Thursday, March 17, 2016

जन्मदिनको प्रसाद

यो हप्ता मेरो मन मष्तिस्क अधिकाँश समय एउटै विषयले भरिए । त्यो थियो-प्रियजनका शुभकामना सन्देश । तीन दिनको अन्तरालमा एक दुई गर्दै चार सय भन्दा बढी शुभकामना सन्देशहरु मेरो सँसारमा आईपुगेका थिए । यसरी सयौँको सँख्यामा प्राप्त भएका सन्देशको विषय थियो मेरो ५२ औ जन्मोत्सव ।

यति धेरै दिव्य आत्माहरुले एकै साथ मलाई सँझिनु भनेको चानचुने विषय थिएन । सँसारमा लगभग सात अर्ब मान्छेहरु बसोबास गर्छन् । औसत हिसाबले ३६५ मध्ये कुनै पनि दिनमा दुई करोड चानचुनको जन्मोत्सव पर्छ । मैले यो धरतीमा अवतरण गरी श्वास फेर्न शुरु गरेको दिन अर्थात फागुन ११ (फेब्रुअरी २४) गते पनि पृथक हुन सक्दैन् । अहिले जिवित रहेका लाखौ व्यक्तिले यही दिनमा जन्म लिएका हुनु पर्छ । यसकारण यस दिनमा लाखौ जन्मोत्सव मनाईनु स्वभाविकै हो । त्यसैले कुनै आत्माको रोजाईमा नवराजको जन्मोत्सव पर्नु मेरो शौभाग्य हो । यसकारण मेरो लागि त्यो दिव्य आत्मा हो । फागुन ११ गते अनि नवराज को व्यक्तित्वले एक साथ कसैको मनमा महत्वपूर्ण स्थान पाउनु भनेको नवराजका लागि विराट महत्व वोकेको विषय हो । किनभने उ एउटा सानो घेराका सिमित श्रोताको सँसार भएको व्यक्ति हो । राज नेता वा अभिनेता होईन, जसको श्रोता सँसार असिमित हुन्छ । अझ कलात्मक शब्दहरुले मेरो जन्मदिन शुशोभित भएकोमा यसलाई मैले सर्वोत्कृष्ट सम्मानको रुपमा चित्रण गरेँ । मलाई लाग्यो-मेरो श्री चुलिएर सगरमाथा भएको छ । मेरो व्यक्तित्वले ओज प्राप्त गरेको छ । मेरो कद स्वाट्टै बढेको छ ।

महाकवि लक्ष्मिप्रसाद देवकोटाले लेखेका छन्-
"त्यही स्वर्ग हो, जहाँ निर्मल आत्माहरु सानिध्यमा बास पाँउछन् ।"

महाकविले भने झै दिव्य आत्माहरुको शुभकामनाले घेरिँदा मैले पनि स्वर्गकै आनन्दको अनुभूति गरेँ ।  मेरो सँसारमा आईपुगेका ती ओजस्वी शब्दहरुलाई पटक पटक पढेँ । अभिव्यक्त भावलाई शूक्ष्म दृष्टिले नियालेँ । तिनको रुप र सारको विश्लेषण गरेँ । रोचक कुरा-तिनमा उल्लेखनीय विविधता पाईयो । ईन्द्रधनुषमा रँगको वर्णक्रम भए जस्तो । कुनै सन्देश एक शब्दमा सिमित थिए । कुनै मझौला त कुनैले भने अनुच्छेदको पहाड नै बोकेका थिए । केही सन्देश भने विशेष तस्बीरमा गहन अर्थ वोकेका वाक्य कुँदेर वनाईएका थिए । एउटै उमेरका फुल बगैचामा एकै दिन फुले जस्तो अधिकाँश सन्देश फेसबुकको टाईमलाईनमा उदाए । कति मेसेन्जरमा अरुले भेउ नपाउने गरी आए । कति ईमेल मार्फत आए । केही सन्देश मौखिक रुपमा पनि आए । अधिकाँश अँग्रेजी भाषामा लेखिएका थिए । तर केही नेपालीमा त केहीले सँस्कृतका ओजस्वी श्र्लोक समेत वोकेका थिए । यी सन्देश उदगम भएका स्थानको भूगोलले पनि हुन सक्ने सम्मको वर्णक्रम वनाएको पाईयो । एकातिर यी सन्देशहरु पठाउने दिव्य आत्माहरुको बसोबासको क्षेत्र पुर्वमा आसाम देखि नेपालका अधिकाँश भू-भाग समेट्दै पश्चिममा भारतको मुम्बाई सम्म फैलिएको पाईयो। अर्कातिर राष्ट्रको हकमा यो फैलावटले बँगालादेश, थाईल्याण्ड, ब्रुनाई, जापान, अष्ट्रेलिया, अमेरिका, ओमान, जर्मनी हुँदै स्वीडेन सम्म समेटेको थियो ।   

चिठ्ठाको बाकसवाट एउटा नम्बर झिकेर विजेता छान्ने शैलीमा मैले एउटा शुभकामना सन्देशलाई समूहवाट छुट्ट्याएँ ।  
जन्मदिनको शुभकामना, मित्र !”

यी तीन शब्दहरुले आत्मियताको अनमोल भाव सिर्जना गरेको अनुभूति भयो । अन्य सन्देशहरुमा अगाडिका दुई शब्द उही थिए । तर अन्तिमको मित्रशब्दलाई भने अन्य सर्वनामले विस्थापन गरेका थिए । ती सर्वनामले अझ रोचक वर्णक्रम बनाएका थिए । मित्रको वर्णक्रममा एकातिर प्रियतम, बाबा, दाई, भाई, अँकल, नाती, मामा, भान्जा, भतिज, ब्रदर, दाजु, दादा र ज्वाई साहेव थिए भने अर्कोतिर सर, गुरु, नवराजजी, नेपाल नरेश, डा. खतिवडा, डा. साहेब, बन्धु र मेरो साथी आदि थिए । यसरी ती सन्देशका सर्जकहरुमा मेरा परिवारजन देखि लिएर नातेदार, विद्यालय देखि विश्वविद्यालय सम्मका सहपाठीहरु, विगत तीन दशकको कर्म यात्रामा भेटिएका सहकर्मीहरु र मेरो सदैव भलो चिताउने शुभचिन्तकहरु थिए । मलाई सन्देश पठाउने चार सय प्रियजनहरु मध्ये कतिपय सँग मेरो एक पटक पनि देखभेट भएको छैन । केही सँग एक दुई पटक मात्र कतै भएको होला । तर त्यही छोटो भेट पनि शुभकामनाको बृक्ष वनेर उदाउनु मेरो खुशीको तलाउमा अर्को नदी मिसिनु बराबर थियो ।        

सन्देशहरुको थुप्रो उधिन्दा केही मौलिक भाव प्रकट भएका सन्देशहरु पनि पाईए । त्यस मध्ये दीक्षा चुँडालले यस्तो लेखेकी रहीछन्-

जन्मदिनको शुभकामना अङ्कल, म हजुरलाई राम्ररी त चिन्दिन । तर हजुरसँग एकचोटी बोल्दा नै कोही आफ्नो (मान्छे) सँग बोले झैँ लागेको थियो । त्यसदिन एकदमै खुशी लागेको थियो । भगवानको हजुरलाई आशिष लागोस ।
दिव्य शक्तिको प्रभाव नपरि शायद यस्तो हुँदैन । अपरिचित सँग पहिलो पटक बोल्नु अनि त्यसैमा बन्धुत्वको डोरी बाटिन शुरु हुनु । कस्तो साईत ! कस्तो भाग्य ! हुन पनि हो । धेरै जना सँग यस्तै भएको छ । कुनै प्रसँगले भेट हुन्छ । कहिले कहीँ दीक्षा सँग भएको जस्तो छोटो कुराकानी मात्र हुन्छ तर आत्मियताको डोरी बाटि सकिएको हुन्छ । अनि अहिलेको फेसबुक मार्फत त्यो डोरीले दीर्घ जीवन प्राप्त गरिहाल्छ ।  

अमेरिकामा पढ्दै गरेकी रुबीले लेखिन-

"हजुरलाई सँझने जन्मदिन भन्दा अर्को राम्रो दिन के होला र ? म अहिले अरिजोना स्टेट विश्वविद्यालयमा स्नातकोत्तर गर्दैछु । स्नातक तहमा गरे जस्तै शोध पनि गर्दैछु । हजुरले हामीलाई एकल प्रोजेक्ट गर्न लगाउँदा हामी सबै दु:खी भएको मलाई सम्झना छ । तर त्यो किन गराउनु भएको रहेछ भनेर अहिले बुझेँ । हामीलाई अझ शशक्त वनाउन हजुरले गर्नु भएको योगदानको म मुक्त कण्ठले प्रशँशा गर्दछु । जन्मदिनको शुभकामना।"   

अर्की पूर्ब विद्यार्थी बबिनाले क्यानाडाबाट लेखिन-

मैले प्राध्यापकको रुपमा चिन्ने मौका पाएको एक अद्वित्तिय व्यक्तित्वलाई जन्मदिनको शुभकामना । हजुर, कक्षाकोठा भन्दा वाहिर पनि एक प्रेरणादायी व्यक्तिको रुपमा रहनु भएको छ । मैले हजुरबाट धेरै सिकेकी छु । सँधै स्वस्थ्य र खुशी रहनु होला ।

कतिपय विद्यार्थीलाई आफूलाई पढाएको शिक्षकको नाम समेत थाहा हुँदैन । आफूले अध्यापन गराएका कुनै पनि विद्यार्थीको पनि नाम नसम्झिने शिक्षकहरु समेत मैले पाएको छु । मैले पाएका कक्षा कोठा वा वाहिरका परिवेश पनि यस्तै हुन । तर कसैले मेरो कर्मपथको प्रशँशा गर्नु र त्यसवाट केही टिप्नु अवश्य नै विशाल महत्वको विषय हो । रुबी र बबिनाले मलाई जुन सम्मान दिएकी छन, त्यो अत्यन्तै विराट छ । शायद एउटा शिक्षकको कर्म-भवनमा यो भन्दा माथीको अर्को तला हुँदैन । यो भन्दा विशिष्ट अर्को सम्मान हुँदैन ।   
कलेज पढ्दाको साथी प्रभाले लेखिन्-

जन्मदिनको शुभकामना नवराजजी । प्रत्येकदिन आनन्दका क्षणहरुले भरिउन । म तपाईका जीवन भोगाईका ती क्षणहरुको बारेमा लेखिएका तपाईँका विचार पढ्ने आशा गर्दछु ।

प्रभासँग पहिलो भेट भएको तीन दशक भन्दा बढि भएको छ । कलेजमा हामीले दुई बर्ष चानचुन सँगै विताएका थियौ ।  विगत पाँच बर्षमा मैले फेसबुकमा निकै लेखेँ । मेरो लेखाईको वारेमा प्रशँसा गर्दै कलेज पढ्दाकी सखाको प्रेरणादायी सन्देश पढ्दा हर्षले मेरो मन उम्लियो ।

पृष्टभूमीमा गुरुस्तोत्रको भुमिका राखेर सुपुत्र सिरिनले लेख्यो-
जीवनका हरेक पाईलामा प्रेरणा प्रदान गरेकोमा म कृतज्ञ छु । म उभिएकै कित्तामा उभिएर मलाई आँट भरोसा दिनु भएकोमा धन्यवाद छ । म अहिले जहाँ छु तपाई विना त्यहाँ पुग्न किमार्थ सक्ने थिईन । प्रत्येक बच्चाले कल्पना गरेको नमूना बुबा तपाई जस्तै हो । जन्मदिनको शुभकामना छ । विगतका जन्मदिनले ल्याएको भन्दा अधिक खुशी र एश्वर्य यो जन्मदिनले ल्याओस ।

शँकर कोईरालाले भनेका छन्-

प्रत्येक मान्छेमा भएको एउटा गुण के हो भने उसँग केही अवगुण हुन्छ । 

सिरिनले भने जस्तो बाबु हुनुको यति ठूलो अभिभारा मैले वहन गरेको जस्तो लाग्दैन । नमूना बाबुको पगरी गुथ्नका लागि मलाईभन्दा शायद अरु नै विशिष्ट बाबुहरु लाई सुहाउला । मैले त खाली मलाई विधाताले सुम्पिएको भूमिका मात्र निर्वाह गरेको हुँ । 

यसैले मेरा पुत्र लगायत हाम्रो कालखण्डका युवा पुस्तालाई यस्तो दिन मन लाग्छ-

शँकरले भनेजस्तो अरु जस्तै म पनि केही न केही अवगुणको मुहान पनि हुँ । यसैले महान त तिमी हौ जसले म सँग भएका अवगुणहरु लिएनौ । सतगुण मात्र लियौ । म तिम्रो त्यो सतचरित्रलाई नमन गर्छु । तिम्रो निर्णायक क्षमताको प्रशँशा गर्छु । जसले राजहँशले जस्तो पानी र दुध छुट्ट्याउन सक्यो । मौरीले जस्तो फूलको रस र प्रदुषित ढल छुट्ट्याउन सक्यो । म भित्र त खलनायक तत्वहरुको पनि बाक्लै उपस्थिति छ । तर तिमीले त्यसलाई पाखा लगायौ । आफूलाई चाहिने मात्र लियौ ।

गुरु हरिकृष्ण खतिवडाले अथर्ववेदकै श्र्लोक उद्धृत गरी आशिर्वचन दिनु भयो-

'आफ्नो जीवनलाई उत्तम र उत्कृष्ट बनाउ, बललाई श्रेष्ठ बनाउ, कार्य पनि उत्तम गर, कर्तव्यलाई पनि उत्कृष्ट बनाउ, बुद्धिलाई तिक्ष्ण तुल्याउ र ईन्द्रिय सामर्थ्यलाई बढाउ। आत्मनिरीक्षणको यो उदात्त प्रेरणा नै जन्मदिनको शुभकामना ।"

मामा लीला उदासीले लेख्नु भयो-
जन्मदिनको शुभकामना, आगत सुखद रहोस्, प्रगतिको रहोस्, सफलताले शिखर टेक्ने समय होस् ।

थाईल्याण्डबाट प्राध्यापक भिसुका यस्ता प्रेरणादायी शब्द आए-

यो दिनले धेरै खुशीको प्रतिफल प्रदान गरोस । तिमी पनि मेरै उमेर तिर ढल्केको चाल पाँए । जीवन रमाईलो वितोस । अरुलाई मदत गर्ने कामलाई निरन्तरता दिनु । यो नै जीवनलाई खुशी बनाउने उत्तमा उपाय हो ।  

दिव्य शक्तिका श्रोत अष्टचिरन्जिवीको प्रार्थाना मन्त्र समेटेर ज्योति दाहालजीले शुभकामना सन्देश पनि प्राप्त भयो ।

सम्मान तिन किसिमको हुन्छ अरे । भारतका एक प्राध्यापकको एक लेखमा केही समय अघि पढेको थिँए । पहिलो-जन्मदै लिएर आएको सम्मान । दोस्रो-जीवनकालमा आर्जन गरेको सम्मान । तेस्रो-अरुका कारणले सिर्जित सम्मान । म तेस्रो वर्गमा पर्छु । किनभने एक त यसमा प्रतिस्पर्धा धेरै कम छ । अर्को यस दावीलाई प्रमाणित गर्नका लागि मेरो उत्तरोत्तर प्रगतिका लागि सम्प्रेषण गरिएका शुभकामना सन्देश दिने  मेरा आफन्त, मेरा अग्रज र मैले सेवा गर्ने मौका पाएका मेरा विद्यार्थीहरुको प्रसिद्धिलाई नियाले हुन्छ । वहाँहरु यति शशक्त भूमिकामा हुनुहुन्छ कि वहाँहरुको पाथी भरिएर बिटमाथीबाट पोखिएको लोकप्रियता मलाई पनि प्राप्त हुन्छ । यसले मेरो श्री अलौकिक हुन पुग्छ ।  यसर्थ मैले तेस्रो किसिमको सम्मान प्राप्त गर्ने कारण मेरा प्रियजनहरुको मौलिक उपलब्धि र लोकप्रियता नै हो ।

अनि मान्छेहरु मलाई भेट्दा सुनाउँछन ।
तपाईँको फलानो आफन्तले सम्मान पदक पाएछन ।
तपाईँको भाई सर्वोत्कृष्ट भएछ ।
तपाईँको मिल्ने साथीका श्रोता सँख्याले करोड नाघेछ ।
तपाईको सहकर्मीले बर्षको विशिष्ट कर्मचारीको उपाधि पाएछन
तपाईँको ढिस्कानो विद्यार्थीले स्वर्ण पदक प्राप्त गरिछिन ।
तपाईको प्रशिक्षार्थी अन्तर्वार्तामा उत्तिर्ण भयो ।

मैले सोद्धै नसोधि लोकले मलाई सुनाउँछ । मैले नहेरे पनि लोकले मलाई त्यस तर्फ ध्यानाकर्षण गराउँछ । कोही तेस्रो व्यक्ति मलाई मेरो प्रियजनको खबर सुनाँउन आतुर हुन्छ । मलाई भेट्ना साथ उ न त मेरो  कुरा गर्छ । न त उसको आफ्नै । म चकित हुन्छु- एकाएक त्यो म सँग जोडिएको व्यक्तिको कुरा सुरु गर्छ जो सम्मानित भएको छ । जो आदर्शवान छ । सतगुणी छ । जसले समाजमा केही योगदान दिएको छ । मेरो अनुहार देख्नासाथ उसलाई सम्झनु भनेको चानचुने कुरा हैन । यो त त्यो व्यक्तिको प्रसिद्धि या उसको श्री को कारणले गर्दा हो । उसको सुवासको कारणले गर्दा हो । उसको सेवाको कारणले गर्दा हो । मेरो दावी प्रमाणित हुन्छ । मेरा प्रियजनहरुलाई ओढाईएको सम्मानको दोसल्लाको सुवासले मलाई सम्मानित गर्छ । यसकारण मेरा चिनजानका व्यक्तिहरुको प्रसिद्धिको कारणले सम्मानित हुने सबैभन्दा भाग्यमानी व्यक्ति म हुँ । यसर्थ म आल्हादित हुन्छु । गर्व गर्छु । लुँडो खेलको गोटि भरेङ्को फेदमा आईपुग्दा लामो भरेङ् एकै फटकामा उक्ले जस्तो म पनि खुशीले भुँईचट्टान बाट एकै चोटि शिखरमा हुत्तिन्छु । तृप्त हुन्छु । अनि ठान्छु-मेरो जीवन सफल भएको छ ।
मेरा प्रियजनलाई भन्न मन लाग्छ- म त एक फलामको टुक्रो मात्र हुँ । चुम्बकत्व त तिमी सँग छ । जसले म मा अन्तरनिहित सतचरित्रका अँशहरुलाई तानेर लैजान्छ ।

कसैले लेखेका छन् ।
म गुरु हुँ किनभने तिनीहरु मेरा शिष्य हुन ।
म यो उक्तिमा अन्तर्निहित दायरालाई मेरै किसिमले फराकिलो बनाउँन चाहन्छु ।  
म एक शौभाग्यशाली व्यक्ति हुँ किनभने तपाईँहरु जस्ता दिव्य आत्माहरुले मलाई प्रियजनको सँज्ञा दिनु भएको छ। जन्मदिनको शुभकामना दिनु भएको छ ।

"मलाई जन्मदिनको शुभकामना दिनुहुने सबै प्रियजनलाई साधुवाद ।"

फागुन १८, २०७२
कोटेश्वर, काठमाण्डौ 
साभार: 
हाम्रो पात्रो (hamropatro.com) 
सूचना / ब्लग सेक्सन 

4 comments:

  1. अत्युत्तम लेख भर्खरै पढेर सकें । अद्भुत रहेछ हजुर।

    ReplyDelete
  2. बडो सुन्दर भाव व्यक्त गर्नु भएकोमा खुशी लाग्यो ।

    ReplyDelete
  3. सुन्दर उद्गार सुन्दर मान्छेको ! यही टीप्पणीले देखाउँछ सरको जीवन कति सार्थक छ भनेर । अझै सार्थक बन्दै जावस् - यो अनुपम जीवन। शुभ जन्मदिन।

    ReplyDelete
  4. सत्यनिष्ठ नवराज सरको जीवन सफल बनेछ,खुसी नै लाग्यो।
    साधुवाद जीवन सफल बनाउन सक्नु भएकोमा।
    लेखको प्राञ्जल भाषाशैली र पहाडी खोल्सी जस्तो कलुलुलु बग्नसक्ने भावप्रवाह साँच्चिकै इर्ष्यायोग्य छ।

    ReplyDelete