Saturday, June 25, 2011

आरिगातो बाबा सान

एक नेपाली मित्र जापानको सरकारी कार्यालयमा काम गर्थे । उनलाई पटक-पटक कामको सिलसिलामा सरकारी कारमा टाढाका गाउँमा जानु पर्थ्यो । उनका एक जापानी सहकर्मी थिए । गाउँमा जाँदा-आउँदा काम नहुने भएकाले एकपटक उनले समय कटाउन अखवार किनेर कारमै पढ्न थाले । त्यस दिन उनले जापानी सहकर्मीको अनुहार अलि मलिन पाए । बाटोमा चमेना गृहमा समेत उनी पत्रिका वोकेरै गए र त्यहा पनि पढे । सहकर्मीको अनुहारमा गम्भिरता झन वढ्यो ।
जापानीहरु अरुलाई आफूजस्तै ठान्छन् र भरसक अरुको कारणले सिर्जित असामान्य परिस्थिति उसैवाट निराकरण होस भन्ने चाहान्छन् । सकेसम्म अरुको विरोध नगरी वा वादविवाद नगरी समस्याको समाधान चाहान्छन् । नेपाली मित्रको चालामाला उनलाई असह्य भयो । अन्तमा उनले मुख खोले । “मित्र म तपाईँको समय कटाउन पत्रिका पढाईको प्रशँसा गर्दछु । तर यो सरकारी कार हो । अहिले हामी सरकारी कामको सिलसिलामा छौ । तपाईँकै कारण आज जनसाधरणले हामी उपर फरक दृष्टिकोण राखे ।“ नेपाली मित्रले कुरा वुझेनन् । फेरी उनले भने- सरकार प्रति जनसाधरणको अथाह आस्था छ । सरकारले कमाएको पनि तपाईँ र मजस्तै कर्मचारीको इमान्दारी, अनुशासन, र कर्तव्यपरायणले गर्दा हो । कामको समयमा सरकारी साधनमा वसेर व्यक्तिगत काम गर्दा त्यो आस्था विथोलिन्छ ।‘
म त्यसताका टोकियो विश्वविद्यालयमा अनुसन्धानको सिलसिलामा एकजना जापानी प्राध्यापकसँग काम गर्थे । एक दिन उनी अखवार अघि राखेर गम्भिर मुद्रामा वसिरहेको पाएँ । त्यस दिन जापानी अखवारमा नेपालको समाचार छापिएको रहेछ । समाचारमा जापानले अनुदानस्वरुप दिएको सरकारी गाडि व्यक्तिगत काममा प्रयोग भएको उल्लेख रहेछ । प्राध्यापकले मसँग भने-“चिन्ता अनुदानको होईन, मूल प्रश्न एक जनाले त्यस्तो काम गरेवाट पर्ने दुरगामी प्रभावको हो । सानो गल्तिले त्यस्तै बैढँगका काम खप्टिदैँ पहाड वन्न सक्छ । र त्यसले समाजलाई अधोगतितिर लैजान्छ । “
उनको यस्तो टिप्पणीवारे म मौन थिँए । उतिवेला मैले प्राध्यापकले फेरि नेपाल वा मलाई सम्झँदा त्यो खबर सम्झिनेछन् भन्ने लख काटेको थिँए ।
सन्दर्भ हालैको जापानी स्वयँसेवक कियोसी बाबाको विदाई र केहीसमय अघिको सवारीसाधनको लाइसेन्स प्रकरणको हो । नँया वानेश्वर चौकमा उनले नियम मिच्ने वर्दिमा रहेका उच्चपदस्थ सरकारी कर्मचारीलाई रोक्न बजाएको सिट्ठी नेपालका कुना-कुनामा सुनिएको थियो, सन्चारमाध्यमको सहायताले । यस घटनामा सँलग्न सवारीसाधन, सरकारी कर्मचारी, सन्चारका साधन, नागरिक समाज र जापानी स्वयँसेवकको मार्गदर्शनसँग मेल खाने भएकाले मैले माथिका उदाहरण प्रस्तुत गरेको हुँ । हामी र जापानी नागरिकबीच मैले बुझेको विभेद सोचको हो । सरकारप्रति जनसाधारणको आस्था विथोलिने चिन्ता जापानीमा प्रवल छ । त्यही चिन्ताले उनीहरुको दिनचर्यालाई मार्गदर्शन दिएको छ र काम गर्ने उर्जा पनि प्रदान गरेको छ । यसले गर्दा सरकारप्रति उनीहरुको आत्मविश्वास वढी छ र आफूले गरेको काम प्रतिको सन्तुष्टि पनि उच्च छ । प्राध्यापकको निचोडमा नेपाली किन गरिब र पिछडिएका छन र समस्याको पहाड झेलीरहेका छन भन्ने प्रश्नको सपाट उत्तर पाईन्छ । सरकारी साधन, सार्वजनिक सुविधा, सामूहिक प्रतिफलका लागि आवश्यक व्यक्तिगत योगदानको मर्म नबुझ्नुको निचोडनै अढाई करोड नेपालीको विद्यमान गरिवी र पछौटेपन होभन्दा अत्युक्ति नहोला । सत्ता, सरकारी साधन, सार्वजनिक सम्पति भनेका भोग गर्ने चिज होईनन् । वीस वर्ष पछिको नेपालको स्वरुप निर्धारणमा एकजना सरकारी कर्मचारी वा नीति/निर्माताको आजको योगदानको अँश स्पष्ट हुन्छ । यस्तै वीस वर्षअघिको एक कर्मचारी वा नीति / निर्माताको योगदानको प्रतिफल नै नेपालको वर्तमानस्वरुप हो भन्नमा दुईमत नहोला ।
म जापानमा हुँदाको अर्को घटना । एउटा कम्पनीले वितरण गरेको दूध पिएर केही स्कूलका नानीहरु विरामी भए । पछि थाहा भयो दुधमा जीवाणु रहेछन् । उक्त कम्मनीले वजारमा रहेका आफ्ना सबै उत्पादा तुरुन्तै फिर्ता लियो । कारखान वन्द गरियो । केही समयपछि एक दिन टेलिभिजनमा कम्मनीक महाप्रबन्धकको वक्तव्य प्रसारण गरियो । उनले कम्पनीको दशकौँको ईतिहासमानै कठिन अवस्था सिर्जना भएको सुनाए । “अग्रजहरुको पसिनाले कमाईएको कम्पनी प्रतिको आस्था विटुलिएको छ । यस्तो घटना मेरो कार्यकालमा भएकोले म घटनाको जिम्मेवारी लिदै पदवाट राजीनामा दिन्छु । “
केही समयदेखि चर्चामा रहेका जापानी स्वयँसेवक कियोसी बाबाले देखाएको साहस, अनुशासन र जिम्मेवारी वोधको उदाहरण यसरी यी प्रसँग सँग गाँसिएका छन । नया वानेश्वर चोकमा उनले बजाएको सिट्टिको प्रतिध्वनी नेपालका कुना कुमा फैलिनु को कारण एक जनाले नियम मिच्दा वा एउटा नियम मिचिनाले भविष्यमा पालना गरिनु पर्ने नियम कानुनहरु पनि मिचिने सम्भावना वढेर जान सक्छ भन्ने यथार्थता नै हो । त्यस माथी सयौँ सवारीसाधन गुड्ने सडकमा त यो कुरा अति महत्वपूर्ण हुन्छ । चालक र यात्रुहरुको यात्रा सुरक्षित त्यसवेला मात्र हुन्छ जव हरेक सवारीले ट्राफिक नियमको पालना गर्छन् । छिमेकी सवारीसाधनको अप्ठ्यारोलाई ध्यानमा राख्नाले उसले पनि आफ्नो छिमेकीको अप्ठ्यारोलाई विचार गर्छ । यसैले सवैको गुड्ने वाटोमा व्यावधान खडा हुँदैन् । सडकमा गुडेका सवै सवारीको हैसियत एउटै हुन्छ चाहे त्यो टेम्पो होस या सरकारी कार । एउटाको लापरवाही वा नियम मिचाईले समस्याको पहाड वन्न सक्छ । उदाहरणको लागि घण्टौ सम्म ट्राफिक जाम हुन सक्छ ।
आजका कुनै पनि राजनैतिक, सामाजिक, शैक्षिक समस्याका पाहाडलाई केलाँउदै जाने हो भने केही दशक अगाडिदेखि कसैले यति सानो गल्ति वा नियम मिच्दा के फरक परीहाल्छ भनेर लिएका स-साना निर्णयले गर्दा नै यो विकराल रुप लिएको सहजै अनुमान लगाउन सकिन्छ । यसरी प्रत्येक कर्मचारी वा नागरिकले आफ्नो नियन्त्रणमा रहेका गतिविधिलाई नियमसँगत गर्ने हो भने विकसित नेपाल धेरै टाढा छैन भन्ने उदाहरण हाम्रा अतिथि कियोसी बाबाले पस्किए । बाबाको यस्तो कार्यको स्वाभिमानी नेपालीले अवश्यपनि सँझिरहने छन । बाबाको सिट्ठीमा त्यस्तै सिट्ठीहरु खप्टिँदै गएर ट्राफिक व्यवस्थापनको नियमसँगत पहाड वन्न सकोस् । हामी सबै मिलेर भनौ “आरिगातो बाबा सान अर्थात धन्यवाद बाबा” ।
कान्तिपुर सोमवार ०७ कात्तिक २०६२ (October 24, 2005)

No comments:

Post a Comment