गुरुपूर्णिमाको दिन थियो । फेसबुक मेसेन्जरमा मैले सूचिमा राखेका गुरुजनहरुलाई सँस्कृतको एक श्र्लोक राखेर शुभकामना सन्देश पठाएँ । एक गुरुवरले सँस्कृतकै श्र्लोक मार्फत जवाफ पठाउनु भयो ।
“यो यच्छ्रद्ध: स एव स:”
मेरो मष्तिष्क घुम्यो । मेरो शैक्षिक चेतनाको कित्ता भन्दा बाहिरको वाक्याशँ थियो त्यो । मैले वहाँलाई फोन गरेर म भित्रको “अज्ञानताको खोजी” गर्ने अश्त्रलाई धार लगाउँदै तर विनम्र भावमा भने-
“गुरु ! म सँस्कृतको विद्यार्थी परिन । अलकति मेलो सारिदिए अर्थ बुझ्ने थिएँ कि ?”
वहाँले गाँठो फुकाईदिनु भयो । श्रीमद्भागवत गीताको एक चर्चित श्र्लोकको अँश रहेछ त्यो ।
सत्त्वानुरुपा सर्वस्य श्रद्धा भवति भारत ।
श्रद्धामयोयं पुरुषो यो यच्छ्रद्ध: स एव स: ।। १७.३।।
हे भरतपुत्र ! सबैको श्रद्धा आ-आफ्नो अन्तस्करणको अनुरुप हुन्छ । जो जस्तो प्रकारको श्रद्धा गर्दछ त्यो स्वयं पनि त्यही हो ।
मैले श्र्लोकको मर्म र गुरुको आशयलाई यसरी अर्थ लगाएँ-
“तपाईँ गुरुजनको श्रद्धा गर्नु हुन्छ भने तपाईँ पनि असल गुरु नै हो ।“
मलाई गुरुपूर्णिमामा गीताको श्र्लोकले भिजाईदिने र अरुबेला पनि मैले मागेको ज्ञान बाँड्ने गुरुको नाम शरच्चन्द्र वस्ती हो । साहित्यलेखनको विद्यार्थी हुँदा वहाँसँग परिचित हुने अवसर जुरेको थियो । आखिर गुरु भनेका गुरु नै हुन । चेला भित्रको अज्ञानताको अन्धकारलाई चिर्ने सामर्थ्य भएका । तर अज्ञानतका भारी विसाउन वा बौद्धिक जडताको अन्धकारलाई चिर्न कहाँ सजिलो छ र ?
म विगत एक बर्ष देखि सगरमाथा टोस्टमास्टर्स क्लबको सदस्य भएको छु । शुरुका कुनै दिनमा टोस्टमास्टर्स क्लबको एक सभामा एक अग्रज टोस्टमास्टरले किन यो क्लब सँग जोडिने भन्ने प्रश्नको छोटो र सटिक व्याख्या गरेका थिए ।
उनको भनाई थियो ।
“डिस्कभर दि ईगनोरेन्स ।”
अर्थात सफलताको सिढीँ चढ्ने टोस्टमास्टर्सको सुत्र हो-अज्ञानताको खोजी ।
मैले अँग्रेजीमा भनिएको यो वाक्याशँको अर्थ बुझ्न केही समय लगाएँ । तर मलाई यसले निथ्रुक्कै भिजायो । आफू भित्र रहेको अज्ञानता र अक्षमताको खोजी गर्नु भनेको वास्तवमा नै सही तर जटिल कार्य हो । टोस्टमास्टर्स क्लबमा हुने हरेक हप्ताका बैठकहरुमा यो मन्त्रलाई केन्द्रविन्दुमा राखेर सँगठित कृयाकलाप हुन्छ । तपाईँले २ मिनटमा प्रत्युत्पन्न मन्तव्य दिनु पर्छ । ७ मिनटमा तयारी मन्तव्य दिनु पर्छ । नेपालीमा मन्तव्य दिँदा अँग्रेजीको शब्द प्रयोग गर्नु भएमा त्यो बेरुजु बनेर निस्कन्छ । मुल्याङ्कन गर्ने पङ्तीमा बसेका टोस्टमास्टर्सका दौँतरीहरुले तपाईँले कति पटक “चैँ” “तपाईँको” या “हजुरको” जस्ता थेगो प्रयोग गर्नु भयो भनेर फेरीहस्त निकाल्छन् । अर्थात तपाईँको मन्तव्यमा रहेका त्रुटी र दोषहरुको सार्वजनिकीकरण हुन्छ । मन्तव्य दिँदा तपाईँले मन्चको प्रयोग गर्नु भयो कि भएन त्यसको लेखाजोखा गरिन्छ । यसले तपाईँ भित्र अज्ञानतापूर्वक जड भएर रहेका त्रुटी र दोष सतहमा आउँछन् । तपाईलाई चिम्टाले टिपेर तिनलाई पाखा लगाउने अवसर प्राप्त हुन्छ ।
काठमान्डौ विश्वविद्यालयका प्राध्यापक दीपक प्रसाद सुवेदीले केही समय अघि मलाई एक रोचक दृष्टान्त सुनाउनु भएको थियो । विषय थियो-शिक्षकले विद्यार्थीमा रहेका कमी कमजोरीलाई कसरी हटाउने र अज्ञानताका वीउलाई कसरी झाङ्गिन नदिने । भौतिक शास्त्रका अध्येता सुवेदीले एक कालिगढको उदाहरण दिनु भएको थियो ।
कसैले कालिगढलाई सोधेछ-पत्थरवाट त्यस्तो राम्रो मूर्ति कसरी बन्छ ?
"सुन्दरता पत्थर भित्रै हुन्छ, म त खाली बेकामे टुक्रा मात्र ताछेर मिल्काउँछु।”
कालिगढको त्यो कथन सुन्दरतामा पनि लागु हुने रहेछ । लगभग एक दशक अघि मेरो वासस्थान नजिकै एक विछट्टै सुन्दरी महिला व्युटी पार्लरको व्यवसाय चलाएर बसेकी थिईन । म उनीकहाँ कहिले कहीँ जाने गर्थेँ । मैले कुनै सन्दर्भमा उनलाई एक अनौठो प्रश्न सोधेको थिएँ ।
“तपाईँकहाँ आउने हरेक ग्राहकलाई हजुर जस्तै रुपवती वनाउन बनाउन सकिएला त ?”
“हरेक व्यक्तिसँग एउटा सुन्दरताको पुतली लुकेर बसेको हुन्छ । हाम्रो काम त्यो पुतलीलाई उजागर गर्ने हो ।”
उनको उत्तर आज पनि मेरो मनमा गढेर रहेको छ । कालिगढको अनुभूति र ती महिलाको जवाफमा म केही समानता पाउँछु ।
“आखिर अज्ञानताको खोजी हुन्छ भने आफू भित्रको कुरुपताको पनि त खोजी हुन सक्ला नि !”
मैले सोचे-सगरमाथा टोस्टमास्टर्सको अर्को बैठकमा म यो विषयमा मन्तव्य सुनाउनेछु ।
-समाप्त-
काठमान्डौ टोस्टमास्टर्स क्लबको मुखपत्रमा प्रकाशित
ईकोज खण्ड ३ र ४, आषाढ २०८० https://drive.google.com/file/d/1TCPd06wVmHiVX23-3R3wfmPcpn5rzl08/view?pli=1
insighful piece of writing!!
ReplyDelete