बेलुकी ६ बजे कलंकी आइपुग्ने उर्दी थियो
सूचनाजी को । उहाँको नाम सुलोचना भएता पनि सूर्यमान सर र मैंले उहाँको नामलाई एक
अक्षरले छोट्ट्याउने निधो गरेका थियौँं । किनभने उहाँले हाम्रो भुवनेश्वरको
यात्राको व्यवस्थापन विभाग सम्भाल्नु भएको थियो । बस र रेलको टिकट आरक्षण गर्ने र
त्यस सम्बन्धित सूचना उपलब्ध गराउने कामको जिम्मा सुलोचनाजीले लिनु भएकाले सूचना
नाम राख्यौं ।
हाम्रो यात्रा आरम्भ हुने दिन फागु पूर्णिमा
परेको थियो । होली मनाउने चक्करमा मेरो कार ग्यारेजवाट निकाल्नै नमिल्ने गरि कुनै
वरिष्ठ महानुभावले आफ्नो गाडी थन्क्याई दिएकोले घरबाट निस्कने बेलामा समस्या
उब्जियो । तर चाड पर्वको दिन भएता पनि ट्याक्सी सहजै फेला परेकोले एक निकासको सहजै
विकास भयो । सूर्यमान सरलाई ग्वार्कोमा टिपेर कलकीँ पुग्दा घडिको सूईले ६ बजाएकै
थिएन । सूचनाजीले तोकेको समयसीमा अगावै गन्तव्यमा पुगेकोमा हामी दङ्ग थियौं ।
भारतको उडिसा राज्यको भुवनेश्वरमा सम्पन्न हुन
लागेको रोटरी क्लबको कार्यशाला गोष्ठीमा सहभागी हुने १६ जनाको टोली सडक र रेलमार्ग
भएर जाने तय भएको थियो । सूचनाजीले पानस यातायात बसको टिकट मिलाउनु भएको रहेछ । तर
बसको सिटमा बस्दा बस्दै नेपालमा यात्रुलाई दिईने गुणस्तरीय सेवा सुविधाको पद्धतिको
विकास अझै भैनसकेको भान हुने प्रसंग सिर्जना भयो ।
हाम्रो लागि आरक्षण गरिएका केही सिट अरु
यात्रुलाई नै बेचिएका रहेछन । सूचनाजीले न्यायालयमा वकिलले गरे जस्तो बहस गर्न
थाल्नु भयो । टिकट उपलब्धकर्तालाई सर्त मिचिएको, बोली फेरिएको र
अन्याय गरिएको आदी तर्क मिसाएर नम्र गाली, उच्च स्वरमा प्रस्तुत गर्दा पनि उ एक
कानले सुनेर अर्को कानले उडाउथ्यो । आखिर अलिकति त्याग गरेर भए पनि उहाँले गतिलै
सिट मिलाएरै छोड्नु भयो । सूचनाजीको अडान लिने र तर्क गर्ने क्षमताको हामीले मुक्त
कण्ठले प्रशंसा गर्यौ ।
सिटमा अलिकति किचकिच परे ता पनि बसका अन्य
सुविधाहरु भने प्रशंसनीय थिए । मिनिरल वाटर र दालका प्याकेटहरु बाँडिए । ४२ ईन्चको
टिभी स्क्रिनमा चलचित्र देखाइयो । ठाँउ ठाँउमा शौच गर्न बस रोकियो । सिट भन्दा बढि
यात्रु राखिएन यस्तै थियो यात्रा ।
पूर्वान्हको साढे एक बजे हेटौंडा नजिकको
मनहरीमा बसले छोटो विश्राम लियो । ओर्लेर हेर्छु त चिया पिउनेको लर्को । अर्को एक
बस पनि सँगै रोकिएको रहेछ । यात्राको आरम्भमा सूर्यमान सरले पाब्लो नेरुदाले
लेख्नु भएको एउटा महत्वपूर्ण कविता अंश सुनाउनु भएको थियो ।
तिमी
विस्तारै मर्न सुरु गर्दछौ
यदि
तिमी यात्रा गर्दैनौ
पढ्दैनौ
जीवनका
आवाज सुन्दैनौ
आफूले
आफूलाई प्रशंसा गर्दैनौ
तिमी
विस्तारै मर्न शुरु गर्दछौ
यदि
तिमी लुगाको रगं फेर्दैनौ
अपरिचितहरु
सँग बोल्दैनौ
कुनै
सपनाको पछि पनि लाग्दैनौ, र
अरुले
दिएको एकाध सल्लाहा पन्छाउन सक्दैनौ ।
कविताको मर्म यही यात्रामा चरितार्थ हुने प्रवल
सम्भावना थियो । किनभने यो यात्राका एक सारथी हुनुहुन्थ्यो सूर्य सर । मेरा लागि
उहाँ बाहेक अधिकांश सहयात्रीहरु अपरिचित थिए । उहाँसँग हिड्नुको रमाईलो यही छ । म
ठोकुवा गर्छु सूर्यमान शाक्यसँग प्रत्युत्पन्न बुद्धिको खानी छ । जस्तो सुकै
परिवेशमा पनि हास्य भाव सिर्जना गर्न सक्ने । जसलाई पनि भक्कानो फुट्ने गरी हँसाउन
सक्ने ।
हामी चियाको चुस्की लिन थाल्यौ ।
'दमकलको फोन नम्बर राखेको छ ?' सूर्य
सरको कडा स्नायू मिश्रित ठूलो स्वरको बोली सुनियो ।
'किन चाहियो र हजुर दमकलको नम्बर ?' चिया
साहुनीको आसनमा विराजमान भएकी अधवैसेँ महिलाले प्रत्युत्तर दिइन । सबैले
आश्चर्यचकित मुद्रामा रंगमञ्चको केन्द्रमा उभिएको नायकलाई हेर्न थाले ।
'यत्रो ठूलो आगोमा चुरोट सल्काउँदा मेरो जुँगामा
डढेलो लाग्यो भने तपाईँहरुले निभाउन सक्नुहुन्छ ?' हाँसोको
ज्वालामुखी नै बिस्फोट भयो ।
उहाँले साहुनीसँग सलाई माग्नु भएको रहेछ ।
साहुनीले सखुवाका दाउराले हुर्र हुरी दन्किरहेको बडेमानको आगो तिर देखाईदिईछन् ।
त्यही विषयलाई जोडेर जुँगाको डढेलो शीर्षकमा अविस्मरणीय प्रसंग सिर्जना भएको थियो
।
विहान तीन बजे वीरगन्ज पूगियो । अब केही घण्टा
आराम गर्ने निधो भयो । सूचनाजीको अलावा हाम्रो टोलीमा विनिताजी पनि हुनुहुन्थ्यो ।
उहाँलाई भने हामीले शिष्टाचार महापालको पगरी गुथाउन अबेर गरेनौं। उनको चिटक्क
परेको जीउडाल, हँसिलो चेहरा र आकर्षक व्यक्तित्वले हाम्रो
यात्राको नायकत्व उत्कर्षमा पुगेको भान हुन्थ्यो ।
"ल त्यो होटेलमा कोठा पाईएको छ । चार चार जनाको
समूहले एउटा कोठा लिनु होला ।" शिष्टाचार महापालको आदेश आयो । हामी निन्द्रा र
थकाईले चुर भैसकेका थियौ । लडाईमा जर्नेलले दिएको आदेश जवानले तुरुन्त पालना
गरेझैँ हामी पनि आफ्ना झिटिगुन्टा सम्हालेर कोठातिर लम्कियौं ।
सूर्य सर, प्रल्हादजी,
सुशीलजी
र म गरि चार जनाको समूह एक कोठामा भेला भयौ । सुशीलजी पल्टिनु भयो । बाँकी
तीनजनाले भने गफ गर्न आरम्भ गर्यौ । एकाएक हामीसँग मिसिने ध्येय राखेर एक अर्को
साथी हाम्रो कोठामा छिर्नुभयो । हाम्रो अनुहारमा आश्चर्यका धर्का कोरिए । दाल मे
कुछ काला है भन्ने उखान सम्झिन बाध्य भयौ । यो शिष्टाचार महापालको आदेशको ठाडो
उलङ्घन थियो । हाम्रो कोठामा छिर्ने पाँचौ व्यक्ति हुनुहुँदो रहेछ अर्का मृदुभाषी
मित्र मोहन कार्की ।
'हिसाब नै मिलेन । हामी पाँचजना यो कोठामा बस्नु
पर्ने भयो ।' मोहनजीले गुनासो भावमा कारण प्रस्तुत गर्नु भयो
।
'किन हिसाब मिलेन ?' मैंले प्रश्न
राखेँ ।
'हामी जम्मा १६ जना छौँ । आठ पुरुष र आठ महिला ।
चार चार जनाको दरले चार वटा कोठामा बस्न मिल्नु पर्ने ।' प्रल्हादजीको
तर्क थियो ।
मलाई भने मेरा एक अनन्य मित्र कोमल धमलाले
भनेको एक सुत्र वाक्यको स्मरण भयो । एक आपसमा चिनजान नभएका एक जोडी वयस्क पुरुष र
स्त्रीले सँगै रात विताउँदा निम्नानुसार भए बात लाग्दैन कुनै गोष्ठी जस्तो
कार्यक्रम भए उनीहरु अलग अलग कोठामा बस्न सक्छन । दुवै कुनै अभियानका सारथी भए र
आवश्यक परेमा एउटै कोठामा दुई अलग अलग खाटमा सुतेर रात विताउन सक्छन् । तर यदि
युद्ध वा विपद जस्तो भयाभयको स्थिती भएमा उनीहरु एउटै खाटमासमेत सुत्न सक्छन्
।
तर हिसाब नमिलेको कारण मर्यादा पालकसँग भेट
नहुन्जेल प्रष्ट हुने सम्भावना थिएन । भोलिपल्ट चिया खाने बेलामा प्रल्हादजीले
हिसाब नमिलेको कारण पत्ता लगाई छोड्नुभयो । काले काले मिलेर खाँउ भाले भने जस्तो
जोडी जोडी मिलेर मोहनजीलाई बिजोडी पारेछन् । प्रल्हादजीले स्पष्ट पार्नु भयो ।
हाम्रो समूहमा तीन दम्पती पनि रहेछन् । दुई
दम्पतीले एउटा सिँगै कोठा लिएछन् । अर्को एक दम्पतीले एउटा । यसरी पाँच पुरुष र
पाँच महिलाको समूह वन्न पुगेछ र शिष्टाचार महापालको सोझो गणित खोलै खोला गएछ ।
मैंले रमाईलो थपेँ 'यस्तै गोलमाल
हुन्छ भनेर हामीले ईन्जिन मात्र लिएर हिँडेका हौँ । हाम्रा त डिब्बा घरमै छन् । के
सम्झिनु भएको छ र..'
'हाम्रा पनि डिब्बा घरमा छन । ईन्जिन तपाईको अघि
छ ।' विनिताजीले थप्नु भयो । अहिलेको जमानामा आखिर को भन्दा को कम हुन्छ र ।
यसपटक लुगा मिलाउँदा टाई राख्न विर्सेछु । यो
यात्रालाई व्यवस्थित बनाउन खटिनु भएका केन्द्रिय सूचना प्रमुख राजीब पोखरेलजीको
दौरा सुरुवालको उर्दी भने मैंले पूर्ण
रुपले पालना गरेको थिएँ । मैंले दुईजोर दौरा सुरुवाल, एउटा कोट,
एक
जोर सुट र तीनवटा ढाका टोपी बोकेको थिएँ । घरमा उपहार पाएका ढाका टोपीको खात
लागेको थियो । तर सबै टोपी मेरो टाउको मा नछिर्ने । यसैले केही दिन अघि नेपाल
विकास अनुसन्धानका कार्यालय सहयोगी कृष्ण कार्कीलाई मैंले दुईवटा नयाँ टोपी साट्न
पठाएको थिएँ ।
मंगलबजार जानु । सकेसम्म साटेर एक साईज ठूलो
ल्याउनु । साट्न नसके एउटा नयाँ किन्नु ।
कृष्णलाई काम मात्र दिनु पर्छ । जे पनि फत्ते
हुन्छ । संभवत यति निपुण कार्यालय सहयोगी विरलै पाईन्छन् होला । आखिर कृष्णले
टोपी साटेर ल्याई छाड्यो । भुवनेश्वरको सम्मेलनमा म यी दुई टोपीको उद्घाटन गर्ने
योजनामा थिएँ । तर टाई विर्सेकोमा थक्क थक्क लागेको थियो । एक मनले भन्यो आखिर सुट
लगाउने सम्मेलनको दोस्रो दिन हो भुवनेश्वरमानै किने त भै हाल्छ नि ।
चिन्ता नलिनुस । मैंले दुई वटा ल्याएको छु ।
काम चलाउला । सूर्य सरले उपाय निकाल्नुभयो ।
टाईको कुरा निस्के पछि वहाँले व्युनस आयर्स
जाँदाको एउटा प्रसँग सुनाउनु भयो । करिब दुई दशक अघि वहाँ एक शिष्टमण्डलको सहभागी
भएर अर्जेन्टिनाको राजधानी पुग्नु भएको रहेछ ।
शिष्टमण्डलका नाईके एक सहायक मन्त्री रहेछन । सम्मेलनको मूल समारोहमा
सहभागी हुन जानुअघि मन्त्री महोदयले बास बसेको होटल कै अर्को कोठावाट सूर्य सरलाई
फोन गरेछन् ।
"शाक्यजी मलाई एउटा कन्ठ लगौटी चाहियो ।"
सूर्य सरले टाई पठाईदिनु भएछ । माननीयले फेरि
फोन गरेछन् ।
"शाक्यजी
तपाईले किन कुरो नबुझेको । कन्ठ लगौटीको गाँठो नपारी पठाईदिनु भयो । गाँठो
पार्न जानेको भए त मैंले फुल मन्त्री पड्काई हाल्थे नि .."
भोलि पल्ट विहान चार बजे हावडा स्टेशनमा
ओर्लियौ । प्लेटफर्म नं २३ को नजिकको क्लोक रुममा सामान थन्क्याएर कलकत्ताको
प्रख्यात काली मन्दिर दर्शनार्थ निस्कियौं ।
हावडाबाट मन्दिर जाने सिधा बस सेवा रहेछ ।
बिचमा र अगाडि ढोका भएको ठूलो बस । प्लास्टिकका सिट । उभिएकाले समात्ने डण्डी र
लोतीको व्यवस्था । मलाई भने जापानमा गरिएका बस यात्राहरु ताजा भएर आए । हाम्रा
नेपालका शहरी क्षेत्रमा सेवा दिने बसमा भने लोती को त कुरै छोडौं समात्ने डण्डी
समेत हुँदैन । शहरी यातायात सेवा प्रदायकले बुझ्नु पर्ने विषय यही हो । शहरमा
यात्रा गर्दा धेरै जसो यात्रुहरु केही स्टप पछि ओर्लने हुन्छन् ।
सबैजनालाई बस्नै पर्ने बाध्यता पनि हुँदैन ।
जेष्ठ नागरिक, गर्भवती र काखे नानी च्यापेकाहरु छोटो दुरीमा
यात्रा आक्कल झुक्कल मात्र गर्छन् ।
यसकारण बसभित्र राम्ररी समातेर उभिने ठाँउ भयो
भने काफी हुन्छ । गद्दावाल सिट चाहिदैन । वीचमा ढोका भयो भने यात्रु चढ्दा र
ओर्लदा अरु यात्रुलाई कम बाधा पुग्छ । यसरी एउटै बसमा धेरै यात्रुले सहज यात्रा
गर्न पाउँछन् ।
बसबाट ओर्लेर हिँड्दै थियौं। शुशीलजीले काली
मन्दिरको बारेमा सुनाउनुभयो ।
योगीको आत्मकथा भन्ने विश्व प्रसिद्ध पुस्तकमा
यो मन्दिरको बारेमा उल्लेख गरिएको छ । त्यो पुस्तकका पात्रद्वय लाहिरी महाशाय र
परम हंश स्वामीको यो मन्दिरसँग भावनात्मक सम्बन्ध जोडिएको छ ।
प्रल्हादजी अर्थात पिथ्रीले पनि एक जमानाका
नेपालका लोकप्रिय राजनीतिज्ञ जोगमेहर श्रेष्ठको बारेमा एक रोचक प्रसंग सुनाउनुभयो
। उहाँको पूरा नाम रहेछ प्रल्हादप्रसाद पराजुली । मैंले वहाँको नयाँ न्वारान
गरिदिँए, पिथ्री ।
एक पटक भाषण गर्दा जोगमेहरले भनेछन् ... 'सके
ठिटी मिलाउने हो नसके छोरी दिने हो ।'
विहानको समय भएकाले सडकमा दर्शन गर्ने मान्छे
भन्दा माग्ने धेरै थिए । हाम्रो टोली ससाना समूहमा विभाजित थियो । प्रल्हाद जीका
कुरा साह्रै मिठा थिए तर सुन्ने श्रोता हामी दुई तीन जना मात्र भयौँ । हामी दिल
खोलेर हाँस्यौ ।
नेपाली हास्यव्यँग्य साहित्यमा सूर्यबहादुर
पिवाको पनि नाम उच्चकोटीमा रहेछ । मैंले केही दिनअघि उहाँको स्वास्नीका बारेमा
लेख्ने पिवा हुँ मू भन्ने निबन्ध पढेको थिएँ । उहाँले कलास्का (स्वास्नी चाहियो)
भन्ने नेवारी शब्दलाई कलाकारसँग जोड्नु भएको छ । जोगमेहरको भाषणमा पनि त्यस्तै भएछ
। खाटी नेवारको जिब्रोलाई तू र ड भन्न महाभारत हुन्छ । उनले भन्न खोजेको यस्तो
रहेछ 'सके स्थिती मिलाउने हो नसके छोडि दिने हो ।'
कालीदेवीको मन्दिर भएको हुनाले म उच्च स्वरमा
नौरथामा चण्डी पाठ गर्दा पढिने मन्त्रहरु उच्चारण गर्न थालेँ ।
शरणागत
दिनात्रम परिताण परायणे
सर्वस्याती
हरे देवी नारायणी नमस्तुते ।
केही बर्षअघि मनकामना देवीको दर्शन गर्न जाँदा
लाममा उभिदाँ उभिदै मैंले यो दुई हरफ कण्ठस्थ गरेको थिएँ । यी लगायत अन्य केही
श्र्लोकहरु मन्दिरको पर्खालमा लेखिएको पाएको थिएँ । बडो प्रिय लाग्छन चण्डिमा
लेखिएका मन्त्रहरु । भगवतीको मन्दिरमा दर्शन गर्दा ठूलो स्वरमा मन्त्र जप्नुको
आनन्द बेग्लै छ ।
कालीमाताको दर्शन गर्दा एक रोचक घटना भयो । म
नजिकैका दर्शनार्थी र पुरोहितहरुले मजाले सुन्ने गरी मन्त्र जप्दै अघि बढ्दै थिँए
। मान्छेको घुँईचो बाक्लो थियो । म भन्दा अघिका दर्शनार्थीलाई एक पुरोहितले भनेको
सुने 'दान पेटिकामे एक सय रुपैयाँ डालना ।'
म भने हातमा दुई रुपैयाँको सिक्का बोकेर काली
माताको अघि उभिएको थिएँ । देवी देवताको दर्शन गर्ने मेरो आफ्नै शैली छ । म सिक्का
चढाउन रुचाउँछु । मन्त्र उच्चारण गर्छु । देवी देवताको अघि उभिएर मन मनमा यसो
भन्छु अहिलेसम्म मलाई जे प्राप्त भएको छ त्यसमा म खुशी छु र यसको लागि हजुर प्रति
धन्य छु ।
शायद मन्त्र जप्दै गरेकोले होला मलाई भने
अरुलाई भने जस्तो यति उतिु भनेनन् । मैंले सिक्का दान पेटिकामा खसालेँ । अरु
दर्शनार्थी भन्दा फरक भएको महशुश भयो । टिका लगाई मागेँ र कालीमाता सँग विदा
माग्दै बाहिरिएँ ।
हामीसँग हावडा भुवनेश्वरको यात्राका लागि
कोरोमण्डल एक्सप्रेसको दिउँसोको टिकट थियो । कालीमन्दिरको दर्शन पश्चात मेट्रो रेल
चढेर न्यू मार्केटको भ्रमणमा निस्केका थियौँ । तर त्यो समय हाम्रो लागि मात्र
विहान थियो । न्यू मार्केटका लागि भने मध्य रात बराबर । चहलपहल शून्य थियो ।
पसलहरु खुलेकै थिएनन । धेरै मिहिनेतका वावजुद स्वल्पहारका लागि एक रेष्टुरेन्ट
फेला पार्यौ । त्यसपछि बस चढेर सिधै हावडा स्टेशन पुग्यौ ।
हाम्रो १६ जनाको समूहमा दमौली रोटरी क्लबका ३
साथीहरु मिसिनु भएको थियो । अब हामी एक अर्कामा परिचित भैसकेका थियौँ । हाम्रा
परिचयका गाँठाहरु विस्तारै खुल्दै गए । कोरोमण्डल एक्सप्रेस र रक्सौल हावडाको
घ्याघ्याचे मिथिला एक्सप्रेसले कछुवा र खरायोको कथा स्मरण गराएका थिए ।
हावडा भुवनेश्वरको रेलयात्रामा हामीले विभिन्न
विषयमा कुराकानी गर्यौ । छोरा छोरीका, नाती नातीनाका, कलेज पढ्दाका,
आ
आफ्ना व्यावसायका, राजनीतिका र जीवन भोगका विषयहरुले हामीलाई ओघटे
। सबैभन्दा रमाईलो त हाम्रो समूहका तीन दम्पतीका व्यवहारहरु थिए । आखिर मानवीय
स्वभाव न हो अलि अलि घोचपेच त भै हाल्छ । श्रीमतिजीहरुले श्रीमानजीहरुलाई भनेको
सुनियो लौ ब्रस गरी हाल्नु । दार्ही खौरी
हाल्नु । ट्वाईलेट गै हाल्नु । हाम्रो सुटकेश एक पटक चेक गर्नु त ।
"खै
हजुरको मोबाइल हराउला नि । म राखि दिन्छु
भन्दा नमान्ने । वहाँको त कुरै नगरौ । मलाई त केही खान मन लाग्यो व्यवस्था गर्नु
आदि ।"
श्रीमानजीहरुले भनेको सुनियो- "ए ! कस्तो गरि
पल्टेको? मेरो औषधी निकाल त । सम्झाउनु पर्छ नि । मलाई कसरी सबै कुरा थाहा हुन्छ?
मैंले उनको सिट साटि दिएँ । लेडिज लेडिजसँगै भए सजिलो होला भनेर आदि ।"
मैंले सूर्य सरको यस विषयमा खुसुक्क ध्यानाकर्षण गरेँ । उहाँले भन्नुभयो 'त्यति
मात्र हो र कुन एगँलमा औषधि खाने । कति आँ
गर्ने एक चक्की औषधीलाई किन त्यत्रो पानी आम्मा मा ...'
सूचनाजी व्यवस्थापनमा मात्र होईन सेवा भावमा
समेत पोख्त हुनु हुँदो रहेछ । चिसो दुध कफी बनाएर सबैको प्यास बुझाईदिनु भयो । रेल
भित्रै दही च्युराको खाजाको व्यवस्था गर्नु भयो । तर समस्या भने प्लेटको पर्यो ।
मैंले बुद्धि निकालेँ दुई लिटरको मिनरल वाटर बोटलको पिँध काटेर कचौरा बनाउने । काम
भयो । दहि च्युरा खाँदा खाँदै मैंले प्रसंग निकाले मलाई अति मन पर्ने मोही भातको ।
अरुले पनि आफ्ना मन पर्ने खानाका प्रसंग उधिने ।
हामी राती दश बजे भुवनेश्वर पुग्यौ । होटलमा
चेक ईन गर्ने, सुटकेश कोठामा पुर्याउने, वाई
फाईको बारेमा बुझ्ने, कोठाका सुविधाले काम गर्छन गर्दैनन पत्ता
लगाउने, लुगा आईरन गर्न दिने र फ्रेस हुने काम विजुलीको गतिमा भए । मैंले
होटलको सेवा कक्षमा फोन गरेर कान सफा गर्ने ब्रस, सेम्पु आदि
मगाएँ ।
सूर्य सरले हामीलाई रेल्वे स्टेशनबाट होटल
ल्याउने गाडीको चालकसँग नजिकै रहेका रेष्टुरेन्टको बारेमा जानकारी लिनु भएछ । हामी
होटल पुगेको २०-२५ मिनटपछि नजिकैको ढाबामा पुग्यौ । हामी बलियो भाग्य लिएर त्यहाँ
पुगेका रहेछौ । ढाबा बन्द हुन लाई केही मिनट मात्र बाँकी रहेछ । परिकार प्याकिङ
मात्र हुने जानकारी पाईयो । तर त्यो भने हाम्रा लागि सुखद समाचार थियो ।
यसरी घरबाट हिँडेको तेस्रो दिनमा हामी
भुवनेश्वर पुगेका थियौ । दैलोदेखि दैलोसम्म अर्थात डोर टु डोरको हिसाबमा हामीले ५३
घण्टाको यात्रा गरेका थियौँ । तर मलाई यो यात्रा अविष्मरणीय हुनुका साथै पूर्ण पनि
लागेको थियो । किन भने सबै यात्रामा यस्तो रमाईलो उब्जदैन । रोटरी सम्मेलनको
रात्री भोजको साँस्कृतिक कार्यक्रममा प्रस्तुत गरिएको योग नृत्यको गीतको बोलले पनि
त्यही अर्थ लगाएको थियो ।
ॐ
सर्वेशाँ स्वस्तिर्भवतु । ॐ सर्वेशाँ पूर्णँभवतु ।।
अर्थात
सबैको
भलो होस । सबै कुरा पूर्ण होस ।।
मार्च
२६, २०१६
सूर्यास्ना
होटेल, भुवनेश्वर,
उडिसा
साभार : http://ujyaaloonline.com/news/56807/nawaraj-yatra/
आदरणीय टेक बहादुर कोईरालाले लेख्नु भयो ।
ReplyDeleteयात्रा होस त यस्तो !
सूचना नाम राख्यौं ।
भक्कानो फुट्ने गरी हँसाउन सक्ने ।
'दमकलको फोन नम्बर
जुँगामा डढेलो
शिष्टाचार महापालको पगरी
युद्ध वा विपद जस्तो भयाभयको स्थिती भएमा उनीहरु एउटै खाटमासमेत सुत्न सक्छन् ।
ईन्जिन मात्र लिएर हिँडेका हौँ । हाम्रा त डिब्बा घरमै छन् । \
कन्ठ लगौटी
गाँठो पार्न जानेको भए त मैंले फुल मन्त्री पड्काई हाल्थे नि ..
डण्डी र लोतीको व्यवस्था
लाहिरी महाशाय र परम हंश स्वामीको
'सके ठिटी मिलाउने हो नसके छोरी दिने हो ।'
शरणागत दिनात्रम परिताण परायणे, सर्वस्याती हरे देवी नारायणी नमस्तुते ।
मिनरल वाटर बोटलको पिँध काटेर कचौरा
दैलोदेखि दैलोसम्म
============ यस्ता शब्दावलीको श्रोत हामी पनि थाहा पाउँ न डा.साप ।