Friday, March 1, 2013

प्रेमको पर्खाल



प्राकृतिक उज्यालो भित्र्याउने उदेश्यले मेरो कार्यालयको भित्ताको पर्दा खोलेको थिँए । शिशा वाहिर एक जोडी ढुकुर देखिए । कार्यालय भवनको पश्चिम तिरको पाखोमा केही रुखहरु छन् । जमिनमा घाँस पनि छ । शायद ति पन्छीले यिनै जैविक वस्तुको सहारा पाएकोले त्यँहा आउने आँट गरेका थिए । अहिले सम्म अनुभूति  नगरिएको त्यो रोचक परिस्थितिले मेरो ध्यानाकर्षण गर्यो । केही काम गर्ने सोच थियो । त्यसलाई प्रणयसुखको त्यो दृष्यले एकाएक विस्थापन गरेको थियो । खुला आकाशमा वा वनमा वा खेतवारीमा भएको भए म उनीहरुलाई त्यति नजिक भएर अवलोकन गर्न सक्ने थिईन् । यो पारदर्शी पर्खाल अर्थात गरिएको वन्द झ्यालको शिशा मार्फत म उनिहरुको कृयाकलाप हेरेर मन्त्रमुग्ध भएको थिँए । आफ्नो कार्यमा कुनै वाधा पर्न सक्ने सँभावना शायद उनीहरुले अनुमान गरेका थिएनन् । उनीहरु चलायमान थिए । शायद आहारा टिप्दै थिए ।
चराको प्रसँग आए पछि मलाई कवि शिरोमणी लेखनाथ पौड्यालले लेखेका तलका हरफको सँझना हुन्छ ।
"जहाँ जो भेट्टायो, प्रणयसित खायो फलफुल ।    
चुचो बायो, गायो मधुर सुरमा तृप्ति-गजल ।।"

कति स्वच्छन्द जीवन । न वासको चिन्ता । न गाँसको । यी दुई विषयहरु मान्छेको जीवनवाट निकालिदिने हो भने उनीहरुले पनि चरा कै जस्तो दिनचर्या पाँउथे होला । जुन वनमा गए पनि हुने । जुन रुखमा गुँड वनाए पनि हुने । न आगतको चिन्ता छ । न विगतको विरह छ । मान्छे पनि जुन गाँउमा या शहरमा पुगेको छ त्यँही वस्न मिल्ने भए कस्तो हुन्थ्यो होला । एक जमाना थियो जो जहाँ पुगे पनि वास पाईने । अतिथीको स्वागत हुने । जे पाकेको छ वाँडेर खाने । २०४७ सालमा जाजरकोटको साल्मा गाविसको एक घरमा एक रात वास वसेको थिएँ । पहिला त म उनीहरुलाई दु:ख दिन आएको मान्छे हुँ की भनेर झण्डै वास नदिएका । तर पछि पाईयो । एउटै कोठा भएको घर थियो । हाम्रो आतिथ्य सत्कारका लागि जोगाएर राखेका चामल र कालो दालको सितनको व्यवस्था भयो । त्यो रात वनवाट भैँसी आईनपुगेनन् । नत्र राती नै खिर पाक्थ्यो । अहिले सँम्झदा त्यो अमृत जस्तो लाग्छ । चराले नचिताएको चारो भेटेको जस्तो । अँगेनाको वरीपरी हामी परिवारकै सदस्यहरुकै समिपमा सुतेका थियौ । त्यस घरका छोरी र वुहारीले भाका हालेर गीत सुनाएका थिए । साल्माको त्यो वास जीवन-यात्रा कै एक अविस्मरणिय अँश भएर रहेको छ । 

मैले प्रणयसुख त भने । शब्दकोशले भन्छ- प्रणयसुख भनेको प्रेमवाट पाईने सुख हो । प्रणय भनेको प्रेम, माया वा पिरती हो । तर ती ढुकुरका जोडी प्रेमी-प्रेमिका वा पति-पत्नि थिए वा दौँतरी मात्र थिए । मलाई थाहा हुने विषयवस्तु भएन् । मान्छेको जस्तो विवाह पश्चात सिर्जना हुने पति-पत्निको नाता चराहरुमा हुन्छ कि हुँदैन् म अनभिज्ञ थिएँ। तर म उनिहरुको गतिविधि एक टक लगाएर नियाली रहेको थिँए । हुन ता माया या पिरती भन्ने शब्दहरु प्रेमी-प्रेमिका को सम्वन्ध ईतर पनि प्रयोग हुन्छ । हामी आफ्ना सन्तानलाई पनि माया गर्छौ । जन्म दिने आमाले भर्खर जन्मेको शिशुलाई सँसारकै सबै भन्दा वढि माया गर्छिन् । चाहे ती मान्छेको तुलनामा कम चेतनशिल पशु वा चराचुरुङ्गी नै किन नहुन । या त नाजायज सम्बन्धको कारण वा वाध्यताबश कुनै परिवन्दमा परेर पैसाको लागि गर्भ वेचेकी वा वलात्कारी प्रति जतिसुकै घृणा वोकेकी भए पनि वलात्कार पश्चात रहेको गर्भवाट जन्म भएको सन्तानकी आमा नै किन नहुन् । या काँचो यौवन जवरजस्ती पस्केकी कुमारी आमा । या जथाभावी सहवास गरेर कस्को गर्भ हो भनि जानकारी नभएकी आमा हुन् । सन्तानलाई गर्ने आमाको माया नै मायाको परिभाषाले समेट्ने सबै भन्दा विशिष्ट माया हुनु पर्छ । यस्तै प्रेमी ले प्रेमिकालाई गर्ने वा प्रेमिकाले प्रेमी लाई गर्ने प्रिति नै प्रणयको सबै भन्दा विशिष्ट रुप हुनु पर्छ ।
ढुकुरका ती जोडीको एक आपसको प्रेमलाई प्रेमी र प्रेमिकाको या दम्पतीको प्रणयसँग तुलना गर्न पुग्छु । तीनले गर्ने प्रेम र नारी पुरुषले गर्ने प्रेममा के समानता होला । के भिन्नता होला । के तिनको एक आपसको मायाको आयतन पनि नरनारीको जस्तो घटवढ हुन्छ । कुनै एक समयमा ईष्ट देवताको आँगनमा  कसम खाई प्रणयसुत्रमा बाँधिएका जोडीहरु मायाको मर्करी लाई शुन्यमा झारेर विछोडिन पनि पुग्छन् । वियोग हुन्छ । वाध्यात्मक विछोड हुन्छ । आफूले गरेको प्रेम पश्चातापमा वदलिन्छ । प्रश्न उब्जिन्छ ? किन भत्कन्छ प्रेमको पर्खाल? किन पर्खालका जोर्नीलाई विष मिसिएको द्रव्यले गाल्दै लान्छ । कुनै समय एउटै ओत लागेका कतिपय दम्पति किन कालान्तरमा एक अर्का लाई  घृणा गर्दै प्रणयसुख लाई प्रणयकलहमा परिवर्तन गर्छन् ? प्रश्न जटिल छ ।
डा. गोविन्द राज भट्टराईले लेखेका छन "धेरै विवाहित नरनारी सन्तुष्ट छैनन् । ….. पहिले ती खुशीले भेट हुन्छन्, वन्धनमा वाँधिन आतुर हुन्छन् तर समय व्यतीत हुँदै गए पछि एउटाको सुख अर्कोले भाँचिदिए जस्तो ठान्न थाल्छन् । एउटाको सौन्दर्य र यौवन अर्काले निष्ठुर भएर पिँउदा पिँउदै सुकाईदिए जस्तै ठान्दछन् ।"
एक अध्ययनले पुष्टि गरेको छ । जीवन साथी भेट्टाएको वेला मान्छेको  खुशीको उचाई सर्वाधिक हुन्छ । शायद चराहरु या जनावरमा पनि यही हुन्छ । भालेले पोथीलाई पुर्ण प्रेम गर्छ । प्रियतमाले प्रियतमलाई शत प्रतिशत माया गर्छे । समर्पणमा कुनै कमी हुदैन् । दुई मन जोडिन्छन् । सँसार जितेको आभाष हुन्छ।

यस्तै परिवेशलाई उनेर नारायण गोपालले गाएका छन् ।   
मेरा सारा जीवन सबै तिमीलाई !
मीठा मीठा क्षणहरु सबै तिमीलाई !!”

यसरी एकले अर्कालाई मीठो क्षण पस्कने काम हुन्छ ।  त्यो पलमा वा साईतमा प्रेमी  भित्रको सम्पूर्ण चाहना वाहिर प्रस्फूटन हुन्छ । प्रेमिका भित्र लुकेर लाज र कुरीकुरी सतहमा पोखिन्छ । आँकाक्षा अकास्सिन्छन् । वाचा हुन्छन् । वन्धन कसिदै जान्छ । मायाका र सँवेगका ईँटाहरु थपिदै जान्छन् । आकर्षण उत्कर्समा पुग्छ । समर्पणका लेपहरु लाग्दै जान्छन् । प्रेमको पर्खाल पहाडमा परिवर्तन हुन्छ । सवैले ठान्छन् । हाम्रो प्रेमले त चुरे पहाड मात्र होईन् हिमाल नै वनाएको छ । 
तर सवैको प्रेमको पर्खाल कङ्क्रिट को हुँदैन् । पर्खालको एउटा मात्र ईटामा धमिरा लाग्यो भने वा अलिकति पनि लेप सिमेन्टको नभएर माटोको पर्यो भने त्यो अँश कमजोर वन्न पुग्छ । शँका र अविश्वास वढ्दै जान्छ । कमजोर सतह फैलिदै गयो भने एक दिन प्रेमको पर्खाल गर्ल्यामगुर्लुम भत्कन्छ । प्रेम विग्रह हुन्छ । पहाडमा पहिरो जान्छ । प्रेमशुन्यको स्थिति सिर्जना हुन्छ ।
वयस्क युवक वा युवतीले एक अर्कालाई मन पराएर नजिकिनुका केही विशेष कारणहरु छन् । ती हुन- रुप, गुण, स्वभाव, सामिप्य वा कामवासना । यीनको प्रकृति सँधै एकै नाशको हुदैन् । समय वित्दै गए पछि यी आकर्षणका कारकहरुको पूर्णतामा क्षयिकरण हुँदै जान्छ । अर्थशास्त्रको उपमा लिने हो भने उपयोगितामा ह्रास आँउछ । विपरित लिङ्गी साथीको मन र शरीरले आरम्भमा जुन आश्चर्य र चमत्कार पस्कन्छ, त्यसको आयू दीर्घकालिन हुँदैन् । कसैले यो यथार्थलाई आत्मसात गर्दैन वा आफ्नो जोडिमा यी अवयवहरु क्षयिकरण भएको सम्झिन्छ भने प्रेमको पर्खाल भत्कन त्यँहीवाट शुरु हुन्छ । क्षयिकरण त समयको हुने हो । कालखण्डको हुने हो । जसले आफ्नो जीवनसाथीमा रुप या यौवन वुढो भएको देख्छ त्यो समानान्तर हिसावमा उसको पनि भएको हुन्छ । अनुभूति गर्न नसकिनु छुट्टै विषय हो ।       
पर्खाल भत्कने अर्को कारण हो सम्बन्धमा अभिनयले प्रवेश पाउनु । कहिलेकही पर्दामा वा टेलिभिजनमा देखिने कलाकारहरुको दाम्पत्य जीवन कस्तो हुँदो हो भन्ने मलाई लाग्छ । सारा दिन अभिनय गरेर परस्त्री लाई प्रेम गरेको नाटक गरेर फर्केको नायकले आफ्नी सँगनी सँगको व्यवहारमा अभिनयको अँशलाई शुन्यमा कसरी झार्दो हो? र त्यो दिनको तमाशा हेरेकी जीवन सँगिनीले नायकको व्यवहारलाई कसरी वास्तविक ठान्दि हो ? यसको ठीक विपरित वास्तविक र व्यवहारिक सम्बन्धमा अभिनयले प्रवेश पाउनु भनेकै ओरालो यात्राको शुरुवात हो । कुनै दम्पतिको रँगमन्चमा नाटकले प्रवेश पाउनु भनेको दुई मध्ये एक पात्रको वा दुवैको अर्को सँसारमा नँया सम्बन्धको शुरुवात भएको सँकेत हुन सक्छ ।
मेरा एक मित्रले एक दिन भन्नु भयो-
"मेरी श्रीमतिले लिएको निर्णयमा वा उनले गरेको काममा म प्रश्नै गर्दिन् । किन भने उनी एक नारी पात्र मात्र नभएर हाम्रो दाम्पत्य जीवनकी पूर्ण पात्र हुन् । उनी एक धरोहर हुन् । उनले हामीलाई अहित हुने निर्णय लिने एक रत्ती पनि सँभावना छैन् ।"
पुर्णताको प्रसँगमा नारायण गोपालको गीत सम्झे पुग्छ । ग्रन्थमा गीता । दर्शनमा वुद्ध । अग्लाईमा सगरमाथा । कालजयी गीतमा यो पुगेन भन्ने या सगरमाथाको अरु २ मिटर अग्लो भएको भए राम्रो हुन्थ्यो भन्ने अभिव्यक्तिको सामान्य व्यक्तिलाई कुनै अर्थ लाग्दैन् । यस्तै दाम्पत्य जीवनमा प्रवेश गरेका नरनारीले आफ्नो सहयात्रीमा अन्तरनिहित पूर्णता देख्नु भनेको अचल र अभेद्द भुँई चट्टानमा उभिएको अति नै वलियो कन्क्रिटको पर्खालको सूचक हो ।
मैले कतैवाट टिपेर धेरैलाई भनेको छु-
"घनिष्ट साथी वा जीवनसाथी त्यसलाई नरोज्नु जो तिमी भन्दा वढी धरापमा छ।"
यो सुत्रलाई आत्मसात गर्ने हो भने आफू भन्दा कम समस्यामा विद्दमान सहयात्री खोज्न सकिन्छ । आफू भन्दा वढी समस्या भएको व्यक्तिमात्र आफूसँग नजिकिन्छ । कम भएकालाई त आफूले खोज्न पर्छ । विकल्प असँख्य हुन्छन् । किन भने एउटा वयस्क विपरित लिङ्गी जस्को पनि जीवनसाथी वन्न सक्ने सँभावना लिएर हिँडेको हुन्छ ।
सम्बन्ध चिसिनुको अर्को कारण हुन सक्छ "यान्त्रिकिकरण" । कुनै कारण विशेषले जस्तै:  अवसाद वा डिप्रेसन वा असाध्य रोग वा मनमा कुनै गम्भिर समस्याको कारण वा कुनै अप्राकृतिक वा कृत्रिम सम्बन्ध स्थापित गर्ने उदेश्यले सम्बन्ध यान्त्रिक भएर जान सक्छ । वाध्यता सिर्जना हुन सक्छ । डर या त्रास सिर्जना हुन सक्छ । यान्त्रिक सम्बन्ध भावनात्मक रुपमा कमजोर हुन्छ । व्यवहार स्वतस्फूर्त हुँदैन । कसैको पूर्व योजना अनुरुप काम हुन सक्छ । योजना गरेर भएको प्रेमको पर्खाल वनावटी हुन्छ । यसको जोड्नीमा सिमेन्टको सट्टा माटो हुन सक्छ ।
एक विदेशी सँस्था सँग काम गर्ने उर्लदो वैँस लगभग पार गरेकी विदेशी मूलकै महिलाले नेपालमा भएकै वेला वच्चा जन्माउने रहर गरिन् । दाम्पत्य जीवन सफल पार्ने उनको धेय थिएन् । खाली सन्तानको रहर थियो । मातृत्वको चाह थियो । उनले खोजेको केटाको जीवनस्तर महिलाको तुलनमा धेरै कमसल थियो । केही समयको सँयुक्त वास पछि उनले छोरा जन्माईन् । केटा खोज्नु पुर्व उनले आफ्ना दौतरीलाई सुनाएकी थिईन- मलाई सन्तानको रहर हो लोग्नेको होईन् । तिनले स्थापित गरेको सम्बन्धमा ढुकुरका जोडि जस्तो या वयस्क जोडिले दाम्पत्य जीवनको जोहो गर्ने उदेश्यले सिर्जित वन्धनमा जस्तो प्राकृतिक अवयवहरुको अँश कम हुनु स्वभाविक हो ।   
सिद्दिचरण श्रेष्ठले लेखेका छन्-
तरुणीजनले वालकहरुमा के रस पाउँदछन् साथी
सँकटदेखि थिचिनेहरुमा सँकटको मिल्छ र छाती ?  

सँकटलाई केन्द्रमा राखेर लेखिएको यी हरफमा कस्को को सँग जोडि मिल्न सक्छ भन्ने वा कस्तो सम्बन्ध प्राकृतिक हुन सक्छ भनेर नौजवान पात्रलाई वालक सँग दाँजिएको छ । म ढुकुरका ति जोडिमा कृत्रिमता या अभिनयको अँश हुन्छ कि हुँदैन भनेर आँफैलाई प्रश्न गर्छु । तर उत्तर पाँउदिन् । कुनै चराविदले यो लेख पढेमा मेरो मनमा उब्जेको माथीको प्रश्नको उत्तर अवश्यै दिनु होला ।

ढुकुर जोडि देखिएको दिनाङ्क फेव्रुवरी २६, २०१३
लेखेर सकिएको दिन - मार्च ०१, २०१३  

12 comments:

  1. This is an excellent piece of writing. The very fine connection between the love birds on the scene and human love beyond the scene is praiseworthy. The presentation of contemporary conjugal relations and tendencies of their break ups is very contextual.Any relationship or a partner can never be perfect but we should try to work the best out it !!

    ReplyDelete
  2. फेसबुकको भित्तामा सरको लेख पढ्न नपाएको धरै पछि यो लेख पढन पाए, सरले सोधेको अन्तिम कोइसनको उत्तर त म पनि दिन सक्दिन तर जेहोस कल्पनामा वहेर लेख लेख्ने शैली राम्रो लाग्यो म साहित्यो विद्यार्थीको नाताले यस्ता लेख मेरा लागी निकैनै उपयोगी हुन सक्छन तर अफिसको समयमा हेरीने फेसबुकका भित्ताले मलाइै यो लेख पढ्न समयको अभाव पनि महसुस गरेको छु
    मेरो मनलाई छोएको अंशहरू मैले कपि गरेर कमेन्टमा प्रस्तुत गरेको छु


    जन्म दिने आमाले भर्खर जन्मेको शिशुलाई सँसारकै सबै भन्दा वढि माया गर्छिन् । चाहे ती मान्छेको तुलनामा कम चेतनशिल पशु वा चराचुरुङ्गी नै किन नहुन । या त नाजायज सम्बन्धको कारण वा वाध्यताबश कुनै परिवन्दमा परेर पैसाको लागि गर्भ वेचेकी वा वलात्कारी प्रति जतिसुकै घृणा वोकेकी भए पनि वलात्कार पश्चात रहेको गर्भवाट जन्म भएको सन्तानकी आमा नै किन नहुन् । या काँचो यौवन जवरजस्ती पस्केकी कुमारी आमा । या जथाभावी सहवास गरेर कस्को गर्भ हो भनि जानकारी नभएकी आमा हुन् । सन्तानलाई गर्ने आमाको माया नै मायाको परिभाषाले समेट्ने सबै भन्दा विशिष्ट माया हुनु पर्छ ।


    ReplyDelete
  3. कति स्वच्छन्द जीवन । न वासको चिन्ता । न गाँसको ।

    ReplyDelete
  4. euta choto sabda prem tara kati gahiro ani bhari cha. nabhai nahune tara bakhaan garna nasakine. yo kasto sabda ho prem ani kasto bujhaai ho premaabhaash.

    anautho lagcha sochdai..

    better piece Sir!

    ReplyDelete
  5. sir, i always love the way you write, you manage every words in a very clean and fine words. easy to understand but if we try to write a similar one, it is hard for us to copy.
    this one is one of your best, alike others :)

    ReplyDelete
  6. How wonderful Dr. Khatiwada! Your expression of love is indeed very passionate.

    ReplyDelete
  7. सम्बन्ध मजबुत बनाउने टिप्स हरु समाबेस गरिएको सुन्दर लेख नवराज सर/ बास्तबमै, चाहेर-नचाहेरै पनि सामान्य मान्छेको जिबन अलिक धेरै नै सम्बन्धको ओरिपरी घुम्ने गर्छ/ भोगेर भन्दा पनि अगाडिनै, सम्बन्धका सामान्य सुत्र हरु थाह लाग्दिने भए, मान्छे अलिक बढी नै यो छोटो जिबनमा आफ्नो काम मा दत्त चित्त भएर लाग्न सक्थ्यो होला कि/Its always great to love than to be loved मन्त्र जपे सम्बन्ध हमेसा राम्रो रहन्छ होला/

    ReplyDelete
  8. सारै नै राम्रो लाग्यो, सहि तुलना संश्लेषण अनि विश्लेषणात्मक!!!कटु यथार्तता!!

    ReplyDelete
  9. It is great and analytically expression based on deep love.

    ReplyDelete
  10. प्रा. डा. सुबोध शर्माले फेब्रुअरी १६, २०१४ मा लेख्नु भयो-

    चराबिद भएको भए, चरा-चुरुगी भित्रको यो रहस्य भुझथे होला। चरानै भएर जन्मेको भए अनुभुती गर्थे होला। मानब भएको पिडा भोगी रहेछु। धन्यवादमेरो परम्मित्र लाई, ब्यथा र ब्यग्रता को यो मिसाल, उत्कृष्ट रचना पस्केकोमा।

    ReplyDelete
  11. Ishwari Chand Singh ले डिसेम्बर १२, २०१४ मा लेख्नु भयो । चराचुरुङी,पशु अनी मानिस सबैका जीवनमा प्रेमको महत्व उस्तै हुन्छ होला | आपसी सम्बन्धमा रहेको स्वच्छन्दता वा बन्धनले यिनिहरुको प्रेमलाई फरक पार्न सक्छ | मनिस प्रेम गर्छ तर प्रेमको घाटी निमोठ्ने डोरी 'बन्धन'सङगै लिई हिड्छ | जुन चरा र पशुहरुको जीवनमा भेटिदैन |मानिसले प्रेम र बन्धन एउटै सिक्काका दुई पाटा हुन भनेर बुझ्छ र बन्धनलाई कस्दै लान्छ | त्यही डोरीले अन्तत: उसको प्रेमको अभेध्य लाग्ने पर्खाल छिनाल्छ | प्रेम एक एहसास(भावना)हो जसले जीवनलाई उर्जा दिई गति प्रदान गर्छ | भावनाको तीव्रता सधैं एकनास रहन सक्दैन | त्यो फेरिन सक्छ | यसरी फेरिन सक्ने स्वाभाविक गुणलाई मानिसले अस्वाभाविक ठानी रहेको हुन्छ | एकार्काप्रति गरिने व्यवहार र त्यसको सकारात्मक अनुभूतीले भावनालाई गहिरो अनि अटूट बनाउन सक्छ | नकारात्मकले प्रेमको पर्खाललाई कमजोर पार्दै ढाली दिन सक्छ |

    ReplyDelete
  12. गिता ग्रन्थ, बुद्ध दर्सन अनि सगरमाथाको उचाइ । ( अहो!)

    ReplyDelete