Thursday, June 9, 2016

सूर्य दर्शन र नयाँ दृष्टि




कार्तिक मसान्तको सँघार । नेपालको पुर्वी तराई । मिर्मिरे विहानले छोडेका आला पदचापहरु । म आकाशमा छु । जमिनवाट एक तला माथी । पुर्व फर्किएको छु । पद्मासनमा वसेको छु । एक तमासले प्राणायाम गरिरहेको छु । वन्द आँखा । कोही छैन वरिपरी । नितान्त एक्लो म । ध्यान छ प्रकृतिमा विद्यमान आवाजमा । यसो गर्दाको आनन्द नै अर्को छ ।

योग साधना केन्द्रमा पूर्ण ध्यानको अध्याय सकेपछि मैले धेरै जना साधक साधिकालाई यो प्रश्न सोधेको छु ।

ध्यान गर्दा प्रकृतिमा रहेको कुन कुन आवाज सुन्नु भयो त ?”

विभिन्न किसिमका उत्तर आँउछन् । केही पनि सुनिएन । कुखुरी काँ । परेवाको घुरघुर । भँगेराको चिरिविरी । मान्छे वोलेको । मन्दिरमा घण्टि वजेको । गाडिको हर्न । आदि । आँखा चिम्लेर राम्ररी सुन्ने हो भने केही न केही पक्कै सुनिन्छ । प्रकृतिमा जहिले पनि जहाँ पनि केही न केही आवाज हुन्छ । कृत्रिम आवाज उत्पन्न गर्ने साधन नभएका निर्जन ठाँउमा पनि ध्वनीका अँशहरु यथेष्ट हुन्छन् । शुन्य आवाज भएको स्थान वा समय शायद नहुँदो हो । भए पनि त्यो यो चराचर जगत भन्दा वाहिर होला । साहित्यकारको कथामा होला । वातावरण विज्ञको कल्पनामा होला । केही बर्ष अघि मेरा अनन्य मित्र डेभिड ग्रिन र म पर्सा वन्यजन्तु आरक्षमा ध्वनी मापक यन्त्र लिएर पुगेका थियौ । सडकवाट पाँच किलोमिटर जति भित्र पसेर जँगलको आवाज नापेका थियौ हामीले । सवारी साधनको आवाज नसुनिने त्यो घना जँगलमा ५५ डेसिवेल को अँक देखिएको थियो । पात वजेको वा किराहरुको बोली समेटिएको त्यो समष्टिगत रुपलाई पृष्टभूमिको आवाज भनिन्छ । जसको आधारमा कुनै स्थानमा ध्वनि प्रदुषण छ कि छैन भन्ने कुराको यकिन गरिन्छ । यसकारण ध्यान गर्दा केही पनि सुनिएन भन्नु को अर्थ साधक या सधिकाको ध्यान प्रकृतिको आवाज सुन्ने तिर भन्दा अन्यत्रै गएको ठहर्छ भन्ने मेरो बुझाई रहेको छ ।     

म आँखा खोल्छु । राम्रो उज्यालो भै सकेको छ । दृष्टि रेखामा छ छिमेकीको घर  । दुवै तिर नरिवलका रुख । नरिवलका छिमेकी छन केराका वोटहरु । नरिवलको तुलना हिम पर्वत सँग गर्ने हो भने केराको वोट हुन्छ चुरे पहाड । तर तिनको श्री आफैमा पुर्ण छ । भुँईमा शोभा दिएका छन । नरिवलको तुलनामा तिनको उपस्थिति वाक्लो छ ।  भुँईमा उभिएका लगभग एक तला को उचाईका अग्ला राता फुलका वोटले रगँमन्चमा थप शोभा दिएका छन । नरिवलका पातले आकाशमा पुन्ज वनाएका छन । छाता जस्तो आकार छ । तर उघ्रिएको छाताले अर्ध-गोला वनाउँछ भने नरिवलका पातले समग्रमा पूर्ण गोला । नरिवलका पातहरु छिद्र छिद्र परेका छन् । ती छिद्रवाट नछेकिएको आकाश देखिन्छ । सुरिलो रुखले ति पात पुन्जलाई जमिनसँग जोडेको छ । जसरी मेरो शरिरलाई घरका भित्ताहरुले धर्तिमा जोडेका छन । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जे जे सँग पनि जोडिएको छ । आकाश पनि जमिन सँग जोडिएको छ । म तपाई सँग । अनि तँपाई र म दुवै जना उ सँग । यो जोड अर्थात योगको विज्ञान पनि अचम्मको छ । सामान्य वीजगणितिय जोडमा एकमा एक जोड्दा दुई हुन्छ । एक मा एक घटाउँदा शुन्य वाँकी रहन्छ । तर गणितको क्षेत्र भन्दा वाहिर यो नियम नलाग्न सक्छ । महाकवि लक्ष्मिप्रसाद देवकोटाले पागल कवितामा यो जोड घटाउको नयाँ विज्ञान यसरी परिभाषित गरेका छन् ।

तिमी चतुर छौ वाचाल
तिम्रो शुद्ध गणित-सूत्र हरहमेशा चलिरहेको छ
मेरो गणितमा एक वाट एक झिक एकै वाँकी रहन्छ !

गणितको सिमित सँसार बुझेका सामान्य जनहरुलाई यो महाकविको परिभाषा अपत्यारिलो लाग्न सक्छ । आफ्नो दिमागको कित्ता वाहिर गएर कुनै विषयमा निचोड निकाल्नु पर्यो भने सामान्य व्यक्तिले भन्न सक्छ- यो त दैवी चमत्कार भयो वा कसैको पागलपन हो । जीवन र जगतलाई वुझ्ने विषयमा होस या विज्ञान वा अध्यात्मको वुझाईमा होस यो समस्या जो सँग पनि हुन्छ ।  यो मेरो कित्ता वाहिरको विषय हो यसैले मैले निचोड निकाल्नुको अर्थ नलाग्न सक्छभनेर कित्ताकाट गर्ने सामर्थ्य धेरै कम सँग मात्र हुन्छ ।  

अलि अलि तुवालो र चिसो को मिश्रण छ । म विस्तारै प्राणायामको धारले अघि सम्मको शारिरिक आलस्यतालाई चिर्ने प्रयास गर्छु । तर विगत केही महिनामा सँकलन भएको जडताको अँश अधिक नै छ । जडताले शरिर र मन दुवैलाई गाँजेको छ । शरिर र मनको अन्योन्याश्रित सम्बन्ध छ । मनले नमाने पछि शरिरले मान्ने कुरा भएन ।  दह भएर जमेको जडताको तुलनामा मेरो प्रयासको प्रवाह निम्छरो ठहर्छ । तर एकाएक यथास्थिति चिरिन्छ । एक किसिमको रोमान्चले मन भरिन्छ । अघि सम्मको आलस्य र स्थिरता मिसिएको परिवेशमामा एकाएक आनन्द र हर्षको वर्षा हुन्छ । पिपलको जराले चट्टान दुई फ्याक पारेको अनुभूति हुन्छ ।  मेरो वरिपरि विद्यमान परिवेशको अवस्थामा एका एक परिवर्तन आँउछ । स्थिर वातावरण एकाएक चलायामान हुन्छ । यो गतिशिलताको आगमन सँगै म भित्र आसन्न अप्रसन्नताको विलय हुन्छ । ठोस वरफलाई मुग्राले हिर्काएर फुटाएको जस्तो । म भित्र जमेको आलस्यले घनिभूत जडताको पोको पनि परिस्थितीको यो प्रहारले थिचिएर धुलोपिठो हुन्छ ।  दृष्टि रेखामा छिमेकीको घरको माथी आकाशमा गोलाकार ताप पुन्जको उदय हुन्छ । मेरो लागि त्यो आकस्मिकता । प्रकृतिको लागि त नित्य कर्म ।   सूर्योदयको चेतना मलाई नभएको होईन । तर त्यो क्षणमा मेरो ध्यान त्यस विषयमा थिएन । ध्यान गर्नेले पृष्टभमिको आवाज नसुनेको जस्तो ।

योग साधना केन्द्रमा सूर्य नमस्कार गर्नु भन्दा अघि मन्त्रोच्चारणका साथ साथै भन्ने गरिएको छ ।
हे! प्रभु ! मेरो जीवन पनि हजुरको जस्तै तेजवान होस । हरेक दिन हरेक क्षण म भित्र अन्तरनिहित अथाह उर्जालाई प्रयोग गर्न सँकु । मेरो जीवन पद्धति पनि हजुरको जस्तै अनुशासित होस । म  पनि मेरा हरेक कर्मलाई पूर्णता दिन सकुँ । तिनलाई समयको साईतमा सम्पन्न गर्न सकुँ । हरेक वर्ष, हरेक दिन र हरेक सेकेण्ड अविछिन्नता पस्कन सँकु । मेरो अन्तस्करणमा त्यो क्षमता कहिले पनि नटुटोस ।   

म पनि मन्त्र उच्चारण गर्दै सूर्य नमस्कार गर्छु । अनि म त्यो आकस्मिकतालाई परिभाषित गर्ने विशेषणहरुको गर्न खोजीमा लाग्छु ।  सहजता । शालिनता । नियमितता । जाज्वल्यमान रुप । पूर्णता । उर्जाको अथाह श्रोत । शक्तिको विराट स्वरुप । अनुशासनको अलौकिक उदाहरण । अहिले त एक टक लगाएर पनि हेर्न सकिन्छ । भक्तालुहरु खुशीले भाव व्यक्त गर्दा हुन- हो पक्कै हो । सूर्य नारायणको उदय भएको हो । आकाशमा निलो, सेतो र रातोको मिश्रण भएको पृष्टभूमि । पूर्ण गोलाकार रुप । रँग रातो । घर कै माथी । मानौ सूर्य को उदयलाई नरिवलका रुखले वाटो छोडिदिएका छन ।

जगदीश घिमिरेले लेखे-
बिहान दस मिनेट राम्ररी सूर्य नमस्कार गर्दा लगभग दिनभरिलाई पुग्ने व्यायाम हुन्छ । सूर्य नमस्कार यौगिक र गतिशिल एरोबिक व्यायामका सबै उत्कृष्ट तत्वले परिपूर्ण समग्र व्यायाम हो ।

तपस्याले या नित्य पालना गरिएको अनुशासनले जीवन सफल हुन सक्छ । नियमित साधनाले चिताएको पुग्न सक्छ । तर जगदीश घिमिरेले भनेको जस्तो कठोर अनुशासनको काम  गर्न सजिलो छैन । राम्रो वानी पार्न सहज हुँदैन । यस विषयमा अर्ति दिन सजिलो छ । पालना गर्न कठिन ।

बिपी कोईरालाले लेखेका छन्-                                         
सूर्य उदयले, गुलाफ फक्रेको कुराले पनि तपाईँलाई रिझाउन सकेन भने तपाईँको जीवनको एउटा पक्ष त सुकेको रहेछ । मरेतुल्य भएको रहेछ, तपाईँले सूर्योदयलाई राम्रो भन्न सक्नुभएन र रोमान्चित हुनुभएन भने । हो, त्यो रोमान्चकता जसले उत्पन्न गर्दछ, त्यही ठाँउमा धर्म पनि बसेको हुन्छ ।

यो अनुच्छेद उल्लेख भएको लेख उनको अन्तिम रचना रहेछ । म ईश्वरलाई कसरी बुझ्दछु ?” भन्ने प्रश्नको उत्तर दिने प्रयास गरेका रहेछन बिपीले त्यो लेखमा । क्यान्सर अस्पतालको छतमा उभिएर अर्ग दिन  सूर्योदय पर्खिएकी युवतीको भक्कानिएको मनलाई नजिकवाट नियाल्दा उनलाई त्यो अनुभूति भएछ । शायद सूर्यलाई पुकारेर उनलाई खनिएको ठूलो सँकटलाई किनारा लगाउने विचार युवतीको थियो । आपद विपदमा मान्छेले प्रयोग गर्ने अन्तिम अस्त्र हो भगवानको पुकारा। कँहि पढेको थिँए भगवानका अरु रुपलाई वाहिरी आँखाले देख्न सकिन्न तर सूर्य भगवानलाई भने जसले पनि आफ्नै वाहिरी आँखाले देख्न सक्छ । सूर्यनारायणलाई देवताका पनि देवताको रुपमा पनि लिईन्छ । जे होस तराईमा विताएको त्यो अविष्मरणिय सूर्योदयको क्षणले मेरो अन्तस्करणमा जुन सुवास फैलाईदियो त्यही अनुभुति बिपीका शब्दहरुमा पाउँदा मलाई हर्ष लागेको छ ।  साँच्चै हो सूर्योदय वा सूर्यास्त हुँदा वा फूल फूलेको देख्दा रोमान्चित नहुने मन वोकेर हिँडेको व्यक्तिको जीन्दगी आनन्दको राजमार्ग छोडेर विषादको जँगलमा भौतारिएको हुन सक्छ । ईश्वरको सिर्जनामा परेको एउटा अलौकिक वस्तु हो- ‘मान्छेको मन। सँसार यसैमा अडिएको छ । मन मा माया छ । मनमा सन्तोष छ । खुशी छ । आनन्द छ । तृष्णा छ । भोक छ । पीडा छ । कलह, ईर्स्या,  आवेग, रिस, औडाहा, हतार, ग्लानी, पश्चाताप, आग्रह, पुर्वाग्रह, कुण्ठा, नैराश्यता सबै मनमा अटाउछँ । तौलन मिल्ने हो भने मान्छेहरुले सुखका मालिकहरु लाई सोध्ने थिए होला- तिमी सँग कति टनको आनन्द छ ?” अनि दुखियाहरु उत्तर दिन्थे होला म सँग हजारौ टनको दु:ख छ । तर मनमा कति अनुभूति राख्न सकिन्छ । भौतिक रुपमा तौलिन शायदै सकिएला ।    

शास्त्रमा भनिएको रहेछ- “मनो जयति यो जयति ब्रम्हाणम् अर्थात जसले मन जित्दछ त्यसले ब्रम्हाण्ड पनि जित्न सक्छ । तर यथार्थ अर्कै छ । जित्नु त परै जावस यसलाई एक मिनट सम्म पनि स्थिर राख्न  कठिन छ । किनभने मन चन्चल छ । अस्थिर छ ।  
एकाएक असाध्य रोगवाट थलिएर जीवनाकाशको उच्चतम विन्दुबाट खसेर न्युनतम विन्दुमा पुगेका उनै जगदिश घिमिरेले लेखे-

आँखा कि अचानक प्रचण्ड अन्धकारबाट पुग्दा तिरमिराउँछन् कि प्रचण्ड उज्यालोबाट प्रचण्ड अन्धकारमा पुग्दा । म जीवनको प्रचण्ड उज्यालोवाट एकाएक प्रचण्ड अन्धकारमा पुगेको थिँए । मेरा आँखा जोडले तिरमिराएका थिए । दिव्य ज्ञानतुल्य त्यो तिरमिरिले मलाई नयाँ दृष्टि दियो ।

मान्छेले भोगेको परिवेशमा दुई किसिमका परिवर्तन हुन सक्छन् । एउटा नितान्त व्यक्तिगत हुन्छ । सोचमा परिवर्तन । आचरणमा परिवर्तन । व्यवहारमा परिवर्तन । चरित्रमा परिवर्तन । रुपको या शारिरिक अवस्थाको परिवर्तन । अर्को आफ्नो वरिपरिको वातावरणमा हुने परिवर्तन । कालखण्डको यथास्थितिमा आएको परिवर्तन । रात र दिन । हिँउद र वर्षात । घाम लागिरहेको वेला पानी पर्नु । अन्धकारलाई चिर्दै उज्यालो हुनु । जगदिश घिमिरे र विपीले औल्याएका परिवर्तन यिनै हुन । मान्छेको जीवनमा या प्रकृतिमा आउने परिवर्तन । प्रकृतिमा आउने परिवर्तन सँग मान्छेले आफ्नो जैविक या मानसिक सँयन्त्रलाई जोड्न सकंछ । त्यसावाट उर्जा लिन सक्छ । त्यसको धारले आफू भित्रको कलुषिता खुर्कन सक्छ । जडताको दहलाई छेक्ने आली भत्काउन सक्छ । विषादलाई विग्रह गर्न सक्छ । अर्थात परिवर्तन अघि र पछिको अवस्थामाको वीचको सङ्क्रमणकाललाई जसले आत्मसात गर्न सक्छ त्यसले सृष्टि गर्न सक्छ या जीवनाकाशमा परिवर्तनको अनुभूति गर्न सक्छ । जगदिश घिमिरेले उल्लेख गरेको तिरिमिरीर बिपीले देखेको रोमान्चकता यही बीचको स्थिति हो । बुझ्नेले त्यहाँ नयाँ दृष्टि पाउन सक्छ । मँसिर सँक्रान्ती-सँघारको त्यो दिनको मिर्मिरेमा सूर्योदयको अनुभूतिले मेरो जडता च्यातिएको थियो । आलस्यताको पोको फुटेको थियो । त्यहाँ मैले यो लेखलेख्ने दृष्टि पाएको थिँए ।    

माथी उल्लेखित बिपीको लेखमा उनले ईश्वर सम्बन्धि गहन विचार उल्लेख गरेका छन । क्यान्सर अस्पतालको छतमा भेटिएकी युवतीको पुकारा सुनेर ईश्वरले उनलाई केही सहयोग गर्लान भन्ने कुरामा बिपीलाई विश्वास थिएन । किनभने उनले लेखे- अधबैँसे थिई, त्यसै हुनाले आफ्ना दुलाहाका लागि होला वा छोरा वा छोरीका लागि होला, ऊ प्रार्थाना गरिरहेकी थिई । अब देवताले त्यसलाई सुन्ने ? कतिलाई सुन्ने ? ………..त्यही स्वास्नीमान्छे जसले क्यान्सर अस्पतालमा त्यसरी रोई, त्यसको मलाई छाप परेको छ, मैले केही गर्न सक्ने भए त्यसको लागि त म केही गर्ने थिँए भन्ने लागेको छ ।

 वास्तवमा यस्ता प्रश्नको उत्तर दिन कठिन छ । सँसारमा अरबौ नरनारी छन । अन्य पशुपन्छी र वनस्पती गरेर खरबौको सँख्या छ ।  तीनलाई सँकट परेको वेलामा ती युवतीले जस्तो ईश्वरको पुकारा गर्ने कैयौ होलान । सबैका समस्या वा चाहना अलग अलग होलान । के ईश्वरले ति सबैलाई वा ति मध्ये चुनिएकालाई सम्बोधन गर्लान त ? यक्ष प्रश्नहरु सिर्जना हुन्छन । अब कि त यी प्रश्नलाई लक्ष्मीप्रसाद देवकोटाले दिएको घटाउको जस्तो उत्तर दिनु पर्यो ? र भन्नु पर्यो यो अध्यात्मको विषय हो । त्यहाँ विधाताको उत्तर दिने नियम अर्कै हुन सक्छ । मान्छेको कित्ताको ज्ञानले उसलाई नै रचना गर्ने सर्जकको कित्ताको प्रश्नको उत्तर दिन सकिन्न । कुवाको भ्यागुत्तोले नदी वा समुद्रको सँसार कल्पना गर्न सक्छ र ?“  

यहाँ निर दुईवटा तर्कहरु मनन योग्य छन । पहिलो हो, नियमित ईश्वरको प्रार्थना वा कुनै अनुशासित गतिविधि जस्तै- मिर्मिरेमा सूर्य नमस्कार गर्दा सबै भन्दा वढी फाईदा पुग्ने भनेको त्यो साधना गर्ने मान्छेलाई नै हो । नगर्ने भन्दा गर्ने मान्छे पक्कै पनि वढी अनुशासित हुन्छ । ईश्वर प्राप्त गर्ला नगर्ला त्यो अनुत्तरित प्रश्न हो तर उसले केही न केही जैविक वा मानसिक उपलब्धी हासिल त पक्कै गर्छ । उसले सतर्कता वा होशमा जीवन जिउन सक्छ । जीवन-यात्रामा तुलनात्मक रुपमा कम जोखिमको सामना गर्छ । असल साधकले ध्यान गर्दा प्रकृतिमा विद्यमान आवाज सुन्नु मात्र त के निरन्तरको साधनाले समाधि नै प्राप्त गर्न सक्छ ।    

दोस्रो,  के प्रार्थना को प्राप्ती हुँदै हुँदै न त ? वा विधाताले कसैको पुकारा सुन्छन त ? भन्ने सामान्य हिसावमा अनुत्तरित प्रश्नहरु हुन । तर विपीले उल्लेख गरेकी युवतीले आफ्नो प्रार्थानाले प्राप्त गरेको र प्रमाण समेत पोखिएको फल भनेको विपीको  पग्लिएको मन हो । युवतीले सूर्य भगवानलाई गरेको पुकारा देख्दा त्यो कृयाकलापका साक्षी बिपीको सहयोग गर्ने मन पलायो ।  यसर्थ मान्छेको मष्तिष्कले कल्पना समेत गर्न नसक्ने अनन्त क्षेत्रफल भएको कित्ताका स्वामी सृष्टिकर्ता, पालनकर्ता र विनाशकर्ताको  मन के नपग्लेला र ? अर्को यक्ष प्रश्न सिर्जना हुन्छ । यसको उत्तर पाउनका लागि म एक अर्को अलौकिक सूर्योदयको पर्खाईमा छु ।

लेख थालनी कार्तिक मसान्त २०७१
उर्लावारी, मोरङ
विट मारेको माघ १८, २०७१
कोटेश्वर, काठमाण्डौ
ईमेल: nawa.khatiwada@gmail.com

भरिया पत्रिका (प्रकाशोन्मुख)    

1 comment:

  1. Nirmal G Acharya ले लेख्नु भयो -अद्यययन को भवसागरभित्र देबकोटा, जगदिस अनि बि.पिहरु एसरी कुर्लिन्छन," पुत्र नवराज! तिम्रो भुंई चट्टाने अनुसासनले हामी द्रवीभूत भएका छौ र सुर्य को प्रज्वोलताले बसिभुत हाम्रा माथा पन्चट होलान भन्ने कुराले त्रस्त छन"। ( आफ्नै पनि एक शब्द:," साधुबाद")

    ReplyDelete