डाक्टर साहेबले बस भित्र प्रवेश गर्दा केही सह-यात्रीले आसन जमाईसकेका थिए । दुई दर्जन जति सिट भएको दायाँ र वायाँ दुवैतिर दुई दुई जना बस्न मिल्ने सुविधा भएको बस थियो । उनले आफूलाई पछिल्तिरको खाली सिटमा बस्ने उम्मेदवार बनाए ।
बसको अग्रभागमा आसन जमाएका एक पुरुष पात्रको आवाज पछाडि सम्म सुनियो ।
“यहाँ पनि सिडिओ नै बन्न खोजेर होला त !”
समूहमा अधिकाँश पूर्व प्रशासक र कर्मचारी थिए । प्रमुख जिल्ला अधिकारीको भुमिकामा लामो समय रही सेवा निवृत भएका एक महानुभाव बसमा चढ्नुको साटो बाहिर उभिएर केही गम्न थालेछन् । यसैले खरो टिप्पणीको शिकार भैहाले ।
“पिकनिक जाँदा कुर्सि बोकेर आउन पाईन्न ।”
अर्का एक पूर्व सिडिओ साहेब पनि के कम ! उनले आगोमा घ्यु थपे ।
कोटेश्वर महादेवस्थानमा हरेक दिन झिसमिसेको हिँडाई सकेर चिया-पानका लागि भेला हुने समूहले बनभोज कार्यक्रमको आयोजना गरेको थियो । सामाजिक सन्जालमा “कोटेश्वर प्रात: सायँ मैत्री समूह” को नामले लोकप्रिय यो समूहका एक फरासिला र मृदुभाषी पूर्व प्रशासकले बनभोज कार्यक्रमको सँयोजकको नियुक्ति पाएका थिए । आफ्नो जागिरे जीवनमा भेटिएका एक को-अर्डिनेटरलाई उनको माताहतका एक कर्मचारीले “कुईनेटर साहब” भनेर सम्बोधन गर्थे भनी एक सहभागीले सुनाए । रमाईलोको भोकप्यास सँगालेर बनभोजमा काकाकुल भई हिँडेका जमातले यो उपाधीलाई नटिप्ने कुरो भएन । यसैले बनभोज कार्यक्रम भरी सँयोजकले उपाधी पाए-कुईनेटर महोदय ।
बस हिँडे लगत्तै पछिल्तिरको सिटका एक सज्जनले कसैको नाम लिएरै खोजी गरे ।
“फलानो महोदय खै त !”
“भाउजु सँग बस्नु भा छ ।“
“अर्काको भाउजुसँग बस्नु भा कि आफ्नै सँग ?”
“आफ्नै सँग ।”
यो सुन्नासाथ ती सज्जन बसको पश्चभाग तिर सरे । उनको स्थानमा अर्काकै भाउजुले आसन जमाईन ।
कुईनेटर महोदयले धुलिखेल र पनौतीको बीचको वतासे डाँडामा अवस्थित बनभोज स्थलका सन्चालकलाई फोन गरेर भनेका रहेछन-
“तेईस जनाको टोली छ । ६ जोडी र ११ बुङ्गा ।”
धेरै मान्छे जम्मा हुने सभा-समारोह वा रसरङ्का कार्यक्रमहरुमा नौजवान र भूतपूर्व नौजवानहरु दुवै जान चाहन्छन् रे । तर दुवै समूहका फरक फरक उदेश्य हुन्छन् रे । पहिलो समूहको उदेश्य नयाँ साथी फेला पार्ने र सम्बन्ध गाँस्ने हुन्छ रे तर दोस्रोको आफ्ना अनुभव सुनाउने ।
यस्तै भयो । बनभोज टोलीका सदस्यहरु आ-आफ्ना अनुभवका पोका पन्तेरा खोल्न थाले । यसको श्रीगणेश गरे एक योग गुरुले । उनी एक पोको अँङ्गुर लिएर बोनेटको सिटमा गए । अनि उद्घोष गरे- विहान दश वटा वेलुका दश वटा अँङ्गुर खाने व्यक्ति निरोगी हुन्छ । भन्नलाई दश भने पनि उनी सबैलाई पाँच-पाँचवटा अङ्गुरका दाना बाँड्दै बसको पछाडि सर्न थाले । डाक्टर साहेबका छिमेकीले अङ्गुर लिँदै आफ्नो माग राखे-
“यो त विहानको लागि भयो बेलुकाको भाग खै त ?”
सूर्यविनायकको आसपासमा देब्रेतिर देखिएको शुभकामना पार्टी प्यालेसमा जम्मा भएको भीडले सबैको ध्यानाकर्षण गर्यो । हातमा झण्डा पनि बोकेका भीडपात्रहरुको उपस्थिति देखेर कसैले टिप्पणी गरिहाल्यो ।
“भर्खरै मन्चन भएको सुन्दरीकाण्डका नायक पूर्व मन्त्रीको विवाह गराईदिन लागे होला । आखिर जिम्मा त लाउनै पर्यो । विवाह गराईदिए पछि त पार्टीका सुप्रिम कमान्डरहरुलाई पनि हाईसन्चो हुने भयो ।”
सबैले ‘हो’ मा ‘हो’ मिलाए । प्रस्तावित तर्कमा दम भएको अनुमान सबैको थियो ।
बनभोज टोलीमा ससुराली खलक, ज्वाईँ, सालो, भिनाजु, अङ्कलजी, जिबा, मौसुफ सरकार आदिको उपस्थिति थियो । अँकलजी र अर्का एक सज्जनले डाक्टर साहेबले आईएस्सी गरेकै कलेजमा स्नातक तहको अध्ययन पूरा गरेकोले यी तिन जवानका विचको त्रिशँकु झनै घनिष्ट हुने नै भयो । ति सज्जनले डाक्टर साहेबलाई “डाक्टर” भनि सम्बोधन गर्थे । डाक्टरले भने उनलाई “दाई” । एक जनाले साईनो लगाए पछि अरुले पनि त्यही “भेडा बुद्धि” को मियो समाउने नै भए ।
कुनै प्रसँग चल्दै थियो । भिनाजुले अलि घुमाउरो पाराले आफ्नो अभिव्यक्ति रङ्गमन्चमा खन्याए । पछाडिवाट दाईले अर्को खरो टिप्पणी गरे-
“भिनाजुले चोकेमा हालेकै छ ।”
भक्तपुरको होटेल भ्यु भृकुटीको आडैमा रहेको पेट्रोल पम्पमा बस तेल भर्न रोकियो । शौचालय प्रयोग गर्ने क्रममा डाक्टरले मौका छोपेर एक चुटकिला सुनाईहाले ।
एउटा जिल्लामा खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम रहेछ । प्रमुख अतिथी परेछन काङ्ग्रेसका एक वरिष्ठ नेता । उनी कार्यक्रमस्थलमा रहेको शौचालयमा गएछन् । त्यहाँ “मेल” र “फिमेल” लेखिएको थियो । उनले पढेछन- माले र फेमाले । आयोजक प्रति आक्रोश व्यक्त गर्दै उनले भनेछन्-
“प्रमुख अतिथी बनाउने काङ्ग्रेसको नेतालाई अनि शौचालयमा चै “माले” र “फेमाले” लेख्ने ?”
यो सुने लगत्तै टोलीका वरिष्ट सदस्य सप्तरीका पूर्व प्रमुख जिल्ला अधिकारीले आफ्नो रोचक अनुभव सुनाए ।
“छिन्नमस्ता गाँउपालिकाका अध्यक्षले आफ्नो घरमा कसै गर्दा पनि शौचालय बनाएनन् । त्यही निहुमा उनलाई ल्याएर दुई दिन थुनियो । त्यो कारबाहीले उनको ज्याद्रोपन केही मात्रामा त सेलायो । तर पनि शौचालय निर्माणमा लगानी गरेनन र सबैको हारगुहारले उनको घरमा शौचालय बनेरै छोड्यो ।“
डाक्टरलाई बनभोजमा परिचयात्मक कार्यक्रमको सन्चालन गर्न मौसुफ सरकारको आदेश थियो । यसैले उनी घरिघरि टोलीको कुरा सुन्थे । गफले चरम विन्दु छोएर ओरालो लागेपछि ऊनी मनमनै कार्यक्रमको खाका कोर्न तल्लिन हुन्थे । एघार जोडी बनाएर हरेक जोडीलाई पालै पालो परिचय गर्न लगाउने योजना उनको थियो । समस्याको परिधीमा जोडी कसरी बनाउने भन्ने प्रश्न थियो । केन्द्र भाग अझ पेचिलो थियो-छ जना देवीजीहरुलाई को सँग जोडी बनाउने ? एकातिर, उनीहरुकै श्रीमान् हरु सँग बनाउँदा खेलमा रौनक नथपिने भय थियो । अर्कातिर, अरुका श्रीमानसँग जोडी बनाए अर्थको अनर्थ लाग्ने जोखिम ।
डाक्टरको मष्तिस्कमा चट्याङ् परे झैँ झड्का लाग्यो । उनलाई गजबको र सर्वमान्य हुन सक्ने उपाय सुझ्यो।
“कुम जोडेर सिटमा सँगै बसेका दुई व्यक्तिलाई जोडी बनाउने । यसो गर्दा महिला सहभागीको पनि हल निस्कियो किनभने उनीहरु जोडी बाँधेरै बसेका थिए।”
नभन्दै यो उपायले काम गर्यो। डाक्टरले जोडी बाँधिएका दुई मध्ये एकले अर्काको परिचय दिनु पर्ने नियम बनाए । परिचयको काम सकिए पछि उत्कृष्टको चयन मतदान मार्फत गरियो । जिबाले कवितात्मक शैलीमा आफ्ना दौँतरीको परिचय दिए । उनले अत्यधिक मत ल्याए, पुरस्कार पनि पाए ।
बनभोजका अर्का रसिला सहभागी थिए-जेपी मोरग्यान । उनका नामका अघिल्ला अक्षर पनि जे र पी भएकाले मैत्री समूहमा उनले यो अमेरिकी नाम पाएका थिए ।
तारेको कुखुराको मासु मजा लिँदै जेपीले आफू बाजुरामा हाकिम भएर जाँदाको रोचक अनुभव सुनाए ।
जेपीका
भान्से त्यहाँकै स्थानीय रहेछन् । भान्से सँग भएका कतिपय संवाद जेपीलाई कण्ठै रहेछन् । एक पटक उसले भेडाको मासु किनेर ल्याएछ । मासु यति चाम्रो रहेछ कि चबाउनै मुश्किल । जेपीले भान्सेलाई केरकार गरेछन् ।
“मासु किन चाम्रो छ ?”
“२३ सिटी लगाया हुम सा’ब ।”
भान्सेले कुकरमा लागेको सिटीको फेरिहस्त नै दिएछ ।
जिउँदो कुखुरा किनेर ल्याउँदा एक केजी, डेढ केजी वा दुई केजी जत्रो भएनी दाम भने रु १५० नै पर्दो रहेछ । एक पटक भान्सेले एउटै कुखुराको मासुले धेरै छाक सम्म काम चलाएछ । विस्तारै मासुको मात्रा कम हुँदै आलुको मात्रा अधिक हुन थालेछ । जेपीले केरकार गरेछन् ।
“यो मासु हो कि आलु हो ?”
“मासु कम भया हो आलु मिसाया हुम ।“
थरी थरीका गफ । थरी थरीका प्रसँग । पेशागत जीवनका आरोह अवरोहहरुका कथा । देखिएका, सुनिएका भोगिएका अनगिन्ती सम्झना । सबै विन्दास । सबै हलुका स्नायूमा ।
बनभोजको सामाग्री र खानपानको व्यवस्थापन वतासे डाँडामा होटल र फार्म खोलेर एकिकृत सेवा दिँदै आएका स्थानीय श्रोत व्यक्तिले गरेका थिए । उनले बाजा पनि तयार गरे । गाना सुरु हुना साथ बनभोज टोलेहरु जर्याक जुरुक उठे । हातले फन्का मारेर कम्मर मर्काउँदै भूतपूर्व नौजवानहरुले रँगमन्चमा प्रवेश गरे ।
परिचयात्मक कार्यक्रममा कविता लेखेर पुरस्कार जितेका जिबाले सिँहदरबार नजिकको माईतिघरमा घर टहरा भएका वेलाको रोचक प्रसँग सुनाए ।
त्यसवेला साईकलवाट आवत जावत गर्नेहरुको संख्या उलेख्य थियो । एक व्यक्तिले कुनै पसल अघि साईकल राखेर कतै गएका रहेछन् । उनी फर्किँदा त साईकल गायब ।
उनी ठूलो स्वरले कराउन थालेछन् । वरीपरिका मान्छे भेला भए ।
“मेरो साईकल भेटिएन भने ३६ साल दोहोर्याईदिन्छु ।“
चोरले साईकल फिर्ता गर्ने कुरो भएन । कसले लग्यो भन्ने कसलाई के थाहा ? तर साईकल धनी झन जोडले कराउन थालेछन् ।
“मेरो साईकल भेटिएन भने ३६ साल दोहोर्याईदिन्छु ।“
साईकल हराउने पात्रले पटक पटक त्यही वाक्य दोहोर्याएकोले एकजना हुलपात्रले यथास्थिति चिरेछन ।
“आखिर ३६ सालमा भएको चैँ के थियो ?”
“त्यसवेला पनि मेरो साईकल हराएको थियो । म पैदल घर गएको थिएँ ।”
वनभोज कार्यक्रमका अर्का नक्षत्र थिए-अँकलजी । उनले बेलुन नृत्य खेलाए । दुई समूह बनाएर प्रश्नोत्तर गर्ने रोचक खेल खेलाए । जादुको किताव हातमा लिएर जादु नै देखाए ।
अँकलजीको साथमा आन्टीजी पनि थिईन । आन्टीजी भने दार्जिलिङ्की चेली रहीछन् । उनीहरुको विवाह २०३७ सालमा भएको रहेछ । धरानबाट जन्ती जानु पर्ने दार्जिलिङ । मेची नदीमा पुल नभएको अवस्था । नेपाल र भारतमा छुट्टा छुट्टै गाडीको व्यवस्था गर्नु पर्ने । जन्ती बेहुली घर पुग्दा अबेर भएछ । घर गाउँलेले कुरा काटेछन्-बेहुलाले धोका दियो ।
तर जब जन्ती बिहेघरमा पुग्यो । घर गाउँलेको बीचमा अर्को गाँईगुईँले प्रवेश पाएछ ।
“बेहुला त दुई जना पो आएछन् ।“
बेहुला भएका अँकलजी र अर्को एकजनाले दुबोको माला लगाएका रहेछन् । पहिरन पनि लगभग उस्तै । यसैले त्यो अन्यौल सिर्जना भएको रहेछ ।
साला-भिनाका प्रसँग पनि चुलीमै पुगको अनुभूति सहभागीलाई त्यसवेला भयो जब भिनाजुले पत्यार नलाग्ने घोषणा गरे ।
“म भन्दा मेरो सालो १० बर्ष जेठो छ । बुढी दिदी तन्नेरी भेनालाई भिडाउने षडयन्त्र गर्ने दस्ताको अगुवाई गर्ने मेरै सालो हो।“
यसैलाई भर्याङ लगाएर दाईले भने सालो महिमाको अर्को गाथा गाए ।
“सबैका साला काला हुँदैनन् ।“
नाचगान पछि बिङगो खेल्ने कार्यक्रम भयो । डाक्टरले विङ्गो मास्टरको भूंमिका निर्वाह गरे । जीवनमा पहिलो पल्ट यो खेलको आनन्द लिने पनि सहभागी केही देखिए । बनभोजको दिवा भोजन भने अपरान्ह भोजन भयो ।
प्रशासन र लेखाका तौरतरिका थाहा नहुँदा कसरी बलिको बोको बनाउँछन भन्ने कुराको प्रसँग एक पूर्व प्रशासकले कोट्याए । एक जना ओभरसियर विहे पश्चात पहिलो पटक ससुराली गएछ । ससुरालीको मेजमानको आनन्द लिएर कार्यालयमा उपस्थित भएपछि उसका केही कर्मचारी साथीले सल्लाहा दिएछन् ।
“पहिलो पटक ससुराली गएको त भ्रमण भत्ता पाईन्छ नि !”
नभन्दै उनीहरुकै उक्साहाटमा ति ओभरसियरले भ्रमणभत्ताको कागजात भरेर सहीछाप गरेछन् । त्यसपछि उनी त्यो कागजात लिएर स्वीकृतिका लागि स्थानीय विकास अधिकारीकहाँ गएछन् ।
बतासे डाडाँको बनभोज साँझ ७ बजे कोटेश्वर महादेवस्थानमा गएर टुङ्गियो । डाक्टरले घर पुगेर आफ्नो डायरीमा बनभोजको स्मरण लेखे ।
“यस्तो चमत्कारिक बनभोजमा सहभागी हुने अवसर सबैको भाग्यमा कहाँ लेखेको हुन्छ र ?”
कोटेश्वर, काठमान्डौ
वैशाख १०, २०८१
No comments:
Post a Comment