पूर्वी नेपालमा प्रचलित केही शब्द मध्ये एउटा हो-लोदर । यसपटकको पश्चिम नेपालको यात्रामा मलाई पनि नराम्रोसँग लोदर लाग्यो । सृष्टिको सिद्धान्त छ- कुनै परिस्थिति जति तल खस्छ त्यसले उत्तिकै नापोमा राम्रो हुने सम्भावना पनि बोकेर ल्याउँछ । लिङ्गे पिङ एकातिर जति मच्चिन्छ त्यतिकै उचाइमा अर्कोतिर पनि मच्चिन्छ । एउटै पहाडमा उकाली र ओराली उस्तै प्रकृतिका हुन्छन् ।
बुद्ध एयरको अपरान्हको अन्तिम उडानबाट म नेपालगन्ज जान लागेको थिएँ । नेपालगन्जमा नेपाल र भारतका राप्ती नदी सरोकार समूहलाई वातावरणीय प्रभाव मूल्याङ्कन विषयमा तालिम दिनु थियो । बुद्ध एयरका हवाई सुन्दरीहरुको कालो पहिरन मलाई कत्ति पनि जँचेन । बङ्गलादेशमा कालो बुर्का किन लगाउँछन भन्ने विषय जोडर लेखिएको नियात्रा छापिएको पत्रिका झोलामा थियो । मैले आफूलाई जानी जानी जहाजबाट ओर्लने अन्तिम यात्रु बनाएँ । ‘नेपाल’ थरकी हवाई सुन्दरीलाई त्यो पत्रिका दिँदै भनेँ-
“बङ्गलादेशमा कालो बुर्का किन लगाउँछन यसमा लेखिएको छ । तपाइँहरुको पहिरन पनि कालो भएछ । पढेर व्यवस्थापनलाई केही सुझाव दिनु होला ।”
उडानमा निति फाउन्डेसनका सौमित्रजी र म सँगै थियौँ । वास्तवमा नेपालगन्जमा आयोजना गरिएको कार्यशाला गोष्ठीमा मलाई पण्डितजीको भूमिका दिने उनै थिए । म यस्ता गोष्ठीलाई हलुका स्नायूमा भन्नु पर्दा “विकासे रुद्री” को संज्ञा दिन्छु । गोष्ठी नेपालगन्जको एउटा नयाँ होटेलमा आयोजना गरिएको रहेछ ।
म तोकिएको कोठामा पुग्ना साथ रुद्री वाचनको तयारीमा जुटेँ । मिनि बार खोलेर हेरेँ । क्यान बियर, जुस आदि देखिए । मलाई भने एकाएक बोतलको बियर पिउँदै स्लाइडमा काम गर्ने सुर चढ्यो । रुम सर्भिसलाई फोन गरेर बियर मगाएँ । बियरको आगमनले एउटा अचम्मको परिस्थिति पनि ल्यायो । बियर ल्याउने केटाले त्यसको बिल पनि साथमा ल्यायो र नगद भुक्तानी गर्नु पर्ने नियम भएको जिकिर गर्यो । यो नौलो काइदा मलाई पचेन । मैले बियर फिर्ता गरेँ । एकैछिनमा फोन आयो ।
“आपने दारु मगाया था ना । उसके लिए आपको क्यास देना पडेगा ।”
“वो दारु नही था । वो तो वियर था ।”
मैले पनि भित्तैमा पुग्ने गरी जवाफ दिएँ । जवाफको पहिलो वाक्य हिन्दी बोलेपछि मैले भाषाको गियर परिवर्तन गरेर अङ्ग्रेजी बोल्न थालेँ । आफ्नै मुलुकभित्र भएको भाषिक गन्जागोल मलाई बिझाइरहेको थियो । मगाएको सामान पनि फिर्ता गर्नु पर्ने स्थिति लोदर लाग्नुको पहिलो प्रमाण भयो ।
रुद्रीमा पनि भाषाको ठूलो समस्या सिर्जना भयो । भारतका सहभागी गोरखपुरतिरका बासिन्दा थिए । उनीहरु हिन्दीमा बोल्थे । नेपालीहरु मध्ये केही हिन्दी नबुझ्ने थिए । अङ्ग्रेजी दुवैलाई समस्या थियो । मलाई केही हिन्दी आउँथ्यो । औपचारिक कार्यक्रममा मैले हिन्दीमा नबोल्ने मान्यता राखेको थिएँ । अन्ततोगत्वा मैले कठिनाइका साथ तिनवटै भाषा प्रयोग गरी रुद्रीवाचन बिट मारेँ । श्रोताका भावशून्य अनुहार, पूर्व वक्ताका रुखा प्रस्तुति, सहभागीहरुको असमान स्तर र निरस विषयवस्तु आदिको कारण रुद्री वाचनमा पनि मजैले लोदर लाग्यो ।
अपरान्ह ५:१० को बुद्धकै उडानबाट काठमाडौँ फर्किने टिकट थियो । सौमित्र अरू दुई दिन उतै बस्नु पर्ने भएकोले यो फिर्ती यात्रामा म एक्लो थिएँ । विमानस्थलका लागि तिन बजेतिर प्रस्थान गरेँ । होटल परिसर बाहिर के निस्कनु थियो, नेपालगन्जको गर्मीले हार्दिक स्वागत गर्यो । सडकमा रिक्सा नामक सवारीको नामनिसान थिएन । रिक्सालाई तिन पाङ्ग्रे टेम्पोले विस्थापन गरेछ । तराईका सहरमा ‘रिक्सा हटाउ’ अभियानले अभूतपूर्व सफलता प्राप्त गरेको देखियो ।
राँझा विमानस्थलमा पुगेर सामान जाँच गराएँ । कार्यशालामा आफ्नो प्रस्तुतिमा रङ भर्न मैले वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धी एक कार्टुन सामग्री ल्याएको थिएँ । त्यसले गर्दा सुरक्षा जाँचको ट्याग लगाउनु पर्ने मेरा दुई पोका भए । हातमा पछाडि भिर्ने झोला थियो । विमानस्थलमा असामान्य चहलपहल देखियो । मनमा चिसो पस्यो । सामान जाँच गर्ने प्रहरी जवानहरुले नै नचिताएको सूचना प्रवाह गरे ।
“पाँच बजेको उडान सात बजेलाई सरेको छ ।”
नभन्दै, काउन्टरमा बुझ्दा पनि त्यही जानकारी पाएँ । मौसमको खराबीका कारण चौतर्फी उडान प्रभावित भएका रहेछन् । मेरो निर्धारित उडान भन्दा अघि काठमाडौँ जानु पर्ने जहाजकै अत्तोपत्तो रहेनछ । बुद्धकै कार्यालयमा सामान राखेर म हाते झोला च्यापेर टर्मिनल भवनबाट बाहिर निस्किएँ । हिजो बियरपान गर्न नपाएको रनाहाको अवशेष बाँकी नै थियो । म विमानस्थल परिसरको चमेना गृहमा पुगेँ । त्यहाँ पनि अत्यधिक भिड थियो । ग्राहक धेरै भएको ठाउँमा सेवा निम्छरो हुन्छ । यसैले मैले टर्मिनल भवन बाहिर गएर केही खाजा खाने सोच बनाएँ ।
लगभग एक घण्टा बाहिर बिताएर फर्किँदा चहलपहल अझ बढेको थियो । बस्ने ठाउँ पनि मुस्किलले भेटियो । चिनजानका साथीभाइ कोही भेटिन्छन् कि भनेर आँखा डुलाएँ । कोही पनि भेटिएन । मेरो भन्दा अघिल्लो जहाज त आयो तर त्यो विमानस्थलमा नै थलापर्यो भन्ने सुनियो। ‘जहाज पनि थला पर्दो रहेछ’ भन्ने ज्ञान मलाई अस्ति बङ्गलादेशबाट फर्किँदा भएको थियो ।
त्रिभुवन विमानस्थलमा जहाज अवतरण गर्दा बङ्गाली हवाई सुन्दरीले उदघोषणमा भनेकी थिइन्-
“विमान पूर्ण रुपले थला पर्छिन् ।”
“जहाज पूर्ण रूपले नरोकिएसम्म मोबाइल फोनको प्रयोग नगर्नु होला” भन्ने वाक्यलाई बङ्गालीमा भन्दा जहाज थला पर्ने कुरो आएको थियो । यो अविस्मरणीय प्रसङ्ग फेरि एक पटक ताजा भयो ।
साँझको छ बज्यो । न त थला परेको जहाजले उड्ने सुरसार गर्यो न त हाम्रो जहाजको टुङ्गो लाग्यो । सौर्य एयरले उडान रद्द भएको घोषणा गर्यो । हामीलाई भने अझै टुङ्गो नलागेको जानकारी दिइयो । अनिश्चयका बादलबुर्कुसी मार्दै रमाउन थाले । उडान रद्द हुने लगभग पक्का भयो । तर मौसम विद्ले घनघोर वर्षा हुने भविष्यवाणी गरे जस्तै बुद्ध एयरका सम्पर्क कर्मचारीले आज रद्द भएको उडान भोलि सुचारु हुन सक्ने झिनो सम्भावना व्यक्त गरे । मेरो मानसपटलमा भइपरिआएको परिस्थितिसँग जोडिएको अनिश्चयको भूमरीको पृष्टभूमि वोकेको प्रश्नको जन्म भइ सकेको थियो-
“अब के गर्ने ?
सौमित्रजीलाई फोन गरेर स्थिति अवगत गराएँ । उनले मेरो लागि लोदर लागेको होटेलमा कोठा आरक्षण गराइदिने वचन दिए । चिन्ता बस्ने भन्दा पनि कहिले फर्कने भन्ने थियो । मेरो जस्तै अनिश्चयको आँधीले सातो उडाएका यात्रुहरुको सक्रियता एकाएक बढ्यो । कसैले नयाँ जानकारी ल्याउला कि ! वा कुनै वैकल्पिक व्यवस्था होला कि ! यसैमा सबैले चासो राख्न थाले । म पनि चनाखो भएँ । नेपालीहरुले त नेपालीको भाषा बुझ्दथे । के भइ रहेको छ भन्ने सहजै अनुमान गर्थे । नेपाली भाषा नबुझ्ने र एक्लै यात्रा गरिरहेका विदेशीहरुका लागि भने यो सन्त्रासको छेउ टुप्पो थाहा हुने कुरो थिएन । मेरो मनमा यो भाव मडारिनुको एक कारण थियो । मङ्गोलियन मूलका एक विदेशी मोबाइल चलाइ रहेका थिए । म उनी छेउ गएँ ।
“एक्स्क्युज मि, आर यु अल्सो टेकिङ बुद्ध एयर ?”
उनले “हो” भने । जापानीज रहेछन् । मैले जापानी भाषामा अभिवादन गरेँ । उनलाई स्थितिको अवगत गराएँ । मैले उनलाई दिएको जानकारी सुखद थिएन । त्यसले उनको अन्यौललाई चिरेको थियो । यसकारण भनिएको छ-
“अनिश्चयको साँझमा रुमल्लिनु भन्दा अब झन् अन्धकार हुन्छ भन्ने थाहा पाउनु जाती हुन्छ” ।
किनभने यसो हुँदा जडताको सिकार भएको व्यक्तिले अन्धकारसँग सामना गर्न आफूलाई तयार गर्ने अवसर पाउँछ ।
“आइ हाइली एप्रिसिएट युर हेल्प । थ्याङ्क यु सो मच ।”
उनले मेरो प्रशंसा त गरे । तर मेरो जानकारीले उनको पनि यात्रा झन कष्टकर बनाएको थियो । हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ । यसले कुनै व्यक्ति वा पद्धतिलाई जडताको सिकार हुनबाट बचाउँछ । हाम्रो स्थितिमा पनि त्यस्तै भयो ।
“हजुर नवराज सर हुनुहुन्छ, होइन ?”
एक पुरुष पात्रले मलाई औल्याएर सोधे ।
“हो । तर, कसरी चिन्नु हुन्छ मलाई ?” मेरा आश्चर्य र हर्षका ढोका एकाएक खुले ।
“मलाई रीता म्याडमले पढाउनु भएको हो । फेसबुकमा देखेको हजुरको तस्बिर सम्झिएँ ।”
उनी सुवेन्द्र ताम्रकार रहेछन् । पोखरामा शिक्षक रहेछन । उनी मेरा लागि भुइँचालो गएर भत्केको घरले थिचिएको व्यक्तिलाई उद्धार गर्न पुगेको उद्धारकर्मी जस्तै भएर उदाए । विलखबन्दमा परेका एक अर्का यात्रुसँग उनको केही क्षण अघि परिचय भएको रहेछ । उनी भने मोबाइलमा कसैसँग कुरा गर्दै थिए । जिप भाडामा दिने साहुसँग कुरा गर्दै रहेछन् । जिप पाइयो भने टिकट रद्द गरेर त्यसमा जाने उनको सोच रहेछ । केही समय अघि एक आपसमा परिचय भएका दुई युवती पनि त्यो अवसर छोप्ने दाउमा रहेछन् । यसरी म सहित पाँच जनाको समूह भइसकेको कुरा सुवेन्द्रले भने ।
मैले पनि त्यो विकल्प नगुमाउने विचार गरेँ । आखिर एउटा स्कर्पियो पाईयो । मैले सुवेन्द्रसँग सल्लाह गरी जापानीजलाई पनि हामीले सडकमार्गबाट जाने निधो गरेको र एउटा सिट खाली भएको व्यहोरा अवगत गराएँ । ऊ दङ्ग पर्यो र हाम्रो प्रस्ताव सहर्ष स्वीकार गर्यो ।
जे होस्, यसरी एकाएक सतहमार्गको यात्राको तयारी भएको थियो । हामी ६ जनाको सशक्त दस्ता निर्माण भएको थियो । साढे सात बजे हामी राँझाबाट काठमाडौँको लागि प्रस्थान गर्यौँ । जिपमा दुई युवती बिचको सिटमा बसे । मैले पछाडिको सिट रोजेँ । कारण थियो जापानीज मित्रलाई साथ दिनु । सन्दिपजी, जसले गाडीको व्यवस्था गर्नु भएको थियो वहाँ अगाडि चालक सँगैको सिटमा बस्नु भयो । सुविन्द्रजी युवतीहरुको देब्रेतिर झ्यालपट्टि बस्नु भयो ।
नेपालगन्जबाट कोहलपुर आउने सडक स्तरोन्नति गरिएको छ । रात्रीको समय । स्तरीय सडक । सडकमा नगण्य सवारी साधन । तय गर्ने निर्धारित दुरी ५०० किमी भन्दा पनि बढी । स्कर्पियोलाई बतासिनका लागि यी कारण काफी थिए । यात्रा-गफ गर्ने हाम्रो तिन समूह बन्यो । जापानीज मित्र र म उसका र मेरा पेशागत संलग्नताका कुरा खोतल्न थाल्यौँ । सुवेन्द्र र सन्दिपजी सवारी साधनका कुरा गर्न थाले । दुई युवती आ-आफ्ना भूगोलका ।
केही बेर पछि मैले सबैको ध्यानाकर्षण गर्दै भनेँ-
“हाम्रा गफ गर्ने पार्टी धेरै भए । अब एउटै पार्टी गर्ने । तर गफमा लैङ्गिक समानता हुनु पर्छ । सबै भन्दा पहिला चेलीहरुको पूरा परिचयबाट सुरु गरे कसो होला ?”
मेरो प्रस्तावमा पुरुषवर्गले सहमति जनाए। चेलीहरु भने मौन बसे ।
“घर कहाँ पर्यो त नि चेलीहरुको ?”
“मेरो कपिलवस्तु हो ।”
झ्यालतिर बसेकी चेलीले रङ्गमञ्च सम्हालिन् ।
“अनि बिचमा बस्ने चेलीको ?”
“फटाफट उत्तर सुन्नुको साटो हजुरहरुले नै यस बारेमा अनुमान गरे कसो होला ?”
बिचमा बस्ने चेलीको भने गफको रङ्गमञ्चमा प्रवेश घुमाउरो थियो ।
हामीले धानखोलामा खाना खायौँ । त्यतिन्जेलमा हामी एक अर्कामा धेरै खुलिसकेका थियौँ । घुमाउरो जवाफ दिने चेलीको नाम करिश्मा रहेछ । उनी मध्य-पश्चिमाञ्चल क्षेत्रमा आधारशिविर बनाएको एक गैरसरकारी संस्थाको कार्यक्रम संयोजक पदमा काम गर्दिरहिछन । एक दिने अभिमुखीकरण तालिमका लागि राजधानी जाँदै रहिछन् । सन्दिपजी भने पेशाले इन्जिनियर हुनु हुँदो रहेछ । लगनखेलमा वहाँको आफ्नै फर्म रहेछ । रङ्गमञ्चमा सहज प्रवेश गर्ने चेलीको नाम शर्मिला रहेछ । उनी काठमाडौँमा बसेर परीक्षा दिने तयारी गर्दै रहिछन् । अमेरिका जाने निधो भइ सकेको रहेछ ।
“किन जान लाग्नु भो त नि अमेरिका ?”
“नर्स अमेरिका किन जान्छन्? सर पनि कुरा बुझ्न ट्युबलाइट जस्तै हो कि क्या हो ?”
शर्मिलाले मलाई फुलको जवाफ काँडाले दिइन् । सबै गलल हाँसे । करिश्मा र शर्मिला दुवैले नर्सिङको स्नातक तह सम्म पढेका रहेछन् ।
नारायणघाटसम्मको यात्रामा कुनै लोदर लागेन । दु:ख सुख हामी निदायौँ । रात्रीको दुई बजे तिर हामी फेरी गफको रङ्गमञ्चमा प्रवेश गर्यौँ । स्कर्पियो सयौँ सवारी साधनको बिचमा चेपिएको थियो । नारायणघाट-मुग्लिन खण्डको सडकको स्तरउन्नति गर्ने काम वर्षौ पुरानो भएको थियो । कतिपयले नेपालमा किन पूर्वाधारका यस्ता काममा अनपेक्षितढिलाइ हुन्छ भन्ने विषयमा सिधा सपाट धारणा बनाएका छन् । निर्माण कार्यमा नगद फल्छ । काम जति लम्ब्यायो उति धेरै नगदको बाली लाग्छ । लोडसेडिङ हुँदा पनि यस्तै भन्थे । आखिर कुलमान भ्रमभञ्जक भएर निस्किए । सडक निर्माणमा पनि कुलमान जस्ता भ्रमभञ्जक अवश्य निस्केलान् । म यस्तै कल्पनामा डुबेको थिएँ ।
“गाडीको सङ्केत सुइले हुने सम्मको कम स्पिड देखाउँछ ।” चालकले भने ।
हुन पनि हामी दश किमी प्रति घण्टा पनि गुडेका थिएनौँ । यस हिसाबले मुग्लिन पुग्न मात्रै पाँच घण्टा लाग्ने भो । चालिस किलोमिटरको दुरीलाई पाँच घण्टा लगाउनुको एउटा पीडा एकातिर थियो, अर्कातिर मेरो दाहिने घुँडो एकाएक दु:ख्न थाल्यो । पछाडिको सिट अलि अप्ठ्यारो नै थियो । फेरि मेरा दाहिनेतिरका झोला शत्रु बनेर उदाएका थिए । घरी घरी तिनले मलाई ठेलेर झन् असहज बनाउँथे । मैले साथीहरुलाई मेरो पीडा भनेँ । बिहानको तिन बजेतिर हामीले सिट साट्यौँ । म अगाडिको सिटमा गएँ । जापानीज मित्रलाई चेलीहरु सँगैको सिट दियौँ । सुविन्द्रजी र सन्दिपजी पछाडिको सिटमा बस्नु भयो ।
सात बजे मुग्लिन पुगियो । सुविन्द्रजी पोखरा जानु पर्ने भएकाले वहाँ त्यहाँबाट छुट्टिनु भयो । मुग्लिनमा हामीले चिया नास्ता गर्यौँ । मैले हाम्रो यात्रा खर्चको फेहरिस्त निकालेँ । सुविन्द्रजीसँग नगद कम रहेछ । जापानीजसँग डलर मात्र रहेछ । मुग्लिनको एटिएमले काम गरेन । यी भने झिना मसिना लोदर थिए । तिनलाई हामीले मिचमाच पार्यौँ ।
मुग्लिनबाट प्रस्थान गर्दा मैले जापानीजलाई अगाडिको सिटमा बस्न अनुरोध गरेँ । अब भने म चेलीहरुको साथमा थिएँ । मैले देब्रेतिरको झ्यालकै सिट पाएँ । बिचमा करिश्मा थिइन् । तर उनको र मेरो बिचमा पछाडि भिर्ने एउटा झोला थियो । यात्राको सुरुवातदेखि नै त्यो झोलाले मेरो ध्यानाकर्षण गरेको थियो । सबैका झोला पछाडि राख्ने वेलामा करिश्माको पनि पछाडि राख्न सोधिएको थियो ।
“मलाई सजिलो हुन्छ । म यसलाई साथ मै राख्छु ।”
उनी रक्षात्मक भएकी थिइन् । नचिनेका पुरुषहरुसँग गाडीमा सँगै बस्दा पक्कै पनि उनलाई असजिलो भएको हुँदो हो । त्यो असजिलोको आयतन घटाउन उनले झोलाको सहारा लिएकी थिइन् । कुरो स्पष्ट थियो ।
“करिश्माजी, यो झोलाको बार हाम्रो विदेशी मित्रलाई पनि लगाइयो ?” मैले उनको मन चोर्ने प्रयास गरेँ ।
“विदेशी त झन् परार्इ भएन र ?”
“चिनजान भइ सक्यो । उज्यालो पनि भयो । अब त यो बार भत्काए हुँदैन ?”
हाम्रो गफको रङ्गमञ्चमा झोलाको बारले विशिष्ट स्थान पायो । सार्वजनिक स्थलमा सेक्सुअल ह्यारासमेन्ट अर्थात् यौन उत्पीडनका दृष्टान्तहरुको पनि बहस भयो ।
मलेखु र गल्छीको बिचतिर गाडी रोकियो । राजमार्गको देब्रेतिर शौचालय र एक किराना पसल थिए । पसलको नामतिर मेरा दृष्टि परे । सटरको शिरमा लेखिएको थियो: साला-भेना किराना पसल । पसलमा दुई जना अधबैँसे पुरुष थिए ।
“यो पसलको नाम किन साली-भेना भएन ?” मैले मुस्कुराउँदै सोधेँ ।
“शायद राम्रा साली नभएर होला ।”
उत्तर दिने व्यक्ति मूल साहुजी थिएनन् होला ।
मैले उनीहरुलाई केही दिन अघि सुनेको ‘राम्रा साली’को चुटकिला सुनाएँ ।
असाध्यै राम्रा साली भएको एक भिनाजु ससुराली पुगेछ । गफगाफको सिलसिलामा सासू र ससुरालाई भनेछ ।
“हजुरहरुसँग रसबरी र लालमोहन हुँदा हुँदै मलाई कसार किन भिडाइदिएको ?”
त्यो क्षणसम्म आफ्नै काममा ध्यान दिएका साहुजी एकाएक हाँसोको धर्को पुरै तन्काएर हाँसे । उनका साथी पनि बेजोडले हाँसे ।
हाँसो थामिए पछि साहुजीले भने-
“हो सर । त्यस्तै भएको हो । रसबरीको स्वाद लिने अरू नै जौडै निस्किए ।”
रसबरी र कसारको यो चुटकिला मैले मेरा सहयात्रीलाई पनि सुनाएँ । मलाई लाग्यो-लोदरलाई परास्त गर्ने यी अस्त्र प्रयोग हुन समूह मिल्नु पर्दो रहेछ । परिस्थीतिअनुकूल हुनु पर्दो रहेछ । यस पटकको भइपरि आएको सडक यात्रामा यस्तै भयो । लोदरको सिलसिला भने घर नपुगुन्जेलसम्म कायम नै रह्यो ।
जापानीज मित्रलाई त्रिपुरेश्वरमा छोडेर ठमेल पुग्दा दिनको एघार बजेको थियो । ठमेलको मर्स्याङ्दी होटेलमा करिश्माको तालिम चलेको रहेछ । उनलाई त्यहाँ पुर्याएर शर्मिलालाई छोड्न चावहिल गयौँ । चावहिलमा हामी गणेशस्थान तिर लागेछौँ । चावहिल चोकबाट गौशाला हुँदै आउने ध्येयले गाडि चक्रपथमा के पुगेको थियौँ त्यहाँ त भीमकाय जामदेखियो । फेरि फर्केर गएकै बाटो आउँदा लगभग आधा घण्टा जाममा परियो । मलाई कोटेश्वरमा छोडेर सन्दिपजीको बालकुमारी जाने योजना थियो । मेरो घरमा भने एक जना मित्र मलाई भेट्न आइ सक्नु भएको थियो । यसैले गृहमन्त्रीको फोन तारन्तार आइरहेको थियो । कोटेश्वर पुलिस चौकीबाट भित्र छिरेका मात्र के थियौ-भेटियो मेलम्चीको खाडल । गाडी घुमाएर महादेवस्थान मार्ग हुँदै बिचको सानो गल्ली भएर श्रीशान्ति मार्ग निस्कने प्रयास गरियो । सानो गल्लीमा फेरि विपरीत दिशाबाट आएको सानो मालबाहक टिपरले बाटो छेक्यो । टिपर चालकको अनुहारमा बेफ्वाँकको आक्रोश देखियो । बाटो उसकै बाउको सम्पति हो झैँ गरी आँखा रातो पारेर हामीलाई हेर्न थाल्यो । हामी संयमित भयौँ । त्यसले फेरि २० मिनटको लोदर थप्यो । यसरी नेपालगन्ज-काठमाडौँको ढोकादेखि ढोकासम्मको २२ घण्टे लोदर यात्राको समापन भयो । मैले घर पुगेर निचोड निकालेँ । मच्चिएको लिङ्गे पिङको जस्तै यो यात्राका चरम सीमाहरुको खोजी गरेँ-
“एकातिर लोदर भेटियो भने अर्कोतिर झोलाको बार ।“
चैत्र ३०, २०७३
सिद्धार्थ होटेल, सुर्खेत
शुक्रवार, वैशाख १, २०७४ मा मिर्मिरे अनलाइनमा प्रकाशित
लिङ्क: http://www.mirmireonline.com/2017/04/archives/60506
No comments:
Post a Comment