Sunday, July 3, 2011

हिमालयको कुवेतमा

पुस मसान्त शुक्रवार थियो । मकर संक्रान्तिको पूर्वसन्ध्या, म होटल सोल्टी परिसरमा अन्तर्राष्ट्रिय सम्मेलनको प्राविधिक सत्र सकेर प्राध्यापक एडवार्ड स्टेनटिफोर्डसंग चियापानका लागि होटल लबीवाट बगैंचातर्फ लम्कदै थिएँ । ढोका खोलेर वाहिर के निस्केका थियौ, प्राध्यापकको उत्तेजित उदगार "ह्वाट अ लभ्ली सनसाईन” झ्वाट्ट सुनेँ ।

दुई वर्ष अघि तुलसीपुरमा पञ्चायतकालीन माननीयसंग भेट भएको थियो । अनौठो संयोग थियो त्यो । म दाङ उपत्यकामा माघीको मजामा थिएँ । पूर्व नेताजीले मेरो मानसपटलले कहिले नठम्याएको शब्द अर्थ्याए - "संक्रान्तिको भनेको सहज परिवर्तन' । ज्योतिषविद्हरु वा राजनेताले यसको सही अर्थ लगाउलान् तर मैले यही सिद्धान्तको सहारा लिदै मेरा अंग्रेज गुरुलाई भने "लडन र टोकियोका आ-आफ्नै विशेषता होलान् तर नेपालको राजधानीमा सम्मेलन गर्नुको आनन्द यही हो, हामीले मकर संक्रान्तिमा पनि सूर्यको प्रकाशको मजा लिन पाएका छौ ।”

स्टेनटिफोर्डको यो दोस्रो नेपाल भ्रमण हो । एक वर्ष अघि एक कार्यशालामा भाग लिन काठमाण्डौ आएका फोहोर मैला व्यवस्थापनका यी अध्येताले पटक पटक पुनरावलोकन गरीएका सामाग्री प्रकाशन गरेका रहेछन । त्यो थाहा पाउँदा मैले जिब्रो टोकेको थिएँ । यसैले अति सतर्क हुदै कुरा गर्दै थिएँ । आफूले जाने भन्दा कैयौ गुना बढाएर बोल्ने लालबुझक्कढी नेपाली बानीले मलाई भड्खालामा पार्ला की भन्ने ठूलो चिन्ता हुन्छ यस्तो वेला । तर गुरुले यसलाई अत्यन्तै सकारात्मक पारामा लिँदै भने "दिस इज एनोदर एसेट टु द कुवेत अफ हिमालया ।"

हुन त आफनो आङमा गुजराँती भैँसी पालेर अर्काको आङमा लिखा देख्ने आडम्वरी वर्गमा पर्ने नेपाली मात्रको समस्या हो यो । वेलायती होस् या जापानी, अरुको वोलीमा असल के छ, त्यो तुरुन्तै खोजी त्यस माथि सकारात्मक परिणाम दिने भर्याङ लगाउन सिपालु हुन्छन् । यो हिमालयको कुवेत भन्ने शब्दजोडी ले मलाई चकित पार्यो । एक दशक अघि म बैककमा पढदा पनि अर्का डच गुरुले भन्ने गरेको यो नेपालको हालसम्म नभएको विशेषण किन वेलायती गुरु समेतले दोहोरयाए । म घोरिएँ ।
----
माघे सक्रान्ती, शनिवार पनि । नानीहरुलाई लिएर मनोहरा किनार, गोठाटारतिर घुम्न निस्के । कोटेश्वरवाट काँडाघारी जाने टेम्पोमा पस्यौँ । म छोरी काखमा लिएर देब्रेतिरको दोस्रो सिटमा बसें । पहिलोमा एकजना मेरै उमेरका मित्र थिए । उनि अलिक सरेका भए हामीलाई सजिलो हुन्थयो । सरेनन् । हामी अरुको भलो चिताउनमा कमजोर छौ । केही विसौनी पर मेरो देब्रेतिरको सिट खाली भयो हामी सरयौ । मेरा छिमेकी मित्रले नयाँ चढ्ने यात्रुलाई हामी बिचमा सिर्जना भएको खालि ठांउतिर संकेत गरें ।
मैले मुख फोरेँ "तपाइ यता सरे उहाँलाई सहज हुन्थ्यो ।“
उनले माने ।

पिच बाटो सकिए पछि एक्कासी टेम्पोमा धुलो पस्न शुरु भयो । छिमेकी मित्रको उत्तेजित उदगार "कस्तो छारो आयो“सुनियो । नेपाली भएर नेपालमा यात्रा गर्नुको मजा यै छ । हामी यात्रु होस् या ग्राहक, एक आपसमा सहज कुराकानी गर्छौ, आफुलाई लागेको कुरा निर्धक्क बोल्छौ । छारोले मलाइ रोमान्चित गरायो। मेरा यात्रु छिमेकीले छारो र धुलो एकै हो भनेर अर्थ्याए । उनि ओखलढुंगावाट आएका रहेछन् । हामीले "छारो“ बाट सुरु भएको वार्तालाप निरन्तर राख्यौ र बाटो काटेको पत्तै भएन् । अन्तिम विसौनीमा हामी ओर्लियौ । उनले भने "नया वानेश्वर यही हो ?“ सबै यात्रु हासेँ । खलासी पनि मजाले हाँस्यो । उसलाई ओखलढुंगावाट आएका ती नयाँ मान्छे नयाँ वानेश्वरमा ओर्लने भन्ने थाहा रहेछ तर शनिवार मान्छे नपाइने पिरले ६ रुपैयाँको कमाइ निश्चन्त गर्न चुप लागेको अनुमान मैलें सहजै गरें । अरुलाई भडखालामा पारेर आफ्नो स्वार्थ सिद्ध गर्ने प्रवृतीको अर्को एक उदाहरण पस्किए ती खलासीले ।
----

अपरान्ह साढेचार बजे मलाई पुन: सोल्टी पुग्नु थियो । कोटेश्वरमा सवा चार बजिसकेको थियो । म पार्क गरिएका दुईवटा ट्याक्सी मध्ये पछाडीको जानीजानी छोडेर अलिक भलादमी जस्तो देखिएको चालक भएको अगाडिको टयाक्सीमा बसेँ र रमाइलो गर्दै भने "मलाई तेह मिनटमा सोल्टी होटेल पुरयाउनुस“। चालक मुस्काए । सोल्टीबाट स्टेनटिफोर्डलाई लिएर मलाई मान भवनको होटल क्लारिओन पुग्नु थियो । कालीमाटी पुग्दा मलाई टयाक्सीको मिटर सही भएको पक्का भयो । मैले टयाक्सी चालकलाई हौसला बढोस भन्ने चाहनाले वार्तालाप सुरु गर्दै भने तपाईको मिटर एकदम सही लाग्यो, इमान्दारीताको कदर गर्नु पर्छ भन्छन्, मैले तपाइकै टयाक्सीमा मान भवन जाने विचार गरें, एक छिन पर्खन सक्नु हुन्छ ? “

सोल्टी परिसरको मुल गेटमा म चार बजेर उननतिस मिनटमा पुगें । मेरा बेलायती गुरु सूर्यास्तको मजा लिदै मलाइ गेटमा नै पर्खिरहेका । टयाक्सीमा सरासर हामी क्लारिओन पुग्यौं । सूर्यमान शाक्य सरले हाम्रो स्थान अग्रिम बुकिङ गरेका रहेछन । विशालनाथ उप्रेति सर सहित हामी चार जना गफमा जम्यौ । मलाई यो नेपालको मध्य पूर्बी विश्वको बिशेषणबारे बेलायती गुरुको दृष्टिकोण थाहा पाउने व्याकुलताले पिरोलेको थियो । म मनलाई धैर्य रहन आग्रह गर्दै मौकाको ताकमा थिए । हाम्रो सोल्टीको सम्मेलन विकसित मुलुकमा फोहोर मैला व्यवस्थापन शीर्षकमा आयोजना गरिएको थियो । बेलायती गुरुले जैबिक फोहोमैलालाई मल बनाइ कसरी फाइदा लिन सकिन्छ भन्ने मूल प्रस्तुती गरेका थिए । यसबाट कियोटो सम्झौता बाट विकसित भएको 'क्लीन डेभलपमेण्ट मेकानिजम (सिडियम)' मार्फत नेपाल जस्ता मुलुकहरुले कसरी फाइदा लिन सक्छन् भन्ने अवधारणा थियो स्टेनटिफोर्ड को प्रस्तुतिमा । मौका पाउना साथ मैले हिमालयको कुवेतको सन्दर्भ निकाले ।

सम्भावित सयौँ जलविद्युत आयोजना सिडियम संयन्त्रमार्फत बाध्यात्मक विदेशी लगानीमा यहाँको जलश्रोत उपयोग गरी नेपाल हिमालयको कुवेत भएको हेर्ने चाहना रहेछ गुरुको । बेलायत या जापानका कार्बनडाइअक्साइड जस्ता प्रदुषण जन्य विकार अत्यधिक निकाल्ने उद्योगले कम विकसित मुलुकमा जलविद्युत् उत्पादन गर्ने, फोहोमैलाबाट मल बनाउने जस्ता वातावरण मैत्री आयोजनाहरुमा लगानी गर्नु पर्ने प्रावधान राखिएको छ, सिडियम संयन्त्रमा । नेपालमा यो अवधारणामा आधारित बायोग्यास सम्बन्धी दुइवटा परियोजनाले स्वीकृती पाइसकेका छन् । हामी गुरुको नेपाल कुवेत जस्तै कुबेर हुन सक्ने कुरामा मग्न थियौ, झयाप्प बत्ती निभ्यो । मेरो मनमा चिसो पस्यो यो लोडसेडिङको कारामत हो । कस्तो संयोग ।

मैले जीवन अनुभवमा सिकेको कुरा यो अझै नराम्रो हुन सक्थयो भन्ने सोचेमा वा नराम्रोमा पनि राम्रो खोजेमा जीवन सहज हुन्छ । मैले स्टेनटिफोर्डतिर फर्केर भने "मैनबत्तीमा हामी जम्न सक्छौ भनेर यो बिजुली गएको हो“। वहाँले यो विगतको कसैको खराब योगदानको परिणाम हो भन्नु भयो । हिटर बन्द भयो, हामी चिसो महशुस गर्न थाल्यौ । भान्साकोठामा दुषित हावा बाहिर फाल्ने पंखा बन्द भएछ, हामीलाइ पिरो खारले पनि स्वागत गरयो । तर हामीले गुरुको कुरा सुनीरहयौ ।

देश विकासको महान यज्ञमा राजनेता र नागरिकको काम असल योगदानलाइ सम्मान र कदर गर्दै खरावलाइ पन्छाउनु हो । जति चाढै असल योगदानको जगेर्ना हुन्छ त्यतिकै समयमा मुलुक पनि विकसित हुन्छ । मेरो दिमागमा अर्को नविर्सने कुरा पस्यो । मैले तुल्सीपुरका माननीयको सहज क्रान्तिको परिभाषा सम्झेँ । आज भोली छापामा पंचायतकालका योगदानको असल खराब पक्षको विश्लेषण भइरहेको सम्झे । विहानको काँडाघारी यात्रामा खलासीको योगदानको कुरा सम्झे । कोटेश्वरबाट सोल्टी जांदाको चालक मित्रको योगदानको कुरा संझे । बिजुलीको आगमन संगै हाम्रो बसाई पनि सकियो । मैले बेलायती गुरु संग हात मिलाउदै भने “आइ कनसिडर दिस टु वी दि वेष्ट सेसन अफ दि कनफरेन्स“ ।
(लेखक नेपाल विकास अनुसन्धान प्रतिष्ठान सँग आबद्ध छन्)
कान्तिपुर ४ माघ २०६२ (January 17, 2006)

No comments:

Post a Comment