Wednesday, October 28, 2015

भुइँचालोले फेरेको चिनारी




 फेरि पराकम्पन आयो । हामी जुरुक्क उठ्यौ । सभाकक्षको भवन एकतले हुनाले कोही पनि आत्तिएको देखिएन । भवनको प्राङ्गणमा भने रेष्टुरेन्टका ग्राहक र कर्मचारीहरु थुप्रिए । सबैको सरोकारको विषय फेरी भुइँचालो भयो । मौनताको ठाँउ लियो कल्याङमल्याङले । हाम्रो सामाजिक क्लबको वैठक पनि नबिथोलिने कुरै भएन । ताँती वनाएर हिँडेका कमिला तितरबितर भए जस्तै । ती सृष्टिकै शूक्ष्म जीवलाई सामान्य अवस्थामा फर्किन वेर नलागे जस्तै हामीलाई पनि बैठक सूचारु गर्न बेर लागेन ।

तर एक छिनपछि सभाकक्ष बाहिर सिर्जना भएको भनाभनले हाम्रो ध्यानाकर्षण भयो । वैठक कक्षका भित्तामा लगभग पुरै क्षेत्रफल ढाकिने गरी सिसाका झ्याल ठोकिएका थिए । यसैले बाहिरको दृष्य स्पष्ट देखिन्थ्यो । खुलै छाडिएको ढोकाबाट सभालाई प्रभाव पार्ने गरि गुजुल्टिएको आवाज भित्र पसिरहेको थियो । एक छिनअगिको पराकम्पन बिर्साउने छुट्टै प्रकृतिको अनियमित आकस्मिकता सिर्जना भएको देखियो । एक महिलालाई रेष्टुरेन्टका केही सुरक्षाकर्मी र कर्मचारीले घेरेका थिए ।

यो रक्स्याहा आईमाईलाई अगिदेखि बाहिर जा भनेको मान्दै मान्दिन । महिला सुरक्षाकर्मीले आक्रोस व्यक्त गरेको सुनियो ।

चालिसको हाराहारीकी देखिने ती महिला नसाले लट्ठ थिईन ।  हाम्रो बैठक शुरु हुनुअगि उनी रेस्टुरेन्टको आँगनमा रहेको वगैँचामा राखिएको टेबलमा देखिएकी थिईन् । त्यस बेला पनि उनको मुद्रा अस्वभाविक थियो । पहिरन र बोलीले सँकेत गरेअनुसार उनी सभ्रान्त थिईन । कम्मरमाथी आधुनिक डिजाईनको कुर्ता लगाएकी थिईन् भने तल पाईन्ट । कानमा भने अहिलेका युवतीहरुले लगाउने खालका ठूला परिधी भएका मुन्द्रा ।  हातमा फेसनदार ब्याग बोकेकी थिईन् । सुरक्षाकर्मीको व्यवहारले वताईसकेको थियो- सभ्य नागरिकले सार्वजनिक स्थलमा गर्ने स्वभाविक आचरणको लक्ष्मण रेखा उनले काटिसकेकी थिईन् । यसैले उनको भाषामा तँ प्रयोग भइरहेको थियो । अतिथीलाई देवता तुल्य ठानेर सेवा दिईने स्थलमा कुनै ग्राहकलाई गालीगलौजको व्याकरण  प्रयोग गरि परिसर बाहिर निकाल्न खोज्नु चानचुने विषय थिएन । लाग्थ्यो, भैरवी नै प्रकट भएकी छिन् । हेर्दा हेर्दै सुरक्षाकर्मी महिलाको आक्रोशपूर्ण व्यवहार अझ झाँगियो । होश भएकी नारी मातेकी अवलालाई जवरजस्ती ठेल्न थालिन् । प्रतिवाद गर्दा तिनले  सन्तुलन गुमाईन र भुइँमा पछारिईन् । 

सर ! हेर्नु होस न । यिनीहरुले मलाई चिन्दै चिनेनन् । मेरो कुरो वुझ्दैवुझेनन ।

उनी लर्वराँउदै उठिन् अनि सहायता पाउने आशामा हामीमध्येकै छेउमा वसेका मित्रलाई हातले ईशारा गर्दै प्रार्थानाको शैलीमा पुकारिन । हामी सवैले उनैतिर हेरेकोले उनले सभाकक्षतिरै पाईला वढाईन् । उनी सभाकक्षभित्र पसे हाम्रो छलफल प्रभावित हुने पूर्वानुमान गरी हामीमध्येकै दुई साथीहरु जुरुक्क उठेर उनी भएतिर लम्किए ।

आई एम फ्रम लण्डन । आई ह्याभ मनि । उनले भनेको सुनियो । शायद सहायता पाउने आशाले होला उनको साहस केही बढ्यो ।

उनले आईपरेको प्रतिकूल परिस्थितिवाट छुट्कारा पाउने उदेश्यले एकै पटक अङ्ग्रेजी, विदेशको बसाई र सम्पत्तिको त्रिकुटि भर्याङ् लगाईन् । झट्ट हेर्दा देखिने मान्छेको व्यक्तित्वको बोक्रो मात्र हो । लगाएको लुगा हो । सुनिने बोली हो । बुझिने व्यवहारले हो । मान्छेले साथमा लिएर हिड्ने यिनै हुन । चिनारी दिने पनि यिनै हुन । कसैउपर असल वा खराब व्यक्तित्वको छाप छोड्ने पनि यिनै विशेषताहरुको समष्टिले हो । कसैले मुहारमा मुस्कान बेरेका हुन्छन् कसैले आक्रोश ।  कसै कसैका अनुहारले भने अतिशय गम्भिरता वा भावुकता वोकेका हुन्छन् । केही वेरको अन्तर्क्रियाले पनि त्यो अनुहारमा कुनै परिवर्तन भएन भने त्यसलाई क्यामेराले निकालेको तस्विर जस्तो भनिदिए हुन्छ । यस्ता अनुहार लिएका व्यक्तिहरुले मन मष्तिष्कमा असाध्य दिक्दारी, खिन्नता वा विषाद  बोकेका हुन सक्छन । यसका विपरित  सामान्य मुद्रामा रहेको मान्छे  अर्कोसँग भेट हुँदा मात्रै पनि दुई ओठ वीच प्रसन्नताको धर्को तन्काउँछ । विषय अलि गहनै परे उसको जीउ नै मस्किन सक्छ । स्वभाविक प्रसन्नताले मनमा नैराश्यताको तुवाँलो छैन भन्ने इङ्गित गर्छ ।

ती महिलाले धनको जतिसुकै  फुर्ति लगाए पनि उनी सँग साथमा धन थिएन । उनको वसाई लण्डनमा भए पनि अहिले तिनी नेपालको जावलाखेलमा थिईन् । उनीसँग त्यसवेला थियो नशाले रुझेको नितान्त एक्लो शरीर र वेटुङ्गोको वोली । खैलाबैलाले जम्मा गरेका पात्रहरुले उनको पर्दा पछिको सँसार देख्ने विषय भएन । उनी त्यस वेला रेष्टुरेन्टको खुला कक्षमा एक निरीह, नरुचाएकी र असान्दर्भिक पात्रका रुपमा उभिएकी थिईन । कहिले आफ्नै व्यवहारले र कहिले परिस्थिति मात्रले पनि मान्छेको कद स्वाट्टै घटाईदिन्छ । पहिचान अर्कै हुन्छ ।

परिवन्दले त कहिलेकँही मान्छेको परिभाषा फेरिदो रहेछ । अस्ति भूकम्प आँउदा पनि त्यही भयो । एकाएक हुनेहरु नहुने भए  । अर्कातिर नहुनेहरु हुने । छाप्रोमा ओत लिएका वा पाल टाँगेर जीवन निर्वाह गर्ने सवैभन्दा सुरक्षित भए । खेतमा काम गर्दै गरेका श्रमजीवीलाई कुनै गरुङ्गो वस्तुले किचेन । पर्खालले पुरेन । सडक छापको विनासँरचनाको आकाशको घर भत्किएन । गगनचुम्बी महलको मालिक हातमा छ फिटको एक सरो ओछ्याउने वोकेरे खुला आकाशको खोजिमा भौँतारियो । उसले मलमलको विछ्यौना त्यागिदियो । त्यस वेला उसका लागि करोडौको महलको मुल्य माटो वरावर भयो । आखिर उसले  पालमुनी रात वितायो । सधैँको सुरक्षित थलो एकाएक असुरक्षित मात्र भएन मृत्युको सँभावित कारकको रुपमा चित्रित भयो ।  हुनु भनेको जोखिम पुर्ण भयो । त्यसले आतङ्क निम्त्यायो । त्रास सिर्जना गर्यो । सधैँ आकाशमुनीको वास बसेर  नहुने वा गरिबको विशेषणले सम्बोधन गरिनेहरु हुनेअर्थात् सबै भन्दा धनीभए । केही नहुनु भनेको ज्यान जोगाउन सबैभन्दा शक्तिशाली हतियार भएर उभियो । भुइँचालोले नहुनुको तिक्ततालाई हुनुको कवचमा परिणत गरिदियो ।नहुनुवा कम हुनु वरदान साबित भयो भने हुनुअभिशाप । अझ धेरै हुनु महाअभिशाप ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेका छन्
गरीब भन्छौ? सुखको म झैँ धनी
मिल्दैन सँसारभरी कतै पनी ।

गरीब कसरी सुखको धनी हुन्छ भन्ने वारेमा महाकवि लगायतका अन्य सरस्वती पुत्रपुत्रीले पनि व्याख्या गरे । गरीबको सँसार प्रकृति हो । धनी काँच वा कन्क्रिटको कृत्रिम खोलभित्र आफूलाई लुकाउँछ । यसकारण गरीबको जस्तो प्रकृतिको रस्वासादन गर्न धनीले कहाँ पाउनु ! गरीबको आवश्यकताको भाँडो  सानो हुन्छ  अर्थात् जति धेरै गरीब त्यती सानो भाँडो । यसैले त्यो भरिएपछि उसले अर्को भाँडो देख्ने मौका पाँउछ अर्थात एउटा आवश्यकता पुरा भएपछि अर्कोको परिधि टेक्न पाँउछ । यसैले उ जहिले पनि आवश्यकताको नयाँ सँसारमा हुन्छ । नदी भएर वग्छ । धनी एउटै कुवाको भ्यागुत्तो । दोस्रो तर्क गरिबको  श्रमजीवी चरित्र सँग जोडिएको छ । श्रमले शारिरिक सक्रियता वढाउँछ जुन भोक र निद्रा जस्ता जैविक आवश्यकताहरुको कारक वन्छ ।

निबन्धकार धनुषचन्द्र गोतामेले भनेका छन्-  
निद्रादेवीको वरदान धनीहरु भन्दा गरिबहरुले बढी पाएका हुन्छन् । उसका लागि गुन्द्री होस्, मान्द्रो होस् वा भाङ्ग्रो होस् सबै मखमलको लचकदार ओछ्यान सरह हुन्छन् ।

यसरी प्रचुरता र सानिध्यको हिसाबमा पनि गरिब  निद्राको पनि धनी हुन्छ तर भूकम्पले त मखमल नै चाहिने निद्रा पनि शुन्यमा पुर्याईदियो र सम्पन्नताका स्वामीहरु अकस्मात विपन्नताका दास भए । यसरी भूकम्प आएका वेलामा भने धनीहरु झन झन पो गरिब भए ।  गरिब मान्छे त सुखको मात्र होईन स्वरक्षाको पनि धनी रहेछ । उसको श्रीलाई सुरक्षा दिने जुन जुन परिवेश र सँयन्त्र हुन्छन ती धनीका भन्दा उच्च कोटीका हुँदा रहेछन ।    

वैशाख १२ मा गएको शक्तिशाली भूकम्प पश्चात डा. भुवनेश्वर शर्माले कान्तिपुरको पाठक पत्रमा लेखे, सामान्य व्यक्तिको दैवी प्रकोप सँग मुठभेड गर्न सक्ने क्षमता भएन । अझ वढी क्षती र सन्त्रास बाल मनमस्तिष्कमा फिँजिन पुग्यो । नैतिक शिक्षाबाट वन्चित गराईएका अहिलेका बालबालिका डरपोक, काँतर, अधीर, रिसाहा र अदूरदर्शी हुनुका साथै र कतिपय अवस्थामा सामाजिक मर्यादा विपरित चल्न समेत पछि पर्दैनन् ।

यो पढे पछी विपद पिडित मान्छेको मन का बारेमा मैले केही थप प्रश्नहरु फेला पारेँ, विपदको त्रासले कस्तो व्यक्तिलाई बढी छुन्छ ? वा सँकट सामना गर्ने क्षमता कस्तो व्यक्तिमा बढी हुन्छ ? के आर्थिक वा शैक्षिक पृष्टभूमिले कसैको ढुँगो जस्तो र कसैको कपास जस्तो मुटु हुन सक्छ ?

मान्छेको व्यक्तिगत जीवनमा या प्रकृतिमा कहिलेकँही केही यस्ता परिस्थिति या कालखण्डहरु उत्पत्ति हुन्छन जसको पूर्वानुमान गर्न वैज्ञानिक वा ज्योतिषले पनि सक्दैन । शक्ति, व्यापकता या असरको हिसाबमा दैवी प्रकोप या विपदको स्वरुप विराट प्रकृतिको मात्र न भनै अतुलनिय वा अवर्णनिय हुन्छ ।  बहत्तर सालको भूइँचालो नै प्रमाणित गरिदियो केही मिनट त के सेकेण्डमा नै व्यक्ति, परिवार, समुदाय वा राष्ट्र नै तहसनहस हुन सक्ने रहेछ ।  

शास्त्रले भनेको छ सुख र दु:ख दुवैमा आफूलाई समभावमा राख्ने प्रयास गर्नुपर्छ । त्यसो भएमा विपद्लाई पनि सामान्यिकरण गर्ने वल प्राप्त हुन्छ तर मान्छेको जीवनमा त्यस्तो मनोबल त्यतिकै आँउदैन । अहिलेको कृत्रिम सँसारमा रमाउने र  प्रकृतिवाट टाढा पुगेका आधुनिक नरनारीहरु पक्कै पनि तुलनात्मक रुपमा कम धैर्यवान् र आईलागेको परिस्थितिलाई सामना गर्न आफूलाई काबुमा राख्ने विषयमा कमजोर हुन सक्छन । अझ दिनचर्यालाई अजैविक गतिविधीहरुले घनिभूत वनाउनेहरु त  मनोवल र धैर्यको भूगोलको बेँसीमा नै झर्दा हुन । किनभने प्रकृतिले दिएका दिन र रात जस्ता अपरिहार्यता लाई आत्मसात गरी खाने, पिउने, सुत्ने या सक्रिय रहने कृयाकलापलाई नियमितता, अनुशासन र मर्यादाको कसीभित्र राख्ने व्यक्तिहरु नगण्य मात्र छन् । ढुँगा, माटो चिन्ने या भुइँचालोलाई पनि चट्याँग पर्ने, पहिरो जाने वा नदीमा बाढी आउने जस्तै अनियमित आकस्मिकता को रुपमा जान्ने विषयको ज्ञान उनीहरुमा पक्कै कम छ । यसैले यो तप्काका व्यक्तिहरु वा उनीहरुका सन्तानहरु तुलनात्मक रुपमा काँतर, डरपोक र अधीर हुनु स्वभाविकै हो । 

कवि सिद्धिचरण श्रेष्ठले लेखेका छन् :
सँकट पर्दछ मान्छेलाई ढुँगालाई के पर्छ
असिना आई फूलवारीकै फूलहरु पहिले झार्छ

कविवरले भनेको जस्तो सँकट त मान्छेलाई नै पर्छ । किनभने उसको जीवन विधिले चल्छ । विधि चल्नका लागि सामान्य परिस्थिति चाहिन्छ । सँकट या विपदले त्यसलाई बिथोलिदिन्छ । जसरी असिनाले फूललाई वा कमिलालाई । विथोलिएको उनीहरुको समूह तुरुन्तै जन जीवनलाई सामान्य वनाउन तम्सिहाल्छ । प्रकृतिको नियम यही हो । विधिको विधान यही हो ।

यो लेखको आरम्भमा जावलाखेलको रेस्टुरेन्टमा झुल्किएकी मापसे गरेकी महिला पनि सँकटमा नै परेकी थिईन् सायद । उद्धार र राहतका लागि गएका हाम्रा दुई मित्रले ती महिलालाई कुराले अलमल्याए । उनले पानी मागिन् । दुई गिलास घट्घट पिईन । मित्रहरुले उनको कुरा सुने । आफ्नो तर्क राखे । उनी मत्थर हुँदै गईन् । कुराकानीले शालीनताको वाटो समायो । अब उनी रेस्टुरेन्टका सुरक्षाकर्मी र कर्मचारीको घेरावाट उम्किसकेकी थिईन् । मेरा कान भने वैठकको छलफलमा थिए भने आँखा महिला र उनका रक्षाकवच बनेका दुई मित्रका क्रियाकलापमा । कुराकानीका क्रममा एक मित्रले महिलालाई आफ्नै  प्रेयसीलाई झैँ एक हातको सप्को वनाएर भर दिए । शायद उनलाई मत्थर पार्न त्यो सानिध्य आवश्यक थियो । अन्त्यमा उनीहरुले महिलालाई रेष्टुरेण्ट परिसरवाट वाहिर निकाली छाडे ।
बैठक पछि मैले उद्धार टोलीको ध्यानाकर्षण गरेँ, “के निचोड निकाल्नु भयो ? समस्या के रहेछ ?”
सम्भवत् तिनी कुनै उमेर मिल्ने पुरुष पात्रको खोजीमा थिईन । मित्रको अभिव्यक्तिमा कृत्रिम गम्भिरता थिएन । यसैले म यो सटिक उत्तरको मनोविज्ञान खोज्न तिर लागेँ तर त्यसमा जटिलता भएको आभाष तुरुन्तै भयो । भूइँचालो गए पश्चात वजारमा राहत उद्धारमा अत्यावश्यक सामानका साथै निद्रा लाग्ने चक्की, आधुनिक सोम रस र खेल्ने तास को पनि अभाव भएको थियो । अन्त्यमा मेरो निचोड निस्कियो, भूकम्पको त्रास, मादक पदार्थ सेवन, र ती महिलाको खोजमा कुनै गहिरो सम्बन्ध हुनु पर्छ ।

जेष्ठ १७, २०७२
(साभार : शब्दाङ्कुर, साहित्यप्रधान मासिक, भदौ २०७२, अङ्क १६७, पृष्ठ:  -११)

No comments:

Post a Comment