Tuesday, June 7, 2011

यदि यस्तो हुने भए …………………………….

दिउँसो मध्यान्हको समय थियो । वागवजार श्रेष्ठ टेलरिङ्गको परिसरमा काम सकेर पुल्चोक आउने लागि ट्याक्सी चढ्नका लागि वागवजारलाई रत्नपार्क र पुतली सडक जोड्ने सडक तिर म लम्किए । सडकमा राखिएका दुईवटा ट्याक्सी मध्ये मैले अघिल्तिरको रोज्ने निर्णय हिँड्दा हिँड्दै गरेँ जवकि दुरीको हिसावले त्यो टाढा थियो । काठमाण्डौका सडकहरुमा लगभग एक दशक भयो मैले यी भाडाका सवारी साधनहरु चढ्ने गरेको । आज भोलि त जुन जँहा भेटिन्छ त्यही छनौट गर्दा पनि "मैले हजुरलाई केही समय अघि पनि सेवा प्रदान गरेको थिएँ" भन्ने चालकहरु वाक्लै भेटिन थालेका छन् । कुन सवारी साधनको छनौट गर्ने भन्ने मेरा केहि सूचकहरु छन् । कानमा मुन्द्रि लगाएको, लामो कपाल पालेको, अनुहारमा आक्रोसका चिन्हहरु वोकेको, मैलो र पेशा असुहाउँदो लुगा लगाएको हुलिया भएको चालक मेरो छनौटमा पर्दैन् । यसको विपरित प्रफुल्ल अनुहार भएको, टोपी लगाएको, पेशा र मौसम अनुकुल सफा लुगा लगाएको र व्यक्तित्वमा झट्ट हेर्दा कुनै खट्किने सँकेत नदेखिएको चालक मेरो प्राथमिकतामा पर्दछ । यस्तै अर्को सूचक आफ्नो दृष्टि पर्दा देखिने चालकको गतिविधि हो । कुनै कुनै गुरुजीहरु आफू वस्ने सिट पछाडि ढल्काएर गोडा स्टेरिँग माथी राखेर निधाई रहेका हुन्छन् त कुनै चुरोट तानी रहेका । यस्तो दृष्य पस्किरहेको सवारी साधन मेरो रोजाईमा पर्ने सवालनै भएन् । विसौनीमा पर्खिरहेको सवारी साधनको चालक आफ्नो वाहनको शीसा पुछिरहेको पाईएमा म त्यसलाई अव्वल दर्जामा राख्छु र मेरो गन्तव्यमा जाने विषयमा कुरा मिलेमा म अरु विकल्प रोज्दै रोज्दिन् । अनि वाटामा रमाईलो पनि पस्कन्छु ।
' ल भन्नुहोस त मैले तपाँईको सवारी नै किन रोजेँ ? '
सोच्दै नसोचेको यस्तो प्रश्नको जवाफ प्राय गुरुजीहरु सँग हुँदैन् । अनि म मेरो सहयात्रीको काम सजिलो पारिदिन्छु ।
' तपाईँ गाडीको शिसा पुछ्दै हुनुहुन्थ्यो नि त त्यही देखेर रोजेको । '
मेरो वार्तालापलाई थप जीवन दिँदै म अर्को प्रश्न तेर्स्याउँछु ।
' किन शीसा पुछ्दै गरेको दृष्यले गाडि चयन गर्ने निर्णय लिन सघाँउछ ? '
हामी छलफल गर्छौ र निचोड निकाल्छौ । "शिसा पुछ्ने चालक आफ्नो कमाई खाने भाँडोको माया गर्छ । उ मिहिनेती छ । परिश्रमको कमाईमा विश्वास गर्छ र समयको सदुपयोग गर्छ ।"
पुल्चोक पुगुन्जेल सम्म म चालक सँग गफ गर्दिन् । उसले ह्याट लगाएको थियो र नाक मुख मास्कले छोपेको थियो । उ आफ्नै सुरमा थियो म आफ्नै सुरमा ।
मास्कको सम्बन्धमा एउटा रमाईलो प्रसँग छ । केही महिना अघि म एउटा टयाक्सीमा जाँदै थिँए । जाममा मैले चढेको ट्याक्सीको चालकले छिमेकी ट्याक्सीको चालक सँग सोध्यो ।
"के छ हालखवर ? "
छिमेकी चालकले वोलेको राम्रो बुझिएन् । उसले मास्क लगाएको थियो ।
मैले चढेको ट्याक्सीको चालकले रमाईलो पारामा भन्यो ।
"तिम्रो कट्टु खोलेर कुरा गरन यार केही पनि वुझिएन् ? "
मलाई मनमनै हाँसो उठ्यो । मास्कलाई कट्टुको सँज्ञा दिईएको सुनेर । मैले वुझेको कट्टु भनेको घुँडा भन्दा माथी कम्मर भन्दा तल लगाईने वस्त्र हो । उहिले ईँजार भएका कट्टु हुन्थे । अहिले आफैँ कसिने हुन्छन् । उहिलेका यी वस्त्र लामा हुन्थे र सार्वजनिक स्थानमा पनि यिनको प्रदर्शन हुन्थ्यो । अहिले यि नानो नापोका हुन्छन् र भित्रीको काम मात्र गर्छन् । तिनलाई लामो नापका वाहिरी वस्त्रले छोपेका हुन्छन् । मास्क र कटटुको जेन्डर छुट्टिदैन् दौरा र चोलीको जस्तो । यो पुरुषलाई पनि चाहिन्छ । स्त्रीलाई पनि चाहिन्छ । एउटै नामले पुकारिन्छ । हाम्रै मुलुकमा केही समय अघि सम्म लगौँटी लगाउने चलन थियो । त्यसले भित्र के छोपेको छ भन्ने स्पष्ट थाहा हुन्थ्यो । अर्थात छोपिएको वस्तुको स्वरुप या आकारको वारेमा दर्शकलाई राम्रै जानकारी हुन्थ्यो । आज भोलि यो चलन मासिएको छ । जीउमा लपक्कै टाँसिएका वस्त्रका कारण या जानाजानी प्रदर्शन गरिएका पुरुषहरुका छाती या पाखुरा सम्मको जानकारी अझै पनि प्रशस्तै पाईन्छ तर लगौटीको जस्तो पुरुषको गोप्य अङ्गको आकारको वारेमा दर्शकलाई खासै जानकारी हुदैन् । स्त्रीहरुको सन्दर्भमा पुरानो चलन अनुसार गुन्यु चोलीमा पेटको तल्लो भाग र पिँडुला देखिन्थ्यो भने अहिले सँवेदनसिल अङ्गहरुका आकार अनुमान गर्न सकिने या केही प्रतिशत भू भाग नै स्पष्ट देखिएको जस्तो गरि वस्त्र लगाउने चलन आएको छ । आजभोलीका युवा युवतीहरु यो मामलामा निकै अघि छन् । पाईन्टको माथिल्लो एकल भागलाई अभिप्रायका साथ परम्परागत हिसाबमा भन्दा छोटो गरीने हुनाले अलिकति सकस पर्ना साथ जीउको पछाडिको पुछार भाग देखिन्छ । देख्ने मान्छेलाई लाज लाग्ने गरी । यसलाई विकासे पाईन्टको नाम दिन्छु म । यो लाज भन्ने कुरा पनि अनौठो प्रकृर्तिको हुन्छ । आफ्नो सार्वजनिक गर्न नहुने शरीरको भाग अरुले देखे भने अनि आफूलाई वढी लाज लाग्छ । तर समस्या कहाँ निर छ भने आजभोली देखाउनेले कस्ले हेरेको छ भनेर पर्वाह नगर्ने चलन आएको छ । जस्तै मोटरसाईकलमा सवार पछाडी वसेका विकासे पाईन्ट लगाएका युवतीहरु चालकसँग लपक्कै टाँसिएर आफ्नो शरीरलाई नागवेली आकारको वनाउँछन् अनि जीउको पुछारको भू भाग देखाउँदै हुँईकिन्छन् । छिमेकी सवारीसाधनमा वसेकाले त्यो दृष्य मजाले हेर्छन् । तर देखाउनेलाई लाज हुँदैन । हुन ता आजभोलि वस्त्र लगाउनुको परिभाषा पनि फेरिई सकेको छ । मैले मेरो कवितामा लेखेको छु ।
वैँककमा विकास छ. एआईटिमा वुद्दिको खानी छ
गर्खाकोटमा शुद्धता छ
छोट्टीहरुलाई एड्स लागेको छैन
उनिहरु गादो आङ् उघार्न होईन छोप्न लगाउँछन् ।
(छोट्टी – वयस्क युवती, गादो – पछ्यौरा जस्तो सामान पनि राख्न मिल्ने पहिरन)

पुल्चोकमा पुगे पछि म उसलाई गाडी रोक्न भन्छु र म सँग हजारको नोट मात्रै भएको यथार्थता पस्कन्छु । मेरो परिस्थितिले रोचक सँवाद सिर्जना गर्छ ।

" तपाँई सँग एक हजारको खुजुरा होला ?" उ मास्क खोल्छ अनि मेरो उत्तर फर्काउँछ ।

" छ सर ! म त यस्तै पर्ला भनेर खुद्रा वोकेर हिड्छु । "

" कस्तो राम्रो ! मैले आज पहिलो पटक यसरी पुर्व सावधानी अपनाउने चालक फेला पारेँ । कतिले त खुद्रा भए पनि नहेरीकन छैन् भन्छन् । कतिले खुद्रा भए पनि तपाईँ सँगै होला अलि राम्रो सँग हेर्नुहोस न पनि भन्छन् । एक चोटि त एक जनाले तन्किएर मेरो पर्समा नै नजर पुर्यायो । कतिपय गुरुजीहरु त खुद्रा नभएकै परिस्थितिको टुङ्गो लागेमा त्यो धेरै मुल्यको नोट साटेर दिने जिम्मा यात्रुकै हो भन्ने ठानेर गजक्क परेर वस्छन् । आफुलाई हतार हुन्छ अनि कतिपय अवस्थामा त कतै केही सामान किनेर समेत सवारीचालकलाई उम्काउने काम गरेको छु ।" मैले लामै गुनासो पोखेँ ।


" समय त हाम्रो पनि त वहुमुल्य हुन्छ नि सर । तपाईँलाई ओराल्ना साथ अर्को यात्रु भेटिन सक्छ । कति यात्रुले त साटेर आँउछु भनि आँउदै नआउने पनि हुन्छन् । अर्को कुरा सेवा मैले दिने हो नि तपाईँलाई । हजुरले भनेको जस्तो गर्दा त त यात्रुले चालकलाई सेवा दिएको भयो नि हैन र सर ।"

मेरो दश वर्षको ट्याक्सी यात्रामा यी चालकको चालाले चामलमा तिल भेटिए जस्तै अनुभूति भयो । मलाई लाग्यो यदि यस्तो हुने भए…………………. । यि तिलको सँख्या थप गर्न पाए यात्रु हरुलाई पनि सुविधा हुने थियो । गुरुजीहरुको पेशा पनि मौलाउने थियो ।

सँवादको अर्को अँश अझ रोचक छ । मैले यस्तो राम्रो सोच भएको पेशाधर्मीलाई केही नँया कुरा दिनै पर्यो भन्ने सोचेँ । जापानको उदाहरण दिएँ । जापानमा सामान किन्दा या पैसाको कारवार गर्दा वोलेर गर्ने चलन छ । मैले हाम्रो पैसा लेनदेनलाई नाटकिय रुप दिदै यसरी व्याख्या गरेँ ।

गुरुजी : सरको रु १५० भयो ।
यात्रु : ल लिनु होस यो रु १००० ।

गुरुजी त्यसलाई पाखैमा दुवैले देखिने गरी राख्छन् ।

गुरुजी : ल हजुरको यो रु ८५० लिनुहोस ।
यात्रु : धन्यवाद, मैले गने । ठीक छ ।

गुरुजी : फेरी पनि सेवा गर्ने मौका दिनुहोला सर ।

यात्रु ट्याक्सीवाट ओर्लिए पछि मात्र गुरुजी दिईएको नोट अरु पैसा सँग मिसाउँछन् ।
मैले यसरी व्याख्या गर्दा गुरुजी ध्यान दिएर सुनिरहेका थिए । मैले भने यसरी व्यावहार गर्दा समस्या सिर्जना हुदैन र दुवै पक्षको सहमति हुन्छ लेनदेनमा । मैले अरु गुरुजीहरुलाई पनि यो जापानमा मैले सिकेको ज्ञान वाँडेको छु । तर यी त उत्कृष्ट श्रोता भएर पो निस्के ।
उनले भने ।
" सर ! आज मलाई ठूलो ज्ञान दिनुभो । यसरी व्यावहार गर्दा चर्का चर्की पर्ने र लेनदेन विटुलो हुने सँभावना रहदैन् । म यसलाई मैले सेवा पुर्याएका वहुसँख्यक यात्रीहरुले दिएको सन्देसको रुपमा ग्रहण गर्छु । सँधै यसरीनै व्यवहार गर्ने प्रयत्न गर्छु । "
समाप्त
(तपाईँलाई यो लेख कस्तो लाग्यो पढेर प्रतिकृया लेख्न नविर्सनु होला । )

1 comment:

  1. सरले सामान्य कुरालाई धेरै नै रोचक तथा ज्ञानमुलक ढंगले पस्कनु भएको पाए, रमाइलो भयो पढ्न ।

    ReplyDelete