Saturday, July 4, 2020

ह्याप्पी गुरु पूर्णिमा !



त्यस रात म धुलिखेलमै बसेँ । गुरु पूर्णिमाको रात भए पनि जूनको उज्यालोको नामोनिशान थिएन । बादलको बाक्लो उपस्थिति थियो । काठमाण्डौ विश्वविद्यालयको धुलिखेल केन्द्रीय क्याम्पस हातामा थिएँ ।  बेलुकीको खाना विद्यार्थीको क्यान्टिनमा हुने तय थियो । विश्वविद्यालय परिसरमा हिँडडुल गर्दा उकाली ओरालीको आनन्द लिन पाइन्छ । म क्यान्टिन ताकेर तल ओर्लदै थिँए । एक हुल  छात्रा माथि उक्लँदै रहेछन् । उनीहरुसँग जम्काभेट भयो ।
उनीहरुले अभिवादन गरे ।

गुड इभिनिङ सर ।

गुड इभिनिङ एन्ड………….

अभिवादन फर्काउँदै उनीहरुलाई अलिकता अन्यौल पस्किदिँए । मेरो स्वभाव यस्तै छ । सिर्जित परिस्थितिको भरपुर उपयोग गर्ने । उनीहरु एक अर्काको अनुहार हेर्न थाले । मैले मेरो एण्डलाई कायम राखेँ ।

एन्ड ?”

उनीहरु चकित भावले मौन बसे ।

एन्ड ?”

मौनता झाङ्गियो तर उनीहरुले मेरो प्रश्न बुझे । त्यो दिन केही विशेष हो भन्ने उनीहरुलाई पर्‍यो । पछिल्तिरको समूहकी एक छात्राले आत्तिएको स्वरमा भनिन् ।

ह्याप्पी बर्थ डे सर !

कौतुहलको भाव एकाएक बेजोडको हाँसोले विस्थापित भयो । मैले मिलेनभनेँ । सरले सोधेको प्रश्नको उत्तर सकेसम्म मिलाउन पाए हुन्थ्यो भन्ने उनीहरुलाई लाग्छ । त्यस कारण सही परिस्थितिमा सही प्रश्न सोध्न पनि विशेष कौशल चाहिन्छ । यसरी परिस्थितिलाई उचित प्रसङ्गमा बदल्न सक्ने कला चानचुने हुँदैन । जुन शिक्षकसँग त्यो कला हुन्छ त्यो भविष्यमा गुरु बन्न सक्छ भन्ने मेरो मान्यता छ ।  कक्षाकोठामा पनि यही हुन्छ । म सकेसम्म उनीहरुबाटै सही जवाफ निकाल्ने अभियान टुङ्गोमा नपुगुन्जेल प्रश्न सोधि रहन्छु । उनीहरुको मष्तिष्कको शान्त तलाउमा ढुँगा हानेर हलचल ल्याउने प्रयास गर्छु । उनीहरुका अन्दाजी उत्तरहरुमा छलफल चलाउँछु ।  सृष्टिको नियम नै यही छ । हरेकको सोच्ने तरिका अलग अलग छ । हरेकको उभिएको धरातल फरक छ । पृष्ठभूमि फरक छ । दिइएको परिस्थिति वा प्रश्नलाई उनीहरु कुनै न कुनै पृष्टभूमिसँग जोडेर सही उत्तर निकाल्ने प्रयास गर्छन् । मसँग भएको गुरुत्वको सानो अँश त्यसैमा रमाउँछ ।  सिर्जना त्यहीँ फुल्छ । ज्ञान त्यहीँ फुल्छ ।

फेरि मौन ! तर त्यो अझ झाँगिन पाएन । हुलमध्येकी एक जनालाई फुरेछ । उनले तिव्र गतिमा हाँस्दै भनिन्-

ए ! ह्याप्पी गुरु पूर्णिमा सर ।

हाउ वन्डरफुल ! थ्याङ्क यु सो मच !

भए भरका सबैले एकै स्वरमा भने-  ह्याप्पी गुरु पुर्णिमा सअअअअअर ।

म सुत्रधारको भुमिकामा थिँए । रगँमन्च तयार भइसकेको थियो । मैले रँगमन्चकी नायिका तिर हत्केला ठाडो पारेर हात वढाएँ । उनको हात त्यसै गरेर मेरो हात तिर आयो । आकाशमा हाई फाईभ सिर्जना भयो । स्यावासी पाएकोले उनको अनुहारमा चमक थपियो । खुशीको सीमा आकासियो । एकाएक अरु वेलाको जस्तै सामान्य परिस्थितिमा रोचक प्रसँगको पहाड उभियो । समूहमा प्रश्न सोध्नुको आनन्द यही छ । विलक्षण प्रतिभा भएको कोही न कोही निस्कन्छ र खोजेको जवाफ प्रस्फुटन हुन्छ । सही जवाफ दिनेलाई हौसला दिँदा प्रेरणाको थप श्रोत हुन्छ । यसरी विद्यार्थीहरु सँगको भेटले यो पालाको गुरु पूर्णिमाको दिन साँच्चै रमाईलो भयो ।       

भोलिपल्ट विहान म एकै छिन घुम्न निस्के । बाहिरको मौसम एकदमै राम्रो थियो । आकाशमा बादल, जमिनमाथि कुहिरो, पातलो घनत्वमा बर्सिरहेको जुम्रे पानी र कागको काँकाँको सँगीत । अस्ताउन लागेको आषाढ । उदाउन लागेको श्रावण तर रँगमन्चमा त्यो रमणीय क्षणको रसास्वादन गर्ने नरनारी एकाध दुई मात्र थिए । उनीहरु आनन्दमा हराउने भन्दा पनि काम विशेषमा लीन थिए । काठमाण्डौ विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थी वा अध्यापन गराउने प्राध्यापक कोही बाटोमा भेटिन्छ कि भन्ने आशा त्यतिकै बिलायो । यो विहान ढिलो उठ्ने सँस्कृतिको नतिजा हो । कागको काँकाँको सँगीत अझ प्रखर भयो । योग साधना केन्द्रमा धेरै जना सहभागी भएर एकै साथ ॐ को उच्चारण गर्दा जुन उचाईको आनन्द प्राप्त हुन्छ सायद सृष्टिकर्ताले कागहरुको सामूहिक बोलीमा पनि त्यही प्रकृति पस्केका होलान् भन्ने कल्पना पलायो ।

म विश्वविद्यालय परिसर छिचोलेर व्यक्तिगत घर र पसलहरु भएको स्थानमा पुगेँ । दारी खौरने क्रिम किन्ने विचार आयो तर आश्चर्य ! एउटा पनि पसल खुलेको थिएन् । सेवाग्राही नभए पछि सेवा प्रदायकहरु जाग्ने कुरै भएन । काग र अन्य चरा उठेर नित्य कर्ममा लागिसकेका थिए । राति चराहरु पनि बास बस्छन् । मध्य रातमा एक तमासले काग कराएको कसैले सुनेको छैन होला । ईश्वरले यो सब मिलाएर बनाएका छन् । रातको समयमा मान्छे लगायतका अन्य प्राणीहरुको गतिविधि शून्य प्राय हुन्छ । यसलाई मिलाउन निद्राको आविष्कार गरेका छन् ती विशिष्ट चित्रकारले ।
केही समय अघि लाङटाङ उपत्यका घुमेर आएका वातावरण विज्ञान र ईन्जिनियरिङका केही विद्यार्थीलाई मैले सोधेको थिँए-

तिमीले यस भ्रमणवाट सिकेको सबैभन्दा विशिष्ट कुरा के हो ? “

उनीहरुले सामान्य उत्तर दिए । नयाँ ठाँउमा पुग्ने पर्यटकले पनि त्यस ठाँउको मौलिकपन, भूगोल र प्राकृतिक सुन्दरता देख्छ र त्यही भन्छ तर म चाहान्थे शैक्षिक भ्रमणमा उनीहरुका विज्ञान र ईन्जिनियरिङ आँखा खुलुन र उनीहरुले यस्तो उत्तर दिन्-

मैले प्रकृतिको विधानलाई नजिक वाट नियाल्ने मौका पाँए सर । वाह ! त्यो ईन्जिनियरिङ । वाह ! त्यो कलाकारिता ।  चट्टानमा चट्टान खप्टिएर पहाड बनेको छ । प्रत्येक कण कण नियमले वाँधिएको मात्रै छैन त्यहाँ विचित्रको जादु छ । चट्टानमाथि माटो छ । माटोमाथि घाँस छ । एउटाले अर्को लाई धानेको छ । अनौठा नियमहरु छन् । पानी तल वग्छ । तातो वायु माथि । माटोको आफ्नै नियम छ । पानीको आफ्नै विधान छ । वनस्पतिको आफ्नै शास्त्र छ । जरा पातलिन्छ । वोट आकाशिन्छ । कीट पतङ्ग, पुतली, चरा, प्राणी हरेकको आफ्नै विज्ञान छ । एउटा डाँडोको रुप अर्कोसँग मिल्दैन् । पाखाहरु फरक छन् । जँगलहरु फरक छन् । कसरी भयो त्यो सिर्जना ? कसरी त्यति धेरै विविधतालाई सुत्रबद्ध गरिएको छ ? कसरी समेटिएका छन् यी हरेकका जीवन कथाहरु ? कागको आवाज अर्कै छ । भँगेराको चिँचिँ अर्कै छ । बाह्य रुप, शरीरको बनावट, जन्मने, बाँच्ने सबै तरिका फरक फरक छन् । फरक हुनुको पनि कारण छ । त्यो कारणको पनि विधान छ ।  विज्ञानले ठेलीका ठेली पुस्तक निकालेको छ यिनै प्रकृतिले सिर्जना गरेका ज्ञान समेटेर ।  मैले पुस्तकमा पढेको र  त्यँहा देखिएको दृष्य र त्यसको सँरचना भित्रको तत्वज्ञानमा समानता देँखे । यसले मेरो मन प्रसन्न भयो सर ! मैले आफ्नो ज्ञानभण्डारमा थुप्रेको कितावी ज्ञान आफ्नै आँखा अगि देखिएको त्यो वास्तविकता सँग दाँज्ने अवसर प्राप्त गरेँ । लाङटाङ भ्रमणको उपलब्धि यही हो सर !

केही बर्षअगि म चितवनको देवघाट पुगेको थिँए । काली गण्डकी र त्रिशूलीको विशाल जल प्रवाह एक अर्कामा त्यति सहज र शालीन तरिकाले मिसिएको देखेर मलाई लागेको थियो-

 वाह ! प्रकृति ! विराट अनुष्ठान भनेको यही हो त !“

एउटा अम्खोराको पानी अर्कोमा खन्याउँदा आवाज आँउछ । सानो धारोको पानी पनि धरर गर्दै बग्छ । तर हजारौ क्युबिक मिटर प्रति सेकेण्डको बहाव बोकेर सयौ किलो मिटर यात्रा तय गरेर आएका ती जलप्रवाहहरु कति शान्त पाराले मिसिएका छन् । जलप्रवाहको परिमाणकै तुलनाको आवाज निस्कने हो भने कस्तो हुन्थ्यो होला ! यसरी मेरा कल्पनाका तरङ्ग हरु अगि बढेका थिए । यहि प्रकृतिलाई गुरु थापेर विज्ञान यहाँ सम्म आईपुगेको छ । प्रकृतिमा भएकै ज्ञान समेटेर ईन्जिनियरिङको ढोका खुलेको छ । चट्टानको खातले खपेको भार देखेर धैरै तला भएको भवन वनाउने ज्ञान पलायो । भुईँमा खसेको स्याउले रकेट जन्मायो । आकाशमा उडेको चिलले हवाईजहाज वनाउने प्रेरणा दियो तर प्रकृतिमा उपलब्ध ज्ञानको तुलनामा हाम्रो बुझाई सार्‍है अल्प छ । हाम्रै जीवनकालमा या हाम्रा सन्ततिका समयमा अझ कस्ता कस्ता आविष्कार होलान ? कल्पना गर्न समेत चर्को छ ।

मलाई कहिलेकाहीँ लाग्छ, यस चराचर जगतका सम्पूर्ण प्राणी र वनस्पति ती जगत पिता प्रभु अर्थात प्रकृति आमाप्रति अनुगृहित छन् जसको कल्पना, सिर्जना र ओतले हरेकको अस्तित्व र श्री यस जगतमा फुल्न पाएको छ । गुरु जनहरु प्रति अनुगृहित हुने यो विशेष तिथिको साईत पारेर म तिनै चामत्कारिक सर्जकलाई स्मरण गर्न चाहान्छु-

हे प्रकृति ! हे प्रभु ! गुरु पूर्णिमाको यस पवित्र अवसरमा कोटी कोटी नमन !  

सौराहा, साउने सोमवार, श्रावण ०५, २०७१

शब्दाङ्कुर (साहित्यप्रधान मासिक), वैशाख २०७३, अङ्क १७५

झोलाको बारनियात्रा सँग्रहमा समाविष्ट रचना

No comments:

Post a Comment