Wednesday, April 15, 2020

उजाडिएको सौराहा र जोखिमको भरतपुर


आन्तरिक उडान कक्षमा भिडभाड सामान्य मात्र थियो । सम्भवत: स्वदेश भित्रैको कुनै गन्तव्यमा जानका लागि पहिलो पटक म यति बिहानै विमानस्थल पुगेको थिएँ । बुद्ध एयरको भरतपुर जाने साढे छ बजेको उडानमा हाम्रो यात्रा तय भएको थियो । गणेशजी र म पाँच बजेर २० मिनट हुँदा टिकट जाँच कक्षमा पुगेका थियौँ । यतिबेला डा. जयकुमार गुरुङ भने चाबहिलमात्र आइपुग्नु भएको रहेछ ।   

"यति बिहानै कहाँसम्म हो र हजुरहरु ?" बोलाइ र लवाइले सभ्रान्त देखिने मधेसी मूलका एक अपरिचित व्यक्तिले हामी नजिक आएर सोधे ।

"भरतपुर । हजुर चैँ कहाँसम्म हो नि ?" मैले उत्तर दिँदै प्रश्नको पैँचो तिरेँ ।   

"माउन्टेन फ्लाइटको लागि ।"

"सुनेर खुसी लाग्यो । प्राय: विदेशी पर्यटकहरु मात्रै जाने गरेको पाएको थिएँ ।"

"दिल्लीबाट आएका पाहुनाहरु हुनुहुन्छ, वहाँहरुको लागि हो ।"

मैले गमेँ -आखिर भारतीय पनि त विदेशी नै हुन । खुसी लाग्यो-भारतीय पर्यटकहरुको पनि यो रुचि बढेकोमा । वास्तवमा हिमाल नेपालको एउटा अलौकिक सम्पदा हो । राजधानी या अन्य कुनै प्रमुख सहरको सहज पहुँचमा यति धेरै आकर्षण संसारमा बिरलै छ। 

एकाएक आकाश थर्किने आवाज आयो । एकछिन सम्म सबै पङ्खा एकैसाथ चलाएर हो कि भन्ने भ्रम पर्‍यो । होईन रहेछ । आवाजको कारण घनघोर वर्षा पो रहेछ । सिसाबाट बाहिर हेर्दा मुसलधारे पानी परेको देखियो । भर्खरै बनाएको टर्मिनल भवन । वास्तवमा मेरो सामान्य पूर्वानुमानले कोलाहलको यो तह सार्वजनिक स्थलको स्वीकार्य ध्वनिको तह भन्दा माथि भएको वतायो । के हाम्रा प्राविधिकहरु चुकेकै हुन् त ? प्रश्नको लिङ्गो आकासियो ।

काउन्टर खुल्यो । यात्रुहरु दुई पङ्तिमा विभाजित भएर अघि बढे ।

"पालो नआएका महानुभावहरु कृपया अलि परै उभिइदिनुस् न ।" 

औपचारिक ज्याकेट लगाएका एक काउन्टर कर्मचारीले हाम्रो ध्यानाकर्षण गरे । उनको अनुरोध काउन्टरमा गुजुल्टिएका तिन यात्रुहरुको हेलचेक्र्याइँ तर्फ केन्द्रित थियो ।

"के बिग्रन्छ र सँगसँगै उभिँदा ?" मैले जानाजानी कुरोको धागो बनाएँ ।   

"अघिको मान्छे फनक्कै घुमेर पछाडि फर्कियो भने ठोकिन्छ क्या !"

मेरो र ती पद्धति बसाल्न खोज्ने कर्मचारीको वार्तालाप सुरु भयो । सुन्नेको कमी थिएन । पङ्तिमा उभिएका बँधुवा श्रोता छँदै थिए ।

"त्यही भएर विदेशमा यहाँ उभिनु भनेर सङ्केत चिन्ह राखेको हुन्छ ।"

मैले म उभिएको ठाउँ देखाउँदै भने ।

"हामीले पनि त्यस्तो चलन सुरुगरेको हो तर काम लागेन । अलि दिन पछि फेरि पुरानै बेथिती पग्रियो ।"

"कसरी लाग्दैन ? एक दिन त अवश्य लाग्छ । राम्रो काम हो भन्ने यकिन भएपछि काम पुरा नहुन्जेल प्रयास गरिरहनु पर्छ । बिचैमा थला पर्न कहाँ पाइन्छ र ?"

मैले राम्रै दर्शनको पुच्छर समातेँ । टोपी लगाएका एक बृद्धले मेरो तर्कको समर्थन गरे ।

टिकट जाँच गर्ने मेरो पालो आयो।एक यात्रु मेरो पालो मिच्दै काउन्टरमा जान खोजे।

"अबको पालोमेरो हो । लाइन यता छ ।"

मेरो त बानी नै लाग्यो-पालो मिचेको सहन नसक्ने । 

"सानो नानी साथमा छ । काम थाती भएकोले हो ।"

मेरो पालो मिच्नेले स्पष्टीकरण दिए ।

वास्तवमा मैले प्रवेशद्वारमा सामान एक्सरे यन्त्रमा राख्दा ती यात्रुलाई देखेको थिएँ । काखमा सानो नानी बोकेका थिए । साथमा एउटी महिला थिइन ।

"तर हजुरले बोल्नु पर्‍यो नि त । आफ्नो कुरा नराखी हामीलाई हजुरको समस्या कसरी थाहा हुन्छ र ?"

घुसघुसे प्रवृत्ति बुई चढेको संस्कार र अरू प्रति संवेदनशिल नहुने बानीले हाम्रो समाज खाएको छ । यी धमिरा उधिन्न बाँकी राख्नु हुँदैन । ती पुरुष पात्रलाई पनि राम्रै सबक सिकाएको अनुभूति मलाई भयो । उनको र मेरो कुराकानी अरूले पनि सुने । गर्व लाग्यो ।  

उडान निर्धारित समयमा नै थियो । हामी तिन भाइ बस चढ्ने मध्ये पुछारको समूहमा थियौँ । बसमा सिट खाली थिएन । उभिनेमा परियो । मैले उभिएरै भए पनि एउटा काम गरेँ । बसमा सवार स्वदेशी नारी र पुरुषको सङ्ख्या गन्न थालेँ । केही समय अघिदेखि मेरो मानसपटलमा पलाएको एक अवधारणा अझ विकसित भयो । मातृशक्ति अर्थात्आधा आकाशको प्रतिनिधित्व गर्ने यात्रुको सङ्ख्या पचास प्रतिशत भन्दा बढी थियो । अहिले अर्थतन्त्रमा महिला सहभागिताको अंश ह्वात्तै बढेको छ । यो यथार्थले नेपालको समृद्धिमा कालो बादलमा चाँदीको घेराको काम गरेको छ । कसरी र किन भयो, कतिपयलाई त यसको हेक्का समेत नहोला । जापानले यही काम गर्न राज्य स्तरबाट ठुलो पहल गरेको थियो । एकातिर बुढ्यौलीले छोएको जनसङ्ख्याको बाहुल्य भएकोले बजारमा जनबलको अभाव भएको थियो ।  अर्कोतिर पाखुरा चलाउने उमेरका अधिकांश महिलाको कर्मशील जमात भने बालबच्चाको पालन पोषणमा र गृहिणीको भूमिकामा सीमित थियो । यो समस्या चिर्न जापानले चालेको कदम प्रशंसनीय छ । हामीकहाँयस विषयमा अनुसन्धान गरी यो हरियो सङ्केतलाई अझ सशक्त बनाउन दिशामा नीति नियम बनाउनु जरुरी छ ।

मैले देब्रे झ्यालको सिट मागेको थिएँ । काउन्टरको हरिलठ्ठकले दाहिनेतिरको दिएछ । मलाई देब्रे पट्टिको दृश्य हेर्ने सुर चढेको थियो । काम भएन तर दाहिने भए पनि झ्यालतिरै दिएछ । चित्त बुझाएँ । भारतका विख्यात अध्येता एवं पूर्व राष्ट्रपति अब्दुल जे कलामले भनेको सम्झिएँ-दुध फट्ने से वो लोग निराश होते हैँ जिनको रसबरी बनाना नही आता ।

नभन्दै त्यस्तै भयो ।  म झ्यालतिर बसेँ । मेरो सहयात्री हुन आइपुगिन् सलवार कुर्तामा सजिएकी एक युवती । उनी तिस आसपासकी हुँदी हुन् । कद सामान्य । रूप सामान्य । सबै षोडशी सुन्दरी कहाँ हुन्छन् र ! मैले घरमा फोन गरेर उड्न लागेको जानकारी दिएँ । त्यसपछि उडान पत्रिकामा आँखा डुलाउन थालेँ । युवतीले सिट पेटीको दाप उल्टो समातिन् । खुकुरी र दाप जस्तो लाग्छ मलाई सिट पेटीका दुई टुप्पा । खुकुरी सुल्टो पारेर दापको मुखमा छिराए जस्तै गरी सिट पेटी पनि बाँधिन्छ ।

"हुँदैन त यो !" उनले मतिर हेर्दै भनिन् ।

यसको मतलब उनी हवाई यात्राकी नौली पात्र थिइन। अन्यथा सिट पेटी बाँध्नु एक सामान्य काम हो । अहिले यो साना सवारी साधनमा पनि अनिवार्य छ । यस्ता काम हरेकले सिक्नु जरुरी छ । आफैले गरेर सिक्यो भने त्यो सबै भन्दा दिगो हुन्छ । मैले उनलाई सहयोग नगर्नुको कुनै अर्थ थिएन । मेरा अघि दुई विकल्प थिए । पहिलो, उनको पेटीका दुई पाटा समातेर आफैले बाँधिदिने । यसो गर्दा मेरा हातले उनको शरीर स्पर्श गर्न सक्थे ।  अथवा बेल्ट बाँधिदिने बहानामा म उनलाई छुने उद्धेश्यको निर्माण गर्न सक्थेँ । यस्तो उद्धेश्यलाई केन्द्रमा राख्ने कतिपय लम्पट भेटेको छु । अरूको संवेदनशीलताको सिकार गर्ने । छुने उद्धेश्य नराखेर पनि म उनको पेटी बाँधि दिन सक्थेँ । मैले त्यसो पनि गरिनँ । किनभने मेरो मान्यता छ-नजान्नेले आफूसँग एउटा सिक्ने अवसर बोकेर हिँडेको हुन्छ । सिकाउनेले त्यो बुझेर भपरि आएको मौकालाई साइतमा परिणत गरिदिन सक्छ । बुझाइ र सिकाइमा पनि यही फरक छ । कतिपय सही कुरा बुझेकाले पनि सही तरिकाले सिकाउन जान्दैनन् । मैले उनलाई सिकाउने उद्धेश्यकेन्द्रभागमा राखेँ ।      

"ल यता हेर्नू ।"

उनले हेरीन् । मैले मेरो पेटी फुकालेँ । अनि उनलाई उनको पेटीको दाप सुल्टो पार्न लगाएँ । मैले मेरो पेटी बाँधेँ । उनलाई अनुकरण गर्न लगाएँ । उनले सिकिन् । अर्थात् उनको पेटी उनी आफैँले बाँधिन् । मेरो एक अर्को पुरानो सिद्धान्त एक पटक पुन प्रतिपादित भयो-उनलाई मैले मेरो आफ्नो केही दिइनँ। उनको मसँग विधाताले दिएको जे नासो थियो त्यही दिएँ ।

मेरो सोचाइको घेरा एक एक विराट रूपको हुन्छ । नेपालका तिन करोड नरनारीको मसँग केही न केही नासो छ । कहिलेकहीँ त लाग्छ- यो नासो सबै जनलाई एकै पटक भ्वाक्क फिर्ता गर्न पाए कति हलुको हुने थियो होला ।

युवती र मबिचको अपरिचयको बरफ पग्लिसकेको थियो । मैले फाटेको दुधको रसबरी बनाएँ । किनभने काठमाडौँ उपत्यका छिचोलेपछि बाहिर आकाशमा कुहिरो लागेको थियो । देब्रे झ्यालमा बसेको भए पनि त्यही कुहिरो हेर्थेँ । कुहिरोसँग कुरा हुँदैनथ्यो । कुहिरोसँग रङ पनि हुने थिएन  तर छिमेकीसँग मज्जाले कुरा गरेँ । माइत चितवन रहेछ । घर बैतडी । पहिचानको मुद्दा ल्याएर देशमा भाँडभैलो मच्चाउने नेताहरुलाई फेरि एक पटक धिक्कार्न मन लाग्यो । विगत केही दशकमा हाम्रो भूगोल तोरीमा कोदो मिसिए जस्तै मिसिएको छ । हाम्रो समुदाय मिसिएको छ । केको पहिचान ? केको पर्खाल  ? तिमीले लगाएर लाग्छ पर्खाल ? तीजकी चेली भएर माइत जान लागेकी रहिछन् । पुण्य कार्यमा जान लागेकी उनलाई सहयोग गरेर मलाई पनि सानोतिनो पुण्य कमाएको अनुभूति भयो।
 
विमानस्थलमा प्रा.डा. पुण्य प्रसाद रेग्मी हामीलाई लिन आउनु भएको रहेछ । हामी सिधै सौराहा गन्तव्य बनाएर बाटो लाग्यौँ । हात्ती चोकको एक चमेना गृहमा चियानास्ताको कार्यक्रम भयो । श्रावण २८ गते आएको बाढीले सौराहामा ठुलो प्रलय ल्याएको सुन्दा अचम्म र पीडा भाव दुवै एकै साथ हामीलाई छोपे । प्रत्यक्षदर्शी स्थानीयले त्यो त्रासदीको बयान गरे-ऊ त्यो हात्तीको सालिकको जग पनि तिन फिट जति पानीमा डुबेको थियो । एकाएक पिच बाटोमा खोलो बग्न थाल्यो । अरू वेला गाडी हिँड्ने सडकमा बगेको बाढीले भयभीत बनायो । सपना हो कि विपना, यकिन गर्न पनि गार्‍हो भयो । खोलो उत्तर दिशामा द्रुत गतिमा बगेको थियो । केही घण्टा पछि फेरित्यही खोलो दक्षिण दिशामा बग्न थाल्यो ।

बङ्गलादेश वा समुद्रकिनाराका मुलुकहरुमा नदी दुवै दिशामा बग्छ भन्ने मलाई जानकारी थियो । नेपाल जस्तो अग्लो होचो भू-धरातल भएको स्थानमा पनि एउटै बिन्दुलाई आधार बनाउँदै दुवै दिशामा पानी बग्न सक्छ भन्ने मैले कल्पेको पनि थिइनँ तर यो सँभव रहेछ ।राप्ती नारायणीमा मिसिँदा वा भरतपुर नगरको बिच भागबाट बग्ने पुँगी जस्ता खोला नारायणीमा मिसिएको स्थानमा यो सम्भव हुने रहेछ । यस पटकको यात्रामा मलाई राप्ती नदी पूर्वबाट पश्चिम दिशामा बग्दो रहेछ र यसको दायाँ र बायाँ दुवैतिर पर्वत शृङ्खला रहेछन् भन्ने ज्ञान भयो ।  

चियानास्ता पछि नेपाल विकास अनुसन्धान प्रतिष्ठान (नेविअप्र) र अन्य दुई गैर-सरकारी संस्थाहरुको सहयोगमा राहत सामग्री वितरण गर्ने कार्यक्रममा सहभागी भयौँ ।

बाढीले क्षति पुर्‍याएका घरहरुको अवलोकन पनि गर्‍यौँ । सुकुम्बासीहरुको बसोबास भएको क्षेत्र रहेछ । केही पीडितहरुको बाढीले क्षति पुर्‍याएका घरहरुको निरीक्षण पनि गर्‍यौँ । एक जना बहिनीले भुइँमै बनाएको आफ्नो टाँडे घर भित्र पुर्‍याईन् ।

"छोरालाई माइतमा पुर्‍याएकी छु । बुढाबुढी टाँडमा सुत्छौँ । न त पकाउन सकिएको छ । न त भुइँमा लिपपोत गर्न । सबै भिजेको छ । यो सङ्कट कहिले सम्मबेहोर्नु पर्ने हो !"
उनले आफ्नो दु:ेसो पोखिन् । सम्भवत: यो उनको जीवन कालमा आएको सबैभन्दा उच्च नापोको विपद थियो । हामीसँग उनको घाउमा मल्हम लगाउने दुई पोका राहत सामग्री मात्र थियो । 

ती बहिनी लगायत रत्ननगर नगरपालिको वार्ड नं. ५ को मगरटोलका ५० घरपरिवार राहत सामग्री पाउने सूचीमा थिए । विपद व्यवस्थापनमा राज्यका निकायहरु र नेपाल विकास अनुसन्धान प्रतिष्ठान जस्ता संस्थाले गर्नु पर्ने काम टड्कारो रूपमा सतहमा आए । कुनै स्थानमा कत्रो बाढी आउन सक्छ, कति डुबान वा कटान हुन सक्छ, त्यसको पूर्वानुमान गरी त्यहाँ निर्माण गरिने संरचनाहरु कसरी बाढी निरोधक बनाउन सकिन्छ भन्ने विषय अब सामान्य पाठ्यपुस्तकको अंश भएको छ । यहाँ खाँचो छ-त्यसलाई व्यवहारमा उतार्ने परिपाटीको ।

वार्ड नं. ६ को बचौली बस पार्क हाम्रो दोस्रो राहत वितरण स्थल थियो । त्यस वार्डको विपन्न बस्तीमा बाढीले ठूलो क्षति पुर्‍याएको रहेछ । यस दोस्रो स्थानमा ४२ घर परिवारलाई राहत सामग्री वितरणको काम भयो ।

"यो सामग्री घरसम्म पनि नपुग्न सक्छ । बिच बाटैमा खोया बिर्केसँग साटिन सक्छ ।"
एक स्थानीय सज्जनले तितो पोखे । राहत सङ्कलन गर्न आएका केही पुरुषको हुलियाले त्यही बताइ रहेको थियो । हाम्रो समाजलाई अधोगतितिर धेकेलिरहेको यो एउटा अर्को धमिरा हो । नैतिकता, मर्यादा र अनुशासनको संस्कार र  प्रभावकारी नियमनले यो धमिरालाई किनारा लगाउन सकिन्छ भन्ने मान्यता अझै पनि धेरै नेपालीमा  पाईन्छ ।   
राहत वितरणको काम सम्पन्न गर्न सहजीकरणको भूमिका निर्वाह गरिरहेको स्थानीय एक सहकारीको कार्यालयमा पनि एकै छिन पस्यौँ । सहकारीका पदाधिकारी र स्थानीय अगुवाहरु सँग राहत वितरण कार्यको लेखाजोखा भयो ।

मैले एउटा कथा जोडेँ-

एउटा गाउँमा आगो लागेछ । सबै जना लागेर आगो निभाउन थालेछन् । एउटी चरीपनि आफ्नो चुचोमा पानी बोकेर आगो लागेको ठाउँमा पुर्‍याउँदी रहिछ । चरीको चर्तिकला एउटा कागले नियालेको रहेछ । कागले कौतुहल मेटाउन चरीलाई सोधेछ-

"के को तमाशा हो यो ?"

"देख्दैनौ, आगलागी भएको छ । सबैजना आगो निभाउने काममा जुटेका छन् । म पनि सकेको योगदान गरि रहेकी छु ।"

'तिमीले चुचोमा बोकेको पानीले केही लछार्न सक्दैन । हाँ दमकलको पनि बार्‍ह बजेको छ ।"

"प्रश्न त्यो होइन । प्रश्न त को कुन कित्तामा उभिएको छ भन्ने हो । म जस्ता पात्रको पनि होस्टे मा हैँसे भए पछि आगो त अवश्य नै निभ्छ । आगो निभेपछि एउटा कित्ताकाट हुने छ । म आगो निभाउनेको कित्तामा पर्ने छु, तिमी भने ननिभाउनेको ।"
चरीको आत्मगौरवले भरिपूर्ण उद्गार सुनेर काग विस्मयमा परेछ ।

मैले कथा सुनिरहेका सहभागीहरुलाई भनेँ-

"आजको यो पुण्य कार्यले हामी सबै चरीको कित्तामा भएको प्रमाणित गरेको छ । समाजमा उपस्थित सबै कागलाई यो सन्देश पुगेको दिन हाम्रो समाजमा विद्यमान अपरोपकारी ट्युमरको शल्यक्रिया हुने छ ।"

आयोजकहरुले सौराहाको प्रख्यात चौधरी भोजनालयमा दिवा खानाको व्यवस्था गरेका रहेछन् । थारु परिकारको  रैथाने स्वादले हामी तृप्त भयौँ । सौराहामा हाम्रो अन्तिम गतिविधि राप्ती नदी किनारको पर्यटकीय स्थलको निरीक्षण थियो ।  केही वर्ष अघि म परिवारसँगघुम्न आएको थिएँ । त्यस वेला त्यहाँ पर्यटकहरुलाई घण्टौँ  रमाउने पूर्वाधार देखेको सम्झना भयो । श्रावण २८ को प्रलयले त्यहाँका होटेल र रेस्टुरेन्टका भौतिक पूर्वाधारको नामनिशाना मेटेको थियो । आँखाले भ्याउने सीमासम्म नदीको उजाड लाग्दो बगर मात्र देखिन्थ्यो । जुन स्थानमा बसेर पर्यटकहरु गोही र अन्य जलचर अवलोकन गर्थे त्यो इतिहासको गर्भमा लुकेको थियो । खण्डहर  बनेका थिए सम्पूर्ण भौतिक संरचना।

"यो ठाउँलाई बाढी पूर्वकै स्थितिमा ल्याउन के पहल भएको छ त ?"

न त त्यहाँ कुनै सरकारी कार्य योजनाको गन्ध थियो न त कुनै गैर-सरकारी संस्थाको पहल । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको शिष्ट मण्डलले केही दिन अघि स्थलगत निरीक्षण गरेको स्थानीयले बताए । विडम्बना, पुनर्स्थापना र पुन: निर्माणका औपचारिक पहलको बारेमा स्थानीय अनभिज्ञ देखिए । सम्भवत: पर्यटन विभाग वा अन्य निकायलाई या दृष्टिदोष भएको थियो या त तिनका घुम्ने मेचमा बसेका मान्छेहरुले गैरजिम्मेवारीको छाता ओढेका थिए । कुनै किसिमको विमाको पनि व्यवस्था नहुनु विडम्बनाको अर्को पराकाष्टा थियो । 

सौराहाबाट हामी रामपुर हुँदै भरतपुर फिर्ता आयौँ । डा. रेग्मीले हामी बसेको फक्स सेन्च्युरी होटलको सम्पर्कबाट एउटा स्कर्पियो गाडी व्यवस्था गर्नु भएको रहेछ । हामीलार्इ भरतपुर विमानस्थलमा लिन आएको गाडी पनि त्यही थियो तर गाडी चालकको व्यवहार चित्त बुझ्दो लागेन । यस्तो लाग्थ्यो- सेवा उसले हामीलाई होइन हामीले उसलाई दिई रहेका छौँ । हामी बीचमा कसैले प्रश्न सोध्यो भने ऊ जान्ने भएर जवाफ दिन्थ्यो । उसको व्यक्तिगत काम गर्न निर्धारित मार्ग परिवर्तन गरी हाम्रो कार्यक्रमसँग असम्बन्धित स्थानमा आफू खुसी गाडी रोकेर हामी सबैलाई अल्मल्याउँथ्यो । उसको कुनै सामान लिने बहानाले आफ्नो घरको घुमाउरो बाटो लिएर पनि गयो । द्रुत गतिमा चलिरहेको गाडीमा मोबाइल फोनमा कुरा गर्थ्यो । हाम्रो माग र चाहनालाई ऊ तोडमरोड गरेर उसको अनुकूलको समाधान पस्किन्थ्यो । मलाई सह्य भएन । मैले डा. रेग्मीसँग त्यो दिन बेलुका नै उसलाई बिदा दिने र अर्को सवारी साधन खोज्न सल्लाह गरेँ । त्यतिले पनि 'मेरो नायकत्व' चुपलागेर बस्न सकेन । मैले चालकलाई नम्र भाषामा चेतावनी दिएँ।

"तपाइँले गाडी चलाउँदा मोबाइल फोनमा कुरा गर्नु भयो भने हाम्रो त बोली नै बन्द हुन्छ । डरले मुटुको ढुकढुकी बढ्छ । केही वर्ष विदेशमा बिताइयो जहाँ सवारी चालकले यस्तोकहिल्यै गर्दैनन् । कृपया हामीलाई सेवा दिने अवधि भरी मोबाइलमा कुरा नगरिदिनु होला ।"

नारायणी नदीको जल सतह र भरतपुरको जमिनको सतहको बिचमा केही मिटरको फरक मात्र रहेछ । मैले बेलुका होटलमा फर्केपछि जल तथा मौसम विभागको वेबसाइटमा हेरेँ । नारायणीको त्यो दिन अर्थात् भदौ चार गतेको बहाव- प्रति सेकेन्ड चार हजार घन मिटर भन्दा पनि बढी । महानगरपालिकाको पगरी गुथेको सहर । नगर प्रमुखको कार्यालय र त्यो विशाल जलप्रवाहको बिचमा केही सय मिटरको मात्र अन्तराल छ । नदी किनारामा सहरको सुरक्षालाई लक्ष्य गरेर कुनै तटबन्धको संरचना बनेको छैन । विडम्बना नै हो । श्रावण २८ गते राप्तीमा आएको बाढीले पनि लगभग नारायणीकै हाराहारीको जलप्रवाह बोकेको रहेछ । अरू वेलाको  मुसो जत्रो राप्ती एकाएक हात्ती भएछ । मेरा मनमा यस्तो लहर सिर्जना भयो ।  

भोलिपल्ट भरतपुर महानगरपालिका  र रत्ननगर नगरपालिकामा अन्तक्रिया कार्यक्रमको आयोजना भयो । छलफलको केन्द्रबिन्दुमा एउटा महत्वपूर्ण प्रश्न पहाड बनेर उभियो-

"शहरको बीचबाट वा छेउबाट बगेको नदी वरदान हो कि अभिशाप ?"

दक्षिण कोरियाको राजधानी सोलमा सडक र फ्लाइ ओभर भत्काएर बनाईएको कृत्रिम नदी र त्यसले दैनिक हजारौँ पर्यटकलाई आकर्षण गरेको प्रसङ्ग पनि आयो ।

"शहरको छेउमा नदी हुनु भनेको प्राकृतिक वरदान नै हो तर त्यसलाई अभिशाप बन्न नदिन मानवीय पहल हुनु पर्छ । वेलैमा विपद रोकथाम र पूर्व सावधानीको उपाय अवलम्बन गरेर हामी नदीलाई अभिशाप बन्नबाट रोक्न सक्छौ ।"

हाम्रो छलफलले निकालेको यस्तो निचोड नै दुई दिने चितवन भ्रमणको महत्वपूर्ण उपलब्धिको रूपमा रह्यो । 

भरतपुर-काठमाडौँको हवाई यात्रा लामो दुरीको उडानमा पर्दैन । छोटो दुरीका कतिपय उडानमा यात्रुलाई दिइने सुविधाहरु कटौती हुन्छन् । हामी उड्ने जहाज एक घण्टा ढिलो भएको थियो । मलाई रुघाखोकीले सताएको हुनाले पर्खाइको त्यो समय उपयोग गर्ने योजनाले मूर्त रूप लिन सकेन । अधिकांश समय डा. गुरुङसँग कुराकानी गरेर बिताएँ । यो उडानमा भने परिचारिकाले चकलेट र पानी दुवै बाँड्न भ्याइन् । मैले पनि जहाजबाट ओर्लिँदै गर्दा उनको प्रशंसा गर्न भ्याएँ-छोटो दुरीको उडान भए पनि पानी बाँड्नु भयो, धन्यवाद छ हजुरलाई

कहाँ नारायणीको विराट जलप्रवाह कहाँ यो एक लिटरको मिनेरल वाटर । तत्त्व त उही जल हो । अनौठो कल्पनाले मस्तिष्क भरियो । यो यात्राको मियो आखिर त्यही महत्वपूर्ण एक पन्चतत्त्व अर्थात् 'जल' नै भयो । 

दुवै हात जोडेर बिदाइ मुस्कान पस्किरहेकी हवाई देवीको अनुहारमा चमक देखियो । उनको मुस्कानको धर्को तन्कियो।त्यो तन्काइ पूर्णतया स्वभाविक र प्राकृतिक थियो। 

भाद्र २१, २०७४
कोटेश्वर, काठमाडौँ

1 comment:

  1. Borgata Hotel Casino and Spa - Mapyro
    The casino is located 군산 출장샵 near the Borgata Hotel Casino & Spa and 안양 출장샵 is one of the 경상남도 출장안마 city's oldest and most popular tourist attractions. 양산 출장안마 The hotel has a number 부산광역 출장샵 of

    ReplyDelete