Friday, January 8, 2010

जलेको टायर र बल्न नसकेको नेतृत्व

"ए! तल झर । यो चटकी बन्द गर । टायर बाल्न मान्छे भेला भएको मौका छोपेर चटकी देखाउन पाईदैन ।"

सवारी साधन नचलेको बुझेपछी म कोटेश्वरबाट पैदल कार्यालय आउदै थिएं । एउटा अनुसन्धान परियोजनाको प्रतिवेदन दुई दिन पछि जापान पठाउनै पर्ने अनिवार्यताले मलाई सताएको थियो । बाल कुमारीमा टायर बलेको रमिता छोडेर चटकको आनन्द लिईरहेको हुलको केन्द्रबिन्दुमा दुई अग्ला घोचामा उभिएका चटकीलाई कुनै हुल–पात्रले दिएको आदेश थियो त्यो । बालकुमारी पुल पुग्नु अघि मोटर साईकलमा कोटेश्लरतिर बाट आईरहेका एक दम्पतीलाई हुल–पात्रहरुले रोकेर अघि नबढ्न धम्की दिए । सवारी चलाईरहेका पुरुषले परिचय पत्र देखाए । त्यसको कुनै असर देखिएन् । साईकलमा एक भारी पानीका जार बोकेर बालकुमारीतिर लागेको एउटा नवयुवकले झण्डै पिटाई खायो । त्यो जमातमा कुनै विज्ञानले काम गरेको देखिएन् न त कुनै सर्वमान्य सिद्धान्तको नै पालना भएको ।

बलेको टायरबाट निस्केको अत्यन्तै बिषालु ग्यासको विचहुदै चक्रपथ छोडेर म बालकुमारी बाट मंगलबजार निस्कने दाहिने सडकतर्फ लागें । मेरो वातावरण विधाको अध्ययन अनुसन्धानको ज्ञान र कार्यानुभवलाई बिषालु ग्यासको मुस्लोले हास्य पात्र बनाएको थियो । जानाजानी वीच सडकमा टायरको थुप्रोमा बलेको आगो तापेर रमाएको जमात देखेर म स्तब्ध भएको थिएं । आजको यो अकस्मात उब्जिएको टायर बाल्ने कालो दिन, यसले खोसेको चटकीको कमाई गर्ने दाउ लगाएतका अन्य विषय र यो दिन सिर्जना हुनुका पछि रहेका कारक निर्णयहरु र ती निर्णय गर्ने समाजका अगुवाहरुका बारेमा विभिन्न भावनाहरु मेरो दिमागमा अविरल बग्न थाले ।

नेपाल जस्तै आर्थिक रुपले विपन्न अफ्रिकी मुलुक घानामा भोलिका समाजका अगुवा अर्थात नेताहरुलाई शिक्षा र तालिम दिन खोलिएको एउटा मानविकी विषय पढाईने विश्वविद्यालयको बारेमा जानकारी दिन केही समय अघि तयार पारिएको भिडियोको सम्झना ताजा भएर आयो । त्यसमा भनिएको छ: समाजमा देखिएका हरेक समस्याका तीनवटा कारण छन्–भ्रष्टाचार, कमजोर संस्थागत संरचना र ती व्यक्तिहरु जो सरकारी निकाय वा अन्य संस्थाहरुमा पदासिन छन् । यसमा सबैभन्दा पछिल्लो कारण अतिनै महत्वको छ किनभने सरकारी निकाय वा अन्य संस्थाहरुमा पदासिन सम्भ्रान्त व्यक्तिहरुले लिएका असामान्य र विस्मयकारी ढगंका खराव निर्णयहरुको कारणनै आज हाम्रो मुलुकको सामाजिक, आर्थिक र राजनैतिक अवस्था पूर्ण रुपले ध्वस्त हुने विन्दुको नजिक पुगेको छ ।

नेपालको सन्दर्भमा माथिको प्रसंग कति नजिक छ त्यसको विश्लेषण गर्ने जिम्मा म पाठकलाईनै छोड्दछु । मेरो चिन्ताको विषय भनेको नेतृत्व अर्थात अगुवाइको हो । अहिलेका निर्णयकर्ताहरु समाजका अगुवा अर्थात नेतृत्व पङ्क्तिमा उभिएका व्यक्तिहरु हुन । मैले यंहा उल्लेख गर्न खोजेको राजनैतिक नेतृत्व मात्र होईन् । सरकारी वा गैरसरकारी निकायका कर्मचारी, डाक्टर, ईन्जिनियर, वकिल, पत्रकार आदि पनि समाजको यो सभ्रान्त वर्गमा पर्छ जो आफ्ना समकालिनहरुको भीडको लगभग पांच प्रतिशतको प्रतिनिधित्व गर्दछ । जसले आज आफ्नो कार्यकक्षमा बसेर लिएको निर्णयले या त मुलुक उन्नति तिर एक पाईला अघि बढ्छ या मुलुकलाई एक अंश पीडा थप्दछ । ईन्धनको पटक पटक बृद्धि गरिएको मुल्य खराब निर्णयमा नपर्नु पर्ने यथेष्ठ कारणहरु निर्णय गर्ने अधिकारीहरुका कार्यकक्षमा उपलब्ध फायलमा लिपिबद्ध होलान्। कुनै संवेदनसिल निर्णयको जनमानसबाट कस्तो प्रतिकृया आउछ र त्यसको सामना कसरी गर्ने भन्ने पुर्वतयारी नभएको अराजक भीडले बालेका टायरहरु र छेवैमा बसेका मुकदर्शक प्रहरीहरुले संकेत गरेको देखियो । टायर बाल्ने जमातको नेतृत्व या त चिया पसलमा दिनहु विना काम हल्लिरहेका वा निर्जन ठाउ तिर भौतारिरहने युवाहरुले गरेको पाईयो । माथि उल्लेखित पांच प्रतिशत संभ्रान्तको कुनै अशं त्यहा देखिएन् । ईन्धनको मूल्य बृद्धि गर्ने अधिकारीहरुले प्रतिकृयाको सामना गर्ने व्यवस्थापनको न त कुनै झलक त्यहां देखियो । न त भोलिको नेपालमा यसरी सरकारी निर्णयको अग्निदाह हुदा विकराल परिस्थिति सिर्जना हुन सक्छ भनेर पुर्व सावधानी स्वरुप टायर नबाली विरोधका मैत्रीपुर्ण गतिविधी सन्चालन गर्न तम्सिएका कुनै राजनैतिक नेता नै । यसैले यसरी राजनैतिक र सामाजिक पूंजीले भरिपूर्ण एजेण्डाहरुको अग्नि दाह भैरहदा पनि बल्न नसकेको नेतृत्वले नेपालमा अगुवा हुनको लागि अथाह अवसर छ भन्ने कुरालाई ईगित गर्दैन त ? अवश्य पनि गर्दछ । दश या बीस बर्ष पछि राजनैतिक या गैर राजनैतिक नेतृत्व लिने र नेपाली समाजमा देखिएका कसिंगरहरु बढार्ने द्रृढ अठोट भएका अगुवाहरुको सिर्जना गर्नका लागि आजका युवाहरुलाई सहि तालिम र शिक्षा दिन जरुरी छ । नेपालमा नेतृत्व लिनका लागि र काम गर्नका लागि अथाह अवसरहरु विद्दमान छन भन्ने कुराको अनुभुति दिलाउनु आजको आवश्यकता हो । नेतृत्व लिएर लाखौ मानिसहरुको दिनचर्यामा परिवर्तन ल्याउन सक्ने एउटा निर्णय लिनु सक्नु भनेको असामान्य कुरा हो । आजका युवाहरुलाई यस दिशामा निर्देशित गर्न पहल भए भोलिको परिकल्पना गरिएको नया नेपालमा चुनौतिहरुको सामना गर्ने अगुवाहरुको अभाव हुने छैन भन्ने बिषयमा दुई मत नहोला ।

नोभेम्बर १९, २००८ (लेखक नेपाल विकास अनुसन्धान प्रतिष्ठानसंग आबद्भ छन् ।)

1 comment:

  1. I also accept your view because it is reality of Nepal.

    ReplyDelete