Monday, November 11, 2013

चुनावको चिन्तन




गत सँविधान सभा चुनावमा मेरो नाम म हुर्केको वढेको जिल्लाको मतदाता सूचिमा थियो । चुनाव ताका म राजधानीमा थिँए । यसैले मेरो मताधिकार प्रयोगमा आएन । वसाईँ सराई दर्ताको काम सम्पन्न भएकोले यस पटक म पनि राजधानी अन्तर्गतकै निर्वाचन क्षेत्रको आधिकारिक मतदाता भएको छु । मत कुन उम्मेदवार र दललाई दिने भनी मेरो आफ्नो रणनीति वनाउन आवश्यक सम्झिएँ । किन भने आफ्नो विवेक प्रयोग गर्नु र कसैलाई तुलनात्मक रुपमा राम्रो भन्नु भनेको मेरो अध्यापन पेशाको धर्म पनि हो । यस विषयमा चिन्तन गर्दा मैले विद्यावारिधि गरेको शिक्षण सँस्था एशियन ईन्स्टिच्युट अफ टेक्नोलोजीमा लामो समय प्राध्यापन गरेका हाम्रा आदरणिय गुरु प्रा. डा. राममनोहर श्रेष्ठले आफ्ना विद्यार्थीको मुल्याँकनका वारेमा गरेको टिप्पणी सधैँभरी मेरो मानसपटलको सतहमा पदार्पण हुन्छ । वहाँले एक प्रसँगमा भन्नु भएको थियो- "सि" ग्रेडको प्राप्ताङ्कको हैसियत राख्ने विद्यार्थीलाई "" ग्रेड दिनु भनेको आफुले त्यो प्रकृयामा "यफ" पाउनु हो। किनभने विद्यार्थीको हैसियत भन्दा माथी गरिएको मुल्याङ्कनको नतिजाले उसलाई जीवनभरी पिर्न सक्छ ।"

मेरो रणनीतिको पहिलो दायरा वन्यो-"जुन उम्मेदवारले मेरो प्रश्नको चित्त वुझ्दो जवाफ दिन्छ मत उसैलाई दिने ।" फलस्वरुप म उम्मेदवारसँग अन्तर्क्रिया गर्न पाईने अवसरको खोजीमा लाँगे । टोलवासीसँगको चियापान कार्यक्रममा प्रत्यक्ष तर्फका एक उम्मेदवारसँग पहिलो भेट भयो । उनको भाषण चल्दै गर्दा म कार्यक्रम थलोमा पुगेँ । सँयोगवश उनी वसेकै कुर्सीको छिमेकी कुर्सीमा मलाई राखियो । सामूहिक अन्तर्क्रियाको कुनै अवसर देखिएन । भाषण पछि सिधै चियापानको मेसो थियो । सहभागीहरु उठेर सल्वलाए । उनी समर्थक र कार्यकर्ताले घेरिएका थिए । मैले मुख फोरेँ ।
"राजनैतिक रुपले तटस्थ व्यक्तिहरुको मत आकर्षण गर्ने कस्तो रणनीति लिनु भएको छ? "

उनले उत्तर दिन अलमल गरे । म उनका लागि परिचित थिईन् । उनका नजिकका एक पात्रले मलाई उनकै छिमेकी टोलको डाक्टरसाहेब भनि चिनाईदिए । उम्मेदवार मित्रले मेरो उत्तरको सट्टा प्रश्न पो तेर्स्याए ।
" तपाईँ कहाँ काम गर्नु हुन्छ ?"
मैले आफूले पढाउने विश्वविद्यालयको नाम भने । उनले मेरो प्रश्न चपाईदिए । मैले चिताएको काम नहुने देखि मैले दोस्रो सुझावी प्रश्न राखेँ ।
" यस्तो भेटघाटमा प्रश्नोत्तरलाई पनि अलिकति समय छुट्याईदिए हुने थियो । "
"लौन ! तपाईँले नै एउटा कार्यक्रमको आयोजना गरिदिनोस । हामीले वोलाउँदा अर्को दलको या राजनैतिक रुपले तटस्थ व्यक्तिहरु सहभागी हुँदैनन् ।" यस पटक उनले सपाट जवाफ दिए ।
"त्यो कार्यक्रम डाक्टरसाहेवकै घरमा गरे कसो होला । "
उनको कुरा सुनिरहेका एक कार्यकर्ताले थपे । अव मौन रहने पालो मेरो थियो । मलाई निर्णय गर्न सघाउने उत्तर नभए पनि केही त हात लागेकै ठहराएँ ।

दोस्रो अवसर अर्कै दलका एक उम्मेदवारले आयोजना गरेको बुद्धिजीवि तथा पेशाकर्मीहरु सँगको अन्तर्क्रिया कार्यक्रममा फेला पर्यो । आयोजनास्थलमा यस पटक म उम्मेदवार आउनु भन्दा आधा घण्टा जति अघि पुगेको थिँए । मेरा प्रश्नको उत्तर घोषणापत्रमा होलाकि भनि म त्यसको खोजीमा लागेँ । पुग्ना साथ मैले पाँच छ जना व्यक्तिलाई "घोषणा पत्र छ कि ?" भनि सोधेँ । बुद्धिजीवि र पेशाकर्मी भनिएता पनि शायद त्यहाँ घोषणा पत्र पढ्ने लक्ष्यले कोही आएको जस्तो लागेन् । एक जना समर्थकले वेलुकीको भोजनको व्यवस्था समेत गरेकाले कतिपय त अवसर छोपी परिवारै लिएर आएको देखियो । अन्तर्क्रिया कार्यक्रम भनिए ता पनि त्यहाँ आसन ग्रहण र भाषणको अँश मात्र थियो । प्रश्न सोध्ने निँहुमा एउटैले पन्ध्र मिनट सम्म भाषण ठोक्थ्यो । उदघोषक र आयोजकहरुलाई माईक नियन्त्रणमा राख्नै हम्म हम्मे पर्यो । मेरो पालो आउन त आयो तर धेरै जना सहभागीको जोडले । त्यो अनियन्त्रित र बौद्धिक सभाको पद्धति नपहिल्याएको भेलामा मेरो मतलाई निर्णय दिन सक्ने उत्तर आउने आश मरिसकेको थियो । तर मैले असजिलो मान्दै वोलेँ ।
" सर्वप्रथम त मैले घोषणा पत्र नपाएकोले त्यसकै माग राख्छु । दोस्रो बुद्धिजीवि र पेशाकर्मीहरु सार्वजनिक जीवनमा राजनैतिक रुपले तटस्थ रहन जरुरी ठान्नु हुन्छ कि हुँदैन । यदि तटस्थ हुनु पर्छ भन्ने लाग्छ भने यहाँले तिनको मत तान्न के जुक्ति विचार गर्नु भएको छ ? "

उम्मेदवारको भाषणमा कसैको जिज्ञासालाई सम्बोधन थिएन । उनका तर्क र विवेचना पुरानै शैलिका थिए । भेलाको मौलिकता या सहभागिका प्रश्नहरुलाई कुनै ध्यान दिईएन् । उम्मेदवारले प्रश्न या निचोड नोट गरेको पनि देखिएन । मेरो प्रश्न ज्युँ का त्युँ जिवित थियो । यसरी मेरो मत पनि अनिर्णयको वन्दी वन्ने सँभावना वढेको थियो । तर मैले हरेश खाईन । अरु पनि अवसर आउलान भन्ने सोच वनाएँ । नभन्दै तिनै उम्मेदवारलाई बाजागाजाका साथ लिएर घर दैलो कार्यक्रममा चुनाव प्रचार टोली मेरो निवास नजिकै आयो । घर दैलो गर्दा मेरो प्रश्नको उत्तर प्राप्त हुने आशा झिनो थियो । तर मेरो एक छिमेकीको करले म भुँईमा ओर्लिएँ ।
' लौ ! डाक्टरसाहेब अविर लगाएर शुभकामना दिनु पर्यो ! " छिमेकीले भन्नु भयो ।
मैले हातमा अविर लिँए । उम्मेदवार गेट वाहिर म गेट भित्र । उनको निधार र मेरो हात नगिचियो । मैले मौका छोपेँ ।
"मैले घोषणा पत्र त पढ्न पाएको छैन् । "
मेरो जिकिरले काम गर्यो । दुईवटा छापिएका कागत मेरा हात परे । मैले उनको निधारमा अविर दलेँ । शुभकामना दिँए । तर घोषणापत्रले मेरो जिज्ञासा शान्त पार्ने कुरै भएन् ।

लेखको आरम्भमा उल्लेखित उम्मेदवारको पनि घर दैलो जुलुश मेरै घरको वाटो भएर आयो । म फेरी अविरको चक्कर होला पनि आफै तल ओर्लिएँ । तर उम्मेदवारले नेटो काटि सकेका । झण्डा वोकेका कार्यकर्ता मात्र भेटिए । मैलै घोषणा पत्र माँगे । उनीहरुले दिए । मैले यसो हेरेर भने ।
" यो त दलको भयो । उम्मेदवारको खै त ? मैले त उम्मेदवारले आफ्नो क्षमता, अनुभव र दृष्टिकोण आफ्नै शब्दमा लेखेको र हाम्रो क्षेत्रका विकासका चुनौतिलाई सम्बोधन गर्ने ‍औषधीपत्र पनि भएको उम्मेदवारको व्यक्तिगत घोषणापत्र पो खोजेको हो । नत्र घर दैलो को के माने भो र ? दलको त टुँडिखेलमा बाँडे भै गयो नि । प्रत्यक्षमा त व्यक्तिलाई मत दिने होईन र ? " उनीहरुले सुने तर के बुझे थाहा भएन् ।     

माथी उल्लेखित दुई उम्मेदवारहरु ईतर अर्को एक उम्मेदवारका तीन कार्यकर्ता एक दिन वेलुका मूल सडकमा फेला परे । मैले अन्तर्क्रिया र जवाफको प्रसँग उठाँए । उनीहरुले भने- "हाम्रा उम्मेदवार राष्ट्रिय स्तरका परेकाले यस्तो कामका लागि वहाँलाई फुर्सद छैन् ।"

अर्को एक रोचक प्रसँग जोडियो एक दलको सम्पर्क कार्यालयमा । विहानको समय थियो । म ट्रयाक सुटको पहिरनमा थिँए । साधना केन्द्रमा योग अभ्यास गरेर फर्केको थिँए । एक जना योग गुरु सँग मोवाईल फोनमा कुरा गर्दा गर्दै म सम्पर्क कार्यालय अघि रोकिएँ । हाम्रो सम्बाद शायद सम्पर्क कार्यालयका दुई कर्मचारीले सुनेका थिए । मैले फोन विसाएर वाटैवाट कार्यालय तिर फर्केर सोधेँ ।
" घोषणा पत्र पाउन सकिएला कि ? "
"सडकमा हिड्ने मान्छेलाई पनि घोषणा पत्र दिएर सम्भव छ र ? कहाँ हो तपाईँको वुथ ? " दुई मध्येका वयस्क र  आकर्षक पहिरनमा सजिएका व्यक्ति वोले । उनले त रोष पो प्रकट गरे ।
" मेरो बुथको के कुरा आयो र ? छैन भने तँपाईको उम्मेदवारलाई भनेर माग गर्नु होस न ।" मैले उनको भुमिकालाई अर्थ्याउदैँ सुझाव पेश गरेँ ।   
" तपाईँ किन हाम्रो उम्मेदवारको व्यँग्य गर्दै हुनुहुन्छ ? तपाईँको माग पुरा गर्दै हिड्ने काम हो र वहाँको अहिले ? " उनी त झन पो चिढिए ।
"यस्ता कार्यकर्ता भएका उम्मेदवारले के जित्ला र ?" मैले पनि बेजोड कै वाक्याँश वोले ।

पछि मैले यो पछिल्लो प्रसँग केही राजनीतिका जानिफकार मित्रहरुलाई सुनाएँ । सम्पर्क कार्यालयका दलका कार्यकर्ताले प्रयोग गरेको "व्यँग्य" शब्दको मनोविज्ञानका पछि दुईवटा ठोस कारण भएको वहाँहरुको तर्क थियो । पहिलो- म भन्दा अघि त्यस कार्यालयमा पुगेका मतदाताहरु उम्मेदवारको व्यँग्य गर्ने धेयले प्रस्तुत भएको हुनु पर्छ । उनले मलाई पनि त्यही बथानको पात्रको रुपमा सोचे । दोस्रो- विगतको हाम्रो राजनैतिक विकासक्रमले समाजमा कि त मित्र शक्ति कि त दुश्मन मात्र हुने भ्रम कार्यकर्ताका मानसपटलमा भरेकोले नेता र कार्यकर्ताहरु राजनैतिक रुपले तटस्थ वर्गको कल्पना नै गर्न असमर्थ भएका हुन् । तर बुद्धिजीवी, पेशाकर्मी र नागरिकलाई सेवा प्रदान गर्ने राज्यकोषको अँशले पोषित व्यक्तिहरुले सार्वजनिक जीवनमा राजनैतिक आस्था प्रदर्शन गर्नुको मूल्य भविष्यमा मुलुकले चुकाउनु पर्ने नै छ ।

यसरी मैले छनौट गरेको दायराले कुनै काम गर्ने छाटँकाँट देखिएको छैन् । कतिपय अवस्थामा विद्यार्थीको उत्तर पुस्तिकाको गहन विश्लेषण नगर्दा कति प्राप्ताङ्क दिने भन्ने अन्यौल हुन्छ । एआईटिका गुरुले भने जस्तै फेल हुने लाई पास पारेमा वा योग्यता भन्दा अधिक नम्बर दिएमा मुल्याकँनकर्ता नै फेल हुने हुनाले म पनि मेरा उम्मेदवारहरुको उत्तर पुस्तिका नहेरी कसरी कसलाई मत दिने भन्ने अन्यौलमा छु ।
कार्तिक २५, २०७०
सँविधानसभा निर्वाचनको विरोधमा गरिएको नेपाल बन्दको दिन
कोटेश्वर, काठमाण्डौ
                                          --- समाप्त ------          
 

No comments:

Post a Comment