Friday, July 12, 2024

एक इन्जिनियर पाँचवटा उपसमूहमा कसरी उत्तीर्ण भए !

युवावयको उत्तरार्द्धमा पुगेर पनि अध्ययनको हुटहुटी भएका एक हितैषी छन्। उनी अहिले त्रिभुवन विश्वविद्यालयमा दर्शनाचार्य अर्थात् एमफिल तहमा अध्ययनरत छन्। एक दिन हाम्रो कुराकानीमा कुनै प्राध्यापक किन अतिसार पूर्वाग्रही हुन्छन् भन्ने विषयले प्रवेश पायो।

'हामीलाई पढाउने एक प्राध्यापक त कक्षामा गयल हुनेलाई उपस्थित र उपस्थित हुनेलाई गयल समेत गर्न भ्याउनुहुन्छ।'

'किन यसो गर्नु हुन्छ होला?' 

मेरो प्रश्न स्वाभाविक थियो।

'यसो गर्दा राजदूत वा अन्य कुनै पदमा नियुक्त हुने आधार बन्न सक्छ भन्ने उहाँको मान्यता छ।' 

'राजनीतिक आस्थाका आधारमा विद्यार्थीको मूल्यांकन गर्ने कुप्रथा नेपालबाहेक अन्यत्र नहोला। नेपालमा पनि यो कालखण्ड अघि यस्तो अतिशय स्थिति त थिएन होला।'

मैले अनुभव सुनाउँदै गर्दा मेरो सरस्वती साधनाको अतीत स्मरण भयो। मैले स्नातक तह पढेको 'बिरला इन्स्टिच्युट अफ टेक्नोलोजी' होस् या विद्यावारिधि गरेको थाइल्यान्डको 'एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी', राजनीतिको फेर समातेर विद्यार्थीको मूल्यांकन गरेको थाहा भएन।

म अनुसन्धान र अध्यापनमा संलग्न भएका जापानको 'टोकियो विश्वविद्यालय' वा 'चीनको चुंह्वा सेनजेन इन्टरनेसनल ग्राजुएट स्कुल' को त कुरा नै अलग्ग छ।

'कुनकुन कारणले कुनै प्राध्यापक वा शिक्षक पूर्वाग्रही हुन सक्छ?' यो विषय हाम्रो छलफलको रंगमञ्चमा वैशाख–जेठको रापिलो घामझैं उदायो।

अहिले कुनै कलेजको वा विश्वविद्यालयको कक्षामा विद्यार्थी एमाले, कांग्रेस वा माओवादीको भ्रातृसंगठनको नाइके वा अनुयायी हुन सक्छ। प्राध्यापक पनि यिनै दलको नुन खाने कुनै अमुक प्राध्यापक संघसंगठनको सदस्य हुन सक्छ।

यसो भएपछि आफ्नो चुम्बकीय ध्रुव नमिल्ने विद्यार्थी पर्‍यो भने शिक्षक ऊप्रति पूर्वाग्राही हुन सक्ने सम्भावना रहन्छ। 

पूर्वाग्रही हुने दोस्रो कारण हुन सक्छ लैंगिकता। पुरूष शिक्षकले छात्रालाई वा महिला प्राध्यापकले छात्रलाई पूर्वाग्रही नजरले हेर्न सक्छन्। 

हाम्रो समाजमा अविवाहित शिक्षकले विद्यार्थीमध्येको कसैलाई जीवनसाथी नै बनाएका उदाहरणहरू छन्। यस्तो परिस्थितिमा परीक्षक भएर मूल्यांकन गर्दा लैंगिक अवस्थाका आधारमा पूर्वाग्रही हुनु सामान्य ठहर्ला।

अझ कक्षामा प्रतिष्ठित राजकुमारी वा नेपाल सुन्दरी भएमा एक पुरूष प्रशिक्षकले पूर्वाग्रही हुनबाट आफूलाई मुश्किलले जोगाउन सक्ला।

तेस्रो कारण परीक्षकको तत्कालीन मनस्थितिसँग जोडिएको हुन्छ। मानौं, परीक्षकले मूल्यांकन गर्दा हस्तलिपि राम्रो भएका र प्रस्तुति पनि राम्रो भएका पाँच–छ वटा उत्तरपुस्तिका लहरै जाँच्यो। त्यसपछि एकाएक हस्तलिपि प्रष्ट नभएको र प्रस्तुति पनि निम्छरो रहेको उत्तरपुस्तिका आयो भने परीक्षक पूर्वाग्रही बन्न सक्छ।

यस्तै, निम्छरो प्रस्तुति रहेको क्रमलाई उत्कृष्ट प्रस्तुतिले क्रमभंग गर्‍यो भने पनि परीक्षकको पूर्वाग्रह सतहमा आउन सक्छ।

नोबेल पुरस्कार विजेता डेनियल कानेम्यानले 'किन कोही पूर्वाग्रही हुन्छ' भन्ने प्रश्नको उत्तर 'हेलो असर' सँग जोडेर दिएका छन्। यो असरले मूल्यांकनकर्ताको मस्तिष्कमा गहिरो छाप छाडेको पूर्वअनुभवले पछि आउने निर्णयलाई निर्देशित गर्छ।

डेनियलले उत्तरपुस्तिका जाँच गर्दाको आफ्नै अनुभव लिपिबद्ध गरेका छन्। कुनै विद्यार्थीले पहिलो प्रश्नको उत्तर उत्कृष्ट लेख्यो, त्यसमा उसले अंक पनि उत्कृष्ट पायो। दोस्रो प्रश्नको उत्तर सामान्य वा क्लिष्ट भए पनि परीक्षकको मस्तिष्कमा पहिलो प्रश्नको छापले दोस्रोमा पनि राम्रै अंक पाउने सम्भावना प्रबल रहन्छ रे।

यस विपरीत कुनै विद्यार्थीले पहिलो प्रश्नको उत्तरमा कम अंक पायो भने राम्रै लेखेको भए पनि दोस्रोमा 'हेलो असर' का कारण मूल्यांकन पूर्वाग्रही हुने सम्भावना प्रबल रहन्छ भन्ने व्याख्या डेनियलको छ। 

यस्तो समस्या समाधान गर्न र आफूलाई पूर्वाग्रहबाट जोगाउन डेनियलले नयाँ तरिका प्रयोग गरेछन्। सर्वप्रथम सबै विद्यार्थीको पहिलो प्रश्नको उत्तर जाँच गर्ने। यो काम सकिएपछि सबैको दोस्रो उत्तर जाँच गर्ने। यस्तो तरिकामा उनले आफ्नो पूर्वाग्रही मनोविज्ञान हाबी हुनबाट धेरै हदसम्म जोगिन सकेको व्यहोरा उल्लेख गरेका छन्।

डेनियलले सुझाएजस्तो विश्लेषणको तहमा पुग्न त हामीलाई अझै धेरै समय लाग्ला। अध्यापन र मूल्यांकनमा हाम्रो वर्तमान तरल अवस्थामा छ। त्यसमा पनि प्राविधिक विषयहरूको शिक्षण–सिकाइको अवस्था नाजुक छ।

म विज्ञान, गणित र इन्जिनियरिङ विषयको शिक्षण–सिकाइमा सानैदेखि अभिरूचि राख्थेँ। मलाई सरस्वती देवीको कृपा भयो। पूर्वोत्तर मोरङको राधिका माध्यमिक विद्यालयमा ४ देखि १० कक्षा सम्म पढ्दा मैले 'फर्स्ट ब्वाइ' उपाधि निरन्तर कायम राखेँ।

मेरा दौंतरीहरूलाई गणित सिकाउँथे। ज्यामिति त मलाई कण्ठै हुन्थ्यो। आईएससीको परीक्षा दिएपछि मैले मेरो विद्यालयकै समीपको सनपकुवा माविमा कक्षा १० का विद्यार्थीलाई विज्ञान पढाएँ। 

काठमाडौं आएर भानुभक्त मेमोरियल माविमा पनि अंग्रेजी माध्यमको विज्ञान पढाएँ। स्नातक तहको पढाइपछि म इन्जिनियरिङ विषय पढाउन थालेँ।

काठमाडौं विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा सहप्राध्यापक भएर सात वर्ष पढाएँ। परामर्शदाताको भूमिकामा दुई दशकभन्दा बढी समय विभिन्न इन्जिनियरिङ परियोजनाहरूमा काम गरेँ।

यो अनुभवले मलाई अध्यापनका सम्बन्धमा पूर्वाग्रही र एकांकी पनि बनाएको हुन सक्छ। मैले विज्ञान होस् वा गणित वा इन्जिनियरिङ, शिक्षण–सिकाइको एक मौलिक सिद्धान्त बनाएँ।

सिद्धान्त यस्तो छ– जबसम्म सिद्धान्तलाई प्रयोगात्मक तरिकाले व्याख्या गरिँदैन र विद्यार्थीलाई उपयुक्त अभ्यास गराइँदैन तबसम्म चुरो कुरो बुझ्दैनन्। यसो भएपछि उनीहरू कालान्तरमा परीक्षामा मात्र नभई जीवनमा समेत असफल हुने सम्भावना रहन्छ। 

एक-दुई घटनाले मेरो जीवनभरको यो कमाइमा तुषारापात भएको अनुभव गरेको छु। केही समयअघि म इन्जिनियरिङ विषय पढाइ हुने एक निजी कलेजमा पढाउँथें। कक्षामा विद्यार्थीको नाम बोलाएर प्रश्न सोध्थेँ। कतिपय अभ्यास विद्यार्थीलाई कक्षामै गराउँथेँ। पाठ्यपुस्तकभन्दा बढी व्यवहारमा प्रयोग हुने निर्देशिका वा म्यानुअल प्रयोग गर्थेँ।

इन्जिनियरिङ पढाइको चौथो वर्षमा पुग्दासम्म सामान्य नक्सा पनि नबुझ्ने र लागत अनुमान गर्न नसक्ने हैसियतका विद्यार्थीलाई छोटो समयमा उदाहरणहरूले कुरा बुझाउँथेँ।

एक दिन म एकाएक छाँगाबाट खसेँ जब कक्षा संयोजकले फोन गरेर नौलो सन्देश दिए।

सन्देश यस्तो थियो– सरले विद्यार्थीलाई परीक्षा उत्तीर्ण गर्ने किसिमले पढाउनु भएन भन्ने गुनासो छ। 

'मलाई त्यस्तो लाग्दैन। मैले त उनीहरूलाई जीवनमै उत्तीर्ण हुने किसिमले पढाउने कोशिस गरेको छु। इन्जिनियरिङ विषयको आधारभूत ज्ञान नभई उनीहरू व्यावसायिक जीवनमा कसरी सफल होलान्!'

'यो निजी कलेज हो सर। यहाँको प्राथमिकता विद्यार्थीको सजिलो हेर्ने हो। उनीहरूको गुनासो प्रशासनले नकार्न सक्दैन।'

म विद्यार्थीलाई तराईमा व्यापक प्रयोग हुने चापाकलको उदाहरण दिने गर्छु। धेरै समयसम्म चापाकल बिग्रिएन, वासर फुस्किएन वा मक्किएन भने त्यसको माथिल्लो भागमा खिया पर्छ। खिया परेका नट र बोल्ट खोल्न सकस हुन्छ। रेन्च र नट ट्वाक्क मिल्नुपर्छ नत्र खोल्न सकिन्न।

आपत त्यस बेला पर्छ, जब खिया लागेको नटमा अलि जोड लगाउँदा रेन्चको सतह नै खिइन्छ। यसलाई जनजिब्रोले 'खिया लागेको नटले रेन्चको गुना खायो' भन्छ। 

निजी कलेजमा मेरो पनि रेन्चको गुना नटले खाएजस्तो भयो। मैले नट खोल्न सकिनँ अर्थात् सेमेस्टर पूरा गर्न सकिनँ। मलाई पढाउन आउनुहोला भन्ने फोन आएन। म असफल शिक्षक भएर निस्किएँ। 

विद्यार्थी मूल्यांकनमा मूर्तिभञ्जन गर्ने (यथास्थिति चिर्ने) मेरो सिद्धान्त छ।

सिद्धान्त यस्तो छ– विद्यार्थीले लेखेको मिलेको छैन, प्रश्न एकातिर छ, उत्तर अर्कोतिर तर शिक्षक पूर्वाग्रही भएर उसलाई उत्तीर्ण गरायो भने विद्यार्थी त उम्किएला तर शिक्षक सदाका लागि अनुत्तीर्ण हुन्छ।

मेरो यो दोस्रो सिद्धान्त पनि कहिलेकाहीँ एम्बुसमा परेको आभास भएको छ।

हालसालैको प्रसंग हो। त्रिभुवन विश्वविद्यालमा विद्यावारिधि तहका विद्यार्थीलाई 'विज्ञान र प्रविधिको दर्शनशास्त्र' विषय पढाउँदा मैले अक्षरशिरोमणि मदनमणि दीक्षितले लेखेको निम्न अनुच्छेद साभार गरेँ। 

'गणित र प्रकृति विज्ञानमा मात्र निर्द्वन्द्वता र समीचिनता प्राप्त गर्न सकिँदो हो, चिन्तन र दर्शनमा त्यस्ता निर्द्वन्द्वता प्राप्त गर्न सकिन्न। मानिस गणित होइन। मेरो चिन्तनमा अस्पष्टता र अन्योल मेरो परिचय हो जसलाई लुकाउन वा नलेख्न आवश्यक देखिएन।'

एक विद्यार्थीले हात उठाए। उनको जिज्ञासा मैले स्वीकार गरेँ।

उनले भने– मानिस गणित हो किनभने ऊ बिहानदेखि बेलुकासम्म गणितको प्रयोग गर्छ।

मैले प्रत्युत्तरमा भनेँ– म तपाईं र दीक्षित दुबैको तर्कमा असहमत हुन सक्दिनँ किनभने यो दर्शनशास्त्रको कक्षा हो।

कक्षाका अधिकांश विद्यार्थी मुस्कुराए। 

यसमै लामो चर्चा गर्ने समय थिएन तर केही दिनपछि तिनै विद्यार्थीसँग अर्को प्रसंग आयो। आन्तरिक परीक्षामा उनी लगायत केही विद्यार्थीलाई मैले शून्य अंक दिएँ।

सायद इन्जिनियरिङ विषयको अध्ययन–अध्यापन गर्ने भएर होला मेरो ब्रह्मले कतिपय अवस्थामा डिजिटल अंक अर्थात् शून्य र एक मात्र देख्छ, लेखेको मिलेमा शतप्रतिशत अंक अन्यथा शून्य।

विज्ञान वा इन्जिनियरिङमा साहित्यको लेखेजस्तो असान्दर्भिक वा अपूरो कथा लेखेर अंक प्राप्त हुँदैन।

शून्य र एकको यो शास्त्रले अनौठो परिदृश्य सिर्जना गर्‍यो। तर्क गर्ने ती विद्यार्थीका समकक्षीहरू सहभागी रहेको सामाजिक सञ्जालको एक समूहमा तिनले लेखे– शून्य अंक पाउने म अनुत्तीर्ण भएको हैन, अनुत्तीर्ण त ती शिक्षक हुन् जसले मलाई शून्य अंक दिए।

ती विद्यार्थीले मलाई पूर्वाग्रही र असफल शिक्षक भन्ने आरोप लगाए पनि लोकसेवा आयोगका एक माननीय सदस्यले मेरो तर्कमा सही थपे– इन्जिनियरिङ जस्तो तर्कशास्त्रको फेरो समात्ने विषयमा अनुच्छेद लेख्ने वा आफ्नो धारणा लेख्ने प्रश्नपत्रले परीक्षार्थीको मूल्यांकन हुँदैन।

नेपाल सरकारको लोकसेवा आयोगले सिभिल इन्जिनियरिङ सेवामा विभिन्न उपसमूहहरू बनाएको छ। माननीय सदस्यका अनुसार एक परीक्षार्थीले हाइवे, स्यानिटरी, इरिगेसन, हाइड्रोलोजी र बिल्डिङ एन्ड आर्किटेक्ट गरी पाँचवटै उपसमूहको लिखितमा नाम निकालेछन्।

माननीयलाई आश्चर्य लागेछ, कुनै एक उम्मेदवारले कसरी यो चमत्कारी काम गर्न सक्छ!

माननीयसँग मेरो अन्तक्रिया यही विषयमा भयो।

हाम्रो निचोड निस्कियो– हामीले इन्जिनियरिङको सट्टा इन्जिनियरिङ साहित्यको परीक्षा लिइरहेका छौं। यसकारण यो चमत्कार हुन सम्भव छ। 

नियतिले सायद नीतिनिर्मातालाई पनि पूर्वाग्रही बनाएको छ। राजनीतिक वा अन्य कुनै पूर्वाग्रहका आडमा केही पनि नजानेको र विषयवस्तुको ज्ञान नै नभएको विद्यार्थीलाई उत्तीर्ण गराउनु वा काखी च्याप्नु शिक्षकले आफू भित्रकी सरस्वती देवीको अपमान गर्नु हो।

शास्त्रीय मान्यताअनुसार यसो गर्नेलाई पीडितको श्राप लाग्छ। आजको पुस्तालाई यो मान्यता मान्य छैन। यो पुस्ताले त भन्ला– यस्तो तर्क गर्ने शिक्षक वर्तमान नबुझेर शास्त्रपरम्पराको आड लिने पूर्वाग्रही हुन्।

सेतोपाटी 

आषाढ १६, २०८०

No comments:

Post a Comment