निद्राले चाँडै छोड्यो । फेरि
सुत्नुभन्दा सामाजिक सञ्जालमा रमाउने सुर आयो । किनभने यो संसारमा रात हुँदैन सधैँ
दिन हुन्छ । कोही न कोही उठेकै हुन्छ । कसै न कसैले हरियो बत्ती बालेकै हुन्छ ।
शून्य भौगोलिक दूरी । सबै साथीभाइ स्क्रिनमा । अहिले ल्यापटपकै अघि बसेर दुईवटा
काम गर्दैछु । पहिलो, यो प्रत्यक्ष अर्थात् साजी नियात्रा टाइप
गर्ने । दोस्रो, फेसबुक खोलेर कसैसँग कुरा गर्ने । अनि, 'हिँड्दैछ पाइला
मेट्दैछ' को उल्टो "हिँड्दै छ पाइला
राख्दैछ" भने जस्तो गर्ने । आधुनिक संसारले त्यसलाई
'वास्तविक समय' अर्थात रियल टाइम
भन्छ ।
मेरी इटलियन साथी फ्रान्सिस्का देखा परी
।
"ए ! मोहिनी देवी ! तिमीलाई
कोरियाको यो मिर्मिरे उषाबाट न्यानो अभिवादन !"
मैले अंग्रेजीमा यही भावको वाक्य लेखेँ । हाम्रो संवाद अघि
बढ्यो ।
"गुड मर्निङ, प्रोफेसर !"
कति आनन्द लाग्छ यो मोरीका यस्ता शब्द पढ्दा । अरूले लेख्ने
पनि यिनै ए बी सी डी त हुन् । तर उसका शब्दको ओज नै उच्च हुन्छ । उसले अघि लेखी ।
"दक्षिण कोरिया ! त्यो त अद्वितीय नै भयो । म त्यहाँ पुगेकी छु र धेरै आनन्द
पनि लिएकी छु । वाह त्यहाँको किम्ची ! तपाईँ छुट्टीमा हो ?"
मैले जवाफ दिनुअघि फेरि उसले अर्को हरफ थपी ।
"अस्तिको दिन मेरो पीएचडी पनि सकियो ।"
उसले दुईवटा इमोजी पनि पठाई । पहिलोले विजयको संकेत दियो
भने दोस्रोले, मुस्कानको ।
म पनि के कम बधाई संकेत गर्ने ५० वटा इमोजी पठाइदिएँ ।
"बधाई छ तिम्रो सफलता र उपलब्धिका लागि । यो मेरा लागि आजको
पहिलो र महत्त्वपूर्ण खुशीको समाचार भयो ।"
उसले मलाई 'केटीले हत्केला आकाशतिर फर्काएको' इमोजी र थ्याङ्क यू लेखेको बिरालोको
चित्र भएको स्टिकर पठाई । यो इटालियन सुन्दरीले पठाएका इमोजीले मलाई यस विषयमा थप
जानकारी खोज्ने कौतूहल जगाइदियो । अहिले सामाजिक सञ्जालमा यमोजी र ह्यासट्याग
जस्ता चित्र संवादको प्रचलन ह्वात्तै बढेको छ । इमोजीको उत्पति जापानबाट नै भएको
हो अरे । चिन र जापानमा शब्दका चित्रले अक्षर जनाउँछन् । अक्षरको संवादभन्दा
चित्रको संवादमा अर्थ बुझ्न सजिलो हुन्छ । चित्र बुझ्न भाषा होइन जीवन वा परिवेश
बुझे पुग्छ ।
म दानकुक विश्वविद्यालयका प्राध्यापक दोक्कोको निमन्त्रणामा
पाँचदिने भ्रमणार्थ दक्षिण कोरियाको राजधानी सोल आएको छु । दक्षिण कोरिया र
नेपालको समयान्तर तीन घण्टाको छ । अर्थात् नेपालमा रात नबित्दै कोरियनहरुको
बिहान भैसकेको हुन्छ । हाम्रो एक दिने सम्मेलन थियो । चीनबाट आउनुभएका प्राध्यापक
ग्वान र म मात्र दुई विदेशी थियौँ । राष्ट्रका हिसाबमा मैले चीन बराबरको सम्मान
पाएको थिएँ । नेपालमा पेशागत कर्म गर्नुको आनन्द यस्तो वेलामा पाइन्छ । मेरो
प्रस्तुति दिवाभोजभन्दा अघि थियो । अपराह्नमा हामी दानकुक विश्वविद्यालय परिसरमा
गयौँ । दोक्कोको आग्रह र मेरो सिफारिशमा बाजुरा घर भएका मेरा पूर्व विद्यार्थी
निर्मल शाहीले वातावर इन्जिनियरिङमा स्नातकोत्तर गर्ने अवसर पाए । प्राध्यापक
मित्रले हामीलाई 'के-वाटर'
पानी प्रशोधन केन्द्रमा प्रशोधन गर्ने संरचनामा लिएर गए ।
सोलको एक तिहाइ जनसंख्या र सामसुङ कम्पनीको कारखानालाई आवश्यक पर्ने उच्च
गुणस्तरीय पानीको आपूर्ति यहाँबाट हुँदो रहेछ । प्रशोधन केन्द्रपछि हामी १२८ तले
गगनचुम्बी भवनको मजा लिन गयौँ । 'सोल टावर' को नामले
प्रसिद्ध यो धरहरारूपी संरचनाको उचाइ झण्डै ५०० मीटर रहेछ । दृश्यावलोकन गर्ने १२१
तलामा ४८६ मीटर लेखिएको थियो । भूइँमा हिँडेका कमिलाको ताँती जस्तो सडकमा गुडेका
सवारीसाधन । यस्तो रोमाञ्चकारी अनुभूति मैले यस अघि बैँककको बायोके टावरमा पनि
लिएको थिएँ । यो त संसारकै टावरहरु मध्येको ठूल्दाइ नै लाग्यो । भूइँको
शीशाबाट आफूले टेकेको जुत्ताको तल कञ्चन पानी भएको गहिरो तालमा पीँध देखिए
जस्तो धर्ती हेर्दा मन रोमाञ्चित भयो । कतिको त डरले सातो जाँदो रहेछ
।
मलाई सोल स्टेशन नजिकैको 'फोर प्वान्ट्स बाई सेराटन' होटलमा बस्ने प्रबन्ध मिलाइएको थियो । इन्चोन विमानस्थलमा पुग्दा
बिहानको ५:३० भएको थियो ।
सोमवार विश्वविद्यालयमा काम सकेर रात्रिको उडान भरी म बिहान सखारै कोरिया आइपुगेको
थिएँ ।
मैले ६००१ नं को लिमोजिन बस लिनुपर्छ भने थाहा भए पनि एक पटक
निश्चित गर्न मन लाग्यो । सूचना केन्द्रमा गएर निश्चित गरेँ । बस बिसौनीमा गएर समय
हेर्दा अर्को बस ७:१२ बजे मात्र रहेछ । मसँग १५ मिनट केही गर्ने फुर्सद थियो । पर्यटक सूचना
केन्द्रमा गएर होटेल परिसर वरपरको नक्शा संकलन गर्ने सुर चढ्यो । सूचना केन्द्र
खोज्न थालेँ । तर अफसोस त्यहाँ कोही पनि थिएन । यताउता आँखा डुलाएँ । खुल्ने समय ७:०० भनेर लेखेको बोर्ड देखियो । सात बज्न
केही मिनेट बाँकी थियो । मैले आज कोरियन कर्मचारीको राम्रो जाँच लिन पाउने भएँ
भन्ने लाग्यो । मलाई आश्चर्य पस्कँदै सात बज्न ३० सेकेन्ड बाँकी हुँदा एक सेविका
आईन । मैले मागे जति नक्शा दिइन् ।
होटेलमा पनि म सजिलै पुगेँ । स्वागत कक्षमा मलाई अभिवादन
गर्दै मेरो सुरक्षा
धरौटीका लागि भिसा कार्ड मागे । उनीहरुलाई मेरो सम्पूर्ण खर्च
आयोजकले बेहोर्ने सूचना रहेनछ । मैले २१ तलाको कोठा पाएँ । चेक-इनको काम सकिएपछि कोठाको कार्ड-चाबी दिँदै सेविकाले सोधिन्-डु यु निड एक्स्ट्रा रुम कार्ड ?
मैले 'पर्दैन' भने तर यो
प्रश्न भने मथिङ्गलमा अहिलेसम्म पनि घुमिरहेको छ ।
"कोठामा एकजना मात्रै बस्ने निश्चित हुँदाहुँदै किन दोस्रो
कार्ड चाहिन्छ ?"
त्यो होटलमा स्वागत कक्ष, कफी कर्नर र रेष्टुरेन्ट आदि १९ तलामा थिए । कफी कर्नरको
अग्रभागमा राखिएको एक बोर्डले मेरो ध्यान खिचेको थियो ।
"वी ह्याभ बियर एज कोल्ड एज युअर एक्स गर्ल फ्रेन्डस हार्ट ।"
अर्थात् हामीसँग तिम्रो पूर्वप्रेमिकाको मुटुभन्दा पनि चिसो
बियर पाइन्छ । यो सन्देश रोचक लाग्नु स्वाभाविक थियो । मैले नजिक पुगेर मन्त्र पाठ
गरे जस्तै गरी अलि ठूलो स्वरले सन्देश पढेँ । मसँगै उभिएका मेरा चिनीयाँ
प्राध्यापक मुस्कुराए । हाम्रो गतिविधिले कफी कर्नरकी सेविकाको ध्यानाकर्षण भयो ।
उनी पनि हामीतिर हेरेर मुस्कुराइन् ।
मैले सेविकासँग आँखा जुधाउँदै सोधेँ ।
"दिस इज क्वाइट कन्भिन्सिङ् । बट आई ह्याभ अ क्वेश्चन ।"
"यस प्लिज ।"
"हाउ एबाउट दी हट कफी ?"
उनी लगायत अन्य वरिपरिका श्रोता समेत हाँसे । सेविकाले मौन
मुस्कानको मात्र जवाफ दिईन ।
"आई थिङ्क कफी क्यान बी एज हट एज दी एङ्गर अफ योर वाइफ ।"
अब हाँसोको आयतन अझ बढ्यो । मैले त्यो सन्देशको फोटो खिचें
।
सन् २००६ मा म जापानको आइजिइयस भन्ने सँस्थामा काम गर्थेँ ।
भारतको पन्जाबमा घर भएकी एक युवती मेरो परिवारकी साथी थिईन् । अहिले उनी सोलमा नै
कोरियन भाषाको पढाइमा लागेकी रहिछन् । उमेर ढल्किसके पनि उनको वैवाहिक जीवनको ढोका
भने खुल्न सकेन । मैले उनलाई भेट्ने प्रस्ताव राखेँ ।
"मेरा तो कलेजका प्रोग्राम है शायद मुश्किल होगा ।"
"पूजाजी, तो आप कलेज जाती हो ।"
"जी हाँ ।"
"तब तो मेरे को आपसे मिल्ना और भी जरुरी हो गया ।"
"वो क्योँ नवराजजी ।"
"लाइन मार्ने के लिए । कलेज जाने वाली लड्की को कोई लड्का
लाइन न मारे, ये कैसे होगा ।"
मेरो तर्क सुनेर उनी मोबाइल नै फुट्ला जस्तो गरी हाँसिन् ।
अफसोस ! पूजासँग स्टारबकमा कफी पिउने मात्र पनि
शौभाग्य जुर्न सकेन ।
अहिले भने म इन्चोन अन्तर्राष्ट्रिय विमानस्थलको द्वार नं
२१ को प्रतीक्षालयमा छु । देब्रेतिर शीशाको पर्खाल छ, बाहिरको दृश्य हेर्न मजैले पाइएको छ ।
भर्खरै उज्वेकिस्थानको जहाज गुडेको देखियो । कोरियन एयरको जहाजलाई तान्ने यन्त्रले
विपरीत दिशामा लिएर गयो । नेपालका हिउँदका दिन जस्तै घाम राम्ररी लागेको छ ।
होटलबाट हिँड्दा त पानी पनि छिट्याएको थियो ।
मेरो देव्रेतिर एक मोटी महिला सानो किताब पढ्दै छिन् । सिधै
अगाडि फाटेको पाइन्ट लगाएकी एक युवती छिन् । शायद उनी नेपाली मूलकी हुन् । युवती
बसेकै लहरमा छालाको जुत्ता र ज्याकेट लगाएका एक जना नेपाली पुरुष छन् । ती व्यक्ति सीटको छेउमा राखेको सामान राख्न बनाइएको बेन्चमा बसे । उनी केही अघि अर्को एक
युवासँग नेपालीमा बोल्दै थिए । दाहिनेपट्टि एक जना मंगोलिन पुस्तक नै पढ्दै छन् ।
उनी शायद कोरियन हुन् ।
अहिले भने ती युवक पनि आएर मिसिए । उनीहरु एक अर्कालाई चिन्दा
रहेछन् । युवकले एउटा झोला काँधमा तेर्सो पारेर भिरेका छन् ।
युवकले बोलेको सुनियो ।
"चाँडै आएसि समस्या हुने ।"
उनको मोबाइल बज्यो । उनी एकान्तमा गएनन् । सबैका अघि नै
बोल्न थाले । सबै कुराकानी बुझिएन । तर एउटा वाक्य भने बुझियो ।
"आफ्नो खातामा आउँछ ।"
अब युवतीको मोबाइल बज्यो । तिनले भने बोलेको बुझिएन । मसिनो
बोलिन् ।
सिधै अगाडि सामसुङ्को टेलिभिजन राखिएको छ । लोटे भन्ने
कम्पनीको विज्ञापन आइरहेछ । हिजोको कुरा अनुसार काका डा. पदमप्रसाद खतिवडा आउनुपर्ने । संयोगवश
हाम्रो एउटै उडानमा टिकट परेछ । तर वहाँ अहिलेसम्म भेटिनुभएको छैन । अस्ति म आउँदा
सँगै आएका आमा छोरी भने भेट भए । उनीहरु देब्रेतिर अगाडि बसेका छन् । नियात्राको
थप कथा बुन्ने उन भेटिँदैन । म आमा र छोरी बसेकै सीटमा जान्छु । छोरीको छेउमा
बस्छु ।
"मालाई एउटा कुरा सोध्न मन लागेर आएको ।"
माले कान सुन्दिनन् । बोल्न पनि सक्दिनन् । यसैले छोरीको
साथ लागेर बहिराहरुको कुनै कार्यक्रममा भाग लिन कोरीया आएकी । माले आफ्नो
परिचयपत्र मतिर बढाईन् ।
'लक्ष्मी देवकोटा, अध्यक्ष, बहिरा तथा सुस्त श्रवण राष्ट्रिय समाज ।'
कार्डमा लेखिएको पद र संस्थाले भन्दा उनको थरले मलाई
आश्चर्यचकित बनायो । मैले उनीहरुको समुदाय नेवार होला भन्ने ठोकुवा नै गरेको थिएँ
।
"आम्मै नि ! तपाईंहरुको थर देवकोटा पो हो ?"
दुवै हाँसे।छोरीले दोभाषेको काम गरेकी थिईन्।मैले जति आमा
छोरीको कुरामा चाख मानेको थिएँ।त्यो भन्दा पनि धेरै माँले मेरो कुरामा मानेकी थिइन
भन्ने मलाई लाग्यो। मैले पनि मेरो परिचयपत्र छोरीलाई दिएँ।छोरीले आमातिर बढाइन।आमाले
केही संकेत गरिन् ।
"हजुरको डिग्री र पद देखेर माँलाई पनि आम्ममा ! भयो रे ।"
अब हामी तीनै जना एउटै लयमा हास्यौँ । लक्ष्मीले प्रवेशिकासम्मको
अध्ययन गरेको रहेछ । नौ वर्षको उमेरमा बिफर भएर बिरामी परेपछि उनको श्रवण शक्ति
गुमेछ । त्यसपछि आफू जस्तै कान नसुन्ने बाहुन केटासँग प्रेम विवाह भएछ । केटा भने
जन्मजातै श्रवणशक्तिविहीन रहेछन् । मेरो दिमागमा बिजुली तोडमा दुई प्रश्न सिर्जना
भए ।
"तपाईँ नेवारकी छोरी र बाहुनकी बुहारी । दुवै समुदायको संस्कारको
राम्रो अनुभव छ । यी दुई जातका संस्कृतिमा एक अर्कामा नपाइने राम्रा कुरा के हुन् ?"
"जन्मजातै श्रवणशक्ति नभएका र पछि कुनै दुर्घटनामा परी
नसुन्ने स्थितिमा पुगेकाहरुमा के फरक हुन्छ ?"
पहिलो प्रश्नको सामान्य उत्तर आयो । तर दोस्रो प्रश्नको
उत्तरले भने अहिलेसम्म मैले कल्पना नगरेको तथ्य उजागर गरिदियो । एक पटक एक
दृष्टिविहीन सहयात्रीले पनि यस्तै कहिल्यै नविर्सने उत्तर दिएका थिए । मेरा
अन्यन्य मित्र स्वर्गीय हिमप्रसाद गौतमले यो 'अन्धा' को सट्टा प्रयोग गरिने आदरार्थी मानिएको शब्द 'दृष्टिविहिन' पनि उपर्युक्त नभएको तर्क राखेका थिए ।
उनको विचारमा ‘दृष्यविहीन’ शब्द उपर्युक्त हो अरे ।
"जन्मजातै श्रवणशक्ति गुमाएकालाई बोल्दा ओठ कसरी चलाउने
भन्ने सिकाउन कठिन हुन्छ ।"
लक्ष्मीले यो भन्दै गर्दा मैले उनको अनुहारमा हेरेँ । उनको
हाउभाउ र ओठको चाल बोल्नेको जस्तै थियो। उनी खाली आवाजविहीन थिइन। मैले हाम्रो
कालखण्डकै प्रख्यात सरस्वती साधिका झमक घिमिरेको वारेमा लेखेको 'पराजित अशक्तता' शीर्षकको लेख को चर्चा गरेँ ।
यत्तिकैमा जहाजमा प्रवेश गर्ने समय भयो । मैले उठेर सामान
मिलाएँ । वरिपरि घुमीघुमी हेर्न थालेँ- पदम काकाको उपस्थिति थिएन । लामबद्ध यात्रुको नजिकै गएर
नियालेर हेरेँ । देखिनँ । अचम्म लाग्यो ।
मेरो अन्योललाई चिर्दै वहाँ झुल्किनुभयो । विविध कारणले
गर्दा ढिलाइ हुन गएछ । मेरो दुई वर्ष अघि यही विमानस्थलमा आफ्नै हुस्सुपनले गर्दा
झण्डै जहाज छुटेको घटना काकालाई सुनाउँदै हामी जहाजमा प्रवेश गर्यौँ ।
मैले प्रवेशद्वारमा भेटिएकी हवाई सुन्दरीलाई सोधि हालेँ ।
"डु यु ह्याभ दी इकोनोमिस्ट म्यागाजिन ?"
"लेट मी चेक । ह्वाटस युर सीट नम्बर ?"
अन्तर्राष्ट्रिय उडानमा धेरै यस्ता सुविधा हुन्छन्।थाई
विमान सेवामा कोट पनि ह्याङ्गरमा राखिदिन्छन्।तर धेरै यात्रुले यस्तो विषयमा चासो
लिँदैनन्।कतिपयलाई यस्तो ज्ञान र बुद्धिले यात्रा सहज हुन्छ भन्ने थाहा हुँदैन ।
गज्जब भयो।उनले मलाई ईकोनोमिस्ट र टाइम पत्रिकाका हालैका
दुई अंक ल्याएर दिँदै भनिन्-थ्याङ्क यु फर रिडिङ् सर ! हियर इज युर म्यागाजिन ।
म दङ्ग परेँ । मैले दाहिनेतिरको झ्यालको आसनीमा थिएँ । पदम
काका पनि संयोगले त्यही लहरमा तर देब्रेतिर पर्नुभएछ । मेरा देब्रेतिरको सँगैको पहिलो
सीट भने खाली नै थियो ।दोस्रोमा भद्र देखिने एक कोरियन थिए ।
जहाज लगभग भरिएको थियो । अधिकांश जत्था कोरियनहरुकै थियो ।
देश आर्थिक रूपले सम्पन्न हुँदै गएपछि डुल्ने उदेश्य लिएर विदेश जानेको पनि संख्या
बढ्छ । कम्बोडियामा जाँदा पूरै पर्यटकीय स्थल कोरियनहरुले भरिएको पाएको थिएँ ।
इन्चोनवाट काठमाडौंको सीधा उडान भएको र आँखाअघिको हूल देख्दा अब नेपाल पनि कोरियनहरुको
गन्तव्य सूचीमा परेको रहेछ भन्ने लाग्यो ।
मेरो छेउमा दुरुस्तै कोरियन देखिने एक यात्रु वस्न आए । उनीसँगै
आएका विमान परिचारकले भनेको सुनियो-आई विल ह्यान्डओभर योर पासपोर्ट इन काठमाण्डु।
मलाई चीसो पस्यो । ‘के यी व्यक्ति नेपाली नै हुन त ?’ मस्तिष्क प्रश्नले
हुँडलियो । उनी केही नबोली बसे । मैले पत्रिकामै ध्यान दिएँ । प्रवेशद्वारमा मैले
फाइनान्सियल टाइम्सको पनि एक प्रति उठाएको थिएँ । मसँग समय विताउने प्रशस्त
सामाग्री थियो । सीटको भिडियोमा पनि श्रव्यदृश्यमा मन बहलाउने चीजबीज थिए । राम्रो
तयारी भए जहाजमा यो उडानको छ घण्टा त के दश घण्टा पनि सजिलै बिताउन सकिन्छ ।
"यति सारो त नगर्नू नि ।"
मेरा सहयात्री आफैंमा बर्बराए । मेरो शंकाको बादल हरायो ।
"ए ! तपाइ त नेपाली नै हुनुहुँदो रहेछ । म त दोधारमा पो थिएँ ।"
हाम्रो कुरा शुरू भयो । मलाई लाग्यो- अब कुरा समेत गर्न पाइने भयो।तर उनका
एक पछि अर्को गर्दै उदेक लाग्दा अभिव्यक्ति र गतिविधि उजागर हुन थाले । उनका
अनुसार तीन वर्षअघि उनी कोरियामा श्रमिकको रूपमा प्रवेश गरेका थिए । कम्पनीले भिसा
थपका लागि पहल गरेको रहेनछ । अध्यागमन प्रहरीले समातेर नेपाल फिर्ता पठाइदिएको
रहेछ । सात दिनसम्म थुनामा पनि राखेछ ।
"सात दिन भयो चुरोट, खैनी केही पनि मुखमा राख्न नपाएको । कति वेला प्लेनबाट
ओर्लेर चुरोट तानौं भएको छ ।"
उनले मलाई मेरो काम र कोरिया यात्राको बारेमा सोधे । मेरो
जवाफ सुनेपछि उनले आक्रोशित अभिव्यक्ति दिए ।
"केही हुन्छ र नेपालमा ? कोरियनले दिएको सबथोक नेताले झ्वाम पार्छन् ।"
"तपाईँको भिसा किन थपिदिएन त कम्पनीले ?"
"मैले धेरै काम गरेको उनीहरुलाई मन परेनछ ।"
मेरो टाइम पत्रिका मलाई नसोधी मेरो अगाडिको पत्रिका राख्ने
थैलोबाट केही नभनी लिएर हेर्न थाले । एक छिन हेरेर आफ्नोमा राखे । त्यसमा विमान
परिचारकलाई फिर्ता गर्ने टिपोट उल्लेख थियो । मैले पत्रिका फिर्ता मागें ।
मैले उनका परिवारका बारेमा सोधेँ ।
"मेरो उमेर ४० भयो अहिलेसम्म बिहे भएको छैन । अब नेपालमा गएर
गर्ने बिचार छ ।"
खाना बाँड्दै हवाई सुन्दरीहरु आए । मेनुमा कोरियन परिकार
बिबिम्पाप र कुखुराको मासु रहेछ ।
"बिबिम्पाप कम्स विथ द बिफ, राइट ?"
"ओ यु नो दिस ।"
तिनै मेरा सहयात्रीलाई हतेरेर ल्याउने विमान परिचारक बोले ।
मैले कुखुराको मासु भएको परिकार रोजेँ ।
मेरा मित्रको भने खानाभन्दा पनि पेयपदार्थमा ध्यान गयो ।
उनीहरुले 'ह्वीच ड्रिङ्क यु
वान्ट ?' भनेर सोध्नु अगावै उनले भने-
"अल्कोहल !"
उनले बियर, वाइन वा ह्विस्की भन्न सकेनन् । शायद उनीले यो पेय नभेटाएको
पनि धेरै भएको थियो । परिचारकले वाइन राखिदियो हामी खानामा केन्द्रित भयौँ । उनले
कुरैकुरामा भने-
"एक चोटि मलाई धेरै रक्सी लागेछ । म त सिधै ककपिटमा पुगेँछु
।'
"के यही कोरियन एयरलाइन्समा हो त ?"
"होइन, दुबईबाट आउँदा ।"
खाना खाएर म सुतेँ । उठ्दा ऊ स्क्रिनमा सोदोकु खेल्दै थियो
। धन्य आफूलाई व्यस्त राख्ने केही सीप त रहेछ भन्ने लाग्यो । ऊ सँग कुरा गर्नुको
कुनै तुक थिएन । मैले आफूलाई इकोनिमिष्टमा नै हराएँ । कार्यस्थलमा हुने यौन
उत्पीडन अर्थात् सेक्सुअल ह्यारासमेन्ट शीर्षकमा दुईवटा लेख रहेछन ।
फ्रान्सिस्काले पठाएको इमोजी जस्तो यौन उत्पीडनको पनि सानो तर सांकेतिक चित्र
लेखमा थियो । यस्तो चित्र मैले यसभन्दा अघि देखेको थिईनँ । अहिले सारा संसार यौन
उत्पीडितहरुको 'म पनि' भन्ने अभिव्यक्तिको प्रसारले आन्दोलित
भएको छ । ह्यासट्याग मिटुको सन्देश सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेर 'म पनि यौन उत्पिडनको शिकार भएकी छु' भन्ने खबर सारा दुनियाँले पत्तो पाउँछ ।
हलिउडका पुरुष हस्तीहरुले समेत यस्तो दुर्व्यवहार गरेर कुख्याति कमाएका प्रसंगहरु
लेखमा पढेँ । मेरो समय मज्जाले बित्यो । दुईवटा 'फ्रेन्डस' शीर्षकका टेलिभिजनका हास्यप्रधान शो हरु पनि हेरेँ ।
मेरो रमाइलोमा शत्रु पसे झैं मेरा छिमेकी साथी बाधक बनेका
थिए । घरीघरी केही न केही उदेकलाग्दा कुरा निकाल्थे ।
"यो ओढ्ने कम्बल लैजान पाए त एउटा राम्रो सम्झनाको चिनो
हुन्थ्यो । लान मिल्ला नि हगि ?"
फौजदारी अभियोगमा परेर प्रहरीले अड्डासार गर्दै ल्याएको
व्यक्तिको चेत अझै नखुल्नु मेरा लागि रहस्यमय विषय भएको थियो ।
मैले सबैभन्दा अन्तिममा आइसक्रिम खाएको थिएँ । चम्चा र आइसक्रिमको
बट्टा भने हवाई सुन्दरीहरुले संकलन गर्न बाँकी थियो । मित्रले त्यसमा पनि आँखा
लगाए ।
"यो चम्चा खुसुक्क झोलामा हाल्ने कि ?"
घरीघरी मैले सोचेँ- हामी दुवै कोरिया पुगेर आएका नेपाली । सँगै बसेका छौँ । तर
हैसियत फरक छ।यो के हो ? विधिको खेल ? या राज्यको दुरावस्थाको परिणाम ? व्यक्तिको भाग्य ?
विदेशमा केही नेपाली कामदारले गर्ने यस्ता गैरकानुनी
गतिविधि र यात्रा गर्दा समेत देखाउने अमर्यादित व्यवहारले गर्दा सामान्य यात्रुले
समेत झन्झट र दु:खसास्ती बेहोर्नुपरेको छ । यसपटक त्रिभुवन
विमानस्थलको कोरियन एयरलाइन्सको चेक-इन काउन्टरमा मैले पनि तनाव झेल्नुपर्यो । मेरो राहदानी र
टिकट हेरेपछि काउन्टरका कर्मचारीले मलाई सोधे-
"तपाईं किन जान लाग्नुभो कोरिया ?"
"तपाईंको प्रश्न गलत भयो । यो प्रश्नको उत्तर दिन म जरुरी
ठान्दिनँ ।"
मेरो जवाफले सेवाप्रदायकको कन्पारो तात्यो।उनले उनका
हाकिमलाई वोलाएर ल्याए ।
"हामीलाई यात्रु विवरण सूची बनाउनका लागि यो प्रश्नको जवाफ
आवश्यक छ ।"
"मसँग म्याद नगुज्रेको राहदानी, वैध भिसा र राम्रो श्रेणीको इकोनोमी
क्लासको टिकट छ।यसको आधारमा मेरो चेक इन हुँदैन भने म फिर्ता जान तयार छु । तर गलत
प्रश्नको जवाफ म दिँदिनँ ।"
मैले अडान कायाम राखेँ । उनीहरु गले । पछि अध्यागमनका
अधिकृतसँग बुझ्दा उनले पनि मेरो तर्कमा सहि थपे ।
यसरी यो यात्रको शुरूआत र अन्त्यमा केही विधर्मी संस्कारसँग
जुझ्नुपर्यो तर प्रत्येक कालो बादलमा चाँदीको घेरा हुन्छ भने झैं भयो । मेरा
छिमेकीको 'सामान झ्याप
पार्ने' कुबुद्धिले पनि मलाई भने एउटा विचार
जन्माइदियो । मलाई इकोनोमिष्ट पत्रिका मागेर लैजान मिल्ला कि ! भन्ने प्रश्न गर्ने विचार आयो । मैले यो सोचलाई कार्यान्वयन गर्न अलिकति बुद्धि खर्च गरेँ ।
मैले अरू यात्रुलाई अघि जान दिएँ । एक हवाई सुन्दरी नजिकै
आईन् ।
"डु यु ह्याभ एनी सोभेनियर ?"
"वेट ए मिनट ।"
उनले एउटा एयरबस ३८० को पोष्टकार्ड ल्याइन । मैले पत्रिका
फिर्ता गर्ने आशयले उनीतिर बढाएँ । मैले टाइम चै फिर्ता गर्न र इकोनोमिष्ट चैं
शौजन्य सामग्रीको रुपमा माग्ने विचार गरेको थिएँ ।
"इफ यु वान्ट यु क्यान अल्सो टेक देम ।"
"ओ ! यु आर सो काइन्ड, थ्याङ्क यु ।"
चेक इन काउन्टरको अप्रसन्नतालाई सोभेनियर र दुई पत्रिकाको
प्राप्तिले पखालिदिएको अनुभूति भयो । घर आएर फ्रान्सिस्काले पठाएको इमोजीको बारेमा
थप अनुसन्धान गरेँ । कम्प्युटर विषयका ज्ञाता साथीहरुलाई समेत सोधेँ । जसरी शौचालयमा
राखिएको पुरुष र महिलाको संकेत चिह्न जसले पनि बुझ्छ, इमोजी पनि त्यस्तै लाग्यो । त्यसलाई
पढ्न अक्षर नचिने पनि हुने । चित्र चिने हुने । चीसो बियरलाई पूर्वप्रेमिकाको
मुटुसँग दाँजेको सन्देशमा पनि पानको पातको एक संकेत चिह्न राखेको थियो । रातो
पानको पातले 'प्रेम' बुझाउँछ भन्ने अहिले प्राथमिक तहको
नानीहरुले पनि बुझ्छन् । कोरिया यात्राले पूर्वप्रेमिकाको चीसो मन वा फन्किएकी श्रीमतीको
तातेको मुड जनाउने इमोजी पनि हुन्छन् कि भनेर शोध गर्ने चाहना पलाएको छ ।
कार्तिक २२, २०७४
कोटेश्वर-धुलिखेल बस यात्रा
साभार : परिवर्तन खबर डट कम
No comments:
Post a Comment