ त ?”
“विषयवस्तु बुझ्न र सिर्जनात्मक हुन
सहयोग पुर्याएको छ ।”
मेरो प्रश्न र
मन्त्रीज्यूको उत्तर हाम्रो भ्रमणदलका सदस्यले मन पराउनुभयो ।
सुर्खेत
जाँदा हाम्रो चार जनाको समूह दुई भागमा विभाजित भएको थियो । डा. गुरुङ
र म प्रदेश ५ को अस्थाई राजधानी वुटवल हुँदै कोहलपुरमा एक रात बसेर वीरेन्द्रनगर
पुगेका थियौँ । माधव सरहरु बुद्ध एयरको सीधा उडानबाट आउनुभएको थियो ।
यात्रा
गर्दा म देखिएका र भेटिएका नौला दृश्यलाई सकेसम्म क्यामेरामा कैद गर्छु । छिन्छु
पुग्नै लाग्दा सडकको दाहिने किनारामा वरपीपल र चौतारी भएका स्थानमा स्कूलको पोशाक
लगाएका स-साना
बालबालिका देखिए । मैले गुरुजीलाई गाडी रोक्ने आदेश दिएँ । किनभने समूहका दुई जना
केटाहरु कान समातेर उठबस गरिरहेका थिए । एक युवती नजिकै थिइन। उठवसको क्रियाकलाप
उनकै निर्देशनमा भइरहेको थियो ।
“के बदमासी गरे त मिस यिनीहरुले ?”
“साना बच्चालाई लडाए ।”
“ए । कति चोटी गर्नुपर्ने हो त यिनले उठबस ?”
“सय पुर्याउनु भनेको ।”
“सय त धेरै भयो मिस ।”
मिसले मेरो सल्लाह
मानिन् । मैले बालबालिकालाई ‘इलामेली
ललिपप’
दिएँ । हामीले सामूहिक तस्विर पनि खिच्यौँ ।
सुर्खेत
विमानस्थलवाट सिधै काठमाडौं आउने यो मेरो यात्रा को गन्ती तीन पुगेको थियो ।
वायुयान चढ्ने क्रममा हामी चार भाइ सबैभन्दा पछि पर्यौँ । डा. गुरुङले
तस्वीर खिच्ने प्रस्ताव राख्नुभयो । हामी एक छिन अलमलियौँ ।
एक सुरक्षाकर्मीले
हातले ‘हतार भएको’ इशारा गरे । मैले परिवेशलाई स्वाभाविक बनाउने जमर्को गरेँ ।
‘हामीले फोटो खिचेको खिच्यै गर्यौं भने के गर्नुहुन्छ त ?’
“यो त हजुरहरुले जान्ने कुरा हो ।”
“आज पनि सुर्खेतकै पाहुना बनाउँछौं, भोलिको
उडानमा पठाउँछौं-भन्ने
जवाफ दिनुहोसन।”
यो अभिव्यक्ति माधव
गुरुबाट आएको थियो ।
माधव
गुरु र म एउटै सीटमा पर्यौँ । बादलको बाहुल्य भएकाले हिमाल खासै देखिएन । माधव
गुरुको सान्निध्यको यो मेरो पहिलो
हवाई यात्रा थियो । यसैले हिमाल नदेखिनुको
कुनै पछुतो थिएन । हाम्रो कुराकानीको आयतन र विविधता
अहिलेसम्मकै सुर्खेत हवाई यात्रामा भएका कुराकानीभन्दा अधिक थियो ।
सामान संकलन कक्षमा मैले डा. गुरुङलाई
भने-अन्तरप्रदेशीय यात्राले पुगेन । अब मलाई माधव गुरुसँग अन्तर्राष्ट्रिय उडान भर्ने इच्छा छ ।
वहाँहरु झोला संकलन
गर्नासाथ हिँड्नुभयो । म भने अमेरिकानो कफीको खोजीमा लागेँ ।
आश्विन १०, २०७५
हाइल्याण्ड विन्स कफी
ललितपुर मल, लगनखेल
No comments:
Post a Comment