Monday, July 11, 2011

भगवान बुद्ध र भियतनाम यात्रा

बिहानको साढे तिन बजेको छ । म हनोइको सनवे होटलमा बास बसेको छु र केही लेखिरहेको छु । हिजो त्यसरी बुद्ध भगवान् संग साक्षात्कार होला, त्यसले मलाई यति भावुक बनाउला र मैले रुँदै यी हरफहरु लेख्नु पर्ला भन्ने मैले सोचेको नै थिईन । अहिले मेरो मन पीडामा छ, मेरा आँखामा आँसु छन, सास फुलेको छ र लेख्ने गति मन्द छ । पाठकहरुलाई विश्वास नलाग्ला, आजभोलि यस्तो हुन सक्ला र ? आजका मान्छे पनि भगवान् भेट्दा रुन्छन र ? तर यही भएको छ । म सनवेको ५२० नं कोठामा एक्लै छु । मेरा अगाडिको टिस्यु पेपर सिँगान र आँसुले निथ्रुक्कै भिजेको छ । मलाई लेख्न मन छ तर अति गाहे भएको छ- मन, कलम र कागत संभाल्न ।

म 'दक्षिणपूर्बी एशियामा जलीय वातावरण' नामक दोस्रो अन्तराष्ट्रिय सम्मेलनमा भागलिन भियतनामको राजधानी हनोइ आएको छु । हुन त यो मेरो भियतनामको दोस्रो भ्रमण हो । तर यसपटक मैले हिजो हनोइवाट लगभग एक सय पचास कि.मी.को दूरीमा रहेको हालोँग वे को भ्रमण गर्ने सुनौलो मौका पाएँ । मलाई विहान तीन बजेनै निद्राले छोड्यो । उठेर कागजातहरु मिलाएँ । योजना मुताविक म छ बजे खाजा खाने हलमा पुगीसकेको थिएँ । मलेशियाबाट आउनुभएका प्राध्यापक डा. लिम र डा. को संगै बसें, रमाईलो वार्तालाप पनि भयो । साढे छ बजे हामीले होटल छोड्यौ । जापान, दक्षिणकोरिया, थाईल्याण्ड लगायत बास मुलुकहरुवाट आएका जलश्रोतका विभिन्न बिधाहरुमा काम गर्ने वैज्ञानिक, इन्जिनियर, प्राध्यापकहरुको हाम्रो टोलीले चारवटा पर्यटक ओसार्ने बसहरु भरिएका थिए । मेरो उपस्थितिले एककाइसको अङ्क बाइस भएको थियो, म दङ्ग थिएं । म बस नं एकमा चढें र श्रीलकांको साथी डा. गेमुनुसगैं बसें । हामी चुंगडोगं पुल, राष्टिय राजमार्ग वान ए, वाक निह प्रान्त हुंदै अगाडि बढयौं । भियतनामी लयमा अंग्रेजी बोल्ने फरासिला थिए हाम्रा पथप्रर्दशक । उनले हातमा माइक्रोफोन लिना साथ उनको मोबाइल बज्थ्यो र हामी सबै हाँस्थ्यौं । हामी आठ लेनको राजमार्ग भएर गुडेका थियौ । खासै धेरै सवारीसाधन नभए पनि भियतनामको नियमअनुसार हामी पचास कि.मी. प्रतिघण्टाको हाराहारीमा गुडेका थियौं । हामीले प्रायजसो वाटोको दुवैतर्फं विकसित भएको रिवन आकारको शहर, आसपासका खेतहरु र सामान्य जंगल छिचोलेका थियौ । नौ वजे हामी एकै छिन विश्राम लिन साओ दो नामक शहरमा रोकियौ । पर्यटकहरुलाई लक्षित गरेर बनाईदिएका सफा शौचालयहरु र उपहारका सामानले भरिएका पसलहरुले हामीलाई स्वागत गरे । सबै सुविधाहरुको स्तर सराहनिय थियो । म घुमी घुमी हस्तकलाका सामानहरुको मजा लिदै थिएँ । मेरो स्विस साथी अग्नेसले परवाट हात हल्लाईन्, म हर्षले विभोर भएं । उनी संग भेट नभएको एक वर्ष भएको थियो । उनीसंग कुरामात्र थालेको थिएं, मेरो अर्को रसिया घर भएको एआईटी, बैङ्ककमा पढाउने साथी डा. सिपिनपनि भेट भयो । डा. सिपिन मेरो जीन्दगीमा भेटभएका मान्छेहरुमध्ये एक प्रतिशतको पनि माथिल्लो आधामा पर्नु हुन्छ- विद्धान, अनुभवी र रमाईलो । मान्छेमा यी तिन कुराको समायोजन भएको छ भने उ सायदै कसैको अाँखामा बिझाउँछ । म उहाँहरुसंगको वार्तालापपछि पुन सामान हेर्न थालें । रातो टिसर्ट लगाएको हट्टाकट्टा अर्को व्यक्तिले मलाई लक्षित गरेर भन्यो- "हाय नवराज हाउ आर यु" । ल उहाँ त मेरो जापानमा बस्दाको कोरियन साथी डा. सो पो हुनुहुंदो रहेछ । लौ ! यो यात्रा त सारै नै रमाइलो हुने भयो । वहाँले मेरो परिवारको वारेमा पनि सोध्नु भयो, तुरुन्तै देशको बारेमा पनि । यस्तो बेला मलाई उत्तर दिन असाध्यै कठिन पर्छ । मैलै मेरो मित्रलाई अहिले सम्म कहिले पनि वनावटी वा झुटो जवाफ दिएको छैन । म एउटा सामान्य देशको सामान्य मान्छे, उहाँ राम्रो प्रगति गरेको देशको मान्छे । तर पनि उहाँ हाम्रो कति माया गर्नुहुन्छ, मेरो प्रगति देख्न चाहानुहुन्छ, नेपालको राम्रो खबर सुन्न चाहानुहुन्छ ।

मेरो सास फेरी फुलेर आयो, आँखा फेरी रसाए, आज मलाई किन यस्तो भइरहेछ ! सोच्दछु, अरु नेपाली दाजुभाइको तुलनामा मलाई धेरै नै कम रुनु परेको होला । म आफूलाई अत्यन्त भाग्यमानी नेपाली सम्झन्छु । पाँचथरको स्याब्रुम्बा जस्तो विकट गाँउमा जन्मेको मान्छे आज यति धेरै विदेशी मित्रहरु बनाउन पाएको छु । संसार घुम्न पाएको छु । मेरो पनि बुद्धको देश छ, सगरमाथाको देश छ, बेद र गीताको पूजा गर्ने थलो छ, भन्न पाएको छू मेरा बिदेशी मित्रहरुलाई । तर आज म रोइरहेको छु । मेरा आँखाबाट बलिन्द्र आँसु खसिरहेछन्, म अत्यन्त भावुक भएको छु । मैले मेरो मित्रलाई मेरो मनको बह भन्न सकिन । 'मलाई दुःख छ, मेरो मुलुकमा अहिले कहिल्यै नभएको भयभित वर्तमान छ, मेरो स्कूल गएको छोरो बेलूका घर फर्कन्छ फर्कदैन थाहा हुँदैन, अत्यन्तै जोखिममा छौं' हामी भन्न सकिनँ । मेरो दुःख सुनाएर उहाँलाई पनि किन दुःखित तुल्याउ । म साँच्चिकै असमञ्जस्यमा परें । मैले सत्य बोल्नु पर्छ । म मेरो मुटु दह्रो बनाउँछु । फेरी सम्झन्छु । पाँच बर्ष पछि भेट भएको साथी, यस्तो कुरा गरेर अब उहाँले फेरी मलाई संझदा मेरो दुःखलाई किन सम्झने बनाऔं । एक छिन भए पनि रमाईलो गरौ र ठीकै छ भनौ । फेरी उहाँ त पत्रिका पढिरहने मान्छे सबै कुरा थाहा छ, म दोधारमा पर्छु ।

'पछि कुरा गरौला त्यस बारेमा' मैले समस्यालाई केहि बेरको लागि पर सारेँ । म केहि न केहि उपाय निकाल्छु ताकी म उहाँलाई मेरा पीडा र आर्तनादका सत्यता नभनीकन मेरो पुरानो संबन्ध यथासक्य निरन्तर राख्न सकुँ । यसरी समस्या थाती राख्दा म सोच्ने मौका पाउँछु र केहि उपाय निस्कन सक्छ भन्ने झिनो आशाको त्यान्द्रोको साहारा लिन्छु म ।

हामी ग्रामीण ईलाका छिचोलेर अगाडी बढ्रयौ । हाम्रा पथप्रदर्शकले भियतनामको बर्णन गर्न थाले । भियतनाम एउटा पीडा र बेदनाको इतिहास भएको मुलुक हो । यहाँको हालको जनसंख्या नौ करोड छ । नेपालको जस्तै लगभग नब्बे प्रतिशत जनता गाउँमा बस्छन् । गाँउले जीवनको चित्रण गर्दै हाम्रा मित्रले भने एउटा उखान छ- 'गाँउको एउटा मान्छेलाई सबै भन्दा पहिला तीन कुराको आवश्यकता पर्दछ, एउटी महिला, एउटा भैंसी र एउटा घर ।' भियतनाममा एउटा भैसी वा राँगाले खेत जोत्ने चलन रहेछ । हामी एघार बजे हा लोँग पर्यटक केन्द्रमा पुग्यौं । चारवटा ठूुूला डुंगा ठीक पारिएका रहेछन् । म डा.गेमुनु संगै डुंगा नं. एकमा बसें । हाम्रा बसका सबै यात्री त्यही डुंगामा बसे । त्यस पछि हामी थिएन गुफा तिर लाग्यौं । समुद्रको त्यो यात्रा मेरो तेस्रो थियो, यस अघि जापानको सादो टापूु जाँदा र बैंककमा मैले यस्तै यात्रा गरेको थिएं ।

गुफा पुग्नु केही बेर अघि म डुंगाको पछाडीको भागमा रहेको शौचालय पुगेर फर्कदै थिए । डुंगाको अगाडी जाने कौशीमा एउटी युवती एक्लै उभिएर एक टकले समुद नियालिरहेकी पांए । मैले उनलाई 'हाय ! हाउ आर यु' भनेँ र केही कुरा गर्न थालें । मलाई उनी संग ठट्टा गर्ने लहड चल्यो र भनेंँ 'तिमी कुन देशबाट आएकी हौ भनेर म अनुमान गरौ ?' उनले 'हुन्छ' भनिन् । मलाई लाग्यो मैले आफूले आफूलाई समस्याको खाडलमा पारें । तर अब मैले ठ्याक्कै मिलाए भने त अति नै रमाईलो हुन्छ । मैले न्वारान देखिको बल निकालेर दिमागी बिश्लेषण गरें र भने 'निहोन' । मैले ठयाक्कै मिलाएछु, उनी खित्का छोडेर हाँसिन् । म पनि खुशीले गदगद भएँ । उनको नाम चेई रहेछ । थप रमाइलो गर्ने सुरले मैले फेरी भने 'अब तिमी अनुमान गर म कुन देशबाट होला ?' उनले केही बेर घोरिएर भनिन् 'नेपाल' । ओहो! यो त मेरो जिन्दगीको अविस्मरणीय कुरा हुने भयो एक जना जापानी युवतीले मेरो स्वरुप हेरेर म कुन देशको हो भन्न सक्ने ! मैले नलगाएको भए पनि मेरो नेपाली ढाकाटोपी अझै चुलिएको अनुभव भयो मलाई । हामीले निकै बेर कुरा गर्यौ , उनी जापान को तोहोकु बिश्वबिद्यालयमा पढ्रने विद्यार्थी रहिछन् ।

हामी थिएन कुङ्गग गुफा पुग्दा दिउसोको मध्यान्ह भएको थियो । एक सय मिटर लामो गुफा निकै ठुलो रहेछ, हाम्रो पोखराको महेन्द्र गुफा जस्तो । गुफामा मेरो इन्डोनेसियाका दुई युवती मारिया र उनको साथी संग परिचय भयो । नेपालको बारेमा उनीहरुलाई थाहा रहेछ । हामीले 'सेभेन इयर्स ईन तिवेट' भन्ने फिल्मको बारेमा कुरा गर्यौ ।

गुफामा आधा घण्टा विताएर हामी पुनः डुंगामानै फर्कियौ । दिउंसोको खाना डुङ्गाको रेष्टुरांमानै भयो । समुद्र छ, जता हेरे पनि पानी नै पानी । शिखर वाट आएको म सागरमा अर्थात शुन्य उचाईमा छु । समुद्रमा फुत्त बाहिर निस्केको चटटानका थुम्काहरुले हामी लाई स्वागत गरे । यस पटक मैले क्यामेरा नल्यएकोमा पछुतो लाग्यो । खाना पछि म केही बेर छतमा गएं । बँगालादेशी मित्रहरुसंग भलाकुसारी भयो । मैले हा लोँग वे का वातावरण व्यवस्थापकसंग समुद्रकिनारमा रहेका वस्तीहरुमा खानेपानीको आपुर्ती तथा निकास पानीको विसर्जनका विषयमा केही जिज्ञासाहरु राखें ।

हामी तीन बजे फेरी जमिन र सागरको संगमस्थलमा फर्कियौ । म आँउदा चढेको बस नम्वर एक तिर लम्कदै थिएं । टोकियो विश्वविद्यालयका इन्जिनियरिङ्ग विभागका भुतपूर्व डिन प्राध्यापक डा. ओगाकीसंग जम्काभेट भयो । मेरो अभिवादन फर्काउदै वहांले मलाई तानेर एकान्तमा लानु भयो र अतिनै चिन्तित मुद्रामा सोध्नु भयो 'तिम्रो मुलुकको अवस्था कस्तो छ ? अहिले के तिम्रा परिवारजन शकुशल छन् ?" म फेरी अप्ठयारामा परें । उहाँको मनमा म, मेरो परिवार र मेरो देशका लागि त्यति धेरै स्थान हुनु भनेको अत्यन्तै ठुलो कुरा हो । उहाँको संसारका कैयौ देशका कैयौ मान्छेहरु संग दैनिक भेट हुन्छ । जापान मात्र हैन, पुर्वी एशियामात्र हैन सारा संसारका जल तथा वातावरणविज्ञहरुले उहाँलाई चिन्छन् । उहाँले मलाइ सगरमाथा भन्दा पनि अग्लो महत्व दिनु भएको छ, मेरो मुलुकले के गुन लगाएको छ त उहाँलाई ? म सोचमा पर्छु । म उहाँको सदभावले हर्ष विभोर हुन्छु, तर फेरी हर्षको अन्नपुर्णाको उचाइबाट विस्मातको समुद्रतलमा आइपुग्छु मैले दिनुपर्ने उत्तरको प्रारुप सम्झेर । मुलुकको कुरा आउनासाथ आजभोलि मेरो मन छिया छिया हुन्छ । म कसरी भनौ आंसुले बगेका नदीहरुका कथा । म कसरी भनौ मैले बाह् बर्ष अगाडि भेटेको जाजरकोटको स्यापी इतिहासको सबैभन्दा विकराल संकटमा छ भनेर । आज मेरो दुल्लु पुरानो दुल्लु रहेन् । मेहेलकुना आर्तनादका कथाहरुले भरिएको छ , मलाइ हुर्काउने सिद्धथान र देवीथानको दर्शन गर्ने तिर्थालुले शान्तिको अविरल भाकल चढाउन परेको यथार्थता ! म कसरी भनौ विचारले मान्छेको मन जित्न सकिन्छ भन्ने तथ्य ओझेलमा परेको कुरा ! म कसरी भनौ आज मेरो मुलुक कालचक्रको सबैभन्दा विकराल हार हारको महाभारत दोहोर्याइ रहेको छ ! म फेरी सामान्य उत्तर दिन्छु । 'प्राध्यापक महोदय! म यहाँसंग पछि लामो समय लिएर कुरा गर्छु, हुँदैन ?'

हामी चढेको बस तीन बजे हनोईको लागि प्रस्थान गर्यो । वाटोमा केही बेर अपाङ्गहरुले बनाएका हस्तकलाका सामानहरु पाइने स्थानमा हामी रोकियौ । म सामानहरु हेर्दै थिएं । मुर्तिहरु, समुद्रका ढुङ्गाहरु, सिपी र मोतिका दानाहरु देखिए । एककास्सी मेरा आँखा चिनेको आकृतिमा परे । पदमासनमा बसेको, शान्त, सौम्य, शीतल त्यो आकृती । के साँच्चीनै हो त ? नियालेर हेरें, अनि मेरा अाँखा एक टक लगाएर त्यो आकृतिमा परिरहे । नेपालबाट हजारौ किलोमिटर टाढा पनि मैले चिनेको जानेको आकृति छ । लुम्विनी र स्वयम्भूमा विराजमान हन भएका भगवान् यहाँ पनि हुनुहुन्छ ? मैले भगवान् बुद्ध संग थाइल्याण्डमा साक्षात्कार गरेको छु । जापानमा चिवामा रहेको संसारको सवैभन्दा अग्लो बुद्ध भगवानको मूर्तिमा चढेर बुद्धत्वको अथाह सागर भित्र हराएको अनुभव गरेको छु । तर यसरी हा लोँग वे को किनारमा पनि भगवान्सँग भेट होला भन्ने मैले चिताएको थिइनँ । मैले भगवानको एउटा सानो मूर्ति किने ।

अहिले म होटेलमा शाक्यमुनिको अगाडि एक्लै छु । विचारले मान्छेलाई जितेर शाक्यमुनि लुम्बिनीवाट यहाँसम्म आइपुग्नु भएको छ । हाम्रा पथप्रर्दशकले भनेको सम्झे, 'भगवान नौ करोड भियतनामीहरुको मनमा पनि हुनु हुन्छ ।' मलाइ भगवानले मेरा मित्रहरुले जस्तै सोधेको आभास भयो । 'नवराज ! तिमीले मेरो जन्मस्थलको के खवर ल्याएका छौ ?' म फेरी भकानिन्छु, आज म जीवनको सबैभन्दा कठिन मोडवाट यात्रा गरीरहेको छु । मेरो चालिस बर्षको जीवन अनुभवमा मनको घाउ यति धेरै कहिलेपनि दुःखेको थिएन् । भोलि विहान मेरो कोठा सफा गर्ने युवती छक्क पर्ने छिन कागजका यी रुमालको खात देखेर । म फेरी आँसुका भललाइ टिस्युले सोस्दछु । मेरो शरीरबाट रोदन मात्र निस्कन्छ । मलाई उत्तर दिन अतिनै गाहो भएको छ । म कुन कुन अक्षरलाइ कसरी जोडेर भगवानलाइ खवर भनौ ? मैले आज दिनभरी यो प्रश्नको उत्तर थाती राखेको छुु । म भाग्न चाहान्छु । जुन खेलको परिणाम शून्य हुन्छ त्यो खेल खेल्नै पर्छ र भगवान् ? यो प्रश्न उत्तरको मैदानमा जान त परै जाओस् मलाई त दर्शकदीर्घामा समेत बस्ने रहर छैन । तर मैले अब बोल्नै पर्ने हुन्छ, भगवानलाई नभन्नुको कुनै औचित्य रहने छैन । म अब यो जवाफलाइ धेरै थाती राख्न सक्तिनँ ।

'भगवान् ! मैले खवर वोकेर ल्याएको चिठी धागोले बाँधिएको छ । म कसरी खोलौ यो चिठ्ठी, कसरी वाँचौ यो खवर । भगवान् ! नियालेर हेर्नुहोस यो मेरो पहिरन रङ्गीन देखिए पनि यसमा हजारौ सेता धागाको अंश छ । भगवान ! हामीले यती लामो बरखी कहिले पनि बारेका थिएनौ । भगवान ! हामी हामी रहेनौ । भावना र विचारले मन जितेको सबैभन्दा दिगो हुन्छ भन्ने भगवानले पच्चीस सय वर्षअघि सिर्जना गरेको ज्ञानलाइ आत्मसात् गर्न सकेनौ । हामीले लुम्बिनीमा पराजयको खेती गरेका छौ । हामीले स्वयम्भूको आँखामा सुइरोले रोपेर रगत निकालेका छौ । भगवान ! 'अहिसां परमो धर्म' को मान्यतालाइ हामीले कुुल्चेका छौ । हामीले आफ्नै बा, आमा, दाई, भाई र दिदी बहिनी को संहार गरेका छौ । कसैको केही नविगारेका अवोध नानीहरुको बाँच्ने अधिकार खोसेर अकाल मृत्युु पस्किदिएका छौ । भगवान ! म माफी चाहान्छु मैले राम्रो खवर ल्याउन सकिनँ । लुम्बिनीमा उम्रेर संसारमा फैलेका मानवकल्याणका, निर्वाणका, बोधिसत्वका ज्ञानरुपी अथाह सागरका धनी भए पनि हामीले झिना मसिना सवालहरु समाधान गर्न सकेनौ । भगवान् ! मेरो शीर झुकेको छ । म अब रमाएर स्वयम्भूको कुरा गर्ने स्थितीमा रहिन् । भगवान ! मैले सेतो साडी लगाएका असंख्य विधवाको खवर ल्याएको छु । अकाल मृत्युले सिर्जिएका हजारौ टुहुराहरुको खवर ल्याएको छु । भगवान ! आज से फोकसोण्डोको पानीमा रगत मिसिएको छ, माईपोखरीमा आँसुको खोला मिसिएको छ । हामीले डोल्पा गुम्वाताराका हजारौं धर्माकर, दिपाकंर र अमिताभहरुलाई भेरीमा नौजवान नेपालीका जिउँदा लासहरु बगाएर देखाएका छौ । सोलुका खोल्साहरुमा स्यालहरुलाई नरभक्षी बनाएका छौँ । भगवान ! भिक्षुलाई दान दिन नसक्नुमा कुनै अन्याय हुदैन, तर हामीले धर्मपाथमा हिडेका भिक्षुको दान पात्र खोसेका छौ । भगवान ! मेरो वर्तमान शोकाकुल छ । मेरा भाइहरुको लाशको विस्कुन लागेको छ । मेरा बहिनीहरु आफ्नो पुछिएको सिंउदोको कथा समेत बोल्न सक्दैनन् । भगवान ! मेरो बौद्धिक दरिद्रतालाइ धिक्कार छ । भगवान ! यो सबै हुनुको कारक म पनि एउटा हुँ । मैले पहिरेको नेपाली विज्ञको यो पगरीलाई धिक्कार छ । मैले मेरा भाइ बहिनीलाइ दुईहजार बर्ष भन्दा पनि वढी बाँचेको र रमेको हाम्रो सभ्यता र समाजको आफ्नोपन र सह अस्तित्वको मैदान देखाउन सकिनँ । तीस करोड भन्दा पनि बढी मनहरुलाई डोर्याउन सक्ने बुद्धत्वको अथाह सागरमा बसेर गरिबी, रोग र अशिक्षाको विरुद्धमा जाबो दुई करोडले लड्न पर्ने जीत-जीतको यज्ञ सिर्जना गर्न नसक्नु मेरो लाछीपन हो । भगवान ! म अन्याय र असत्यका 'अ' हरुलाई मेटाउन सकने सात्विक विचारको सिर्जना गर्न नसकेर नितान्त दर्शकदीर्घामा बसेर यो हार हारको लडाई हेर्न विवश छु । मलाई थाहा छ, यो मैदानवाट कुनै पनि खेलाडीले विजयको माला लगाएर निस्कने छैन् । मरेका लाशहरु, पुछिएका सिउँदाहरु, अवोध टुहुरा मात्र यस मैदानबाट निस्कने छन् । हामीले हजारौं बर्ष पुरानो हाम्रो बुद्धत्व, सभ्यता र समाजको पूर्णतामा अन्तरनिहित अवयवहरुलाई केलाउन सकेनौ । हामीले मन जितेर शासन गर्न सकिने कुरालाई छायामा पारेका छौ । भगवान ! हामीले आफनै गुंडमा आगो सल्काएका छौ । "

'भगवान ! म अव म प्रतिप्रश्न राख्ने अनुमति चाहान्छु । म मेरा मित्रहरुलाइ के उत्तर दिउँ ? म अब मेरो जवाफ थाती राख्न चाहन्न । म हाम्रा हिजोका पीडा र बेदनाहरुलाई हाम्रो जीवनकालका अन्तिम विफलताहरु बनाउन चाहान्छु । म मेरा भाई बहिनीलाई विजयविजयको यज्ञ देखाउन चाहान्छु । म अब गोसाइकुण्ड र बीसहजारी तालहरुको पानी सङ्लो पार्ने शान्तिका श्रोतहरु चाहान्छु । भगवान ! म मेरो जन्मभूमिका प्रत्येक पीपलचौतारीबाट शमनका परेवाहरु उडाउन चाहान्छु ।" यत्तिकैमा म रोकिए । मेरो ढोकामा सुनिएको ढक ढक आवाजले मेरो ध्यान आकर्षित ग¥यो । मेरा आँखा टेलिफोनको घडीमा गए । बिहानको सात बजिसकेको रहेछ । म भिजेका टिस्युलाई पन्छाएर ढोका खोल्न उठें ।

डिसेम्बर ०२, २००४
हनोइ, भियतनाम

साभार: गरिमा (फागुन २०६२)

1 comment:

  1. नवराज दाजुको यो लेख धेरै पछि मात्र पढ्न पुगें। अत्यन्तै मार्मिक, शालीन र मेरै मनको भावनाजस्तो लाग्ने लेखको लागि हार्दिक बधाई। यो लेखको जति प्रशंसा गरे पनि कमै हुन्छ।

    ReplyDelete