नेपालबाट पूर्व उड्दा देब्रेतिरको झ्यालको सिट र पश्चिम उड्दा दाहिनेतिरको झ्यालको सिट रोज्ने मेरो बानी यसपटक पनि कायम रह्यो । मेरो टिकट मिलाउने ट्राभल एजेन्सीलाई यो कुरा स्पष्ट भनेको थिएँ । टिकट जाँच कक्षमा तिनजनाको कागजात एकैसाथ बुझाउनुपरेकोले मेरो माग जोखिममा परेको आभास मलाई भएको थियो । यसैले सामान जाँच गराउन अगुवाइ गरिरहेकी सहयात्री शिलालाई सिट रोजाइका विकल्प पनि उल्लेख गर्न लगाएँ ।
‘तिनै जनालाई देब्रेतिर झ्यालका अलगअलग सिट ।”
नभए,
“एक जनालाई देब्रेझ्यालतिर पारेर तीनै जनालाई एउटै लहरमा ।”
नभए,
“जता भए पनि तीनै जनालाई एउटै लहरमा ।'
दुर्भाग्यवश नतिजा नचिताएको चैँ आयो । विकल्पहरूले काम गरेनन् । शिला र म दाहिने तिरको लहरमा पर्यौँ । सूर्यमान सर भने हाम्रो भन्दा पछाडिको सिटमा ।
जहाजमा कुनै उल्लेखनीय प्रसङ्ग सिर्जना भएन । मैले एउटा पुस्तक पढेर अधिकांश समय बिताएँ । हाम्रो गन्तव्य थियो-बङ्गालादेशको दक्षिण समुद्री किनार नजिकमा अवस्थित व्यापारिक केन्द्रको खुलना इन्जिनियरिङ तथा प्रविधि विश्वविद्यालय (कुयेट) । त्यहाँ आयोजना गरिएको फोहोर मैला व्यवस्थापन विषयक एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन हामी छ जना नेपालीको समूह जाँदै थियो । समूहको केन्द्रमा थियो ‘सुन’ जोडी । वातावरण व्यवस्थापन र पूर्वाधार विकासमा जुग बिताएका पूर्वमन्त्री एवं अभियन्ता गणेश शाहले जुराइ दिएको नाम हो– सुन जोडी । यसपटकको यात्रामा मह जोडीको भाइ ‘सुन’ जोडीमा हिरा जडिएर ‘दि सुन’ भएको थियो । किनभने सूर्यमान शाक्य, म र डा. दिनेशराज मानन्धर एकै साथ थियौँ । केही दिनको हाम्रो बाससमेत एकै थलोमा हुने वाला थियो । यो यात्रामा दिनेशजीको साथ दिनु भएको थियो आरती भाउजूले । अर्का सहभागी डा. अनिश घिमिरेको भने दिल्ली हुँदै उडान भएकाले उनीसँग ढाकामा भेट गर्ने सल्लाह थियो ।
हाम्रो ‘अन अराइभल’ भिसा लिने योजना थियो । सूर्यमान सरको रणनीति मुताबिक मैले एक सामूहिक निमन्त्रणा पत्र पनि मगाएको थिएँ । वास्तवमै यसले नै हाम्रो काम धेरै सहज बनाएको थियो । अध्यागमनमा भिसा दिन पाँचजना प्रहरी अधिकृतले काम गरिरहेका थिए । हामी पाँचजना नेपालीबाहेक त्यहाँ अरू विदेशी पनि थिए । दाहिनेतिरका अधिकृतले एक गोरो वर्णका विदेशीलाई र्याखर्याख्ती पारेको सुनियो ।
‘हृवाइ आर यु कमिङ टु बङ्गालादेश ?’
‘टु मिट माइ फ्रेन्ड ।’
विदेशीले उनको साथीको नाम ठेगाना बताए । ती एक बङ्गाली महिला रहिछिन् ।
‘इज सि युर फ्रेन्ड अर गर्लफ्रेन्ड ?’
केरकार गरिरहेका अधिकृतको प्रश्न सुनेर विचरा विदेशीले रातो मुख बनाए । हामीले मुखामुख गर्यौँ । सूर्यमान सरले मौकाको फाइदा उठाउनुभयो । वहाँले दिनेशजीको कानमा खुसक्क भन्नुभयो ।
‘तयार हुनुहोस् । अब तपाईंलाई पनि आरती भाउजुतपाईंकै श्रीमती हो भन्ने प्रमाण देखाऊ भन्न सक्छन् ।’
यो प्रसङ्गमा हामी पछिसम्म हाँस्यौँ । हुर्मत काढिएका विदेशीको ठाउँबाट हेर्दा व्यक्तिगत कित्ताका प्रश्न सोध्ने ती बङ्गाली अधिकृतले लक्ष्मणरेखा काटेकै ठहरियो । बङ्लादेशको अध्यागमनको काम प्रहरीमा रहेछ । अन्य कतिपय मुलुकमा पनि यस्तै छ । नयाँदिल्लीमा पनि अग्रिम भुक्तानी ट्याक्सी सेवा सञ्चालनको काम प्रहरीले गर्छ । नेपालको अध्यागमन विभाग गृह मन्त्रालयअन्तर्गत छ । लोकसेवा पास गरेका कर्मचारी त्यहाँ काम गर्छन् । राज्य सञ्चालनको यो असल पक्ष हो ।
सामान बुझेपछि अनिशसँग भेट भयो । दिनेशजी र आरती भाउजूको भोलिपल्टको आन्तरिक उडानको टिकट भएकोले वहाँहरू होटलतिर लाग्नुभयो । बाँकी हामी चारजना रात्रिबसबाट खुलना जाने तय थियो । विमानस्थलमा हामीलाई लिन आएका बङ्गाली सहयोगीको मदतले खुलना जाने बस चढ्ने ठाउँमा गयौँ । बस यातायातको कार्यालयमा सामान राखेर चियाको खोजीमा निस्कियौँ ।
बङ्गलादेशमा नेपालमा जस्तो दुग्ध पदार्थ सर्वसुलभ छैन । चिया कफीका लागि प्रायः आयातित पाउडर दुध प्रयोग हुन्छ भन्ने जानकारी मैले विगतका भ्रमणमा पाएको थिएँ । नेपालमा पाइने गोठको ताजा दुधले बनेको चिया पिउने तलतल पाउडर दुधले मेटिने कुरो थिएन ।
चिया बेचिरहेको पसलमा मैले सोधेँ ।
‘गोरु दुध चिया आसे ?’
डेनिस अर्थात् पाउडरको मात्र रहेछ । अरू एक दुईवटा पसल चहारेपछि गोरु दुध अर्थात् हाम्रो भाषामा गाईको दुध पाइयो । गाईलाई गोरु भन्ने ठाउँमा गोरुलाई चैँ केभन्दा हुन् भन्ने कौतुहल जाग्नु स्वाभाविक भयो । पछि थाहा भयो, साँढेभन्दा रहेछन् ।
अर्को दिन बिहान सात बजे कुयेट नजिकैको फूलबारी चोकमा ओर्लियौँ । रात्रिबसको थकाइ । गन्तव्यको खानपिनको व्यवस्थापनको शून्य जानकारी । हामी ओर्लेको चोकको छेउछाउमा लोभलाग्दा चिया पसल । यी कारण नै पर्याप्त थिए– एक एक कप ‘गोरु दुध’ को चिया पिउन । हामीले चिया र गफ मजैले मिसायौँ । हाम्रो आतिथ्यका लागि सम्मेलनका सचिव डा. इस्लामले कुयेटको अतिथि आवास गृहका सम्पर्क अधिकृत राजीवलाई खटाएका थिए । उनी फोन गर्नासाथ आइपुगे । हामी भुइँ रिक्सा चढेर अतिथि गृहतिर पुग्यौँ ।
विश्वविद्यालयको नयाँ अतिथि गृहमा हामी सबै नेपाली सहभागीको गाँस र बास दुवैको व्यवस्था गरिएको रहेछ । हाम्रो सम्मेलन भोलिपल्ट बिहान मात्र सुरु हुने भएकोले त्यस दिन हामी फुर्सदिला थियौँ । अपराह्न कुयेटका उपकुलपति तथा सम्मेलन आयोजक समितिका अध्यक्ष प्राध्यापक आलमगिरसँग भेट भयो ।
‘तपाइँहरूलाई भिसा लिन त समस्या परेन ?’
वहाँले पहिलो प्रश्न गर्नुभयो । हामीले सँगै भिसा लिएका एक विदेशीलाई गरिएको केरकार सम्झियौँ । सम्मेलनमा आउने तय भएका भारतका प्राध्यापकलाई कलकत्तामा रहेको बङ्गालादेशको राजदूतावासले भिसा नदिएको रहेछ । सम्भवत संसारभरि नै प्राज्ञिक प्रयोजनका लागि तुलनात्मकरूपमा सहजै भिसा पाइन्छ । मलाई एकपटक फेरि नेपालको प्रतिनिधित्व गरेर नेपाली राहदानीले विदेश घुम्दा पाइने प्रतिष्ठा र मानमा गर्व गर्न मन लाग्यो । अफ्सोच हामीले यसको भर्याङ लगाएर अहिलेसम्म कुनै उचाइमा पुग्ने काम गर्न सकेनौँ ।
दुईदिने सम्मेलनमा पनि हामी सबै नेपाली सहभागीले उच्चस्तरको सम्मान पायौँ । मैले त प्लेनरी सत्रकै अध्यक्षता गरेँ । सूर्यमान सर र दिनेशजीले पनि एक एक प्राविधिक सत्रको अध्यक्षता गर्नुभयो । अनिश र शिलाले कार्यपत्र प्रस्तुत गरे ।
हामी पुगेकै दिन कुयेटको मूलद्वार बाहिरको सानो बजार केही बेर घुम्यौँ । त्यहाँ सडकमा हिँड्ने महिला चार किसिमका पहिरनमा सजिएका पाइए । पूरै शरीर ढाक्ने कालो वा रङ्गीन बुर्का, सलवार कुर्ता र साडी चोलो । यीमध्ये कालो बुर्काले मेरो ध्यानाकर्षण गर्यो । स्त्रीले लगाउने यो लुगा सबैभन्दा रूढीवादी होला । यसर्थ मेरो मनमा कालो बुर्कासम्बन्धी एक प्रश्न पहाड बनेर उभिएको थियो ।
आखिर किन लगाउँछन् कालो रङको बुर्का ?
आज म यो प्रश्नको उत्तर सकेसम्म कालै बुर्का लगाएकी युवतीलाई सोध्छु भन्ने निर्णय लिएँ । यो काम सजिलो थिएन । दिवा भोजको क्रममा मेरो टेबलको छेउमा एक हुल युवा बसे । त्यस समूहमा एक युवतीले कालो बुर्का लगाएकी थिइन । सँयोगवश, उनको अनुहार भने छोपिएको थिएन । त्यही टेबलमा बसेकी अर्कीले सलवार–कुर्ता लगाएकी थिइन । साथमा केही केटाहरू थिए । मेरो काम अलि सहज भएको अनुभूति भयो । म छेउमा गएँ । उनीहरूले मलाई चिनिसकेका थिए । स्वागत गरे ।
‘मसँग एउटा प्रश्न छ । सम्बन्धित व्यक्तिले नै उत्तर दिए राम्रो ।’
उनीहरूले स्वीकृति दिए ।
‘हाम्रो नेपालमा पनि अहिले धेरै युवायुवती कालो रङको पहिरन लगाउन थालेका छन् तर उनीहरूको उद्देश्य फेसनसँग जोडिएको छ । यहाँ बङ्गलादेशमा पनि महिलाहरूले शरीरै ढाक्ने गरी कालो लगाएको देखेँ । यसको कारण के होला ?’
मैले पृष्ठभूमिमा नेपालको सन्दर्भ जोडेकोले प्रश्न अप्रिय भएन होला भन्ने मेरो अनुमान थियो । उनीहरूको अनुहारको गाम्भीर्यमा कुनै परिवर्तन देखिएन । मतलब मेरो प्रश्नले सहज गोल गरेको थियो ।
‘ध्यान विकर्षण गर्न ।’
मेरो मस्तिष्क चकरायो । ध्यान आकर्षण गर्नु भनेको प्राकृतिक हो । भवँराको ध्यान आकर्षण गर्नु नपर्ने भए फूल रंगीन हुने थिएन । इन्द्रेणीमा पनि कालो रङ हुन्थ्यो होला । आकर्षणले आवेग पैदा गर्छ । आवेगले प्रेम । संसार चल्ने प्रेमले नै हो तर यो कालो संसारको बुझाइ मेरोभन्दा फरक निक्ल्यो । केही दिनअघि कम्बोडियाको भ्रमणमा नोम पेन्ह विमानस्थल पार्किङमा हेलमेट लगाएकी एक युवतीको पाइन्टले ध्यानाकर्षण गरेको थियो । उनले जिन्स पाइन्ट र पहेँलो ज्वारीकोट लगाएकी थिइन । ट्याक्सीको झ्यालबाट उनको पाइन्टमा लेखिएका अक्षर स्पष्ट देखिन्थे । मैले फोटो पनि खिच्न भ्याएँ । त्यसमा लेखिएको थियो–सेक्सी गर्ल । कस्तो अचम्म ! एकातिर पहिरनको यो उदारवाद ! अर्कोतिर ‘बुर्काको कालो संसार’ !
दुई दिनको सम्मेलन सकेर सुन जोडी इटालियन र जर्मन सहभागीहरूसँग मिसिएर सुन्दरवनको यात्रामा निक्लियो । लगभग दस हजार वर्ग किलोमिटरमा फैलिएको यो संरक्षित क्षेत्र भारत र बङ्गलादेश दुवै तिरमा फैलिँदो रहेछ । युनेस्कोको विश्व सम्पदासूचीमा राखिएको सुन्दरवन वास्तवमा टापुहरूको समूह रहेछ । बाघ पाइने भएको हुनाले यो विश्वमै नामी पर्यटकीय स्थल रहेछ । दुई रात पानी संसारमा बिताउने हाम्रो योजना थियो ।
जलयात्राको कल्पनाले होला मलाई साढे तिन बजे नै निद्राले छोड्यो । हाम्रो यात्राको चाँजोपाँजो मिलाउने सहयोगी राजीव नै परेछन् । साढे पाँच बजे त हामी प्रस्थान गरिसकेका थियौँ । अतिथिगृहदेखि घाटसम्म कुयेटकै भ्यानमा गयौँ । घाटमा रहेको सानो डुङ्गा चढेर लगभग आधा घण्टाको पानीयात्रापछि क्रुज सिप अर्थात् सानो जहाजमा सर्यौँ । त्यो सानो जहाज वास्तवमा हाम्रो लागि होटल र सवारीसाधन दुवै थियो ।
जहाज पासुई नदीमा लगभग २० किमी प्रतिघण्टामा थियो । नन्दावाला भन्ने ठाउँमा पुगेपछि हामी सेइया नामको शाखा नदी पछ्याउँदै अघि बढ्यौँ । जहाजको अगाडि–पछाडि, दायाँ–बायाँ चारैतिर आँखाले भ्याउनेसम्म पानी नै पानी । अर्थात् यो पानीको संसार । त्यसपछि पानीमै उभिएका रूखले बनेको जङ्गल । मैले सोचेँ, एक किसिमले यो पानी जङ्गल हो । नदीहरू एक आपसमा जोडिएर जहाजको बाटो बनाएका छन् । यो प्रकृतिले बनाएको बाटो हो । मान्छेले त जहाज मात्र बनाएका हुन् । जमिनको भूभागको यातायात र यसमा मैले एक भिन्नता पाएँ ।
क्रुज सिपको भुइँतलामा सुत्ने कोठाहरु थिए । बिचमा भान्सा र भोजन कोठा । छतमा भने दृश्यावलोकन गर्ने कौसी जस्तो संरचना । साँझपख म छतमा गएँ । इटालिकी फ्रान्सिस्का, भेरोनिकालगायत अन्य केही साथी थिए । नेपालमा नदीहरू प्रशस्त छन् । बगिरहेको नदी हेरेर जो कोहीले पनि कल्पना गर्न सक्छ-यो नदी कहाँसम्म जाने होला ?
नदीको गन्तव्य आफ्नै आँखाअघि अनुभूति गर्ने ठाउँमा आइपुगेको थिएँ म । मैले नदी र समुद्रको एउटा प्रसङ्ग सम्झेँ । फ्रान्सिस्कालाई सुनाएँ ।
नदी र समुद्रको वार्तालाप भएछ ।
‘किन तिमी वर्षौंदेखि यसरी मलाई भेट्न आएका छौ ?’
‘म गुलियो छु । तिमी नुनिलो छौ । म तिमीलाई पनि गुलियो बनाउन चाहन्छु ।’
‘तर तिमी त लाखौँ करोडौँ वर्षदेखि बगिरहेछौ ।’
‘जबसम्म मेरो लक्ष्य पूरा हुँदैन । म बगिरहनेछु । तिमीलाई गुलियो बनाइरहने छु ।’
उपस्थित सबैजनाले ताली पिटे । फ्रान्सिस्काले यो कथा फेसबुकमा राख्छु भनी । नेपाल आएपछि थाहा भयो, उसले भनेको काम गरिछे । मैले उसको कामको प्रशंसा गरेँ । अहिले पनि कहिलेकाहीँ म उसको त्यो पोस्ट हेरेर रमाउँछु र पानीसंसार सम्झन्छु, फ्रान्सिस्कालाई सम्झन्छु । फ्रान्सिस्का मैले जीवनमा भेटेका विदेशीमध्येकै राम्री र फरासिली तरुनी थिई । साल्सा नृत्य गर्छु भन्थी । अनि घरीघरी‘लेट्स डु समथिङ्, वन्डरफुल’ भनेर सबैको ध्यानाकर्षण गर्थी । पहिलो दिनको बास कालकामा भयो । वास्तवमा यो एक अनकन्टार ठाउँ थियो । भोलिपल्ट बिहान हाम्रो जहाजले घिसारेर ल्याएको सानो डुंगा लिएर घुम्न जाने योजना बन्यो । नभन्दै हामी सबैजना मिर्मिरेअघि नै सानो डुंगामा सर्यौँ। डुंगाले हामीलाई जङ्गलभित्र लिएर गयो ।
मैले डायरीमा नोट गरेँ । पूर्वाहृन६:१२ । चलिरहेको धमिलो पानी । पानीमाथि डुंगा । डुंगामाथि कुर्सी । कुर्सीमाथि म । लगभग १५ मिटर चौडाइको नदी । पानीलाई छोएको लेदो माटो । नहरको जस्तो किनारा । किनाराले जङ्गललाई छोएको छ । आठ–दश मिटर अग्ला रूखहरू । चराचुरुङ्गीको आवाज– चिउ चिउ चिउ, कुखुरी काँ, हु चिउ । पर उडेका चरा केही देखिए ।
हाम्रा यात्रा प्रदर्शकको नाम थियो– किंगसन । किंगसनले मौन रहन आदेश दिए । हामी कुनै जनावर देखिने आशामा थियौँ । नभन्दै डुंगाको यात्रामा हामीले हरिण र बनेल देख्यौँ । केही चरा पनि देखिए । बाघको भने अत्तोपत्तो थिएन ।
सूर्यमान सरका जुँगा फुरफुर गर्न थाले । वहाँले किंगसनलाई सबैका अघि सोध्नु भयो–अनि खोइ त बाघ ?
‘भोलि माल्ग्रुमको जङ्गलमा भेटिन्छ ।’ऊ पनि के कम । समयको सहारा राम्रैसँग लियो ।
हाम्रोभन्दा केही ठूलो आकारको डुंगामा केही बङ्गालादेशी पर्यटक पनि हामीलाई पछ्याउँदै आए । डुंगा चालकले मोटर बन्द गरेर हातले नै डुंगा खियाउन थाले । केही समय पछि डुंगा त स्थिर भयो ।
‘डुंगाले भुइँ छोयो’ चालकले घोषणा गरे ।
‘ल मार्यो । अब के हुन्छ ?’म भित्रभित्रै आत्तिएँ । चितवन राष्ट्रिय निकुन्जभित्र चलिरहेको गाडी एक्कासि रोकिएको जस्तो भान भयो । त्यो अनकन्टार ठाउँमा उद्धार गर्न पनि को आउला र !
तर कोही पनि आत्तिएको देखिएन । पानीको गहिराइ तिन फिट जति मात्र थियो । हामी चुपचाप थियौँ । केही बेरमा किंगसनले भन्यो–‘टाइड आएपछि पानीको सतह बढ्छ । अनि डुंगा फेरि चल्छ ।’
रोकिएको डुंगा चल्ने यस्तो अनौठो सूत्रको जानकारी अहिलेसम्म मलाई थाहा थिएन । सुनेको त थिएँ–
“बङ्गलादेशजस्तो समुद्रीकिनारका भूभागमा नदीको बहाव दुईतर्फी हुन्छ । यसो हुनुको कारण ज्वारभाटा अर्थात् टाइड हो ।“
आफैँले त्यो कुरा भोग्दा नयाँ अनुभूति भयो ।
अर्को दिन बिहान हामीले जमिन टेक्ने मौका पायौँ । डुंगाबाट जेटी हुँदै जमिनमा टेक्यौँ । माल्ग्रुम नामको जङ्गलभित्र तिन घण्टाको पैदल यात्रा गर्यौँ । पानीमा अडिएको जङ्गललाई म्याग्रुभ भनन्छन् । हामी हिँडेको जङ्गल भने नेपालकै जस्तो थियो । ठाउँठाउँमा आली बनाएर उठाइएको बाटोमा पैदल यात्रा गर्यौँ ।
यो । त्यहाँ घाँस जातका वनस्पतिको नामनिशान थिएन । हरिणले उभिँदा जहाँसम्म भेट्छ त्यो उचाइसम्म पातको नामनिशान नभएका रूख । परबाट हेर्दा भने औजार प्रयोग गरेर एकनासले छाँटिएको जस्तो । पूरै जङ्गलमा एउटा तहभन्दा माथि मात्र पात । बडो मनमोहक दृश्य अवलोकन गर्न पाइयो ।
एक दुई ठाउँमा जमिनको सतह केही माथि उठेको पाइयो । किंगसनले अथ्र्यायो ‘यो बाघले हरिण खाने ठाउँ हो ।’
‘अनि खोइ त बाघ ?’
सूर्यमान सरका जुँगा फेरि फुरफुर गर्न थाले ।
‘आज बेलुकासम्म बाघ नभेटिए तिम्रो ज्यान जोखिममा पर्ने छ ।’हाम्रो साथमा भएका वन सुरक्षाकर्मीको बन्दुक देखाउँदै सूर्यमान सरले किंगसनलाई आतंकित पार्ने अभिनय गर्नुभयो । सबै गलल्ल हाँसे । बाघ नेपालमै पनि सजिलै भेटिने जन्तु होइन । हाम्रो यात्राको तेस्रो तथा अन्तिम दिनमा भने डल्फिन देखिए । चार नदी मिसिएको स्थानमा पानीको सतहबाहिर उफ्रेका डल्फिन देखेर हामीले बाघको न्यास्रो मेट्नु पर्यो ।
दुई रात तिन दिनको यात्रा सकेर हामी खुलना आएर बस्यौँ । फर्किंदा भने हामीले जोहोर–ढाकाको हवाईयात्रा गर्यौँ । जोहोर विमानस्थलमा फेरि इटालियन र जर्मन टोलीसँग भेट भयो । सुन्दरवनमा बाघ नभेटिएको प्रसङ्ग फेरि चर्चामा आयो ।
ढाकाबाट दिउँसो तिन बजेको उडान थियो । हतारहतार केही किनमेल पनि गर्यौँ । त्रिभुवन विमानस्थलमा जहाज अवतरण गर्यो ।
अध्यागमनमा म संयोगले एक महिला कर्मचारी भएको लाइनमा परेछु । लाइन लामो थिएन । मेरो पालो आएपछि उनले पुलुक्क हेरेर भनिन् ‘गुड आफ्टरनुन सर !’
‘गुड आफ्टरनुन ।’
मेरो बीस वर्षको विदेश आइजाइको क्रममा भएको यो पहिलो घटना थियो-
“अध्यागमनका अधिकृतले मलाई अभिवादन गरेका ।“
मैले उनको प्रशंसा गरेँ ।
‘म विगत बिस वर्षदेखि विदेश यात्रा गर्दैछु । आज दुईवटा अनौठा घटना भए । पहिलो, मैले कुनै महिला अधिकृतको सेवा पहिलोपटक लिन पाएँ । दोस्रो, त्यो सेवामा मुस्कानसहितको अभिवादन थियो । म अत्यन्त खुसी छु ।’
उनी मजैले मुस्कुराइन् । उनको मुस्कानले मलाई एउटा स्पष्ट सन्देश दियो ।
‘अध्यागमनलगायतका अन्य कतिपय सेवा दिने क्षेत्रमा नेपालले फड्को मारेको छ । किनभने अब त्यहाँ मलामी गाम्भीर्यको ठाउँमा मुस्कानको मूल फुट्न लागेको छ ।’
मैले नोट गरेँ । बङ्गलादेश भ्रमणको सबैभन्दा ठूलो उपलब्धि यही सन्देश थियो ।
१६ चैत, २०७३
चौतारा, सिन्धुपाल्चोक
प्रकाशक : हिमालय टाइम्स
No comments:
Post a Comment