Friday, April 16, 2010

के मैले भुइँ चट्टान छोएँ त ?

पाठकलाई सुझाव
(यदि तपाई चालिस वर्षभन्दा कम उमेरको हुनु हुन्छ, जीवनयात्रामा सन्तुष्ट हुनु हुन्छ र आफ्नो कर्तव्यपथमा अविचलित हुनुहु्न्छ भने कृपया यो लेख अहिले नपढ्नु होला ।)


अन्तत पारी पट्टिको उकालो शीखरको गन्तव्यको लक्ष लिईएको यात्रामा अहिले वारीको ओरालो हिड्दै गरेको व्यक्तिले वर्तमानको उस्को उल्टो यात्रालाई कसरि लेला र फेदिमा पुगे पछि के अनुभुति गर्ला ?

केहि समय अघि लागु पदार्थको दुर्वस्यनमा फसेको एक आफन्तलाई मैले भनेको थिए “तिमीले तिम्रो यो दुर्वस्यनी जीवनको भुँई चट्टानमा पुगेको अनुभुति गर्न सक्यौ भने तिमी जीवनको अँध्यारो ओरालो वाट उज्यालो उकालोमा पाईला राखिसकेका हुनेछौ ।“

किनभने भुँई चट्टान भनेको सबैभन्दा होचो भूगोल हो । सबैभन्दा गहिरो भू-भाग हो । ओरालो यात्रामा हामी हाम्रो उचाई घटाईरहेका हुन्छौ भने उकालोमा उचाई वढाईरहेका । तर फेदीको भुँई चट्टानमा उभिंदा हामी सापेक्षित शुन्य उचाईको धरातलमा टेकिरहेका हुन्छौ ।

के मैले शुन्य उचाईको धरातल छोएँ त?

जीवन गोरेटोमा पाईला चालिरहेको कुनै एउटा यात्रीले जब थाहा पाँउछ उसका अगाडिका प्रत्येक पलहरुले उ हिडेको धरातलको उचाई घटाईरहेका छन् पक्कै पनि यदि उ सचेत छ भने उसले असाध्य पिडाको अनुभूति गर्दछ । विरामीको आशँकामा चिकित्सककहाँ पुगेको एक व्यक्तिलाई थाहा हुन्छ कुनै असाध्य रोगका जीवाणुले उस्को जीवन यात्राको धरातलको उचाई घटाई रहेछन् । उस्को पिडाबोध उसैलेमात्र बुझ्न सक्द्छ । समस्या त्यसवेला अझ गहन हुन्छ जव कसैलाई ओरालोको यात्राको मात्र जानकारी हुन्छ न त उसलाई फेदीको समथर धरातल या पारीको उकालोको पुर्वानुमान । सामान्य ज्वरो आएको व्यक्तिलाई चिकित्सकले कुनै असाध्य रोगको पूर्वानुमान गरेको क्षण ओरालो यात्राको संकेत हुन सक्छ । त्यस व्यक्तिले त्यो वाटो ठाडो भीरमा परिणत भएको अनुभूति गर्दछ यदि चिकित्सकले उसलाई ज्वरोको कारण क्यान्सर हो भन्ने जनाउ दियो भने ।

मेरो स्थिति पनि शुरुमा शुन्य धरातलको जानकारी नभएको ओरालोमा यात्रा गरिरहेको यात्रीको जस्तो भएको अनुभूति गरेंको थिए मैले । २०५० साल तिर कास्की जिल्लामा खानेपानीको मूल हेर्ने क्रममा खुट्टा चिप्लिएर म ठाडो भीरमा केही मिटर खसेको थिँए । भ्रमण समूहका एक मित्रले देउताकै रुपमा प्रकट भएर मलाई बचाएका थिए । तर मेरो दिनचर्या र मानसिक स्थितिको यो नौलो परिवेशको विषय कुनै दुर्घटनाको कारण भीरमा खसिरहेको व्यक्तिको नभएर ओरालोमा पाईला चलाईरहेको यात्रुको जस्तो हो भनेर महशुस गर्न मलाई केही महिना लागेको थियो । मलाई शारिरिक रुपमा केही भएको थिएन् । मेरो भोजन, निद्रा र मैथुन चाहानामा कुनै फरक भएको अनुभूति भएको थिएन् । तर म जीवनयात्रामा अहिले सम्म नभोगिएको विकराल असामान्य परिवेशको शिकार भएको थिएँ । मेरो त्यो पीडादायी यात्राको क्षितिजमा भुँई चट्टान पनि छ त्यसलाई यो ओरालोको यथास्थितिको अन्त्यमा भेट्न सकिन्छ भन्ने यथार्थता बोध हुन मलाई लगभग ६ महिना लागेको थियो ।

मैले अनुभूति गरेका मानसिक तनाव सम्बन्धि यी अनुभवहरु पस्कदा पक्कै पनि मेरो जस्तो समस्या सगँ जुझिरहेका अन्य दौतरीहरु र चिरपरिचित या अपरिचित जो कोही व्यक्तिहरुलाई पनि फाईदा पुग्ने देखेको छु । किनभने यो समस्याको प्रमुख चुनौति भनेको यसको वारेमा आफ्नो साथीभाई या नातासम्बन्धीको मान्छे त कुरै छोडौ अत्यन्त नजिकको जीवनसाथी या परिवारको सदस्यलाई समेत खुलेर परामर्श लिन नसकिनु हो ।

यस्तै हाम्रो समाजमा यस विषयमा विज्ञको परामर्श लिने प्रणाली पनि विकसित नभएकोले मैले आफूले भोगेको यथार्थतालाई जस्ताको तस्तै प्रस्तुत गर्ने जमर्को गरेको छु । तलका हरफहरु मैले ओरालो यात्रामानै सिर्जेका हुनाले मैले वर्तमान कालकै प्रयोग गरेको छु ।

सामान्य अवस्थामा हुँदा मैले सहजै निर्णय लिन सक्ने उस्तै प्रकृतिको र मापको समस्या आज भोलि कैयौँ गुणा विकराल भएर मेरो सामु उभिन्छ । म जसो तसो तनावपूर्ण स्थितिमानै भए पनि म सँग भएको सम्पूर्ण उर्जा खर्चेर निर्णय लिन्छु । तर निर्णय लिई सके पछि म झन तनावमा पर्छु कारण निर्णयका विकल्पहरु तिर मेरो ध्यान आकर्षित हुन्छ । म सोच्दछु मैले लिएको निर्णय यसका विकल्पको तुलनामा कमजोर छ होचो छ । यसले अपेक्षित नतिजा ल्याउन सक्दैन् । अनि जति जति म यस विषयमा सोच्दै जान्छु म थप तनाव र नकारात्मक सोच को दलदलमा फस्दै जान्छु । अनि यसले मलाई म आफु अतिनै कठिन वाटो वाटो वाट हिंडिरहेको भान गराउँछ । जीन्दगीकै अहिलेसम्मको सबैभन्दा जटिल परिवेशवाट गुज्रिरहेको अनुभुति हुन्छ ।

कतिपय अवस्थामा म अनिर्णयको बन्दि हुन्छु । परिवारका सदस्यहरुले ल्याएका स साना प्रस्तावहरुमा समेत म निर्णय लिन त परै जावोस राय समेत दिन सक्दिन् । म सामान्य उत्तर "सोच्नु पर्छ या विचार गर्दैछु" भन्ने जोखिम रहित अनुत्पादनमूलक जवाफ पस्केर निर्णय लिनु पर्ने विषयलाई पर सार्छु । म मेरा सम्बन्धका सामान्य परिस्थितिहरुमा पनि दिशा या धार परिवर्तन गर्नसक्ने क्षमता राख्ने कुईनेटाहरु या घुम्तिहरुको परिकल्पना गर्न थाल्छु । सामान्य मान्छेले सामान्य अवस्थामा गर्ने भन्दा या आवश्यकता भन्दा गहन विश्लेषणमा म डुब्छु । उदाहरणको लागि हवाईयात्रामा रहेको मेरो नजिकको आफन्तको बारेमा मेरो मानसपटलमा केही विचार सिर्जना भयो भने म सम्भावना अति न्युन भएको हवाई दुर्घटनाको विभत्स दृष्यको परिकल्पनामा शक्ति खर्चन थाल्छु अनि विस्तारै चिन्ता र संवेगको दुनियामा हराउन थाल्छु ।

म दैनिक गतिविधिहरुमा आई पर्ने स साना गर्ने जोखिमहरुसंग डराउने गर्छु । मलाई मैले गरेका कार्यहरुमा विश्वास लाग्दैन् । कार्यालय वन्द गरिसकेर कार्यालय परिसरको गेटमा पुगे पछि पनि म कार्यालयमा पुन: फर्केर पानी तताउने जारको प्लग निकालेको छैन की या हिटरको स्वीच वन्द गर्न विर्सेको छ की भनेर जाँच गर्छु । कार्यालयको ताला लगाउन विर्सेकी भनेर त म एक दुई पटक घर नजिकै पुगेको ट्याक्सीलाई फर्काएर पुन: कार्यालय फर्केको पनि छु । तर गेटमा ताला लागेकै हुन्छ स्वीच वन्द गरेकै हुन्छ । मेरो आफै प्रतिको आफ्नो विश्वासनै धरमरमा परेको लाग्छ मलाई ।

मेरा विचारहरुमा शक्तिहिनताको अनुभुति हुन्छ । यसकारण म ती विचारहरुलाई कार्यान्वयन गर्ने कुरामा जोखिम नै जोखिम देख्छु । म वाटामा काँडै काँडा मात्र देख्छु । मेरो विचारले लगाएको जुत्ता म एकदमै जीर्ण देख्छु। यस्तो अवस्थामा मेरो विचार यात्रामा अघि बढेको कल्पना मेरो दिमागमा आउँछ । म देख्छु काँडाले घोचिएर मेरो विचार घाईते हुन्छ रगताम्य हुन्छ । र म अन्त्यमा ती विचारलाई कार्यान्वयन नगर्ने निर्णयमा पुग्छु ।

म हरेक फोनका घण्टिहरुवाट डराउँछु । मलाई फोनको वार्ताले कुनै नयाँ काम या मेरो परिवेशमा कुनै जटिलता थप्छ की भन्ने डर लाग्छ । म मा त्यो नयाँ काम या सूचनाले सिर्जना गर्ने अवसर प्रति कुनै उत्साह या उमंग उमार्दैन । त्यसले ममा बाँकी भएको उर्जा पनि क्षय गरेको अनुभुति हुन्छ मलाई । यसकारण म एक दुई घण्टीमा फोन उठाउदिन् । कहि्ले कहि त रिंग सुन्दा सुन्दै पनि म त्यसलाई मिस कलमा परिणत गरिदिन्छु । परामर्शदाता सम्बन्धित कैयन ईमेलहरुलाई मैले पढ्न थाँती राखेको छु । मलाई त्यो व्यक्ति विशेषको ईमेल प्रति वितृष्णा जागेर आउँछ । म त्यो ईमेलको नेपथ्यमा म थप संलग्न हुनु पर्ने कामको रास या वन्धनका फलामे साङ्गलाहरु देख्छु । यसकारण म त्यो थप जटिलता विनाको वर्तमानलाई नै सके सम्म लम्याउने उपक्रममा लाग्छु । उदेकलाग्दो कुरा त के छ भने ती ईमेललाई म विर्सन पनि सक्दिन् । मेरो अन्त:स्करणमा तिनले स्थान जमाएकै हुन्छन् । मेरो कर्तव्य या पेशाधर्म तिनलाई पढेर जवाफ लेख्ने हो या तिनमा अन्तरनिहित निर्देशनलाई पालना गर्ने हो भन्ने दायित्ववोधले पनि मलाई सताउँछ । अनि म चिन्ता र ईमेल नपढेको पश्चातापको पोखरीमा विना चाल डुब्दै जान्छु ।

काम सम्बन्धिको मेरो अनुभव झनै अपत्यारिलो छ । कुनै पनि नयाँ कामको थालनी गर्ननै सकेसम्म मन लाग्दैन् । लागे पनि त्यसको मेलो सार्न महाभारत हुन्छ । कुनै समयमा छोटो समयमा सकिने सानो तिल जत्रो काम पनि पहाड बनेर उभिन्छ । जेनतेन कामका अंशहरु छिचोल्दै अघि बढे पछि अनौठौ अनुभुति त्यसवेला हुन्छ जव बाकी रहेको मानौ १० प्रतिशत काम पुन: शतप्रतिशतको रुप लिएर पहाडको रुपमा अघिल्तिर तेर्सिन्छ । एउटा आयोजनाको प्रतिवेदनलाई अन्तिम रुप दिए पछिका प्रिन्ट गर्ने र वाईन्डिंग गर्ने कामहरु यसरीनै पहाड बनेर तेर्सिएका क्षणहरु अहिले झलझली आँखा अघि नाचेका छन् ।

यसरीनै ओरालोमा बहदै गर्दा म एकदिन गीताको अध्याय दुईको निम्न श्र्लोकमा अडिन्छु ।

कार्पण्यदोषोपहत स्वभाव:
पृच्छामि त्वां धर्म समूंढचेता ।।

दुई सेनाको वीचमा भगवान कृष्णसंग सवांदमा लिन भएका अर्जुनले व्यक्त गरेका शब्दहरु हुन ती । मलाई 'कार्पण्य दोष' ले आकर्षण गर्छ । म कार्पण्यको आशय बुझ्छु । अर्जुनले आफु यो दोषले पिडितभएकोले आफ्नो कर्तव्यपथमा अघि वढ्न सामर्थ्य आफूसंग नभएको यथार्थ भगवानसामु राखेका छन् । उनको उर्जालाई कार्पण्यले थिचेको हुन्छ, उनको शरीर शिथिल हुन्छ , छाला पोलेको अनुभुति हुन्छ, शरिर काम्न लाग्छ । उनि उभिन पनि नसक्ने स्थितिमा पुग्छन् । मेरो समस्याको चुरो म कार्पण्यमा खोज्न थाल्छु । मानौ पिप नै पिप भरिएको अधिक जलन भईरहेको पिलोमा सुईरो रोपेर केही् आनन्दको अनुभुति भएझै हुन्छ मलाई । मलाई पनि कार्पण्य दोषले घेरेको अनुभुति हुन्छ मलाई । मलाई लाग्छ मेरो यथास्थितिको अव अन्त्य हुन्छ । म कालो वादलमा चाँदीको घेरा देख्छु । ओरालो यात्रामा म टक्क अडिन्छु । मलाई अर्जुनस्थितिमा भगवानको साथ पाएझै लाग्छ । म ओरालोको आयुको मापन गर्ने स्थितिमा हुन्छु । मेरो दृष्टिरेखाको क्षितिजमा भुइँ चट्टान देख्छु । मलाई पारीको धमिलो उकालो वाटो देखे जस्तो अनुभुति हुन्छ । तर यो ओरालो यात्रामा समय र धरातलको संयोजनलाई छोड्न असम्भव छ । म आकाशमा उड्न सक्तिन् । तर यो नौलो अनुभूतिले ममा केही उर्जा थप्छ । मलाई लाग्छ अब मेरो कष्टदायी यात्राको अन्त्य हुदैछ ।

पहिलो खेस्रा - जुलाई २८, २००९
दोस्रो खेस्रा – जनवरी ०१, २०१०
तेस्रो खेस्रा - अप्रिल १४, २०१०
अन्तिम रुप - अप्रिल १५, २०१०

2 comments:

  1. sir, first of all sorry becoz there is no nepali unicode so i were write in roman font but in nepali language and ma chalis barsa napuge pani yo blog padhe.
    sir, malai lag6 tapai ko ra mero bichar kahilekahi same jasto lag6 kina bhane tapaile mathi jati pani feelings bhannu bhayo ni tyo sabai kura meroma pani lagu hun6. ma pani kehi kam 6uteko 6 ki bhanere patak patak herne gar6u ani gindagi sambandhi mero bichar pani hajurko jastai 6. Tesaile yo blog padhada mero aaphnai bichar jun maile dherai pahiledekhi lekhna khojadai 6u tyo tapaile lekhidinu bhayeko jasto lag6. Thank u for that.
    bye sir. have a nice day.

    ReplyDelete
  2. I noticed that there are problems while posting comments. You may write me on my email as well. My emails are: nawa@ndri.org.np or nawaraj9@yahoo.com.

    ReplyDelete