Sunday, July 10, 2011

निगाता, सादो र नागाओकामा रमाउदा

हाम्रो यसपटक सादोटापु घुम्नजाने योजना बन्यो । सप्ताहअन्तको बिदासंग शुक्रबार र सोमबार मिलाएर चारदिनको कार्यक्रम बनायौ । तदअनुसार अगस्त १० को बिहान आठ पचासको ओमिया बाट निगाताजाने सिनकानसेन ९बुलेट ट्ेन० मा रवाना भयौ । यात्राटोलीमा सहभागि थियो मेरो र सुर्य आचार्यजीको परिवार । म्याक्स आसाही नामको उक्त सिनकानसेनको भुइ तला छोडेर पहिलो तलामा आसन जमाएर हामी बाहिरको मजा लिन थाल्यौ । हरिया धान खेत र चिटिक्क परेका घरहरु भएका बस्तीहरुले हाम्रो स्वागत गर्न थाले । ओमिया देखि निगाताको तीन सय किलोमिटरको दुरी तयगर्न दुइ घण्टाको समय काफी छ भन्नेकुरा यथार्थमा परिणत हुदै थियो । मेरोलागि यो रेलयात्रा सतहमार्गबाट गरिएका यात्राहरुमध्येको सबैभन्दा गतिमान थियो । हामी दुइ दम्पतीहरु आप्नै धुनमा थियौ भने हाम्रा चारजना नानीहरु पनि आप्नै धुनमा रमाएका थिए । हामी चढेको सवारी साधन भने घरी घुम्तीहरु छल्न पहाड छेडेर बनाइएका सुरुङमार्ग र घरी पहाडहरु बीचको समथर भूभाग हुदै द्रुत गतिमा अगाडि बढिरहेको थियो ।

निगाता शहर टोकियोको उत्तर पश्चिममा अबस्थित निगाता प्रिफेक्चरको सदरमुकाम हो । पांच लाख आबादी समेटेर बसेको निगाता जापानसागरको किनारमा अबस्थित जापानका शहरहरुमध्ये सबैभन्दा ठुलो शहर हो । शहरिकरणको सय बर्षको ईतिहास बोकेर बसेको यो शहरले जापानको महत्वपूर्ण अन्तराष्ट्यि बन्दरगाहको दर्जा पनि पाएको रहेछ । हामी दश चालिस बजे निगाताको जापान रेलवेको स्टेशनमा ओर्लिएर नानीहरुको सिनकानसेनको अघिल्तिर उभिएर फोटो खिच्ने रहर पूरा गर्न थाल्यौ । फोटोसत्र पछि निकासद्वार खोज्दै थियौ । कसैले हामीलाईनै लक्षित गरेर हात हल्लाएको देखियो । हाम्रो अनुमान सहि ठहरियो उनी हामीलाई लिन आएका पारसभाइनै रहेछन् । एकैछिन पछि बिनोदजी पनि आइपुग्नु भयो । हाम्रो योजना अनुसारको पहिलो गन्तब्य राष्ट्यि बिज्ञान संग्रालय पुग्दा मध्यान्ह भईसकेको थियो । संग्रालयका मुख्य आकर्षणहरु दुइ शीर्षकमा केन्द्रित थिए, आधुनिक मानव जीवनमा र प्रकृतिमा बिज्ञानको प्रयोग ।

संग्रालय भ्रमण पश्चात हामी बिनोदजीको निवासतिर लाग्यौ । मनिषा भाउजूको बिहानदेखिको पर्खाईलाई हामीले अपरान्हको चार बजे मात्र अन्त्य गर्न सक्षम भयौ । निगातामा अध्ययनरत अन्य नेपाली साथीहरु ज्ञानुजी, अमृतजी, कौशलजी र पंकजजीसंग रमाईलो गफगाफ गरियो । बेलुकी सबैजना भएर इगाराशी नाम गरेको समुद्रीकिनारको पैदल यात्रामा निस्कियौ । दिन र रातको साझा समयको त्यो प्रहरमा समुद्रको अथाह पानीसंग घण्टौसम्म लुकामारी खेलेर आएको शीतल पवनको स्पर्शले हामीलाई आनन्दको चरम सीमामा पु¥यायो । बालुवामा प्रत्येक पाइलाका डोबहरु छोड्दै अगाडि बढ्न थाल्यौ । नानीहरु त झन असाध्यै रमाए । हामीहरु एक किलोमिटर जति हिडेपछि कन्सर्ट भइरहेको ठांउ नजिक समुद्रकिनारका सिढीहरुमा बसेर भलाकुसारी गर्न थाल्यौ । केटाकेटीहरु न हुन, पारसभाइ र अमृतजीको उनीहरुसंग रमाउने बानी छ भन्ने कुरा तुरुन्तै पत्ता लगाए । लौ वहाहरुले त हातमा समातेर फनन घुमाइदिनु भयो, नानीहरु दंग परे । रात अलिक छिप्पिन थालेपछि हामी बिनोदजीको निवासतिर फर्किनको लागि बालुवामाथी इंटा राखेर बनाइएको बाटो हिडन थाल्यौ । बाटामा पर्यटकहरुलाइ सूचना दिनको लागि भूइमा राखिएको धातु को पातामा कुदिएका अक्षरहरुले निगाता सोल, पेगंयोगं र भ्लाडिभोसटक संग भौगोलिक सामिप्यता राख्दछ भन्ने कुरा दर्शाए । कुन ठांउमा कस्तोे सुबिधा आवश्यक छ भन्ने बुझेर उपलब्ध प्रबिधिको समुचित प्रयोग गरी भौतिक संरचनाको निमार्ण गर्नु नै बिकसित हुनुको परिचायक हो भन्ने कुरा आधुनिक जापानलाइ हेरेर सजिलै अनुभव गर्न सकिन्छ ।

हाम्रो यात्राको दोस्रो दिन बिहान मेरो छ बजे तिर निदा खल्यो । मेरो छोरा सिरिन पनि उठिसकेको थियो । मैले उसलाइ लिएर घुम्न निस्के । हामी समुद्रकिनारतर्फ लाग्यौ । बिहानको चिसो चिसो हावाले हामीलाई स्वागत ग¥यो । बिनोदजीको निवास नजिकैको मन्दिर जस्तो धार्मिक स्थल, स्राइन, मा एउटा जापानीे प्रार्थना गर्दैगरेको भेटियो । हामी पनि स्राइनमा पस्यौ । स्राइन र मन्दिरको मुख्य फरक पूजा र आराधना गर्ने देउताको मूर्ति हुनु र नहुनुमा निर्भर गर्छ । नेपालको बिशेषता बस्तीपिच्छे मन्दिर हुनु भए जस्तै जापानको बिशेषता बस्तीपिच्छे स्राइन हुनु हो । आफू संग भएका ससाना सम्पदालाई पनि ठूलो महत्व दिएर लोकप्रिय बनाउन सकिन्छ भन्नेकुरा जापानबाट सिक्नुुपर्ने बिषयहरुको सूचिमा पर्ने प्रमुख बुंदा हो ।

समुद्रकिनारपुग्नु अघिको एक अर्को दृष्य मेरो मानसपटलमा अझै ताजा छ । हामीले हिजो देखेका कन्सर्टकोलागि बाटाका छेउमा राखिएका बिजुलीबत्तीका खम्बाहरुलाई केहि ज्यामीहरु क्रेनले उचालेर ट्रकमा राख्दै थिए । केहि फोहोर टिप्न ब्यस्त देखिए । जापानीहरु बासी काम पस्कदैनन् भन्ने कुराको अर्को उदाहरण मैले देखें । हामी समुद्रकिनारको बालुवामा केहि क्षण हिड्यौ । एक अधबैसे माछा मारीरहेको भेटियो । सिरिनले उसलाई सोध्यो साकनानो एसा वा दोरे देसका माछाको चारो कुनचहि होला  उसले देखाएर भन्यो कोनो चिसाइ चिसाइ यात्सु देस यो सानो सानो टुका हो । हाम्रो बिहानको हिडाइ आनन्ददायी रह्यो । हामी कुरा गर्दै क्षितिजमा रहेका समुद्र, पहाड, र निगाता शहरका आंखाले भ्याउने सम्मका भूभागहरु हेर्दै रमायौ । हामी कोठामा फर्कदा सबैजना उठिसक्नुभएको रहेछ । बिनोदजीको हातबाट निर्मित स्वादिष्ट ब्रेकफास्ट सेवनगरी हामी सबजना भएर समुद्रमा खेल्न निस्क्यौ । समुद्रका छालहरुसंग दुई घण्टा रमाएर हामीले एघार बजे समुद्र छोड्यौ, अनि लाग्यौ बस चढेर निगाताको डाउनटाउनतिर । हाम्रो साथमा हुनुहुन्थ्यो, ज्ञानुजी, अमृतजी, कौशलजी र पारसभाइ । पारसभाइलाई त हामीले हाम्रो निगाता भ्रमणको पथप्रर्दशक भएबापत टोलीनेताको दर्जानै दियौ । डाउनटाउनको पूजा साउथ इन्डियन रेष्टुरेण्टमा भयो हाम्रो बिहानको खाना । खानापछिको हाम्रो गन्तब्य थियो, डाउनटाउनको मुख्य आकर्षण नेक्स्ट २१ अर्थात सम्पूर्ण निगाताको दृष्य हेर्न मिल्ने अठार तले टावर । सिनानो नदी, २००२ को फिफा वल्र्डकप रंगशाला, सिनकानसेनको लाइन, बन्दरगाह, समुद्र र सम्पूर्ण शहरलाईनै हामीले भरपूर मजा लिएर क्यामेरामा कैद ग¥यौ । त्यसपछि हामी ट्याक्सी चढेर लाग्यौ, बन्दरगाहतिर । हामीले तीन बजेर चालिस मिनेटमा रवाना हुने फेरीबोटको टिकट लियौ । आधिकारिक रुपले फेरीबोट भनिएता पनि त्यो बाहन हाम्रो लागि बिशाल जहाजनै थियो । सयवटा भन्दापनि बढि गाडीहरु राख्न मिल्ने, चार तला भएको र भित्रै खाने, बस्ने, पल्टने र खेल्ने सुबिधा उपलब्ध उक्त भीमकाय सवारी साधनको तेस्रो तलाको एउटा गोलमेचमा हामीले आसन जमायौ । उक्त समुद्रीयात्राको गन्तब्य थियो, सादो टापू ।

जापानको प्रमुख भूभाग बाट ३५ किलोमिटर टाढा जापानसागरमा अबस्थित सादो टापू क्षेत्रफलको हिसाबमा काठमाण्डौ उपत्यका भन्दा झण्डै दुई गुणा ठूलो छ । सुनखानी र कालापानीको ऐतिहासिक महत्व राख्ने सादो जापानकै प्रमुख टापूहरुको अग्रपङ्तीमा आंउछ । निगाताबाट सादो पुग्न फेरीबोटमा दुई घण्टाको यात्रा गर्नु पर्छ । शीखर नै शीखर भएको मुलुकमा हुर्किएका हामीले सागरमा हिडिरहेको त्यो फेरीबोटमा नौला र मन रमाउने थुप्रै अनुभवहरु संगाल्ने मौका पायौ । निलो पानीमाथी फेरीबोटले बनाएका सेता छालहरुको डोबको सजिवता निर्जिवतामा परिणत भएका र निमेषभरमानै एकैक्षण अघिसम्म संगैभएका घरहरु टाढिएका र क्षितिजमा देखिएका पहाडहरु नजिकिएका दृष्यहरुले हामीलाई मन्त्रमुग्ध बनाए । सबभन्दा रोचक त उडिरहेका समुद्री चरा अर्थात सिगलहरुलाई आहारा ख्वाउनु थियो । फेरीबोटकै गतिमा उडिरहेका सिगलहरु हाम्रो हातको खानाको टुक्रा झम्टेर खोसेर लैजान्थे । दुई घण्टा समय चालै नपाइ बित्यो । सांझको छ बजे रेत्स्यु शहरको बन्दरगाहमा प्लेकार्ड बोकेर हाम्रो स्वागतार्थ उभिएकी होटलकी सन्चालिका बज्यैलाई भेटे पश्चात उनकै गाडीमा बसेर हामी होटल पुग्यौ ।

हाम्रो यात्राको तेस्रो दिन बिहान मलाइ सात बजे अगावै निद्राले छोड्यो । मलाइ केहि लेख्ने बिचार आएकोले झ्यालबाट बाहिर हेर्दै लेख्न बसें । हामी पाचौ तलामा थियौ । झ्यालबाट बाहिर हेर्दा आनन्दको अनुभव भईरहेको थियो । समुद्रसंग जोडिएको ताल, सानो शहर, पहाड, जङ्गल र धान रोपिएका केहि फांटहरु समग्रमा भन्नुपर्दा त्यस दृष्यका अवयवहरु यिनै थिए । एउटै नजरमा सागर र शीखर लाई समेट्न पाउने यस्तो अवसर बिरलै पाइन्छ । तालमा सानो चलिरहेको डुंगा देखिन्छ । डुंगामा पहेला लुगामा सजिएका दशजना जति मान्छे देखिन्छन् । उनीहरु केहि क्षण एक ठांउमा रोकिन्छन्, अनि फेरि अघि बढ्छन् । बिहान सबेरै उनीहरुको लक्ष माछा मार्नु हुन सक्छ, म अनुमान गर्छु ।

म फेरि बाहिर हेर्छु । टापुको एक भाग तालको पानीसंगै नदी र बगर जस्तै भएर मेरा दृष्टीले भ्याउन सक्ने दुरीसम्म फैलिएको छ । जमिनको भागमा धान खेत र जंगल देखिन्छ । लौ त्यंहा त बाटो पनि रहेछ । एउटा बाहन हिडिरहेको देखियो । धान खेतको माझमा एउटा हावा द्वारा चल्ने मिल पनि देखियो । म मेरा दृष्टीको उचाई बढाउछु । डांडालाई बादलले ढाकेको छ । हिजो सादो आंउदा फेरीबोटबाट देखिएको पहाडको शीर छोपिएको छ । हिजो त्यंहा एउटा घर जस्तो संरचना देखिएको थियो । पुरै डांडालाइ जंगलले ढाकेको छ । घरहरु डांडाको पुछारमा तालसंग जोडिएको अलि अलि भिरालो परेको भूभागमा बनाइएका छन् । लाग्छ, जापानीहरुले यो ठांउको सुन्दरता पस्किन भरमग्दुर प्रयास गरेका छन् ।

झ्यालबाट देखिएको तालको पानी हामी बसेको होटलसम्म फैलिएको छ । वास्तवमा भन्नुपर्दा यो होटल पानीमाथीनै निर्माण गरिएको छ । पानीमा ससाना तरङ्गहरु देखिन्छन् । हिजो हामीलाई पराजित गर्ने निगाताका छालको तुलनामा यिनीहरुको कुनै ज्यान छैन् भने पनि हुन्छ । तर गहिरिएर बिचार गर्दा उनीहरुको आफ्नै अस्तित्व भेटिन्छ । उनीहरु पानीमा देखिएका अग्ला घरहरुका छायांलाई बन्न नदिने सामथ्र्य राख्छन् । अग्ला घरहरुको छायां स्पष्ट देखिदैन । खालि भूईचालोले हल्लिएको घर जस्तो मात्र देखिन्छ । घरको छायांलाई भूकम्पित गराउने काममा तरङ्गहरु सफल देखिन्छन् । म पुनः मेरो दृष्टीको उचाई बढाउछु । बादलको छोप्ने क्रम र डांडाको ढाकिने क्रम क्रमशः बढ्दो छ । बादल तल झर्दैछ, शायद ऊ अहिले मलाई शीखरको मजा लिन नदिने मुडमा छ । म बादललाई भन्छु एकैछिन छोपेर केहि बिग्रदैन्, तर कृपया पानीचै नपार, पानीले हाम्रो घुम्ने योजना बिथोलदिन सक्छ । 

हामीलाई दिउसो तिन बजेको फेरीबोटबाट निगाता फर्कनु थियो, यसैले रेत्स्यु शहरकै समुद्रकिनार घुम्ने निधो ग¥यौ । होटलकी सन्चालिका बज्यैले उनकै सवारी साधनमा होटलबाट पन्ध्र मिनटजतिको दुरीमा रहेको समुद्रकिनारमा छोडिदिईन् । हामी सबैभन्दा पहिला पेटपूजा गर्ने चाहना राखी नजिकै कुनै पसल भेटिने आशामा केही मिटर के हिडेका थियौ, लह लह परेको धान खेत र खेतपारी रमाईलो गांउपो देखा प¥यो । धान खेतको बीचतिर पुग्दा नपुग्दै हाम्रा क्यामेराहरु झोलाबाट निस्किसकेका थिए । बिभिन्न कोणबाट मन अघाउन्जेल तस्बीर र फिल्म खिचेर हामी गांउतिर लाग्यौ । गांउ बैभवशाली थियो । पीच बाटो, चिटिक्क परेका घरहरु, बिजुली र टेलिफोनका लाईन र घरैपिच्छे कारको तांतीको दृष्य देखियो । ल एक जना बृद्धा आफ्नो सामान राख्न पनि मिल्ने र भरोसा पनि दिने दुई पाङ्ग्रे बैशाखी समातेर हिडिरहेको देखियो । बुढेसकाल सम्मपनि आफ्नो काम आफै गरी गर्ब गर्ने जापानी संस्कारको प्रशंशा गर्नै पर्छ । बैभवशाली मुलुक बन्नकोलागि आवश्यक कारक तत्व श्रमको सम्माननै हो भन्ने बिषयमा दुइ मत नहोला ।

टाढाबाट हेर्दा जंगलजस्तो देखिने तर नजिक पुगेपछी पातला रुखहरुको बीचमा घर, करेशाबारी र खेतको मिश्रित रुप देख्दा हामीलाई नेपालकै कुनै गांउ घुमे जस्तै आनन्द आयो । हामीलाई नेपालकै जस्तो कुकुरहरुले पनि स्वागत गरे । केहीक्षणको पैदल यात्रा पछि एउटा स्राइन भेटियो । बाटो छोडेर केही सिढी चढेपछि स्राइनको द्वारमा पुगियो । स्राइन सुनसान भए पनि अतिनै सफा थियो । कुनै पनि दर्शनिय स्थल सफा या फोहोर हुनुमा दर्शनार्थीहरुकै मानसिकता र योगदानले प्रमुख भूमिका खेलेको हुन्छ । जापानीहरु सरसफाईको यस बिषयमा पनि बिश्वकै अग्रपङ्तीमा आउछन् ।

समुद्र किनारमा आईपुगेपछि हामी पुनः पसलको खोजीमा निस्कियौ । धेरै बेरको कसरत पछि कप नुडल्सको मात्र ब्यवस्था हुन सक्यो त्यो पनि पसल्नी दिदीले हामो मर्का बुझी उनको कारमा एक थर्मस तातो पानी हामी बसेको स्थान सम्म ल्याइदिएको सहयोगले । समय भएपछि होटेलकी सन्चालिका बज्यैले हामीलाई लिएर होटेल हुदै बन्दरगाहमा छोडीदिएर उनले पु¥याउने सेवामा कुनै कमीभएको महशुस हुनदिईनन् । अघिल्लो दिनको जस्तै फेरीबोटको भरपुर आनन्दमा डुब्दै साढे पांच बजे निगाता बन्दरगाहमा पुगियो ।

निगाता बाट लोकल रेलमा नागाओका पुग्यौ । स्टेशनमा सुनिलजी हामीलाई लिन आउनुभएको रहेछ । नागाओकामा अध्ययनार्थ आउनुभएको अर्को मित्र मदनजी र सुनिलजीको परिवारसंग रातीसम्म रमाईला बार्तालाप गरियो । पूनम भाउजूले जापानीहरुसंग ओशोबाना नाम गरेको फूललाई सुकाएर फ्रेममा सजाउने सा¥है राम्रो कला सिक्नु भएको रहेछ । हामीले त्यसको मुक्त कण्ठले प्रशंसा ग¥यौ । मैले भाउजू द्वारा निर्मित ओशोबानाका फ्रेमहरु हेरेर सोचें, नेपालीहरुसंग राम्रो अवसर पाएमा जुनसुकै बिषयमा पनि निपुण हुने अन्तरनिहित क्षमता हुन्छ ।

यात्राको चौथो तथा अन्तिम दिनको बिहानको कार्यक्रमकोलागि हाम्रो यात्रा टोली दुई समूहमा बिभाजित भयो । नानीहरुलाई लिएर भाउजूहरु पार्कतिर लाग्नु भयो । सूर्यजी र म सुनिलजी र मदनजीसंग लाग्यौ बहाहरुको अध्ययन संस्था नागाओका प्रबिधि बिश्वबिद्यालय तर्फ । बिश्वबिद्यालयमा भएको ठांउको भू(धरातल हेर्दा हामी कतै त्रिभुवन बिश्वबिद्यालय किर्तिपुरमा त आईपुगेनौ जस्तो लाग्यो । त्यंहाको भवन, छात्रबास र प्रयोगशालाहरु र समग्र प्राज्ञिक वातावरण उत्कृष्ट लाग्यो । हामी पार्कमा आईपुग्दा थाहा भयो अर्को टोली केहिक्षण अघि मात्र त्यंहा पुगेको रहेछ । समय अभावका कारण सबैजना भएर पार्कमा घुम्ने योजनालाई अधुरै राखेर नागाओकाका बन्धुहरुसंग बिदाईका हातहरु हल्लायांै ।

नागाओकाबाट चढेको लोकल रेललाई हामीले ईचिगो युजावामा छोड्यौं । त्यसपछिको रेललाइ पुनः मिनाकामीमा परिवर्तन ग¥यौ । नागाओकादेखि मिनाकामीसम्मको यात्रामा देखिएका स्की रिसोर्टहरुले भनिरहेका थिए, अब केहि महिनापछि हामी पूर्णरुपले हिउले पुरिने छौ । नेपालका उच्च पहाडी लेकहरुमा पाइने नागीहरु जस्तै देखिने यी स्की रिसोर्टहरुले हरेक बर्ष कैयौ स्कीप्रेमीहरुलाइ सेवा पु¥याउछन् । रेल सुरुङमार्ग, पहाडको फेदी, नदीको किनार र ससाना फांटहरु हुदै ओमियातिर बढिरहेको थियो । बाहिरको दृष्यमा धानका खेतहरु, बांसका झ्यांगहरु, तरकारी बेर्नाका ब्याडलाई प्लास्टिकले छोपेका संरचनाहरु समेटिएका थिए । तरकारी खेति अतिनै मिहिनेतका साथ गरिएको देखिन्छ । बस्तीहरु नदीका दुई किनारामा छन् । हामी घरी वारी घरी पारी गर्दै अगाडि बढ्छौ । मानौ म पृथ्वी राजमार्गबाट मुग्लीन गईरहेको छु । यी पहाडहरु, घुम्तीहरु, नदीहरु हेर्दा लाग्छ हाम्रो काठमाण्डौ पनि रेलमार्गबाट सहजै जोडिन सक्छ, बुलेट ट्ेन सुर्खेत र पोखरा पनि पुग्न सक्छ । पहाडहरु, चट्टानहरु, घुम्तीहरु र नदीहरु बाधक होईनन् बाधक त खालि सोच र सम्मति नहुनु मात्र हो । जापानीहरुले हरेक टुक्रा जमिनको सदुपयोग गरेका छन् । बैज्ञानिक तरिका अपनाएर कुन जमिनको कस्तो प्रयोगले बढि फाईदा हुन्छ भन्ने कुरामा सचेत छन् । यसैले त डाडामा र भिराला पाखाहरुमा खालि जंगलमात्र छ । बिजुलीका तार, रेलमार्ग र सडक, र खानेपानीका पाईपहरुबाट जेलिएका बस्तीहरु केवल समथर भागमा मात्र छन । अबिछिन्न रुपले समानान्तर निर्माण गरिएका रिटेनिग वाल र भलपानी तर्काउने निकास संरचनाहरुले रेलमार्ग र सडकलाई गतिलो सुरक्षा कवच प्रदान गरेका छन् । बिस्तारै पहाडका आकृतिहरु पूर्णतया समथर भूभागले बिस्थापित हुदै जान्छन् । अब ससाना कारखानाहरु पनि देखिन थाल्छन् । हामी चारदिनको रमाईलो यात्राको अन्त्यमा आइसकेका थियौ । निगाता, सादो र नागाओका मनमोहक दृष्यहरुल।ई मानसपटलमा कैदी बनाएर ओमियाबाट हामी बसेको शहर मिसातो तर्फ प्रस्थान ग¥यौ ।

टोकियो, जापान अगस्त, २००१
साभार ( नेसाज (नेपाली बिद्धार्थी समाज, जापान) को मुखपत्र

No comments:

Post a Comment