त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको प्रस्थान
कक्षमा बसेर ल्यापटपमा यिनै हरफहरु लेखिरहेको छु। चारैतिर यात्रुहरु बसेका छन्।
सिधै अगाडिको सोफामा बसेको व्यक्ति आफ्नै काँधलाई सिरानी बनाएर निधाएको छ। उसकै
नजिकै बसेकी मँगोलियन मूलकी महिला एक हातले स्याउ टोक्दै अर्को हातले पुस्तक
समातेर पढ्दैछिन। कोही मोबाईल चलाउँदै छन भने केही जोडिहरु गफमा मस्त छन। कोही पेय
पदार्थले तिर्खा मेट्दै रमाएका देखिन्छन्।
यस्तो समयमा लेख्न बडो आनन्द आँउछ। आफूले गर्नु
पर्ने मुख्य काम एउटा मात्र। खाली ‘पर्खने’। यो जस्तो
सजिलो काम अरु के होला ? पर्खदाँ कोही पुस्तक पढेर आनन्द लिँदा
हुन्। कोही फोन वा इन्टरनेट मार्फत आफ्ना प्रियजनसँग कुरा गरेर। तर यस्तो बेला
कतिपयलाई पट्ट्यार पनि लाग्दो हो। उनीहरु छिन छिनमा घडी हेर्ने र अनुहारले भने
अधैर्यता वा बैचनी बाक्लै पस्किन्छन्। पर्खँदा कसरी आनन्द लिन सकिन्छ भन्ने तरिका
सबैलाई कहाँ थाहा हुन्छ र?
आज मलाई ११ बजे विमानस्थल आइपुग्नु पर्ने थियो।
थाई विमान सेवाको उडान दिउसोको २ बजे हुन्छ। दुई दशक भन्दा बढी भएछ म पहिलो पटक
बैँकक गएको। वातावरण इन्जिनियरिङमा स्नातकोत्तर तहको पढाईका लागि छात्रवृत्ति
पाएको थिएँ। त्यसबेला सँगै यात्रा गर्ने परिचित साथीहरु भएकाले यात्रामा म एक्लो
थिइन। त्यसपछि विदेश आईजाईको लर्को नै लाग्यो। कैयन पटक एक्लै उडेको छु। कहिलेकहीँ
परिवारसँग पनि मैले काठमाडौं-बैँककको यात्रा गरेको छु। थाई एयरवेजको उडान तालिका
उही छ। सेवा उस्तै छ। जहिले पनि जहाज टनाटन हुन्छ। आज पनि सीट पुरै भरिएको कुरा
टिकट जाँच कक्षमा जानकारी पाएको थिएँ।
मोबाइलमा बजेको घण्टीले ध्यान बिथोलिदियो।
रीताको रहेछ।
“के के किन्नु भयो त?” उनको स्वभाविक
प्रश्न।
“तीनवटा ढाकाको मफ्लर र एउटा लेडिज पर्स।”
मैले
यथार्थ बताएँ।
“लेडिज पर्स चैँ कल्लाई हो?” मेरो
अभिव्यक्तिलाई उनले च्याप्प समातेर नारीत्व सल्बलाएको अभिनय गरेकी थिइन्। तीनवटा
पुरुषले लगाउने मफ्लरलाई उछिनेर एउटा लेडिज पर्सको महत्व आकासिएको थियो। सायद
कतिपय मान्छेको मनमा यसै गरी साच्चिकै चोर पस्ने गर्छ। आज बिहान मात्र साधना
केन्द्रमा यसको चर्चा चलेको थियो। हामीले आदरणीय गायक फत्तेमानलाई सुनेका थियौँ।
होश
नराखी हिँड्दा यात्री मनमा चोर पसेछ
भ्रममा
पारी उल्टो बाटो लान सुर कसेछ
“कोरियन प्रेमिकालाई।” मैले यसो भनेको
भए गज्जब हुने थियो। तर कहाँ त्यस्तो जवाफ फुर्नु? सत्य कुरा भने।
यो तहको प्रत्युत्पन्न सम्प्रेषण गर्ने मामलामा म कमजोर छु। अरु किनाराका
दौँतरीहरुसँग बस्दा भने फुर्दो हो। आफ्नै अर्धाङ्गिनीसँग उमेर ढल्किँदै गए पछि
अधिकांश समय औपचारिक ब्यवहार गर्ने सुर मात्र हुँदो रहेछ। अरुलाई पनि यस्तै हुँदो
हो। उमेर बुढो हुँदै गएपछि बन्धनको मात्रा अधिक भएर होला।
कोरियाका मेरा मित्रहरुलाई नेपाली ढाकाको टाई
उपहार लैजाने योजना बनाएको थिएँ। मिर्मिरेको साधना, त्यसपछिका सामान
र सुटकेस मिलाउने, जुत्ता टल्काउने र मोबाइल रिचार्ज गर्ने काम
सकेर मैतिदेवीको पाल्पाली ढाकाको पसलमा पुग्दा दश बजेको थियो। टाई राम्रो पाइएन।
टाउको मात्र ढाकाको र पुच्छर भने अर्कै कपडा राखेर बनाईने नेपाली टाई विदेशी
मित्रहरुले कति मन पराउलान्? टाई लगाउने चलन हाम्रो होइन। तर ढाका
हाम्रो परम्परागत उत्पादन हो। कस्तो सामग्री ग्राहकले मन पराउलान भन्नेमा हाम्रो
शोध छैन। सामान राम्रो हुन्छ तर त्यसलाई बेर्ने ‘पोको’ गतिलो
हुँदैन। राख्ने ‘झोला’ पनि गतिलो हुँदैन। आखिर राम्रो प्याकेट
बनाएर त्यसको भार पनि सामानकै मूल्यमा जोडे के बिग्रिन्छ र?
उडान अवधिमा कसैसँग बोल्ने मौका नै परेन। पेय
पदार्थ र खानाको परिकारको छनौट गर्ने बाहेक। बैँकक विमानस्थलमा पुगेर मोबाइल फोन
चार्ज गर्दै फेरि लेख्न बसेँ। वरीपरी यात्रु नै यात्रु भए पनि मेरा लागि सबै
अपरिचित। विदेशमा काम नपरी वा परिचय नभैकन कसैसँग बोल्ने कुरो हुँदैन। अगाडिको
बस्ने सिटमा एक जोडी पुरै शरीर जोडाएर पल्टेका थिए। सार्वजनिक स्थलमा यसो गर्नु
उनका लागि सामान्य होला। तर अहिलेसम्म पनि त्यो हाम्रा लागि लाज लाग्ने विषय हो।
कुनै दिन आउला- दम्पतिले वासनाको प्यास मेटाउने उपल्लो गतिविधि पनि सार्वजनिक
स्थानमा गर्ने। आखिर जनावरले त अहिले पनि त्यसै गर्छन्। खै उनीहरुलाई लाज छैन।
चाल-चलन पनि अजब गजबका हुन्छन्। म सन १९९८ मा ब्राजिलको राजधानी साओपाउलो गएको
थिएँ। अन्तराष्ट्रिय सम्मेलन थियो। स्वागत गर्ने क्रममा एक युवतीले मलाई च्याप्प
समातेर दुबै गालामा म्वाई खाइदिई। म त हेरेको हेर्यै भएँ। त्यस्तो अनौठो अभिवादन
फर्काउने कसरी भन्ने पनि थाहा थिएन। लाजले अनुहार रातो पिरो भएको थियो। भाषा पनि
नबुझिने। बडो विचित्रको क्षण झेलेको
थिएँ।
म एक सुरले शब्द सिर्जनामा लिन थिएँ। मेरो
देब्रेतिरको सिट खालि थियो। कसैले ध्यानाकर्षण गर्यो।
“मे आई सिट हियर (के म यहाँ बस्न सक्छु)?”
एउटी
युवतीको आवाज। मेरा कान ठाडा भए। आँखाले आवाजको श्रोतलाई नियाले। कालो पाइन्ट र
सेतो टिसर्ट लगाएकी हातमा मोबाइल बोकेकी सुनौलो कपाल भएकी केटी। अपरिचित
पात्रहरुको त्यो अथाह सागरमा मसँग बोल्ने पहिलो व्यक्ति भएकी थिई ऊ।
“ह्वाई नट (किन नहुनु)। दिस ईज योर सिट वन्ली
(यो तिम्रै सिट त हो)।”
ऊ मुस्कुराँउदै बसी। मेरो दोस्रो वाक्यले थप
कुरा गर्ने बाटो खोलेको थियो। यस्तो बेला कुरा अघि बढाउन पनि खुबी चाहिन्छ। घमण्ड
गरेको अर्थ नलागोस्। मसँग त्यो केही मात्रामा छ भन्ने मलाई लाग्छ। तर अब अघि के
सोध्ने? मेरो अन्तष्करणमा कसरत हुन थाल्यो- अपरिचितसँग हुने पहिलो कुराकानीको
विषय सान्दर्भिक हुनु पर्छ र असम्वेदनशील हुन पर्छ। मैले आँट गरेँ।
“आर यु गोइङ सम ह्वेर अर रिटर्निङ् ब्याक?
(तिमी
कतै जाँदै हो कि फर्कदैँ हो?)” उसले पक्कै बुझी होली। यो ताक न तुकको
प्रश्न हो। कोही कहीँ जाओस् वा कहीँबाट फर्कोस्। अर्को लाई के मतलब? तर
ग फेरि मुस्कुराई। सेता दाँत। लामो नाक। मृदुभाषी बोली। चस्स बिझाउने केही थिएन
उस्को व्यक्तित्वमा।
स्विडेनकी रहिछ। हाई स्कुल मात्र पढेकी।
पूर्णकालीनको सट्टामा पढाउने काम गर्दिरहिछ। अस्ट्रेलिया र थाइल्याण्ड घुमेर घर
फर्कन लागेकी। मेरो बारेमा पनि सोधी। नेपालको नाम सुन्नासाथ ‘मेरो
त्यहाँ घुम्ने रहर छ” भनी हाली।
हामी आ-आफ्नो संसारमा फर्कियौँ। अहिले उ
मोबाइलमा केही हेर्दै छे। म यिनै शब्दहरु सिर्जना गर्दैछु। यसपटक भने मेरो धोको
पुगेको छ। ‘रियलटाइम’ मा अर्थात ‘तत्कालै’
लेख्ने
धोको। घटना पनि घट्दै छ लेखकले पनि लेख्दैछ। नेपालमा सिर्जनात्मक लेखनको अभियन्ता
घोस्ट राइटिङको कक्षामा मैले निबन्धकार युवराज नयाँघरेलाई सोधेको थिएँ-
“रियलटाईम निबन्ध लेखन को बारेमा यहाँको के
धारणा छ ?“
उहाँले सामान्य उत्तर दिनु भएको थियो। म त अब
अझ यो भन्दा एक पाइला अघि बढ्ने कल्पनामा छु। “हिँड्दै छ पाइला
मेट्दै छ” भने जस्तो “लेख्दैछ पाठकले तात्तातो पढ्दैछ।”
अब
घटना घट्ने, लेखकले लेख्ने र पाठकले पढ्ने तिनवटै काम एकै
साथ गर्ने। कसो नहोला?
बोर्डिङ गेटतिर जाने बेला भएछ। जिन्दगीकै
पछिल्ली परिचित व्यक्तिसँग छुट्टिने वाक्यांशको कल्पना गर्दै अहिलेको बसाईलाई बिट
मार्न थालेँ।
“आई एम नव। रिमेम्बर मी ह्वेन यु आर इन नेपाल।
(मेरो नाम नव हो। नेपाल आयौ भने सम्झनु।)” मैले बिदाईको हात मिलाउँदै भने।
उसले हातले प्रत्युत्तरको आशातित कृया गरी तर
अनुहारमा भने अलमलको भाव देखाई।
मैले बुझेँ। मैले उसलाई ‘सम्झनु’ त
भने तर हामीले सम्पर्कको ठेगाना भने साटेका थिएनौ। उसको मनमा अन्यौल भाव सिर्जना
हुनु स्वभाविक थियो। मेरो मनमा भने यो कुराको हेक्का हुनासाथ बिजुलीको चट्याङ परे
जस्तो भयो। दिमागले गजबको काम गर्यो।
“डु यु ह्याभ फेसबुक (के तिम्रो फेसबुक छ)?”
मैले
सोधेँ।
“ह्वाट एन आइडिया (कस्तो राम्रो विचार)।”
ऊ
पुलकित भई।
मैले मेरो मोबाइल उसलाई दिएँ। मेरो फेसबुकको
खाता खुलै थियो। उसले नाम खोजी र मित्रताको अनुरोध पठाई। मैले स्वीकारेँ।
लाग्यो- यो दृष्टान्त भने अविष्मरणीय हुने भयो।
अकस्मात भैपरिआएको परिचयको ताजा प्रसंगलाई आत्मसात गर्दै तोकिएको गेट तिर लागेँ।
भोलिपल्ट मिर्मिरेमा सोल पुग्दा केही अनौठा
घटना भए। झ्यालबाट बाहिर हेर्दा मसिना झिल्काको मुस्लो जहाजको विपरित दिशामा उडेको
देखियो। चट्याङ पर्दा बिजुली चम्के जस्तो दुई तीन चोट प्रकाशको विशाल ज्योति
प्रस्फुटन भयो। निचोड निकालेँ- आजको अवतरण सहज छैन। मनमा चिसो नपस्ने कुरै थिएन।
एकै छिन पछि पाइलटको उद्घोषण सुनियो।
“बाहिरको तापक्रम शून्य डिग्री छ। अहिले हलुका
हिउँ परेको अवस्था छ।”
हिँउ परेको सुन्दा एक किसिमको रोमान्च पनि
सिर्जना भयो। हिमालयको देशमा जन्मेको भएता पनि हिउँको रमाइलो लिने अवसर विदेशमा
गएर नै पाएँ। जापानमा बस्दा स्कि खेलेको समेत अनुभव बटुलेको छु। इन्चोन
विमानस्थलवाट लिमोजिन बसमा सोल जाँदा मजैले हिउँ परेको देखियो। सेताम्मे भुईँ।
बिसौनीमा राखिएका गाडीहरु, भवन र रुखविरुवाले सेतो टोपी लगाएका
छन्। ‘सेतो’ भनेको ‘कालो’ को अर्को
छत्तिसको रुप हो अर्थात उल्टो रुप। अक्षर लेख्दा सेतो भूईँमा लेखिन्छ। कालो भूईँमा
लेख्न सायद असजिलो हुँदो हो। “सेतो” भूईँमा “कालो”
हिउँ
पर्ने भए कस्तो हुँदो हो?
निर्धारित गरिएको आवास गृहमा पुग्दा वर्षा र
मिन्सोमियाङ्ले स्वागत गरे। वर्षा मसँग काम गर्ने अनुसन्धान सहायक हुन भने
मिन्सोमियाङ् प्राध्यापक दोक्कोसँग विद्यावारिधि गर्दै गरेका विद्यार्थी। वर्षा म
भन्दा दुई दिन अघि सोल आएकी थिई।
दिउसो उनले हामीलाई विश्वप्रसिद्ध
पुर्न:स्थापित खोल्सी “चेँग जे च्योन” घुमाउन लगे। एक
जमानामा त्यो खोल्सोमा पानी बग्ने गर्दथ्यो।
कोरियन युद्ध पश्चात त्यो खोल्सो मासेर त्यहाँ
पहिले सडक बनाइयो। त्यस पछि एक्सप्रेस वे। अहिले त्यहाँ फेरि पानी बग्छ। यो सम्भव
भएको थियो-लगभग ९० अरब को लागतको “खोल्सी जिर्णोद्वार परियोजना” मार्फत।
परियोजनाको सँग्रालय घुमेपछि मेरो निचोड निस्कियो-यो वातावरण इन्जिनियरिङको एक ‘बेजोड
उपलब्धी’ हो।
भोलिपल्ट सम्मेलनमा मेरो प्रस्तुती थियो।
त्यहाँ प्राय सबै कार्यहरु औपचारिक। परिचय गर्ने, सुन्ने अनि
सुनाउने काम हुन्छ। युधिष्ठिरको धर्म निर्वाह गर्ने हो भने मलाई लाग्छ-यी सब
यान्त्रिक काम हुन। अब यस्ता काम रोबटलाई सुम्पिदिए हुन्छ। तर के गर्ने-
जिम्मेवारी निभाउने पर्यो। मैले पलान्चोक भगवती खानेपानी योजनाका केही चुनौतिहरुको
बारेमा बोलेको थिएँ। काम सकेर आफ्नो सीटमा फर्किएँ। कसैले मसिनो स्वरमा भन्यो।
“तपाईलाई बुझ्न सजिलो होस भनेर कोरियन भाषामा
अनुवाद गर्ने काम मलाई सुम्पिएको छ।”
एकछिन त अलमल्लमा परेँ। के भन्छे यो बाला भन्ने
लाग्यो। आफ्नै अनुहार जस्तै सेतो स्वीटर लगाएकी फरासिली केटी मेरै सीटमा बस्न आई
पुगिछे। पछि कुरा बुझेँ। उसले कोरियन भाषामा प्रस्तुत गरिएका प्रवचनहरुलाई सानो
स्वरमा अँग्रेजीमा अनुवाद गर्ने भूमिका पाएकी रहिछ। अरु कसैलाई यस्तो सुविधा
दिइएको थिएन। मलाई लाग्यो-यो जिम्मेवारी दिने काम प्राध्यापक दोक्को कै हुनु पर्छ।
युवतीको विश्लेषणात्मक क्षमता, भाषाको स्पष्टता र प्रस्तुतीले मोहनी
लगायो। प्रस्तोताहरुको बीचमा मैले उसको प्रसंसा गरेँ।
“तिम्रो अनुवाद गर्ने तरिका र भाषिक क्षमता उच्च
कोटीको रहेछ।”
केमिकल इन्जिनियरिङ्मा स्नातक गर्दै रहिछ। एउटा
कोसेली यसलाई पनि दिन पाएको भए कस्तो राम्रो हुन्थ्यो। मसँग अतिरिक्त उपहार थिएन।
तर फेरि एउटा प्रत्युत्पन्न विचार पलायो। मैले डेनियल कानेम्यानको “थिङ्किग
फास्ट एण्ड स्लो” भन्ने पुस्तक सम्झिएँ। कागतमा पुस्तकको नाम
लेखेर उसलाई दिँदै भने-
“तिमीलाई म यो पुस्तक पढ्न शिफारिस गर्छु।”
उसले मेरो कोसेलीको दिल खोलेर प्रसंसा गरी।
अप्सरा मुस्कुराए जस्तै मुस्कुराई। ‘धैरै धेरै धन्यवाद’ भनी।
मलाई लाग्यो-
“यसले यो पुस्तक साँच्चै पढी भने जिन्दगी भर
मलाई सम्झन्छे।”
सम्मेलनको भोलिपल्ट प्राध्यापक दोक्कोले
रात्रीभोजको आयोजना गर्नुभयो। सोलको बीचभागमा रहेको परम्परागत कोरियन रेस्टुराँमा
म पुगेँ।
चिनियाँ प्राध्यापक झाओ दम्पती पुगिसकेका
रहेछन। केही बेरमा श्रीमती दोक्को आइपुगिन। म उनीहरुसँग गफिन थालेँ। गत वर्ष
दोक्को नेपाल आएको बेला मैले प्रयोग गरेको “फर्स्ट लेडी”
भन्ने
सम्बोधन दोक्कोलाई खुब मन परेछ। आज प्रत्यक्ष देख्न पाइयो। “कस्ती राम्री
श्रीमति पाएछ मोराले” भन्ने तहकी सुन्दरी रहिछन् दोक्कोकी जाहान। हुन
त जापानिज र कोरियन अधबैसेँहरु सकेसम्म शरीरमा एक पाउ पनि अनावश्यक मासु
थोपर्दैनन्। हाम्रो जस्तो भ्यात्ल्यक्क पेट हुँदैन। पाखुरा र तिघ्रामा अटाई नअटाई
मासुको पोको हुँदैन।
दोक्को आइपुग्यो। हाम्रो खाने काम सुरु भयो।
मेरा लागि खान बन्देज भएका परिकारको बारेमा भने। तर आपत आइलागिहाल्छ। प्राय
प्रत्येक आइटममा मेरो अखाद्य चिज कुनै न कुनै रुपमा मिसिएको हुन्छ। एउटै प्लेटमा
थुप्रेका परिकारमा पनि मैले ‘बार्ने गरेको’ पदार्थ मिसाएको
हुने। उनीहरु भने चामलबाट बियाँ निकाले जस्तो गरेर मलाई पस्किदिने। मलाई जोगिन
हम्मे हम्मे पर्यो। तर राम्रो पक्ष-यस्तो बेलामा पनि मलाई वाकवाकी लाग्दैन।
हाम्रो छलफलको केन्द्र भागमा थिए- हाम्रा
सन्तान। दोक्को दम्पतिका दुई छोरी। चिनियाँको एक छोरो। मेरा एक छोरा र एक छोरी।
हाम्रो सम्मेलन सोल नेसनल विश्वविद्यालयको एक सभागृहमा भएको थियो। कोरियाको द्रुत आर्थिक विकास हुनुमा
यो विश्वविद्यालयको ठूलो भूमिका रहेछ। अहिले बीस हजार विद्यार्थी अध्ययनरत रहेछन।
विशाल परिसर समेटेको रहेछ। छिचोल्न नै सात आठ किलोमिटरको दुरी तय गर्नु पर्ने।
दोक्कोकी ठूली छोरीको त्यसै दिन कलेजको प्रवेश परीक्षा रहेछ। संयोग पनि कस्तो !
यता मेरी छोरीको पनि त्यसै दिन प्रवेश परीक्षा थियो।
“छोरीलाई सोल नेसनल विश्वविद्यालयमा पढाउने है न
त?” चिनियाँ फर्स्ट लेडीको प्रश्न थियो।
“हाम्री छोरीले नाम निकाल्न सक्दिन। धेरै कठिन
हुन्छ त्यहाँको प्रवेश परीक्षा।” कोरियन फर्स्ट लेडीको जवाफ थियो।
मैले यस विषयमा अरुवाट पनि सुनेको थिएँ। त्यहाँ
पढ्न पाउनु भनेको ठूलो बाजी जित्नु हो। अभिभावकका लागि गर्वको कुरा हो। छोरा
छोरीको पढ्ने विधाको बारेमा हाम्रो सोचाई मिल्यो।
“विज्ञ बनाउने हो भने प्राविधिक विषय पढाउने।
उद्दमी वा व्यापारी बनाउने हो भने अर्थोक पढाउने।”
दोक्कोको भनाई अनुसार अहिले छोराछोरीलाई पढाउनु
पर्ने, अंश दिनु पर्ने र जग्गा र आवासको मूल्य आकासिएको कारणले गर्दा
कोरियामा विवाह नै नगर्ने वा एक भन्दा बढी सन्तान नजन्माउने प्रथा चलेको रहेछ।
उसले कोरियामा प्रचलित एक उखान समेत सुनायो।
“दुई छोरी हुनु सुन। एक छोरा एक छोरी चाँदी। एक
छोरी वा छोरा तामा र दुई छोरा हुनु आत्महत्या।“
रात्री भोज पछि हामी सिटीहलको छेउछाउ हुँदै ‘चेँग
जे च्योन’ खोल्सी तिर लाग्यौ। यो त नामी पर्यटकीय स्थल पो रहेछ। बगेको पानीको
छेउमा उभिएर फोटो खिच्नेहरुको भीड। हामीले पनि मौकाको फाइदा उठायौँ।
अहिले सुवर्णभूमि विमानस्थलमा बसेर लेखिरहेको
छु। अबको केही घण्टामा घर पुगिनेछ। यात्राको अन्त्य हुन लागेको छ।
“दैलोदेखि
दैलो” सम्मका गतिविधि चलचित्र झैँ मस्तिष्कमा घुम्न थाले। हिजो इन्चोनमा
घटेको बाहेक अन्य प्रसंगहरु सामान्य र सोचे जस्तै भए।
साथमा भएको सुटकेसमा सामान नअट्ने भए पछि मैले
एउटा अर्को झोलाको व्यवस्था गरेँ। तर समस्या भयो तालाको। अन्तिम खरिदमा वर्षाले
मेरो साथ दिई। हामीले रेल्वे स्टेसन वरपर चहार्यौ। तर झोलामा लगाउने ताला भने
पाइएन। यसले मलाई समस्यामा पार्ने छाँट ल्यायो। तर विमानस्थलमा त पाइएला भनेर एक
घण्टा अगावैको लिमोजिन बस समातेँ। ताला पाइयो। चेक इन लगायतका सबै काम सहजै भए। म
फेरि केही सामान खरिद गर्ने, खाजा खाने, ट्याक्सको रकम
फिर्ता गर्ने र बाँकी भएको नगदको डलर किन्ने काममा लागेँ। सबै काम सकेर बोर्डिङ
गर्ने समय भन्दा आधा घण्टा अघि गेट नम्बर ४३ मा पुगेँ। आसन जमाएँ। मोवबाइल र
कम्प्युटर खोलेँ। इन्टरनेटको मजा लिन थालेँ। बोर्डिङ्को समय २०:५५ को थियो। म एक
सुरले इन्टरनेटमा हराइरहेको थिएँ। यसो घडी हेर्छु त नौ बजिसकेको छ तर केही चाल चुल
छैन। मनमा अब भने शंका पर्यो। फेरि बोर्डिङ् पास हेर्छु त मेरो बोर्डिङ् गेट नम्बर
१२३ पो छ। म त अर्कै नम्बर हेरेर ढुक्क भएर बसेछु। मेरो सातो गयो। मिलिक्क गर्दा
ल्यापटप झोलामा हालेर दगुरेँ। जब दशा लाग्छन् राहु, केतु, उल्का
सबै खनिन्छन भने जस्तो भयो। किन भने १०० नम्बर भन्दा माथीका गेटहरु अर्को परिसरमा
थिए। यै बेलामा मेरो पूर्ब विद्यार्थी सचिनको तीन पटक फोन आयो-२१:०३, २१:०४
र २१:०८ मा। पहिलो फोन आउँदा म तेर्सो सर्ने भर्याङमा दगुर्दै थिएँ। दोस्रो आउँदा
म भूमिगत रेल चढ्नका लागि ओर्लने भर्याङमा थिएँ।र भर्याङ पनि थोरा हो र ! चार
चार वटा रहेछन्। ओर्लने र दगुर्ने क्रियालाई सकेसम्म समायोजन गरेँ। तेस्रो घण्टी
बज्दा म रेलबाट ओर्लेर फेरि भर्याङ उक्लन थालेँ। बोर्डिङ् सुरु भएको पन्ध्र मिनट
बितिसकेको थियो। म गेट नम्बर १२३ मा पुगेँ। तर दुर्भाग्य त्यहाँ कोही पनि थिएन।
मलाई लाग्यो-गेट पो बन्द भै सकेछ। एक मनले भन्यो- दुबै हात टाउकामा लगाएर बस अब।
अर्को मनले भने केही उपाय छ कि यता उता हेर्न लगायो। ठूलो भाग्य रहेछ- ढोकामा
टाँसिएको एक सूचनामा आँखा परे।
“बोर्डिङ् गेट सिफ्टेङ टु टु टु फाइभ (बोर्डिङ्
गेट २२५ मा सारिएको छ।)”
म फेरि न्वारान देखिको बल निकालेर अगाडि
दगुरेँ। थाई एयरवेजका दुई युवती परैबाट देखिए। सायद म अन्तिम यात्रु थिएँ। एउटीले
मेरो बोर्डिङ् पास मागी। मैले लामो सास फेरेँ। केही मिनटमात्र ढिला भएको भए म
बिचल्लिमा पर्थेँ। त्यसको मूल्य अथाह हुन्थ्यो। विकल्पहरु त केही निस्कन्थे होला
तर तिनको फेरसम्म पुग्न नै महाभारत हुन सक्दथ्यो। आज भने मेरो पर्खने सिद्धान्त
भडखालामा परेको थियो। मेरो पर्खाई ‘बेढंगको’ भएको थियो।
पसिना खलखली आएको थियो।
जहाजमा गएर बस्दा पनि “जहाज छुटेको भए
मेरो के हाल हुन्थ्यो” भन्ने तर्कले मनको पुरै हिस्सा ओगटेको थियो।
ठूलो संकट टरेको थियो। गहन शिक्षा पनि पाइएको थियो।
भोलिपल्ट एउटा बुद्धि पलायो। मैले भोगेको
संकटका बारेमा विमान कम्पनीलाई बताइदिने। यसैले मैले सबैभन्दा अन्तिममा ओर्लिने
बिचार गरेँ। परिचारिकासँग विषय उप्काएँ। उसले भुईँका कर्मचारीलाई भेट्ने सल्लाह
दिई। भुईँ-कर्मचारीले टर्मिनल भवनको चार तलामा अवस्थित थाई एयरवेजको कार्यालयमा
जाने सल्लाह दिई। मैले उसलाई मेरो गुनासो एउटा कागतमा लेख्न लगाएँ। उसले थाई
भाषामा सानो नोट लेखी।
चार तलाको कार्यालय अध्यागमन भन्दा बाहिर पर्ने
भएको र म ट्रान्जिटमा भएकोले जाने कुरो भएन। तर काठमाडौंमा अवतरण गर्नु भन्दा अघि
गुनासो टिपाउने नयाँ तरिका सुझ्यो। मैले परिचारकसँग एक सुझाब पत्र मागेर मेरो
गुनासो लेखेँ। व्यहोरामा अरु कथा भए पनि तर्क युक्त कुरा भने एउटा पक्कै थियो।
“गेट परिवर्तन भएको सूचना माइकमा भनिएको भए मेरो
दुर्दशा नहुन सक्दथ्यो।”
घर आइपुगेँ। मैले लेडिज पर्स दोक्कोकी फर्स्ट
लेडिलाई दिएको थिएँ। सट्टामा उनले मेरी फर्स्ट लेडीलाई पनि एक उपहार दिएकी थिइन्।
म उनको प्रतिकृया को पर्खाईमा थिएँ।
गहना राख्ने सानो सुन्दर बट्टा रहेछ।
“कस्तो राम्रो उपहार रहेछ।” श्रीमतीजीको
प्रतिकृया आयो।
“यो बट्टा त के राम्रो ! दोक्कोकी श्रीमती त
उल्काकी राम्री पो रहिछ। कस्तो भाग्यमानी रहेछ मोरो।” मैले बट्टा
उपहार दिने व्यक्ति तिर ध्यानाकर्षण गरेँ। उनको प्रतिकृया नियाल्न मन, ध्यान
र आँखा तिनै उनी तिर खन्याएँ।
“होला। त्यही भएर त उखान छ- श्रीमति अरुका
राम्रा। छोराछोरी आफ्ना। हाम्रो रुपलाई पनि मन पराउने अरुका श्रीमानहरु होलान नि।”
उनको
प्रत्युत्पन्न र सटीक विश्लेषणले मलाई झापड दियो।
म अभिव्यक्ति शून्य भएँ। खाली मुस्कुराएँ
मात्र।
नोभेम्बर १२, २०१५
कोटेश्वर, काठमाण्डौ
साभार : पहिलो पोस्ट अनलाईन पत्रिका
http://www.pahilopost.com/content/-11348.html
No comments:
Post a Comment