Monday, September 12, 2011

म नेपाली

फेरी जापानकै सन्दर्भ । जापानमा वस्दा एक मित्रले वयान गरेको कुरा हो यो । जापानमा विदेशवाट आएका विद्यार्थीलाई घरमा वोलाएर जापानी आतिथ्य सत्कार र सँस्कृतिको चिनारी दिलाउने काम वढो उत्साहका गरिन्छ । कतिपय अवस्थामा अभिभावकको नियास्रोलाई मेटाउन विदेशी विद्यार्थीका लागि जापानी वुवा आमाको व्यवस्था समेत विश्वविद्यालयले मिलाईदिएको हुन्छ । 

एक जापानी परिवारले आफ्नो घरमा तीन जना नेपाली विद्यार्थीलाई निम्तो दिएछन् । ती विद्यार्थीलाई रात्रीको खाना र वासको पनि जापानीकै घरमा प्रवन्ध गरिएको रहेछ । घरमूलिले आफ्ना छिमेकीलाई पनि त्यो रात खाना सँगै खाने गरी निम्तो दिएका रहेछन् । नेपालीहरुका कुरा सुन्न उत्साहित भएका जापानिजहरुलाई त्यसवेला दाँतमा ढुँगा लागेछ जब ती तिन जना नेपाली जात र भूगोलका कुरा निकालेर आपसमानै झगडा गर्न लागेछन् । 

नेपालीहरु हिमाल, पहाड र तराईको प्रतिनिधित्व गर्ने र फरक फरक जातका रहेछन् । नेपालको जापानको जस्तो विकास नहुनुमा सँभ्रात जात या वर्गको भूमिका छ तथा राज्यको सम्पतिमा र वृति विकासको अवसरमा केही जात जातीको वोलवाला रहेको छ भन्ने विषयमा चर्का चर्की नै परेछ उनीहरुको । हामी अहिले अर्कै मुलुकमा पाहुना भएर आएका छौ भन्ने चटक्कै विर्सिएछन् उनिहरुले । 

अहिले जात, भूगोल र परम्परागत व्यावसायका कुरा निकालेर एक नेपालीले अर्को नेपाली प्रति घृणा भावले हेर्ने प्रवृति उत्कर्षमा पुगेको छ । समकालिन राजनीतिले समेत यसै विषयलाई मूल मुद्दा वनाएको छ । जातिय, भाषिक या धार्मिक पहिचानलाई केन्द्र भागमा राखेमा राजनीति, आर्थिक विकास र मानव विकाससँग जोडिएका समसामयिक विषयलाई किनारा लगाउन सकिन्छ भन्ने मान्यताले लोकप्रियता हासिल गरेको छ । 

यो मान्यता या दर्शनको सान्दर्भिकता या त ईतिहासले निर्क्यौल गर्ने कुरा हो या त राजनीतिशास्त्रका अध्येताहरुको सोधको विषय हो । आफ्नो अध्ययन र अनुसन्धान ईतरको विषय भए ता पनि जात र भूगोलसँग जोडिएका आफूलाई गढेका केही सन्दर्भ पस्कने अहिलेको जमर्को हो । 

केही समय अघि वातावरण विषय पढाई हुने एक कलेजमा म काम गर्थे । एक दिन अरुनै कलेजका एक विद्यार्थी कुनै काम विशेषले मेरो कार्यकक्षमा देखा परे । ति मँगोलियन मूलका जस्ता देखिन्थे । 

“तिम्रो नाम के हो भाई ?” 

मेरो नयाँ मान्छे भेट्दा स्वागत गर्ने सदावहार प्रश्न तेर्सियो । 

“रामप्रसाद आचार्य ।” 

तिनले नाम थर भने । 

“रुप र अनुहार हेर्दा त वाहुन जस्तो लाग्दैन् ।“ 

मैले आश्चर्य प्रकट गरेँ । 

“मेरो आमा गुरुगँसेनी हो सर ।” 

उनले सहजताका साथ भने । उनका पिता ब्राम्हण रहेछन् । मैले उनलाई गुरुङ्ग र बाहुन जातीका विशेषता को वारेमा जानिफकार मध्ये सबैभन्दा राम्रो ज्ञान भएको तिमी हौ भनेर उत्साहित गराउदै अरु जातीमा कम पाईने तर ती दुई जातीमा अधिक पाईने गुणका वारेमा उनको विचार भन्ने आग्रह गरेँ ।

उनका भनाई थियो-गुरुङ्गको विशेषता भनेको ठूलो परिवारमा पनि मिलेर बस्न सक्ने हो भने वाहुन जातिमा साधन र श्रोत को सहि परिचालन गर्ने दक्षता बढी छ । उनको विश्लेषण मलाई सटिक लाग्यो । ति दुवै विशेषताले परिपूर्ण भएकाले तिमीले अरु भन्दा धेरै प्रगति गर्नु पर्छ भनेर मैले उनको हौसला बढाँए । 

यस्तै अर्को एक प्रसँग सुनसरी जिल्लाको थारु जातीको वाहुल्य भएको वस्तीमा घट्यो । म खानेपानी र सरसफाई सम्बन्धी एक समूह छलफलको अगुवाई गरिरहेको थिएँ । छलफलमा सहभागि भएका व्यक्तिहरुमा थारु, वाहुन, दलित (यो शब्दको प्रयोगमा मेरो व्यक्तिगत असहमति छ ।) र नेवार थिए । उनीहरु सबैले तुलनात्मक हिसावमा थारुहरुको घर चिटिक्क परेको र भान्साकोठा पनि सफा हुन्छ भन्ने कुरा स्वीकार गरे । यसो हुनुमा परम्परा देखि चलेर आएको चलन लाई निरन्तरता दिनु पर्छ भन्ने मान्यता प्रमुख रहेछ । 

प्राय बाँसको टाटीमा माटोको लेप लगाई सानो चिटिक्कको घर वनाई, फूल आदिका बुट्टा निकाल्ने र भान्साकोठा सफा राख्ने क्रममा कामको लैँगिक विभाजन ( उनिहरुको विचारमा यो विभेद होईन् ) पनि गरिँदो रहेछ । पुरुषले धेरै बल लाग्ने र गहन सीप आवश्यक पर्ने काम गर्ने (जस्तै: वाँस चिरेर टाटी वनाउने ) चलन रहेछ भने महिलाले तुलनात्मक रुपमा सजिला र नियमित गर्नु पर्ने कामहरु (जस्तै : लेप लगाउने, बुट्टा कुद्ने आदि ) । मैले उपस्थित अन्य सहभागीहरुलाई यस्तो राम्रो तौरतरिका अन्य जातिका मान्छेले पनि सिक्दा हुदैन भनेर प्रश्न गरेँ । 

यसरी एक जातिको परम्परा देखि चलेर आएको राम्रो चलनलाई अरुले सिक्ने र आफ्नो जिविकोपार्जन लाई अझ प्रभावकारी वनाउने तर्फ कुनै औपचारिक पहल भएको मैले देखेको सुनेको छैन् । यसमा दुई प्रमुख कारणहरु रहेको मेरो तर्क छ । पहिलो राजनैतिक शक्तिहरुले सत्ता प्राप्त गर्नको लागि जाति जातिको वीचमा द्वेष फैलाएर नकारात्मक पक्षको उजागर गरी द्रुत आर्थिक विकास जस्ता मूलधारका सर्वमान्य तथा सम्बृद्धिका लागि अपरिहार्य बहसका विषयलाई नेपथ्यमा धकेली राजनैतिक रँगमन्चमा जातिय पहिचान जस्ता मुद्दालाई प्रदर्शन गर्नु रहेको छ । 

दोस्रो विकसित मुलुकवाट प्रविधि र आर्थिक विकासका नमुनाहरु विना अनुसन्धान आयात गर्नु रहेको छ । यो सवालमा दातृ सँस्था, विदेशी विकास नियोग र गैर सरकारी सँस्थाहरुको पनि ठूलो हात रहेको छ । विकासको नाममा विदेशवाट सिधै आयात गरि स्थानिय तहमा लादिएका भयमुक्त शिक्षा, घरेलु हिसाँवाट मुक्ति, वालवालिका सँगै सुत्न नहुने जस्ता नाराहरु दोस्रो कारकसँग सम्बन्धित केही उदाहरणहरु हुन् । 

हाम्रो परिवेशमा के उपर्युक्त हुन्छ के हुँदैन् भन्ने सवालहरुमा न त हाम्रा तथाकथित विज्ञहरुको कलम चल्छ न त कुनै सार्वजनिक वहसनै आयोजना गरिन्छ । केही समय अघि घर धुरी सर्वेक्षणका लागि एक अन्तराष्ट्रिय विकास नियोगले मस्यौदा गरेको दुर दराजका गरिव र पिछडिएका जनतालाई सोध्ने एक प्रश्न यस्तो थियो “तपाईका औपचारिक समारोहमा लगाउने पहिरन कति जोडी छन् ?“ 

विगतमा व्यापारिक या उद्यम सँग सम्बन्धित गतिविधिहरुमा मारवाडी, मनाँगे, थकाली र नेवारहरुको बाहुल्यता रहेको छ । भूगोलको हिसावमा भन्ने हो भने काठमाण्डौ वाट लगभग उतिनै दुरीमा रहेको चित्लागँ उपत्यका, ललितपुरको टिकाभैरव या भट्टेडाँडा, नुवाकोटको त्रिशुली या गल्छीलाई किन धुलिखेलले पछि छोडेको छ ? प्रश्न उभिन्छ । किन भने त्यसको एउटा प्रमुख कारण हो धुलिखेलका नेवार तथा अन्य जातीहरुले विकासको कामलाई राजनीति भन्दा माथी राखे र अझै पनि उनिहरु कतिपय सवालमा एक ढिक्का हुन्छन् । 

जे विषयमा जहाँ पनि पाखुरा सुर्की हाल्नु जरुरी हुँदैन् । जसरी लेखको सुरुमा उल्लेख गरिएको प्रसँगमा तीन नेपालीहरुले जापानिजको आतिथ्य सत्कारलाई वेवास्ता गर्दै विष वमन गरिदिए । कुनै खास जातीका मौलिक विशेषताको वयान गरिएका वा अरु जातीले सिक्नु पर्ने विषयमा बहस चलाएका कुनै लेख मैले अहिले सम्म पढ्न पाएको छैन् । 

एक पटक काठमाण्डौ मलमा एक मारवाडीको पसलमा जुत्ता किन्न गएको थिएँ । मैले साहुजी सँग ठट्टा गर्दै भने “तपाईहरु सँग व्यापार गर्ने के जादु छ जो पनि जहाँ पनि सफल हुन्छ ?“ 

उनले कुनै सटिक जवाफ दिएनन् तर त्यत्ति वेलानै उनको घरवाट खान्दानको वट्टामा सिलवन्दी गरिएको खाना आयो । त्यो दृष्यमा मैले मेरो प्रश्नको जवाफ पाईसकेको थिँए । मारवाडी जात सँग उनिहरुको दिनचर्याको या व्यावसाय गर्ने एउटा परम्परा छ, आफ्नै नियम छ । उनिहरु प्राय: आफ्नै घरमा वनेको परिवारको प्रेमको अँश थपिएको खाना खान्छन् । 

पल्लो सटरको अन्य जातको पसलको मालिक खाना खाने निउमा दिँउसै या त मदिरा पान गर्छ या त मो मो वा छोईला हसुर्छ । उनिहरुको समूहले नयाँ व्यापार शुरु गर्ने दौँतरीलाई मदत गर्छ । ग्राहकको माग र आवश्यकता अनुसार सेवा गर्छ । अतिथि सदन सन्चालन गर्न सक्छ । पशुपतिमा पानी वाड्न सक्छ । यी कारकहरु सामान्य लाग्न सक्छन् तर यिनीहरुको समग्र रुपनै मारवाडी समूहको सफलताका राज हुन भन्ने मेरो मान्यता रहेको छ । 

यस्तै मकवानपुरका दामन र सिस्नेरी वस्तिहरुमा मैले अनुभुति गरेको जात सम्बन्धित अर्को रोचक प्रसँग छ । दामनमा म विहानै उठेर त्यँहाको धरहरामा दृष्यालोकन गर्न गँए । विहानको साढे पाँच वजेको हुँदो हो । त्यति विहानै एक नेपालीले दृष्यावलोकन गर्ने ईच्छा प्रकट गरेकोले हो या अरु कुनै कारणले हो धरहरा परिसरका कर्मचारीले मेरो उपस्थिति प्रति कटाक्ष गर्दै मुख अमिलो पारेको अनुभुति मैले गरेँ । त्यँहा काम गर्ने भान्सेहरु सात बजे मात्र आउने जानकारीले धरहराको चमेना गृहमा वसेर कफी पिउने मेरो ईच्छा पुरा नहुने सँकेत दिईसकेको थियो । 

मैले एउटै सँरचनामा वसेर तिन सय साठी डिग्रीको परिक्रमा गरी पहाड, जँगल, वस्तीहरु र सुर्योदयको मजा लिएँ । त्यसपछि त्यँहा वसेर केही वेर प्रणायाम पनि गरेँ । मनमा लाग्यो यसरी नै सधैँ प्राण वायुको रस्वास्वादन गर्न पाए कति आयु थपिन्थ्यो होला । करिब एक घण्टा पछि तिनै कर्मचारीको सल्लाहा अनुरुप म धरहरा परिसरवाट वजारमा निस्किएँ चिया पिउने उदेश्यले । वाहिरका भान्से कर्मचारी राखेका होटेलहरुमा कहिँ पनि चिया पाईएन् । 

खोज्दै अघि बढ्दै जाँदा एउटी तामाङ्गनी दिदीकहाँ चिया पाईयो । वहाँको सानो चिया पसल थियो र त्यँहा कुनै भान्से या कर्मचारी देखिएन् । दिदीले विहानै दुध चिया उपलब्ध गराउन सक्नुका पछि दुई कारण देखिए : पहिलो आफ्नो काम आफै गर्नु र दोस्रो खत्रिबाजेले विहानै दुध ल्याई पुर्याउनु । खत्रिबाजे नजिकैको वेन्चमा वसेर चिया र चुरोट च्यापेर कोही कुरा गर्ने मान्छे फेला पर्ला कि भनेर गतिविधि नियाली रहेका । मैले उनिसँग थाँले भलाकुसारी । 

उनले दिएको विवरण अनुसार उनको गाँउ जान त्यहाँवाट दुई घण्टा लाग्छ र उनि एक मात्र कृषक हुन जो यसरी विहानै दुध वोकेर दामन धाउँछ । मैले अरु जातीले किन यो काम गर्दैनन् त भनेर सोधेको प्रश्नको उनको जवाफ र सिस्नेरीमा त्यसको केही दिन पछि विहानको त्यस्तै समयमा दुध वोकेर ल्याएका घिमिरे बाजेले दिएको उत्तर सँग ठ्याक्कै मिल्न पुग्यो। 

सिस्नेरीमा पनि हामी वास वसेको होटलवाट लगभग पाँच किलोमिटर पर अर्को तामाङ्गकै पसलमा घिमिरेबाजेको घरको दुधले बनेको चियाको स्वाद लिन पुगेका थियौ । मैल नेपालका अन्य स्थानहरुमा पनि गाई भैँसी पाल्ने र दुधको व्यावसाय गर्ने कार्यमा वाहुन र क्षेत्रीहरु नै अघि पाँए । 

भूगोलसँग जोडिएको स्याङ्गजाको पनि यस्तै प्रसँग छ । एक पटक स्याङ्गजाका एक माननीय सँग मैले ठट्टा गरेको थिएँ । 

“म कुनै दिन यो देशको उच्चपदस्त कार्यकारी अधिकारी भएर निर्णय गर्ने मौका पाएँ भने स्याङ्गजामा अन्तराष्ट्रिय सम्बन्ध र कुटनीति अनुसन्धान केन्द्र खोल्छु ।“ 

“स्याङ्गजाली” भनेर हँसि मजाक गर्ने होईन् त्यँहाका मान्छेहरु किन चलाख या वेजोड विश्लेषणात्मक क्षमता भएका हुन्छन् भन्ने विषयले त्यसवेला देखिनै मेरो मानसपटलमा अड्डा खोलेको थियो । एक दिन स्याङ्गजाका दुर दराजमा गएर वुढापाका हरुसँग यस विषयमा वहस चलाउँछु र उत्तर खोज्नेछु भन्ने मनमा लागेको थियो । 

सँयोगनै मान्नु पर्छ केही समय अघि विद्युत प्रसारणलाईनको योजना तर्जुमा गर्ने कामको सिलसिलामा म कालिगण्डकीको किनारको मिर्मीमा वास वस्न पुँगे । भोलिपल्ट विहान नजिकैको चिया पसलमा पुग्दा साहुनी लगायत अन्य केही स्थानिय त्यँहा पाईए । 

 “लौ! विना चिनीको एक कप दुध चिया पाँउ ।“ मैले माग राखेँ । “गाईलाई घाँस हाल्नु भएको थियो र दुध चिया खोज्नु हुन्छ ?” 

साहुनीवाट आशा गरिएको जवाफ अर्कै एक ग्राहकले दिए । म रनभुल्लमा परेँ । एक छिन त कुरो बुझिँन। दुध आईनपुगेकोले कालो चिया मात्र पाईन्छ भन्ने आशय रहेछ त्यो । यसरी हास्य रस भरिएको सटिक जवाफ दिन सक्नु भनेको चानचुने कुरो होईन् । अपरिचित व्यक्ति सँग सँवाद सुरु गरेर प्रभाव कसरी पार्ने भन्ने औपचारिक अध्ययन अध्यापन हुन्छ । व्यक्तित्व विकासमा यसको ठूलो भूमिका छ । सार्वजनिक भेलामा भाषण गर्दा होस या तोकिएको सफलता हासिल गर्न समूहको अगुवाई गर्दा होस सटिक जवाफको उत्तिकै महत्व छ । 

नेतृत्व कौशलताको एउटा पाटो अभिव्यक्तिको प्रभावकारीता रहेछ भन्ने मैले बुझेको धेरै भएको छैन् । यसरी ‘स्याङ्गजाली’ हरुसँग छोटो तर अविस्मरणिय वार्तालाप भएको थियो मिर्मिमा मेरो । पछि अन्य श्रोतवाट बुझेँ ती कालिगण्डकी किनारका रैथानेहरुको विशेषता भनेको “आफ्नु जीवनको लागि मार्गनिर्देशक व्यक्ति को हुन सक्छ” भन्ने खोजी रहेछ । फलानोले यसो गरेछ जीवनमा म त्यो भन्दा पनि अग्लो हुन्छु र त्यो भन्दा पनि लोकप्रिय हुन्छु भन्ने भावनाको सानै देखि जगेर्ना गर्ने थिति वसेको रहेछ स्यङ्गजाको माटोमा । 

दिनचर्ययालाई व्यवस्थित गरेर निरन्तर एकल उदेश्यका प्राप्तिकालागि सँघर्ष गरेका नायक या नायिकाको जीवनदर्शनलाई अनुशरण गर्ने परिपाटि त्यो माटोको उपज हो । ठाँउ विशेषका यस्ता विशिष्ट गुणहरुले लोकप्रिय भएका अन्य स्थानहरुमा जुम्ला, झापा, चितवन आदि पनि पर्दछन् । 

स्रष्टा शँकर कोईरालाले लेखेका छन् । 

“प्रत्येक मान्छेको गुण के हो भने उ सँग केही अवगुण हुन्छ ।“ मान्छेको 

यस्तो विशेषता भए जस्तै जाती, समुदाय या भूगोल को पनि गुण या अवगुण दुवै हुन्छ । यहाँ अहम प्रश्न के हो भने प्रत्येक जातीका गुणहरु या अनुकरणिय विशेषतालाई मिलाएर सम्बृद्ध नेपाली जाती कसरी वनाउन सकिन्छ भन्ने हो । ठूलो नदी सँग मिसिए पछि खोलाको नाम मेटिन्छ । तमोर तराईमा छैन कोशी छ । पानी त्यही हो तर त्रिशुलीको अँश समेटिएको जलप्रवाहलाई चितवनमा गण्डकी भनिन्छ । कैलालीमा कर्णाली मात्र छ सेती या भेरी छैनन् । 

नेपाली भनेको गँगा हो महासागर हो जँहा सयौ नदी, हजारौ खोला या लाखौ मुलहरुको अँश समेटिएको छ । पवित्र खोला या शुद्ध जल भएको खोल्सीले नदीलाई सफा राख्न मदत गर्दछ । प्रदुषित भएको वागमतिले गँगाको पानी या महासागरको केही अँश विटुलो वनाएको छ । व्यक्ति व्यक्तिको गुण उजागर भएमा समुह राम्रो हुन्छ । समुह राम्रो भए समाज र समाज राम्रो भए राष्र्क । यसैले म मेरो राम्रो विशेषता तपाईको राम्रोमा मिसाउन चाहान्छु । यसवाट तलको समिकरण वन्छ भने मेरो मान्यता छ । 

म नेपाली ‌+ म नेपाली ‌+ …….. + ………………+ ……………‍= हामी नेपाली 

 

१२ सेप्टेम्बर २०११ 

पुल्चोक

3 comments:

  1. Mesmerized! thanks for this great article, great thought... All filled with practical, possible and needful things to transform Nepal. If 100s or 1000s of us read this, internalize it and apply it in our actions; we can really transform our society and make our country - 'A Dreamland' for sure!
    I wish and request every teacher, every adult/individual, policy makers, politicians, development workers, scientists, engineers...all read and make a subject of discussion at their platforms. It's essential and possible to make the things happen and transform/change our society we love to see, live and enjoy. Home investment (either be it our cash or be it our knowledge, skills and efforts) is the most needed task now to build our nation. One should understand and realize, "I", as a citizen, have some responsibility to contribute for my society, for my mother land! As this article suggests, "I" + "I"+....makes "WE" and we all can make our nation.
    Let us try our best to have similar discussions in the areas we visit, with the people we meet...'थोपा थोपा पानीले समुन्द्र बन्छन'!

    ReplyDelete
  2. Great article sir! I really agree with your observations and analysis

    ReplyDelete