Tuesday, September 11, 2018

कानाकी सान र तीज

नेपाली लोक गीत सुन्ने रहर पूरा गर्न म संग लिएका दुइवटा सिडि फिर्ता गर्दै कानाकी सान (नेपालीमा 'जी') ले सबै महिलाले रातो पहिरनमा सजिएर हर्ष विभोर भएर नाचेको गीतको महत्वको बारेमा मलाई सोधिन् । कानाकी सान र म टोकियो नजिक हायामामा अवस्थित एउटा कार्यालयका सहकर्मी हौ । उनी चालीसको हाराहारीकी अविवाहित जापानी महिला हुन् । जब उनीसंग महिला सम्बन्धी या दाम्पत्य जीवनका कुरा चल्छन् म अप्ठेरोमा परेको महशुस गर्छु ।

मैले सतर्कता अपनाउदै बोले-
“नेपालका अधिकाशं महिलाले दाम्पत्य जीवनको दीर्घायुको कामना गर्दै मनाउने तीज पर्वमा सामूहिक स्वरमा गाइने गीत हो यो ।"

मैलै पतिको स्थानमा "दाम्पत्य जीवन" भन्ने शब्द जोडीको चयन वार्तालाप छोट्याउने हिसाबले जानाजानी गरेको थिंए । कान्तिपुरमा केही दिन देखि तीज पर्वका बिषयमा छापिएका लेखहरुमा यो अन्यायपूर्ण र लैँगिक हिसाबमा त ठूलो विभेद छर्लङ्ग पार्ने चाड हो भनेर व्यक्त गरिएका विचारहरुले पुर्वाग्रही भएको मेरो दिमाग कानाकीको प्रतिकृयाले रन्थनियो ।

हुन त अहिले नेपालमा परिवर्तनको नाममा हाम्रा आस्थाका केन्द्र या धरोहरहरुमा अन्तर्निहित सतही खोटहरु उधिन्ने कामको गति तिब्ररुपले बढेको छ । संसारमा नेपाललाई चिनाउन सक्ने र सवै नेपालीहरु अट्न सक्ने सगरमाथा र लुम्विनीका भाई वहिनीहरु के हुन सक्छन् । हामीले सोच्ने फुर्सद पाएका छैनौ ।

उनले सोधिन-
यो चाडको दिनमा कार्यालय लाग्छ कि लाग्दैन ?

यो दिन महिलालाई पुरै विदा हुन्छ तर पुरुषलाई हुँदैन ।

त्यस्तो पनि हुन्छ ? नेपालमा लैगिक विभेदको खाडल ठूलो भएको भन्ने पो सुनेकी थिएं यो पर्वको कुरा त त्यसको विपरित देखियो ।"

जापानको सन्दर्भमा पुरुषले नपाउने तर महिलाले पाउनेभन्ने अर्थमा उनलाई मेरो उत्तर नौलो लाग्नु अस्वभाविक थिएन ।   

उनको अर्को प्रश्न यदि दाम्पत्य जीवनको कल्पनानै नभएकाहरुलाई पनि तीजको महत्व छ त भन्ने थियो । यसलाई अन्तिम प्रश्न बनाउदै दाम्पत्य जीवनको कल्पनानै नगर्ने सवाल हाम्रो मुलधारको सोचको विषय होईन भन्ने सामान्य उत्तर पस्केर म उम्केको थिंए ।

शायद यति मात्र भएको भए पनि यो लेखकको पेशागत दायरा भन्दा पृथक यस बिषयमा आधारात सम्म बसेर यो लेख सिर्जना हुने थिएन् होला । कान्तिपुरमा प्रकाशित तारा भट्टराई र प्रतिमा विश्वास राई का तीज ईतर विचार विश्लेषण र कानाकीको सहज प्रतिकृयाले म अन्यौलको माहौलमा रहेकै बेला कान्तिपुरमा एक समाचार प्रकाशमा आयो "पतिको प्रशिक्षणले स्वर्णसम्म ।" सन्दर्भ थियो बिना खडका लामाको दसौं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदकको विजय ।

मेरो मथिगंलमा यो त्रिकोणात्मक विचार मन्थन भई रहेको समयमा केहि बर्ष अगाडीको दांग जिल्लाको सदरमुकाम घोराहि जांदाको एक प्रसंग ताजा भयो । म बसेको होटलको तालिम कक्षको फ्लिप बोर्डमा मेरा आंखा परेका थिए । घरेलु हिसांका उपचारका विधिहरुमात्र लेखिएका थिए त्यहां । मैलै रोकथाम या पुर्व सावधानीका विधिहरु पनि केही छन् की भनि पल्टाई पल्टाई हेरेको थिए ।

कानाकीको आशय मैले के बुझें भने महिलाले मात्र काम बाट एक दिन फुर्सद भएर एक आपसमा रमाउन पाउनु गौरबको कुरा हो । यसरी नाबालक देखि बृद्धा सम्म एक सुत्रमा बांधिएर स्त्री बिशेषलेमात्र रमाईलो गर्ने पर्व अन्य मुलुकमा छन छैनन् अनुसन्धानको विषय हुन सक्छ । जापान जस्ता मुलुकमा यसरी सबैजनालाई एक सुत्रमा बाध्ने कृयाकलापलाई बढो महत्वका साथ हेरिन्छ । किनभने सांस्कृतिक सम्पदा र एकताका प्रतिक मात्र नभएर यीनले देशको अर्थतन्त्र धान्ने ब्यापारमा समेत ठूलो टेवा दिन्छन् ।

क्रिश्चियन धर्म नमान्ने भएता पनि जापानीहरु क्रिसमसमा रम्नुको कारण हो: अधिक आर्थिक कारोवार हुने एउटा मौकाको सदुपयोग । तीजको कारणले सिर्जना भएका गीतहरु र लाखौ महिलाले यस चाडमा गर्ने खरिदका उदाहरण हेर्न सकिन्छ । यस्तो रमाईलो भेलाको हरेक मान्छेको जीवनको अभिन्न अंग दाम्पत्य जीवनसं‌गको सम्बन्ध भएको कुराले उनिलाई अझ छोएको हुनु पर्छ भन्ने मलाई लाग्यो । किनभने अहिले त कामको व्यस्तता, खस्कदा सामाजिक मान्यताहरु र पश्चिमा जीवनशैलीको प्रभावले दाम्पत्य जीवनको कल्पनानै नगर्ने समूह विकसित मुलुकहरुमा बढ्दो छ ।

उपचारका विधिमात्र जानेका गैर सरकारी संस्थाहरुले घरेलु हिसां सम्मको यात्रा गरी सके पछी उम्कने पुल मात्र खोज्ने भन्दा डुंगा‌मानै सहयात्री भई रहने उपायहरु समेत जानकारी दिनु पर्ने होईन र ? किन महिला अधिकारको वकालत गर्ने अधिकांश पेशाकर्मीहरुकै दाम्पत्य जीवनमा खडेरीग्रस्त छन् ? विचार सम्प्रेसण गर्नेहरुले एकाएक आध भत्किएका उदाहरण समातेर अवधारणा बनाउनु भन्दा तिजको परम्परासंग जोडीएका अवैज्ञानिक पक्षहरु भए तीनलाई कसरी असान्दर्भिक बनाउन सकिन्छ भन्ने शोध गर्न वान्छनिय ठहर्छ । जस्तै एक दिन भरी पानी नपिउने कुरा शरिर विज्ञानको हिसाबमा जायज छ त ? दाम्पत्य जीवनलाई उत्कृष्ट मात्र नबनाई पति पत्नि एक अर्काको पेशागत सगरमाथामा पुग्ने सारथी सम्म बन्न सक्छन् भन्ने उदाहरण बिना खडका लामाको सफलताले हामीलाई पस्केको छ । तीजको गतिविधिले पत्निको त्याग जतिकै योगदान मैलै पनि दाम्पत्य जीवनमा अर्पण गर्नु जरुरी छ भन्ने भावना पतिमा जागृत गर्छ भन्ने रुपमा किन नलिने ?

हायामा, जापान
भदौ २०६३

सामान्य परिवर्तन
भदौ २५, २०७५

No comments:

Post a Comment