खास कुनै पूर्व योजना थिएन । ल्यापटपको
स्क्रिनमा गीतको लामो सूचि थियो । मैले कुमार सुब्वा ले गाएको “अनि देउराली रुन्छ” भन्ने नाटकसँग जोडिएको गीत रोजेँ
र बजाँए ।
हे ! फुल चुँडेर लाने हो
यहाँ माली रोएको देख्यौ की
खुशी मिलन मनाउने हो
यहाँ विछोड भएको देख्यौ की
लगभग चालिसको सँख्यामा उपस्थित श्रोतामाझ गहिरो
मौनता छायो । सभालाई सम्बोधन गर्दै मैले
भने-
“कुमारले गाए जस्तै भयो । हिजो सिन्धुपाल्चोक जिल्लाको वन साँघु माध्यमिक
विद्यालयमा सुनकोसी पहिरोले चुँडेर लगेका ३१ जना विद्यार्थीहरु र अन्य सर्वसाधारण
जनताको चिर शान्तिको कामना गर्न आयोजित शोक सभामा रुँदै गरेका मालीहरु सँग भेट भयो
। त्यहाँ मैले दैवको प्रहारले एकाएक रित्तिएका कोखहरुहरु देँखे । बाढीले पुरेका
घरका भग्नावशेषहरु देँखे । अस्ति सम्म हरियाली वोकेको जमिन खण्डहरमा परिणत भएको
देँखे । भत्किएको सडक देँखे । वालुवाले पुरिएका सँरचना देँखे । एका एक बिक्षिप्त
भएको प्रकृतिको रुप देखेँ । विनाश देखेँ । विपद देखेँ । पीडा देखेँ । विछोडका आला
घाउ देखेँ ।“
आफैँले
अनुभूति गरेका यि सिन्धुपाल्चोकको जुरे पहिरो सँग जोडिएका आर्तनादका गाथाहरु शायद
धेरै पछि सम्म सम्झनामा रहनेछन् । सुन्दा भन्दा आँफ्नै आँखाले देख्दा झन धेरै पीडाबोध
भयो । तर प्रलयमा धन्न वाँचेका या आफन्त गुमाएका स्थानिय सर्वसाधारण, विद्यालयको भवन पुरिएर पाखामा पढ्न वाध्य भएका विद्यार्थी र जुरे पहिरो
छिचोलेर यात्रा गरिरहेका यात्रुहरुले अहिले भोगि रहेका समस्याहरु र तिनलाई किनारा
लगाउन गरिएका पहलहरु देखेर म लगायत म सँग गएका मेरो दौतरीहरुको पनि मन रोयो । जति
गर्नु पर्ने हो त्यो त थिएन नै । तर जति गर्न सकिन्थ्यो त्यो पनि देखिएन । खाँडीचौर
पुग्नु भन्दा केही किमी यता गाडि रोक्नु पर्यो । हाम्रो मात्र नभएर दशौ मालवाहक
ट्रक, बस र साना सवारी साधनहरु रोकिएका थिए । सडकको दाहिने
तिर सुनकोसी नदी किनारको भिर र देव्रे तिर ठाडो टेवा पर्खाल भएकोले यात्रुहरुलाई सडकमा
नउभिनुको विकल्प थिएन । ओर्लिएर वाटोको सिरान तिर अघि बढियो । पर्यटक देखि लिएर
सर्वसाधारण यात्रु र सवारी साधनका चालकहरुको बाक्लो भीड थियो । नदी कटान भएर सडक
भत्किएकोले डोजरले भित्तो खनेर वाटो खोल्ने काम गरिरहेको थियो । केही प्रहरीहरु भीडलाई
तर्काउँदै थिए । सडक विभाग लेखेको झण्डा वोकेका एक कनिष्ट कर्मचारी पनि देखिए ।
नशामा चूर भएको एक व्यक्ति पनि आफूलाई आधिकारिक व्यक्ति भएको भ्रम सिर्जना
गरिरहेको थियो । तर त्यहाँ सूचनाको अभाव थियो । सवारी साधन कहाँ रोक्ने ? सडक सवारी चल्न योग्य हुनका लागि अनुमानित कति समय लाग्ला ? हिँडेरै पारी जान चाहनेका लागि अवरोध छलेर पारी जाने कुनै वैकल्पिक गोरेटो
छ कि ? सडक चर्किएकोले कता तिर उभिँदा जोखिम कम हुन्छ ?
यस्ता प्रश्नहरु बाक्लै थिए । प्रहरीले अनुमानका आधारमा सूचना दिई
रहेको स्पष्ट थियो । झण्डा बोक्ने सडक विभागका कर्मचारी विरामी जस्ता पनि देखिन्थे
। हरेक व्यक्ति आधिकारिक सूचना खोजिरहेको थियो । पर्यटकहरु अन्यौलमा थिए ।
लाग्थ्यो- यस्तो वेलामा राज्यले जति गर्नु पर्ने हो त्यसको
झिनो अँश मात्र उपस्थित थियो । त्यो पनि साह्रै फितलो ।
हामीलाई
लिनका लागि वनसाँघु माविका प्रध्यानाध्यापक पारी आईसक्नु भएको थियो । यसैले सोधी
खोजी गरि ठाडा कान्ला पार गर्दै लगभग २०० मिटर माथी उक्लेर हामी पारी पुग्यौ ।
विद्यालयमा शोक सभाको आयोजना गरी नेपाल विकास अनुसन्धान प्रतिष्ठानमा सँकलन गरेको
रकम हस्तान्तरण गर्यौ । अस्थायी विद्यालय प्लास्टिक र बाँसका भाटा प्रयोग गरेर वनाईएको देखियो । कक्षा
कोठालाई वरीपरीवाट प्लास्टिकले ढाकेकोले पुरै वन्द जस्तो लाग्थ्यो । पढाई हुने
कक्षा कोठामा प्राकृतिक उज्यालो र स्वच्छ वायु ओहोर दोहोर गर्ने प्रावधान हुनु
पर्छ भन्ने सामान्य ईन्जिनियरिङ्ग मान्यता समेतलाई ध्यान दिएको पाईएन । अस्थाई
विद्यालय वनाउनमा सहयोग गर्ने दुई गैर सरकारी सँस्थाका ठूला ठूला साईन वोर्ड झुण्डेका
थिए । अस्थायी निर्माणमा सरकारी निकायहरुको सहयोग त्यहाँ थिएन कि भन्ने शँका उब्जने
ठाँउ प्रशस्त थियो । कार्यक्रममा एक अभिभावकले विपद व्यवस्थापन र पुनर्स्थापनमा
सँलग्न सरकारी निकाय र पदाधिकारीहरुको चर्को आलोचना गरे । हामीलाई त्यो अनुपयुक्त
लागेन ।
जुरे
पहिरोले सिर्जना गरेको जलाशय हेर्न जाने क्रममा सुनकोसी जल विद्युत उत्पादन
केन्द्रको थिग्रयाउने पोखरी बाढीले पुरिएको परैवाट स्पष्ट देखियो । नदिको पानी
जलविद्युत गृहमा लैजानका लागी वनाईएको बाँधको देव्रे पाटोलाई नदिको भेलले क्षति
पुर्याईरहेको थियो । यही क्रम जारी रहेमा केही दिनमा बाँध भत्किने स्पष्ट
देखिन्थ्यो । नदी कटान रोकेर बाँधलाई जोगाउने कुनै उपाय अबलम्बन गरिएको देखिएन ।
बर्षायामको बाढी थामिने समय सम्म जालीमा ढुँगा भरेर नदीलाई पुरानै वाटो तिर
तर्काउने पहल किन नगरिएको होला ? भन्ने प्रश्न मेरो मनमा उब्जियो
। त्यस स्थानमा पनि बाटो भत्किएकोले डोजरले वाटो खोल्ने काम गरिरहेको थियो । केही
प्रहरीहरु थिए । तर त्यहाँ पनि उनीहरु खाली आफ्नो तजबीजमा प्रश्नका उत्तर दिने र
सुरक्षाका सामान्य कुराहरु मात्र व्यक्त गरिरहेका थिए । जोखिम व्यवस्थापन गर्ने या
यात्रुहरुलाई सेवा दिने अभिभारा वोकेका निकायका कुनै कर्मचारी त्यहाँ थिएनन् । डोजर
रोकिएको मौका पारी चार पाउ टेकेर हामीले अप्ठेरो भाग छिचोलेर अघि बढ्यौ । वनसाँघु
माध्यमिक विद्यालयको बाढिले पुरेको भवन देखियो । नदीको जलप्रवाहवाट लगभग १००
मिटरको दुरीमा अवस्थित यो भवन त्यसै पनि जोखिममा थियो जस्तो लाग्यो । यस्ता नदी किनारामा
निर्माण गरिएका अन्य स्थानका शिक्षण सँस्था वा बस्तीहरु पनि जोखिममा होलान् ।
सुनकोसी त्रासदी प्रकरणवाट के यस्तो विषयको लेखाजोखा गर्नु पर्ने पाठ हामीले सिक्न
सक्यौ त ? सटिक प्रश्न उभियो ।
जुरे
पहिरोको अहिलेको रुप लगभग ४ वर्ग किलोमिटरमा फैलिएको सामान्य अनुमान मैले गरेँ ।
कस्तो प्राकृतिक चमत्कार हो त यो ? एक किलोमिटर भन्दा
पनि अग्लो पर्वत त्यसरी पर्लक्कै पल्टिएको छ । केही समय सम्म नदी थुनिएर जलाशय नै
वन्यो । नदीमा एक प्राकृतिक साँघुको रुप वन्यो । बाँधको रुप वन्यो । एक रातमा जलाशाय वन्यो । अजिवको शब्द सँयोग भयो
। पहिरो गएर प्राकृतिक साँघु वन्ने क्रममा माँखा-१ को “वनसाँघु” नाम गरेको बिद्यालय बगायो । ईन्जिनियरिङ्ग
र आधुनिक प्रविधि लगाएर त्यस्तो काम गर्ने हो भने करौडौको लागत लाग्ने थियो । सयौ
मान्छेले महिनौ काम गर्नु पर्थ्यो । कैयौ टन निर्माण सामाग्री लाग्ने थियो । तर
प्राकृतिक सन्तुलनमा आएको सानो विचलनले एकाएक लाखौ टनको चट्टान. ढुँगा र माटोको पिण्ड स्खलित भयो । जटिल विज्ञान (Complexity
Science) ले यहि भन्छ । कहिलेकँही उही अवयवहरुको अन्तरक्रियाले
असामान्य परिस्थितिले जन्म लिन्छ । ढुँगा उही छ । माटो उही छ । वनस्पति उही छ । तर
प्रकृतिले अचम्म पस्किन्छ । त्यो अचम्मले विपद निम्त्याउन सक्छ । प्रलय ल्याउन
सक्छ । जापानको चुनामी या अन्य देशमा आएका भुईचाला हरु यस्तैना असामान्य
परिस्थितिका नमुना हुन । रोकथाम गर्न सकिन्न । तर प्रलय पछि उपलब्ध साधन र श्रोत
परिचालन गरि राम्रो व्यवस्थापन गर्न सकिन्छ ।
जुरे
पहिरो छिचोल्ने यात्रुहरुको लाम देखियो । नाम्लो लगाएर वार्हविसेवाट सामान
ल्याउनेको लर्को पनि देखियो । काठमाण्डौ जान लागेका चिनिया पर्यटकहरु भेटिए ।
तातोपानी जान लागेका दक्षिण भारतका नागरिकहरु पनि बाक्लै देखिए । पहिरोको केन्द्र
भागवाट लेदो पानी बगेको देखियो । माटो बग्ने क्रम रोकिएको थिएन । आकाशमा बादल र
घामको लुकामारी चलिरहेको थियो । मलाई लाग्यो- पानी पर्यो भने
फेरी पहिरो जान सक्छ । ताल परे हिड्दै गरेका यात्रुलाई फेरी पुर्न सक्छ । तर यस
विषयमा विश्लेषण गरेर आपतकालिन सहयोग गर्ने वा पूर्व सावधानी अपनाउन सहयोग
पुर्याउने सूचनाको फेरी अभाव थियो त्यहाँ । हामी फर्किदाँ जलविद्धुत केन्द्रको
बाँधमा फेरी आवागमन रोकिएको थियो । यसकारण हामीले फेरी कान्लामाथी उक्लिएर
बैकल्पिक वाटो प्रयोग गर्नु पर्ने बाध्यता आयो । जँगल र धानको खेतका आलीको सामान्य
गोरेटो बाटो वडो मुश्किलले पार गरियो । म लगायत समूहका केही साथीहरु ठाँउ ठाँउमा पछारिदै
अघि बढ्यौ । हामीलाई यस्तो वाटोको पूर्वानुमान गर्न पनि कसैले सघाएन । झन
आश्चर्यको प्रसँग त त्यस वेला जोडियो जब हामीलाई सहयोग गर्न भनेर सँगै हिँडेका
बनसाँघु विद्यालयका एक अभिभावकले मलाई यो प्रश्न सोधे-
“अलि अलि गरेर हजुरहरु जस्ता दाताले दिएको सहयोगलाई जम्मा गरेर नयाँ
विद्यालय निर्माण गर्ने योजना छ । यसका लागि दुई स्थानमा जमिन प्राप्त भएको छ । एक
टुक्रा हालको जुरे पहिरोको आडमा छ भने अर्को अलि तल । हजुरको विचारमा कुन जमिनमा
यसपालीको जस्तो विपद पर्ने जोखिम कम होला । यो निर्णय हामीले तुरुन्त गरि काम सुरु
गर्नु पर्ने छ ।“
मैले
दुवै सँभाव्य स्थानको अवलोकन गरेँ र मेरो ब्रम्हले दिएको राय पेश गरेँ । तर मेरो
विश्लेषणमा मात्रै भर नपर्न पनि भने । फेरी मलाई लाग्यो । राज्य यहाँ पनि
अनुपस्थित छ । यति सामान्य काम समेत गर्ने थिति छैन् । शिक्षा मन्त्रालय अन्तर्गत
अरबौका परियोजना भएको सुनिन्छ । दैवि प्रकोप उद्धार समितिमा करौडौको दान प्राप्त
भएको सुनिन्छ । शिक्षण सँस्थाहरु भौगर्भिक विज्ञहरुको हुल समेटेर बसेका छन् ।
बर्षै पिच्छे हजारौको सँख्यामा ईन्जिनियरको उत्पादन हुन्छ । तर “वन साँघु माध्यमिक विद्यालय” को नयाँ भवन वनाउनका
लागि त्यो ज्ञान परिचालित हुन सक्दैन् । वर्तमानको यथार्थता यही हो । मुलुकले
भोगेको तितो सत्य यही हो । यसैले मैले यो विसँगतिलाई ईगित गर्दै विद्यालमा रकम
हस्तान्तरण गर्दा मेरो मन्तव्यमा भनेको थिँए ।
“तँपाईहरुको पिडामा सानै भए पनि मल्हम लगाउन हामी आईपुगेका छौ । यहाँहरुको
आश्रयस्थलमा जुन क्षति भएको छ त्यो अपूरणिय छ । यी ३१ जना विद्यार्थीको अभावले
यहाँहरुलाई जीवन भरि पिरोल्ने छ । तर मेरो यहाँहरुलाई एउटा निवेदन छ । यो प्रकरणवाट शिक्षा लिएर आज यहाँहरुको
सामुन्नेमा भई रहेको पुनर्स्थापना र पुननिर्माणमा जुन रिक्तता र विसँगतिले वास
गरेको छ त्यो भोलिका दिनमा नहोस भन्ने कामना गरौ । आफ्नै अघि यो विनाश देखेका र
विद्यालय गुमाएका यी नानीहरुलाई यसरी
शिक्षित वनाऔ कि यिनले यो अभावलाई पुर्न सकुन । भविष्यमा पर्ने प्राकृतिक
प्रहारलाई सामना गर्न सकुन । यस विषयका नीति निर्माता वनुन । ईन्जिनियरीङ्ग प्रयोग
गरि अस्थायी विद्यालय वनाउन सकुन । यात्रुलाई सूचना दिन सकुन । पद्धति वसाल्न सकुन
। सही नेतृत्व दिन सकुन । यिनको पालामा तपाई हामीलाई जस्तो पीडा र दुख झेल्नु
नपरोस ।“
कार्यक्रममा
वोल्दा म अलि भावनात्मक नै भएछु । मैले सोचे जस्तो हुने भए शायद मनवहादुर मुखियाले
लेखेको र कुमार सुब्बाले गाएको माथीको गीतमा भनिए जस्तो भवितव्य परेर आफ्नो माटो
सँग विछोड भएर कोही गए पनि बाँकी भएका मालीहरुको घाउमा चाँडै मल्हम लाग्ने थियो । सायद
सिन्धुका देउरालीहरु अलि कम रुने थिए । विछोडको
व्यथा अल्पायुको हुने थियो । तर वर्तमानको यक्ष प्रश्न यहि हो- के यस्तो हुने दिन आउला त ?
नेपाल
विकास अनुसन्धान प्रतिष्ठान
ललितपुर, सेप्टेम्बर १७, २०१४
No comments:
Post a Comment