एक प्रतिष्ठित निजी उच्चमाध्यमिक विद्यालयमा ‘ग्रोथ माइन्डसेट’ शीर्षकमा गोष्ठी आयोजना गरिएको थियो । गोष्ठीमा २ सय अभिभावक र १ सय जना शिक्षकशिक्षिका थिए । गोष्ठीका संयोजकले फोन गरेर गोष्ठीमा प्रमुख वक्ता बन्न प्रस्ताव रँख्दै भनेका थिए, ‘प्रवचनलाई साढे एक घण्टा समय उपलब्ध हुनेछ ।’ यस्तो कार्यक्रममा म स्लाइड प्रस्तुत गर्ने गर्छु । ३ सय जना श्रोतालाई डेढ घण्टा त्यस्तो गहन विषयमा प्रवचन दिनु चानचुने थिएन ।
‘सर, केही समयअघि यस्तै कार्यक्रममा एक जना डाक्टरसाबले स्लाइड प्रस्तुत गर्दा अभिभावकले खल्लो अनुभव गरे । प्रवचनतिरै जाँदा कसो होला ?’
‘प्रस्तुतिबारे चिन्ता नलिनोस् । बरु श्रोता र सभाकक्षको व्यवस्थापन मिलाउनुस्,’ मैले भनेँ ।
समकालीन नेपालका विज्ञ पगरी गुथेका अधिकांश अध्येतालाई वक्ता बन्न निम्तो आउँछ । तर, श्रोताको स्तर र रुचि पर्वाह नगर्दा पहिलो निमन्त्रणा अन्तिम बन्न पुग्छ । यस्तो पटके प्रवचनको बजार ठूलो छ ।
गोष्ठीमा मलाई मेरा समकक्षीले बिगारेको छवि सुधार गर्नुपर्ने थप चुनौती थियो । म एक दिनअघि नै विद्यालय पुगेँ । कार्यक्रम हुने प्रज्ञा–कक्षको निरीक्षण गरेँ । पर्दाको आकार, ध्वनि संयन्त्र जाँच गरेँ ।
कार्यक्रम हुने दिन म आधा घण्टाअघि विद्यालय पुगेँ । माइक, प्रोजेक्टर आदि जाँच गरेँ । प्रस्तोताको बोली पछाडिसम्म सुनिन्छ कि सुनिँदैन भनी निक्र्योल गरेँ । यसैबीच प्राथमिक तहका संयोजकले शिक्षिकाको एक समूहसँग परिचय गराए । उनी मभन्दा अग्ला अर्थात् छ फिटका रहेछन् ।
केही दिनअघि मसँग काम गर्ने एक अस्ट्रेलियन नागरिकले आफ्नो कद १९५ सेन्टिमिटर अग्लो भन्दा म आश्चर्यमा परेका थिएँ । मेरो यी ‘छफिटे’ मित्रलाई उनीसँग तुलना गर्न मन लाग्यो ।
‘ल, मिसहरूलाई प्रश्न— छ फिट भनेको कति सेन्टिमिटर हो ?’
मिसहरूले मुखामुख गरे । कसैले फ्याट्ट उत्तर दिन सकेन । एक शिक्षिकाले मोबाइल निकालिन् । ‘क्यालकुलेटर चलाउन नपाई,’ मैले भनेँ ।
प्राथमिक तहमा गणित र विज्ञान पढाउनेसहित गरी लगभग १५ जनाको समूहले यति सामान्य प्रश्नको उत्तर दिन नसक्नु संयोग थिएन । यो हाम्रो शिक्षा क्षेत्रको विकराल रूप देखाउने समुद्रमा डुबेको बरफको टुप्पो मात्र थियो । मैले उनीहरूलाई हीनताबोध नहुने किसिमले फिटलाई सेन्टिमिटरमा बदल्ने तरिका सिकाएँ । छ फिटलाई पहिले इन्चमा र त्यसपछि सेन्टिमिटरमा लग्दा १८० सेन्टिमिटर हुन्छ भनेर हिसाब निस्कियो ।
‘आर्ट अफ लिभिङ’ अर्थात् जीवन कलाको विषयमा प्रवचन दिन भारतवाट एक प्रशिक्षक आएकी थिइन् । त्यस्तो महत्त्वपूर्ण कार्यक्रममा विद्यालयका सञ्चालक, प्राचार्य वा सहप्राचार्यको उपस्थिति थिएन । मलाई निमन्त्रणा दिने संयोजकसमेत थिएनन् । यसले कार्यक्रम कर्मकाण्ड पूरा गर्ने सोचले प्रेरित थियो भन्ने स्पष्ट थियो ।
मैले प्रस्तुतिको सुरुमा मैले भनेँ, ‘यस्तो विषयमा उत्कृष्ट प्रस्तुति गर्न अनुसन्धान जरुरी पर्छ । मैले अध्ययन गरेको विषय शिक्षणशास्त्र होइन । मेरो प्रस्तुति तीन दशक लामो अध्यापन र दुई सन्तानको अभिभावकत्व बहन गरेको अनुभवबाट सिकेका महत्त्वपूर्ण पाठहरूमा केन्द्रित हुनेछ ।’
मैले नेपाल, भारत, थाइल्यान्ड, जापानका विश्वविद्यालयसँग जोडिएका मेरा अनुभव उल्लेख गरेँ । ‘अहिले उच्च शिक्षा हासिल गरिरहेका विद्यार्थीले विद्यालयमा सिक्नुपर्ने धेरै पाठ या त छुटाएको भेटिन्छ या त उनीहरू गलत सिकाइको सिकार भएका हुन्छन् । केही विद्यार्थी सामान्य विश्लेषणात्मक क्षमतासमेत प्रयोग गर्न सक्दैनन् । अधिकांशका हस्तलिपि नबुझिने र नराम्रा हुन्छन् । भूगोल र सामान्य ज्ञानको कुरा धेरै परको भयो,’ मैले भनेँ ।
इन्जिनियरिङ विषय लिई स्नातक तह अध्ययन गर्ने विद्यार्थीले परीक्षामा सोधिएका केही प्रश्नका जवाफ उदाहरणका रूपमा प्रस्तुत गरेँ—
‘क्याम्पसको वरपर पाइने रूखको व्यास ३० किलोमिटर हुन्छ । सुश्री परीको जुत्ताको लम्बाइ २४ फिट छ । ‘म्यान होल’ मान्छे बस्ने ठाउँ हो । वातावरण इन्जिनियरिङ भनेको इन्जिनियरिङको एक शाखा हो जसमा वातावरणसम्बन्धी अध्ययन गरिन्छ । तरल अवस्थामा नभएको फोहोरमैलालाई ‘ठोस फोहोरमैला’ भनिन्छ ।’
यो दृष्टान्तले शैक्षिक धरातल रसातलमा रहेको इंगित गर्छन् । कतिपय शिक्षक यस्ता ‘अर्थ न बर्थ’ का उत्तरलाई समेत ठीक–बेठीक छुट्याउन सक्दैनन् । किनभने सिकाइ र बुझाइमा रचनात्मक हिसाबमा औंलो ठड्याउने परिपाटी विकास भएन । शिक्षकहरू विद्यार्थीको कापीमा रातो कलमले केर्ने या त साहस गर्दैनन् या त उनीहरू पनि विपरीतधर्मी सिकाइको सिकार भई जड–जागिरेको पगरी गुथेर बसेका हुन्छन् ।
कक्षा १ का विद्यार्थीले पढ्ने ‘मेरो नेपाली किताब’ मा ‘झबाट झन्डा’ भन्ने बुझाउन झन्डाको चित्र देखाइएको छ । तर, त्यो झन्डाको रङ श्यामश्वेत छ । हामीले विद्यार्थीलाई ‘कालो झन्डा’ देखाएर नेपालको शान रंगीन झन्डा चिनाउने प्रयास गर्यौं । यो क्रम पाँच दशकसम्म चल्यो ।
बालबालिकाको आचरण र अभिभावकको कर्तव्यसँग जोडिएको विषय सम्बोधन गर्दै केही दिनअघि फेसबुकमा पढेको एक प्रसंग सुनाएँ—
‘एक रात अर्जुनले अनौठो सपना देखेछन् । एउटा गाईले आफ्नो नवजात बाच्छोलाई प्रेमले चाटिरहेको थियो । गाई बाच्छोको प्रेममा यति डुबेको थियो कि चाट्दाचाट्दै बाच्छोको कोमल छालासमेत देखिन थालिसकेको थियो । गाईलाई होसै थिएन । बिस्तारै बाच्छाको शरीरवाट रगत निस्किन थाल्यो । अन्त्यमा, बाच्छो बेहोस भएर भुइँमा ढल्यो ।’
नि:सर्त मायाले उच्च जोखिम बोकेको हुन्छ भन्ने सन्देश दिने यो ‘गाई–बाच्छा’ को कथालाई आजका अभिभावकको चालचलन र सर्वसुलभ आधुनिक प्रविधिसँग तुलना गर्दै भनेँ, ‘आफ्ना सन्तानलाई अधिक माया गर्ने बेहोसी लहडले ससाना बाबुनानीलाई स्मार्ट फोन, आइप्याडलगायतका ग्याजेट्स दिन्छौं । त्यहीं माया धेरै भएर विषको रूप धारण गरेको छ । उनीहरूको सिकाइ र बुझाइ प्रभावित भएको छ । उनीहरू एकांगी स्वभावका भएका छन् ।’
मैले कोही एक जना सहभागी उठिदिन भनेँ । म उनलाई एउटा प्रश्न सोध्न चाहन्थें । तर, कसैले पनि उठ्ने आँट गरेन । त्यसपछि मैले भनेँ, ‘अहिले तपाईंहरूका लागि नमुना बन्ने अवसर छ । भरे घर गएर आज तिम्रो विद्यालयमा भएको कायक्रममा प्रश्नको उत्तर दिएर अरूले आँट नगरेको काम गरेँ भनेर आफ्नो बाबुनानीलाई सुनाउन सक्नुहुन्छ । हिम्मत कसरी जुटाउने, मौका कसरी हात पार्ने भन्नेबारेमा बालबालिकाले अभिभावकबाट सहजै धेरै सिक्छन् ।’
एक सहभागी उठिन् । उनका दुई सन्तान रहेछन । सानो ३ कक्षामा पढ्दो रहेछ । ‘सानो छोरालाई कुन जन्मदिनमा स्मार्ट फोन उपहार दिने विचार गर्नुभएको छ ?’ सोधेँ ।
‘दस कक्षासम्म नपुगुन्जेल उसलाई स्मार्ट फोन नदिने विचार गरेकी छु ।’
‘तर, अरूका बुबाआमाले दिन्छन् । साथीहरूले फोन उपहार पाएपछि उसले तपाईंलाई दबाब दिन्छ । कसरी झेल्नुहुन्छ ?’
सपाट उत्तर उनीसँग थिएन । विषय आफैंमा पेचिलो थियो । अध्ययन अनुसन्धान गर्नुपर्ने यस्तै विषयमा हो ।
हाम्रा अभिभावकका समस्या ‘अवास्तविक महत्त्वाकांक्षा’ सँग जोडिएका छन् । यो विषयमा सन २०१७ को अर्थशास्त्र विषयका नोबेल पुरस्कार विजेता रिचर्ड थेलरले गहन अनुसन्धान गरेका छन् । उनका अनुसार सबै अभिभावक आफ्नो सन्तान कक्षामा प्रथम होस् भन्ने महत्त्वाकांक्षा राख्छन । तर, एउटा कक्षामा एक जना मात्र प्रथम हुन्छ । यसले अभिभावकमा आफ्नो सन्तान कमजोर भएको भ्रम पैदा हुन्छ । भ्रमले तनाव सिर्जना गर्छ ।
कार्यक्रममा एक जना अभिभावक चार कक्षामा पढ्ने छोरोसहित उपस्थित थिए । ती अभिभावकले हात उठाए । तर, मैले उनको छोरोलाई सोधेँ, ‘यो विद्यालयबाट सबैभन्दा नजिकको सरस्वतीको मन्दिर कुन हो ?’
उसलाई जानकारी थिएन । उसका बुबा पनि अनभिज्ञ थिए । शिक्षकशिक्षिका–अभिभावक कसैलाई पनि जानकारी रहेनछ । त्यहाँ सामाजिक शिक्षा पढाउने शिक्षिका पनि थिए । जबकि त्यस विद्यालयवाट लगभग ५ सय मिटरको दूरीमा सरस्वतीको प्रख्यात मन्दिर छ ।
अभिभावकले आफ्ना बालबालिकासँग ‘उत्तम समय’ बिताउनुपर्छ । उनीहरूलाई आफूले काम गर्ने कार्यालय, नजिकका प्रख्यात आस्थाका केन्द्र वा पर्यटकीय केन्द्रमा घुमाउन लैजानुपर्छ । उनीहरूसँग विविध विषयमा छलफल गर्नुपर्छ । समग्रमा, उनीहरूका क्रियाकलापमा अभिभावकले पनि नियमित रूपमा अनुशासित भएर संलग्न हुनु अपरिहार्य छ । यसले बालबालिकाको सिकाइ र व्यक्तित्व विकास प्रभावकारी बन्छ ।
लेखक नेपाल विकास अनुसन्धान प्रतिष्ठानसँग आबद्ध छन् ।
प्रकाशित : मंसिर २६, २०७५
कान्तिपुर दैनिक
No comments:
Post a Comment