Friday, August 21, 2015

कसरी उकास्ने उच्चशिक्षाको गुणस्तर ?



अहिले भावी नेपालको दिशानिर्देश गर्ने संविधानको दस्तावेजलाई अन्तिम रूप दिने कार्य भइरहेको छ । सर्वसाधारणले नेता, मन्त्री र सभासदको न्युनतम शैक्षिक योग्यता घटीमा पनि स्नातक हुनुपर्ने राय पेस गरे । यो ऐतिहासिक कालखण्डमा बुद्धिजीवी एवं सर्वसाधारणले उच्च शिक्षाप्रति प्रदर्शन गरेको सम्मान र विश्वासको महत्त्व विशिष्ट प्रकृतिको छ । यसले मुलुक हाँक्ने अगुवाहरू शिक्षित भए भने सबै ठीक हुन्छभन्ने सर्वमान्य अवधारणा रहिआएको प्रमाणित गर्छ ।

तर एउटै स्वरमा यस्तो जनमत प्रकट गर्ने लाखौं नागरिकको उत्साह सेलाउन नपाउँदै छापामा उच्च शिक्षामा २ लाख विद्यार्थी घटेकोसमाचार प्रकाशित भएको छ । नेपालका उच्चशिक्षा प्रदान गर्ने विश्वविद्यालय र चिकित्सा विज्ञान प्रतिष्ठानहरूमा अध्ययन गर्ने विद्यार्थीको सख्या गतवर्ष ७ लाखको हाराहारीमा रहेकोमा यस वर्ष यो २९ प्रतिशतले घटेको तथ्याङ्क प्रकाशित भएको छ । उच्चशिक्षा प्रदान गर्ने शिक्षालयहरूमा विद्यार्थी संख्या घट्नुका पछि धेरै कारण होलान् । नेपालमा हाल अध्यापन गराइने शिक्षालयहरूको भित्री वातावरण र विशेषगरी पढाइ भैरहेको कक्षाकोठामा देख्न सकिने केही गतिविधिलाई पनि नियाल्न जरुरी हुन्छ । एउटा उदाहरण हेरौं, स्नातक तहको पढाइ भइरहेको छ । कक्षामा बीसजना जति विद्यार्थी छन् । बीसमध्ये चारजना मोबाइल चलाइरहेका छन् । चारजना मस्तले निदाइरहेका छन् । अरु केही गफ गर्नमा व्यस्त छन् । शिक्षक निरीह प्राणीझंै पढाइरहेका छन् । अगाडि बसेका चार, पाँचजना विद्यार्थीहरू भने अनुहारमा पीडाभाव लिएर प्रवचन सुनिरहेका छन् ।

यो प्रसंगले कलेजमा पुगेपछि त राम्रो पठनपाठन हुन्छर हाम्रो दायित्व अलिकति भए पनि कम हुन्छ भन्ने मान्यता राखेका अभिभावकहरूलाई थप चिन्तित बनाएको अनुमान गर्न सकिन्छ । सर्वसाधारण अभिभावकमात्र नभएर नीति निर्माता, विश्वविद्यालयका पदाधिकारी वा नेपालको भविष्यका शुभचिन्तकहरूका लागि माथि उल्लेखित परिदृश्य चिन्ता लाग्ने विषय हो । उच्चशिक्षा प्रदान गरिने कक्षाकोठाहरूमा देख्न सकिने यो दुरावस्थाको सामान्य विश्लेषणले मात्र पनि थप दुई परिदृश्यहरू चित्रित गर्छ । पहिलो, कक्षाकोठामा खालि जागिर पकाउन वा दिन कटाउने मनसायले उपस्थित भएका शिक्षकहरूले उनीहरू विद्यार्थी हुँदा कक्षाकोठामा उँघेर वा पढाइमा ध्यान नदिएर समय बिताएको हुनुपर्छ । त्यसबेलाअन्यत्र केही रोजगारी पाइएन भने शिक्षण पेसा त कहीं नजाभन्ने सोच हावी भएको हुनुपर्छ । दोस्रो, यो बेथितिको सिकार भएका आजका विद्यार्थीले पनि भविष्यमा उनीहरू शिक्षक पेसामा आबद्ध भए भने कक्षामा मोबाइल चलाउने विद्यार्थीलाई पढाइमा ध्यानाकर्षण गर्न लगाउने सम्भावना न्युन रहन्छ । किनभने उनीहरूको सोचाइले पनि हामीले पनि त यसैगरी पढ्यांै, मैलेमात्र नैतिक दबाब दिएर के नै हुन्छ र ?’ भन्ने धार समात्न सक्छ ।

आखिर किन आजका उच्चशिक्षा प्रवाह गर्ने कक्षाकोठाहरू नतिजामूलक बन्नसकेका छैनन् त ? सामान्य अनुभवले बताउँछ, सम्बन्धित सरोकारवालाहरू आआफ्नै बहाना वा गुनासाहरू बोकेर कलेज वा विश्वविद्यालय धाइरहेका छन् । कक्षामा ध्यान नदिने विद्यार्थीले भन्लान्, ‘यो मेरो रुचिको विषय परेन वा यो शिक्षकलाई पढाउनै आउँदैन वा शिक्षकलाई सुन्न के रमाइलो मोबाइलमा फेसबुक हेर्दा पो रमाइलो ! आखिर कक्षामा पढाइइत्तर काममा संलग्न हुँदा पनि कसैले केही भन्दैन शिक्षकले भन्लान्, ‘यति तलबमा टोकियो वा हार्वर्ड विश्वविद्यालयको जस्तो पढाइ खोजेर पाइन्छ ? विद्यार्थी ध्यान नै दिँदैनन् त मैले के गरुँ ? वा मैले मेरो कर्तव्य पुरा गरेकै छु, सुन्ने काम त विद्यार्थीको हो नि !

शिक्षकलाई नियुक्ति दिने वा भरणपोषण गर्ने पदाधिकारीले भन्लान्, ‘कम्तीमा विद्यार्थी कक्षामा त बसेको छ वा विद्यार्थी नै गम्भीर छैन वा जग नै धमिराले खाएको छ, अनि कसरी हुन्छ वा शिक्षकलाई अलिकति कडाइ गरेमा यो जागिर छोडेर भोलि नै हिँडिदियो भने के गर्ने ?’ अभिभावकले भन्लान्, ‘विश्वविद्यालयले तोकेको शुल्क तिरेर अन्य आवश्यक सुविधा जुटाइदिएर कक्षामा पठाइदिएपछि पनि फेरि हामी नै गोठालो लाग्ने हो भने पदाधिकारी वा शिक्षकको कामचाहिँ के हो ?’

अहिले मुनाफा कमाउने हिसाबले एउटा साँघुरो सुविधाविहीन कक्षाकोठामा पचासदेखि एक सयभन्दा बढी विद्यार्थी कोचेर राख्ने प्रवृत्ति हावी छ । मेडिकल पढ्नेहरूको कक्षामा त माइकसम्म प्रयोग गरिन्छ भन्ने सुनिएको छ । कतिपय कक्षाकोठामा एउटै मेचमा पाँच जनासम्म विद्यार्थी राखेको पाइन्छ । सिटमा बस्दा साथीलाई छोइने र स्वतन्त्र भएर लेख्नसम्म पनि नसकिने कक्षाहरू छन् । आफ्नो विधामा पोख्त शिक्षकहरूको संख्या न्युन छ । परम्परागत शैलीमा अध्यापन गराउनेभन्दा प्रेरक सहजकर्ताको भूमिका निर्वाह गर्नसक्ने शिक्षकलाई संलग्न गराउने कार्यमा शिक्षालयका पदाधिकारीहरूले असक्षमता प्रदर्शन गरेका छन् । उच्च शैक्षिक उपाधि प्राप्त गरेका कतिपय शिक्षकहरू विना प्रशिक्षण पचास जवान विद्यार्थी भएको कक्षामा पसेर पेसागत जीवनको सुरुवात गर्न बाध्य पारिएका छन् । कक्षामा उपस्थित सम्पूर्ण विद्यार्थीलाई मन्त्रमुग्ध पारेर आफ्नो कुरा सुन्ने गराउन सक्नु शिक्षकमा हुनुपर्ने अपरिहार्य गुण हो । कुन बेला रोचक प्रसंग जोड्ने ? कुन बेला नैतिक दबाब दिने ? भन्ने कुरा शिक्षकले जान्नु जरुरी छ । टेपरेकर्डर बोलेजस्तो एकहोरो आफूले मात्र बोल्दा त्यो कक्षा विद्यार्थीका लागि पट्यारलाग्दो र अल्छिलाग्दो हुनसक्छ । विद्यार्थीको सुन्ने इच्छाशक्तिउच्च तहमा राख्न सक्ने दक्षता भनेको शैक्षिक उपाधिले मात्र प्राप्त हुने विषय होइन ।

विद्यार्थीले भने या त पढाइलाई अभिभावकको इच्छा पुरा गरिदिने साधनको रूपमा लिएकोले या अध्ययनपश्चात रोजगारीको कुनै सम्भावना नदेखेकोले कक्षामा ध्यान नदिएको हुनसक्छ । विद्यार्थीसँग जोडिएको अर्को पक्ष भनेको बाध्यात्मक परिस्थिति सिर्जना नहुन्जेल उनीहरूको लक्ष्य त्यो सेमेष्टर वा वार्षिक परीक्षा उत्तीर्ण गर्नेसम्म मात्र निर्धारित भएको हुन्छ । हाम्रो शैक्षिक पद्धति र कमसल प्रतिस्पर्धाले यस्तो बनाएको हो । छिमेकी मुलुक भारतमा स्नातक तहको विद्यार्थीले अन्तिम परीक्षालाई होइन, त्यसपछि खरो उत्रनुपर्ने लोकसेवा आयोगको परीक्षा वा स्नातकोत्तर तहको भर्ना परीक्षालाई अन्तिम गन्तव्य बनाएको हुन्छ । यसो हुँदा उसले कक्षाकोठाको पढाइलाई आधारभूत र अनिवार्य रूपले पार गर्नैपर्ने खुड्किलोको रूपमा लिएको हुन्छ । यसकारण कक्षामा ध्यान नदिने प्रश्नै हुँदैन ।

कक्षाकोठाको व्यवस्थापन कसरी गर्ने वा ठूलो समूहका विद्यार्थीहरू भएको कक्षालाई कसरी मर्यादित र उत्पादनमूलक बनाउने भन्ने ज्ञानको अभाव देखिन्छ । कलेज सञ्चालकहरू यस्ता जल्दाबल्दा समस्यामा ध्यान दिनुभन्दा गैरप्राज्ञिक, आडम्बरी र प्रचारमुखी कार्यहरूको माध्यमवाट धेरै विद्यार्थी तान्ने र मुनाफा कमाउने होडबाजीमा व्यस्त देखिन्छन् । उदाहरणको लागि स्नातकोत्तर तहमा भर्ना भएका विद्यार्थीलाई पाँचतारे होटल वा रिसोर्टमा आवासीय अभिमुखीकरण कार्यक्रममा सरिक गराउन थालिएको छ । कलेज सञ्चालक वा विश्वविद्यालयका पदाधिकारीहरूको अधिकांश समय कक्षाकोठाको व्यवस्थापमा देखिएका वा शिक्षक र विद्यार्थीसँग जोडिएका जल्दाबल्दा समस्याको समाधान गर्नेभन्दा किनाराका बाह्य समस्याहरूको सम्बोधन गर्न खर्च हुन्छ । उनीहरूका सूचीमा राजनीतिक समीकरण मिलाउने, चन्दा असुली गर्नेहरूसँग समन्वय गर्ने, अख्तियार वा अदालत धाउने र आफ्नो पद जोगाउने कार्यहरू प्राथमिकताको क्रममा हुन्छन् ।

सानो कक्षाकोठा धेरै विद्यार्थी, कक्षाकोठामा अनुशासन पालना गराउन असक्षम शिक्षक, पदाधिकारीहरूबाट निरीक्षण र अनुगमन नहुनु, विद्यार्थीले सेमेष्टर अन्त्यमा हुने वा वार्षिक परीक्षालाई मात्र गन्त्व्य बनाउनु आदि अध्यापन र सिकाइका समस्यासँग जोडिएका कारक विषय हुन् । विद्यार्थी अनुशासितमात्र भएर हुँदैन । शिक्षकले पढाएको विषय विद्यार्थीले बुझ्नुपर्छ । अनिमात्र ऊ रोजगारीको बजारमा विक्छ र आफूमाथि गरिएको लगानी छोटो समयमा नै फिर्ता गर्न सक्छ ।

मुलुकको द्रुत आर्थिक विकास गर्नका लागि फास्ट ट्रयाकको काम गर्ने उच्चशिक्षाको महत्त्व बुझेर अन्य राष्ट्रहरूले उच्चशिक्षाको लगानीलाई बढाएका छन् । अमेरिका र दक्षिण कोरियाले प्रतिवर्ष कुल गार्हस्थ उत्पादनको २.५ प्रतिशतभन्दा बढी उच्चशिक्षामा लगानी गर्छन् । अन्य विकसित मुलुकमा यो सूचकांक १ देखि २.५ प्रतिशतको बीचमा रहेको पाइन्छ । आर्थिक वर्ष २०७२ र ७३ को नेपालको बजेटमा उच्चशिक्षा गुणस्तर सुधार र विश्वविद्यालयको पूर्वाधार विकासका लागि रु ८ अर्ब ७ करोड विनियोजन गरिएको छ । यो लगानी कुल गार्हस्थ उत्पादनको ०.५ प्रतिशतमात्र हुन आउँछ ।

अन्य राष्ट्रहरूमा उच्चशिक्षालाई धेरै महत्त्व दिनुको विशेष कारण के होला त ? उच्च शैक्षिक उपाधि हासिल गर्नाले व्यक्ति, परिवार र समग्र मुलुकलाई नै दूरगामी फाइदा पुग्छ । एक निमुखा परिवारको सन्तानका लागि उच्चशिक्षा भनेको आर्थिक समृद्धि प्राप्त गर्ने एकमात्र वैधानिक राहदानी हो । खासगरी नेपालजस्तो आर्थिक विकासमा पछि परेको मुलुकमा उचित शिक्षा र त्यही अनुरुपको पेसागत संलग्नताले न्युन आय समूहमा भएको कुनै व्यक्तिले आफ्नै जीवनकालमा आफूलाई मध्यम वर्गको श्रेणीमा उकाल्न सक्छ । अध्ययन गर्दा अभिभावकले गरेको लगानीलाई विद्यार्थीले पढाइपश्चात काम सुरु गरेको केही समयमा नै असुली गर्न सक्छ । नेपालको सन्दर्भमा सबै विधामा यो लागू नहुन सक्छ । जस्तैमेडिकल । यसो हुँदा सम्बन्धित व्यक्तिका परिवारले परम्परागत निर्वाहमुखी व्यवसायमा आश्रित हुनु नपर्ने हुनसक्छ ।

डिग्रीमात्र हातमा भएको तर सिप र दक्षता नभएको व्यक्ति अकर्मण्यताको सिकार हुनसक्छ । कक्षाकोठामा बसेर निदाउने वा मोबाइल चलाउने व्यक्तिले परेका बेलामा मुलुकको अगुवाइ गर्नु त के एउटा सामान्य जिम्मेवारी पुरा गर्ने काम गर्न पनि सक्दैन । आय आर्जन र तात्तातो लोक सम्मानका हिसाबले शिक्षण पेसामा धेरै आकर्षण नभए तापनि आत्मसन्तुष्टि र स्वाभिमानका हिसाबले यो सबैभन्दा विशिष्ट पेसा हो । आफ्ना अवधारणा, विचार र सिर्जनात्मक अभिव्यक्तिलाई भोका स्रोतामाझ पुर्‍याउने यो एक सशक्त बाटो हो । त्यसकारण शिक्षक वर्गले आफ्नो अभिव्यक्तिमा कक्षाकोठामा उपस्थित सम्पूर्ण विद्यार्थीले केही न केहीघर लैजाने कोसेलीप्रदान गर्ने तरिकाले अध्यापन गराउनु जरुरी हुन्छ । माथिल्लो निकायले आफूले अध्यापन गरेको अनुगमन गर्दैन भन्ने कुण्ठा पाल्नु हुँदैन । किनभने शिक्षकले पढाएको अनुगमन गर्ने सबैभन्दा विशिष्ट अनुगमनकर्ता त विद्यार्थी नै हुन्छन् ।

यस्तै पदाधिकारी वा कलेज सञ्चालकहरूले के बुझ्नु जरुरी छ भने गुणस्तरीय शिक्षाको सबैभन्दा महत्त्वपूर्ण पाटो भनेको कक्षाकोठाको उपलब्धिवाविद्यार्थीशिक्षकबीचमा हुने बौद्धिक अन्तरक्रिया नै हो । जबसम्म त्यो निम्छरो हुन्छ, शिक्षाको गुणस्तर उक्सिन सक्दैन । आशा गरौं, संविधान जारी गर्ने मौकामा व्यक्त भएको जनदबाबले उच्चशिक्षामा देखिएका समस्याहरूलाई सम्बोधन गर्ने अवसर सिर्जना हुनेछ ।

खतिवडा काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक हुन् ।
nawa.khatiwada@gmail.com

(कान्तिपुर, श्रावण २६, २०७२) 
(August 11, 2015)

No comments:

Post a Comment