Friday, September 17, 2010

ज्ञान आर्जनको आरन

“सर मेरो जीन्दगीमा हिजो दोस्रो पटक आँखावाट आँसु आए । पहिलो सन्दर्भ मेरो पिताजी परलोक हुँदाको थियो भने दोस्रो मैले सोच्दै नसोचेको तरिकाले सिर्जना भएको हिजो वेलुकाको प्रसँग भयो । तर यी दुईमा एउटा प्रष्ट फरक के थियो भने पहिलोमा दु:खका आँसु थिए भने दोस्रो हर्षका ।“ कोटेश्वरमा रामेश्वरजीको ट्याक्सीमा वस्नासाथ हाम्रो वार्तालापको शुरुवात उनले गरेका थिए मैले पनि त्यो गहिराईमा नसोचेको सन्दर्भ कोट्याएर ।
“किन के भयो त्यस्तो ?” मैले सोधेँ ।
“ताड्नेवाले कयामतके नजर रखते है ।“ अर्थात जोखिम मोल्ने मान्छेले त्यसको अन्तिम नतिजामा दृष्टि पुर्याएको हुन्छ । मैले रामेश्वरजीवाट अहिले सम्म सिकेको यो महत्वपूर्ण शिक्षा हो । उनी कुनै ‍शैक्षिक डिग्री नलिएका भए पनि औपचारिक शिक्षाको उपल्लो सिँढी उक्लेका व्यक्ति भन्दा कम लाग्दैनन् मलाई । उनलाई पढ्न लेख्न खासै आउदैन् । कहिले कँहि म भरपाईमा सहि गराँउछु उनि दुखले सही गर्छन् । मोवाईलमा सम्पर्क नम्वरहरु व्यवस्थापन गर्ने काम पनि कठिनपूर्वक गरेको देखेको छु । जोखिम मोल्ने मान्छे दुरदर्शी र चौडा छाती भएको मात्र हुँदैन् उसको प्रतिघात क्षमता पनि विशिष्ट प्रकृतिको हुन्छ । उ हत्तपत्त सँवेदनशिल हुँदैन् । केही समय अघि आर्यघाटमा चितामा जलिरहेकी आफ्नी जीवनसँगिनीको अघिल्तिर वसेका एक वृद्धको अनुहारमा मुस्कान देखेर म पो सँवेदनशील भएको थिएँ । रामेश्वरजी आँफै विशिष्ट प्रतिघात क्षमता भएका व्यक्ति लाग्छ मलाई ।
उनले भने “सरले दिनु भएको अँग्रेजी अखवारको त्यो अँश मैले मेरो ठूलो छोरीलाई पढ्न दिएँ । जव उ त्यसलाई वढो महत्वका साथ पढ्न थाली र प्रत्येक वाक्यको अर्थ नेपालीमा मलाई बुझाउन थाली । मेरा आँखावाट आँसु चुहिए सर । म जीन्दगीमा दोस्रो पटक रोँए ।“
मैले गरेको कुनै झिनो कामले यति ठूलो प्रभाव पार्ला भन्ने मैले सपनामा पनि सोचेको थिईन् । म आश्चर्य र हर्ष दुवै भरिँए । हिजो विहान सधैँझै मैलै कोटेश्वरमा दैनिक पत्रिका किने । रामेश्वरजीको ट्याक्सी तयार रहेछ, मेरो स्थिति पैदलयात्रु वाट सवारीयात्रुमा परिणत हुना साथ मेरो गन्तव्य सिँहदरवार भएको उनलाई जनाँए । तिनकुनेको मोडमा आए पछि उनले नम्रतापुर्वक भने “यदि सरलाई ढिला हुन्न भने उत्तरकुनावाट घुमौ सर ? वच्चाको मोजा किनेको थिँए, उनिहरुलाई मुलसडकमा वोलाएर दिन पाए हुन्थ्यो ।“
रामेश्वरजीसँग भेट भएको तीन वर्प जति भैसकेको छ । मैले उनलाई एक ईमान्दार र फरासिला सवारीचालकको रुपमा पाएको छु । एकदिन मेरा एक नजिकका मित्र र म दुवैजना सगै उनको ट्याक्सीमा कार्यालय गयौ । उनले मिटर खोलेका थिएनन् । मैले दुई सय रुपैया दिँए । रामेश्वरजीले यो त वढी हुन्छ भन्दै मलाई पैसा फिर्ता दिएको देखेर मेरा मित्रले जिव्रो टोकेका थिए । उनले दररेट भन्दा वढी माग गर्दैनन् । आफ्नो उत्तरदायित्व, हक र अधिकारमा सचेत छन् उनी । मैले मोवाईलमा फोन गरेर वोलाए भने उनी जहाँ भए पनि मलाई पहिलो प्राथमिकतामा राख्छन् र सके सम्म मेरो आवश्यकता पुरा गर्छन् । म पनि मलाई सवारी चाहियो भने उनलाईनै पहिलो प्राथमिकतामा राख्छु । उनको ट्याक्सी लिएर म धेरै पटक धुलिखेल र नगरकोट गएको छु । उनि म ट्याक्सीमा चढे पछि मलाई गन्तव्यमा पुराउने कार्यलाई पहिलो प्राथमिकतामा राख्छन् । काठमाण्डौ विश्वविद्यालयको धुलिखेल गन्तव्य वनाएको विद्यार्थी र शिक्षक भरिएको वस समेत दिनभरी वास वस्ने यथार्थता वोकेर पन्ध्र मिनट लगाएर वनेपामा विहान नौ वजे तेल भर्छ । अरु सार्वजनिक वाहनहरुको त कुरै छोडौ । उनी तिनकुनेको पश्चिम उत्तर कुनामा दुई छोरी, एक छोरा र श्रीमतिका साथ लगभग दुई दशक देखि काठमाण्डौमा जिविकोपार्जन गरेर वसेका छन् । कतिपय समयमा मेरो र उनको सँवाद उनका परिवारले सुनेका छन् । मलाई लिएर हिडेका वेला उनको परिवारसग मोवाईलमा कुरा हुँदा वडो गर्वका साथ म सरलाई लिएर जादैछु भन्छन् । उनकै भनाईमा उनका परिवारका सदस्यहरु पनि हाम्रो सम्बन्धलाई आदरका साथ लिन्छन् । उनकी जीवनसँगीनीको ईच्छा वेलुकी ६-७ वजेपछिको समय घरको लागि हुनुपर्छ भन्ने छ तर उनले मुस्कुराउदै पटक पटक भनेका छन् “ तर अफिसको काममा म सरसँग जाँदैछु भने पछि जतिसुकै ढिला गए पनि मिठो खानका साथ उच्च सत्कार पाईन्छ ।“ विगत तिन वर्षमा मैले उनका परिवारका सदस्यहरुलाई भेट्ने मौका पाएको थिईन् । कहिलेकहिँ उतावाट उनीहरुले फोन नउठाएका भने होईनन् ।
मैले हतार नभएको र त्यसरी गए कुनै अन्यथा नहुने जानकारी गराए पछि उनले ट्यक्सी विमानस्थल तर्फ मोडे र छोरालाई सडकमा वोलाए । म पत्रिकाको चाङ्गमा उनको छोरालाई मिल्ने कुनै समाचार या लेख छ कि भनेर हेर्न थाले । अन्नपुर्ण पोस्टको साहसिक पर्यटन सम्बन्धि एक समाचार रहेछ । मैले ठट्टाको भावमा उनको छोरालाई दिँदै ल यो पढेर यसको सार तिम्रो वुवालाई सुनाउनु भने । हामी वानेश्वरमा पुग्दा मैले काठमाण्डौ पोष्टमा जाँचमा कसरी उत्तर दिने भन्ने लेख फेला पारेँ । त्यसमा रातो मसीको चिनो लगाएर रामेश्वरजी लाई दिँदै मैले भने “ ल यो तँपाईको छोरीको लागि, पढेर नेपालीमा अर्थ लगाउ भन्नु होला । ” सिँहदरवारमा ओर्लदै गर्दा पत्रिकाका ति दुई पृष्टलाई उनले जतनले राखेको देखेको थिँए ।
रामेश्वरजीले भावुक मुद्रामा हिजोको प्रँसगका थप रोचक अँश सुनाए । उनकी छोरी सानोमा अलि असामान्य स्वभावकी रहिछ । कतै सुस्त मनस्थिति भएका समूहतिर पो तानिन्छे कि भन्ने चिन्ता रहेछ उनलाई । अक्षर चिनाउन हम्मे हम्मे परेछ । अँग्रेजीको यस चिनाउन त महाभारत नै भएको रहेछ । छोरीले विद्यालय जान थाली तर कस्तो पढ्छे अरु समकालिनहरुको दाँजोमा उसको क्षमताको विकास कस्तो भएको छ भन्ने कुराको अनुभुति गर्ने आरनरुपी अवसरहरु खासै सिर्जना भएका रहेनछन् । उनले थपे “त्यही यस अक्षर चिन्न त्यत्रो सँघर्ष गरेकी छोरीले अँग्रेजीमा लेखेको मेरो लागि काला अक्षर भैसी वरावर भएको लेख शव्द शव्दको अर्थ लगाएर मलाई वुझाई ।”
विगत केही दिन देखि यो प्रसँग मेरो मानसपटलमा घुमीरहेको छ । केही समय अघि मेरा अनन्य मित्र डा तारानिधि भट्टराईले मलाई सार भनेको र पछि काका पँडित भवानीप्रसाद खतिवडाले अर्थ्याईदिएको तलको श्लोकको सँझना भयो ।
आचार्यात पादमादात्ते पादम शिष्य स्वमेदया ।
कालचक्रेन पादमादात्ते पादम स्व व्रम्हचारिभि ।।
अर्थात ज्ञान आर्जन गर्ने विषयका चार कारक हुन : गुरु, विद्यार्थी आँफै, प्रकृया अर्थात समय र सिकेको ज्ञानको व्यवहारिक प्रयोग । सिकाई लाई शतप्रतिशत भार दिने हो भने यी चार कारकले एक एक चौथाई भार वोकेका हुन्छन् । रामेश्वरजीकी छोरीले मैले दिएको अखवार शतप्रतिशत क्षमता प्रयोग गरेर पढेकी हुनुपर्छ जसले उनका नयन रसाउने क्षण सिर्जना गर्यो । उसले पक्कै बुझेकी होली उसका माता पिताले आदरका साथ हेर्ने व्यक्तिले दिएको पाठ्य सामाग्री पढ्न सकि र त्यसको अर्थ वुझाउन सकि भने उ प्रतिको पारिवारिक दृष्टिकोणमा झन सकारात्मक प्रभाव पर्ने छ । त्यसैले उसले त्यो क्षणलाई एक एतिहासिक अवसरको रुपमा लिएको हुनु पर्छ । अर्को तर्फ उसले उसका पिताजीलाई अँग्रेजीको ज्ञान न्युन छ भन्ने तथ्यलाई समेत ह्रदयगँम गरेकी हुनु पर्छ । मैले यहा जोड्न खोजेको सन्दर्भ के हो भने रामेश्वरजीको घरमा सिर्जना भएको त्यो क्षण जस्तै हामीले प्रत्येक वालवालिकाको दिनचर्यामा ज्ञान आर्जन गर्ने त्यस्तै उच्च मुल्य वोकेका क्षणभँगुरहरु सिर्जना गर्नु जरुरी छ । विद्यालयको त कुरै छोडौ विश्वविद्यालयका समेत कतिपय कक्षाकोठामा यस्ता सिकाईका वहुमुल्य रत्न जडित क्षणभँगुरहरु सिर्जना गर्न सके रामेश्जरजीको जस्तै प्रत्येक अभिभावकका आँखा हर्षका आँसुले भरिने थिए भन्ने कुरामा दुई मत नहोला ।
शनिवार, असोज ०२, २०६७

3 comments:

  1. This comment has been removed by the author.

    ReplyDelete
  2. सरको लेखमा व्याबहारिक भाब र मार्मिक प्रसँग उल्लेख गरिएको छ । सरले एस लेखाइ म प्रस्तुत बिषयलाई कथा बनाउनुभएको हो वा कथालाई बिषय बनाउनुभएको हो भन्न सकिन तर लेखाइ को सैली अनी बिषयले गर्द पुरै कथा पढ्दा पनि झर्को लाग्ने खाल्को छैन र लेखाईले देखौन खोजेको मार्मिकता सजिलै मानसपटलमा उत्रिन्छ

    ReplyDelete
  3. दुखान्त स्थितिबाट गुजृएको प्रसंग, बियोगको यात्राबाट लेखन कार्य सुभारम्भ गरि रामेस्वोरज्यु को इमानदारीताको प्रसंग एबं भावहरु क्रमबद्ध रुपमा राख्नमा स्रस्टा सतप्रतिसत सफल हुनुहुन्छ । एक पाठक को बुझाइ, लेखन कार्यको प्रादुर्भाव पनि बियोगहरुलाइ शक्तिमा परिणत गरेर नै लेखन कार्य अघि बढेको हुनुपर्दछ । जुन स्रस्टालाइ मैले सतहमा तौलिरहेको थीएं, उहाँ त भुंइमान्छेको जीवन ब्यक्त गर्नुहुंदोरहेछ । नमन ।

    ReplyDelete