त्रिशूलीको भूगोल । जालपादेवीको सानिध्य । एक पटक भत्काएर पुनर्निर्माण गरिएको पृथ्वी राजाको शालिक । अपरान्हका सूर्यनारायण । वर्तमानको मेरो सेरोफेरो ।
म अथाह जलप्रवाह बोकेर अविरल बगेकी नदीमा परेको प्रकाश र पृष्ठभूमिमा देखिएको फाँट र पहाडको मनोरम दृश्य पान गर्न थालेँ । मोबाइल निकालेर तस्बिर खिच्नै लागेको थिएँ । मेसेज आएको आवाज आयो । तस्बिर खिच्ने काम छोडेर म मेसेज पढ्न थालेँ ।
‘के को फोटो खिच्न लाग्नु भो ?’
कसैले मेरो ध्यानाकर्षण गर्यो । आवाज आएतिर हेरेँ । भगवान् शिवकै साक्षात्रूप । दायाँ हातमा तामाको सानो हत्तर,बायाँमा सर्प जस्तै देखिने लौरो, गेरु वस्त्र, रुद्राक्षको मालाले बाँधिएको नाडी, र निधारमा खरानीको पोतो । घाँटीमा नागको माला भएको भए महादेवसँग भेट भएको भन्न मिल्ने । एकाएक पदार्पण भएका बाबा देखेर म अचम्म परेँ ।
‘एक छिन है, बाबाजी ।’
उनीसँग वार्तालाप गर्न इच्छा भएको सङ्केत दिएर म हतार हतार मेसेजको जवाफ दिन लागेँ । बाबा उभिएर मेरो क्रियाकलाप नियाल्न थाले ।
‘ए बाबाजी ! कहाँ हो नि घर ?’
मेसेजको चटारोले उनको प्रश्न मैले बिर्सिएछु । सम्भवत: पेशा या व्यवसायको हिसाबमा उनको लागि मेरो यो प्रश्न सही थिएन । किनभने जोगीको अरुको जस्तो स्थायी कित्ता हुँदैन । बास हुन्छ तर घर हुँदैन । ‘जहाँ गयो त्यहीँ घर । अहिले त्रिशूलीकिनारमा हो ।’
नभन्दै जवाफ त्यस्तै आयो । लोकको भनाइ चरितार्थ भयो । उठ् जोगी फड्कार् छाला, जहाँ जाला उहीँ खाला ।
‘जन्मेको ठाउँ त होलानी ?’
मैले मेरो प्रश्न सच्याउने जमर्को गरेँ । जोगी पनि मान्छे हो । यसकारण मेरो मान्यता हो मान्छे भए पछि घर हुन्छ, घर भए पछि मान्छे हुन्छ ।
‘बारा हो ।’
‘के थरी हुनु भयो ?’
उनको हाउभाउले सङ्केत गर्यो । साधु महाराज फेरि अर्को गलत प्रश्नको सिकार भएका छन् । म भने अन्जानमा नै जोगी र अन्य मान्छेका समान र असमान विशेषता खोजिरहेको थिएँ । एक मनले भन्यो अरू सामान्य जनलाई सोध्ने मेरा यी खिया लागेका प्रश्नले बाबालाई जिस्क्याइ रहेकाछन् । बाबा भने आधुनिक लुगा लगाएको, सन्यास धर्मको भाषा नबुझ्ने यो हरिलठ्ठक भोगी मनुवाको प्रश्नमा भित्रभित्रै चक्कराइरहेका थिए कि ! बाहिर भने उनी विचलित नभएको जस्तो गरिरहेका थिए ।
‘जोगीको कुनै थर हुँदैन ।’
‘आफन्त होलान् । जन्मदिने बा आमा होलान् । मान्छे भए पछि किन हुँदैन नि थर ?’
म प्रश्नको पृष्ठभूमि अझ मजबुत पार्छु । उनी बेघरबारका जोगी तर म घरजम भएको मान्छे । उनी र ममा के फरक छ ? आज म यो भिन्नता बुझ्दै थिएँ । एकातिर नाम, थर, पद, पैसा र पहिचानको गह्रौँ भारी बोकेर हिँड्ने तथाकथित कर्मयोगी । अर्कोतिर वैराग्यको बिरासतमा डुबेका सन्यासी ।
कपास जस्तो हलुका भएर हिँडेका छन् । मेरो मनमा शङ्का पनि पलाउँछ, यी साधु महाराज पनि तथाकथित हुन सक्छन् ? किन नसक्नु ? आखिर अहिलेको जमानामा को पो पूर्ण पात्र छ र ? कसले पो स्वधर्म बोकेर हिँड्छ ? कसले पो आदर्शको दोसल्ला ओडेर हिँड्छ ?
‘मेरो एक आफन्त तपाइँ नै हो । बितिसकेका बा आमाको के कुरा भयो र ? भन्नुहोस् न, तस्बिर केको खिच्न लाग्नु भो ?’
यसो भन्दै उनी मुस्कुराए । हाम्रो सवाल जवाफ सुरताल नमिलेको सङ्गीत जस्तो भएको थियो । उनले तस्बिरको कुरा निकालेर वार्तालापको सुरताल मिलाउने प्रयास गरे ।
मेरा अनुचित प्रश्नले हैरान भएका बाबाले आफ्नो उत्तरमा गजबको विराम लगाए । उनी मेरो तस्बिरको हुलिया जान्न चाहन्थे । मेरा आँखाले खोजेको प्रकृतिको खजानाको बारेमा जान्न चाहन्थे ।
तस्बिर खिच्न लागेको मान्छेलाई सोध्ने यो प्रश्न पनि अनौठो नै होला । आखिर उसले खिच्नलागेको दृश्यतिर हेरे त भइ गयो नि । किन पो सोधिरहनु ? केको तस्बिर खिच्न लाग्नु भो ? क्यामेरा फर्केको दृश्यतिर हेरेर आफैँ अनुमान गरे त भइ गयो नि । उनको चासो मलाई नौलो लाग्यो ।
‘यो फाँटमा लागेको घाम र यो भीमकाय सिन्धुको ।’
सवाल जवाफमा मैले ‘सिन्धु’ शब्दको पहिलो तर नौलो प्रयोग गरेँ । आखिर जवाफ अर्काले बुझ्नु पर्छ भन्ने के छ र ? त्यो पनि समाजको पल्लो कित्तामा चर्ने यी डामेर छोडेको साँढेजस्ता फिरन्ते मनुवासँग ।
‘कति पर्छ यो मोबाइलको ?’
सुनेको थिएँ, अर्थशास्त्रको शब्दकोशमा जोगी शब्दको प्रविष्टि हुँदैन । किन भने अरूको जस्तो न त उसको आयको हिसाब हुन्छ न त व्ययको । न त कुनै बैङ्कमा यिनको खाता हुँदो हो । न कुनै एटिएम कार्ड, न त कुनै कारोबार । पासपोर्ट, नागरिकता र लालपुर्जा त झन् दूरका कुरा भए ।
ऋण तिर्न नसके पछि साहुकहाँ पुगेर कुनै आसामीले भन्छ-
‘व्यवहार बिग्रेर मेरो जोगीको हालत भयो । म्याद अरू केही समयका लागि थपि पाऊँ ।’
साहु ‘जोगी’ भन्ने शब्द सुन्दा सायद पग्लिन सक्छ । यसरी ‘जोगी हुनु’ भनेको अर्थशास्त्रको कित्ता बाहिर पुग्नु हो भन्ने निचोड निस्कन्छ भन्ने मलाई लाग्छ ।
कवि शिरोमणि लेखनाथ पौड्यालले मुसा, मानिस र मौरीमा गजबको समानता भेटे । यी तिनै प्राणी आफूलाई चाहिने भन्दा बढी सम्पत्ति सञ्चय गर्छन् । अनि जीवनभरि चिन्ता र पीडा बोकेर हिँड्छन् । विधाताले प्राणी जगत्लाई दिएको प्रेस्कृप्सन पनि गजबको छ । आखिर जोगी पनि त प्रेसक्रिप्सनको एउटा अपवाद पात्र न हो ।
केही वर्षअघि मेरी पत्नीले शनि ग्रहको स्वस्ति शान्ती गर्न जप गराएकी थिइन । जपकार्य पश्चात् केही तिल, फलामका हतियार र कालो कपडा लगायतका काला रङ भएका सामग्री दान गर्नु पर्ने भयो । कारणवश हामी पशुपतिनाथ मन्दिर जान सकेनौँ । यसैले कोटेश्वर महादेवस्थान परिसरमा सिदा दान गर्न गयौँ । शनिको नाम सुन्ना साथ पुरेतहरु डराए । कसैले पनि सिदा लिन मानेनन् ।
‘यस्तो दान त जोगीले मात्र लिन्छ ।’
हाम्रो समस्या सुनेका कुनै शुभचिन्तकले सुनाए ।
नभन्दै एक जोगीले ती सामग्री सहर्ष सवीकारे । त्यसदिन मलाई लाग्यो, जोगी भनेको यस्तो पात्र हो जसले अरूले नलिने सिदा पनि स्वीकार गर्न सक्छ । सम्भवत: यो पात्र प्रशान्त महासागरको बर्मुडा त्रिभुज जस्तै हो जहाँ जस्तो जहाज वा भौतिक वस्तु पनि अलप हुन सक्छ । उसलाई कालोको डर हुँदैन । अन्धकारको भय हुँदैन । मसानघाटको मलिनता उसको शालीनता हुन्छ । अरूको ‘कालो’ जोगीको लागि ‘रङ्गिन’ वस्तु हो । ऊ सँग त्यो ग्रहण गर्ने अतुलनीय सामर्थ्य छ जो अरू सामान्यको वश भन्दा बाहिर छ ।
चरा, जोगी र अजिङ्गरको आहारा दैवले पुर्याउँछन् रे । यस अर्थमा जोगी भनेको मान्छे जातको समूहमा ‘हाँसको बिचमा बकुल्लो’ हो । बहस गर्दै गए निचोड निस्कन सक्छ । सायद जोगी नै सबैभन्दा सुखी मान्छे हो । किनभने ऊ शोक न सुर्ता भोक न भकारी उखान चरितार्थ हुने कित्ताको केन्द्र भागमा हुन्छ । कालो दान पनि सहर्ष स्वीकार गर्छ । जहाँ गए पनि घुलमिल हुन्छ । एक्लो जीवन बाँच्छ । जगेर्ना गर्न जान्दैन, भोकै पनि मर्दैन । आधुनिक अनुसन्धान विज्ञानका विधि लगाएर कसैले शोध गरे पक्कै मेरो अड्कलको पुष्ट्याइँ हुने थियो होला ।
मेरो सामसुङ मोबाइलको मूल्य प्रसङ्गमा फर्कन्छु । बाबा कौतुहल बोकेर मेरो जवाफ सुन्न आतुर देखिन्छन् ।
‘पच्चिस हजार ।’
‘बाफरे ! पच्चिस हजार पर्छ ।’
एक सामान्य जोगीका लागि पच्चिस हजार भनेको मेरा लागि पच्चिस करोड जस्तै होला । यसैले उनको आश्चर्य भाव उजागर हुनु स्वभाविक होला । मैले केही प्रत्युत्तर दिनु जरुरी थियो । उनले हातमा बोकेको तामाको भाँडोमा ध्यान गयो । त्यसैलाई देखाउँदै मैले भनेँ-
‘यसको दाम कति पर्छ नि ? हेर्दा तामाको जस्तो देखिन्छ ।’
‘पच्चिस सय ।’
‘पच्चिस सय ! के भन्छन् नि यसलाई ?’
मैले पनि मेरो पहिलो अभिव्यक्ति विस्मयादिबोधक बनाएँ । पक्कै पनि अर्थशास्त्रको कित्ता बाहिरको ‘अवित्तीय’ पात्रले बोकेको वस्तुको त्यत्रो मूल्य हुनु मेरा लागि पनि त अनौठो नै हो ।
‘अम्खोरा ।’
‘अम्खोरा त सानो पो हुन्छ । हुन ता ठुलो अम्खोरा या सानो गाग्रो जे भने पनि भयो ।’
मैले कुराको किनारा लगाएँ ।
‘आउनुहोस् बाबाजी । एउटा फोटो खिचौँ । आखिर सेल्फीको जमाना छ ।’
उनले मेरो प्रस्ताव सहर्ष स्वीकार गरे । मैले मेरो र उनको सेल्फी खिचेँ । मोबाइलमा भर्खर खिचेको हाम्रो तस्बिर उनलाई देखाइदिएँ । यो रोचक तस्बिरका पहिला दुई दर्शक नै हामी दुई थियौँ । तस्बिरमा दाहिनेतिर म थिएँ, देब्रेतिर उनी । उनको कद मेरो भन्दा होचो । मेरो सर्ट र उनको गेरु वस्त्रको समान रातो रङले तस्बिरमा मूल्य थपेको थियो ।
‘खै तपाइँको मोबाइल दिनु त । म पनि एउटा सेल्फी खिचौँ ।’
यदि ज्यान भएको भए साधु महाराजको अनपेक्षित उदघोषले मेरो मोबाइलको सातो जान्थ्यो होला । मेरो निदाएको छैटौ इन्द्रियले एकाएक सतर्क भएको सूचना दियो । बाबाले लक्ष्मण रेखा काटेको अनुभूति मलाई भयो । उनी अब भने अर्थशास्त्रको खलोमा प्रवेश गर्ने जमर्को गर्दै थिए । उनको हातमा मेरो मोबाइल दिनु ? मैले उनको इच्छाको आशय बुझ्न सकिन । के उनी अर्थशास्त्रको कित्तामा या फोटोग्राफीको कित्तामा रमाउन चाहन्छन्? मैले उनको हत्तर या सर्प-लठ्ठी हातमा लिए बराबर हुन्छ ।
उनका यी सामग्रीको न मलाई कुनै औचित्य हुन्थ्यो । न म चाहन्थेँ । अहिलेको जमानाको मेरो प्राण प्रिय वस्तुको उनलाई कुनै औचित्य होस् । के ठेगान उनी पनि साँच्चिकै तथाकथितको कित्तामा रहेछन् भने । मेरा मनमा एक निमेषमा यी शङ्का र उपशङ्काका बादल मडारिए ।
सच्चा जोगीको बारेमा एक मित्रले भनेको कथा स्मरण भयो । कुनै सहरमा एक नाम चलेकी वेश्या थिइन । उनको कर्मथलो नजिक एक युवा जोगीले कुटी बनाए । जोगीको जिउडाल र व्यक्तित्व राजकुमारको जस्तो थियो । युवतीले ती युवा जोगीलाई आफूले प्रदान गर्ने यौन सुखको आनन्द लिन निम्तो दिइन ।
‘निमन्त्रणाको लागि धन्यवाद, देवीजी ! तर म त्यो स्वीकार गर्न असमर्थ छु ।’
‘तिमी साँच्चि नै मेरो निम्तो अस्वीकार गर्न सक्छौ त ?’
युवतीको आह्वानले युवकको मनमा आवेगको आगो बाल्न सकेन । आखिर ओसिएको बारुदले आगो बल्दैन, सलाईको खोलको मसला जतिसुकै तेज किन नहोस् । फुल जतिसुकैसुन्दर भए पनि भमरामा चाह नभए ती दुईको मिलन हुँदैन । आफ्नो पुरुषत्व दाउमा पार्न खोज्ने युवतीलाई युवा जोगीले यसरी जवाफ दिए ।
‘म कुनै दिन यो प्रश्नको उत्तर तिमीलाई अवश्य दिनेछु ।’
समयको चक्र धेरै घुम्यो । युवा वृद्ध भए । उनलाई जीवनको अन्तिम अवस्थामा पुगेको अनुभूति भयो । आफ्ना एक शिष्यलाई आफ्नो पुरुषत्वलाई चुनौती दिने वेश्या खोज्न पठाए । तिनी शहरकै एक बृद्धाश्रममा भेटिइन् । शिष्यले उनलाई जोगीको आश्रममा लिएर आए ।
‘देवीजी ! मैले सकेँ ।’
बृद्ध जोगीले आफ्नो जीवनकालकै सबैभन्दा कठिन प्रश्नको सटिक तर छोटो उत्तर दिए ।
म फेरि त्रिशूलीकिनारमा फर्किएँ । मेरो मोबाइलमा आँखा लगाएका जोगीतर्फ मेरो ध्यान गयो । उनले दाम पनि सोधेका थिए । उनले न त मेरो परिचय मागे । न त म त्यहाँ जानुको उद्देश्य नै सोधे । यसैले मैले आफूले आफूलाई प्रश्नमाथि प्रश्न गरेँ ।
‘जोगीको सेल्फी मोह किन ?’
‘कहीँ मेरो प्रिय मोबाइल हातमा पारेर सुइँकुच्चा ठोक्ने दाउ त होइन ?’
त्यसो भयो भने त्यो निर्जन ठाँउमा म के गर्न सक्थेँ । अर्थशास्त्र र पुर्जाप्रमाणबिहीन अपरिचित व्यक्तिसँगको व्यवहार मेरो ‘नदुखेको कपाल बाँध्ने डोरी’ को रूपमा विकसित हुन सक्थ्यो ।
‘त्यो चाहिँ नगरौँ होला ।’
मैले निर्णय सुनाएँ । उनको ‘किन ?’ भन्ने प्रश्न आउनु अघि म उनीसँग बिदा भएँ । किनभने सबै निर्णयको कारण सार्वजनिक गर्नु पनि त जरुरी छैन ।
अहिलेसम्म पनि एउटा अन्योल भने यथावत् छ । त्रिशूली किनारका जोगीलाई मोबाइल छुन नदिएर के मैले ठिक गरेँ कि बेठीक ?
७:५२ बजे
पौष ०२, २०७३
बेत्रावती, नुवाकोट
No comments:
Post a Comment